निर्णय नं. ७१८५ – कर्तब्य ज्यान
निर्णय न.७१८५ ने.का.प २०६० अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्बत २०५९ सालको साधक नं. ….४२५...
निर्णय न.७१८५ ने.का.प २०६० अङ्क १.२
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
सम्बत २०५९ सालको साधक नं. ….४२५
सम्बत २०५९ सालको निवेदन नं. … १११०
फैसला मिति : २०६०।२।८।५
मुद्दाः– कर्तब्य ज्यान ।
वादी : मुराती केवटीनको जाहेरीले श्री ५ को सरकार
बिरुद्ध
प्रतिवादी : रुपन्देही जिल्ला असुरैना गा.वि.स. वडा नं. १ बस्ने सन्तोषी केवट
§ प्रतिवादी सन्तोषी केवट र नीजको देखि जान्ने साक्षीको कुरा एक आपसमा मिल्न भिड्न नआएको देखिँदा नीज प्रतिवादी सन्तोषी केवटको अदालतको इन्कारी वयान प्रतितलायक नदेखिने ।
§ प्रतिवादी २०५३।२।२८ पश्चात जाहेर मिति २०५३।३।७ सम्म एकाघरकी बुहारीको खोज खबर नगरी मौन बस्नु, जाहेरीमा उल्लेखित स्थानबाट लास भेटिनु मृतकका कपालका रौंहरु विषको प्रभावले झर्नु, समेतका परिस्थितिजन्य तथ्य प्रमाणबाट यी प्रतिवादीले अभियोग दावीको कसूर गरेको होइन रहेछन् भन्न नसकिँदा निज प्रतिवादीलाई अभियोग दावीको कसूर गरेको ठहराई अभियोग दावी बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको शुरु फैसला सदर गरेको पुनारावेदन अदालतको फैसला मिलेकै देखिँदा साधक सदर हुने ।
वादी तर्फबाट :
प्रतिवादी तर्फबाट :
अवलम्वित नजिर :
फैसला
न्या. केदारप्रसाद गिरी : न्याय प्रशासन ऐन, २०४८ को दफा १० अन्तर्गत साधक जाँचको लागी यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. वर्ष २० उचाई ४ फिटकी १ छोरीकी आमा प्रभावती केवटीन मेरी छोरीलाई विपक्षी मध्येका सदानन्दन केवटले ०५३।२।२८ गते राती फकाई मोल रु ६००।– पर्ने १/१६ तोलाको सुनको नथुनी मोल रु १६०।– पर्ने चाँदीको फुली १ थान नगद रु १००।– गरी जम्मा ८६०।– को नगद एवं चल सम्पत्ति सामान समेत सँगै साथमा लिई नमालुम मेरो घरवाट कहा लापत्ता गरि दिएकोले दुवै जना विपक्षीहरु सदानन्द केवट र सन्तोषी केवटलाई झिकाई मेरी छोरीको खोज तलास गराई सामान समेत दिलाई पाउँ भन्ने मुरातीकेवटले दिएको हुलिया निवेदन ।
३. सदानन्द केवटले भारतको आफन्त घरवाट भगाई ल्याई मेरी छोरी प्रभावतीलाई स्वास्नी वनाई राखेको थिए । ०५३।२।२८ देखि निजको घरमा मेरी छोरी नभएपछि छोरीलाई कतै वेपत्ता पारेकी भनि खोज तलास गरी पत्ता लगाउँदै थिए, घरमा मेरी छोरी सौता हुन गएको कारणवाट नै छोरीलाई कुटपिट एवं गाली गलौच गर्ने गर्दथे निज छोरीलाई मार्नु पर्ने कारण घरमा जेठी श्रीमती भएकी र निजका छोरा छोरी समेत भएको कारणवाट घर परिवारको मिलोमतो सहमतीवाट मारी जि. रु असुरैना गा. वि. स. वार्ड नं. १ वनरहवा स्थित गाउँको दक्षिण पट्टी निज सन्तोषी केवटको खेतको सव्जी पानी सिंचाई गर्ने चौका इनारामा माटोमा पुरी जमिनसँग वरावर रहेको देखेकी हुँदा मेरी छोरी प्रभावती केवटलाइ सन्तोषी केवट र निजकै छोरा सदानन्द केवट समेतले मारी पुरेकोमा पूर्ण विश्वास लागेकोले निजलाई पक्राउ गरी कारवाही गरी सो घटनामा अन्य मानिसहरु सँलग्न भए निजहरुवाटै खुलाई कारवाही समेत गरी पाउँ भन्ने मुराती केवटले दिएको जाहेरी दरखास्त ।
