निर्णय नं. ६८६ – ज्यान डाँका
निर्णय नं. ६८६ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री ब्रहृमदत्त तिवारी माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२४ सालको फौ.पु.नं. ४८९ फैसला मिति...
निर्णय नं. ६८६ ने.का.प. २०२९
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री ब्रहृमदत्त तिवारी
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०२४ सालको फौ.पु.नं. ४८९
फैसला मिति : ०२८।८।६।२
पुनरावेदक : श्री ५ को सरकार
विरुद्ध
विपक्ष : तप्पे खजहनी मौजे हजिगरा बस्ने सियाराम गोसाई समेत
मुद्दा : ज्यान डाँका
(१) एउटा गाउँका ३ घरमा एकै मितिमा लगातार डाँका गरेकोलाई र सोही डाँका गर्दा २ जनाको ज्यान मारेकोलाई छुट्टै झगडाको विषय भन्न नमिल्ने ।
३ घरको डाँका र ज्यान मारिएको एउटा मुद्दाबाट तहकिकात गर्न मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा अ.बं.का ७२ नं.ले जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटा झगडाका विषयको कुरा लेखी ल्याएको भए एउटा मुद्दाबाट तहकिकात गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ ।
डाँकाहरुले एउटा गाउँका ३ घरमा एकै मितिमा लगातार डाँका गरेकालाई र सोही डाँका गर्दा २ जनाको ज्यान मारेकोलाई छुट्टै झगडाको विषय भन्न मिलेन एउटै झगडाको विषयको मुद्दा देखियो ।
(प्र.नं. १५, १६)
पुनरावेदक तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल
विपक्ष तर्फबाट : अधिवक्ता शुशिल कुमार सिन्हा, अधिवक्ता कृष्ण कुमार बर्मा
फैसला
न्या. व्रम्हदत्त तिवारी
१. २०२२।१०।४ गतेका राति अन्दाजी ११।१२ बजेका वखत नचिनेका १५।१६ जना हातमा टर्च र लठ्ठी बन्दुक समेत लिई आई मेरो घरको पश्चिमतिर वसारामा सुतिरहेको मेरो भतिजा राम सुमिरनलाई पक्री पिट्न लागेको पिटाई सहन नसकी रोई हल्ला गुहार गर्दा निजलाई गोली हानी मारी कराएको हल्ला सुनी निद्राबाट व्युँझी घरको उत्तरतिर भएको दरवाजाबाट निस्की गाउँमा गई हल्ला गर्न लागेको हल्ला सुनि डाँकुहरुले घरमा भएको धन माल डाँका गरिसकेपछि जान महमदको घरमा गई निजलाई गोली हानी ऐ.५ गते अस्पताल मै मरेको निज अयोध्या तेली समेतको घर डाँका गरी अयोध्याको विगो रू.९७२।८० जान महमदको २६८। मेरो रू.२९३९।२० धनमाल समेत लिई सकेपछि डाँकाहरु भागी गएकाले पत्ता लगाई पक्राउ गरी कर्तव्य गरी ज्यान मारेमा सजाय समेत गरिपाउँ भन्ने अवधराम कुर्मिको दरखास्त ।
२. डाँकुहरु मेरो घरमा आई वाहिर वसरामा सुतेको सुमिरनलाई पिट्न लाग्दा हल्ला गुहार गरेछ । डाँकुले बन्दुकले हानी मारी छानाबाट चढी भित्र चोकमा गई ढोका खोली डाँका गरेको म घरदेखि अन्दाजि ४०० गज फरक फूलवारीमा सुतेको थिएँ बाहिर वसरामा सुतेको जोखुर सुमिरनको सालाको छोरालाई एक डण्डा हान्दा भागी गए सुमिरनलाई पिट्न लाग्दा हल्ला गुहार गरेको सुनि म घर आउन लाग्दा डाँका भन्ने सुन्दा म घरदेखि ५०।६० गज फरक अहिरको भैंसी बाँध्ने घरमा लुकी डाँकाहरु पनि डाँका गरी तुरुन्तै दक्षिण पश्चिमतर्फ भागी गए । अगाडिकाले पनि लाइट बत्ती वालेको र पछाडिकाले पनि लाईट बत्ती वालेको उज्यालोबाट सियाराम १ अईतुल्ला पहलमान मुसलमान १ वुचंखा मुसलमान १ समेत जना ३ लाई चिनेको सो भन्दा बढी मानिस चिनिन दुरले गाउँलेले डाँकाको खेदा गर्न नसकेको गाउँलेहरुसँग मैले ३ जना चिनेको कुरा गरिन घरमा समेत अरु कसैले डाँकुहरुलाई चिनेनन् गाउँको मानिसका भनाइले अइतुल्ला पहलमान मुसलमान समेत नै ज्यानमारी डाँका गरेको हुँ भनी सर्जमिनले भनेका सर्जमिनको ९ दफामा क कसको नाउँ उल्लेख गरी लेखिएको छ सो भन्न सक्दिन जान्दिन भन्नेसमेत अवधरामले अदालतमा गरेको वयान ।
