January 16, 2003
Created by nepalarchives

निर्णय नं. ७१६७ – ज्यान मार्ने उद्योग

निर्णय नं.७१६७     ने.का.प २०६० अङ्क १.२   संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी संवत. २०५५ सालको फौ.पु. नं. –...

निर्णय नं.७१६७     ने.का.प २०६० अङ्क १.२

 

संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

संवत. २०५५ सालको फौ.पु. नं. २१५४

फैसला मितिः २०५९।१०।२

 

मुद्धा:ज्यान मार्ने उद्योग

 

पुनरावेदक

वादीः सुनिता अधिकारीको जाहेरीले श्री ५ को सरकार 

विरुद्ध

प्रत्यर्थी  प्रतिवादीः का.जि.जोरपाटी गा.वि.स.वडा नं. ८ बस्ने दिवाकर पण्डित 

प्रत्यर्थी

प्रतिवादी : का. जि  जोरपाटी गा वि स वडा नं. ८ बस्ने दिवाकर पण्डित

 

§  प्रमाण ऐन ,२०३१ को दफा १८ मा कुनै आमा घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वाव जांच बुझको सिल्सिलामा प्रचलित नेपाल कानुन बमोजिम तयार भएको कुनै लिखितमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ती साक्षीको रुपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था रहेको पाइन्छ । अदालतबाट जारी भएको म्याद अनुसार अदालतमा उपस्थित भई आफ्नो व्यहोरा समर्थन हुने गरी बकपत्र गर्न नसकेको अवस्थामा जाहेरी दर्खास्तको व्यहोरा तथा अनुसन्धान अधिकारि समक्ष कागज गर्ने टिप्पणी प्रसाद निरौला समेटा को कागजको व्यहोरालाई उल्लेखित कानुनी व्यवस्था अनुसार प्रमाण मा लिन नमिल्ने ।

§  प्रतिवादिले मर्ने सम्मको मनसयइवी रखी छुरी हानेको र अन्य व्यक्तिहरुको अवरोधको करण मार्न भने नपाएको भन्ने अवस्थाको पुष्टी हुन सकेको भन्न नमिल्ने । त्यसैले मार्ने सम्मको काम गरी सकेको भन्ने अवस्था नदेखिदा ज्यान सम्बन्धीको १५ नं आकर्षित नहुने ।

 

 

 

पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री टिकाबहादुर हमाल

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्वित नजिरः

फैसला

न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५५।२।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम वादी पक्षको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यस प्रकार छ :

 २.    मिति २०५२।१०।१५ गते दिनको १२.४५ बजेको समयमा बबरमहल सडक विभागको गेट अगाडि  काठमाडौं  जोरपाटी गा.वि.स.वडा नं. ८ निवासी दिवाकर पण्डितले वकिललाई छुरा प्रहार गरी भागेको अवस्थामा अभियुक्त र छुरी समेत यथास्थानमा सुरक्षित साथ राखी प्रतिवेदन गरेको छु भन्ने समेत   व्यहोराको प्र.स.नि. खड्गबहादुर भण्डारीको प्रतिवेदन ।

 ३.   ११ इन्ची लामो फलामकै दाप, हड्डीको जस्तो विड भएको फलामको एका तर्फ धार भएको छुरी फेला परेको भन्ने मिति २०५२।१०।१५ को बरामदी मुचुल्का । 

४.    काठमाडौं महानगरपालिका वडा नं. ११ माइतीघर स्थित पुष्परत्न शाक्यको भुइतल्ला समेत ३ तल्ला भएको पक्की घरको दोश्रो तल्ला पश्चिम दिशा अगाडि मोहडामा भएको आदर्श कानूनी सदनको घाइते अधिवक्ता राजेन्द्र अधिकारी समेतको ल च्याम्बरको घटना प्रकृति विवरण ।