४. जिल्ला रुपन्देही असुरैना गा. वि. स. वडा नं. १ वनरहवा स्थित सन्तोषी केवटको खेतमा रहेको साग सव्जीमा पानी निकाली सिंचाई गर्ने महडा चौडा रहेको सो पुरै माटोले पुरी जमिनसँग वरावर रहेको सो जमिनमा पूर्व दक्षिण तर्फको भागमा २ ठाउँमा दवि कुनै जन्तुले खोतले जस्तो देखिएको सो ठाउँमा प्रहरीद्वारा खन्दै जाँदा विच विचमा केरा पातहरु रहेको देखिएको ११.१/२ फिट गहिराईमा मृतकको शरिरको डाढ देखिएको १२.१/२ फिट गहिराईमा इनारको छेउमा पूर्व मोहडा दक्षिण खुट्टा गरी उत्तानो अबस्थामा मृतक लास रहेको उक्त लाश निकाली हेर्दा नाक, मुख थिचिएको मुत्रद्वारवाट आन्द्रा निस्केको दुवै पैतालाको छाला खुईलिएको पातलो रौ झरेको भन्ने प्रभावती केवटको लाश प्रकृति विवरण ।
५. लाश प्रकृति विवरण अनुसार निकालिएको लाश मेरी छोरी प्रभावति केवटको लाश देखे चिने मैले दिएको हुलिया निवेदन र जाहेरी वमोजिम छोरीको मृतक लाश हो भनि मुराती केवटले गरि दिएको सनाखत कागज ।
६. भिसेरा रिपोर्ट प्राप्त भएपछि मात्र मृत्यूको कारण भन्न सकिने भन्ने ०५३।३।७ को भिम अस्पताल रुपन्देहीको लाश जाँच प्रतिवेदन ।
७. छोरा सदानन्द केवट, जेठी वुहारी र मेरो सल्लाह वमोजिम ०५३।२।२८ गते साँझ सवै परिवारले खाना खाई सकेपछि अन्त्यमा म, छोरा सदानन्द र जेठी वुहारी मिली दाल र सव्जीमा विष राखी मृतकलाई खुवाएका हौ । खुवाई सकेपछि मृतकले पेट दुख्यो भनि वान्ता गरी मृत्यू भयो । लाश छोराले हाम्रो खेतको चौडा इनारमा लगी दवाउने भनेपछि हामी तिनैजना विच सोही कुरामा सल्लाह भई अन्दाजी १२ वजे राती सदानन्दले मृतक प्रभावतीलाई ढाडमा वोकी गाड्न इनारमा लगेका केही समयपछि म र वुहारी कोदालो लिई गई सवै मिली पुर्यौं र भागी भारत तर्फ गएका हौं । छोरा सँग पनि कान्छी वुहारी झगडा गर्ने मेल मिलाप नभएको, नराम्रो आचारण भएको केटी छोराले भगाई ल्याएका, खानदानको इज्जत नराम्रो भएको कारण मुसाको दवाई खुवाई म सदानन्द र जेठी वुहारी भै मारेका हौ भन्ने समेत व्यहोराको प्र. सन्तोषी केवटले प्रहरी समक्ष गरेको बयान ।
८. जिल्ला रुपन्देही असुरैना गा. वि. स. वार्ड नं. १ वनरहवा स्थित सन्तोषी केवटको घर खानतलास गर्दा कोदालो र विड छुट्टाछुट्टै अबस्थामा वरामद गरिएको भन्ने खानतलासी वरामदी मुचुल्का ।
९. मेरी आमा मुराती केवटले इ. प्र. का. मर्चवारमा किटानी जाहेरी दिए अनुसार उक्त कार्यालयवाट डोर खटिई पुरिएको इनार खनी हेर्दा मेरी दिदी प्रभावती केवटको लाश भेटीएको हो प्र. सदानन्द केवट, सन्तोषी केवट र लक्ष्मीना केवट समेतले विष प्रयोग गरी घरमै मारी रातारात इनारमा लगी गाडेकोमा पूर्ण विश्वास लाग्छ कडा कारवाही होस् भन्ने मृतकको भाई जयराम केवट र सोही व्यहोराको इनल केवट, रामविलास केवट, प्रवेसी केवट समेतले गरी दिएको कागज ।
