May 30, 1972
Created by nepalarchives

निर्णय नं. ६९० – जग्गा खिचोला

निर्णय नं. ६९०       ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत्...

निर्णय नं. ६९०       ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

सम्वत् २०२८ सालको दे.फु.नं. १४०

फैसला भएको मिति : २०२९।२।१७।३ मा

निवेदक   : कास्की अर्घी बडहरे बस्ने उमानाथको मुद्दा सकार गर्ने खड्गमाया उपाध्यायनी

विरुद्ध

विपक्षी    : ऐ. अर्घा अर्चले बस्ने पार्वती उपाध्यायनी

मुद्दा : जग्गा खिचोला

(१)  दुवै पक्षले मानिआएको लिखत सद्दे कीर्तेमा सुनाउन नपर्ने ।

          प्रस्तुत मुद्दामा वादी दावीको तीन खोर जग्गा आधि वादीको ससुरा वेनीप्रसाद र प्रतिवादीको बाबु महेश्वर २ भाइ अघि नै छुट्टिई भिन्न हुँदा वादीको ससुरा वेनीप्रसादको भागमा परी वादीको हक भएको भन्ने कुरा प्रतिवादीले पनि स्वीकारै गरेको पाइन्छ । महेश्वरको भाग आधि निजले ६३।३।७ मा बुद्धसागरलाई भोगबन्धकी दिएको पछि प्रतिवादीले निखनी लिएको भन्ने भनाई भएकोमा उक्त लिखत प्रमाणमा लगाउन अ.बं.७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनुपर्ने भन्ने तर्क उठाइएको हकमा उक्त बन्धकी लिखतलाई दुवैपक्षले मानिराखेकैले सद्दे कीर्तेमा सुनाउनुपर्ने अवस्था देखिँदैन ।

 (प्रकरण नं. १३)

विपक्षी तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी

फैसला

          प्र.न्या. रत्नबहादुर बिष्ट

          १.   मेरो बुढा बाजे र विपक्ष प्र.उमानाथका बाजे टीका बल्लभका २ छोरामा जेठा उमानाथका पिताज्यु महेश्वर र कान्छा मेरा ससुरा बेनीप्रसाद समेत हुन् । उहाँहरू अघि नै आधि अंश गरी छुट्टि भिन्न भएपछि ससुरा बेनीप्रसाद परलोक हुनुभएकाले उहाँको अंश जति मेरा खसम मेघनाथले खाई भोगिरहनुभएको अवस्था खसम मेघनाथ विगत ६ सालमा परलोक हुनुभएकोले अहिलेसम्म आधि अंश सुपथ खाइरहेकै छु । थुमाली पौडेलका नाममा भएको लालमोहर भित्रको निज थुमेली पौडेलबाट हाम्रा अंशियार मेयाद बलभद्र पाध्याले फार्छे राजीनामा गरिलिनु भई उहाँको अपुताली परी बुढा ससुरा बाजे टीका बल्लभको हक भई विपक्ष वाला उमानाथको पिता महेश्वर र मेरा ससुरा बेनीप्रसाद समेत छुट्टिई ससुरा वेनीप्रसादका अंश भागमा परी खसम मेघनाथ छँदा उहाँले र उहाँको शेषपछि पौवा खोर भन्ने ३ खोरको आधि पाखो जग्गा मैले भोग चलान गरिरहेको अवस्था अबदेखि तिमीलाई यो जग्गामा चलन वर्तन गर्न दिन्न मैले यो जग्गा छुट्टिइसकेपछि आर्जेको हुँ पुगेको गर भनी ०१९।१२।२ गतेका दिन हटक खिचोला गरेकोले जग्गा पजनीको ३४ नं.को म्याद २ वर्षभित्र फिरादी गरेकी छु भन्नेसमेत पार्वती पाध्यानीको फिरादपत्र ।

