June 26, 2003
Created by nepalarchives

निर्णय नं. ७१८७ – लेनदेन

निर्णय नं.७१८७     ने.का.प.२०६० अङ्क ३.४   पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्बत्...

निर्णय नं.७१८७     ने.का.प.२०६० अङ्क ३.४

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

सम्बत् २०५९ सालको दे.पू.इ.नं. …..६१

फैसला मितिः २०६०।३।१२।५

 

मुद्दा :लेनदेन ।

 

पुनरावेदक

वादीः जिल्ला मकवानपुर चित्लाङ गा.वि.स. वडा नं. ९ वस्ने मदनवहादुर थापा

विरुद्ध

बिपक्षी

प्रतिवादीः ऐ.वडा नं. ७ वस्ने खिन्द्रवहादुर थापा क्षेत्री

 

§  कपाली तमसुक र करारनामाको लिखत अलग अलग ब्यवहार प्रमाणका लिखत भएतापनि यिनै दुई पक्षका वीच  यी दुई लिखत भएको र पहिले कपाली तमसुक गरी रुपैया लिनु दिनु भएको र पछिबाट  रुपैया कर्जा लिने ऋणीलाई नै रुपैया दिई निजको जग्गा पास गरि लिने शर्त राखी करारनामाको लिखत भएको देखिई यी दुई लिखत अलग अलग प्रकृतिका हुने भएपनि लिखतका पक्षहरु एउटै र यिनै पक्षहरुका वीचको व्यवहार मिलाउन भए गरेको देखिएवाट वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको इन्साफ सदर गर्ने गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुने ।

(प्र.न. १६)

 

निवेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री तुल्सी भटृ

विपक्षी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री मनोज दवाडी

अवलम्वित नजिरः

 

फैसला

            न्या.गोविन्दबहादुर श्रेष्ठः यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकि सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) वमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ :

            २.    बिपक्षीले मबाट व्यापार व्यवसाय गर्न भनि मिति ०५०।११।२४ गते कपाली तमसुक लेखी रु. ४३,८७५।कर्जा लिनु भएकोमा भाखा भित्र साँवा ब्याँज नबुझाएकोले लिखत मितिवाट फिराद मिति सम्मको हुने ब्याज रु. ९,०९३।५० र साँवा समेत गरी ५२,९६८।५०  साथै विगो भरी भराउ हुने अवस्था सम्मको ब्याज र कोर्ट फी समेत दिलाई भराई पाउँ भन्ने व्यहोराको फिरादपत्र ।

            ३.    वादी दावीको रु. ४३,८७५।को सम्बन्धमा बिपक्षी र मेरो वीच २०४९।२।५ मा कपाली तमसुक गरी लिए दिएको थियो । सो कर्जा मैले चुक्ता गर्न नसकेको हुँदा कागज फेरी भाखा बढाउने सहमति भई ०५१ साल भाद्र मसान्त सम्ममा बुझाउने मिति ०५०।११।२४ गते कागज फेरेको थियो । ०४९।२।५ को कट्टा तमसुक म सँग छ । तत्पश्चात बिपक्षीले ताकेता गरी राखेको हुँदा रु. १५,०००।बुझाइसकेको र बाँकी रु. २९,०००।वापतमा मैले आफ्नो जग्गा बिक्रि गर्ने भनि बिपक्षी र मेरो वीच ०५१।५।१ मा करारनामाको कागज लिनु दिनु भै बिपक्षीले म उपर नालिस गरी हक कायम दर्ता समेत हुने गरी यसै अदालतवाट ०५२।२।२१ मा फैसला समेत भइसकेकोले बिपक्षीलाई कुनै रकम तिर्न पर्ने छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

            ४.    वादी दावीको मिति २०५०।११।२४ को लिखत र सहिछाप मैले गरी दिएको हुँ । रकमको सम्बन्धमा वादीले पाइसकेकोले तिर्न वुझाउन पर्ने होइन भन्ने व्यहोराको प्रतिवादीको वयान ।

            ५.    प्रतिवादीले पेश गरेको फट्टा तमसुकमा लागेको सहीछाप ठिकै हो । तर कागज फेरी फट्टा गरी फाली दिएको तमसुक फेरी जोडी पेश गरेको हुँदा सो प्रमाणमा लाग्ने होइन भन्ने ब्यहोराको वादीको वयान ।

            ६.    दावीको लिखत गरिदिएमा प्रतिवादी सावित भएका र रु.१५,०००।वुझाएको कुनै भरपाइ पेश गर्न सकेको देखिंदैन । करारनामामा पनि कपाली तमसुकको कर्जा वापत जग्गा लेनदेन गरेको भन्ने देखिंदैन । लिखत वमोजिमका रुपैया वुझाइसकेको भन्ने प्रतिउत्तर जिकिर प्रमाणवाट समर्थित हुन नसकेको हुँदा लिखत वमोजिमको साँवा ब्याज वादीले कानुन वमोजिम भराई पाउने ठहर्छ भन्ने मकवानपुर जिल्ला अदालतको फैसला ।

