May 17, 1999
Created by nepalarchives

निर्णय नं. ६९४८ – अंश

निर्णय नं. ६९४८          ने.का.प. २०५७            अङ्क १०/११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५१ सालको फौ.पु.नं…. २२५८...

निर्णय नं. ६९४८          ने.का.. २०५७            अङ्क १०/११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

सम्वत २०५१ सालको फौ.पु.नं…. २२५८

फैसला मितिः २०५६।२।३

मुद्दाः अंश 

पुनरावेदक/प्रतिवादीः जिल्ला कैलाली, दुर्गौली गा.वि..७ बस्ने ढाटु डगोरा थारु समेत

विरुद्ध

विपक्षी/वादीः जिल्ला कैलाली, दुर्गौली गा.वि..७ बस्ने मौना डगोरा थारु

 

§  अलगअलग सुकुम्वासीको हैसियतमा दुवै थरले जग्गा पाएको विषयमा कुनै विवाद रहेको देखिएन । अन्यत्र अरु पैत्रिक जग्गा नहुने सुकुम्वासीको हैसियतबाट जग्गा प्राप्त गरी आफूले भोग तिरो चलन गरी आएबाट अलग अलग परिवारको अस्तित्व कायम गरी आएको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको ३० नं. मा आआफूले पाएको अचल छुट्टाछुट्टै भोग चलन गरी आएकोमा व्यवहार प्रमाणबाट वण्डा भई सकेको ठहरेमा पछि वण्डापत्र भएको छैन भन्‍न पाउदैन भन्‍ने उल्लेख भएको पाइन्छ । पुर्खौली सम्पत्ति केही पनि नभएको, जे भएको सम्पत्ति पनि क्षेत्रीय बसोबास कार्यालयबाट सुकुम्वासीको नाताले प्राप्त गरेको देखिएबाट पैत्रिक सम्पत्ति जस्तो तिरो भरो नासारी गर्नुपर्ने अवस्था पनि आएन । अंशवण्डाको ३० नं. को व्याख्या पनि मुद्दाको अवस्थाको सापेक्षतामा गर्नु न्यायोचित हुने हुदा वादी दावी बमोजिम अंश पाउने ठहराएको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको २०४९।८।९ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ।             

  (प्र.नं.१०)

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री शिवराज अधिकारी

विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ता श्री हरिहर दाहाल

अवलम्बित नजिरः

फैसला

न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत दिपायलको २०४९।८।२९ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छः

2.            मुल पुर्खा धालु डगौरा थारुका २ छोरो जेठो झोला डगौरा र कान्छो खिरमान डगौरा थारु र झोला डगौराको एक मात्र छोरा म फिरादी हुँ, खिलमानका ३ छोरा जेठो ढाडु, माहिलो जितबहादुर र कान्छो हरिप्रसाद समेतका संधियार सगोलमा बसी आएका मेरो सगोलमा बस्ने इच्छा नभएकोले प्र.हरु सँग अंश माग गर्दा नदिएकोले अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

3.            जेठा दाजु झोला डगौरा हाम्रो मुल वासस्थान दाङ जिल्ला जयसुर गाउँमा १९७९ सालमा नै घरसारको अंशवण्डा गरी अलग भइसकेको, म खिरमान कैलाली जिल्लाको दुर्गली गा.पं.मा जिमिन्दार मोहनविक्रम समेतको जग्गा खनजोत गरी खाई आइ २०२१ सालमा भु.सु.ऐन लागू भएपछि जिमिन्दारहरुको जग्गा मेरो छोरा ढाडुका नाउम दर्ता भएको सो आफ्नो ज्ञान सिपले आर्जन गरेको जग्गाबाट अंश दिनु पर्ने होइन दावी खारेज गरी पाउँ भन्ने समेतको प्रतिउत्तर पत्र रहेछ ।

4.           वादी मौना थारुलाई १ नं. मोहीको लगत फाराममा सगोलको परिवार सदस्य देखाई भरेको देखिँदा वादीले अंश पाउने नै देखियो । तायदातीमा उल्लेखित सम्पत्तिको २ भागको १ भाग प्रतिवादीको परसारी १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने समेत कैलाली जिल्ला अदालतको फैसला ।

5.            हाम्रो प्रमाणको मूल्यांकन नै नगरी अंश पाउने ठहराई गरेको त्रुटिपूर्ण फैसला वदर गरी वादीको झुठ्ठा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत पुनरावेदन जिकिर ।

6.            आफूसँग भएको बण्डा गर्नुपर्ने चल अचल सम्पत्तिको तायदाती दुवै पक्षबाट पेश भई सो तायदातीमा निजी आर्जनको भनी उल्लेख गर्न पनि नसकेकोले वादी दावी वमोजिम वादीले प्रतिवादीहरुबाट २ खण्डको १ खण्ड अंश पाउने ठहराएको शुरु जिल्ला दालतको इन्साफ मुनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन दालत दिपायलको मिति २०४९।८।२९ को फैसला ।

7.            फिरादीलाई हामीबाट अंश पाउने ठहराई गरेको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १() () को अवस्था विद्यमान हुन आएकोले मुद्दा दोहोर्‍याइ उक्त फैसलाहरु बदर गरी प्रतिउत्तर जिकिर बमोजिम इन्साफ पाउँ भन्ने समेत ढाडु डगरा समेतको यस अदालतमा पर्न आएको २०४९।११।५ को निवेदन जिकिर ।

8.           पुनरावेदन दालत दिपायलको फैसलामा अंशवण्डाको ३० नं. र ने.का.. २०४६ अंक ६, पृष्ठ ७०६ मा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२() को खण्ड () () बमोजिम दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ र विपक्षी समेत झिकाई पेश गर्नु भन्ने समेत यस अदालतको २०५१।६।१४ को आदेश ।

