निर्णय नं. ६९२ – लिखतपास जालसाजी किर्ते
निर्णय नं. ६९२ ने.का.प. २०२९ फुल बेञ्च सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत्...
निर्णय नं. ६९२ ने.का.प. २०२९
फुल बेञ्च
सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२७ सालको देवानी फुलेबेञ्च नम्बर ९५
फैसला भएको मिति : ०२८।११।१७।३
निवेदक : का.प.इ.भुमलुङ मौजे पिपल तारका मुनेचौर बस्ने डम्बरबहादुर घर्तीक्षेत्री
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने सिद्धिभक्त उप्रेती
मुद्दा : लिखतपास जालसाजी किर्ते
(१) दर्खास्तबाट वादी पक्ष बनाई सद्दे कीर्तेतर्फ कारवाई चलाई किनारा गर्न नमिल्ने ।
सु.वे.कृष्णबहादुर घर्ती क्षेत्रीले गरिदिएको ०१४।१२।२७।४ को राजीनामा रजिष्ट्रेशन पास गराई पाउँ भनी निवेदक डम्बरबहादुरको फिराद परेपछि सु.कृष्णबहादुर घर्ती क्षेत्रीबाट मैले ०१५।६।२१।३ मा रु. २५०१। मा राजीनामा पास गरी लिएको घर जग्गासमेत केही किल्ला र तिरोसमेत बढी देखाई निज कृष्णबहादुर आफ्नो भाइ डम्बरबहादुर मिली मेरो पासभन्दा अघिको घरसारको जालसाजी लिखतहरू खडा गरी सो लिखतहरू पास गरी पाउँ भन्ने नालिस गरेछन् भन्ने हल्ला गाउँघरमा सुनेकोले दर्खास्त गरेको छु लिखत कायम नहोस् भन्नेसमेत डि.सिद्धिभक्तको हुलाकद्वारा दर्खास्त परी सो को आधारमा निजलाई झिकाई पक्ष गराई कारवाई भएकोमा तत्काल प्रचलित अ.बं.१८१ नं.मा वादी प्रतिवादीको पेटबोलीमा लेखिएको मानिसलाई बुझ्दा कारणी देखिन आए प्रतिवादी सरह बनाई कारवाई गर्ने सम्म लेखिएको यसरी दर्खास्तबाट वादी पक्ष बनाई कारवाई गर्ने कानूनमा उल्लेख नभएकोमा सिद्धिभक्तलाई प्रतिवादी बनाई सद्दे कीर्तेतर्फ कारवाई चलाई सद्दे कीर्तेतर्फ किनारा गरेको नमिलेकोले त्यसतर्फ वादी र सिद्धिभक्तलाई सजाय गरेको मिलेन भनी डिभिजन बेञ्चको फैसलामा उल्लेख भएकोसम्म कानूनसङ्गत नै देखिन्छ ।
(प्रकरण नं. २८)
निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
विपक्ष तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल
फैसला
न्या. जयदेव भट्ट
१. डि. पुष्पराजका ०८।१२।२५ का कपाली तमसुकको मो.रू.१२००। र त्यसको ब्याज रु. ७२० समेत जम्मा रु. १९२० । तिर्न र छोरी ललितादेवीको पेवा मासी खाएको मो.रु. १००। तिर्न र अरु ४८०। बेतमसुकी तिर्न र घर खर्च गर्न भनीसमेत जम्मा रु. २५००। कर्जा लिई वहाँका हकभोगको बेखवाला कुलराज अम्विकाप्रसादबाट आयस्ता खाने ना.सु.