निर्णय नं. ७१०६ – कर्तव्य ज्यान
निर्णय न.७१०६ ने.का.प २०५९ अङ्क ७/८ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत्...
निर्णय न.७१०६ ने.का.प २०५९ अङ्क ७/८
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
सम्बत् २०५८ सालको फौ.पु.ई.नं. ..१८
फैसला मितिः २०५९।२।१६।५
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक
प्रतिवादीः जिल्ला वारा, पिप्रा सिमरा गा.वि.स.वडा नं. १ पतलैया घर भई कारागार शाखा विरगञ्जमा वस्ने रामवहादुर लामा
विरुद्ध
प्रत्यर्थी
वादीः नन्दकुमारीको जाहेरीले श्री ५ को सरकार
§ प्रतिवादीको घर कोठामा वारदात नै नभएको भन्ने पुनरावेदन जिकिर लिएता पनि मिसिल संलग्न प्रमाणहरुवाट प्रतिवादीकै घर कोठामा वारदात भएको पुष्टि भै रहेको देखिंदा सो जिकिर सत्य, र साँचो नदेखीने ।
§ वारदात भएको कोठावाट वरामद भएका कपडाहरुमा लागेको दागको रसायनिक परिक्षण गर्दा समेत मान्छेको रगत र धेरै जनाको विर्य भएको भन्ने प्रतिवेदन समेत सामूहिक करणी गरी मारेको पुष्टि हुने ।
§ आफ्नो घर कोठामा भएको वारदातलाई पनि थाहै नपाएको भन्ने पुनरावेदन जिकिर विश्वसनिय नदेखीने ।
(प्र.नं.६८)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्धान अधिवक्त श्री बालकृष्ण न्यौपाने
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्वित नजिरः २०५४ सालको फौ.पु.नं ३२ मिति २०५७।५।८
फैसला
न्या.केदारनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४३।१२।१२ को फैसला उपर पुनरावेदन परी यस अदालत संयुक्त इजलासको सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (घ) वमोजिम पूर्ण इजलासमा पेश गर्ने आदेश भई यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. महेन्द्रनगर राजमार्ग पथलैया देखी पूर्व २ कि.मि. पिचरोडदेखी उत्तर जंगलमा १ जना आईमाई रुखमा झुण्डी लाशवाट दुर्गन्ध भएको छ भनि गोठालाहरुद्धारा थाहा भएकोले घटनास्थलमा गै हेर्दा अ.बर्ष २४,२५ को लाश रुखमा झुण्डिएको सडी गली मासु भुईमा झर्न आटेको कुन समयको घटना र कुन व्यक्ति हो पहिचान गर्ने नसकिएको हुंदा जाहेर गरेको छु भन्ने ट्राफिक प्रहरी चौकि पथलैयाको प्र.ज. रामध्यान ठाकुरको प्रतिवेदन ।
३. लाश रहेको ठाउं सम्म मोटर गएको भन्ने चक्काको डाम भएको र फलामे चुकुल वोल्ट १ फेला परेको र मृतकको शरीर सडि गलि सकेकोले पोष्टमार्टम गर्न समेत नमिल्ने र लाशको स्थिति हेर्दा करिव ५ दिन जति अगि नै मरेको देखीएको लाशको प्रकृति ठिक छ भनि गा.पं. पिपरा सिमरा वार्ड नं. १ पथलैया वस्ने कुलवहादुर समेतका मानिसले गरेको लाश प्रकृति मुचुल्का ।
४. मृतक लाशको कोहि वारेस नहुंदा लाशको दाह संस्कार गर्नको लागि लाश वुझाउंदा वुझि लिए भनि गा.पं. पिपरा सिमराको प्र.पं. मुकुन्दवहादुर क्षेत्रीले लाश वुझेको भरपाई कागज ।
५. मिति ०३९।२।१२।४ को दिन दिउसो १२ बजेको समयमा घर नजिकको निजगढ वजारमा पैसा तिर्न वांकि छ, तिरि आउछु भनि घरवाट हिडेकी छोरी वर्ष १८ कि लक्ष्मी कुमारी सांझसम्म पनि नआई पुगेकाले खोज तलास गर्दै थिएं तपाईको छोरी लक्ष्मी क्षेत्रिनि घर भारत रक्सौलमा कपडा पसल र जितपुर वजारमा पसल राखेको एउटा मदिसे केटोसंग विवाह गर्छु भनि सो केटोसंग विरगंज तर्फ आउने वसमा चडि गयो भनि गाउंकै लक्ष्मी भण्डारीले र साइलि दमेनिले भनेकोले म ढुक्क भई घरमा बसेको थिएं र मेरो गाउंको वन विभागमा काम गर्ने कृष्णप्रसाद सापकोटा गाउंमा गएको र एउटा केटी पथलैयाको जंगलमा झुण्डिएको छ भनि मिति ०३९।२।१८ गते आई भनेकोले पथलैयामा आई पत्ता लगाउंदा लाश सदगत गरीसकेको र लाशको साथ वरामद भएको लाश प्रकृति मुचुल्कामा लेखियाको सामानहरु मेरो छोरीले लगाएको हो देखी चिन्हे, अनुसन्धान कारवाहि गरीपाउं भन्ने समेत गा.पं. निजगढ वा.नं. ९ वस्ने नन्दकुमारीको दरखास्त ।
६. लाश प्रकृति मुचुल्कामा लेखिए अनुसार वरामद भएको सामान मेरो छोरीले लगाउने गरेको सामानहरु हो चिनि पहिचान गरें भनि जाहेरवाला नन्दकुमारी क्षेत्रीनिको सनाखत कागज।
७. मिति ०३९।२।१२ का दिन म निजगढवजारमा किनमेल गर्न आएको र निज मृतक लक्ष्मी कुमारी र निज लक्ष्मीको वहिनी राममाया दुवैजना वजारमा दिनको १२ बजे आई पुगी म संग भेटी वकैयानदिको पुलनिर जाउं भनि लक्ष्मीले भनेको हुंदा संगसंगै पुलनिर गै पुलमाथि एउटा मदिसे केटो उभिरहेको रहेछ । लक्ष्मीले मलाई वोलाएर दिदी हेर्नुहोस पुलमाथि उभिरहेको केटो वाहुन जातिको हो म उसंग विवाह गर्छु, पहिले देखी नै कुराकानि भैसकेको छ, घर रक्सौल र जितपुरमा पनि कपडा पसल छ भनि भनेकोले थाहा पाएको हुं । सोहि दिन २ बजे विरगंज जाने वसमा चडी गएका थिए । मुचुल्का लेखिएका सामानहरु लक्ष्मी कुमारीकै हो भन्ने समेत व्यहोराको लक्ष्मी कुमारी भण्डारीले प्रहरीमा गरेको कागज ।
