निर्णय नं. ७१८९ – लिखत दर्ता बदर दर्ता कायम
निर्णय नं.७१८९ ने.का.प.२०६० अङ्क ३.४ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी संवत् २०५८...
निर्णय नं.७१८९ ने.का.प.२०६० अङ्क ३.४
पूर्ण इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
संवत् २०५८ सालको दे.पू.ई.नं. ..४९
फैसला मितिः २०६०।२।१५।५
मुद्दा :– लिखत दर्ता बदर दर्ता कायम ।
पुनरावेदक
प्रतिवादीः सुनसरी जिल्ला धरान नगरपालिका वडा नं. १६ घर भै हाल मोरङ जिल्ला विराटनगर उप–महानगरपालिका वार्ड नं.६ बस्ने अमृत कार्की
विरुद्ध
प्रत्यर्थी
वादीः मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वार्ड नं. ९ बस्ने मातृकाप्रसाद कोइराला समेत
§ मानो चामल छुटृी भान्सा अलग गरी आएको छु भन्ने प्रतिवादीको भनाइ रहेतापनि कुन मिति देखि मानो भान्छा अलग गरी मानो छुट्याई बसेको हो सो कुरा पुष्टि हुने वस्तुनिष्ट प्रमाण देखाउन र पेश गर्न सकेको नदेखिंदा केवल अदालतमा परेको विवादको जवाफ दिने प्रयोजन स्वरुप चलिरहेको मुद्दामा लगाएको प्रतिउत्तरमा लेखिएको जिकिरबाट मात्रै त्यस्तो महत्वपूर्ण र दुरगामी असर दिने विषयवस्तु स्थापित हुन नसक्ने ।
§ विवादको सम्पत्ति सगोलको नभएको निजी आर्जनबाट खरीद गरेको भन्ने प्रतिवादी अजय कोइरालाले प्रतिउत्तर जिकिर लिए पनि सो जग्गा प्रत्यर्थी वादीहरु समेतको अंश हक लाग्ने भनि अंशियार बीचको विवादका सम्बन्धमा शुरु र पुनरावेदन अदालतले गरेको निर्णय उपर यस अदालतमा मुद्दा दोहर्याई पाउं भन्ने निवेदन समेत नगरी निज प्रतिवादी अजय कोइराला सो फैसलालाई चित्त बुझाई बसेबाट सो फैसला निजको हकमा अन्तिम भै रहेको देखिने ।
§ विवादको जग्गा अंशियारको मन्जूरी वेगर निजहरुको हकमा असर पर्ने गरी लिखत गरी दिन प्रतिवादी अजय कोइरालालाई कानूनले अधिकार प्रदान गरेको छ भन्न नसकिने ।
§ सगोलको सम्पत्ति अंशियाराहरुको मन्जूरी नदेखिए मन्जूर नगर्नेको हक जति फिर्ता हुने लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेको पाइदा वादीहरुको समेत अंश लाग्ने सगोलको सम्पत्ति वादीहरुको मन्जूरी नलिई पारित गरेको मिति २०५१।३।२७ को लिखत मध्ये मन्जूर नगर्ने ६ जना वादीहरुको हक जतिको लिखत बदर गरी यी प्रतिवादीका नाउंमा भएको दर्ता समेत बदर गरी प्रत्यर्थी वादीहरुका नाउंमा दर्ता समेत हुने ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुने ।
(प्र.नं. १५ देखि १७)
निवेदक वादी तर्फवाट
विपक्षी प्रतिवादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत विराटनगरको मिति २०५३।५।२७ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड(क) र (ख) का आधारमा दोहर्याई हेर्ने निस्सा प्रदान भई संयुक्त इजलासका माननीय न्यायाधीशका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अन्तर्गत यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :–
