July 2, 2003
Created by nepalarchives

निर्णय नं. ७१९७ – वहु विवाह

निर्णय नं.७१९७     ने.का.प.२०६० अङ्क ३.४   संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५८ सालको फौ.पु.नं…..२९०७ फैसला मितिः २०६०।३।१८।४...

निर्णय नं.७१९     ने.का.प.२०६० अङ्क ३.४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी

संवत् २०५८ सालको फौ.पु.नं…..२९०७

फैसला मितिः २०६०।३।१८।४

 

मुद्दाः वहु विवाह ।

 

पुनरावेदक

प्रतिवादीः जि.वाँके खास कारकाँडो गा.वि.स. वडा नं. ८ वस्ने रत्ना गुरुङ समेत              

विरुद्ध

विपक्षी

वादीः निर्मला आलेको जाहेरीले श्री ५ को सरकार

 

§  मु.ऐ. विहावारीको महलको ११ नं. मा भएको व्यवस्थावाट थाहा पाएको मिति हदम्याद शुरु हुने र मुद्दा चलाउने सम्बन्धित निकायले थाहा पाएको मिति नै थाहा पाएको मिति कायम हुने देखिन आउने भनी मिति २०५६।८।१७ मा यस अदालतवाट सिद्धान्त समेत प्रतिपादन भै रहेको स्थितिमा हदम्यादको कारण देखाई अभियोगपत्र खारेज गर्ने गरेको शुरु वाँके जिल्ला अदालतको फैसला उल्टी गरी जो जे वुझनु पर्दछ वुझी पुनः इन्साफ गर्नु भनी तारेखमा रहेका पक्ष र मिसिल शुरु वाँके जिल्ला अदालतमा पठाई दिने गरेको पुनरावेदन अदालतको फैसला सदर हुने।

(प्र.नं. १५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल

विपक्षी वादी तर्फवाटः

अवलम्वित नजिरः

 

फैसला

            न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत, नेपालगन्जको मिति ०५८।१।३ को फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यसप्रकार छ ।

२.    घरमा म विवाहित पत्नी हुँदा हुँदै रोमेन्द्र सिंह आलेले सुर्खेत इतराममा वस्ने रत्ना गुरुङ्गलाई दोस्रो विवाह गरी स्वास्नी तुल्याएकोले निजहरु दुवै जनालाई मुलुकी ऐन विहावारीको महल अन्तरगत कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त ।

३.    म निज रोमेन्द्र सिंह आलेको घरमा ०५४ साल देखि दुध दिने गर्दथे, सोही सिलसिलामा निजको घरमा दुध दिन जाँदा जेठी श्रीमती निर्मला आले र कान्छी श्रीमती रत्ना गुरुङ्गलाई घरमा देखेको हुँ भन्ने समेत व्यहोराको मुनराम यादव समेतले गरी दिएको कागज ।

४.    रोमेन्द्र सिंह आलेले घरमा निर्मला आले श्रीमती छंदाछंदै रत्ना गुरुङ्गसंग दोश्रो विवाह गरी घरमा ल्याई प्र. रोमेन्द्र सिंह आलेले मुलुकी ऐन विहावारीको महलको ९ नं. विपरीत कसूर गरेको र श्रीमती रत्ना गुरुङ्गले प्र. रोमेन्द्रको घरमा श्रीमती भएको जानी जानी आफुले निजसंग विवाह गरी श्रीमती भै वसेकीले प्र. रत्ना गुरुङ्गलाई र प्र. रोमेन्द्र सिंह आलेलाई ऐ. महलको १० नं. वमोजिम सजाय गरी पाउन माग दावी गर्दै प्र.हरु फरार रहेकोले अदालतवाटै समाव्हान म्याद जारी गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग दावी ।

५.    मेरो माइती घर सुर्खेत इतराममा भएको र रोमेन्द्र सिंह आले पनि सुर्खेतमा आउने जाने गर्दथे र मेरो माइती घरमा पनि आउने गरेकोले मिति ०५० साल देखि नै निजसंग चिनजान भएकोले हामीहरुको हित्तचित्त मिली मिति ०५५।८।१६ गते मेरो र रोमेन्द्र सिंह आलेको प्रेम विवाह भएको हो । रोमेन्द्र सिंहको स्वास्नी छ भन्ने मलाई थाहा थिएन । मैले निजसंग सोध्न पनि सोधिन । रोमेन्द्र सिंहले पनि वताएनन्, मैले जानी जानी विवाह गरेको होइन भन्ने समेत व्यहोराको प्र. रत्ना गुरुङ्गले अदालतमा गरेको वयान ।