८. फत्तेपुरमा सुकुम्वासीलाई जग्गा वितरण गर्ने मिति ०३९।२।३ गते व्यवस्था भै राखेको छ भन्ने कुरा सुनी थाहा पाई हामि पनि सुकुम्वासी हुंदा जग्गा पाइन्छ कि भन्ने विचारले मेरो लोग्ने साइलो दमाई र म सवारीमा चडी जितपुरमा वर्ली सडक पिचरोडदेखी पश्चिमपटिृको पसलमा गै चप्पल खरिद गरीरहेको मौकामा नाउ थाहा नभएको व्यक्ति आई कुराकानी हुंदा निजगढ वजारमा एउटा केटी विवाह गर्न तयार छु तपाईहरुको घरपनि निजगढ वजारमा रहेछ, कपडाको पसल पनि वताएको थियो, पछि हामी जोई पोई फत्तेपुरतर्फ गयौं । नन्दकुमारीले छोरी वेपत्ता भई भनि रोई कराई रहेको देखी सोहि केटोले लक्ष्मीकुमारीलाई लगेका हुन भनि जाहेरवाला नन्दकुमारीलई भनेको हुं भन्ने समेत व्यहोराको साहिली दमेनीको कागज ।
९. रामप्रसाद भण्डारीले आफनु श्रीमती लक्ष्मी भण्डारीलई वुझि खोजी भएका वखत दाखिल गर्ने गरी प्रहरीमा गरेको जमानि कागज ।
१०. साहिली दमेनी भन्ने तिलकदेवीलाई खोजी भएका वखत दाखिल गर्ने भन्ने वारेको साहिला दमाईले प्रहरीमा गरेको जमानी कागज ।
११. मिति ०३९।२।१२ गते सांझ विरगंज आर्दशनगर टुरिष्ट लजमा लक्ष्मी कुमारी नाम गरेकी केटीलाई प्र.ज.रामप्रसाद पोखरेलले ल्याईराखेको कुरा थाहा पाई म पत्रकारको नाताले ति केटीसंग केहि सोधपुछ गरी मैले लजमा वस्नलाई प्र.ज.लाई र केटीलाई निज निसहाय भएकोले मानवताको नाताले खाना खुवाउन सम्मको लागि पैसा दिएको हुं भन्ने समेत व्यहोराको वि.के नेवारले प्रहरीमा गरेको कागज ।
१२. पछि खोजी भएका वखत वि.के.नेवारलाई दाखिल गर्ने गरी प्रहरीमा प्रकाशराज काफलेले गरेको हाजिर जमानी कागज ।
१३. लक्ष्मी कुमारी मरेको ज्यान मुद्दामा कारवाहीको सिलसिलामा रामेश्वर श्रेष्ठले गरेको वयानवाट खुल्न आएका टुरिष्ट लजमा काम गर्ने मुनगिरीलाई आदेशानुसार दाखिल गरेको छु भन्ने समेत व्यहोराको प्र.ह.जंगवहादुरको प्रतिवेदन ।
१४. २०३९।२।१२ गते आर्दशनगर विरगंजको टुरिष्ट लजमा काम गर्ने सोहि लजमा नै थिएं । सांझ ५ बजेको समयमा वि.२ नं. कोठामा वर्ष १८–१९ कि एउटा केटी र प्र.ज. रामप्रसाद पोरखेल लजमा आईपुगी दुवैजना करिव ८–१० मिनेट कोठामा रहि प्र.ज.रामप्रसाद वाहिर निस्केको देखेको हुं , सोहि रात ८ वजेवाहिरवाट फेरी आई प्र.ज.रामप्रसादले भने अनुसार २ वटा खाना ल्याई दिए खाना खाईसकेपछि प्र.ज.रामप्रसादले रु. १५– दिए म रुपैया पुर्याउन गएकोमा रामेश्वर श्रेष्ठले कोठा नं. ४ को ढोका खोलिदेउ भनेकाले ढोका खोलिदिएं, रामप्रसादले कोठा हेरि ठिक छ भनि भनेको र म वाहिर आएर कोठामा सुतें, वि.के नेवार आई के के कुरा गरे मलाई थाहा छैन भोलिपल्ट देशभक्त वसमा चढी केटी र रामप्रसाद गएका हुन भन्ने समेत व्यहोराको मनुगिरीले प्रहरीमा गरेको कागज ।
१५. खोजि भएका वखत मनुगिरिलाई दाखिल गर्न ल्याउछुभनी प्राणराज पतिले प्रहरीमा गरेको हाजिर जमानिको कागज ।
१६. ०३९।२।१२ गतेका दिन ४ बजे विरगंजमा पक्राउ परेकी लक्ष्मीकुमारीलई विरगंज डि.एस.पि. पुर्याउन मेरो इन्चार्जले मलाई खटाए अनुसार मैले लक्ष्मी कुमारीलाई बुझाउन भनि जांदा डि.एस.पी.ज्यूले केटीसंग सोधपुछ गरी निजगढमा लगी पुर्याईदेउ भनि भनेको आदेशानुसार ५ बजेतिर सवारी खोज्न गएं, सवारी नपाउंदा टुरिष्ट लजमा हामि दुवैजना वेग्ला वेग्लै कोठमा वस्यौं, केटीले खानाखाई रहेको अवस्थामा वि.के. नेवार र एकजना केटासंग साथ मै कुराकानी गरी गएपछि खाना लजको भाडा रु.२०।–वि.के नेवारले तिरे खाना हामी दुवैको रु. १५।–मात्र दिनुहोस भनेकाले शंका लागी सोधपुछ गर्दा वि.के. नेवारले लजको किराया तिरेर गयो भनि मैनेजरले भने, केटीसंग सोधपुछ गर्दा वि.के.नेवारले मेरो मन्जुरिवाट एकपटक करणी गर्यो भनिन् पछि इनर्वा प्रहरी चौकिका प्र.ज.ईन्द्रवहादुर आईपुगे ईन्द्रवहादुरले २ बोतल वियर मगाई म र ईन्द्रवहादुरले खाएपछि ईन्द्रवहादुरले केटीलाई करणी गरे । उ गएपछि लजको मैनेजर रामेश्वर श्रेष्ठले करणी गरे। पछि म पनि केटी भए ठाउंमा गै केटीलाई करणी गरें । भोलिपल्ट ०३९।२।१३ गतेको विहान अं. ६ वजे वा.अं. ८८१ को बसमा चढी केटीलाई समेत साथ लिई पथलैया पुगे चौकि अगाडि गाडि रोकि डिउटीमा रहेको प्र.ज.रामध्यान ठाकुरलाई निजगढ पुर्याई दिनु भनि डि.एस.पि. साहेवले भन्नुभएको छ यो केटीलाई निजगढसम्म पुर्याई दिनु भनि केटी निज प्र.ज.रामध्यानको जिम्मा लगाई म घर गएको हुं । प्रकृति मुचुल्कामा लेखिएको सामानहरु ति केटीका जिउमा लगाएका हुन् । पहिचान गरें भन्ने समेत व्यहोराको प्र.ज.रामप्रसाद पोखरेलको प्रहरीमा भएको कागज ।