२. फिरादी मध्ये म मातृकाप्रसाद कोइराला र म मञ्जू कोइराला पति पत्नी हौं । हाम्रो ५ भाइ छोरामा जेठा म फिरादी विमल कोइराला, माइलो म कमलप्रसाद कोइराला, साहिलो प्र. मध्येको डा. अजय कोइराला, काहिलो म विजय कोइराला र कान्छो स्व. सञ्जय कोइरालाको श्रीमती म पुष्पा कोइराला हौं । हामी बिच अंशवण्डा भएको छैन । सबैजना सगोलमा बसी व्यवहार गरी आएका छौं । हामीहरु सगोलमा रहेको अवस्था हामीहरु सबैको सगोलबाट आर्जन गरेको आयबाट जि.मोरङ्ग, विराटनगर न.पा.वार्ड नं. १(ख) कि.नं. २२५ को ज.वि.७–१०–० विपक्षी मध्येका डा.अजय कोइरालाका नाउंमा खरिद गरी लिई सगोलबाट भोग चलन गरी आएको सबैको अंश लाग्ने जग्गा मध्ये ०–११–० जग्गाको हामीहरुको अंश हक मेटाउने उद्देश्यले दुवै विपक्षीहरु एकापसमा मिली डा.अजय कोइराला बिक्री गर्ने र विपक्षी अमृत कार्की खरिद गर्ने भै मिति ०५१।३।२३ मा राजिनामा लेखी मिति ०५१।३।२७ र.नं. २०२२० बाट मालपोत कार्यालय मोरङ्गबाट रजिष्ट्रेशन पारित समेत गरी हाम्रो अंश हक मेटाउन सफल भए पश्चात ०५१।५।९ मा विपक्षी मध्येका अमृत कार्कीले जग्गा नापी गराउन थालेकाले हाम्रो कामदारले देखि हामीलाई भन्न आएबाट त्यहां गै यो हाम्रो जग्गा हो किन नापी गराउनु हुन्छ भन्दा यो जग्गा मैले खरिद गरी लिइंसके, यसमा तपाईहरुको हक छैन, त्यसैले जग्गा छुट्याउन लागेको भनि भनेकाले ०५१।५।१० मा मा.पो.का. मोरङ्गमा गै लिखत पत्ता लगाई हाम्रो मानिस मार्फत लिखतको रीतपूर्वको नक्कल लिंदा जानकारी पाएकाले अन्यायमा परी फिराद गर्न आएका छौं । हामी सबै अंशियारहरुको मञ्जूरी बिना विपक्षी डा.अजय कोइराला एक्लैले बेचविखन गर्न नपाउनेमा लेनदेन व्यवहारको १० नं. विपरीत विपक्षीले बिक्री गरेको उल्लेखित ज.वि. ०–११–० जग्गाको ७ भागको ६ भाग पश्चिम तर्फबाट सो राजिनामा लिखतबाट विपक्षी मध्येका अमृत कार्कीको नाउंमा भएको दर्ता समेत बदर गरी हाम्रो नाउंमा कायम समेत गरी पाउं भन्ने समेत व्यहोराको संयुक्त फिरादपत्र।
३. वादीहरु र म समेत भान्सा अलग गरी मानो छुट्याई आ–आफ्नो खति उपति, काम व्यवहार बेग्लाबेग्लै गरी रहेको छु । जिल्ला मोरङ्ग, वि.न.पा.वार्ड नं. १(ख)को कि.नं. २२५ को ज.वि. ७–१०–० जग्गा सगोलबाट आर्जन भएको होइन र सगोलबाट भोगी आएको पनि छैन । मेरो प्रोप्राइटर शिपमा अजय टेडिङ्ग कम्पनी खोली आफ्नो व्यवसाय गर्न संकटाप्रसाद उपाध्याय र हृदयनाथ उपाध्यायबाट क्रमशः ज.वि. ४–१९–६ र ४–१९–६ गरी जम्मा ज.वि. ९–१८–१२ जग्गा ०२२ सालमा आफ्नो नाउंमा राजिनामा गराई दर्ता गराई ईटृा भटृा खोली एकलौटी भोगी आएको र पछि कारोवार बन्द गरिएपनि मैले नै एकलौटी भोगी आएको सर्वे नापी हुंदा पूरा ज.वि. ९–१८–१२ नै वि.न.पा.वडा नं. १(ख) कि.नं. २२५ को ७–१०–० परिणत हुन आई एकलौटी भोगी आएको छु । सो जग्गा मेरो एकलौटी निजी आर्जनको हो । त्यसमा वादीहरुको अंश हक लाग्ने होइन । मेरो एकलौटी हक भोगको जग्गा मध्ये ०–११–० मैले प्रतिवादी मध्येका अमृत कार्कीलाई ०५१।३।२७ मा र.नं. २०२२० बाट पारीत गरी बिक्री गरेको छु । तसर्थ वादी दावी बमोजिम लिखत दर्ता बदर हुन सक्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी अजय कोइरालाको प्रतिउत्तर–पत्र ।
४. मलाई जग्गा बिक्री गर्ने प्र. मध्येका डा. अजय कोइराला र वादीहरु एकासगोलमा वस्नु भएको नभै भात भान्सा अलग गरी मानो छुट्याई बस्नु भएको छ । मेरो दाता प्र. मध्येका डा. अजय कोइरालाले आफ्नो निजी कारोवारको सिलशीलामा अजय ट्रेडिङ्ग कम्पनी खोली आफ्नो कारोवार व्यवसाय गर्न संकटाप्रसाद उपाध्याय र हृदयनाथ उपाध्यायबाट गरी ९–१८–१२ जग्गा ०२२ सालमा राजिनामा पारित गराई लिई इटृा भटृा सञ्चालन गरी एकलौटी भोगी आउनु भएको थियो । उक्त जग्गा मध्ये दावीको जग्गा मलाई बिक्री गर्दा वादीहरुको मञ्जूरी लिनुपर्ने कानूनी वाध्यता नरहेकोले दावी अनुसार उक्त लिखत र सो आधारमा मेरा नाउंमा हुन गएको दर्ता बदर हुन नसक्ने प्रष्ट छ । मेरा दाता डा. अजय कोइरालाको एकलौटी हक भोग दर्ताको जि. मोरङ्ग, वि.