            ७.    तमसुकमा लागेको सहीछाप स्वीकार्नु नै कर्जा स्वीकार्नु हुँदैन । तमसुक वमोजिमको रकम रुपैयाँ तिर्न बुझाउन नपर्ने भन्ने प्रमाण नै मिति २०५१।५।१ को करारनामाको लिखत हो । करारनामा कागजलाई उपेक्षा गर्न मिल्दैन । मिति २०५०।११।२४ को तमसुकी रकम मिति ०५१।५।१ को लिखतमा गाभिई सकेको हुँदा तमसुकको अस्तित्व समाप्त भइसकेको छ भन्ने कुरा मेरो जिकिर भएको अवस्थामा बिपक्षीको साक्षीले दावीलाई पुष्टी गरी वकपत्र गरेको भन्ने निर्णयाधारको कुनै उपयुक्तता छैन । बिपक्षीको साक्षीले मिति ०५१।५।१ को लिखतमा सो रकम समाविष्ट भएको छैन भनि वकपत्र गर्न सकेको पनि छैन । विवाद भन्दा वाहिरको कुरामा भएको वकपत्र समेतलाई आधार लिई मलाई हराई शुरुवाट भएको त्रुटीपूर्ण फैसला उल्टी गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत हेटौंडामा परेको पुनरावेदन पत्र ।

            ८.    यसमा ०५०।११।२४ पश्चात वादी प्रतिवादी वीच करार भएको देखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाउनु साथै २०५१ सालको दे.नं. १४१ को वादी मदनवहादुर थापा प्रतिवादी खिन्द्रवहादुर थापा भएको करार वमोजिम हक कायम मुद्दाको मिसिल झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको आदेश ।

            ९.    वादी प्रतिवादी वीच भएको मिति ०५०।११।२४ को लिखत अनुसारको लेनदेन सम्बन्धी दावी पुग्ने ठहर्‍याएको शुरु मकवानपुर जिल्ला अदालतको फैसला मिलेको नदेखिंदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति ०५४।१२।२ को फैसला।

            १०.    पुनरावेदन अदालतले असान्दर्भिक कल्पनाको निर्णयाधार वनाई मेरो साक्षी प्रमाणहरुलाई गौण बनाई अ.वं. १८४ क, १८५ र प्रमाण ऐन, २०३१ को दफा ५४ को वर्खिलाप फैसला गरेकोले उक्त फैसला उल्टी गरी शुरु माग दावी वमोजिम प्रतिवादीवाट लिखत बमोजिमका साँवा ब्याँज समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            ११.    यसमा ०५०।११।२४ को लेनदेन कारोवार, ०५२।२।२१ मा हक कायम हुने ठहरी भएको फैसलाको ०५१।५।१ को करारको कारोवारमा मिलान भइसकेको भन्न सकिने प्रमाणको अभावमा वादीको छुट्टै प्रकारको लेनदेनको लिखत बमोजिमको दावी नपुग्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि बिपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको अदालतको मिति ०५७।९।५ को आदेश ।

            १२.   विवादको लिखत मिति भन्दा पछि रुपैया वुझी लिई दिई जग्गा लिने दिने शर्तनामा गरी दिएको करारनामा लिखत गरिदिएकै कारणवाट विना आधार प्रमाण विवादको मिति २०५०।११।२४ को कपाली तमसुकको रुपैया तिरे वुझाएको वा सो छुट्टै लेनदेन कारोवारको हिसाव मिलान भएको भनि अर्थ गर्न कानून र न्यायसम्मत हुने नदेखिंदा दावीको कपाली तमसुकको लिखत वमोजिम साँवा ब्याँज भरी पाउने ठहर्‍याएको शुरु फैसला उल्टी गरी वादी दावा नपुग्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको नदेखिंदा वदर भै उल्टी हुन्छ । वादी दावीको मिति २०५०।११।२४ को लिखत वमोजिम साँवा ब्याँज समेत वादीले प्रतिवादीवाट भरी पाउने ठहर्‍याएको शुरु मकवानपुर जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय ।

            १३.   सफा हात लिई मदनवहादुर थापाको प्रस्तुत मुद्दा सम्बन्धी फिराद परेको भन्न नमिलेवाट वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मिलेकै देखिंदा सदर हुन्छ । वादी दावी वमोजिम सांवा व्याज भरि पाउने ठहर्‍याएको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रायसंग मतैक्य हुन नसकिएकोले प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री केदारनाथ आर्चायको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५८।१०।३ को फैसला ।