रोहिणीरमणलाई गोपाल माझी मार्फत् साल १ को तिरो रु. १। तिर्नुपर्ने घरवारजग्गाको साँध पूर्व घर माथिको तेर्सोबाट पश्चिम इच्छेद दमाई र नेवारको साँध उत्तर पं.वासुदेव थपलिया जग्गा साँध दक्षिण ठाडो बोटो यी ४ किल्लाभित्रको हद ३ को मेलो मकै बीउ पाथी ३ जाने जग्गा र सो जग्गामा बनेको ९।१५ को २ तल्ले कच्चा घरसमेत अन्यायको स्वास्नी मानकुमारीसमेत साक्षी बसी ०१४।१२।२७।४ मा राजीनामा गरी दिएको पास नगरी दिएकोले उक्त राजीनामा पास गराइपाउँ भन्नेसमेत ०१५।७।२९।६को डम्बरबहादुरको भन्ने नन्दबहादुरको फिरादपत्र ।
२. प्र.कृष्णबहादुरको नाउँमा १६।१।२९ मा तामेल भएको ३ महिने म्याद गुजारी बसेको ।
३. मेरो पासभन्दा अघिको जालसाजको लिखत खडा गरी सो लिखतपास गरिपाउँ भनी का.प.मा नालिस गरेको भन्ने हल्ला सुनेकोले मेरो नाउँको उजूरबेगर जालसाजी कागज लेखी सो लिखत कायम सदर नहोस् भन्नेसमेत १६।१।१०।५ मा डि.सिद्धिभक्तको दरखास्त ।
४. यो ४ किल्लामा पश्चिम साँध धनबारी शिवभक्तिको पर्छ अरु लेखिएको ३ किल्लासमेतका किल्लाभित्रको तिरो रू.।९४ पैसा मि.गोपाल माझीमार्फत् वेखवालाका प.इ.भोसीको टोल बस्ने दुर्गामान सिंह बस्नेत क्षेत्रीका गुठी वेषमा बुझाउनुपर्ने विजन मकै माथि ।३ जाने घरवारी र त्यो जग्गामा बनेको ढुंगाको गाह्रो खरको छानो भएको ९।१५ को २ तल्ले घरसमेत प्रतिवादी सु.कृष्णबहादुर घर्ती क्षेत्रीबाट मैले रू.२५०१मा ०१५।६।१५ गते घरसारमा राजीनामा गरी लिई ऐ.२१ ग्ते ३ मा सदर पोता अड्डामा गई पास राजीनामा गरी लिएको जग्गा घर मैले भोग गरिआएको छु । मेरो पासभन्दा अघिको कपाली न्हेडिकसमेत बनाई घरसारमा जालसाजी लिखत गरी उजूर दायर गरेको हुँ । उजूर बदर गरी मेरो सदर गरिपाउँ भन्नेसमेत ०१६।९।२८।३ को सिद्धिभक्तको बयान ।
५. वादीबाट पेश भएको लिखत नक्कलमा जनिएको कैफियत हेर्दा लिखत रीतपूर्वक भएको समेतका प्रमाण परिवन्धबाट वादीले पास गरिपाउँ भनी दावा लिएको राजीनामा लिखतपास हुने र प्रतिवादी कृष्णबहादुरले पास गरिदिनुपर्ने ठहर्छ भन्ने ०१८।४।२५।४ को का.प.इ. अदालतको फैसला ।
६. चित्त बुझेन भन्ने प्र.डि.सिद्धिभक्तको तत्काल भ.पु.जि.अ.मा परेको पुनरावेदन ।
७. पक्ष विपक्षको प्रमाणको कागज अ.ब.१०४ नं. बमोजिम परस्पर सुनाउने भन्नेसमेत १९।९।२० को तत्कालीन काठमाडौं जि.अ.पहिला फाँटको आदेश ।
८. धनी सिद्धिभक्त ऋणी सु.कृष्णबहादुर भएको ०१५।९।२१ गते पोता रजिष्ट्रेशन पास भएको राजीनामा रू.२५०१। को देखें हेरें ऐ.कृष्णबहादुरले लेखिएको जग्गा ०१४।१२।२७ गते २५००। मा मलाई वारेश दिने डम्वरबहादुरलाई घरसारमा राजीनामा गरिदिएकोले मेरो राजीनामा बदर गराउनको लागि जालसाजी गराएको लिखत बदर गरिपाउँ भन्नेसमेत ०१९।१०।३।४ को डम्बरबहादुरको वा.चक्रबहादुरको बयान ।