न.पा.वार्ड नं. १(ख) कि.नं. २२५ को ७–१०–० जग्गा विपक्षीहरुको कदाचित अंश लाग्ने भएमा पनि उक्त जग्गाको ७ भागको १ भागको हुने १–१–८ जग्गा मेरा दाताको भागमा पर्ने स्पष्टै छ र सो हदसम्मको जग्गा डा.अजय कोइरालाले बिक्री गरेमा सदर हुने हुंदा सो भन्दा कम्ती नै ०–११–० जग्गा मात्र निजले मलाई हक छाडी बिक्री गर्नु भएको हुंदा दावी बमोजिम लिखत बदर हुने होइन भन्ने समेत व्यहोराको प्र. अमृत कार्कीको प्रतिउत्तर पत्र ।
५. दावी बमोजिम वादीहरुको हकसम्म सो लिखत बदर भै वादीहरुका नाउंमा कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको मोरङ्ग जिल्ला अदालतको मिति २०५२।२।१६ को फैसला ।
६. शुरुले कानूनले छुट दिएको कुरालाई समेत गलत व्याख्या गर्दै वादी दावी बमोजिम लिखत बदर गर्ने गरेको फैसला अंशवण्डाको १९(४) न.. को प्रतिकुल हुनुका साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको विपरीत भएको हुंदा उक्त फैसला बदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी अमृत कार्कीको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।
७. मेरो खुश गर्न पाउने भएको जग्गा सगोलकै ठहर्दा पनि अंशवण्डाको १९ (४) नं. को व्यवस्थाले आफ्नो हक जति आफ्नो खुश गर्नलाई प्रचलित नेपाल कानूनले छुट दिएको र श्री सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतबाट पुष्टि भइरहेको भएपछि मैले बिक्री गरेको लिखत सदर गर्नुपर्नेमा बिना कुनै आधार बदर गर्ने गरेको उक्त फैसला त्रुटीपूर्ण भएकोले बदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी अजय कोइरालाको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र ।
८. प्रतिवादी अजय कोइरालाले अरु अंशियारको मञ्जूरी नलिई बिक्री गरेको कार्यवाही लेनदेन व्यवहारको १० नं. र सर्वोच्च अदालतबाट ने.का.प. २०४९, अंक ६, पृष्ठ ५२१, नि.नं. ४५५० मा प्रतिपादित शिद्धान्त अनुकूल नदेखिएको समेतका आधार प्रमाणबाट वादी दावी बमोजिम वादीहरुको हकसम्म सो लिखत बदर भै वादीहरुका नाउंमा कायम हुने समेत ठहराई शुरु मोरङ्ग जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।५।२७ को फैसला ।
९. कानून र नजिर समेतको त्रुटी गरी पुनरावेदन अदालत विराटनगरबाट भएको फैसलामा चित्त बुझेन । सो त्रुटिपूर्ण फैसला बदर गर्न मुद्दा दोहर्याई हेरिपाउं भन्ने समेत व्यहोराको प्रतिवादी अमृत कार्कीको यस अदालतमा परेको निवेदन पत्र ।
१०. डा. अजयको नाउंमा ७–१०–० जग्गा रहेको, आफ्नो अंश हक जति आफुखुश गर्न पाउनेमा दाता समेत ७ अंशियार देखिएको, आफ्नो अंश हक भन्दा कम जग्गा बिक्री गरेकोमा लिखत बदर हुने ठहर्याएको पुनरावेदन अदालत विराटनगरको मिति २०५३।५।२७।५ को फैसला अंशवण्डाको १९ नं. र ने.का.प. २०४९, पृष्ठ ४२४, नि.नं. ४५२८ मा प्रतिपादित सिद्धान्तको विपरीत देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क)(ख) को अवस्था बिद्यमान भएको देखिंदा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५४।११।१५ को आदेश ।