५.    मिति २०५२।१०।१५ गते दिनको अं. १२.३० बजेको समयमा आफ्नो ल फर्मको वाथरुमबाट हात पुछ्दै फर्म कोठामा प्रवेश गरेको अवस्थामा मैले पूरै नचिनेको केटाले राजेन्द्र अधिकारी कोे हो भनि सोध्यो मैले म हो के कामले  होला ? भनि सोद्धासोद्धैको अवस्थामा निजले एक्कासी छुरीले मलाई प्रहार गरी छेक्ता छेक्दै टाउंकोमा प्रहार गर्यो । यसपछि पटक पटक टाउको पछाडी, दाहिने कन्चट, कोखा समेतमा प्रहार गरेकाले मुर्छित भई भुईमा लडेछु । मैले वादी यज्ञबहादुरको तर्फबाट भूमि सुधार कार्यालय  काठमाडौं  र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी पुर्पक्ष गरेको थिएं । के कुन रिसइवीबाट हो मलाई निज दिवाकरले छुरी प्रहार गरेका हुन् सो समेत निज र निजका बाबुबाट खुलाई कार्वाही गरी पाउं भन्ने समेत व्यहोराको घाइते राजेन्द्र अधिकारीको कागज ।

६.    मिति २०५२।१०।१५ गतेका दिन आफ्नो ल च्याम्बरमा काम गरिरहेको मेरा पति राजेन्द्र अधिकारीलाई उक्त फर्ममा तत्काल रहेका टिप्पणी निरौला समेतको रोवहरमा विपक्षी दिवाकर पण्डितले आक्रमण गरी धारिलो हतियारले कोखा टाउको समेतको संवेदनसिल अंगमा प्रहार गरी ज्यान मार्ने मनसायले प्रहार गरेको भन्ने बुझिएकोले कारवाही गरी पाउं भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

७.    मिति २०५२।१०।१५ गते दिनको १२.३० बजेको समयमा साथी पवनप्रसाद नेपाल समेत मेरो ल च्याम्बरमा रहेका अन्य साथीहरु रहे बसेको अवस्थामा राजेन्द्र अधिकारी को हो ? भनि एक जनाले सोध्न आएको र त्यहि अवस्थामा राजेन्द्र अधिकारी जी पनि वाथरुमबाट निस्कि म नै हो राजेन्द्र अधिकारी भनि परिचय दिंदा ज्याकेट भित्रबाट छुरी निकाली साथी राजेन्द्र अधिकारी कुर्सीमा बस्न नपाउंदै प्रहार गरेको र त्यहा भएका हामी सवै साथीहरुले प्रतिरक्षा गर्दै संझाउंने प्रयास गर्दा गर्दै हातमा छुरी लिई बाहिर निस्की दौडेर ववरमहल तर्फ लागेका हुन् । सो कुरा ट्रापिक प्रहरीलाई अनुरोध गरेकोमा प्रहरी समेतको सहयोगमा दिवाकर पण्डितलाई पक्राउ गरिएको हो भन्ने समेत व्यहोराको प्रत्यक्षदर्शी ज्ञानेश्वरप्रसाद फुयाल, पवनकुमार नेपाल, टिप्पणी निरौला समेतको कागज ।

८.    बाबु र ठुलो बाबु बीचको जग्गा मुद्दा  काठमाडौं  जिल्ला अदालतमा चलेकोमा हाम्रो वकिल राजेन्द्र अधिकारी भएको र उक्त मुद्दा जिल्ला र पुनरावेदनबाट हाम्रो बाबुले हारेको र निज वकील हाम्रो विपक्षी ठूलो बाबुसंग मिली मुद्दा हारी जग्गा गुमाउनु परेको कारणको रिसइवी लिई निजलाई मार्न भनी घरबाट छुरी बोकी ल्याई निजलाई छुरी प्रहार गरेको र मर्यो होला भन्ने ठानेर पूर्व तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले छुरी सहित पक्राउ गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी दिवाकर पण्डितले प्रहरी समक्ष गरेको बयान ।

९.    वकिलको कमजोरीले मुद्दा हारियो भन्ने कुरा मैले घरमा गरेको थिएं । सोही कारणबाट छोरा दिवाकर पण्डितले निज राजेन्द्र अधिकारीलाई छुरा प्रहार गरेको भन्ने सुनेको हो तर के कुन बिचारले कसरी प्रहार गर्यो मलाई थाहा छैन भन्ने समेत व्यहोराको यज्ञबहादुर पण्डितको कागज ।

१०.    यज्ञबहादुर र मेरो बीच जग्गा मुद्दा चलेकोमा जिल्ला र पुनरावेदनमा मैले जितेको छु । राजेन्द्र अधिकारीलाई चिनेको छैन । निजलाई छुरा प्रहार भयो भन्ने पत्रिका मार्फत थाहा पाएं भन्ने समेत व्यहोराको लालबहादुर पण्डितको कागज ।

