निर्णय नं. ६८१ – डाँका
निर्णय नं. ६८१ ने.का.प. २०२९ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७...
निर्णय नं. ६८१ ने.का.प. २०२९
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह
माननीय न्यायाधीश श्री जयदेव भट्ट
सम्वत् २०२७ सालको फौ.फु.नं. ३८
आदेश भएको मिति : ०२८।६।२९।३
पुनरावेदक : जि.प्र.म. बस्ने महन्त रामचन्द्रदास वैष्णव
विरुद्ध
विपक्षी : ऐ. रजखोर कोइरी टोल बस्ने नेवा साहू तेलीसमेत
मुद्दा : डाँका
(१) झगडीया झिकाउनेसम्मको आदेशलाई फैसलाको स्तरमा राखी रुलिङ्ग नमिलेको भन्न नमिल्ने ।
एक डिभिजन बेञ्चले एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी छिनेको रुलिङ्गसँग अर्को कुनै डिभिजन बेञ्च सहमत नभएकोमा त्यस्तोलाई डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको मानिने र उपरोक्त नियम ३३ को देहाय (ख) अनुसार फुल बेञ्चमा पेश गर्नुपर्ने हुन्छ, प्रसंगवस ०१९।८।२९।६ को डिभिजन बेञ्चको रुलिङ्गसँग ०२३।२।१३।५ को डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था छ छैन भन्ने कुरा पनि विचारणीय हुन आएको छ । त्यसतर्फ हेर्दा ०१९।८।२९।६ को डिभिजन बेञ्चले चोरीको ऐनबमोजिम डाँकाको वारदात कायम गरी सकेकोमा ०२३।२।१३।५ को डिभिजन बेञ्चले लुटपीटको ऐनबमोजिम लुटपीटको वारदात कायम हुने भनी लुटपीट ठहराई फैसला गरी अन्तिम निर्णय भए गरेको भए उक्त २ डिभिजनबञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था आउन सक्ने थियो । तर ०२३।२।१३।५ को डिभिजन बेञ्चले त्यस किसिम लुटपीटको वारदात ठहराई अन्तिम निर्णय भए गरेको नभई वारदातको रुपबाट लुटपीट कायम गर्नुपर्ने मुद्दालाई डाँकाको वारदात कायम गरी निर्णय भएको नमिलेकोबाट अ.बं.२०२ नं. बमोजिम छलफलको निमित्त वादीहरूलाई झिकाउने भन्ने कारवाईको रुपमा एउटा आदेशसम्म दिएको देखिन्छ । उक्त आदेशानुसार छलफलमा झगडीया झिकाई अर्को बेञ्चमा मुद्दा पेश हुँदा छलफलमा झगडीया झिकाउने बेञ्चकै राय कायम राखी फैसला गर्नुपर्ने बाध्यता नभएको र पुनः मुद्दाको सुनुवाई गर्ने बेञ्चले न्यायिक मन लगाई तथ्य र कानूनको विवेचना गरी आफ्नो निष्कर्षअनुसार अर्कै निर्णय दिन पनि सक्ने र सोही निर्णय अन्तिम मानिनेसमेत हुँदा अ.बं.२०२ नं. बमोजिम छलफलमा झगडीया झिकाउने सम्म कारवाईको रुपको ०२३।२।१३।५ को डिभिजन बेञ्चको आदेशलाई मुद्दाको अन्तिम निर्णय मानी १९।८।२९।६ को डिभिजन बेञ्चको फैसलाको स्तरमा राख्न नमिल्ने प्रष्टै छ यस स्थितिमा उक्त २ डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने पनि देखिन आउँदैन ।
(प्र.नं. ७)
पुनरावेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे
आदेश
न्या. धनेन्द्रबहादुर सिंह