९. डम्बरबहादुरले कृष्णबहादुरसँग गरेको रू.२५००। को लिखत जालसाजी कीर्ते हो न्हेडिक तिरेको रु. १९२०। को लिखत पनि जालसाजी हो १४ सालको रसिद पनि जालसाजी गरेको हो भन्नेसमेत सिद्धिभक्तको वा.रामप्रसादको बयान ।
१०. पक्ष विपक्षीले पेश गरेको लिखतहरू परस्पर जालसाजीसमेत भनी दुवैथरले बयान गरेकोले प्रतिवादीहरूसमेत जो जे बुझ्नुपर्ने बुझी २ महिनाभित्र सद्दे कीर्ते जालसाजीमा तहकिकात गरी त्यसमा अपील परे अपीलसाथ र नपरे यो अपील किनारा गर्न पठाइदिनु भनी मिसिल इ.अ.मा पठाइदिने भन्ने १९।१०।१५ को का.जि.अ.पहिलाको आदेश ।
११. मैले पेश गरेको कागज सद्दे साँचो हो कृष्णबहादुर प्रतिवादी भएको म वादी भई चलेको मेरो राजीनामा सद्दे कीर्ते भन्ने पाउने कृष्णबहादुरको मात्र हक भएको खाली दरखास्तबाट परेको सिद्धिभक्तको केश दायर हुन सक्दैन । मेरो १४।१२।२७ को राजीनामा कीर्ते होइन । निज सिद्धिभक्तले १५।६।१५ मा जालसाज गरी पास गरेछन् । सिद्धिभक्तको जिकिर अ.बं.१०४ नं.को अन्तर्गत दर्खास्तबाट कारवाई चल्न सक्दैन भन्नेसमेत २०।२।२७ को डम्बरबहादुरको वा.चक्रबहादुरको बयान ।
१२. निज कृष्णबहादुर अघि अघि पनि लेनदेन कारोवार भएका मानिस हुन् र पछि ०८।१२।२५ मा निजले मबाट रुपैयाँ १२००। लिई सो सावाँ र ब्याजसमेत गरी रू.१९२०। चुक्ति गरी बुझाउँदा थैली बुझी तमसुक दरपिठ गरिदिएको हुँ । सद्दे साँचो व्यवहार हो कीर्ते लिनुदिनु नभई जालसाजीबाट गरे बनाएको होइन । यस मुद्दामा बीचका व्यक्ति निज सिद्धिभक्तले पनि मौकैमा बयानमा जालासाजी कीर्ते गरे भनी किटानसाथ लेखाउन नसकेको र कीर्ते कागजको १ नं.जग्गा मिच्नेको १८ नं.ले म्याद नाघेको उजूरी भएबाट निजको उजूरी बयान गैरकानूनी छ खारेज गरिपाउँ । कृष्णबहादुर र मानकुमारीसमेत भई डम्बरबहादुरलाई गरिदिएको खेतबारीका लिखत राजीनामाहरू सद्दे साँचो हो जालसाजी कीर्ते होइन । जालसाजी भनी बयान गरेमा सजाय गरिपाउँ भन्नेसमेत ०२०।५।२७।२ को डि.पुष्पराजको वा.वि.लोकराजको बयान ।
१३. ०१४।१२।२७ गते कृष्णबहादुरले डम्बरबहादुरलाई रू.२५००। मा गरिदिएको राजीनामा सद्दे साँचो हो सो राजीनामामा भएको मानकुमारीको नै ल्याप्चे हो । राजीनामा जालसाजी र मानकुमारीको ल्याप्चे कीर्तेसमेत होइन । ०१४।१२।२७।४ मा नै भएको सद्दे साँचो व्यवहार भएकोले साक्षी बसेको हुँ भन्नेसमेत ०२०।१२।१७।३ को गणेशप्रसादको वा.कृष्णप्रसादको बयान ।
