निर्णय नं. ६७९३ – जीउ मास्ने वेच्ने
निर्णय नं. ६७९३ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संम्वत २०५० सालको फौ.पु.नं....
निर्णय नं. ६७९३ ने.का.प. २०५६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
संम्वत २०५० सालको फौ.पु.नं. .. ९४३
२०५२ सालको फौ.पु.नं. … १२२२
फैसला मिति : २०५५।८।८।३
मुद्दाः जीउ मास्ने वेच्ने ।
पुनरावेदक
वादी : जिल्ला ताप्लेजुङ सिर्कैचा गा.वि.स. वार्ड नं.. ९ वस्ने पार्वता उप्रेतीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः जिल्ला ताप्लेजुङ सिनाम गा.वि.स. वार्ड नं. ८ वस्ने इन्द्रप्रसाद मैनाली समेत
पुनरावेदक
प्रतिवादीः जिल्ला ताप्लेजुङ सिनाम गा.वि.स. वार्ड नं. ८ वस्ने इन्द्रप्रसाद मैनाली
विरुद्ध
प्रत्यर्थी
वादीः पार्वता उप्रेतीको जाहेरीले श्री ५ को सरकार
§ जुन मितिमा तराई तर्फ लगेको भनी जाहेरी परेको छ त्यही मितिमा निज पार्वता उप्रेती स्वयं समेत प्रहरी हिरासतमा परेको देखिन्छ भने मुख्य कसुरदार भनी उल्लेख गरिएका इन्द्रप्रसाद मैनाली पनि उक्त मितिमा आफूले पढाउदै आएको विद्यालयमा नै हाजिर रहेको देखिन्छ । यसबाट जाहेरी दरखास्त नै शंकास्पद वन्न पुगेको छ ।
(प्र.नं. ३१)
§ जाहेरवालीको भनाइलाई पुष्टि गर्ने स्वतन्त्र प्रमाणको अभाव एवं प्रतिवादीहरुद्वारा प्रस्तुत प्रमाणहरुबाट जीउ मास्ने वेच्ने कार्यमा निजहरुको संलग्नता नरहेको भन्ने कुरामा पुष्ट्याई मिलेको स्थितिमा प्रतिवादीहरु मध्ये मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीको हकमा सफाइ दिने गरी भएको शुरु इन्साफ सदर गरी प्र. इन्द्रप्रसाद मैनालीको हकमा शुरुले सफाइ दिएको उल्टी हुने ठहर्याई प्रहरी प्रतिवेदन माग दावी वमोजिम जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) अनुसार १० वर्ष कैद र ऐ. दफा ८(५) अनुसार विगो जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालत इलामको फैसला मिलेको नदेखिंदा केही उल्टी हुने ठहर्छ । प्रतिवादी मध्येका इन्द्रप्रसाद मैनाली जीउ मास्ने वेच्ने कार्यमा संलग्न रहेको भन्ने कहिं कतैबाट पुष्टि नभएको अवस्थामा निजलाई सफाइ दिने गरी भएको शुरु ताप्लेजुङ जिल्ला अदालतको मिति २०४९।४।११ को फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. ३२)
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री कृष्ण सापकोटा, श्री डिल्लि मैनाली
वादी तर्फबाट : विद्वान उप सरकारी अधिवक्ता श्री शरद खड्का
अवलम्वित नजीर :
फैसला
न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ ।
२. सिनाम गा.पं. वार्ड नं. ८ वस्ने ईन्द्रप्रसाद मैनालीले मलाई २०४५।८।२६ गते तराईतर्फ डूल्न जाउं भनि लगेकोमा आखिर भारतको सिलिगुढीमा पुर्याई मैले नचिनेको मधिशे जस्तोलाई भा.रु.१६०००। मा मिति २०४५।१०।७ गते मलाई विक्रि गरेछ, सो कुरा ऐ. १० गते थाहा पाई त्यहां वाट भागी यस कार्यालयमा जाहेरी सहित उपस्थित भएकी छु मेरो वयान लिई निजलाई जीउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ अनुसार कारवाही गरी पाउं भन्ने समेत व्यहोराको पार्वता उप्रेतीको मिति २०४५।१०।२३ गतेको जाहेरी ।
३. म २०४४ साल पौष महिना देखि सिनाम मा.वि. मा पढन भनी मेरो मामाको घर सिनाममा डेरा गरी बसेकोमा २०४५ साल मार्ग ५ गते राती कोठामा सुति निदाई रहेको अवस्थामा मेरो सहोदर मामा मेदनीप्रसादको छोरा इन्द्रप्रसाद मैनाली राती १२ वजेको समयमा झ्यालबाट मेरो कोठामा पसी मलाई एक्कासी घोडा चढी मेरो योनीमा लिङ्ग घुसाई सकेपछि थाहा पाई कराउन लाग्दा निजले बल प्रयोग गरी करणी गरी सकेपछि मलाई ललाई फकाई कसैलाई पनि सो कुरा प्रकट गर्न दिनु भएन, त्यतिकैमा ऐ. मार्ग २६ गते तराईतर्फ घुम्न जाउं भनि म, इन्द्रप्रसाद मैनाली, मामाकै छोरा जेठा मोहनप्रसाद मैनाली र हरिप्रसाद मैनाली समेत ४ जना घरबाट हिडी पांचथर फिदिममा पुगी मेरै जेठा मामा पदम मैनालीको सत्कार होटलमा पौष २८ गते बसी ऐ. २९ गते हामी सवै इलाम तर्फ गयौं । इलाममा ३।४ दिन बसी मोहनप्रसाद घर फर्कनु भयो, हामी २०४५ माघ ४ गते इलामबाट हिडी सो दिन वेलुकी इन्द्रप्रसादको खेती झापा विश्वडुवामा पुगी वास वसी भोलिपल्ट ५ गते ईन्द्रप्रसादले मलाई काठमाण्डौतिर घुम्न जाउं भनेकोले दुइजाना मात्र त्यहांबाट हिडी विर्तामोड देखि केहि पर मैले नचिनेको लजमा बास वसी भोलिपल्ट ६ गते गाडीमा चढी केही समय पछि ढाट लगाएको ठांउमा ओर्ली अर्को ट्क्यासीमा चढी गयौं मैले काठमाण्डौ जाने वाटो यतै हो भन्दा सिलगुढी घुमेर जाउं भनि मैले नचिनेको माडवारी जस्तोको होटेलमा लगी कोठा वन्दोवस्त गरी सो रात त्यहीसंगै वस्यौं, भोलिपल्ट ७ गते विहान ७ वजे मधेसेसंग इन्द्रप्रसादले हिन्दी भाषामा लडकी राम्रो छ, भा.रु. १६०००। पाए दिन्छु भनि मैले नबुझ्ने गरी कुराकानी गरी तिमी यही वस्तै गर म आई हाल्छू भनि इन्द्रप्रसाद र मेधेसे कोठा देखि वाहिर निस्की गएको निकै समयमा पनि इन्द्रप्रसाद आएनन । ११ वजेतिर मधिशे मात्र म भए ठाउंमा आई मैले तिमीलाई भा.