१७. अनुसन्धान कारवाहीको सिलसिलामा विरगंज टुरिष्टलजका मैनेजर रामेश्वर श्रेष्ठलाई आदेशानुसार दाखिल गरेको भन्ने समेत व्यहोराको प्र.ह. जंगवहादुरको प्रतिवेदन ।
१८. २०३९।२।१२ गते साँझ रामप्रसाद पोखरेलले ६:७ बजेतिर एउटा केटीलीई वस्न आए। कुराकानी हुंदा वि.के. नेवार, केटी र रामप्रसादसंग कोठामा गएका थिए । केहि छिनपछि रामप्रसाद वाहरि गए । वि.के. नेवार र केटी कोठाभित्र रहेको र २०–२५ मिनेटपछि रामप्रसाद पुनः कोठमा आई वि.के.नेवार, रामप्रसाद संगै वाहिर निस्के । रातको १०।११ वजेतिर एकजना नाउ नजानेको प्रहरी आई पुगेको र प्र.ज. रामप्रसादले ति केटीलाई तपाई पनि करणी गर्नुहोस भने । मैले करणी गर्दिन भनि म आफु कोठामा सुत्न गएं । रामप्रसादले किन करणी गर्यो भनि भनेको हुन निजै जानून भन्ने समेत व्यहोराको रामेश्वर श्रेष्ठको प्रहरीमा भएको कागज ।
१९. २०३९।२।१३ गते विहान अं. ७।। बजे म आफनु डिउटीमा रहेको वेला वा.अं. ८८१ नं. को देशभक्त मिनिवसवाट पथलैयामा रामप्रसाद पोखरेलले एउटा १८,२० वर्षकि केटीलाई ओराली यो केटीलाई निजगढसम्म पुर्याईदिनु भनि डि.एस.पि. साहेवले भन्नुभएको छ भनि मेरो जिम्मा दिई रामप्रसाद सोही वसमा चढी काठमाडौं तर्फ गए । केटीलाई दलाली कान्छा कामीको जिम्मा लगाई कोठामा लगी राख्नु भनि पठाए । १० बजे डिउटी सकि सिभिल लुगा लगाई राजु होटलमा पुगि होटलको कोठामा दलालि कान्छा र केटी वसिरहेका थिए । होटलको कुनामा नचिनेका ३,४ जना र होटल मालिक पनि थिए । कोठामा गै केटीसंग खाना खायौंकि खाइनौ भनि सोधपुछ गरें। खानाखाईसकेपछि केटीलाई फकाई फुलाई पारी एकपल्ट करणी गरें र वाहिर निस्के ,होटल मालिक रामवहादुर,दलाली कान्छा कामी, गणेशवहादुर, कान्छा भन्ने कृष्णवहादुर क्षेत्री समेतसंग यो केटी जे गर्नपर्छ गर भनि म चौकिमा आई सुतें । रात १२ बजे तिर गणेशवहादुर म कहाँ आई केटी मर्यो भनि सुनाउंदा के भएर मर्यो भनि सोद्धा तपाईले करणी गरेर आएपछि दलाली कान्छा, कृष्णवहादुर, होटलवाला रामवहादुर, घनश्याम नेवार, अरत अधिकारी, हलुवाई साहु, पप्पु भन्ने अनिलकुमार र तुलुगुरुङ र अरु नाउ नजानेका ३,४ जना लाईन लागेर केटीलाई करणी गरे करणी गर्दा गर्दै अन्तिममा करणी गर्ने कृष्णवहादुर ड्राईभरले करणी गरी फर्कदा केटी मरे जस्तो लाग्छ भनि कृष्णवहादुर ड्राईभरले भनेकाले केटीलाई हेर्दा मरि सकेको देखी ना.अं. ३३१ नं. को चालक कृष्णवहादुरलाई आफनु अगाडी ल्याउ भनि भनेका र कृष्णवहादुरले ना.अं. ३३१ नं. को गाडि ल्याई माथि लेखिएका व्यक्तिहरुले उठाई लगी झुण्ड्याई दिएका हौं भन्ने समेत व्यहोरको रामध्यान ठाकुरको प्रहरीमा गरेको कागज ।
२०. २०३९।२।१३ गते विहान ७।३० वजेको समयमा प्र.ज.रामध्यान ठाकुरले यो केटी लगेर कोठामा राख भनि भनेकाले कोठामा लगेर राखें । केटीलाई खाना खुवाएं, रातको ९ बजेतिर कोठामा आउंदा राजु होटलको मालिक रामवहादुर लामालाई देखें, रामवहादुरले करणी गरी सकेपछि प्र.ज.रामध्यानले करणी गरेछ, तेसपछि रामवहादुर, गणेश मुल्मी, पप्पु भन्ने घनश्याम, भरत, हलुवाई, ना.अं. ३३१ को चालक र खलासी लगायतले केटीलाई उठन नदिई करणी गरेछ, पछि मैले करणी गर्न जांदा हिक हिक गरेको आवाज सुनें, हामि सवै गै हेर्दा मरिसकेकी रहीछ केटीलाई हामी सवैले उठाई ना.अं. ३३१ को ट्रकमा ल्याई केटीको लासलाई झुण्ड्याई दिएका हौं भन्ने समेत व्यहोराको दलाली कान्छा कामी भन्ने जोगी कामीको प्रहरीमा भएको ततिम्वा वायन ।
२१. २०३९।२।१३ गते दिन विहान ९ बजेको समयमा म आफनु राजु होटलमा वसि रहेको थिएं, तेतिवेला दलालि कान्छाको कोठाभित्र राखेको केटीलाई सो दिन १०.३०,११ बजे तिर प्र.ज.रामध्यान ठाकुर, गणेश मुल्मी हलुवाई, कृष्ण ड्राईभर, पप्पु, खलासी तुलु समेतले करणी गरे, करणी गर्न जांदा केटी मरेको थाहा पाई ना.अं. ३३१ को ट्रकमा हाली लगी रुखमा झुण्ड्याईदिएका हौं , प्र.ज.रामध्यान ठाकुरले कसैलाई नभन्नु भनि डरत्रास देखाएकाले हामी आ–आफ्नो घर गयौं भन्ने समेत व्यहोराको प्र.रामवहादुर लामाले प्रहरीमा गरेको कागज ।
२२. २०३९।२।१३ गते विहान प्र.ज.रामधयन ठाकुरले ७.३० वजे जिम्मा बुझेको केटीलाई दलाली कान्छा कामीको जिम्मा लगाई पठाएको थाहा पाई केटीलाई करणी गर्ने उद्देश्यले प्र.ज.रामध्यान ठाकुर समेनतले करणी गर्ने उद्देश्यले केटी राखेको रहेछ । हामीलाई पनि करणी गर्न देउ भन्दा चुपलाग रातमा आउनु भनें । रामध्यान र म कृष्णवहादुर कोठामा थियौं । एक छिन पछि रामवहादुर लामा, हलुवाई अरत अधिकारी, पप्पु, तुलु, शुसिल, घनश्याम समेत आई पुगे र रामध्यानले करणी गरेपछि सवै साथीहरुले करणी गरे । मैले करणी गर्ने वित्तिकै ड्राईभर कृष्णवहादुरले केटीलाई करणी गर्न गयो, केटी मरि सकीछ भनि भन्दा हामी सवै केटी भएको कोठामा गै हेर्दा केटी मरिसकेको रहेछ। हामी सवैको सल्लाह अनुसार ना.अं. ३३१ को ट्रकमा हाली लगी रुखमा झुण्ड्याई दिएको र कानछा कामी र अरतले केटीको मुखमा कालो मोविल लगाई चिन्न नसकिने गराएको हो भन्ने समेत व्यहोराको गणे मुल्मीले प्रहरीमा गरेको कागज।
