निर्णय नं. ६७९ – लेनदेन
निर्णय नं. ६७९ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत्...
निर्णय नं. ६७९ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको दे.फु.नं. १३३
फैसला भएको मिति : २०२९।१।२०।३
पुनरावेदक : पोखरा नगरपञ्चायत अन्तर्गत बागबजार बस्ने हरिप्रसाद शेरचन
विरुद्ध
पुनरावेदक : ऐ. ठूलोबगर भीमकाली पाटन बस्ने रुकमिनीदेवी
मुद्दा : लेनदेन
(१) लेनदेन व्यवहारको ६ नं.–ब्याज नलेखिएको भन्न मिल्ने अवस्थाको लिखत नभए लेनदेन व्यवहारको ६ नं.को प्रश्न उठाई ब्याज नपाउने अर्थ गर्न नमिल्ने ।
लेनदेन व्यवहारको ६ नं.मा लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएको कुरालाई आधार लिई वादी दावीको लिखतमा जग्गा भोग गर्न नपाएकोमा ब्याज पनि दिने शर्त नभएकोले ब्याज नपाउने भन्ने मा.न्या.श्री चन्द्रप्रसादले आफ्नो राय व्यक्त गर्नुभएको हकमा रजिष्ट्रेशनको ६ नं.लाई अलग राखी उक्त लेनदेन व्यवहारको ६ नं.लाई मात्र ध्यानमा लिई हेर्ने हो भने पनि वादी दावीको लिखतमा ब्याजको कुरा उल्लेखै नभएको नभई सो जग्गा भोग गरुन्जेल साहूले ब्याज र आसामीले आयस्ता खोज्न पाइने छैन भन्ने उल्लेख गरी साहूले जग्गा भोग गरेकोमा सम्म ब्याज नपाउने शर्त राखेकोले साहूले जग्गा भोग गर्न नपाएकोमा ब्याज पाउने मनसाय राखी उक्त लिखत भए गरेको प्रष्ट हुन्छ । ब्याज नलेखिएको भन्न मिल्ने अवस्थाको लिखत नभएकाले यसमा उक्त लेनदेन व्यवहारको ६ नं.को प्रश्न उठाई ब्याज नपाउने भन्ने अर्थ गर्न मिल्दैन ।
(प्रकरण नं. १२)
(२) लेनदेन व्यवहारको २३ नं.–लिखत रजिष्ट्रेशन पास हुन नसकी कपाली हुने भई साहूले भोग गर्न नपाएको देखिन आएमा लेनदेन व्यवहारको २३ नं.को विवेचना गर्नु प्रासंगिक नहुने ।
जहाँसम्म लेनदेन व्यवहारको २३ नं.को प्रश्न छ त्यसमा भोग गर्न नपाउने केही कुराले लेखिएको कुरा कच्चा ठहर्न गयो भने लिखत भए लिखतबमोजम हुन्छ लिखत नभए पनि सावाँ र ऐनबमोजिम ब्याजसमेतमा साहूले दावी गरी लिन पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा भोग गर्न नपाउने केही कुराले लेखिएको कुरा कच्चा ठहर्न गई साहूले भोग गर्न नपाएको भन्ने नभई लिखतै रजिष्ट्रेशन पास हुन नसकी कपाली हुन गएकोबाट लिखतमा लेखिएको घरजग्गा साहूले भोग गर्न नपाएको देखिन आएकोसमेत हुँदा उक्त लेनदेन व्यवहारको २३ नं.को विवेचना गरिरहनु प्रासंगिक छैन ।
(प्रकरण नं. १३)
पुनरावेदक वादी तर्फबाट :
पुनरावेदक प्रतिवादी तर्फबाट :
उल्लिखित मुद्दा : (दे.फु.नं. ८३, वादी डिल्लीराज भण्डारी वि. प्रतिवादी नरबहादुर, लेनदेन)