रु. १६०००। मा किनी सकें यो ठाउं भारतको सिलगुढी हो भनि मलाई खानाखान दिए, मैले इन्द्रप्रसादले मलाई विक्रि गरी भागी गएको कुरा थाहा पाई भाग्ने प्रयास गर्दागर्दै २।३ दिन वित्यो, ऐ. १० गते मौका छोपी दिसा पिसाव गर्ने निहुंले त्यहांबाट भागी गाडीमा चढी काकरभिटृा आई मेरो औठी वेची भाडा तिरेर चन्द्रगढी फुपाजु मेदिनीप्रसाद मैनालीकोमा गई २।३ दिन वसि माघ १३ गते फुपाजुले इलामसम्म पुर्याउनु भयो । मेरो वुवा मलाई खोज्दै त्यहां पुग्नु भएको रहेछ भेट भै फिदिम तिनतामा हुदै म आफै उपस्थित भई जाहेर गरेकी छु, इन्द्रप्रसादले मलाई भारतमा लगी विक्रि गरी वेपत्ता भएकोले निजलाई कानून वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको पार्वता उप्रतीको मिति २०४५।१०।२३ गते ताप्लेजुङ जिल्ला अदालतबाट प्रमाणित भएको वयान ।
४. २०४५।१०।१५ गते सांझमा सिकेचा वस्ने चन्द्रलाल उप्रेती र निजको छोरी पार्वता उप्रेती मेरो घरमा आई बास बसेका हुन, पार्वताले म संग मेरो मामाको छोरा इन्द्रप्रसादले भारतको सिलिगुडीमा लगी भा.रु.१६०००। मा विक्रि गरी भागी गएछन् म बिखर्ची भई यस्तो हालतमा भागी उम्की आएं भन्ने कुरा गर्थिन भन्ने समेत व्यहोराको मुक्तिप्रसाद उप्रेतीले मिति २०४५।११।१६ गते प्रहरीमा गरेको कागज ।
५. २०४५ साल मार्ग २८ गते मेरो होटल लजमा ईन्द्रप्रसाद मैनाली, हरिप्रसाद मैनाली र पार्वता उप्रेती आई पुगेका थिए, मेरो नाताको मानिस हुंदा २०४५ पौष २८ गते सम्म हरिप्रसाद र पार्वता त्यही होटलमा काम सघाइ वसे, इन्द्रप्रसाद चांही पुगेकै दिन कहां गए थाहा भएन । २०४५ पौक्ष २८ गते मात्र इन्द्रप्रसाद, मोहनप्रसाद मैनाली भेट भई २९ गते सवैजना इलामतर्फ गएका हुन । त्यसको १२।१४ दिनपछि इन्द्रप्रसादले पार्वतालाई भारतमा लगी बेची सके अरे भन्ने हल्ला सुनेको हुं । २०४५ माघ १४ गते वेलुकी भिनाजु चन्द्रलाल उप्रेतीले पार्वतालाई साथ लिई मेरो होटलमा वस्नू भएको हो, मैले सौद्धा पार्वताले मलाइ इन्द्रप्रसादले सिलिगुडीमा लगी भा.रु. १६०००। मा विक्रि गरी भाग्यो म सिलिगुडीवाट भागी आएं भन्थिन, भोलिपल्ट १५ गते मैले नै रु.१००। वाटो खर्च दिई घर सिकेचातर्फ आएका हुन, इन्द्रप्रसाद खराव चाल चलनको हुंदा पार्वतालाई विक्रि गरेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको पदमलाल मैनालीले मिति २०४५।११।१६ गते प्रहरीमा गरेको कागज ।
६. पार्वता उप्रेती मेरो दाजुको छोरी हुन निजको मामाको छोरा इन्द्रप्रसाद मैनालीले ललाई फकाई देश हेर्ने बहाना पारी पार्वतालाई सिलिगुडीमा लगी भा.रु.१६०००। मा विक्रि गरी इन्द्रप्रसाद भागी गएछ, पार्वताले थाहा पाई भागी रुदैं कराउदै २०४५ साल माघ १० गते सांझमा मेरो घरमा आई भनेकी हुंदा मेरो श्रीमान मेदिनीप्रसादले पार्वतालाई घरमा पुर्याउन भनि माघ १३ गते साथमा लिई इलाम आउदा पार्वताको वावुसग भेट भएकोले सोही दिन वेलुकी मेरो श्रीमान घर आई पुग्नु भएको हो भन्ने समेत व्यहोराको खगमाया मैनालीले २०४५।११।१९ गते प्रहरीमा गरेको कागज ।
७. पार्वता देवी उप्रेती मेरो सहादेर माइली फुपुको कान्छी छोरी हुन, निज पार्वता मेरो घरमा २०४४ साल पौष महिनादेखि बसि सिनाम मा.वि.मा अध्ययन गर्दथिन, २०४५ साल मार्ग महिनामा गते वार थाहा छैन निज पार्वती आफ्नो कोठामा सुति निदाई रहेको अवस्थामा अं. रातको १२ वजे करणी गर्ने मनसायले मेरो कोठाबाट उठी पार्वता सुती रहेको कोठाको झ्यालबाट भित्र पसी निज सुति रहेकै अवस्थामा निजको साडी उल्टाई करणी गरें, निजले थाहा पाई कराउन लाग्दा संझाई कराउन दिइन, त्यसपछि म आफ्नो कोठामा गई सुतें भोलिपल्ट पार्वतालाई एकान्त ठाउंमा भेट गरी मैले निजलाई लाने अठोट गरी गाउंघर छाडी भारततिर गई वस्ने सल्लाह गरी निजले पनि स्वीकार गरी त्यसपछि रातै पिच्छे निजको सुत्ने कोठामा लुकीछिपी गई पार्वतालाई करणी गर्दथें, सो कुरा घरमा थाहापाई दाजु भाईले गाली गरें मैले हामी विग्रियौं, केटी पनि नछुने बन्द भयो भन्छे भन्दा पार्वतालाई भारतमा लगी विक्रि गर्नुपर्छ भनि मनप्रसाद दाजुले सल्लाह दिएपछि २०४५ साल मंसीर अन्तिम तिर मेरो खेती झापा पाचंगाछी वा.नं. ३ विश्वडुवामा जाउं भनि दाजु मनप्रसाद भाई हरिप्रसाद म र पार्वता घरबाट हिडीं वडावावुको छोराको सत्कार होटल फिदिममा ३।४ दिन बसी दाजु मनप्रसाद घर फर्कनु भयो । भाई हरि प्रसाद, पार्वता र म माघ ४ गते झापा विश्वडुवामा पुगी भोलिपल्ट ५ गते पार्वता र म विर्तामोड देखि पर अपरिचित लजमा वसी त्यसको भोलिपल्ट सिलिगुडीमा पुगी पन्जावीको होटलमा कोठा वन्दोवस्त गरी सो रात पार्वता संगै सुत्यौं, भोलिपल्ट पन्जावीसंग कुरा गरी भा.रु.१६०००। मा पार्वतालाई विक्रि गरी पार्वतालाई कोठामै छाडी सोही दिन म मधेश खेतीमा पुगी भोलिपल्ट ८ गते काठमाण्डौ गई कानून क्याम्पसमा भर्ना भई क्याम्पसमा पढाई नभएकोले सोलुखुम्वुमा शिक्षण पेशा गर्न थाले, २०४६ सालको दशैंमा टिका लगाउने भनि मधेश खेती घरमा आई बसेको अवस्थामा महामारा प्रहरी चौकीले पक्राउ गरी यस कार्यालयमा बुझाएको हो पार्वतालाई विक्रि गर्नेमा अरु मेरो सहयोगी छैनन् भन्ने समेत व्यहोराको मिति २०४६।७।२३ गते प्रतिवादी इन्द्रप्रसाद मैनालीले प्रहरीमा गरेको वयान कागज ।