२३. २०३९।२।१३ गतेको बेलुका ४ बजेको समयमा ना.अं. ३३१ को ट्रकमा वसी पथलैयामा गाडिवाट ओर्लि घुमफिर गर्दा परिचित गणेशवहादुर भेट भयो, कुराकानि हुंदा राजु होटलमा रामध्यान ठाकुर प्रहरीले एउटा केटी ल्याई राखेको छ, करणी गर्नपर्यो भनि सो दिन ७.५ बजे रामध्यानलाई भेटी केटीको वारेमा कुरा हुंदा हुन्छ आउनु भनि रामध्यानले भनें । सोहि दिन १०:३० रामध्यानको पछि लागि केटी राखेको दलालि कान्छा कामीको कोठामा नचिनेका ५,७ जनालाई देखें, रामध्यानले केटीलाई करणी गरी सकेपछि वाहिर निस्कि म चौकिमा जान्छु भनि गए, तेसपछि पालैसित गणेशवहादुर, दलाली कान्छा कामी, रामवहादुर लामा अरु मैले नचिनेका ५,७ जनाले करणी गर्दै वाहिर निस्कदै गर्न थाले । म पालो पर्खि वसेको थिए । केटीले अब कति जना छ म गर्न दिन्न भनि विरोध गरेको सुनि म भित्र पस्दा केटी वेहोस जस्तो देखी केटी नाङ्गो भएकोले मैले पनि करणी गरें । केटी मरेजस्तो लाग्छ भनि शंका गरी हामीहरु सवैले हेर्दा केटी मरिसकेकीरहेछ, सवैको रायसल्लाह अनुसार ३३१को गाडीमा राखी लाशलाई झुण्ड्याई लाशको मुखमा मोविल पोती नचिनिने गरायौं भन्ने समेत व्यहोराको ड्राईभर कृष्णवहादुरको प्रहरीमा गरेको कागज ।
२४. २०३९।२।१३ गतेका दिन रामवहादुरको कोठामा एउटा केटी ल्याएको छ भनि गणेश मुल्मीको मुखवाट सुनीरातको १०.३० वजे रामवहादुरको घरमा भएको दलाली कान्छाको कोठामा पुग्दा रामध्यान, ड्राईभर कृष्णवहादुर, गणेश मुल्मी पुगि राखेका रहेछन्, म पुगेपछि अरत, घनश्याम, हलुवाई साहु, तुलु, सुसिल पुगे पहिला रामध्यानले पछि पालैपालोसंग करणी गरें मैले पनि करणी गरीवाहिर निस्की अन्तिम कृष्णवहादुर ड्राईभरले करणी गर्न जांदा केटी मरिसकेको देखी सवैको सल्लाह अनुसार ना.अं. ३३१ को गाडिमा राखी लाशलाई रुखमा लगी झुण्ड्याईदिएको हो, मृतक लाशको मुखमा नचिनिने गरी कालो मोविलले पोति हामी सवै फर्कि आयौं भन्ने समेत व्यहोराको अनिलकुमार गुरुङले प्रहरीमा गरेको कागज ।
२५. सिरकको च्यातिएको कपडा र तन्नामाविर्यको दाग लागी टाटो भई सुकेको भन्ने समेत व्यहोराको वरामति मुचुल्का ।
२६. २०३९।२।१३ गते विहान वा.अं. ८८१ नं. को बसवाट ओर्लिएकि १८–२० बर्षकी केटीलाई रामध्यान ठाकुरले निजगढ पठाईदिन भनि जिम्मा लिएको केटीलाई कान्छा कामीको जिम्मा लगाई निजको कोठामा राख्न पठाएको देखेको थिएं । सोहि रात १०.३० वजे कान्छा कामीको कोठामा जांदा रामध्यान, घनश्याम, हलुवाई साहु, मनराजा, अरत, गणेश, ड्रा. कृष्णवहादुर, दलाली कान्छा कामी, रामवहादुरलामा थिए । पहिला राम ध्यानले करणी गरे पछि पालैसंग करणी गरे , मैले पनि करणी गरी सवभन्दा पछाडि ड्राईभर कृष्णवहादुरले करणी गरी वाहिर निस्की केटी त मरेछ क्यारेभन्दा रुखमा लगी झुण्ड्याई आ– आफ्नो घरमा गयौं भन्ने समेत व्यहोराको तुलवहादुर गुरुङको प्रहरीमा भएको कागज ।
२७. २०३९ साल जेष्ठ १३ गतेका दिन राति करिव १० बजेको समयमा म निर आई राम ध्यानले म बसेको कोठामा एउटाले केटी ल्याएको छ, तपाईलाई पनि करणी गर्ने ईच्छा भए गर्नुहोस भनि भनेकाले कान्छा कामीको कोठामा जांदा रामध्यान, सुशिल, घनश्याम, कान्छा कामी, गणेश वहादुर, पप्पु, तुलु समेतका मानिस रहेछन् । पालैपालोसंग करणी गरीसकेपछि करिव १२ बजेतिर कृष्णवहादुरले करणी गरी वाहिर निस्कदा केटी मरेको कुरा गरे। हामी सवैले केटीलाई हेर्दा केटी मरि सकेकी लाशलाई ३३१ को ट्रकमा हाली लगी रुखमा झुण्ड्याई दिएका हौ भन्ने समेत व्यहोराको प्रहरीमा हलुवाई साहु भन्ने राजा कसांकारको कागज ।
२८. २०३९।२।१३ गते दलाली कान्छाको कोठामा रामध्यान ठाकुरले केटी ल्याई राखेको छ भनि दलाली कान्छाले भनेकाले थाहा पाएको हुं, हेर्न जांदा दलाली कान्छाको खाटमा एउटा केटी सुतिरहेको देखें,। अरु मानिस वाहिर उभिरहेका रहेछन् । मैले सवैलाई चिनिन चिनेका दलाली, पप्पु , गणेश, हलुवाई, कृष्णवहादुर ड्राईभर मेरो मालिक रामवहादुर, राम ध्यान समेतका मानिस थिए । रात १२.३० वजेको समयमा आफनु काम सकि त्यही वेन्चमा पल्टे । रामध्यान, दलाली कान्छाले मलाई वोलाई यो कुरा कसैलाई नभन्नु भने र ३३१ नं. को गाडीमा लाशलाई हाली रुखमा लगी झुण्ड्याई आ–आफ्नो घर गएका हौं भन्ने समेत कान्छा भन्ने रामवहादुरको प्रहरीमा भएको कागज ।