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. व्यापार व्यवसाय गर्न ऋण कर्जा दिनु पर्यो टंकनाथबाट राजीनामा गरी लिई मेरो हक सो जग्गामा वनेको लम्बाई मोहडा हात ११ गज हात १५ को गारो कर्कट टिनको छाना भएको २ तले पक्की घर ऐनबमोजिम भोगबन्धकी लिखत गरी ऐनका म्याद भित्र पास समेत गरी दिन्छु मलाई मोहरू ९५००। नभई व्यापार व्यवसाय गर्न असुविधा भयो भनी निजको एकाघरसँगको लोग्ने पशुपतिभक्त र अन्यायकी रुकमणी श्रेष्ठनी समेतलाई भनेकाले निज रुकमणीको नाउँबाट खरीद भई बनेको घर र सो घरले चर्चेको पिछुवाड जग्गा समेत भोगबन्धकी लिखत गरी दिएमा रू.९५००। हामीले दिने सल्लाह सम्मत्ति भई म अमृतप्रसादले रु. ३८००। र म हरिप्रसादबाट रू.५७००। समेत जम्मा रू.९५००। कर्जा दिई ०२२।५।३० मा हामीलाई भोगबन्धकी लिखत गरी दिनु भएको थियो आलटाल गरी आखिर पासै गरी नदिएबाट पास हुन नपाई कपाली हुन आएको उक्त लेखिएबमोजिम सावाँ मोहरू ९५००। र तमसुक भएको मिति ०२२।५।३० देखि आजका मिति तकको सयकडा १० ले हुने ब्याज मोहरू २०३१।९१समेत जम्मा सावाँ ब्याज मोहरू ११५३१।९१ र यो मुद्दाको फैसला भएको मिति सम्मको ब्याज भराई पाउँ भन्ने हरिप्रसाद शेरचन, अमृतप्रसाद शेरचन जना २ को वादी ।
२. यी वादीहरूबाट मैले केही कर्जा लिई लिखत गरी दिएको हो तापनि आय टिकट दस्तुर ऐन, ०१९ को दफा (७) ले आय कर टिकट टाँसेको यी वादीहरूको कागज कानूनी मान्यता नहुने यी वादीहरूबाट मैले पूर्ण रुपैयाँ लिए खाएपनि छैन पटक पटक गरी केही रुपैयाँसम्म लिएको हुँ यी वादीहरूको फरेवी विगोहरूबाट अलग फुर्सत गरी पाउँ भन्नेसमेत प्रतिवादी ।
३. वादीवाला मध्ये हरिप्रसादका हकमा बाँकी राखी वादी अमृतप्रसादका हकमा रू.३८००। को सावाँ ब्याजका हकमा वादी दावा छाडी ०२५।६।२३ मा मिलापत्र भएको ।
४. मो.रू.९५००। कर्जा लिई मेरो हक भोगको वादीमा लेखिएको घर जग्गा वन्धक लेखी दिएको हुँँ भनी सावितै भई लेखेबाट पनि वादी दावीबमोजिम लिएको हैन भन्ने प्रतिवादीको जिकिर मनासिव देखिन नआएबाट समेत वादी अमृतप्रसादका हकमा मिली सकेको हुनाले हरिप्रसादका हकमा निजले तमसुक बमोजिमको सावाँ व्याजसमेत भरिपाउने नै देखिएको हुनाले यसमा दावा बमोजिम सावाँ ब्याज रु. ७४५५।६६ भरी पाउने ठहर्छ भन्नेसमेत कास्की जिल्ला अदालतको फैसला ।
५ सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
६. लिखतमा ब्याज नलेखिएकोमा लेनदेन व्यवहारको ६ नं.लिखतमा ब्याज पाउन नसक्ने हुँदा यो लेनदेनमा कानूनले नै ब्याज नलाग्ने हुनाले रजिष्ट्रेशनको ६ नं.को व्यवस्था पनि लागू हुन नसक्ने भयो ब्याज भराउने गरेको शुरुको गल्ती हुँदा सावाँ रू.५७००। र सो को लागेको कोर्टफी रु. २४८। समेत वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्नेसमेत गण्डकी अञ्चल अदालतको फैसला ।