८. पार्वता उप्रेती मामाको घर (मेदिनीप्रसाद मैनालीको घरमा) हुंदा तहां आई अध्ययन गरी रहेकी थिइन्, निजको सहोदर मामाको छोरा इन्द्रप्रसाद मैनालीले पार्वतालाई करणी गरी आफूले राख्न नहुने भएको हुंदा पार्वतालाई ललाई फकाई मनप्रसाद, हरिप्रसादको सहयोगबाट भारतमा लगी इन्द्रप्रसादले भा.रु.१६०००। मा विक्रि गरी इन्द्रप्रसाद भागी लुकी छिपी बसेको हुन भन्ने समेत व्यहोराको श्रीप्रसाद प्रसाई समेत ११ जनाले गरी दिएको २०४६।७।२६ गतेको सरजमीन मुचुल्का ।
९. मेरी छोरी पार्वतीलाई २०४४ साल देखि निजको मावली मेदनी प्रसाद मैनालीकोमा राखी सिनाम मा.वि. मा पढ्दै गरेकोमा मेदनीप्रसादको छोरा इन्द्रप्रसादले पार्वतालाई गर्भ वोकाई गाउं घरमा वस्न नहुने भएबाट निजको दाजु मनप्रसाद भाई हरिप्रसाद समेतको सहयोगबाट २०४५।८।२६ गते ललाई फकाई मधेश खेतीमा गई वस्ने नक्कली सल्लाह गरी छोरी पार्वतीलाई इन्द्रप्रसादले भारतको सिलिगुडीमा लगी भा.रु.१६०००। मा विक्रि गरी इन्द्रप्रसाद भागी के कता गए, छोरी त्यहांबाट भागी आइछन, म छोरी खोज्न जांदै गर्दा मेरो बहिनी ज्वाई मेदनीप्रसाद मैनाली र छोरी इलाममा आउदै रहेछन र घरमा ल्याइ छोरीले चित्त नबुझि उजुर गरेको हुन भन्ने समेत व्यहोराको चन्द्रलाल उप्रेतीले २०४६।७।२६ गते प्रहरीमा गरेको कागज ।
१०. मेरी भान्जी पार्वता र मेरो छोरा इन्द्रप्रसाद विग्रिएछन, म तिमीलाई रु.२५००। दिन्छु गर्भ मेरो हो दशैमा टिका लगाउन जांदा सास ससुराले गाली वेइज्जत गरे भनि अदालतमा फिरादपत्र देउ भने पछि मैले पार्वताको वावु चन्द्रलाल र निजको श्रीमती छोरा समेतको नाउंमा गाली वेइज्जतीमा फिराद पत्र दिएको छु । हाल सुन्दा पार्वतालाई सिलिगुडीमा लगी इन्द्रप्रसादले भा.रु. १६०००। मा विक्रि गरेको रहेछन भन्ने समेत व्यहोराको कृष्णवहादुर डांगी क्षेत्रीले २०४६।७।२८ मा प्रहरीमा गरेको कागज ।
११. पार्वता उप्रेतीको मावली घर मेरो घर हुंदा २०४४ साल देखि आई बसि सिनाम मा.वि.मा अध्ययन गरिरहेकी थिइन, २०४४ साल मंसीर महिनामा मेरो दाजु इन्द्रप्रसादले निजलाई करणी गरी गर्भिणी तुल्याएछन, सो कुरा दाजु मनप्रसादले थाहा पाई समाजको लाजले गर्दा पार्वतालाई भारतको सिलिगुडीमा पुर्याई विक्रि गरी आउनु पर्छ भन्ने सल्लाह गरी मंसीर महिनाको आखिरी तिर पार्वतालाई विक्रि गर्ने उद्देश्यले दाजु मनप्रसाद, इन्द्रप्रसाद म र पार्वता घरबाट हिडीं, फिदिममा वडावावुको छोराको सत्कार होटलमा करीव १ महिनासम्म वसी माघ लागेपछि इलाम तर्फ गई इलाममा ३।४ दिन वसी त्यहांबाट दाजु मनप्रसाद घर फर्कनु भयो । हामी माघ ४ गते झापा खेतीमा पुगी भोलिपल्ट ५ गते दाजु इन्द्रप्रसाद र पार्वता सिलिगुडीतर्फ गएका ३।४ दिनपछि दाजु इन्द्रप्रसाद खेत घरमा आई भा.रु.१६०००। मा विक्रि गरी आएं त घर जा म काठमाण्डौ तर्फ जान्छु भनि मलाई भा.रु. १०००। दिएकोले म घर आएं, मन प्रसाद दाजुलाई सवै कुरा सुनाएको छु पार्वतालाई विक्रि गर्नमा अरु मतियार छैनन् कानूनले जो ठहर्छ भन्ने प्रतिवादी हरिप्रसादले २०४६।७।२९ गते प्रहरीमा गरेको वयान कागज ।
१२. पार्वता उप्रेती मेरो सहोदर फुपुको छोरी हो, निज २०४४ साल पौष देखि मेरो घरमा बसि सिनाम मा.वि. मा पढ्दै थिइन, त्यस्तैमा मेरो आफ्नै भाई इन्द्रप्रसाद मैनालीले पार्वतालाई करणी गरी गर्भ बोकाएकोले भाईलाई बचाउन पार्वतालाई सिलिगुडीमा लगि विक्रि गर्न भाईलाई सल्लाह दिई म समेतले इलाम सम्म पुर्याई त्यहांबाट भाई इन्द्रप्रसादले पार्वतालाई सिलिगुडीमा लगी भा.रु. १६०००। मा विक्रि गरी इन्द्रप्रसाद भागी आएको हो, कानूनले जो ठहर्छ भन्ने प्रतिवादी मनप्रसाद मैनालीले २०४६।७।२९ गते प्रहरीमा गरेको वयान कागज ।
१३. निज पार्वताको मौकाको जाहेरी वयान कागज, प्रतिवादीहरुको साविति वयान सर्जमीनका सम्पूर्ण व्यक्तिहरुको लेखाई कृष्णवहादुर डांगी, चन्द्रलाल उप्रेती समेतको कागजबाट पार्वता उप्रेतीलाई गर्भ बोकाई गाउंमा राख्नु नहुने संझी सामाजिक लाज र इज्जत बचाउने उद्देश्य लिई भारतको सिलिगुडीमा लगी नाम थाहा नभएको पन्जावीलाई भा.रु.१६०००। मा वेचेको प्रमाणित हुन आएको हुंदा मुख्य अपराधी इन्द्रप्रसाद मैनाली र नाम थाहा नभएको पञ्जावी देखिन आएको हुंदा इन्द्रप्रसादलाई जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को (क) र (ख) को कसुरमा ऐ.को. दफा ८ को उपदफा (१) वमोजिम र ऐ.को दफा ८(५) समेत वमोजिम संजाय गरी पाउं, नाम थाहा नभएको पन्जावीको हकमा नेपाल सरहद भित्र फेला परेको वखत प्रहरी प्रतिवेदन पेश गरिनेछ । जीउ मास्ने वेच्ने कार्यमा सहयोग पुर्याउने मनप्रसाद र हरिप्रसादलाई ऐ. ऐनको दफा ८ को उपदफा ४ वमोजिम संजाय गरी पाउं भन्ने समेत व्यहोराको २०४६।८।९ गतेको संयुक्त प्रहरी प्रतिवेदन ।