२९. २०३९।२।१३ गते दिन साँझ ९ बजेसम्म रात्रि क्याम्पस विरगंजमा अध्ययन गरेकोले रातमा मेरो डेरामा छु । यस सम्बन्धमा मलाई केहि कुरा थाहा छैन भन्ने समेत व्यहोराको प्रहरीमा अरत कुमार अधिकारीले गरेको कागज ।
३०. २०३९।२।१३ गते राती ८।३० बजेको समयमा दलाली कान्छाको कोठमा एउटी आईमाई सुतिराखेको देखें, ३ जना मानिस सो कोठाबाट वाहिर निस्के, मैले तेतिख्याल गरीन। रामवहादुरको होटलमा पेसेन्जर वुक गर्न गएको थिए भन्ने समेत व्यहोराको प्रहरीमा घनश्याम रंजितकारले गरेको कागज ।
३१. २०३९।२।१३ गते अं. १० बजेको समयमा गणेश मुल्मी मेरो घरमा आई दलाली कान्छा काहां एउटा केटी राखेका छौ भने गै हेर्दा दलाली कान्छा रामवहादुर समेतलाई देखें ,मलाई करणी गर्न मन लागेकोले करणी गर्न गएं, पछि १२।३०बजे गणेश मुल्मीलाई केटी मरेको कुरा गरे म पनि गई ना.अं. ३३१ को ट्रकमा केटीको लाश राखी रुखमा लगी झुण्ड्याई दिएको हौ भन्ने समेत व्यहोराको जगत मनोहर अधिकारीको प्रहरीमा भएको कागज ।
३२. २०३९।२।१२ गतेको दिन अध्यागमन कार्यालय शाखाका प्रहरीले पक्राउ गरी प्र.ज.रामप्रसाद पोखरेललाई जिम्मा दिई लक्ष्मी कुमारीलाई सो दिन राति आदर्शनगर टुरिष्ट लजमा राखी आफु र वि.के. नेवार रामेश्वर श्रेष्ठ, प्र.ज.ईन्द्रवहादुरसमेतले करणी गरी भोलिपल्ट ८८१ नं. को बसमा बसाली पथलैया ल्याई प्र.ज.रामध्यान ठाकुरको जिम्मा केटीलाई बुझाई गएको, केटीलाई रामवहादुरको घरको दलाली कान्छा कामी बसेको कोठामा राखी सो दिन रात भरि प्र.ज.रामध्यान ठाकुर, घनश्याम, पप्पु भन्ने कृष्णवहादुर, ड्राईभर, सुशील, गणेश, रामवहादुर, तुलवहादुर गुरुङ, हलवाई समेतका मानिसहरुले निज मर्ने लक्ष्मीकुमारीलाई उठन नदि लगातार करणी गरी मारेको लाशलाई झुण्डयाई दिएको भन्ने कुरामा विश्वास लाग्छ भनि अधिकांश सर्जमिनका मानिसहरुले गरीदिएको सरजमिन मुचुल्का ।
३३. २०३९।२।१२ गते रामप्रसाद पोखरेलको भनाई अनुसार चौकीको डिउटी पुरा गरी सिभिल कपडा लगाई केटी रहेको लजमा पुगी करणी गरें भन्ने समेत व्यहोराको प्र.ज. ईन्द्रवहादुरको प्रहरीमा भएको कागज ।
३४. मैले केटीलाई करणी गरेको र मरेको लाशलाई झुण्ड्याई दिएको होइन भन्ने समेत व्यहोराको खलासी राजुवहादुर गुरुङको प्रहरीमा भएको कागज ।
३५. प्रस्तुत मुद्दामा सवुद प्रमाणवाट २०३९।२।१२ गते राति विरगंजमा र १३ गते राति पथलैया राजु होटलको दलाली कान्छाको कोठामा जवरजस्ती करणीको वोझ योनिभित्र प्रवेश गरेको अधिकतम विर्यको दर्द सहन नसकी सोहि पिडावाट लक्ष्मी कुमारीको मृत्यू भएको प्र.ज.रामप्रसाद, प्र.ज.ईन्द्रवहादुर, वि.के ( वालकृष्ण नेवार ) रामेश्वर, दलाली कान्छा कामी वस्ने कोठामा जवरजस्ती करणी गर्ने प्र.ज.रामध्यान, रामवहादुरलामा, गणेश मुल्मी, दलाली कान्छा, पप्पु भन्ने अनिलकुमार गुरुङ, तुलवहादुर गुरुङ, घनश्याम रंजितकार, कृष्णवहादुर क्षेत्री, जगत मनोहर अधिकारी, हलुवाई साहु भन्ने मनराजा कंशाकार, अरत कुमार अधिकारी, सुसिल समेतले जवरजस्ती करणी गरी लक्ष्मी कुमारीको ज्यान मारेको अपराध गरेकोले निजहरु उपर ज्यान सम्बन्धी महलको नं. १३ को देहाय ३ र ऐ.ऐनको ४ नं. वमोजिम र सानुकान्छा भन्ने रामवहादुर श्रेष्ठलाई ज्यान सम्बन्धीको ४ र २५ नं. वमोजिम राजुवहादुरलाई ज्यान सम्बन्धीको १३(३) वमोजिम र सोहि ऐनको ४ नं. अनुसार सजायको मागदावी भएको प्रहरी प्रतिवेदन ।
३६. मलाई विरगंजमा प्रहरीले केटी लगेको छ भनि जवरजस्ति आरोप लगाई उनिहरुले तयार पारेको कागजमा मलाई सहिछाप गराएका हुन्, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको रामप्रसादको अदालतमा भएको वयान ।
३७. मैले आरोपित कसूर गरेको नहुंदा सफाई पाउनुपर्छ भन्ने समेत व्यहोराको प्र.रामध्यान ठाकुरको अदालतमा वयान ।
३८. मैले कसूर गरेको नहुंदा म उपरको अभियोग झुठ्ठा हो सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.दलाली कान्छा भन्ने जोगि विश्वकर्माको अदालतमा भएको वयान ।
३९. म निर्दोष छु, मैले आरोपित कसूर गरेको छैन म उपरको उजुर र अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.ईन्दवहादुरको अदालतमा भएको वयान ।
४०. लक्ष्मीकुमारीलाई करणी गर्न गएको छैन, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.कृष्णवहादुरको अदालमा भएको वयान ।
४१. लक्ष्मी कुमारीलाई देखें चिनेको छैन, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.तुलुवहादुर गुरुङको अदालतमा भएको वयान ।
४२. लक्ष्मीकुमारीलाई मैले करणी गरेको छैन, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.गणेश मुल्मीको अदालतमा भएको वयान ।