३. मेरो घरबाट विपर ४।। कोष पर्दछ म सो टायममा घरैमा सुतेको छु कसले खुन डाँका गर्यो म जान्दिन मैले खुन डाँका गरेको छैन भन्नेसमेत व्यहोराको प्र.सियारामको बयान ।
४. राम सुमिरन जान महमद कसका फायरबाट मरे म भन्न सक्तिन विपरीबाट ३२।। कोष टाढा भएकोले मैले डाँका खुन गरेको छैन अवधराम समेत विपराका मानिस सो कुलाका जरियाबाट झगडा भएका रिसइविले झुट्टा पोल र सर्जमिनले पनि झुट्टा भनेका हुन भन्नेसमेत असत उल्ला पहलमान मुसलमानको बयान ।
५. डाँका परेका कुरा घरमा म्याद जाँदा थाहा पाएको हुँ मेरो घरमा वन्दुक छैन माघ ४ गते कालाकोटमा हुँदा मैले डाँका गरेको छैन कसले डाँका खुन गर्यो म जान्दीन भन्नेसमेत खलिल मुसलमानको बयान ।
६. मसँग बन्दुक छैन मैले खुन डाँका गरेको होइन कसले खुन डाँका गरे मलाई थाहा छैन भन्नेसमेत सिताराम चमार, प्यारे चमार मल्ल मुसलमान समेतका इन्कारी बयान ।
७. मेरो नाउँमा म्याद आएपछि अवधरामको घरमा डाँका गरे जानमहमद राम सुमिरन मरेको भन्ने सुनेको हुँ मेरा घरमा वन्दुक छैन म माघ ४ गते झंदिन गर भएकोले मैले डाँका खुन गरेको छैन कसले डाँका खुन गरे मलाई थाहा छैन कुला विषयमा विपरा गाउँलेसँग झगडा भएको इविबाट झुट्टा सर्जमिन गरेका हुन् भन्नेसमेत व्यहोराको नसिर मुसलमानको इन्कारी बयान ।
८. वारदात हुँदाको अवस्था वदमासहरुले वालेका टर्च लाइट वत्तीको उज्यालोबाट मौकामा पहिचान गरेका भनी सर्जमिनका २० जवानले किटान गरेको अन्य सर्जमिनका व्यक्तिहरुले वदचलनको व्यक्ति हुँ शङ्का लाग्छ भन्ने जाहेरवालाको भतिजो गोली लागि सो पिरबाट दर्खास्तमा अराधि खोलि लेख्न नपाए पनि सरजमिनमा सर्जमिनले पोल गरेका व्यक्ति उपर किटान गरि लेखि दिएको सियाराम गोसाई कसुरमा इन्कार गरे तापनि निजहरुलाई ज्यान सम्बन्धीका १३ नं.को ३ दफाबमोजिम सजाय हुन पर्ने भन्ने अगल्पी तथा पुलिसको संयुक्त प्रतिवेदन ।
९. बुझिए सम्मका सबूद प्रमाणबाट इन्कार रहने प्रतिवादी सियाराम समेतका व्यक्तिले खुन डाँका गरेको ठहर्दैन । फिराद रहने साधु मुसलमान समेतलाई पक्री फेला परेका अवस्था अ.बं. १९०।१९१ नं.का ऐनवमोजिम गर्ने भन्नेसमेत २०२३।११।१२।३ को कपिलवस्तु जिल्ला अदालतको जाहेरी फैसला ।
१०. उक्त फैसलामा चित वुझेन भन्नेसमेत श्री ५ को सरकारको तर्फबाट सरकारी वकिलको पुनरावदेन ।
११. सर्जमिनका व्यक्ति मध्ये मुख्य मुख्य व्यक्तिलाई अदालतमा झिकाई प्रत्येक कुरा सोधी वुझी बयान गराएको कानूनी व्यवस्था उपयुक्त नै कारवाई भएको र नक्कल चाहे सो बयानहरुको नक्कल पनि वादी पक्षले प्राप्त गर्न सक्नेमा कुनै अहुचन नभएको हुनाले समेत प्रतिवादी सियाराम गोसाई १ आइतुल्ला पहलमान मुसलमान १ खलिल मुसलमान १ सीताराम चमार १ भल्लु मुसलमान १ प्यारे चमार १ नासिर मुसलमान १ समेतका जवानले डाँका गरेको र ज्यान मारेको समेत ठहर्दैन भनी सुरुले निर्णय दिएको मनासिवै भन्नेसमेत २०२४।३।६।३ का लुम्विनी अञ्चल अदालतको फैसला ।