          २.   वादीले पक्राउ गरेका जग्गा बलभद्र पौडेलका नाममा बक्सिएका लालमोहरभित्रको भई निजका सन्तान मु.शालिकराम पाध्याबाट मैले १९९१।११।१८।६ मा मोरु ५०। मा फार्छे राजीनामा गरी लिई मैले भोग गरिआएको छु । मेरो हक भएको जग्गामा निज वादी कसरी गोरु लिई गई होलिन् । मैले गोरु फुकाएँ हुँला हक इन्साफ भई वादीका झुट्टा पक्राउबाट मलाई अलग फुर्सद गराई सुरुले पाटन भन्ने विर्ता जग्गा मेरो हक सदर थामी झुट्टा वादी दिई दुःख दिएमा ऐनकानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत खगमाया उपाध्यायनीको प्रतिउत्तरपत्र ।

          ३.   नक्सामा झगडा परेको भनी जनिएको न.नं.१९।२०।२१ को जग्गा वादीको आधि अंश लाग्ने जग्गा रहेनछ भन्न नभई आधि मेरो भन्ने वादीको दावी र सो सबै जग्गा वादीको नाममा दर्ता भएको छ तापनि नक्सामा लेखिएको झगडा जनिएको नं.१९।२०।२१ को जग्गाको आधि जग्गा वादीको र आधि जग्गा प्रतिवादी मुद्दा सकार गर्ने खगमायाको ठहर्छ भन्नेसमेत कास्की जिल्ला अदालतको फैसला ।

          ४.   शुरुको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी खगमाया पाध्यानीको पुनरावेदन ।

          ५.  बाबु ससुराका पालादेखि आधा आधा अंश गरी भोग गरी आएको वादी दावीको जग्गालाई अंश छुट्याइसकेपछि प्राप्त सम्पत्ति भनी विना लिखित प्रमाणको जिकिर गरी वादीको भोगसमेत एकलौटी प्रतिवादीले खान खोजेको रहेछ भन्ने सो प्रतिवादीको बाबु ससुरा महेश्वरले गरेका बन्धकी तमसुकबाट प्रष्ट हुन आएको र सो तमसुक मिला नै झगडा परेको हुनाले समेत इन्साफ शुरुको मनासिव छ भन्नेसमेत गण्डकी अञ्चल अदालतको फैसला ।

          ६.   गण्डकी अञ्चल अदालतको हदमुनि गरी छिनिएको इन्साफ जाँचीपाउँ भन्ने खगमाया उपाध्यायनीले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो भए अञ्चल अदालतले हदमुनि गरी छिनेको मिसिल झिकी सर्वोच्च अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगी ।