४३. लक्ष्मी कुमारीलाई करणी गरी कर्तव्य गरी ज्यान मारेको होईन म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको हलुवाई साहु भन्ने मनराजा कंशाकारको अदालतमा भएको वयान ।
४४. मृतक लक्ष्मी कुमारीलाई कस्ले के परिवन्दवाट मारे मलाई थाहा छैन म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको पप्पु भन्ने अनिल कुमारको अदालतमा भएको वयान।
४५. लक्ष्मी कुमारी मेरो होटलमा खाना खाए नखाएको मलाई थाहा छैन, म १३ गते घरमा नहुंदा मलाई थाहा छैन आरोपित कसूर गरेको छैन भन्ने समेत व्यहोराको प्र.रामवहादुर लामाले अदालतमा गरेको वयान ।
४६. लक्ष्मी कुमारीलाई करणी गर्न गएको छैन, कसले करणी गरे मलाई थाहा छैन, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.जगत मनोहरको अदालतमा वयान ।
४७. प्रहरी प्रतिवेदन अनुसार मैले कसूर गरेको छैन । म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको राजुवहादुर गुरुङ्गले गरेको वयान ।
४८. प्रहरी प्रतिवेदन अनुसार मैले कसूर गरेको छैन । म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको अरत कुमारको अदालतमा भएको वयान ।
४९. मर्ने लक्ष्मी कुमारीलाई मैले र अन्य व्यक्ति समेतले करणी गरेको छैन, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र.घनश्याम रंजितकारले अदालतमा गरको वयान ।
५०. लक्ष्मी कुमारीलाई करणी गरेको छैन र अन्य प्र.हरुले पनि करणी गरेको मलाई थाहा छैन, मैले दावी अनुसार कसूर नगरेकोले सफाई पाउनु पर्छ भन्ने समेत व्यहोराको रामवहादुरले अदालतमा गरेको वयान ।
५१. लक्ष्मी सुवेदीलाई मैले रामप्रसाद पोखरेलको जिम्मा दिएपछि के के घटना भयो सो सम्बन्धमा मलाई थाहा छैन, म निर्दोष छु भन्ने समेत व्यहोराको गोविन्द कृष्ण श्रेष्ठले अदालतमा गरेको वयान ।
५२. मैले लक्ष्मी कुमारीलाई करणी गरेको होईन, म उपरको अभियोग झुठ्ठा हो भन्ने समेत व्यहोराको वालकृष्ण नेवाको अदालतमा भएको वयान ।
५३. मैले करणी अपराध गरेको होइन, मेरो उपरलगाएको झुठ्ठा अभियोगवाट फूर्सद गरीपाउं भन्ने समेत व्यहोराको रामेश्वर श्रेष्ठले अदालतमा गरेको वयान ।
५४. प्र.सुशिलका नाउंको तामेली म्याद वेपत्ते भनी तामेल भएकोले निजका हकमा मुलतवी राखीदिने। प्र.रामध्यान ठाकुर लोहार र प्र.दलाली कान्छा भन्ने जोगिविश्वकर्मालाई ज्यान सम्बन्धीको १३(४) ले जन्म कैद हुन्छ । प्र.रामप्रसाद पोखरेललाई ऐ.ऐनको १७(३) ले २ बर्ष कैद हुन्छ । अन्य प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४१।८।८।२ को वारा जिल्ला अदालतको जाहेरी फैसला ।
५५. उक्त ईन्साफमा चित्त बुझेन, जन्मकैद गर्ने गरी भएको फैसला सरासर गैरकानूनी तथा त्रुटिपूर्ण भएकाले वदर गरी आरोपित कसूरवाट फूर्सद पाउं भन्ने समेत व्यहोराको प्र.रामध्यान ठाकुरको मध्यमान्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन पत्र।
५६. उपरोक्त ईन्साफमा चित्त बुझेन, सो फैसला वदर गरी सफाई पाउं भन्ने समेत व्यहोराको दलाली कान्छा भन्ने जोगि विश्वकर्माको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
५७. सफाई पाएका अभियुक्तहरुको हकमा शुरु फैसला वदर गरी वादी दावी वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको श्री ५ को सरकार तर्फवाट मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
५८. प्र.रामध्यान ठाकुर र प्र.गोजिविश्वकर्मा वाहेकका अन्य प्रतिवादीहरुलाई दावीको अभियोगवाट सफाई दिने गरेको वारा जिल्ला अदालतको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम प्र.हरु रामप्रसाद पोख्रेल –१, वालकृष्ण ( वी.के ) नेवा –१ रामेश्वर श्रेष्ठ १, ईन्द्रवहादुर राना मगर १, रामवहादुर लामा १, गणेश मुल्मी श्रेष्ठ १, कृष्णवहादुर अधिकारी १, पप्पु भन्ने अनिलकुमार गुरुङ १, तुलवहादुर गुरुङ १, हलुवाई साहु भन्ने मनुराजा कंसाकार १, कान्छा भन्ने रामवहादुर श्रेष्ठ १, अरत कुमार अधिकारी १, घनश्याम रंजितकार १, जगतमनोहर अधिकारी १, राजुवहादुर गुरुङ १ समेतलाई नोटिस म्याद दिई झिकाई आए वा गुजारेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.को आदेश ।
५९. प्रतिवादीहरु रामध्यानराय ठाकुर, दलाली कान्छा भन्ने जोगि विश्वकर्मालाई शुरु वारा जिल्ला अदालतले प्रहरी दावी वमोजिम मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) वमोजिम जन्मकैद गरेको मिलेको देखिंदा मुनासिव ठहर्छ । प्रतिवादी रामध्यान र जोगि विश्वकर्मा समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी रामवहादुर लामा र ड्राईभर कृष्णवहादुर अधिकारीलाई ऐ.ज्यान सम्बन्धीको १३(३) वमोजिम जन्मकैद हुने ठहर्छ । निजहरुलाई सफाई दिएको शुरु वारा जिल्ला अदालतको फैसला केही उल्टी हुन्छ ।