१. प्रस्तुत मुद्दामा चोरीको १।७।९ नं. को वारदात मिल्न आएकोले वारदात डाँका कायम हुने र अभियुक्त महन्त रामचन्द्र दास मुख्य भई जयकान्त झा, मुसुफमा मीन विलट चौधरी, लक्ष्मी अमातदेव नन्द ठाकुरको नाम नजानेको ठूलो छोरा, मुटाको दाजु दुर्योधन कुर्मी, विन्देश्वरसि, धरखन राउत, सुरेस सिं भक्तबहादुर खत्री, भक्तबहादुरको नाम नजानेको भाइ हर्षबहादुर खत्री, निजको नाम नजानेको भाई मानबहादुर खत्री, राम एकवाल सिं मिथुवा कोइरी, हरिदत्त खाँ थारु, मनका कोइरी समेतले डाँका गरेको ठहर्छ, अरुले सफाई पाउने भन्ने महोत्तरी अपीलका हाकिम सुब्बा इश्वरी जङ्गबहादुर सिहंहका ०१५।३।२६।५ को फैसला र वारदात लुटपीट ठहर्ने भन्ने अ.ना.सु.घनानाथ ख.कुलप्रसादको सोही मितिको राय पर्चा भई छिनिए पछि वादी बलबहादुुर समेतको र प्रतिवादी रामचन्द्र दासको पुनरावेदन परी आएकोमा सुरेस सिंका नाउँको म्याद तामेली वेरीत र उपेन्द्रनाथको नाउँमा म्याद तामेलै नगरी फैसला गरेको देखिएकोले उपेन्द्रनाथको नाउँमासमेत ऐनबमोजिम म्याद पठाई ऐनबमोजिम गर्नु भन्नेसमेत ०१५।८।८ को डिभिजन बेञ्चबाट आदेश भई गएपछि उपेन्द्रनाथ सुरेस सिंको नाममा म्याद तामेल गरी निजहरूको इन्कारी बयान भई निज उपेन्द्रनाथ सुरेस सिं उपरको उजूर झुट्टा र मुद्दा लुटपीट कायम हुने भन्ने महोत्तरी अपीलका का.मु.हाकिम सु.खड्ग विक्रमले ०१६।९।२।५ मा फैसला गरेकोमा चित्त बुझेन भन्ने वादी बलदेव समेतको अर्को पुनरावेदन परी आएको ।
२. पुनरावेदक प्रतिवादी महन्त रामचन्द्र दासले तारेख गुजारेकोले निजको पुनरावेदन ०१९।८।६।४ को डिभिजन बेञ्चबाट डिसमिस गरेको र अरुको पुनरावेदन पेश हुँदा वारदात डाँका नै कायम हुने र सुरेस सिं उपेन्द्रनाथ बाहेक अरुको हकमा ०१५।३।२६।५ मा महोत्तरी अपीलका हाकिम सु. इश्वरी जङ्गबहादुर सिहंहले ठहराएको र उपेन्द्रनाथ सुरेस सिंको हकमा ०१६।९।२।५ मा सोही अपीलका का.मु.हाकिम सु.खड्ग बिक्रमले छिनेको मनासिव ठहर्छ भनी ०१९।८।२९।६ को डिभिजन बेञ्चबाट फैसला भएको ।
३. पुनरावेदक महन्त रामचन्द्रको गुज्रेको तारेख थामि दिनु भन्नेसमेत ०२०।२।२१।३, ०२०।५।४ मा हुकूमको प्रमांगी बक्स भई आई ०२२।१।८।३ को डिभिजन बेञ्चबाट डिसमिस जागे पछि पेश हुँदा वारदातको रुपबाट लुटपीटको वारदात कायम गर्नुपर्ने मुद्दालाई डाँकाको वारदात कायम गरी निर्णय भएको नमिलेकोबाट सजायमा फरक पर्ने हुँदा छलफलको निमित्त अ.बं.२०२ नं. बमोजिम वादीहरूलाई झिकाई पेश गर्नु भन्ने ०२३।२।१३।४ को डिभिजन बेञ्चबाट आदेश भएको ।