१४. म २०४५ साल पौष ३ गते सम्म सिनाम भगवती प्रा.वि.मा प्र.अ. भै वसेको पौष ३ देखि विदा लिई झापा पांचगाछिमा गई वसेको अवस्थामा मेरो पदमा संचालक समितिले अर्केलाई नियुक्ति गरेकोले म काठमाण्डौंको कानून क्याम्पस ताहाचलमा गई पढन थालेकोमा पढाई नभएकोले सोलुखुम्वुको खुम्जुङ मा.वि.मा २०४५ साल चैत्र १३ गते देखि लगातार शिक्षक काम गरी बसेको थिएं । जाहेरवाला पार्वता उप्रेती २०४५ साल कार्तिक देखि मेरो घरमा वस्ने गर्दथिन। उनीसंग मेरो प्रेम २०४५ साल जेष्ठ देखि नै थियो । हाम्रोवीच पत्राचार पनि हुन्थ्यो । निज २०४५ साल मंसीर २३।२४ गते परीक्षा सकि आफ्नू घर गएकी त्यसपछि २०४६ साल कार्तिक २६ गते तक हाम्रो देखभेट भएको थिएन । पार्वती र निजकी आमा २०४५ साल मंसिर २८।२९ गते इलाम तर्फ जांदै गर्दा फिदिममा पक्राउ परी विराटनगर सम्म जांचवुझको लागी लगेको र त्यहांबाट फर्कि फिदिम आई जाहेरवाली सत्कार होटलमा वसेको र पछि जाहेरवाली इलाम निजको सानी आमा कहां गएकी थाहा पाई निजको वावुले ल्याएको भन्ने सुनेको हु । मैले जाहेरवालीलाई सिलिगुडीमा लगी विक्रि गरेको होइन । प्रहरीमा मलाई प्रहरीले कुटपिट गरी निजहरुले मनोमानी लेखेको कागजमा पढी नसुनाई सहिछाप गरीएको सम्म हो । जाहेरवालीले निजको वावुको सिकाउरीमा लागी जाहेर गरेकी र सर्जमीनका व्यक्तिहरु जाहेरवालाको वावु पक्षका मानिस हुंदा मलाई पोल जाहेर गरेकी हुन । म निर्दोष हुंदा सफाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रप्रसाद मैनालीले २०४६।८।९ गते ताप्लेजुङ्ग जिल्ला अदालतमा गरेको वयान ।
१५. जाहेरवाला पार्वता देवी मेरी फुपुको छोरी कान्छी हो, निज मेरो मुल घरमा २०४५ साल मंसीर २२ गते तक वसेकी हुन, २०४५ मंसीर २२ गते परिक्षा सकिएको हुंदा सोही दिन निज आफ्नो घरमा गएकी हुन, २०४५ साल पौष महिनामा जाहेरवाला र निजको आमा इलामतर्फ जांदै गर्दा प्रहरीले पक्राउ गरे भन्ने सुनेको विषयमा पक्रेको भन्दा जाहेरवाली र इन्द्रप्रसाद करणीमा विग्रिएकोले गर्भ खोलाउन लगेको भनि उजुर परी पक्राउ गरेको भन्ने सुनेको हुं जाहेरवालीलाई म समेतको सहयोग मत सल्लाहबाट विक्रि गरेको समेत होइन, प्रहरीमा मलाई डर धांक देखाई पढी नसुनाई सही गराएकोेले सही गरी दिएको हुं, जाहेरवालीले किन जाहेरी दिएकी हुन र सर्जमीनका व्यक्तिले किन पोल गरेका हुन मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी मनप्रसाद मैनालीले २०४६।८।९ गते जिल्ला अदालतमा गरेको वयान ।
१६. जाहेरवाला पार्वता मेरो फुपुको छोरी हो, निज २०४३ सालमा हाम्रो घरमा आई ६ कक्षामा भर्ना भई अध्ययन गरी त्यसपछि २०४४ सालमा छिमेकी नन्दराम पनेरुको घरमा डेरा सरी सातौं कक्षामा अध्ययन गरी वसेको अवस्थामा करणीमा विग्रेको कुरा २०४५ साल फाल्गुण महिनामा गाउंलेहरुले सुनाएका हुन । निजले २०४६ साल श्रावण महिनामा नानी पाई हाल माईत घरमै वसेकी हुन् त्यो नानी मेरै दाजु इन्द्रप्रसादको विर्यबाट गर्भ रही पैदा भएको कुरा अहिले प्रष्ट थाहा भयो । दाजु इन्द्रप्रसाद २०४५ साल पौष ३ गते घरबाट तराई खेतीमा गएको त्यसपछि आएनन् । दाजु इन्द्रप्रसादसंग २०४५ साल पौष महिनादेखि छुटृी २०४६ साल कार्तिक २५ गते मात्र भेट भएको हुंदा दाजु मनप्रसाद र म समेत भई जाहेरवालीलाई सिलिगुडीमा लगी विक्रि गर्ने सल्लाह गरेको होइन र जाहेरवालालाई सिलिगुडीमा लगी विक्रि गर्ने सल्लाह गरेको होइन र जाहेरवाललाई तराई सम्म पुराएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी हरिप्रसाद मैनालीले २०४६।८।११ गते जिल्ला अदालतमा गरेको वयान ।
१७. यसमा प्रतिवादी इन्द्रप्रसाद, मनप्रसाद, हरिप्रसाद अदालतमा आई ईन्कारी वयान गरेको छ तापनि प्रतिवादी इन्द्रप्रसादले अधिकार प्राप्त अधिकारी समक्ष अवैध करणी गरी लोकापवादवाट वच्न दाजु मनप्रसाद समेतको सहमतिबाट भारतको सिलिगुडीमा लगी भा.रु.१६०००। मा जाहेरवालीलाई विक्रि गरेकोमा स्वीकारी कागज गरेको अन्य प्रतिवादी मनप्रसाद तथा हरिप्रसादले पनि कसुर गरेकोमा सकारी इलाम सम्म पुर्याउन गएकोमा एक अर्काको पोल गरी कागज गरेको देखिनुका साथै जाहेरी किटानी हुनुको अलावा जाहेरवालीको वयान कागजमा समेत किटानी पोल भएको सर्जमीनका मानिसले समेत पोलेको प्रहरीमा कागज गर्ने कृष्णवहादुर डांगी, खगमाया मैनाली, पदमलाल मैनाली, मुक्तिनाथ उप्रेती समेतले पनि पोलेको हुंदा प्रतिवादीहरुलाई पछि प्रमाण बुझ्दै जांदा ठहरे वमोजिम हुने गरी हाल जीउ मास्ने वेच्ने कार्य नियन्त्रण एैन, २०४३ को दफा १०(१) र अ.वं. ११८ नं.. को देहाय दफा २ वमोजिम थुनामा राखी कारवाही गर्नु भन्ने समेत व्यहोराको २०४६।८।११ गतेको ताप्लेजुङ्ग जिल्ला अदालतको आदेश ।
१८. प्रहरीमा कागज गर्ने मुक्तिनाथ, पदमलाल, खगमाया, चन्द्रलाल उप्रेती समेतलाई अ.वं. १३९ नं. वमोजिम वुझने र रणवहादुर खत्रीले दिएको गाली वेइजती मुद्दा साथै राखी हाजिर अभिलेख झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको २०४८।३।११ गतेको आदेश ।