११. प्रतिवादी अजय कोइराला घरको मूल व्यक्ति नभएको र कामकाज गर्ने मुख्य व्यक्ति हो भन्ने जिकिर लिएको समेत नदेखिंदा अंशवण्डाको १९(४) नं. को कानूनी व्यवस्था आकर्षित हुन सक्ने देखिएन । वादी दावी बमोजिम ७ भागको ६ भाग लिखत बदर भै वादीका नाउंमा दर्ता समेत हुने ठहर्याएको शुरुको सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिंदा सदर हुन्छ । माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वाले पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने भनी व्यक्त गरेको ठहर रायसंग सहमत हुन सकिएन । सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय ।
१२. प्रतिवादी डा. अजय कोइरालाको नै विवादित कि.नं. २२५ को ज.वि. ७–१०–० को जग्गा मध्ये ज.वि.१–१–८ जग्गामा अंश हक लाग्ने देखिंदा आफ्नो अंश हक पुग्ने १ –१–८ जग्गा मध्ये ०–११–० जग्गा हक छाडी दिएकोमा आफ्नो अंश हक आफूखुस गर्न कानूनले बन्देज नलगाएको अवस्थामा सो पारित लिखतको ७ खण्ड को ६ खण्ड बदर हुने ठहर्याएको शुरुको इन्साफ सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको इन्साफ मिलेको नदेखिंदा उल्टी भै वादी दावी नपुग्ने ठहर्छ । सो लिखतको ६ भाग लिखत बदर हुने ठहर्याएको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रायसंग सहमत हुन सकिएन । प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वाको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५७।१०।१८ को फैसला ।
१३. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री प्रकाश राउतले विवादको कि.नं. २२५ को जग्गा अजय कोइरालाको नाममा खरिद भएको हो । सो जग्गामा निजको समेत हक लाग्ने र अंशवण्डा गर्दा पनि ज.वि. १ –१–८ जग्गा निजको भागमा पर्ने हुंदा ज.वि. ०–११–० बिक्री गरेको कानूनसम्मत नै छ । ७ भागको ६ भाग लिखत बदर गर्ने ठहर्याएको माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वाको राय मिलेकै हुंदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । विपक्षी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले प्रतिवादी अजय कोइराला छुटी भिन्न भएको व्यक्ति होइन । वादीहरुको अंशीयार नै हुन् । एकासगोलको निजी आर्जनको नठहरिने जग्गा सगोलको भै सबै अंशियारको भाग लाग्ने हुन्छ । अजय कोइराला घरको मुख्य व्यक्ति नभएकोले अरु अंशियारको मन्जूरी बिना सगोलको सम्पत्ति बिक्री गरेको कानूनसम्मत नहुंदा ७ भागको ६ भाग लिखत बदर हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।
१४. विद्वान कानून व्यवसायीहरुको उपर्युक्त बमोजिमको वहसको सन्दर्भमा सम्बन्धित मिसिल कागजात हेर्दा प्रतिवादी मध्येको अजय कोइरालाको नाममा रहेको विवादको कि.नं. २२५ को ज.वि. ७–१०–० मध्ये ज.वि. ०–१०–० जग्गा निज अजय कोइरालाले यी पुनरावेदक प्रतिवादी अमृत कार्कीलाई मिति ०५१।३।२७ मा राजीनामा पारित गरिदिएको जग्गा हामी अंशियारहरुको समेत अंश हक लाग्ने भएको र हाम्रो मन्जूरी नभएकोले ७ भागको ६ भाग लिखत बदर गरी पाउं भन्ने माग गरी प्रस्तुत फिराद परेको देखिन्छ । वादी दावी बमोजिम ७ भागको ६ भाग लिखत बदर हुने ठहर्याएको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला उपर मुद्दा दोहर्याई हेरिपाउं भनि परेको निवेदनमा मुद्दा दोहर्याउने निस्सा प्रदान भई संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य नभई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा देहायका प्रश्नका सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
(१) वादी दावी बमोजिमको विवादको लिखत गरिदिने अधिकार कानूनतः प्रतिवादी अजय कोइरालालाई रहेको छ, छैन ?