          ७.  वादीका ससुरा वेनीप्रसाद र प्र.उमानाथका बाबु महेश्वर २ भाइ भई अंश हुँदा ३ खारेज जग्गामा महेश्वरका भागको अघि निजले ६३ सालमा बन्धकी दिएकोमा पछि प्रतिवादीले निखनी लिएको हो भन्ने कुरामा २ थरको मुख मिलेको छ सोही अंश मध्येको मेरा अंश भागको आधि १।। खोर जग्गामा प्रतिवादीले खिचोला गर्‍यो भन्ने वादी दावी भएकोमा वादीले पक्रेको जग्गा केही ९१ सालमा सालिकरामबाट राजीनामा लिएको र केही मेरो श्रीमतीले बक्स पाएको जग्गा हो भनी प्रतिवादीले इन्कार गरेकोमा सो राजीनामा सक्कल दाखिल गर्न नसकेको र बक्सेको लिखत रजिष्ट्रेशन पास नभएकाले वादीको अंशभागको आधि जग्गामा प्रतिवादीले खिचोला गरेको ठहराई छिनेको शुरु कास्की जिल्ला अदालतको इन्साफ मनासिव भनी गण्डकी अञ्चल अदालतबाट छिनेको देखिन्छ । वादीले अंशबाट पाएँ भनेको र प्रतिवादीले राजीनामाबाट पाएँ भनेको जग्गा कुन हो महेश्वरले अंश पाई बन्धकमा दिएको पछि प्रतिवादीले निखनेको जग्गा कुन रहेछ भनी गण्डकी अञ्चल अदालतबाट नक्सा गर्न पठाउँदा झगडा परेकै जग्गामा केही जग्गा वादीलाई दिने भन्ने प्रतिवादी र सो लिई अरुमा दावी नगर्ने गरी मिल्ने भएकाले नक्सा नगर्ने भनी २ थरले डोरमा दरखास्त दिँदा नक्सा नगरी डोर वापस आएको पछि मिलापत्र नगर्ने भन्ने कागज गरेकोले नक्सा भएको ०२५।१।२७ को नक्सा हेर्दा न.नं.९।१०।११।१२।१३।१४ को जग्गा ३ खोर हो त्यसमध्ये आधि मेरो हो भनी वादीले देखाएको अघि बाजेकै पाला अंश भई महेश्वरले बन्धकी दिएको पछि प्रतिवादीले निखनी लिएको जग्गा र वादीका अंशभागमा परेको जग्गा सो नभई अरु नै यो हो भनी नक्सामा देखाउन प्रतिवादीले नसकेको न.नं.१३।१४ को जग्गा दान पाएको भनी नक्सामा जिकिर लिएकोमा सोकुरा प्रतिवादीमा भन्न लेखाउनसमेत नसकेकाले कागज पिच्छे कुरा बदली जिकिर लिने प्रतिवादीको जिकिर प्रतित लायक नदेखिने । वादीका भाग अंशको आधि जग्गामा प्रतिवादीले खिचोला गरेको ठहराएको शुरुको इन्साफ सदर गरी अञ्चलले छिनेको इन्साफ बदर गर्न मिल्ने तथ्य थप सबूद निवेदिकाले दिन गुजार्न नसकेकोले समेत इन्साफ गण्डकी अञ्चल अदालतको मनासिवै छ भन्नेसमेत मा.न्या.श्री वृषबहादुर थापा, मा.न्या. श्री जयदेव भट्टको ०२७।१०।२६।२ को डिभिजन बेञ्चको फैसला ।