१९. मेरी छोरीलाई सिनाम मा.वि.मा पढ्न भनि यी इन्द्रप्रसादका वावु मेदनीप्रसाद मामाको घरमा राखेको थियो, वस्दै जांदा प्रतिवादी इन्द्रप्रसाद मैनालीसंग छोरीको अनुचित सम्वन्ध भई छोरी दाजु वहिनीको नाताका मानिस गाउंघरमा वस्न नमिली मधेश खेतीमा जाउं भनि मनप्रसाद, हरिप्रसादको सहयोगमा मेरी छोरीलाई प्रतिवादी इन्द्रप्रसादले भारतको सिलिगुडीमा लगि भा.रु.१६०००। मा विक्री गरी इन्द्रप्रसाद भागी गए पछि छोरीले आफू वेचिएको थाहा पाई भागी आई जाहेरी दिएकी हुन भन्ने समेत व्यहोराको २०४८।९।१३ मा चन्द्रलाल उप्रेतीले जिल्ला अदालतमा गरेको वयान ।
२०. प्रतिवादी मध्येका इन्द्रप्रसाद मैनाली मिति २०४५।९।३० गते सम्म भगवती प्राथमिक विद्यालयमा कामकाज गरी आएको पछि सोलुखुम्वु खुम्जुङमा शिक्षक भई काम गरेकोे, जाहेरवाली इलामबाट उद्यो गएकी छैन भनि वयान गरेको र सहयोगी भनिएको प्रतिवादीहरु मनप्रसाद मैनाली र हरिप्रसाद मैनाली पछि कसुरमा इन्कार गरी वयान गरेको पाइयो । प्रतिवादीका साक्षीहरुले जाहेरवालीलाई विक्री गर्न लगेको होइन भनि निजहरुको वयानलाई पुष्टि हुने गरी वकपत्र गरेको देखियो । जाहेरवाली र प्रतिवादीहरुका वीच गर्भ सम्वन्धमा विवाद रही फुपु र मामाको छोरा छोरीमा गर्भपतन गराउन चालवाजी चलेको देखिएको जाहेरवालीको भनाइलाई पुष्टि गर्ने स्वतन्त्र सवुत प्रमाण मिसिलबाट नदेखिंदा प्रहरी प्रतिवेदन माग दावी अनुसार जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को (क)(ख) को कसुरमा र ऐ. ऐनको दफा ४ को देहाय (घ) को कसुरमा प्रतिवादीहरु उपर संजायको माग दावी लिई आएको प्रहरी प्रतिवेदन माग दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको ताप्लेजुङ जिल्ला अदालतको मिति २०४९।४।११।१ को फैसला ।
२१. आफू बेचिएको थाहा पाई दिसा पिसाव गर्ने निहुंले २०४५।१०।१० गते दिउंसो २ वजे भागी काकंडभिटृा आई पुगी २०४५।१०।१३ गते चन्द्रगढीमा फुपाजुले इलाम पुर्याउन ल्याउनु भयो, वुवासंग भेट भई घरमा आएको भनि अदालतमा समेत जाहेरवालीले वकपत्र गर्दा लेखिएको कुरा अधिकाधिक रुपमा प्रतिवादीले खण्डन गर्न सकेको छैन, सरजमीनका वुद्धिराज लिम्वु, अभिचन्द्र उप्रेती, सुर्यप्रसाद पाठक समेतले जाहेरवालीको भनाईलाई समर्थित हुने गरी वकपत्र गरेका छन् । तसर्थ शुरु ताप्लेजुङ जिल्ला अदालतको उक्त मितिको फैसला कानूनी त्रुटिपूर्ण हुंदा वदर गरी प्रहरी प्रतिवेदन माग दावी वमोजिम संजाय गरी पाउं भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तर्फबाट पुनरावेदन सरकारी वकिल कार्यालय इलामको मिति २०४९।५।२६।६ गतेको पुनरावेदन अदालत इलाममा परेको पुनरावेदन पत्र ।
२२. यसमा घटनाबाट पिडित पार्वता उप्रेतीको घटनाक्रमको तथ्य उल्लेख गरी निजलाई प्रतिवादी इन्द्रप्रसाद मैनालीले भारतमा लगी विक्रि गरेको कुरा अदालतमा आई समर्थन गरी वकपत्र गरी दिएकोमा प्रतिवादीले आरोपित कसुर गरेको छैन भनि लिएको इन्कारी समर्थनमा विवाद रहित प्रमाण गुर्जान नसकेको अवस्थामा जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७ विपरीत कसुरबाट प्रतिवादीहरुलाई सफाई दिई गरेको ताप्लेजुङ जिल्ला अदालतको फैसला फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ अनुसार विपक्षीहरु झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको २०५०।३।६।१ गतेको आदेश ।
२३. पिडित पार्वताले दिएको जाहेरी दरखास्त र गरेको वयानमा निजलाई विक्रि गर्ने क्रियामा प्रतिवादी मनप्रसाद र हरिप्रसादले सहयोग गरेको भनि भन्न समेत सकेको देखिन आउदैन । प्रहरीमा ठाडो कागज गर्ने व्यक्ति मुक्तिनाथ, पदमलाल मैनाली, खगमाया मैनालीले मौकामा गरेको कागजमा पनि प्रतिवादी मन प्रसाद मैनाली तथा हरिप्रसाद मैनालीको सहयोगबाट पिडीत पार्वता उप्रेती विक्री भएको भन्ने उल्लेख भएको पाइदैन । यस्तो अवस्थामा जीउ मास्ने वैच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ को उपदफा (४) वमोजिम मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीलाई संजाय गरी पाउं भन्ने दावी पुग्ने देखिन आएन । यस्तो अवस्थामा निजहरु उपर प्रहरी प्रतिवेदन दावी नपुग्ने ठहराएको शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसलामा त्रुटी देखिएन ।
२४. प्रतिवादी मध्येको इन्द्रप्रसाद मैनालीको हकमा विचार गर्दा पार्वता उप्रेतीको अधिकारप्राप्त अधिकारी समक्ष भएको वयान ताप्लेजुङ जिल्ला अदालतबाट समेत २०४५।१०।२३ गते प्रमाणित भएको छ । जीउ मास्ने वेच्ने कार्य ( नियन्त्रण ) ऐन, २०४३ को दफा ६ को रीत पुगेको सो वयानमा उल्लेख भएको कुराहरु झुठा हुन भनि प्रमाणित गर्ने भार प्रतिवादीको हुने कानूनी व्यवस्था सोही ऐनको दफा (७) सातमा भएको पाइन्छ । यस ऐनको कानूनी व्यवस्था वमोजिम पिडीत पार्वता उप्रेतीको ताप्लेजुङ जिल्ला अदालतबाट प्रमाणित भएको अधिकार प्राप्त अधिकारी समक्ष भएको उक्त वयान झुठा हो भनि प्रतिवादीले कुनै सवुत गुर्जान नसकको अवस्थामा केवल नीजको इन्कारी वयान कै भरमा प्रतिवादी इन्द्रप्रसाद मैनालीले पार्वता उप्रेतीलार्ई भारत सिलिगुडी लगी निजलार्ई भा.रु.१६०००। मा विक्री गरेन भनि ठहराउन मिल्ने नदेखिंदा प्रतिवादी इन्द्रप्रसाद मैनालीले भा.रु.