६.    प्रतिवादी रोमेन्द्र सिंह आलेको नाउँमा जारी भएको म्यादमा हाजिर नभै गुजारी वसेको ।

७.    प्रतिवादीका साक्षीहरुले गरेको वकपत्र मिसिल सामेल रहेको ।

८.    जाहेरवालीलाई उपस्थित गराउन लेखि पठाएकोमा उपस्थित नभएको ।

९.    २०५१ सालमा भएको विवाहलाई जाहेरवालीले २०५४।११।८ मा थाहा पाएको मिति कायम गरी विहावारीको ११ नं. को हदम्याद भित्र प्रस्तुत मुद्दा दायर भएको भनि इन्साफ गर्न नमिल्ने हुँदा म्याद नाघी दायर हुन आएको प्रस्तुत मुद्दाको अभियोग पत्र समेत खारेज हुने ठहराई शुरु वाँके जिल्ला अदालतवाट २०५६।१।७।३ मा भएको फैसला ।

१०.    हदम्याद नाघी अभियोपत्र दर्ता भएको भनि खारेज हुने ठहराएको शुरु फैसला कानूनी त्रुटीपूर्ण हुँदा वदर गरी अभियोग दावी वमोजिम प्रतिवादीलाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, नेपालगंजमा वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।

११.    अ.वं. २०२ नं. वमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पु.वे.अ. नेपालगन्जको आदेश ।

१२.   प्रस्तुत मुद्दाको अभियोगपत्र विहावारीको महलको ११ नं. को हदम्याद भित्रनै दायर भएको देखिंदा म्याद नाघी दायर हुन आएको भनि खारेज हुने ठहराएको शुरु वाँके जिल्ला अदालतको मिति ०५६।१।७ को फैसला मिलेको नदेखिंदा वदर गरिदिएको छ । अव जो जे प्रमाण वुझनु पर्छ बुझि इन्साफ गर्नु भनी हाजीर रहेका पक्षलाई तारेख तोकी शुरु मिसिल वाँके जिल्ला अदालतमा पठाई दिने ठहर्छ भन्ने समेत व्यहोराको २०५८।१।३।२ को पुनरावेदन अदालत, नेपालगन्जको फैसला ।

१३.   वाँके जिल्ला अदालतवाट खारेज हुने गरी फैसला भएकोमा पु.वे.अ. नेपालगन्जले सो फैसला उल्टी हुने ठहराएको इन्साफमा चित्त वुझेन, पु.वे.अ.को फैसला वदर गरी शुरु वाँके जिल्ला अदालतको फैसला सदर कायम गरी पाउँ भन्ने समेत प्रतिवादी रत्ना गुरुङ्ग तथा रोमेन्द्र सिंह आलेको यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।

१४.   नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फवाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री अग्नि खरेलले जाहेरवालीलाई रत्ना गुरुङ्गले रोमेन्द्र सिंह आलेसंग विवाह भएको कुरा अगाडि नै थाहा थियो । गोविन्द सिंह समेतले मौकामा कागज गर्दा र वकपत्र गर्दा समेत रोमेन्द्र सिंह आले र रत्ना गुरुङ्ग वीच ०५१ सालमा नै विवाह भएको भन्ने कुरा व्यक्त गरिदिएकोमा पुनरावेदन अदालतले शुरु जिल्ला अदालतको फैसला वदर गरी शुरुमा इन्साफ गर्न पठाउने गरेको इन्साफ त्रुटीपूर्ण हुँदा हाललाई झ.झि. आदेश भै पु.वे.अ.को इन्साफ वदर गरी शुरुको इन्साफ सदर कायम गरी पाउँ भनी गर्नु भएको वहस जिकिर समेत सुनी निर्णय सुनाउनको लागि पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, नेपालगन्जवाट   मिति  ०५८।१।३।२ मा  भएको  फैसला  मिले  नमिलेको  के  रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