१४. २ कित्ता रू.२५५०। मा न्हेडिक र अरु सावाँसमेत तिर्ने भनी रू.२५००। दुवै लिखत उक्त ०१४।१२।२७ गतेमा म लेखनदास भई न्हेडिक र साहूहरूलाई समेत तिरी सु.कृष्णबहादुरले वादीलाई राजीनामा गरिदिएको हो उक्त लिखत जालसाजी कीर्ते होइन । खास लिनुदिनु न्हेडिक तिरी लिखत भए गरेको हुनाले सद्दे साँचो हो । प्र.सिद्धिभक्तको बयान सुनें निजका भनाइबमोजिम ०१५।७।२७ गते अघिमात्र कीर्ते जालसाजबाट बनाए गराएको समेत होइन । निजको भनाई बयान गराई झुट्टा हो भन्नेसमेत ०२०।७।२२।६ को विष्णुबहादुरको बयान ।
१५. वादीले कृष्णबहादुरबाट गराई लिएको मानकुमारी फड्के साक्षी भएको ०२४।१२।२७ को राजीनामा पुष्पराजलाई न्हेडिक तिरेको दरपिठ १ समेत कीर्ते जालसाजी नठहर्ने प्र.सिद्धिभक्तले पास गराइलिएको राजीनामालाई वादीले जालसाजी भनेको हुनाले र वादीको लिखत राजीनामा पास सद्दे ठहरेकोले उक्त १५।६।२१ मा प्र.कृष्णबहादुरले पास गरिदिएको राजीनामा जालसाज हो कि भन्नलाई भनी ऋणी धनी दुवैथर भई पास गरिदिएको लिखत देखिन आएको र वादीले राजीनामा लिएको थाहा पाई प्र.सिद्धिभक्तले राजीनामा गराइलिएको भन्ने सबूद यस वादी तर्फबाट दाखिल हुन नआएको आसामी अर्थात् कृष्णबहादुरले राजीनामा गरिदिएकाबाट निज सिद्धिभक्तले गराइलिएको देखिएको हुँदा उक्त राजीनामा भनी जालसाजी नठहर्ने दोहरोसम्म देखिन आएमा अघि नै दोहोरोतर्फ सजाय भइसकेकाले अब दोहरामा सजाय दिन नपर्ने भई दुवैतर्फबाट जालसाज भनेको नठहरेकोले अरु सजायसमेत देहायबमोजिम गर्ने भन्नेसमेत ०२२।३।१४।२ को काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।
१६. मुख्य फैसलाको नक्कल सार्न नपाई बुँदा काटी लेख्न नपाएकोले पछि निवेदन गरी बुँदा काटी निवेदनमै लेख्नेछु भन्नेसमेत ०२२।१०।१२।३ को डि.सिद्धिभक्त उप्रेतीको पुनरावेदन पत्र ।
१७. साक्षी सबूद मेरो र विपक्षीको बयान औ दाखिल भएका लिखतसमेत एक एक गरी विचार भई हक इन्साफ पाउँ र उक्त जिल्ला अदालतबाट जालसाजी लिखतलाई जालसाजी नठहराई झुट्टा उजूर गरेमा भनी मलाई लाग्न नसक्ने गरेको जरिवाना फिर्ता गराइपाउँ भन्नेसमेत ०२२।६।६।५ को डम्बरबहादुरको पुनरावेदन ।
१८. कृष्णबहादुरले डम्बरबहादुरलाई लेखिदियो भनेको जग्गा र कृष्णबहादुरले अपीलबाट डि.सिद्धिभक्तलाई लेखिदियो भनेको जग्गा लालमोहरबमोजिम पुर्खा र मसमेत लेखाई आएको डि.सिद्धिभक्तले राजीनामा गराउँदा मैले मञ्जुर गरिदिएको हो हुँ यो जग्गा गुठी अधिनस्तको जग्गा हो भन्नेसमेत दुर्गामान सिंहको बयान ।