१६०००। मा पिडति पार्वता उप्रेतीलाई विक्री गरेको ठहर्छ । निज ईन्द्रप्रसाद उप्रेतीलाई सफाई दिई भएको शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसला मिलेको देखिएन । तसर्थ प्रतिवादी इन्द्रप्रसाद मैनालीले आरोपित कसुर गरेको हुंदा जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) वमोजिम कैद वर्ष १०(दश), सोही ऐनको ८(५) वमोजिम थप विगो वमोजिम जरीवाना समेत हुने ठहर्छ । जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) वमोजिमको कसुर गरेको भनि प्रतिवादी इन्द्रप्रसाद मैनालीलाई ठहराउनु पर्नेमा निजको हकमा आरोपित कसुरबाट सफाई दिई गरेको फैसला मिलेको नदेखिंदा त्यसतर्फ उल्टी हुने र अन्य प्रतिवादी हरिप्रसाद र मनप्रसादको हकमा शुरुले सफाई दिएको मिलेकै हुंदा त्यसतर्फ वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामबाट मिति २०५१।३।५ मा भएको फैसला ।
२५. निज पार्वता उप्रेतीलाई मिति २०४५।१०।७ मा भारत सिलिगुडीमा लगेर वेच्ने कार्य प्र. इन्द्रप्रसाद मैनालीले गरेको र सो कार्यमा प्र. मनप्रसाद मैनाली र प्र. हरिप्रसाद मैनालीको समेत सहयोग र मिलोमतो रहेकोमा पुनरावेदन अदालत इलामले केवल प्र. इन्द्रप्रसाद मैनालीलाई मात्र सो कसुरमा संजाय गरी अन्य प्रतिवादीलाइ जाहेरवालाले किटानीसाथ नपोलेको भन्दै यथेष्ट प्रमाण हुंदाहुंदै पनि सफाई दिएको फैसला वदर गरी प्र. मन प्रसाद मैनाली र प्र. हरिप्रसाद मैनालीलाई समेत माग दावी वमोजिम संजाय गरी पाउं भन्ने समेत व्यहोराको श्री ५ को सरकारका तर्फबाट यस अदालत समक्ष परेको पुनरावेदन पत्र ।
२६. विभिन्न प्रकारको डर धाक, यातना दिई गरेको प्रहरी समक्षको वयानलाई प्रमाणमा लिन मिल्ने होइन, जाहेरवालाको वयान प्रमाणित हुदैंमा जाहेरवालावाट अभिव्यक्त कुराहरु सही सत्य छन् भनी मान्न मिल्दैन । जाहेरीलाई नै आधार बनाई दोषी ठहर्याउन मिल्ने पनि होइन । जाहेरीमा मिति २०४५।८।२६ गते देखि तराईतर्फ गएको भन्ने उल्लेख छ जवकी उक्त मितिमा म भगवती प्रा.वि.मा हाजिर भै कामकाज गरेको व्यहोरा प्रमाणित छ, जसलाई प्रमाणमा ग्रहण गरिएको छैन, जाहेरवाला पार्वता उप्रेती र निजको आमा टेकमाया उप्रेतीलाई मिति २०४५।८।२७ देखि २०४५।९।२ सम्म जि. प्रहरी कार्यालय पाचंथरमा थुनामा राखिएको र मिति २०४५।९।३ मा हाजिर जमानीमा छाडिएको भन्ने प्रमाणित तथ्यलाई पुनरावेदन अदालतले वेवास्ता गरेको छ, वादी पक्षका भनिएका सर्जमीनका सम्पूर्ण व्यक्तिहरुलाई अदालतमा उपस्थित गराई वकपत्र गर्न सकेको छैन । जाहेरी दरखास्त तथा अभियोग पत्र समर्थित हुने कुनै ठोस प्रमाणहरु वादी पक्षबाट पेश हुन सकेको अवस्था समेत छैन । ठोस प्रमाणको अभावमा केवल पक्षबाट पेश हुन सकेको अवस्था समेत छैन, ठोस प्रमाणको अभावमा केवल जाहेरी दरखास्तलाई आधार बनाई शंकाको भरमा गरिएको पुनरावेदन अदालत इलामको मिति २०५१।३।५ को फैसला मुलुकी ऐन, अ.वं. १८४(क) र १८५ नं. प्रमाण ऐन, २०३१ को दफा ९, २५ र ५४, जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ६, ७, ८(१) र ८(५) तथा सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकुल हुंदा उक्त फैसला वदर गरी जिल्ला अदालत ताप्लेजुङको मिति २०४९।४।११ को फैसला सदर कायम राखी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रप्रसाद मैनालीले यस अदालतमा दायर गरको पुनरावेदन पत्र ।
२७. यसमा जाहेरवाली पार्वता निजको आमा टेकमाया उप्रेती र हरिप्रसाद मैनाली समेतलाई प्रहरीले पक्राउ गरेको सम्वन्धमा पदमलाल मैनालीले प्रहरी एवं अदालतमा गरेको वयान कागज तथा कृष्णवहादुर डांगीले जाहेरवालीको वावु आमा समेत उपर दिएको गाली वेइज्जतीको फिराद र कायलनामा तथा सो फिराद दिनु पर्ने कारण सम्वन्धमा शुरुमा गरेको कागज प्र. मनप्रसाद प्र. हरि प्रसाद मैनाली समेत संलग्न रहको भनी मौकामा गरेको कागज समेतको मुल्यांकन नगरी गरेको पुनरावेदन अदालत इलामको निर्णय फरक पर्न सक्ने हुंदा अ.वं. २०२ नं. र सर्वोच्च अदालत नियमावली, २०४९ वमोजिम पुनरावेदन संलग्न नरहेका प्रत्यर्थी प्रतिवादीहरुलाई झिकाई अ.व. २०२ न. वमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिई नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५५।३।१० को आदेश ।
२८. नियम वमोजिम पेशी सुचिमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी प्रतिवादीहरुका तर्फबाट रहनु भएका विद्वान अधिवक्तात्रय श्री हरिहर दाहाल, श्री कृष्ण सापकोटा, र श्री डिल्लि मैनाली तथा वादी श्री ५ को सरकारको तर्फबाट रहनु भएका विद्वान उप सरकारी अधिवक्ता श्री शरद खड्काले गर्नु भएको वहस समेत सुनियो।