          ८.   उपरोक्त निर्णय दोहर्‍याइ पाउँ भन्ने उमानाथ मरी मुद्दा सकार गर्ने खगमायाको निवेदन पर्न आएकोमा न्यायिक समितिबाट यसमा (१) वादीको फिराद लेखाइमा हेर्दा सो फिरादपत्रमा उल्लेख भएका ४ किल्लाभित्रको समुच्चै जग्गालाई आफ्नो हो भन्ने किसिम पारी लेखेको देखिन आउँछ । सो ४ किल्लाभित्रको समुच्चै जग्गामा दावी लिएको हो भन्ने कुरा मिसिल संलग्न वादीको दर्ता उतारका किल्लाहरूबाट पनि पुष्टि गरेको देखिन्छ । दावी भन्ने त्यस्तो देखिने उता नक्सा हुन जाँदा भने दुवै पटकका नक्सामा दक्षिण किल्लालाई केही उत्तरतर्फ सारी सच्याई वादीले लेखाएको पाइन्छ । त्यतिमात्र होइन पहिलो नक्सामा उल्लेख भएका नं. ९।१०।११।१२।१३।१४।१५।१६।१७।१८ का जग्गाको सम्बन्धमा वादीले केही आपत्ति नगरी केवल सो नक्साको उत्तरमा पर्ने नक्सा नं.१९।२०।२१ को झगडा जनिएका जग्गाको आधिमा सम्म आफ्नो हक भनी जिकिर लिएको र शुरु अदालतबाट सोही न.नं.१९।२० र २१ को जग्गाको सम्म वादीको आधि हकभोग ठहर्छ भनी निर्णय भएउपर वादीले पुनरावेदनसमेत नगरी चित्त बुझाई बसेको देखिन्छ । त्यसपछि अञ्चल अदालतको आदेशबाट ०२५।१।२७ मा भएको नक्सामा प्रतिवादीले न.नं.९।१० र ११ लाई सालिग्रामबाट खसम उमानाथले ९१ सालमा राजीनामा लिएको नं. १२ बाटुलीबाट खगमायाले बक्स पाएको नं.१३, १४ नन्दबहादुरबाट श्यामे नेवारले राजीनामा लिई श्यामेबाट खसम उमानाथले १० सालमा दान पाएको जग्गा हो भनी लेखाई देखाई गरेकोमा वादीले सो नं. ९।१०।११।१२।१३ र १४ समेतका सबै जग्गामा आफ्नो आधि हक भनी जिकिर लिएको पाइन्छ । यस किसिम वादीले नक्सैपिच्छे विभिन्न दावा गरेकोमा शुरु अदालतबाट पहिलो नक्सामा झगडा जनिएको नं.१९।२० र २१ को जग्गाको आधिसम्म वादीको हक ठहर्छ भनी निर्णय भएकोमा अञ्चल अदालतबाट निर्णय हुँदा ०२५।१।२७ को नक्सामा प्रतिवादीले दान पाएको भनेको दानपत्र पेश नगरेको झगडा परेको जग्गामा ३ खोर देखिएको हुनालेसमेत इन्साफ शुरुको मनासिव छ भनेर सर्वोच्च अदालतबाट वादीको भाग अंशको आधि जग्गामा प्रतिवादीले खिचोला गरेको ठहराएको शुरुको इन्साफ सदर गरी अञ्चलले छिनेको इन्साफ बदर गर्न मिल्ने तथ्य थप सबूद निवेदिकाले गुजार्न नसकेकाले समेत इन्साफ गण्डकी अञ्चल अदालतको मनासिव छ भनी निर्णय हुन गएको देखियो । उल्लिखित निर्णयहरूबाट सुरुले पहिलो नक्साको न.नं.१९।२० र २१ का जग्गाको सम्म आधि पाउने ठहर्छ भनेकोमा सोउपर पुनरावेदन नै नगरी चित्त बुझाई बस्ने वादीलाई पछिल्लो नक्साको उल्लेख गर्दै हुन गएको अञ्चल अदालत र सर्वोच्च अदालतका उपरोक्त निर्णयहरूबाट पछिल्लो नक्साबाट वादीले बढी दावी लिएका जग्गासमेतको आधि पाउने हुन गएको जस्तो झल्का पनि देखिन आउँछ अतः वादीले शुरु जिल्ला अदालतबाट भएको नक्सामा झगडा जनिएको जग्गाको आधि पाउने भएको हो वा पछि अञ्चल अदालतबाट भएको नक्सामा झगडा जनिएको जग्गाको आधि पाउने भएको हो प्रष्ट खुल्दैन ।

          ९.   (२) मेरो ससुरा वेनीप्रसाद र विपक्षीका पिता महेश्वर छुट्टिई उक्त ३ खोरमध्ये मेरा ससुराको आधि अंश १.१/२ खोर बाहेक महेश्वरको अंश आधि १.१/२ खोर महेश्वरले पं.बुद्धि सागरलाई रू.३६५ मा १९६३।३।७ मा भोगबन्धकी दिँदा उक्त तीन खोरको आधि मेरो अंश भन्ने लेखिएबाटै आधि १.१/२ खोर मेरा ससुरा वेनीप्रसादको हक भन्ने कुरा लिखतबाट सिद्ध छ भन्ने फिरादी जिकिर छ । तर अञ्चल अदालतको आदेशानुसार ०२५।१।२७ मा भएको नक्सामा पं.बुद्धिसागरलाई बन्धकी दिएको जग्गा कुन हो भनी नक्सा डोरबाट सोधनी हुँदा वादीले आफ्नो जिरहमा बुद्धिसागरलाई बन्धकी दिई उमानाथले निखनी लिएको जग्गा यो झगडा परेको ४ किल्लाभित्र पर्दैन भनी लेखाइएको देखिन्छ ।

          १०.  (३) वादीले आफ्नो फिरादमा खिचोला गरेको भन्ने जग्गाको नाम अघि पौवाखोर भन्ने ३ खोर भनी उल्लेख गरेको देखिन्छ । निजको दर्ता उतारमा पाटनको खोर भन्ने लेखिएको छ उता नक्सा डोरबाट पं.बुद्धिसागरलाई बन्धकी दिई निखने भनेको जग्गा कुन हो भनी सोधनी भएकोमा जग्गाको नामबाटै सोत भन्ने खेत भनी लेखाएको देखिन्छ । यसरी जग्गाको नाममा पनि विभेद हुन गएको कुरातर्फ फैसलाहरूमा केही विवेचना भएको पाइँदैन ।