१०. प्रभावती केवट माइती घरमा छदा राम्रै चाल चलन कि थिइन् उनलाई के कस्तो परिवन्धवाट ०५३।२।२८ गते मारी लास कोही कसैले पत्ता नपाउन् भन्ने उद्देश्यले इनारमा लगी गाडेका हुन् निजहरुले नै जानुन् । उक्त लास निकाल्दाको अबस्थामा सदानन्द केवट समेतका घर परिवारमा कोही नभै भागी गएका थिए भन्ने समेत व्यहोराको भर्खन भर प्रभावतीलाई मारी लाशलाई कोही कसैले फेला नपारुन् भनि अपराधवाट वच्नको लागी इनारमा गाडेकोमा विश्वास लाग्छ भन्ने राधेश्याम लोधले गरि दिएको कागज ।
११. ०५३।२।२८ मा मृतक र प्रतिवादीहरुलाई घरमा देखेको थिए । घरमा मेलमिलाप थिएन। प्रभावतीलाई प्रतिवादीहरुले मारी इनारमा गाडेकोमा विश्वास लाग्छ भन्ने व्यहोराको चन्द्रिका कुर्मिले गरि दिएको कागज ।
१२. फरार रहेका प्र. सदानन्द केवट र लक्ष्मीना केवटलाई खोज तलास गर्दा फेला नपरेको भन्ने प्र. पूर्णवहादुर थापा समेतको निवेदन ।
१३. प्रतिवादीहरु सन्तोषी केवट, सदानन्द केवट र लक्ष्मीना केवट जना ३ ले घर परिवारको इज्जत प्रतिष्ठा गएको, घरमा सधै कलह झगडा हुने गरेको र सौता भएर आएको समेतका कारणवाट रिस इवी रहेकी प्रभावती केवटलाई विष खुवाई मार्ने सल्लाह षडयन्त्र गरी योजना वनाई सो अनुरुप प्र. सन्तोषी केवटले भारत कोलही वजारवाट मुसा मार्ने विष किनेर ल्याई पूर्व योजना अनुरुप ०५३।२।२८ गते प्रतिवादीहरु सन्तोषी, सदानन्द केवट र लक्ष्मीना केवट तिनै जना मिली मार्ने नियतले प्रभावति केवटले खाने खाना दाल र तरकारीमा उक्त मुसाको विष मिसाई खुवाएकोमा सोही विषको असरले प्रभावति केवटको मृत्यू भएको देखिदा र सो पश्चात सोही रात निज प्रतिवादीहरुले अपराध दवाउने छुपाउने नियतले प्रभावती केवटको लास आफ्नै खेतमा रहेको इनारमा पुरेको पुष्टी हुँदा प्रतिवादीहरु सन्तोषी केवट, सदानन्द केवट र लक्ष्मीना केवटलाई मुलुकी ऐन ज्यान सम्वन्धी महलको १ नं. र १३(२) नं. को कसूरमा ऐ. १३(२) नं. बमोजिम सजाय हुने माग दावी लिई फरार प्रतिवादी सदानन्द केवट र लक्ष्मीना केवटलाई वारेन्ट सहितको म्याद पुर्जि जारी गराई पाउँ भन्ने समेत व्यहोराको अयिभोग माग दावी ।
१४. मिति ०५३।२।२८ गते म लुम्विनी अस्पतालमा मेरी श्रीमतीलाई औषधी गर्न ऐ. २।२२ देखि वसि रहेको थिए । उक्त दिन घरमा टण्टा झगडा भएको सम्वन्धमा मलाई थाहा छैन । विषको विषयमा कसले खुवायो मलाई थाहा छैन । लास मेरै खेतमा सिंचाई गर्न खनेको इनारमा माटोले पुरेको अबस्थामा फेला परेको हो । अधिकार प्राप्त अधिकारी समक्ष मैले त्यस्तो वयान गरेको होइन । वयानमा किन त्यस्तो लेखियो थाहा छैन । श्रीमतीलाई उपचार गराउन लुम्विनी गएको र मैले कुनै विष किनेको होइन मैले प्रभावतिलाई मारेको नहुँदा मैले सजाय पाउनु पर्ने होइन विचार गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्र. सन्तोषी केवटले अदालत समक्ष गरेको बयान ।