७. सो इन्साफमा चित्तबुझेन भन्ने प्रतिवादीको र वादी हरिप्रसाद समेतको छुट्टाछुट्टै पुनरावेदन ।
८. भोगबन्धकी लिखत गरिदिनु भएको थियो आलटाल गरी आखिर पास गरी नदिएबाट पास हुन नआई कपाली हुन आएको सावाँ मोरु. ९५००। र तमसुकको मिति ०२२।५।३० देखि आजका मिति तकको सयकडा १० ले हुने ब्याज मोरु २०३१।९१ समेत जम्मा सावा ब्याज मोहरू ११५३१।९१ र यो मुद्दाको फैसला भएका मितिसम्मको ब्याजसमेत दिलाई भराई पाउँ भन्नेसमेत वादी दावी भएकोमा प्रतिवादीले प्रतिवाद गर्दा यी वादीहरूबाट मैले केही कर्जा लिई लिखत गरिदिएको हो मैले पूर्ण रुपैयाँ लिए खाएको छैन भन्नेसमेत उल्लेख गरेको देखिएकोबाट लिखत गरी दिएमा प्रतिवादीले इन्कार लिन नसकी लिखत गरी दिएको हो भन्ने कुरामा प्रतिवादी सावितै रहेको देखिन्छ । पूरा रुपैयाँ लिएको छैन भन्ने प्रतिवादीको जिकिर गराई तर्फको हकमा यदि प्रतिवादीले लिखतबमोजिमको पूरा रुपैयाँ नलिई केहीमात्र लिएको भए यो यति रुपैयाँ बाँकी रहेको भन्ने कुराको लिखत वादीबाट प्रतिवादीले गराई लिन सक्नुपर्ने थियो । त्यसरी लिखत भएगरेको छ भनी प्रतिवादीले लिखत प्रमाण पेश गर्न सकेको देखिएन र वादीमध्येको अमृतप्रसादसँग मिलापत्र भएको भन्नेसमेत देखिएबाट यस्तो स्थितिमा घटी रुपैयाँ लिएको भन्नेसमेत पुनरावेदन जिकिर पुग्न सक्ने देखिँदैन । अब वादी हरिप्रसादको पुनरावेदनका हकमा घरसारमा जग्गा भोगबन्धक लेखाई लिएकोमा रजिष्ट्रेशन पासको म्याद नाघेपछि सावाँ ब्याजमा दावा गरी नालिस गरेको छ । रजिष्ट्रेशनको ६ नं.मा रजिष्ट्रेशन गराउनुपर्ने घरायसको लिखत यसै महलको ५ नं. बमोजिम रजिष्ट्रेशन गराई लिन सकेको रहेनछ भने त्यस्तो लिखतबाट कुनै अचल सम्पत्ति पक्री दावा गरेको नालिस लाग्न सक्दैन । थैली परेकोमा थैली र लिखतबमोजिम सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाएजतिको कानूनबमोजिमको ब्याजसमेत साहूले कपालीसरह भराइलिन पाउँछ भन्ने उल्लेख भएको भई ब्याजको अंक नकिटी कानूनबमोजिमको भन्ने लेखियो । लेनदेन व्यवहारको ६ नं.मा ब्याजको अंक नकिटिएकोमा ऐनले ब्याज पाउने अवस्थामा पनि सयकडा १० भन्दा बढी भराउन हुँदैन भन्ने वाक्यांश भएकोबाट बढीलाई मात्र अंक तोकिएकोले सयकडा १० नं.