६०. शुरु वारा जिल्ला अदालतले प्रतिवादी रामप्रसाद पोखरेललाई ज्यान सम्बन्धीको १७(३) वमोजिमको कसूर ठहर्याई २ बर्ष कैदको सजाय गर्ने गरी गरेको फैसला मिलेको देखिंदा मुनासिव ठहर्छ । अन्य प्रतिवादीहरु वी.के.भन्ने बालकृष्ण नेवा, रामेश्वर श्रेष्ठ, ईन्द्रवहादुर राना मगरले मृतक लक्ष्मीको ज्यान मार्ने सम्मको अपराधमा निजहरुको संलग्नता रहेको प्रमाणित हुन नआएको र ऐ.१३ गतेको वारदातमा संलग्न रही ज्यान मार्ने अपराध गरे भन्ने आरोप लगाइएका प्रतिवादीहरु गणेशवहादुर मुल्मी श्रेष्ठ, अरत कुमार अधिकारी, तुलवहादुर गुरुङ, मनराजा कंसाकार, जगतमनोहर अधिकारी, घनश्याम रंजितकार, अनिलकुमार गुरुङ र राजुवहादुर गुरुङ तथा ज्यान दवाउने अपारधको आरोप लगाइएको रामवहादुर श्रेष्ठलाई प्रहरी दावी अनुसारको सजाय गर्ने माग भई आएमा निजहरु समेत आरोपित कसूर गर्नमा संलग्न थिए भन्ने कुरा प्रहरी कागजको साविति सरह अभियुक्तको पोल वाहेक वादी पक्षले स्वतन्त्र प्रमाणवाट प्रमाणित गर्न सकेको नदेखीएकोले र शंकाको सुविधा अभियुक्तले पाउने फौज्दारी न्यायको सर्वमान्य सिद्धान्त समेत भएकाले निजहरुलाई आरोपित कसूरवाट सफाई दिने ठहर्याएको शुरु वारा जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मुनासिव ठहर्छ । निजहरुका हक्मा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अर्का प्रतिवादी सुशिलका हकमा मुल्तवी रहेकोले केहि वोली रहनु परेन भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४३।११।१२ को फैसला ।
६१. प्रहरीमा एक अर्कालई पोला पोल हुने गरी गराइएको वयानको आधार र स्वतन्त्र रुपमा नभई प्रहरीले तयार गरेको कागजमा यातना दिई गराइएको सहिछापले मान्यता पाउंदैन । मेरो घा जाँच केश फारमवाट समेत उक्त कुराको पुष्टि भै रहेको छ । मिति २०३९।९।१३ गते राती कुनै वारदात मेरो होटल घरमा नभएको साथै अभियोग दावी वमोजिम आरोपित कसूर मैले गरेको भन्ने वादी पक्षले कुनै पुष्टि गर्न सकेको छैन । यदि वारदात मेरै घरमा घटे भएको अवस्था मान्ने हो भने पनि वारदात भए गरेको कोठा जोगी विश्वकर्मालाई भाडामा दिएको र भाडामा दिंदैमा मलाई समेत दोषित ठहराउन मिल्दैन । जाहेरवालीले समेत म उपर कुनै शंका नलाग्ने गरी वकपत्र दिएको समेत छ । अनुमानको भरमा दोषी समेत ठहराउन नमिल्ने हुंदा मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४३।१२।१२ को फैसला उल्टी गरी शुरु इन्साफ सदर गरी पाऊ भन्ने समेत व्यहोराको प्रतिवादी रामवहादुर लामाको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
६२. यसमा प्रस्तुत मुद्दाको निरोपण साधकको रोहवाट यस अदालतको समानस्तरको इजलासवाट भएको देखीन आएको स्थितिमा पुनरावेदनको रोहवाट प्रस्तुत मुद्दा पुनः निरोपण गर्न समान स्तरको यस इजलासवाट मिल्ने अवस्था नदेखिंदा सर्वोच्च अदालत नियमावली २०४९ को नियम३(१) को खण्ड (घ) वमोजिम पूर्ण इजलास समक्ष नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत, संयुक्त इजलासको मिति २०५८।९।१२ को आदेश ।
६३. यसमा सम्बत् २०५४ सालको फौ.पु.नं. ३२ को कर्तव्यज्यान मुद्दामा यस इजलासवाट मिति २०५७।५।८ मा भएको फैसला सहितको मिसिल साथै राखी नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत, संयुक्त इजलासको मिति २०५८।१२।१ को आदेश ।
६४. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फवाट विद्धान अधिवक्ता वालकृष्ण नेउपानेले यि पुनरावेदकको पुनरावेदन परेको अवस्थामा साधकको रोहवाट भएको फैसला वदरभागी छ । यि पुनरावेदक प्रतिवादी अभियोग दावी वमोजिमको कसूरमा संलग्न रहे भएको भन्ने कुनै ठोस र सवूद प्रमाण वादी पक्षले पुर्याउन सकेको छैन । वारदात भएको भनेको समयमा पनि निज आफ्नो घरमा नभै अन्यन्त्र रहे भएको मिसिल संलग्न प्रमाणवाट पुष्टि भैरहेको छ । वारदात आफ्नो घरमा भएको भन्ने आधारमा मात्र घरधनी वा पसल धनीलाई कसूरदार ठहराउन मिल्दैन । तसर्थ वारदात भएको भन्ने कुराका अतिरिक्त यि पुनरावेदक उपरको कसूर अभियोग नै शंकास्पद रहेकोले त्यसको सुविधा निजले पाउनु पर्ने हुँदा कसूरदार ठहर्याउने गरी भएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भन्ने समेतको बहस गर्नुभयो ।