१९. कानूनी उक्त लिखत प्रतिवादी सिद्धिभक्तको देखिएपछि सो राजीनामा कायम गरी वादीको लिखतपास नहुने गरी फैसला गर्नुपर्नेमा सोबमोजिम नगरी वादी दावीको राजीनामा कायम गर्ने पास हुने ठहराई ०१८।४।२५ मा फैसला गरेको गल्ती र वादीलाई १४ साल चैत २७ गते घरसारमा राजीनामा गरेको कुरा प्रतिवादीले थाहा पाएको सबूद प्रमाण वादीले कुनै दिन गुजार्न नसकेकोले समेत वादी प्रतिवादीहरूको दुवै तमसुक जालसाजी नठहर्ने र प्रतिवादीको लिखत रजिष्ट्रेशन पास भएको र मिति बार साक्षी रहेकोबाट लेनदेन व्यवहारका १० नं.र भूमिसम्बन्धी ऐनको दफालेसमेत दुवै कानूनले प्रतिवादीको लिखत सदर हुने हुँदा जालसाजीतर्फ इन्साफ सुरु अदालतको लिखतका अंकबाट मात्र सजाय हुने भएबाट त्यसतर्फ केही गल्ती ठहर्छ भन्नेसमेत ०२३।६।२४।२ को बागमती अञ्चल अदालतको फैसला ।
२०. बागमती अञ्चल अदालतले ०२३।६।२४।२ मा हदमुनि गरी हराइदिनुभएको मुद्दाको इन्साफ जाँच गरिदिनु भन्ने सर्वोच्च अदालतका नाउँमा प्रमांगी बक्स पाउँ भन्नेसमेत द.नं.४७४० को निवेदन ।
२१. तपसिलमा लेखिएको मानिसको मिसिल झिकाई एकपटक नियमबमोजिम इन्साफ जाँच गरिदिनु, जनाउ पनि दिनु भन्ने मौसुफका सरकारबाट त्यहाँ लेखि पठाउनु हुकूम बक्सेबमोजिम निवेदन पठाइएको छ भन्नेसमेत ०२३।८।७।३ को हु.प्र.को प्रतिलिपि उतार ।
२२. ०२३।८।७।३ मा श्री ५ महाराजाधिराजका जाहेरी विभागबाट लेखिआएको व्यहोरा समेत यो निवेदनको व्यहोरा पेश गर्न ल्याएको पेश भयो । यसमा बक्स भई आएको हुकूम प्रमांगीबमोजिम इन्साफ जाँच गर्न लगतमा दर्ता गर्नु भन्नेसमेत ०२३।८।२९।१ को माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
२३. धनी डम्बरबहादुर भन्ने नन्दबहादुर घर्तीक्षेत्री ऋणी कृष्णबहादुर घर्ती क्षेत्री भएको रू.२५००। को २०१४।१२।२७ को लिखतमा साक्षी महलमा मानकुमारी क्षेत्रयानीको नाममा लागेको ल्याप्चे सहीसँग पनि मानबहादुर खड्का क्षेत्री ऋणी मानकुमारी घर्ती क्षेत्रयानी भएको रू.१००। को राजीनामा लिखतमा लागेको कारणीको ल्याप्चे सही धनी डम्बरबहादुर ऋणी मानकुमारी भएको मो.रु. ९९।५० लिखतमा लागेको कारणीको ल्याप्चे सही र धनी डम्बरबहादुर भन्ने नन्दबहादुर ऋणी कृष्णबहादुर भएको रू.२५००। को मिति ०१४।१२।२७ को पिठमा मालको छाप लागेको भनेको लिखतमा साक्षी महलमा मानकुमारीको नाममा लागेको ल्याप्चे सही मिल्छ मिल्दैन नमिल्ने भए कुनसँग मिल्ने हो विशेषज्ञ झिकाई श्री रजिष्ट्रारका रोहवरमा विशेषज्ञलाई जँचाई प्रतिवेदन लिई नियमबमोजिम पेश गर्नु भन्नेसमेत ०२६।३।३।३ को डिभिजन बेञ्चको आदेश ।