१२. उक्त फैसलामा चित बुझेन भन्नेसमेतको श्री ५ को सरकारको पुनरावदेन ।
१३. छलफल निमित्त सियाराम समेतको छ जनालाई झिकाई पेश गर्नु भन्ने २०२६।९।३।५ को डिभिजन बेञ्चको आदेश ।
१४. यसमा नियम बमोजिम पेश हुन आएका प्रस्तुत मुद्दा पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता प्रचण्डराज अनिलको वहस र झिकाई आएका विपक्षका वा.नसिम शाहा समेतलाई रोहवरमा राखी निज तर्फबाट रहेका विद्वान अधिवक्ता सुसिलकुमार सिन्हा र कृष्णकुमार वर्माको वहस समेत सुनि निर्णय तर्फ विचार गर्दा एकै गाउँका ३ घरमा डाँका वारदात भएको डाँका गर्ने डाँकुले फाएर गरेको गोली लागि २ जना मानिसको मृत्यू भएकोले ३ घरको डाँकाको वारदातमा एउटै मुद्दाबाट तहकिकात गर्न मिल्ने नमिल्ने के हो अभियुक्तहरुले डाँका गरि ज्यान मारेको हो होइन भन्ने प्रश्नको निर्णय गर्नु पर्ने विषय देखिएको छ ।
१५. ३ घरको डाँका र ज्यान मारिएको एउटा मुद्दाबाट तहकिकात गर्न मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा अ.बं.का ७२ नं.ले जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटा झगडाका विषयको कुरा लेखी ल्याएको भए एउटा मुद्दाबाट तहकिकात गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ ।
१६. डाँकाहरुले एउटा गाउँका ३ घरमा एकै मितिमा लगातार डाँका गरेकालाई र सोही डाँका गर्दा २ जनाको ज्यान मारेकोलाई छुट्टै झगडाको विषय भन्न मिलेन एउटै झगडाको विषयको मुद्दा देखियो ।
१७. अभियुक्तहरुले वादी दावा अनुसार डाँका गरि ज्यान मारेको हो होइन भन्ने सम्बन्धमा घर धनी अवधा कुर्मिले नचिनेको डाँका आई डाँका गरी २ जनाको ज्यान समेत मारे भन्नेसमेत दर्खास्त दिनु भएको देखिन्छ । मौकैमा डाँका अपराधीहरु चिन्न सकेको भए चिन्नेहरुले घर धनी अवधरामलाई भन्नु पर्ने र अवधरामलाई डाँकाहरु यि रहेछन् भन्ने जानकारी हुनु पर्ने त्यस्तो ३ घरको धनमाल डाँका गर्न र २ जनाको ज्यान मार्ने जघन्य अपराधिलाई सर्जमिन समेतका मानिसले चिनेको भए अवधरामलाई नभन्नु पर्ने कारण देखिदैन ।
१८. अवधरामले मौकामा दिएका दर्खास्तमा अपराधि डाँकाहरु चिन्न सकिन भन्नु भएकोले चिन्यौं भन्ने सर्जमिनहरुको भनाई साँचो भन्न नमिल्नेमा पनि लाईटको उज्यालोले चिन्यौं भनी सर्जमिन २० जनाले एउटै दफामा लेखाएको देखिन्छ । ति २० जनालाई अदालतले झीकाइ वुझ्दा उपस्थित भई वयान गर्ने सादे धोवि, जुन, अधातिर्थ मुराउ, शाहिक मुराउ, लखं तेली तमेश्वर वकरिदन मुसलमान, अयोध्या तेली झिनु मुराउ, तङ मुसलमान, सारति कहार, सिताराम मुराउ समेतले डाँकाहरुलाई हामीले देख्न चिन्न नपाएको डाँकाहरु डाँका गरी गइसकेपछि मात्र हामीहरु डाँका परेको घरमा पुगेको भनी वयान गरेको समेतबाट सर्जमिनहरुले अपराधि डाँकाहरुलाई चिनेको रहेछ भन्न मिलेन अभियुक्तहरु सातै जनाले कसुर गरेको होईनौं भनी ईन्कार गरेका निजहरुले कसुर गरेको भनी पक्का सवुद दशि प्रमाण नदेखिएकोले अभियुक्तहरुले ज्यान मारेको डाँका गरेको समेत ठहर्दैन प्रतिवादीहरुलाई सफाई दिएको कपिलवस्तु जिल्ला अदालतको फैसला सदर गरेको लुम्विनी अञ्चल अदालतको इन्साफ मनासिव छ । फैसला भएको जनाउ महान्यायाधीवक्ताको कार्यालयलाई दिई निस्सा राखी मिसिल नियमबमोजिम बुझाई दिनु ।
न्या. त्रैलोक्यराज अर्याल
उक्त रायमा म सहमत छु ।
इति सम्वत् २०२८ साल मार्ग ६ गते रोज २ शुभम् ।