          ११.  (४) वादीले दाखिल गरेको १९६३।३।७ मा महेश्वरले पं.बुद्धिसागरलाई भोगबन्धकी दिएको लिखतलाई अदालतबाट प्रमुख प्रमाण रुपमा मूल्यांकन गरेको देखिन्छ तर मुलुकी ऐन अदालती बन्दोबस्तको ७८ नम्बरअनुसार उक्त लिखत प्रतिवादीलाई सुनाउन पर्ने अनिवार्य प्रक्रियाको अवलम्बन भएको देखिँदैन ।

          १२.  (५) आधि मेरो हकभोगको जग्गामा हलगोरु फुकाई खिचोला गरेको मेटाइपाउँ भन्ने फिराद दावी भएकोले प्रस्तुत मुद्दामा खिचोला गरेको भनिएको खास कुन जग्गा हो भनी यकिन निर्णय हुनुपर्ने देखिन्छ । तर अदालतहरूबाट नक्साको संकेत गर्दै आधि वादीको हक ठहर्छ भन्ने आधारमा खिचोला गरेको भन्ने निर्णय भएको पाइन्छ । यस मुद्दामा आधा हक कायम गरिदिने कुरामात्र नभई खिचोला गरेको हो होइन र गरेको भए कुन जग्गामा हो भन्ने छुट्याउन पर्ने भएको छ । उसमा पनि माथि लेखिएअनुसार वादीले नक्सैपिच्छे फरक दावी गरेको देखाएपछि के कति जमीनको खिचोला हो कतापट्टि कति वादीको जग्गा ठहरिने हो भन्ने यकिन निर्णय नभई केवल आधि पाउने ठहर्छ मात्र भन्नाले पछिसम्म झगडाको झगडा नै रहन जाने स्थिति पनि पर्न जाने देखिन्छ । सर्वोच्च अदालतको तहबाट हुने फैसला हुनाले विवादास्पद विषय वस्तुको अन्तिम रुपबाट प्रष्ट तवरले निप्टारा हुनु वाञ्छनीय भएकोले सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्नु आवश्यक देखिएकोले दोहर्‍याउन आदेश बक्सनुपर्ने भनी समितिबाट भएको सिफारिस जाहेर हुँदा, श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्‍याइदिनु भन्ने हुकूम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट ०२८।६।३।१ मा लेखिआएको हुकूमप्रमांगी ।

          बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्न निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई विपक्षीलाई दिन १५ र निवेदकलाई दिन ७ को म्याद दिई झिकाई फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभागमार्फत पठाइदिनु भन्ने सम्माननीय प्र.न्या.ज्यूबाट भएको ०२८।६।२१।४ को आदेश ।

          १३.  यसमा तारिखमा रहेका पक्षहरू रोहवरमा रही ०२९।२।१०।३ मा पेश भई वादी पार्वती उपाध्यायनी तर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीको तीन खोर जग्गा आधि वादीको ससुरा वेनीप्रसाद र प्रतिवादीको बाबु महेश्वर २ भाइ अघि नै छुट्टिई भिन्न हुँदा वादीको ससुरा वेनीप्रसादको भागमा परी वादीको हक भएको भन्ने कुरा प्रतिवादीले पनि स्वीकारै गरेको पाइन्छ । महेश्वरको भाग आधि निजले ६३।३।७ मा बुद्धसागरलाई भोगबन्धकी दिएको पछि प्रतिवादीले निखनी लिएको भन्ने भनाई भएकोमा उक्त लिखत प्रमाणमा लगाउन अ.बं.७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनुपर्ने भन्ने तर्क उठाइएको हकमा उक्त बन्धकी लिखतलाई दुवैपक्षले मानिराखेकैले सद्दे कीर्तेमा सुनाउनुपर्ने अवस्था देखिँदैन ।