२९. आज निर्णय सुनाउनका लागि तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुको वहस जिकिर तथा मिसिल संलग्न कागजातहरु समेतको अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत इलामले प्रतिवादी मध्ये इन्द्रप्रसाद मैनालीलाई कसुरदार ठहर्याई संजाय गर्ने र प्रतिवादी मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीलाई सफाई दिने गरी गरेको मिति २०५१।३।५ को फैसला मिले नमिलेको के रहेछ भन्ने विषयमा नै विवेचना गरी निर्णय गर्नु पर्ने देखियो । सर्वप्रथम मुद्दाकोे तथ्य तर्फ विचार गर्दा इन्द्रप्रसाद मैनालीले आफूलाई मिति २०४५।८।२६ मा तराईतर्फ डूल्न जाने भनी लगेको तर भारतको सिलिगुडीमा पुर्याई मिति २०४५।१०।७ मा भा.रु.१६०००। मा विक्री गरी सकेको कुरा थाहापाई २०४५।१०।१० मा सिलगुडी माडवारी जस्तो मधिसेको होटलबाट भागी आई यस कार्यालयमा जाहेरी सहित वयान दिन आफै उपस्थित भएकी छु, वयान लिई निज इन्द्र प्रसद मैनालीलाई जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ अनुसार कारवाही गरी पाउं भनि पार्वता उप्रेतीले मिति २०४५।१०।२३ मा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा दिएको जाहेरी दरखास्तबाट प्रस्तुत मुद्दा उठान भएको देखिन्छ । आफ्नै फुपुको छोरीलाई गर्भधारण गराई गाउंमा राख्न नहुने संझी सामाजिक लाज र इज्जत बचाउने उद्देश्य लिई भारतको सिलिगुडी पुर्याई भा.रु.१६०००। मा वेचेको हुंदा मुख्य अपराधी इन्द्रप्रसाद मैनालीलाई जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को खण्ड (क) र (ख) को कसुरमा ऐ.को दफा ८(१) अनुसार संजाय गरी ऐ. दफा ८(५) वमोजिम विक्री गरेको विगो भा.रु.१६०००। को हुन आउने ने.रु. २६८८०। थप जरिवाना र त्यसरी जीउ मास्ने वेच्ने कार्यमा इन्द्रप्रसादलाई सहयोग पुर्याई दुरुत्साहन गर्ने निजको दाजु मनप्रसाद मैनाली तथा भाई हरिप्रसाद मैनालीले जीउ मास्ने वेच्न कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ को देहाय (घ) वमोजिम कसुर गरेको सिद्ध हुन आएकोले निजहरुलाई ऐ.का. दफा ८(४) वमोजिम संजाय गर्ने माग दावी लिइ प्रहरी प्रतिवेदन परेको प्रस्तुत मुद्दामा अभियुक्तहरु प्रहरी समक्ष सावित रहेतापनि डर धाक र यातना दिई प्रहरीले साविती वयान लेखाएको भन्दै अदालत समक्ष इन्कारी रहेका छन् । जाहेरवालीको भनाइलाई पुष्टि गर्न प्रमाणहरुको आधारमा प्रहरी प्रीतवेदन माग दावी पुग्न नसक्ने ठहर्याएको शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसला उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत इलाममा पुनरावेदन परी पुनरावेदन अदालतले प्रतिवादी मध्येका मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीका हकमा शुरु फैसलालाई नै सदर गरी प्रतिवादी इन्द्रप्रसाद मैनालीको हकमा निजले पिडीत पार्वता उप्रेतीलाई भा.रु.१६०००। मा विक्री गरेको ठहर्याई जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) वमोजिम १० वर्ष कैद र ऐ.को दफा ८(५) वमोजिम थप विगो वमोजिम जरिवाना समेत हुने ठहर निर्णय गरेको देखिन्छ । पुनरावेदन अदालतको उक्त फैसलाले प्रतिवादी मध्येका मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीलाई सफाई दिए उपर श्री ५ को सरकारका तर्फबाट र प्रतिवादी इन्द्रप्रसाद मैनालीलाई कसुरदार ठहर्याए उपर निज इन्द्रप्रसाद मैनालीका तर्फबाट यस अदालत समक्ष पुनरावेदन पर्न आएको देखियो ।
३०. पुनरावेदन अदालतले पार्वता उप्रेतीको किटानी जाहेरी दरखास्त र जिल्ला अदालतबबाट प्रमाणित समेत भएको निज पार्वता उप्रेतीको अधिकार प्राप्त अधिकारी समक्ष वयानका साथै उक्त वयानलाई झुठा हो भनी प्रतिवादी इन्द्रप्रसाद मैनालीले जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) वमोजिम प्रमाणित गर्न नसकेको भन्ने कुरालाई निर्णयाधार वनाएको देखिन्छ । तर प्रतिवादी इन्द्रप्रसाद मैनाली प्रहरी समक्ष कसुर गरेकोमा सावित भएतापनि निजले अदालत समक्ष उपस्थित भै दिएको वयानमा जाहेरी दरखास्तका साथै प्रहरी समक्षको आफ्नो वयानलाई पुरै इन्कार गरेका छन । त्यसका अतिरीक्त आफू २०४५ साल पौष १ गते सम्म सिनाम स्थित भगवती प्रा.वि.मा हाजिरी रहेको कुरा समेत वयानमा उल्लेख गरेका छन् । आफ्नो वयानको व्यहोरालाई प्रमाणित गर्ने गरी भगवती प्रँ.वि.को हाजिरी फाराम अदालत समक्ष पेश भएको छ, जस अनुसार निज इन्द्रप्रसाद मैनाली २०४५ साल मंसीर महिनामा र पौष महिनाको २ गते सम्म उक्त विद्यालयमा हाजिर भएको देखिन्छ साथै मंसीर २७ गते पौष २ गतेको मितिमा निज इन्द्रप्रसाद मैनालीले भगवती प्रा.वि.को प्रधानाध्यापकको हैसियतले दस्तखत गरेको पत्र समेत मिसिल संलग्न रहेको देखिन्छ । अर्कोतर्फ जिल्ला प्रहरी कार्यालय पांचथरको च.नं. ११६५ मिति २०४८।११।६ को पत्रबाट निज पार्वता उप्रेती र टेकमाया उप्रेतीलाई मिति २०४५।८।२७ देखि २०४५।९।३ सम्म अनुसन्धानको सिलसिलामा उक्त कार्यालयमा राखी २०५३।९।३ गते मात्र हाजिर जमानीमा छाडिएको भन्ने तथ्य स्थापित भएको छ ।