(२) फिराद दावी बमोजिमको लिखत बदर हुने ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ?
१५. सर्वप्रथम पहिलो प्रश्न विवादको लिखत गरिदिने अधिकार प्रतिवादी अजय कोइरालालाई कानूनतः रहे नरहेको तर्फ बिचार गर्दा हामी ७ अंशियाराका बीच अंशवण्डा भएको छैन । एकासगोलमा रहेको अवस्थामा सगोलको आर्जनबाट खरीद गरेको विवादको कि.नं. २२५ को ज.वि. ७–१०–० मध्ये ज.वि. ०–११–० हामीहरुको मन्जूरी बिना राजीनामा पारित गरि हक छोडी दिएकोले हाम्रो हक जति अर्थात ७ भागको ६ भाग लिखत बदर गरी यी प्रतिवादी अमृत कार्कीका नाउंमा भएको दर्ता समेत बदर गरी हाम्रा नाउंमा कायम गरी पाउं भन्ने वादीहरुको मुख्य माग दावी रहेको देखिन्छ । वादीहरुसंग मानो छुट्याई अलग बसेको छु, सो जग्गा मेरो निजी आर्जनबाट खरिद भएको हो, सगोलको होइन भन्ने प्रतिवादी अजय कोइरालाको प्रतिउत्तर जिकिर रहेको देखिन आउंछ । वादी र प्रतिवादीहरु बीच रीतपूर्वक अंशवण्डा भएको छैन भन्ने कुरामा बिवाद देखिदैन । मानो चामल छुटृी भान्सा अलग गरी आएको छु भन्ने प्रतिवादी अजय कोइरालाको भनाइ रहेतापनि कुन मिति देखि मानो भान्छा अलग गरी मानो छुट्याई बसेको हो सो कुरा पुष्टि हुने वस्तुनिष्ट प्रमाण देखाउन र पेश गर्न सकेको छैन । केवल अदालतमा परेको विवादको जवाफ दिने प्रयोजन स्वरुप चलिरहेको मुद्दामा लगाएको प्रतिउत्तरमा लेखिएको जिकिरबाट मात्रै त्यस्तो महत्वपूर्ण र दुरगामी असर दिने विषयवस्तु स्थापित हुन सक्दैन । वादीहरु र प्रतिवादी अजय कोइराला बीच अंशवण्डा भएको वा मानो चामल छुटिृई बेग्लै बस्दै आएको भन्ने कुरा पुष्टि हुन आएको देखिदैन ।
१६. विवादको कि.नं. २२५ को जग्गा प्रतिवादी अजय कोइरालाका नाउंमा खरीद भई निजकै नाउँमा रहेकोमा विवाद नभए पनि सो जग्गा अंशियाराका बीच वण्डा नलाग्ने निजको, आफूखुस गर्न पाउने प्रकृतिको जग्गा रहे भएको देखिन आउंदैन । जहासम्म निजी आर्जन तथा आफूखुस गर्न नपाउने प्रकृतिको जग्गा रहेको भएपनि ७ अंशियार भएको सो जग्गा अंशियारका बीच वण्डा गर्दा पनि प्रतिवादी अजय कोइरालाका भागमा ज.वि. १–१–८ पर्ने हुंदा सो मध्येबाट ज.वि. ०–११–० विक्री गरेको बदर हुनुपर्ने होइन भन्ने पुनरावेदन तर्फको कथन रहेको छ, सो तर्फ बिचार गर्दा मुलुकी ऐन लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको सम्पत्ति बेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफूखुस गर्न पाउने अरुको मन्जूरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसंगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मन्जूरीको लिखत गरी दिएको भए मात्र पक्का हुन्छ । साक्षी पनि नबसेको र मन्जूरीको लिखत पनि नभए मन्जूर नहुनेले रजिष्ट्रेशन भएको मितिले १ वर्षसम्ममा थाहा पाएको पैंतिस दिन भित्र उजूर गर्यो र निजको मञ्जूरी ठहरिएन भने निजको हक जतिको सो सम्पत्ति निजलाई फिर्ता गराई दिन पर्छ भन्ने व्यवस्था