११.    मलाई छुरा प्रहार गरी मरणासन्न अवस्थामा छाडी भाग्ने व्यक्ति यिनै हुन भनि राजेन्द्र अधिकारीद्वारा भएको मिति २०५२।११।९ को सनाखत कागज ।

१२.   राजेन्द्र अधिकारीलाई छुरा प्रहार गरी भाग्ने व्यक्तिलाई पक्राउ गर्न निजका साथी टिप्पणीलाई आफ्नो मोटरसाईकलमा राखी अपराधी पक्राउ गर्न मद्दत गरेको हुं भन्ने समेत व्यहोराको रमेश के.सी.को कागज ।

 १३.  घाइते राजेन्द्र अधिकारीको घा केश फारम मिसिल संग्न रहेको ।

 १४.  आफ्नो बाबु र ठूला बाबु बीचको जग्गा मुद्दा अधिवक्ता राजेन्द्र अधिकारी कै कारणले हारेको भन्ने पूर्व रिसइवी लिएर सोही इवी सांध्नको लागि भनि पूर्व योजना बनाई घरबाट छुरी साथमा ल्याई ल च्याम्बरमा आई सोधी ठहर्याई छुरा प्रहार गरेको भन्ने स्पष्ट देखिन आएकोले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरीत ऐ.को १५ नं. को कसूर अपराध गरेकोमा निज दिवाकर पण्डितलाई सोही १५ नं. बमोजिम सजायं गरि पाउं भन्ने समेत व्यहोराको अभियोग पत्र ।

१५.   म मेरो मुद्दाको मिसिल सम्बन्धमा कुरा गर्न राजेन्द्र अधिकारी कहा गई मिसिलको कुरा गर्दा वाहां र म बीचमा वाद विवाद भई मलाई ठेलठाल गरी घचेट्नु भयो । मैले पनि वहांलाई घचेटी दिएं । त्याहां वाहांको अरु साथी र वांहा समेतले घेरी पक्रन खोज्दा मैले आफ्नो ज्यान जोगाउन त्यहि फर्मको झ्यालमा राखिएको छुरा टिपी देखाई भाग्न खोज्दा राजेन्द्र अधिकारी छटपटी वाहांलाई छुरी लाग्न गयो। त्यसपछि म आंत्तिएर छुरी लिएर भागें । मलाई बबरमहलमा पक्राउ गरियो भन्ने समेत व्यहोराको प्रतिवादी दिवाकर पण्डितको अदालतमा भएको बयान ।

१६.    प्रतिवादी दिवाकर पण्डितलाई ज्यान सम्बन्धी महलको १५ नं.को कसूरमा सोही १५ नं. बमोजिम ५ वर्ष कैद सजायं हुने ठहर्छ भन्ने समेत व्यहोराकोे काठमाडौं जिल्ला अदालतको मिति २०५३।६।२४।५ को फैसला । 

१७.   काठमाडौं  जिल्ला अदालतको फैसला गंम्भीर त्रुटिपूर्ण र अन्याय पूर्ण हुंदा उल्टी गरी सफाइ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी दिवाकर पण्डितको पुनरावेदन पत्र ।

१८.   प्रतिवादी दिवाकर पण्डीतले राजेन्द्र अधिकारी उपर छुरी प्रहार गर्दा कसैले रोक्न हेर्न नआएको, जाहेरवाला तथा पीडित व्यक्ति अदालतमा उपस्थित भई वबपत्र नगरेको अवस्थामा प्रतिवादीलाई सजाय गर्ने गरेको ।  काठमाडौं  जिल्ला अदालतको फैसला फरक पर्न सक्ने भई विचारणीय हुंदा छलफलको लागि अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५३।१२।१२ को आदेश ।

१९.राजेन्द्र अधिकारी र सुनिता अधिकारीको नाउंमा र साक्षीका रुपमा रहेका टिप्पणी निरौलाको नाममा समेत अ.वं. ११५ नं. बमोजिम प्रक्रिया पूरा गरी पेश गर्नु भन्ने समेत व्यहोराको आदेश । 