३१. यसरी जुन मितिमा तराईतर्फ लगेको भनी जाहेरी परको छ त्यही मितिमा निज पार्वता उप्रेती स्वयं समेत प्रहरी हिरासतमा परेको देखिन्छ भने मुख्य कसुरदार भनी उल्लेख गरिएका इन्द्रप्रसाद मैनाली पनि उक्त मितिमा आफूले पढाउदै आएको विद्यालयमा नै हाजिर रहेको देखिन्छ । यसबाट जाहेरी दरखास्त नै शंकास्पद बन्न पुगेको छ । साथै भारतको सिलिगुडीमा लगी बेचेको र त्यहांबाट मिति २०४५ माघ १० गते उम्की भागी आएको भन्ने जाहेरवालीको भनाई रहेको छ भने निजले माघ २३ गते मात्र जाहेरी दरखास्त दिएको देखिन्छ । जीउ मास्ने वेच्ने जस्तो गंभीर अपराधमा पिडित पक्षले कुनै पनि प्रहरी कार्यालयमा उजुर गर्न सक्ने व्यवस्था जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ५(१) मा गरिएको छ, तर निज पार्वता उप्रेती आफू बेचिएको ठाउंबाट उम्किएर आएपछि पनि वीच वीचमा केही दिन वस्दै इलाम हुंदै फिदीम पुग्दासम्म कहिंकतै उजुर नगरी घरमा पुगेपछि मात्र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा आई उजूरी गरेको व्यहोरा पार्वता उप्रेतीको वयानबाट देखिन्छ । सर्जमीनका व्यक्तिहरुले इन्द्रप्रसाद मैनालीले पार्वता उपे्रतीलाई विक्री गरेको उल्लेख गरेका भए पनि सर्जमीनका व्यक्तिहरु ११ जना मध्ये चुडामणि उप्रेती, वुद्धिराज लिम्वु, अवीचन्द्र उप्रेती र सुर्यप्रसाद पाठक मात्र अदालतमा उपस्थित भै वकपत्र गरेका र निजहरु सवैले जाहेरवालीको भनाईलाई उदृत गरी इन्द्र प्रसाद मैनालीले पार्वता उप्रेतीलाई विक्री गरेको कुरामा विश्वास लाग्छ भन्ने व्यहोरा मात्र आफ्नो वकपत्रमा उल्लेख गरेबाट पनि अभियोग दावीलाई सर्जमीनका व्यक्तिहरुको वकपत्रले पुष्टी गरेको मान्न सकिएन, बरु प्रतिवादीका साक्षीहरुले जाहेरवाली पार्वता उप्रेतीलाई प्रतिवादी इन्द्रप्रसाद मैनालीले विक्रि गरेको होइन भनी प्रतिवादीहरुको वयानलाई नै पुष्टी गरी वकपत्र गरी दिएको र धनञ्जयको श्रीमती भनिएको नाउं थाहा नभएको तिवारनी भनिएको नाउंमा वन्द सवाल हुंदा निजले आफ्नो नाउं भागिरथी मैनाली भनी उल्लेख गरी जाहेरवाली पार्वती आफ्नो दिदीको छोरी भएको र निज २०४५ मार्ग महिनामा आफ्नो घरमा आई ४ दिन बसी सिकैचा गएकी र प्र. इन्द्रप्रसाद मैनाली निर्दोष छन् भन्ने व्यहोरा अदालतबाट बुझिएका पदमलाल मैनालीले मिति २०४५।८।२७ देखि प्रहरी हिरासतमा रहेका पार्वता उप्रेती, टेकमाया उप्रेती र हरिप्रसाद उप्रेतीलाई २०४५।९।३ गते हाजिर जमानीमा लिई छुटँएको र प्रतिवादीहरुले निज पार्वता उप्रेतीलाई विक्री गर्न लगेको होइन भन्ने व्यहोराको किटानी वकपत्र र जाहेरवालीको आमा टेकमाया उप्रेतीले समेत उल्लेखित मितिमा आफूहरु प्रहरी हिरासतमा रहेको र त्यहांबाट छुटेपछि वेच्न लगेको भन्ने व्यहोराको वकपत्र गरेको देखिंदा जाहेरी दरखास्त र जाहेरवालीको भनाई सत्यतथ्य भन्दा वाहिर भएको पुष्टी हुनाको साथै प्रतिवादीहरुको निर्दोषिता समर्थित भएको देखियो ।
३२. तसर्थ जाहेरवालीको भनाइलाई पुष्टी गर्ने स्वतन्त्र प्रमाणको अभाव एव प्रतिवादीहरुद्वारा प्रस्तुत प्रमाणहरुबाट जीउ मास्ने वेच्ने कार्यमा निजहरुको संलग्नता नरहेको भन्ने
कुरामा पुष्ट्याई मिलेको स्थितिमा प्रतिवादीहरु मध्ये मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीको हकमा सफाई दिने गरी भएको शुरु इन्साफ सदर गरी प्र. इन्द्रप्रसाद मैनालीको हकमा शुरुले सफाई दिएको उल्टी हुने ठहर्याई प्रहरी प्रतिवेदन माग दावी वमोजिम जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ (१) अनुसार १० वर्ष कैद र ऐ. दफा ८(५) अनुसार विगो जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालत इलामको फैसला मिलेको नदेखिंदा केही उल्टी हुने ठहर्छ । प्रतिवादी मध्येका इन्द्रप्रसाद मैनाली जीउ मास्ने वेच्ने कार्यमा संलग्न रहेको भन्ने कहिं कतैबाट पुष्टि नभएको अवस्थामा निजलाई सफाई दिने गरी भएको शुरु ताप्लेजुङ जिल्ला अदालतको मिति २०४९।४।११ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । जाहेरवाला पार्वतालाई विक्री गर्ने भनिएका इन्द्रप्रसाद मैनालीले अभियोगबाट सफाई पाएको तथा प्रतिवादीहरु मध्येका मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीका हकमा निजहरुले पार्वता उप्रेतीलाई विक्री गर्ने कार्यमा सहयोग पुर्याएको भन्ने कुराको पुष्टी हुन नसकेको स्थितिमा निजहरुलाई सफाई दिने ठहर्याएको शुरु एवं पुनरावेदन अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । निजहरुलाई सफाई दिए उपर परेको श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसिल वमोजिम गर्नु।
तपसिल
प्रतिवादी इन्द्रप्रसाद मैनाली के, माथि इन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भै निजले आरोपित कसुरबाट सफाई पाउने ठहरेकोले पुनरावेदन अदालत इलामको फैसलाको तपसिल खण्डको देहाय १ वमोजिम राखीएको लगत कायम नरहने हुदा उक्त लगत कटृा गरि दिनु भनि शुरुमा लेखी पठाई दिनु …….. १
माथि इन्साफ खण्डमा लेखिए वमोजिम ठहरेकाले प्रतिवादी इन्द्रप्रसाद मैनालीले यस अदालतमा पुनरावेदन गर्दा जेथा जमानी राखेको र उक्त जेथा मालपोत कार्यालय झापाको मिति ०५१।६।४ र मालपोत कार्यालय ताप्लेजुङको मिति ०५१।६।११ को पत्रद्वारा रोक्का रहेको देखिंदा फुकुवा गरीदिनु भनि सम्वन्धित कार्यालयहरुमा लेखी पठाई दिनु …….. २
मिसिल नियमानुसार गरी बुझाई दिनु …… ३
उक्त रायमा मेरो सहमती छ ।
न्या. कृष्ण कुमार वर्मा
इति संवत् २०५५ साल मार्ग ८ गते रोज ३ शुभम् ………………………………… ।