ब्याज पाउनुपर्ने भन्ने पक्षको अधिकारको नभई ब्याजबारे अदालतको विचाराधीनको हो । चलअचल राजीनामा दृष्टिभोगबन्धक दिएकोमा भोग गर्न नपाउने केही कुराले कच्चा ठहर्न गयो भने लिखत भए लिखतबमोजिम हुन्छ, लिखत नभए पनि सावाँ र ऐनबमोजिम ब्याज लिन पाउने लेनदेन व्यवहारको २३ नं. मा उल्लेख भएकोमा पनि सो ऐनको प्रयोग हुन सक्ने मुद्दामा पनि लिखतलाई नै प्रधानता दिएको छ । प्रस्तुत मुद्दामा साहूले रजिष्ट्रेशन पासमा नालिस नगरी सावाँ ब्याजमा नालिस गरेको पासमा नालिस नभएपछि स्वतः सो लिखत कपाली हुन आयो लिखतमा ब्याज नलेखेकोमा ब्याज नपाउने प्रष्टै छ । उक्त लिखतमा आजका मितिदेखि भोग चलन गर्नु सो जग्गा भोग गरुञ्जेल साहूले ब्याज र आसामीले आयस्ता खोज्न पाउने छैन केही व्यहोराले सो जग्गा कच्चा भई भोग गर्न नपाए साहूले आफ्नो थैली ऐनबमोजिम आसामीको जेथाबाट उपर गरिलिनु भन्ने उल्लेख भएकोले जग्गा भोग गर्न नपाएमा ब्याज पनि दिने सर्त भएको नभई थैलीसम्म पाउने लिखत भएको देखिँदा हरिप्रसादको पुनरावेदन जिकिर पुग्दैन । ब्याज भरी नपाउने सावाँसम्म भरिपाउने गरेको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिव छ । कोर्टफी रहेको हुँदा कसैलाई केही गर्न परेन । ब्याज भराइदिनुपर्ने मा.न्या. जयदेव भट्टको रायमा म सहमत हुन सकिन । निर्णयार्थ नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या.चन्द्रप्रसाद प्रधानज्यूको राय ।
९. कर्जा लिई घर धितो लेखी भोगबन्धकीको लिखत गरिदिएको सो लिखत रजिष्ट्रेशन पास गरी नदिएबाट कपाली हुन आएका लिखतको ऐनबमोजिम सावाँ ब्याज भराइपाउँ भन्ने वादी दावी भएकोमा कर्जा लिई लिखत गरिदिएमा प्रतिवादी कायम तिरी बुझाइसकेको निस्सा दाखिल गर्न नसकेकोले तिर्न बुझाउन नपर्ने भन्ने पुनरावेदक प्र.रुकमिणीको जिकिर पुग्न नसकी सावाँ रुपैयाँ दिलाई भराइदिने ठहराई छिनेको सम्म अञ्चल अदालतको मनासिवै छ । ब्याजसमेत भराइदिने भन्ने शुरु कास्की जिल्ला अदालतको इन्साफ उल्टाई लिखतमा ब्याज दिने शर्त नरहेकाले ब्याज भराइदिन नमिल्ने भन्ने गण्डकी अञ्चल अदालतको तर्कलाई अचलको राजीनामा भोगबन्धकी इत्यादिको लिखतमा लेखिएको कुरा भोग गर्न नपाएमा सावाँ र ब्याजसमेत साहूले दावी गरिलिन पाउने कुरा लेनदेन व्यवहारको २३ नं.मा र रजिष्ट्रेशन गराउन पर्ने लिखत रजिष्ट्रेशन गराइलिन सकेको रहेनछ भने त्यस लिखतबाट अचलमा दावी गरी नालिस लाग्न नसक्ने थैली र सम्पत्ति भोग गर्न नपाएजतिको कानूनबमोजिम ब्याजसमेत साहूले कपालीसरह भराइलिन पाउने कुरा रजिष्ट्रेशनको ६ नं.