२०.   आदेशानुसार अ.वं. ११५ नं. बमोजिम म्याद जारी गरिएकोमा उपस्थित हुन नआएको ।

२१.   पुनरावेदक प्रतिवादीले आदालतमा गरेको बयानमा मार्ने मनसाय नभएको भनेको र निजले राजेन्द्र अधिकारीलाई छुरी प्रहार गर्दा घटनास्थलमा कसैका तर्फबाट वाधा व्यवधान परेको नभई आफैं भागी जांदा बबरमहलमा पक्राउ परेको तथ्यबाट वारदात स्थलमा निजलाई कसैले रोकेको नदेखिएकाले मार्नसम्मको काम गरेको ज्यान भने मर्न नभ्याएको भन्ने ज्यान सम्बन्धी महलको १५ नं.को व्यवस्था अनुरुप मर्नेसम्मको काम गरी सकेको प्रमाणित हुन नआएकाले ज्यान मार्ने उद्योगको कसूर गरेको ठहर गरेको शुरुको विवेचनासंग सहमत हुन सकिएन । तसर्थ, जिल्ला अदालतले ज्यान मार्ने उद्योग गरेको ठहर्याई पुनरावेदक प्रतिवादी दिवाकर पण्डितलाई गरेको सजायं मिलेको नहुंदा  काठमाडौं  जिल्ला अदालको फैसला उल्टी भै प्रतिवादी दिवाकर पण्डितले सफाइ पाउने र प्रस्तुत मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम प्रस्तुत मुद्दाबाटै पक्ष कायम गरी कुटपिट तर्फ परिणत हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५५।२।२६ को फैसला ।

२२.   आफू बसेको घर जग्गा सम्बन्धी मुद्दा हारेको रिसको कारण बदनियत साथ घरबाटै छुरा लिई पीडित राजेन्द्र अधिकारीलाई प्रहार गरेको आपराधिक कार्यबाट प्रतिवादीको मनसाय पुष्टि भइरहेको अवस्थामा मनसाय तत्वको अभाव भएको भनि प्रतिवादीलाई सफाइ दिने गरी भएको इन्साफ त्रुटिपूर्ण हुंदा सो फैसला उल्टी गरी प्रतिवादीलाई अभियोगदावी बमोजिम सजायं गरी पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।

२३.   नियमानुसार इजलास समक्ष पेश हुन आएको प्रस्तुत पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री टिकाबहादुर हमालले प्रतिवादीले पीडित राजेन्द्र अधिकारीलाई छुरा प्रहार गरेको हो भनि अदालतमा बयान गर्दा पनि स्वीकार गरी बयान गरेका छन् । घाइतेको घा केश फारमबाट निजको टाउको, छाति पेट जस्ता संवेदनशील अंगमा चोट लागेको भन्ने देखिन्छ । प्रतिवादी समेत बसी आएको घरजग्गाको सम्बन्धमा परेको मुद्दामा कानून व्यवसायीको रुपमा नियुक्त पीडित राजेन्द्र अधिकारीले हेलचेक््रयाई गरी मुद्दा हारिएको कारणबाट निजलाई छुरी प्रहार गरी मार्ने मनसायले घरबाट छुरी लिएर ल फर्ममा आई शरीरको संवेदनशील अंगमा प्रहार गरेको प्रतिवादीको कसूर जन्य कार्यबाटै निजको मनसाय स्पष्ट भइरहेको अवजस्थामा ज्यान मार्ने उद्योगको वारदात कायम नगरी कुटपिट तर्फ परिणत गर्ने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ त्रुटिपूर्ण हुंदा उल्टी भै शुरु जिल्ला अदालतको फैसला कायम हुनु पर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

२४.   उल्लेखित वहस जिकिर समेत सुनि निर्णय तर्फ बिचार गर्दा प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, पाटनले प्रतिवादीलाई ज्यानमार्ने उद्योगका तर्फको अभियोगबाट सफाइ दिई कुटपिट तर्फ परिणत गर्ने गरेको इन्साफ मिलेको छ  छैन ? पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