४. वारदात लुटपीटको १।२ नं. बमोजिम लुटपीट नठहर्ने चोरीको १।९ नं. बमोजिम डाँका कायम हुने र पुनरावेदक महन्त रामचन्द्रदास आफू मुख्य भई डाँकाको वारदात भए गराएका ठहराई ०१५।३।२६।५ मा महोत्तरी अपीलका हाकिम सुब्बा इश्वरी जङ्गबहादुर सिहंहले छिनेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत तत्कालिन का.मु.प्र.न्या.श्री रत्नबहादुर बिष्टको र ०१९।८।२९।६ को डिभिजन बेञ्चले डाँकाको वारदात कायम गरी निर्णय गरेको र ०२३।१।१३।५ को डिभिजन बेञ्चले वारदात लुटपीट कायम हुने राय व्यक्त गरी अ.बं. २०२ नं. बमोजिम छलफलमा झगडीया झिकाउने आदेश गरेको रहेछ । ०२३।२।१३।५ को डिभिजन बेञ्चबाट अन्तिम निर्णय भएको नहुँदा र पहिलेको ०१९।८।२९।६ को डिभिजन बेञ्चले कानूनको सिद्धान्त प्रतिपादन नगरेको तथ्यको आधारमा राय कायम गरेको हुनाले सो डिभिजन बेञ्चसँग पछिल्लो ०२३।२।१३।५ को डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था नभए पनि एकै वारदात र एकै तथ्यको आधारबाट ०१९।८।२९।६ को डिभिजन बेञ्चले डाँका र ०२३।२।१३।५ को डिभिजन बेञ्चले लुटपीट कायम गरेको भई एकै मुद्दामा एकै कुरामा २ डिभिजन बेञ्चले विभिन्न राय व्यक्त गरी डिभिजन बेञ्चहरूकै राय नमिलेको हुँदा त्यसको निर्णयको लागि सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ बमोजिम फुल बेञ्चमा पेश गर्नुपर्ने सोअनुसार भएको नदेखिएकोले अहिले यस बेञ्चबाट निर्णयतर्फ विचार गर्न मिल्ने देखिँदैन, उक्त राय नमिलेको विषयको निर्णय समेतको लागि फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.श्री प्रकाशबहादुर के.सी.को राय भएको ०२७।१।७।२ को डिभिजन बेञ्चको फैसला ।
५. यसमा तारेखमा रहेको पुनरावेदक प्रतिवादी महन्त रामचन्द्रदास रोहवरमा रही पेश हुन आएको प्रस्तुत मुद्दामा निज पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहससमेत सुनी हेर्दा ०२७।१।७।२ को डिभिजन बेञ्चमा मा.न्या.श्री प्रकाशबहादुर के.सी.ले ०१९।८।२९।६ र ०२३।२।१३।५ को डिभिजन बेञ्चका राय नमिलेकोले फुल बेञ्चमा पेश गर्नुपर्ने भन्ने राय व्यक्त गर्नु भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको रहेछ । उहाँको रायअनुसार उपरोक्त ०१९।८।२९।६ र ०२३।३।१३।५ को डिभिजन बेञ्चको राय नमिलेको भन्न मिल्ने नमिल्ने यस बेञ्चबाट निर्णय दिनुपर्ने नपर्ने के हो भन्नेतर्फ सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ ।
६. तत्सम्बन्धमा हेर्दा यो यस्तो मुद्दा फुल बेञ्चबाट हेरिने भन्ने व्यवस्था गरिएको सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ को देहाय (क) मा डिभिजन बेञ्चका न्यायाधीशहरूको विभिन्न राय भई मतैक्य हुन नसकेको भए त्यस्तोलाई डिभिजबेञ्चका न्यायाधीशहरूको राय नमिलेको भन्न मिल्ने अवस्था आउने थियो, यसमा त्यस्तो नभई ०१८।८।२९।६ र ०२३।२।१३।५ दुई डिभिजन बेञ्चको भिन्न भिन्न राय भएको भन्ने कुरा हुनाले यस्तोलाई उक्त नियम ३३ (क) मा उल्लेख भएबमोजिम डिभिजन बेञ्चको न्यायाधीशहरूको राय नमिलेको भन्न मिल्ने देखिँदैन ।