भएको देखिन्छ । विवादको सम्पत्ति सगोलको नभएको निजी आर्जनबाट खरीद गरेको भन्ने प्रतिवादी अजय कोइरालाले प्रतिउत्तर जिकिर लिए पनि सो जग्गा प्रत्यर्थी वादीहरु समेतको अंश हक लाग्ने भनि अंशियार बीचको विवादका सम्बन्धमा शुरु र पुनरावेदन अदालतले गरेको निर्णय उपर यस अदालतमा मुद्दा दोहर्याई पाउं भन्ने निवेदन समेत नगरी निज प्रतिवादी अजय कोइराला सो फैसलालाई चित्त बुझाई बसेबाट सो फैसला निजको हकमा अन्तिम भै रहेको देखिन्छ । त्यस्तो सगोलको सम्पत्ति अंशियाराको मन्जूरी बिना विक्री गरेको ठहरेमा लिखत पक्का नठहर्ने उल्लेखित लेनदेन व्यवहारको १० नं. को व्यवस्थाले स्वीकार गरेको पाइन्छ । विवादको पारीत लिखतबाट वा अन्य लिखतबाट यी प्रत्यर्थी प्रतिवादीहरुको मन्जूरीबाट जग्गा बिक्री भएको वा गरेको अवस्था देखिन आएको छैन । आफुखुस गर्न नपाउने जग्गाको सम्बन्धमा १० नं. को व्यवस्था वाध्यात्मक पालना गर्नुपर्ने व्यवस्था हो । सो व्यवस्थाबाट उन्मूक्ति पाउन हक छोडी दिएको सम्पत्ति यात आफूखुस गर्न पाउने हुनुपर्छ अन्यथा लिखत पक्का हुँदैन । सो व्यवस्थाले मूलतः घरको मूलीले घर व्यवहार चलाउन हक छाडी दिन सकिने अंशवण्डाको महलको १९(४) नं. को व्यवस्था र सोही महलको १८ नं. बमोजिमको प्रकृतिको ०३४।९।२७ पछिको निजी आर्जनको बाहेकको सगोलको सम्पत्ति आफ्नो समेत अंश लाग्ने नै हो भन्ने आधारमा हक छाडी दिन सकिने भन्ने कानूनी व्यवस्था रहेको देखिन आएन । अतः विवादको जग्गा अंशियारको मन्जूरी वेगर निजहरुको हकमा असर पर्ने गरी लिखत गरी दिन प्रतिवादी अजय कोइरालालाई कानूनले अधिकार प्रदान गरेको छ भन्न सकिने अवस्था रहेको पाइएन ।
१७. माथि प्रकरण (१) मा गरिएको विवेचनाबाट विवादको सम्पत्ति यी वादीहरु र प्रतिवादी अजय कोइराला समेतका ७ अंशियारहरुको बराबर हक लाग्ने सगोलको सम्पत्ति रहेभएको देखिन आयो । विवादको मिति ०५१।३।२७ को लिखत बमोजिम हक हस्तान्तरण भएको विषयमा वादीहरुको मन्जूरी रहेको अवस्था देखिन आएन । यस्तो सगोलको सम्पत्ति अंशियाराहरुको मन्जूरी नदेखिए मन्जूर नगर्नेको हक जति फिर्ता हुने लेनदेन व्यवहारको १० नं. ले व्यवस्था गरेको पाइन्छ । यी वादीहरुको मन्जूरी नरहेको भन्ने कुरामा विवाद देखिएन । तसर्थ वादीहरुको समेत अंश लाग्ने सगोलको सम्पत्ति वादीहरुको मन्जूरी नलिई पारित गरेको मिति २०५१।३।२७ को लिखत मध्ये मन्जूर नगर्ने ६ जना वादीहरुको हक जतिको लिखत बदर गरी यी प्रतिवादीका नाउंमा भएको दर्ता समेत बदर गरी प्रत्यर्थी वादीहरुका नाउंमा दर्ता समेत हुने ठहर्याएको शुरु सदर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सदर गर्ने गरेको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुन्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छौं ।
न्या.भैरवप्रसाद लम्साल
न्या.मीनबहादुर रायमाझी
इति संवत् २०६० साल जेष्ठ १५ गते रोज ५ शुभम् ––––––––––– ।