२४. वादी दावीबमोजिम उक्त लिखतपास गरिदिनु पर्ने हो या होइन र सिद्धिभक्त उप्रेतीको नाउँमा रजिष्ट्रेशन पास भएको लिखत जालसाजी कीर्ते हो होइन भन्नेसमेत कुराको निर्णय दिनुपर्ने हुन आयो । सिद्धिभक्तका नाउँमा नालिस नपरेको र प्रतिवादी नै नपरी नदेखाएकोले सिद्धिभक्तलाई प्रतिवादी बनाई सद्दे कीेर्तेतर्फ कारवाई चलाई सद्दे कीर्तेतर्फ किनारा गरेको नमिलेकोले त्यसतर्फ वादी र सिद्धिभक्तलाई सजाय गरेको मिलेन । वादीदाबीबमोजिम लिखतपास हुने नहुनेतर्फ विचार गर्दा सिद्धिभक्तको लिखतपास भएको देखिएको र प्रचलित मुलुकी ऐनका रजिष्ट्रेशनको ३४ नं.मा दोहरो लिखत भएकोमा पहिले रजिष्ट्रेशन भएकै लिखत जेठो ठहर्छ भन्ने प्रष्ट व्यवस्था भएको हुँदा धनी सिद्धिभक्त भएको लिखत ०१५।६।२१।२ मा रजिष्ट्रेशन पास भएको देखिँदा वादीको लिखतपास गराइपाउँ भन्ने दावी नपुग्ने ठहराई अञ्चल अदालतले गरेको इन्साफ मनासिवै छ भन्ने ०२६।६।१७।६ को डिभिजन बेञ्चको फैसला ।
२५. डिभिजन बेञ्चबाट ०२६।६।१७।६ मा हराइदिए मुद्दा दोहराइपाउँ भनी न्यायिक समिति राजदरवारमा निवेदन चढाएकोमा तामेलीमा राखिदिने निर्णय भएकोले एकपटक फुल बेञ्चबाट दोहराइदिनु भन्ने किटानी हुकूमको प्रमांगी बक्स पाउँ भन्नेसमेत डम्बरबहादुरको विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट छिनेको यो मुद्दा फुल बेञ्चबाट दोहराई हेरी कानूनबमोजिम गरी छिनिदिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट मौसुफका विशेष जाहेरी विभागमार्फत हुकूम प्रमांगी बक्स भई आई पेश हुँदा बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्न निमित्त दर्ता गरी मिसिल झिकाई विपक्षीलाई दिन १५ र निवेदकलाई दिन ७ को म्याद दिई फुल बेञ्चमा पेश गर्नु भन्नेसमेत ०२७।४।२९।५ को सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
२६. सिद्धिभक्तको वा.रामप्रसादको ०१९।१०।११।५ को ततिंवा बयानमा ०१४।१२।१० गते कृष्णबहादुरबाट दुर्गाप्रसादले गराइलिएको रू.२९०० को २०१६।६।६ को फैसलाबाट पास भएको राजीनामामा पनि मानकुमारी साक्षी बसेको हुनुपर्छ भन्ने उल्लेख गरेको रहेछ । उक्त लिखत सक्कल दाखिल गर्न ल्याउनु भनी दुर्गाप्रसादका नाममा शुरुबाटै म्याद जारी गरेकोमा दाखिल गर्न नल्याएको भए पनि १ प्रति पास गर्ने अड्डामा रहने हुँदा कुन मितिमा कुन अड्डाबाट पास भएको हो सिद्धिभक्तको वारेसको कागज गराई खुलाई उक्त पास लिखतमा मानकुमारीको साक्षीमा सहिछाप परेको छ भने प्रमाण निमित्त सुरक्षित साथ पठाइदिनु भनी उक्त लिखत रहेको अड्डालाई लेखिपठाई झिकाई सो आएपछि नियमबमोजिम गर्नुभन्ने ०२८।९।९।६ को फुल बेञ्चको आदेश ।