9.            नियम बमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले फिरादीले सुकुम्वासीको हैसियतले क्षेत्रीय बसोबास कार्यालयबाट बलीमा गा.पं. वडा नं. () कि.नं. ३५ को ज.वि. १४० जग्गा मिति २०३४।२।६ मा प्राप्त गर्नु भएको र प्रतिवादी ढाडु डगौरा थारुले २०३३।८।२४ मा दुर्गली गा.पं. वडा नं. () कि.नं. १८८ को ज.वि. १४१६ जग्गा क्षेत्रीय बसोबास कार्यालयबाट प्राप्त गरेको छ । पैत्रिक सम्पत्ति भएको भए सुकुम्वासीको हैसियतले जग्गा पाउने नै थिएन । अतः वादीले मेरो पक्षबाट अंश पाउने ठहराएको फैसला वदर हुनु पर्दछ भनी र प्रत्यर्थी वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री हरिहर दाहालले वादी प्रतिवादीहरु अंशियार हुन भन्ने कुरालाई इन्कार गरेको नदेखिएको बण्डा भइसकेको तथ्ययुक्त प्रमाण पेश भएको नदेखिएको साथै तायदाती पेश गर्दा निजी आर्जन गरेको भन्ने समेत उल्लेख गर्न नसकेबाट अंशवण्डा नभएको प्रष्ट हुन आएकोले वादी दावी बमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालत समेतको फैसला सदर कायम हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।

10.         यसमा वादी दावी बमोजिम अंश पाउन ठहराएको पुनरावेदन अदालत समेतको फैसला मिलेको नमिलेको तर्फ निर्णय गर्नुपर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा, विपक्षी प्रतिवादीहरुसँग सगोलमा बस्न इच्छ नभएकोले मेरो भगको अंश माग्दा नदिएकोले अंश दिलाई पाउँ भन्‍ने वादी दावी भएकोमा हाम्रो पैतृक सम्पत्ति केही छैन । जिमिन्दारहरुको जग्गा खनजोत गरी आएको, आफ्नो ज्ञान सिपले आर्जन गरेको जग्गाबाट अंश दिनुपर्ने होइन भन्‍ने प्रतिवाद रहेको पाइन्छ । शुरु र पुनरावेदन अदालतले प्रतिवादी मध्येका ढाडु डगौरा थारुले २०२१ सालमा १ नं. लगत भर्दा परिवारमा वादीलाई पनि देखाइएको समेतको आधारमा वादी दावी अनुसार अंश पाउने ठहर भै आएको देखिन्‍छ । प्रतिवादी ढाडु डगौरा थारुले २०३३।८।२४ मा र वादीले २०३४।२।६ मा क्षेत्रीय बसोबास कार्यालयबाट जग्गा पाएको देखिन्छ । यसरी अलगअलग सुकुम्वासीको हैसियतमा दुवै थरले जग्गा पाएको विषयमा कुनै विवाद रहेको देखिएन । अन्यत्र अरु पैत्रिक जग्गा नहुने सुकुम्वासीको हैसियतबाट जग्गा प्राप्त गरी आफूले भोग तिरो चलन गरी आएबाट अलग अलग परिवारको अस्तित्व कायम गरी आएको देखिन्छ । मुलुकी ऐन अंशवण्डाको ३० नं. मा आआफूले पाएको अचल छुट्टाछुट्टै भोग चलन गरी आएकोमा व्यवहार प्रमाणबाट वण्डा भई सकेको ठहरेमा पछि वण्डापत्र भएको छैन भन्‍न पाउदैन भन्‍ने उल्लेख भएको पाइन्छ । पुर्खौली सम्पत्ति केही पनि नभएको, जे भएको सम्पत्ति पनि क्षेत्रीय बसोबास कार्यालयबाट सुकुम्वासीको नाताले प्राप्त गरेको देखिएबाट पैत्रिक सम्पत्ति जस्तो तिरो भरो नासारी गर्नुपर्ने अवस्था पनि आएन । अंशवण्डाको ३० नं. को व्याख्या पनि मुद्दाको अवस्थाको सापेक्षतामा गर्नु न्यायोचित हुने हुदा वादी दावी बमोजिम अंश पाउने ठहराएको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको २०४९।८।९ को फैसला मिलेको नदेखिँदा उल्टी हुने र वादी दावी नपुग्ने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदक प्रतिवादीहरुक माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु कैलाली जिल्ला अदालतको २०४७।३।३० को फैसला र पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको २०४९।८।९ को फैसला उल्टी भएकोले उक्त फैसलाहरुले प्रतिवादीबाट भराई लिने गरेको लगत सबै कट्टा गरिदिनु भनी शुरुमा लेखी पठाउन…………..

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले प्रतिवादीहरुले पुनरावेदन अदालतम पुनरावेदन गर्दा वादीले सुरुमा राखेको कोर्ट फि. रु.३२६६।३३ त्यसको सयकडा १५ ले हुने कोर्ट फि रु.४८९।९५ समेत जम्मा रु.३७५६।२८ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फि रु.४९० गरी जम्मा रु.,४६।२८ भराई पाउँ भनी प्रतिवादीहरुको दरखास्त परे केही दस्तुर नलिई देहाय बमोजिम फिर्ता दिन……………………….

ढाडु डगौरा थारु ….…………………. रु.१३८२।९

जितबहादुर डगौरा थारु .……………..…. रु.१३८२।९

हरिप्रसाद डगौरा थारु …………….रु.१३८२।९

मिसिल नियम बमोजिम गरी बुझाई दिनु..……………...

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोपालप्रसाद खत्री

 

इति सम्वत २०५६ साल जेष्ठ ३ गते शुभम ………………