१५. अदालतवाट जारी भएको म्यादमा प्र. लक्ष्मीना केवट र प्र. सदानन्द केवट हाजिर नभै फरार रहेको ।
१६. प्र. मध्येका सदानन्द केवट र लक्ष्मीना केवटको हकमा अ. वं. १९० न. बमोजिम मुल्तवीमा राखि दिएको छ । प्र. सन्तोषी केवटको सम्वन्धमा विचार गर्दा प्रतिवादीले प्रहरीमा गरेको साविती वयान गरेको कुटपिट समेत गरी प्रहरीले जर्वजस्ती वयान गराएको भन्ने समेत केही खास अदालत समक्षको वयानमा भनेको नपाइएको र प्रहरीको यी प्रतिवादीको साविती वयान माथी विवेचित लास प्रकृती मुचुल्का एवं मिसिल सँलग्न प्रमाणहरुवाट पुष्टी भएको पाईदा यी प्र. सन्तोषी केवटलाई अभियोग दावी अनुसार सर्वश्व सहित जन्म कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको रुपन्देही जिल्ला अदालतको मिति २०५७।२।१२।५ को फैसला ।
१७. शुरु रुपन्देही जिल्ला अदालतको मिति २०५७।२।१२ को फैसला उपर प्र. सन्तोषी केवटका तर्फवाट पुनरावेदन पर्न आएको नदेखिएकोले प्रस्तुत मुद्दा साधक दायरीमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने मिति २०५८।७।२० का आदेशानुसार पुनरावेदन अदालतमा साधकको रोहवाट दर्ता हुन आएको रहेछ ।
१८. शुरु फैसला गर्दा लिएको आधारहरु र विवेचना गरिएका सवुद प्रमाणहरु समेत मनासिव देखिदा प्रतिवादी सन्तोषी केवटलाई अभियोग दावी अनुरुप सर्वश्व सहित जन्मकैद हुने ठहराएको शुरु रुपन्देही जिल्ला अदालतको मिति २०५७।२।१२ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको २०५९।३।७ को फैसला ।
१९. पुनरावेदन अदालतको फैसला साधक जाँचको लागी यस अदालतमा साधकको लगतमा दर्ता हुन आएको ।
२०. पुनरावेदन अदालत वुटवलको फैसला अ. वं. १८४ क, १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको प्रतिकुल रहेकोले अयिभोग दावी बमोजिम सजाय गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी प्र. सन्तोषी केवटलाई अभियोग दावीवाट सफाइ दिलाई पाउँ भन्ने समेत व्यहोराको सन्तोषी केवटको छोरा श्रवन कुमार केवटको यस अदालतमा परेको निवेदन पत्र ।
२१. नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा मिसिल सँलग्न प्रमाण कागजात हेर्दा यसमा पुनरावेदन अदालतको फैसला मिले नमिलेकोके रहेछ ? सो सम्वन्धमा नै निर्णय गर्नुपर्ने देखियो ।
२२. निर्णय तर्फ विचार गर्दा यसमा प्रतिवादी सन्तोषी केवटले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा छोरा सदानन्द, जेठी वुहारी र आफ्नो समेत सल्लाह भै मुसा मार्ने दवाई भारतवाट किनी ल्याई २०५३।२।२८ गते वेलुका मृतकको खानामा विष मिसाई दिई निजले सो खाना खाए पश्चात विस्तारै वेहास् भई मरेकीले हामी तिनै जना मिली मृतकको लासलाई आफ्नै जग्गामा रहेको पानी पटाउने गरेको इनारमा लगी गाडी पुरेको र सोही रात प्रतिवादी छोरा वुहारी केटाकेटी लिई भारत तर्फ भागेका र आफू पनि २०५३।