          १४.  वादी दावीको झगडा परेको जग्गा कुन रहेछ भन्नेतर्फ पहिले भएको ०२३।८।२२।४ को नक्सामा न.नं.१९।२०।२१ सम्मको जग्गा झगडा परेका जनिएकोमा पछि ०२५।१।२७।५ मा अर्को नक्सा हुँदा अघिको न.नं.१९।२०।२१ मा कित्ता मिल्न आउने न.नं.९।१०।११ र सोबाहेक अरु न.नं.१२।१३।१४ समेतको जग्गामा आधि मेरो हकको भन्ने वादीले जिकिर लिएको देखिन्छ तापनि पहिलेको न.नं.१९।२०।२१ सम्मको जग्गालाई झगडा परेको कायमै मानी सो जग्गामा आधि वादीको हक ठहराई सुरु कास्की जिल्ला अदालतले छिनेउपर वादीले पुनरावेदन नै नगरी चित्त बुझाई बसेकी देखिएकोले सोभन्दा बढी पछिको नक्सामा मेरो भनी वादीले जिकिर लिएको न.नं.१२।१३।१४ को कित्तामा झगडा परेको थियो । मुद्दाबाट इन्साफ ठहर गर्न नमिल्ने हुँदा पहिलेको नक्साबाट खास झगडा परेको देखिएन । अघिको न.नं.१९।२०।२१ र पछिको न. नं. ९।१०।११ को जग्गासम्ममा आधि वादीको हक हो होइन त्यतिसम्म कुराको यस मुद्दाबाट निर्णय दिनुपर्ने देखिन्छ । वादीको ससुरा बेनीप्रसादको अंश भागमा परी वादीको हक हुन आएको ३ खोर जग्गाको आधि वादीको भाग नक्सा अन्यत्र देखाई प्रमाणित गर्न प्रतिवादीले नसकेको समेत हुँदा झगडा परेको अघिको न.नं.१९।२०।२१ पछिको न.नं. ९।१०।११ को जग्गामा आधि वादीको हक कायम गरी त्यसमा प्रतिवादीले खिचोला गरेको ठहराएतर्फ सुरु कास्की जि.अ.र गण्डकी अञ्चल अदालतको सदर गरी ०२७।१०।२६।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ उक्त ०२७।१०।२६।२ को डिभिजन बेञ्चको फैसलामा पछिको न.नं.१२।१३।१४ समेतको जग्गामा आधि वादीको हक ठहराएको जस्तो झलक ठहर्ने गरी ठहर खण्डमा अस्पष्ट रुपले सो जग्गासमेतको उल्लेख गरेको सम्म मिलेको देखिएन । वादीले के कति जमीनमा खिचोला गरेको र कतापट्टि वादीको जग्गा ठहरिने हो यकिन निर्णय हुने भन्नेतर्फ उठाइएको हकमा वादीको हकको आधि जग्गामा खिचोला गरेको यो मुद्दाबाट निर्णय भएकै छ र त्यसमा वादीले चित्त बुझाई बसेकै पनि छ यसतर्फबाट आधि मेरो जग्गा कायम गरिपाउँ भन्ने वादीको दावी नै नभएकोमा कतापट्टि वादीको जग्गा ठहरिने हो भन्ने यो मुद्दामा प्रश्नै उठ्न सक्दैन । डिभिजन बेञ्चको फैसलामा केही परिवर्तन भएकोले निवेदक प्रतिवादी उमानाथको मुद्दा सकार गर्ने खगमाया उपाध्यायनीले मुद्दा दोहर्‍याउँदा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.।१० दस पैसा वादी पार्वती उपाध्यायनीबाट भराइपाउँ भनी कोर्टफी ऐन, ०१७ को संशोधित दफा १५  (११) बमोजिम ३ वर्षभित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

न्या.वासुदेव शर्मा,

न्या.चन्द्रप्रसाद प्रधान

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२९ साल जेष्ठ १७ गते रोज ३ शुभम् ।