७. एक डिभिजन बेञ्चले एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी छिनेको रुलिङ्गसँग अर्को कुनै डिभिजन बेञ्च सहमत नभएकोमा त्यस्तोलाई डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको मानिने र उपरोक्त नियम ३३ को देहाय (ख) अनुसार फुल बेञ्चमा पेश गर्नुपर्ने हुन्छ, प्रसंगवस ०१९।८।२९।६ को डिभिजन बेञ्चको रुलिङ्गसँग ०२३।२।१३।५ को डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था छ छैन भन्ने कुरा पनि विचारणीय हुन आएको छ । त्यसतर्फ हेर्दा ०१९।८।२९।६ को डिभिजन बेञ्चले चोरीको ऐनबमोजिम डाँकाको वारदात कायम गरी सकेकोमा ०२३।२।१३।५ को डिभिजन बेञ्चले लुटपीटको ऐनबमोजिम लुटपीटको वारदात कायम हुने भनी लुटपीट ठहराई फैसला गरी अन्तिम निर्णय भए गरेको भए उक्त २ डिभिजनबञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था आउन सक्ने थियो । तर ०२३।२।१३।५ को डिभिजन बेञ्चले त्यस किसिम लुटपीटको वारदात ठहराई अन्तिम निर्णय भए गरेको नभई वारदातको रुपबाट लुटपीट कायम गर्नुपर्ने मुद्दालाई डाँकाको वारदात कायम गरी निर्णय भएको नमिलेकोबाट अ.बं. २०२ नं. बमोजिम छलफलको निमित्त वादीहरूलाई झिकाउने भन्ने कारवाईको रुपमा एउटा आदेशसम्म दिएको देखिन्छ । उक्त आदेशानुसार छलफलमा झगडीया झिकाई अर्को बेञ्चमा मुद्दा पेश हुँदा छलफलमा झगडीया झिकाउने बेञ्चकै राय कायम राखी फैसला गर्नुपर्ने बाध्यता नभएको र पुनः मुद्दाको सुनुवाई गर्ने बेञ्चले न्यायिक मन लगाई तथ्य र कानूनको विवेचना गरी आफ्नो निष्कर्षअनुसार अर्कै निर्णय दिन पनि सक्ने र सोही निर्णय अन्तिम मानिनेसमेत हुँदा अ.बं २०२ नं. बमोजिम छलफलमा झगडीया झिकाउने सम्म कारवाईको रुपको ०२३।२।१३।५ को डिभिजन बेञ्चको आदेशलाई मुद्दाको अन्तिम निर्णय मानी १९।८।२९।६ को डिभिजन बेञ्चको फैसलाको स्तरमा राख्न नमिल्ने प्रष्टै छ यस स्थितिमा उक्त २ डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने पनि देखिन आउँदैन ।
८. तसर्थ उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट ०२७।१।७।२ को डिभिजन बेञ्चमा मा.न्या.श्री प्रकाशबहादुरले १९।८।२९।६ र ०२३।२।१३।५ को डिभिजन बेञ्चको राय नमिलेकोले फुल बेञ्चमा पेश गर्नु भनी व्यक्त गर्नुभएको राय मिलेको नदेखिँदा तत्सम्बन्धमा यस बेञ्चबाट निर्णय दिइरहन पर्ने देखिएन । उक्त ०२७।१।७।२ को डिभिजन बेञ्चमा एकजना न्यायाधीश मा.न्या.श्री प्रकाशबहादुर के.सी.ले मुद्दाको औचित्यमा आफ्ना राय व्यक्त गर्नुभएको नदेखिएकोले डिभिजन बेञ्चबाट निर्णय भई नसकेकोमा यस बेञ्चबाट निर्णय दिन नमिल्ने हुँदा फुल बेञ्चको लगत काटी पुनः डिभिजन बेञ्चको लगतमा दर्ता गरी निर्णयको लागि रुल नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्नु ।
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
न्या. बब्बरप्रसाद सिंह,
न्या.जयदेव भट्ट
इति सम्वत् २०२८ साल आश्विन २९ गते रोज ३ शुभम् ।