            १४.   नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट विद्वान अधिवक्ता श्री तुल्सी भट्टले कपाली तमसुक र करारको लिखत फरक फरक व्यवहारका लिखत हुन् । बिपक्षीले पटक पटक गरी रुपैया वुझाएको भनेकोमा सो को प्रमाण पेश गर्न सकेको छैन । यसैले शुरुको फैसला सदर हुने ठहर्‍याएको माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको राय सदर हुनुपर्छ भनि वहस प्रस्तुत गर्नुभयो । त्यसैगरी प्रत्यर्थी प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री मनोज दवाडीले अघिवाट भएको कपाली तमसुकलाई पछि भएको करारनामाको लिखतले स्वतः समाप्त पारेको छ । करारनामाको लिखत हुंदा पहिलेको लेनदेन समेतको हिसाव गरी भएको हो । तसर्थ वादी दावी नपुग्ने ठहरेको माननीय न्यायाधीश केदारनाथ आचार्यको राय सदर हुनुपर्छ भनि वहस प्रस्तुत गर्नु भयो ।

            १५.   विद्वान कानून व्यवसायीहरुले गर्नु भएको वहस जिकिरलाई मनन् गरी मिसिल संलग्न कागजात समेत अध्ययन गरी हेर्दा, बिपक्षीले ब्यापार गर्न भनि मिति २०५०।११।२४ मा कपाली तमसुक लेखी रु.४३,८७५।कर्जा लिनु भएकोमा भाखा भित्र साँवा ब्याँज नबुझाएकोले साँवा ब्याज भराई पाउँ भन्ने फिराद दावी र कपाली तमसुक पश्चात बिपक्षीलाई जग्गा विक्री गर्ने करारनामाको लिखत भई बिपक्षीले नालेस समेत गरी मिति २०५२।२।२१ को अदालतको फैसलावाट हक कायम दर्ता समेत हुने गरी फैसला समेत भैसकेकोले कुनै रकम तिर्न पर्ने छैन भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । शुरु मकवानपुर जिल्ला अदालतवाट वादी दावा पुग्ने ठहरेको फैसलालाई पुनरावेदन  अदालत हेटौंडाले उल्टी हुने ठहर गरेको र सो फैसला उपर वादीको यस अदालतमा परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरुको रायमा मतैक्य हुन नसकी निर्णयार्थ यस इजलास समक्ष प्रस्तुत मुद्दा पेश हुन आएको देखियो ।

१६.    पुनरावेदक वादी मदनवहादुर थापाले मिति २०५०।११।२४ मा कपाली तमसुक गरी प्रत्यर्थी प्रतिवादी खिन्द्रवहादुर थापालाई फिराद दावी वमोजिमको रकम कर्जा दिएको कुरामा र यिनै वादीवाट रु.२९,०००।बुझी लिई यी प्रतिवादीले आफ्नो नाममा रहेको जग्गा १ महिना भित्र पारित दिने शर्त राखी मिति २०५१।५।१ मा करारनामाको कागज गरी दिएको कुरामा विवाद देखिंदैन । कपाली तमसुक वमोजिमको रकम मध्ये पटक पटक गरी रु.१५,०००।बुझाएको र वाँकी रुपैयामा आफ्नो जग्गा विक्री गर्न भनि मिति २०५१।५।१ मा करारनामाको कागज लिनु दिनु भएको भनि प्रतिवादीको प्रतिउत्तर जिकिर रहेको देखिन्छ । मिसिल संलग्न रहेको मिति २०५१।५।१ को लिखत हेर्दा सो लिखतमा खिन्द्रवहादुरले आफ्नो नाममा भएको जग्गा एक महिनामा पास गरी दिने शर्त राखी मदनवहादुरवाट रु. २९,०००।वुझि लिई यी दुई पक्ष वीच करार भएको देखिन्छ । सो लिखतमा मिति २०५०।११।२४ को लिखतका सम्बन्धमा केही नवोलिएको देखिएतापनि यी वादीले पहिले कर्जा दिएको रुपैया वाँकी छंदाछंदै पुनः यी प्रतिवादीलाई रुपैया दिनुपर्ने अवस्था व्यवहारमा देखिंदैन । कपाली तमसुक र करारनामाको लिखत अलग अलग ब्यवहार प्रमाणका लिखत भएतापनि यिनै दुई पक्षका वीच  यी दुई लिखत भएको र पहिले कपाली तमसुक गरी रुपैया लिनु दिनु भएको र पछिबाट रुपैया कर्जा लिने ऋणीलाई नै रुपैया दिई निजको जग्गा पास गरि लिने शर्त राखी करारनामाको लिखत भएको देखिन  आउंछ । यसवाट यी दुई लिखत अलग अलग प्रकृतिका हुने भएपनि लिखतका पक्षहरु एउटै र यिनै पक्षहरुका वीचको व्यवहार मिलाउन भए गरेको देखियो । तसर्थ वादी दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ सदर गर्ने गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उपर्युक्त रायमा सहमत छौं  ।

 

न्या.कृष्णकुमार वर्मा

न्या.गोपालप्रसाद खत्री      

 

इति सम्बत् २०६० साल आषाढ १२ गते रोज  ५ शुभम्…………………..