२७. तारिखमा रहेका निवेदक वादी डम्बरबहादुर घर्ती क्षेत्री र डि.सिद्धिभक्त उप्रेतीको वा.पशुपति उप्रेती रोहवरमा रही गत ०२८।११।६।६ मा पेश भएकोमा निवेदक डम्बरबहादुरतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र डि.सिद्धिभक्ततर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको बहससमेत सुनी आजको निर्णय सुनाउने तारिख तोकिई पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी डम्बरबहादुरका फिराद दावीबमोजिमको ०१४।१२।२७।४ को राजीनामा रजिष्ट्रेशन पास गराई दिनुपर्ने नपर्ने के हो ? यसैको निर्णय गरिदिनुपर्ने देखिएको छ ।
२८. सु.वे.कृष्णबहादुर घर्ती क्षेत्रीले गरिदिएको ०१४।१२।२७।४ को राजीनामा रजिष्ट्रेशन पास गराई पाउँ भनी निवेदक डम्बरबहादुरको फिराद परेपछि सु.कृष्णबहादुर घर्ती क्षेत्रीबाट मैले ०१५।६।२१।३ मा रु. २५०१। मा राजीनामा पास गरी लिएको घर जग्गासमेत केही किल्ला र तिरोसमेत बढी देखाई निज कृष्णबहादुर आफ्नो भाइ डम्बरबहादुर मिली मेरो पासभन्दा अघिको घरसारको जालसाजी लिखतहरू खडा गरी सो लिखतहरू पास गरी पाउँ भन्ने नालिस गरेछन् भन्ने हल्ला गाउँघरमा सुनेकोले दर्खास्त गरेको छु लिखत कायम नहोस् भन्नेसमेत डि.सिद्धिभक्तको हुलाकद्वारा दर्खास्त परी सो को आधारमा निजलाई झिकाई पक्ष गराई कारवाई भएकोमा तत्काल प्रचलित अ.बं.१८१ नं.मा वादी प्रतिवादीको पेटबोलीमा लेखिएको मानिसलाई बुझ्दा कारणी देखिन आए प्रतिवादी सरह बनाई कारवाई गर्ने सम्म लेखिएको यसरी दर्खास्तबाट वादी पक्ष बनाई कारवाई गर्ने कानूनमा उल्लेख नभएकोमा सिद्धिभक्तलाई प्रतिवादी बनाई सद्दे कीर्तेतर्फ कारवाई चलाई सद्दे कीर्तेतर्फ किनारा गरेको नमिलेकोले त्यसतर्फ वादी र सिद्धिभक्तलाई सजाय गरेको मिलेन भनी डिभिजन बेञ्चको फैसलामा उल्लेख भएकोसम्म कानूनसङ्गत नै देखिन्छ ।