१५.   यसमा प्रतिवादी रोमेन्द्र सिंह आलेमगरले घरमा आफ्नी श्रीमती निर्मला आले हुँदाहुँदै प्र. रत्ना गुरुङ्गलाई दोश्रो विवाह गरी विहावारीको ९ नं. को कसूर गरेको तथा प्र. रत्ना गुरुङ्गले प्र. रोमेन्द्र सिंह आलेको घरमा श्रीमती भएको जानी जानी निजसंग विवाह गरी श्रीमती भै वसेको हुँदा प्रतिवादीहरुलाई मु.ऐन विहावारीको महलको १० नं. अनुसार सजाँय गरी पाउँ भन्ने समेत अभियोग दायर भएकोमा प्र. रत्ना गुरुङ्गले रोमेन्द्र सिंह आलेको घरमा स्वास्नी छ भन्ने थाहा नभएको भनि इन्कार रही वयान गरी र प्र. रोमेन्द्र सिंह आले मगरले म्यादै गुजारी वसेकोमा शुरु वाँके जिल्ला अदालतले म्याद नाघी दायर हुन आएको भनि अ.वं. १८० नं. वमोजिम अभियोग पत्र खारेज गर्ने गरी गरेको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन अदालत, नेपालगंजमा पुनरावेदन परेकोमा पु.वे.अ.ले हदम्याद नाघी दायर भएको भनि फिराद खारेज हुने ठहर्याएको वाँके जिल्ला अदालतको फैसला वदर गरी पुनः इन्साफ गर्नु भनी रुजु हाजिर रहेका मानिस र मिसिल शुरुमा पठाई दिने गरी गरेको फैसला उपर प्रतिवादी रत्ना गुरुङ्ग तथा रोमेन्द्र सिंह आलेको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ बिचार गर्दा प्रतिवादी रोमेन्द्र सिंह आले र जाहेरवाला निर्मला आले वीच ०५०।३।२८ मा पहिलो विवाह भएको भन्ने कुरा खास कारकाँडो गा.वि.स. मा ०५४।९।२० मा विवाह दर्ता भएको कुरा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि एवं प्रतिवादी रत्ना गुरुङ्ग र प्र. रोमेन्द्र सिंह आले वीच ०५१।८।१५ मा विवाह गरेको भन्ने कुरा नेपालगंज न.पा. कार्यालयको ०५४।१०।६ मा विवाह दर्ता गराएको कुरावाट पुष्टि हुन आएको पाईयो । प्रतिवादी रोमेन्द्र सिंह आले र प्र. रत्ना गुरुङ्ग वीच दोश्रो विवाह भएको कुरा जाहेरवालीलाई ३ महिना अगाडि देखि नै थाहा थियो भनी प्रतिवादी रत्ना गुरुङ्गको जिकिर रहेको देखिएता पनि जाहेरवालालाई प्रतिवादी रोमेन्द्र सिंह आले र रत्ना गुरुङ्ग वीच ३ महिना अगाडि नै विवाह भए गरेको भन्ने कुरा थाहा भएको भन्ने मिसिल संलग्न कागजातवाट देखिन नआउनुका साथै फौ.पु.नं. १२६३ प्रेम कुमारी राना भाटको जाहेरीले वादी श्री ५ को सरकार, प्रतिवादी दुर्गावहादुर रानाभाट समेत भएको वहु विवाह मुद्दामा मु.ऐ. विहावारीको महलको ११ नं. मा भएको व्यवस्थावाट थाहा पाएको मिति हदम्याद शुरु हुने र मुद्दा चलाउने सम्बन्धित निकायले थाहा पाएको मिति नै थाहा पाएको मिति कायम हुने देखिन आउने भनी मिति २०५६।८।१७ मा यस अदालतवाट सिद्धान्त समेत प्रतिपादन भै रहेको स्थितिमा हदम्यादको कारण देखाई अभियोगपत्र खारेज गर्ने गरेको शुरु वाँके जिल्ला अदालतको फैसला उल्टी गरी जो जे वुझनुपर्दछ वुझि पुनः इन्साफ गर्नु भनी तारेखमा रहेका पक्ष र मिसिल शुरु वाँके जिल्ला अदालतमा पठाई दिने गरेको पुनरावेदन अदालत, नेपालगन्जको फैसला सदर हुन्छ । जो जे प्रमाण वुझनु पर्छ बुझि इन्साफ गर्नु भनी रुजु पक्षलाई शुरु वाँके जिल्ला अदालतको तारेख तोकी मिसिल समेत शुरु जिल्ला अदालतमा पठाई दिनु । रेकर्ड मिसिल नियमानुसार गर्नु ।

 

उक्त रायमा म सहमत छु ।

                                   

न्या. केदारप्रसाद गिरी

 

 

इतिसंवत् २०६० साल आषाढ १८ गते रोज ४ शुभम …………