२५.   प्रस्तुत मुद्दामा प्रस्तुत वारदातलाई कुटपीटमा परिणत गरे तर्फ प्रतिवादीको पुनरावेदन परेको अवस्था नदेखिंदा सो वारदात कायम सम्बन्धमा अरु विवेचना गरी रहन परेन । वादी पक्षको पुनरावेदन जिकिर बमोजिम ज्यान मार्ने उद्योगको वारदात कायम हुने नहुने के हो ? भन्ने नै प्रस्तुत मुद्दामा मुख्य निरोपणको विषय  भएको छ र त्यस तर्फ बिचार गर्दा प्रतिवादी दिवाकर पण्डितले रिसइवीको कारण छुरीले पीडित राजेन्द्र अधिकारीको टाउको तथा कोखा जस्तो संवेदनशील अंगमा प्रहार गरेकोले निज उपर ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम सजाय गरी पाउं भन्ने अभियोग दावी लिइएको देखिन्छ । ज्यान सम्बन्धी महलको १५ नं. मा ज्यान मार्ने मनसायले गोली चलाउने वा वम हान्ने वा घातक हतियारले काट्ने वा मर्नका लागि अरु जुनसुकै कुराको उद्योग गरी मार्नेसम्मको काम गरेकोमा कुनै कारणले ज्यान मार्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउंमा गई बचन दिने वा मद्दत गर्नेलाई पांच वर्षदेखि बाह्रवर्षसम्म कैद गर्नु पर्छ । ै भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा पीडित राजेन्द्र अधिकारीले अनुसन्धान अधिकारी समक्ष गरेको कागजमा प्रतिवादीले आफूलाई ज्यान लिने मनसायले छुरी प्रहार गरेको भनि लेखाउन सकेको पाइदैन । जाहेरी दरखास्तमा प्रतिवादीले पीडित राजेन्द्र अधिकारीलाई एक्कासी छुरी प्रहार गरेको र निज कार्यरत रहेको आदर्श कानूनी सदनमा रहेका पवन कुमार शर्मा, टिप्पणी निरौला समेतका व्यक्तिहरुले बचाएको भन्ने उल्लेख गरेको पाइन्छ । उल्लेखित जाहेरी व्यहोरा अनुसारको ज्यान मार्ने उद्योगको वारदात भएको तथ्यलाई पुष्टि गर्न जाहेरवाली तथा प्रहरीमा कागज गर्ने टिप्पणीप्रसाद निरौला समेतका व्यक्तिहरुले आफ्नो जाहेरी दरखास्त तथा अनुसन्धान अधिकारी समक्ष भएको कागजको व्यहोरालाई समर्थित हुने गरी अदालतमा आई बकपत्र गर्न सकेको पाइदैन । शुरु काठमाडौं जिल्ला अदालत तथा पुनुरावेदन अदालत पाटनबाट समेत अ.वं. ११५ नं. बमोजिम निजहरुलाई बुझिदा पनि जाहेरवाला, पीडित तथा अन्य व्यक्तिहरु अदालतमा उपस्थित भै बकपत्र गरेको पाइएन । प्रमाण ऐन, २०३१ को दफा १८ मा कुनै काम घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जांचबुझको सिलसिलामा प्रचलित नेपाल कानून बमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भई बयान गरेमा प्रमाणमा लिन हुन्छ भन्ने व्यवस्था रहेको पाइन्छ । अदालतबाट जारी भएको म्याद अनुसार अदालतमा उपस्थित भई आफ्नो व्यहोरा समर्थन हुने गरी बकपत्र गर्न नसकेको अवस्थामा जाहेरी दरखास्तको व्यहोरा तथा अनुसन्धान अधिकारी समक्ष कागज गर्ने टिप्पणीप्रसाद निरौला समेतको कागजको व्यहोरालाई उल्लेखित कानूनी व्यवस्था अनुसार प्रमाणमा लिन मिल्ने देखिन आएन । यस स्थितिमा प्रतिवादीले मार्ने सम्मको मनसाय इवी राखी छुरी हानेको र अन्य व्यक्तिहरुको अवरोधको कारण मार्न भने नपाएको भन्ने अवस्थाको पुष्टि हुन सकेको भन्न मिलेन । त्यसैले मार्ने सम्मको काम गरी सकेको भन्ने अवस्था नदेखिंदा ज्यान सम्बन्धीको १५ नं. आकर्षित हुने देखिएन । तसर्थः प्रतिवादी दिवाकर पण्डितलाई ज्यान मार्ने उद्योगमा कसूरदार कायम गरेको शुरु  काठमाडौं  जिल्ला अदालतको इन्साफ उल्टी गरी निजलाई आरोपित कसूरबाट सफाइ दिई सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २७ बमोजिम पक्ष कायम गरी   प्रस्तुत मुद्दालाई कुटपीट तर्फ परिणत हुने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।२।२६ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु । 

 

उपर्युक्त रायमा सहमत छु ।

 

प्र.न्या.केदारनाथ उपाध्याय

 

 

इति संवत् २०५९ साल माघ २२ गते रोज ४ शुभम् ।