२९. ऐनले पास गरिदिनुपर्ने लिखतपास गरिदिएन गराइपाउँ भन्ने वादी दावी, समर्थन गरी प्र.कृष्णबहादुरले म्यादै गुजारेको र पेश हुन आएका लिखतमा जनिएका कैफियतबाट लिखत कानूनको रीत पुगेकै देखिन आयो । निवेदक वादीले ०१४।१२।२७।४ मा राजीनामा गरी लिएपछि ०१५।६।१५।४ मा सिद्धिभक्तले घरसारमा राजीनामा गराई ०१५।६।२१।३ मा का.पोता रजिष्ट्रेशन अड्डाबाट पारित भएको देखिए पनि निवेदक वादी डम्बरबहादुरको राजीनामामा प्र.कृष्णबहादुरकी श्रीमती मानकुमारी फटकेमा साक्षी बसेकी वापत डि.पुष्पराजका तमसुक र अरु वेतमसुकी साहू तिर्न र घर खर्च गर्न लिएको भन्ने लेखिएको डि.सिद्धिभक्तले लिएको राजीनामा वापत छोरीको र स्वास्नीको कृया गर्न वेतमसुकी साहू तिर्न घर खर्च गर्न भनी लिएको उल्लेख भएकोबाट निवेदक वादीको राजीनामा पहिले भएको भन्ने निवेदक जिकिर भएको र तत्काल प्रचलित ऐनमा जुन लिखत पहिले रजिष्ट्रेशन पास भएको छ सो जेठो हुन्छ भन्ने उल्लेख नभएको कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा ४ ले नयाँ मुलुकी ऐन रजिष्ट्रेशनको ३४ नं.को प्रस्तुत मुद्दामा असर नपर्नेसमेत हुँदा वादीको राजीनामा रजिष्ट्रेशन पास गरिदिन पर्ने ठहराएको सम्म शुरु का.प.जि.अ.को ०१८।४।२५।४ को इन्साफ मनासिव देखिँदा लिखतपास गरिपाउँ भन्ने वादीको दावी नपुग्ने ठहराएको बागमती अञ्चल अदालतको इन्साफ समर्थन गरेको ०२६।६।१७।६ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, तपसीलबमोजिम गर्नु र नियमबमोजिम मिसिल बुझाइदिनु ।
तपसील
दोहरा लिखत गरिदिएमा भनी का.प.जि.भुग्लु मध्ये पिपलटार बस्ने सु.वे. कृष्णबहादुर घर्ती क्षेत्रीलाई का.प.जि.अ.का १८।४।२५।४ का फैसलाले र २५०१। जरिवाना गर्ने गरेकोमा दोहरा लिखत गरेमा सजाय गरिपाउँ भन्ने निजउपर कसैको उजूर नहुनाले वादी नै खडा नभएका कुरामा कसूर गरेको भनी निर्णय दिई सजाय तोक्न नमिल्ने हुँदा सो सजाय हाल लाग्न नसक्ने हुँदा त्यसको लगत कट्टा गर्न र पास गरिदिन पर्ने लिखतपास गरी नदिएमा ऐनबमोजिम का.प.जि.अ.ले सजाय तोकेको रू.५। को लगत कट्टा गर्ने भनी बागमती अञ्चल अदालतको २३।६।२४।२ का फैसलामा उल्लेख भएकोमा सो सजाय लाग्ने नै देखिनाले लगत कट्टा वा फिर्ता दिइसकेको भए पुनः लगत कसी असुल गर्न लगत दिने………………१
निवेदक वादी डम्बरबहादुर भन्ने नन्दबहादुर घर्ती क्षेत्री के निजले पास गराइपाउँ भनेको निज साहू प्र.सु.वे.कृष्णबहादुर घर्ती क्षेत्री भएको रू.२५००। को २०१४।१२।२७।४ को राजीनामा पास गरिपाउँ भनी दं.स. ४४ नं. का म्यादभित्र दरखास्त दिन आए पास गरिदिनु भनी सम्बन्धित कार्यालयलाई लेखी पठाइदिन का.प.जि.अ. लाई लेखी पठाइदिनु……………………..२
प्र.न्या. रत्नबहादुर बिष्ट,
न्या. ब्रम्हदत्त तिवारी
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२८ साल फागुन १७ रोज ३ शुभम् ।