६५. पुनरावेदक प्रतिवादी तर्फको विद्धान कानून व्यवसायीको उपरोक्तानुसारको बहस जिकिर समेत सुनि मिसिल संलग्न कागजातहरुको अध्ययन गरी इन्साफ तर्फ विचार गर्दा मध्यमान्चल क्षेत्रीय अदालतले यि पुनरावेदक प्रतिवादी रामवहादुर लामालाई मुलुकी ऐन, ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम जन्मकैदको सजाय गरेको र सो इन्साफलाई साधकको रोहवाट जाँच हुँदा यस अदालत संयुक्त इजलासले मिति २०४५।५।३१।६ मा सदर गरेको देखीन्छ । साधकको रोहवाट तल्लो अदालतको इन्साफलाई सदर गरेको देखीएता पनि पुनरावेदन पर्न आएको पुनरावेदनवाट इन्साफ गर्नु पर्ने भन्ने न्याय प्रशासन ऐन, २०४८ को दफा १० को उपदफा (३) को कानूनी प्रावधान एवं हिमा कुमारी भटृराई विरुद्ध श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा (सम्बत् २०५४ सालको फौ.पु.नं. ३२,फैसला मिति २०५७।५।८) प्रतिपादित सिद्धान्तवाट समेत स्प्ष्ट भै रहेको देखिंदा यि पुनरावेदक प्रतिवादी रामवहादुर लामाका हकमा पुनरावेदनको रोहवाट सुनुवाई हुने हुंदा यस अदालत, संयुक्त इजलासको सम्बत् २०४४ सालको फौ.पु.नं. ४३४, ४८२,४९९ र २०४५ सालको फौ.सा.नं. १२९ को फैसला सो हदसम्म कानून वमोजिम किनारा भएको नदेखिंदा स्वतः कानूनी प्रभाव शून्य देखीयो ।
६६. अब प्र. राम बहादुर लामाको हकमा पुनरावेदनको रोहवाट हेर्दा मध्यमान्चल क्षेत्रीय अदालतवाट यि पुनरावेदक प्रतिवादी रामवहादुर लामालाई ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको फैसला सो हद सम्म मिले नमिलेको ? साथै पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने विषयमा नै निर्णय दिनु पर्ने देखीन आएको छ ।
६७. यसमा जाहेरवाली नन्द कुमारी क्षेत्रीनीको छोरी लक्ष्मी क्षेत्रीनीलाई यि पुनरावेदक प्रतिवादी राम वहादुर लामाको घरमा डेरा गरी वस्ने दलाली कान्छा भन्ने जोगी विश्वकर्माको कोठामा डेरावाला, प्रहरी जोगी विश्वकर्मा, प्रहरी रामध्यान ठाकुर, कृष्णवहादुर अधिकारी समेतले सामूहिक करणी गरी मारी पथलैयाको जंगलमा ट्रकमा राखी लगी झुण्ड्याएको भन्ने कुरामा यस अदालतवाट २०४४ सालको फौ.पु.नं. ४३४, ४८२ र ४९९ का साथै २०४५ सालको फौ.सा.नं. १२९ को मिति २०४५।५।३१ मा विस्तृत विवेचना गरी फैसला भै सकेको र सो फैसला अन्तीम समेत भै बसेको अवस्थामा लक्ष्मी क्षेत्रीनीलाई करणी गरी मारेको भन्ने कुरामा कुनै विवाद रहेको नदेखिंदा उक्त फैसलामा विवेचना भएका कुरालाई पुनरोक्ती गरी रहनु आवश्यक भएन ।
६८. अब यि पुनरावेदक प्रतिवादी रामवहादुर लामाको संलग्नता उक्त वारदातमा थियो थिएन भन्ने नै प्रस्तुत मुद्दावाट निरुपण गर्नु पर्ने प्रश्न भएकोले प्रस्तुत मुद्दामा संलग्न अन्य अभियुक्तहरु रामध्यान ठाकुर, जोगी बिश्वकर्मा, कृष्णवहादुर अधिकारी समेत कसूरदार ठहरी अन्तीम फैसला भै बसेको र ति अभियुक्तहरुले समेत अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा यि पुनरावेदक प्रतिवादी समेतले आफ्नो घरमा डेरा गरी वस्ने जोगी विश्वकर्माको कोठामा लक्ष्मी क्षेत्रीनीलाई सामूहिक रुपमा करणी गरी मारेको र मरेपछि जंगलमा लगी झुण्ड्याएको भन्ने समेत रहेको र निज आफैले पनि अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा सो कुरालाई स्विकारै गरेको देखीन्छ । अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई स्वतन्त्र रुपले गरेको न भै कुटपीट गरी गरेको हो भन्न पुनरावेदकको जिकिर तर्फ पनि मौकामा नै यि प्रतिवादीको घा जाँच हुंदा समेत त्यस्तो कुनै कुटपिट गरेको भन्ने समेतको प्रतिवेदन पनि देखिंदैन । अदालतमा वयान गर्दा वारदात समयमा आफु सो स्थानमा नभै अयन्त्र भएको भन्ने जिकिर लिए पनि त्यसको ठोस सवूद प्रमाण यि प्रतिवादीले पुर्याउन सकेको समेत देखिंदैन । त्यस्तै यि प्रतिवादीको घर कोठामा वारदात नै नभएको भन्ने पुनरावेदन जिकिर लिएता पनि मिसिल संलग्न प्रमाणहरुवाट प्रतिवादीकै घर कोठामा वारदात भएको पुष्टि भै रहेको देखिंदा सो जिकिर सत्य, र साँचो देखीएन। वारदात भएको कोठावाट वरामद भएका कपडाहरुमा लागेको दागको रसायनिक परिक्षण गर्दा समेत मान्छेको रगत र धेरै जनाको विर्य भएको भन्ने प्रतिवेदन रहेको देखिंदा सो कुराले समेत सामूहिक करणी गरी मारेको पुष्टि हुन आउंछ । आफ्नो घर कोठामा भएको वारदातलाई पनि थाहै नपाएको भन्ने पुनरावेदन जिकिर पनि विश्वासनीय देखिंदैन ।
६९. अतः उपरोक्त आधार सवूद प्रमाणहरुवाट लक्ष्मी क्षेत्रीनीलाई सामूहिक करणी गर्नेमा यि पुनरावेदक प्रतिवादी समेतको संलग्नता रहेको र सोही करणीको कारणवाट निजको मृत्यू समेत भएपछि जंगलमा लगी झुण्ड्याउने कार्यमा समेत प्रतिवादीको संलग्नता रहेको पुष्टि हुन आंउछ तसर्थ, प्रतिवादी रामवहादुर लामालाई मुलुकी ऐन ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम जन्मकैद हुने ठहर्याएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु।
उपरोक्त रायमा सहमत छौं ।
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
न्या.मीनबहादुर रायमाझी
ईति सम्बत् २०५९ साल जेष्ठ १६ गते रोज ५ शुभम् ……… ।