२।३१ गते भागी भारतमा गएको भनि मृतकलाई विष खुवाई कर्तब्य गरी मारेको कुरामा सावित रही वयान गरेको देखिन्छ । जाहेरवाली मुराती केवटीनले यी प्रतिवादी उपर किटानी जाहेरी दिएको र वुझिएका जयराम केवटले पनि यि प्रतिवादी उपर किटानी पोल गरेको देखिन्छ । मृतक प्रभावती केवटनी छोरा सदानन्दको कान्छी श्रीमति भै २ महिना देखि नै एकै घरमा वस्दै आएको भनि प्रतिवादी सन्तोषी केवटले अदालतको वयानमा उल्लेख गरी वारदात मितिमा आफू अन्यत्र गएको भनी कसूरमा इन्कार रहेको देखियता पनि मृतक प्रभावती २०५३।२।२८ देखि वेपत्ता भएको कुरालाई अन्यथा भन्न सकेको नदेखिएको र निज प्रभावती वेपत्ता भएपछि यो यस्तो ठाउँमा खोज तलास गरेको भन्न सकेको समेत देखिदैन । साथै जाहेरवालीको घर र प्रतिवादीको घरको दुरी समेत १०० मिटरमा रहेको भनि प्रतिवादीले नै उल्लेख गरेको तर त्यती नजिकको दुरीमा रहेको जाहेरवालीलाई कुनै खवर गरेको भन्ने समेत उल्लेख गर्न सकेको पाइएन । त्यसै गरी अदालतमा वयान गर्दा यी प्रतिवादीले आफ्नो मौकाको वयान प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) को खण्ड (१) र (२) को व्यवस्थाको विरुद्ध रहेको भनि भन्न सकेको समेत पाईदैन । प्रतिवादीले अदालतमा वयान गर्दा आफू श्रीमतीको उपचारको लागी लुम्वीनी अस्पताल गएको त्यहाँ २२ गते देखी भर्ना भै १० दिन पछि मात्र फर्कि आएको भन्ने कुरा लेखाएको देखिन्छ भने नीजका साक्षी छेदी केवटले अदालतमा गरेको वकपत्रमा घटना घटेको दिन २०५३।२।२८ गते यी प्रतिवादीसँग विहान भेट भएको, भेट हुँदा श्रीमति विरामी भएकोले उपचार गराउन लुम्वीनी जानु छ भनी भनेको र २ गते पछि घर आएको भन्ने लेखाइ दिएको देखिदा प्रतिवादी सन्तोषी केवट र नीजको देखि जान्ने साक्षीको कुरा एक आपसमा मिल्न भिड्न नआएको देखिदा नीज प्रतिवादी सन्तोषी केवटको अदालतको इन्कारी वयान प्रतित लायक देखिन आएन । यसका अतिरिक्त प्रतिवादीकै जग्गाको इनारवाट लाश भेटिएको अबस्था पनि रहेको छ । यसरी यी प्रतिवादी २०५३।२।२८ पश्चात जाहेरी मिति २०५३।३।७ सम्म एका घरकी वुहारीको खोज खवर नगरी मौन वस्नु, जाहेरीमा उल्लेखित स्थानवाट लास भेटिनु मृतकका कपालका रौहरु विषको प्रभावले झर्नु, समेतका परिस्थितीजन्य तथ्य प्रमाणवाट यी प्रतिवादीले अभियोग दावीको कसूर गरेका होइन रहेछन् भन्न नसकिदा निज प्रतिवादीलाई अभियोग दावीको कसूर गरेको ठहराई अभियोग दावी बमोजिम सर्वश्व सहित जन्मकैदको सजाँय हुने ठहराएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला मिलेकै देखिदा साधक सदर हुने ठहर्छ । दायरीको लगत कट्टा गरी फैसलाको जानकारी प्रतिवादीलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. खिलराज रेग्मी
इति सम्बत २०६० साल जेठ ८ गते रोज ५ शुभम् ………………………….