मा प्रष्टै उल्लेख भइरहेको साहूले लिखतपास गराउन नचाहेको भनी आसामीले लिखतपास गराइपाउँ भनी दावा गरी उजूर गरेको पनि नहुनाले ऐनले पास हुनुपर्ने लिखतपास नभएका कारणबाट लिखतमा उल्लेख भएको अचल सम्पत्तिमा दावा गर्न नपाउने भई सावाँ र ऐनबमोजिमको ब्याज भराइपाउँ भनी गरेको दावीलाई ब्याज नपाउने भन्न मिल्दैन । ब्याज दिने शर्त नरहेको भन्ने तर्कलाई राजीनामा गराइलिएको लिखतमा ब्याज लिने दिने भन्ने कुरा लिखतमा उल्लेख हुने अवस्थै पर्दैन र त्यस्तो लिखतपास नभएका कारणले कपालीबाट सावाँ ब्याज दिलाइभराइपाउँ भनी दावा गर्न आएका ब्याज नलेखिएकाले ब्याज नपाउने भनी दोष लगाउन पनि मिल्दैन । धितो भोग नगरेको भन्ने साहू र भोग गरिआएकै छ भन्ने आसामी भई भोग गरेका कुरामा विवाद उठेमा धितो भोग नगरेकाले ब्याज पाउँ भनी दावा गर्ने वादीले भोग नगरेको सबूद गुजार्न नसकेका पक्षमा धितो लेखिदिएको चिज कच्चा नभएको र सो भोग गरेको सबूद वादीले गुजार्न नसकेपछि ब्याजमा दावा लिएको भराउन नमिल्ने भन्ने तर्क उठ्ने कुरा हो यसमा त त्यस्तो पनि नभई धितो लेखिएको घर साहूले चलन गरेको भन्ने पनि प्रतिवादीको जिकिर छैन र लिखतमा पनि सो जग्गा भोग गरुञ्जेल साहूले ब्याज र आसामीले आयस्ता खोज्न पाइने छैन केही व्यहोराले जग्गा कच्चा भई भोग गर्न नपाए साहूले आफ्नो थैली ऐनबमोजिम आसामीको ज्येथाबाट उपर गरिलिनु भन्ने व्यहोरा लिखतमा शर्त उल्लेख भएकै हुनाले यस स्थितिमा धितो भोग गर्न नपाउने साहूले थैलीको ऐनबमोजिम ब्याजसमेत भराइपाउँ भनी गरेका दावीमा ब्याज नपाउने भन्ने उक्त ऐनले दिएको सुविधा र दायित्वबाट वञ्चित रहने हुनाले ऐनले पाउने ब्याजसमेत भराइदिने ठहराएका शुरु कास्की जिल्ला अदालतको इन्साफ मनासिव छ । ब्याज नभराउने ठहराएको गण्डकी अञ्चल अदालतको इन्साफ मिलेको देखिन आएन भन्ने मा.न्या.श्री जयदेव भट्टको राय भएको २०२८।३।२२।३ को डिभिजन बेञ्चको फैसला ।
१०. यसमा वादी हरिप्रसादको धरौटी पुनरावेदन हुँदा तारिखमा रहेको पुनरावेदक प्रतिवादी रुकमिणीको वा.हरिप्रसाद उपाध्याय रोहवरमा रही ०२९।१।१३।३ मा पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादीले गरिदिएको थैली रू.९५००। को भोगबन्धकी लिखत म्यादमा पास हुन नपाई कपाली भएकोले ऐनबमोजिम सावाँव्याज भराइपाउँ भन्ने वादीको दावी भएकोमा सावाँ भराइदिने गरेतर्फ ०२८।३।२२।२ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय मिलेकै देखियो । ब्याजको हकमा जग्गा भोग गर्न नपाएमा ब्याज पनि दिने शर्त भएको नभई थैलीसम्म पाउने लिखत भएको देखिँदा ब्याज भरी नपाउने भन्ने मा.न्या.श्री चन्द्रप्रसाद प्रधानको र केही व्यहोराले जग्गा कच्चा भई भोग गर्न नपाए साहूले आफ्नो थैली ऐनबमोजिम आसामीको जेथाबाट उपर गरिलिनु भन्ने व्यहोरा लिखतमा शर्त उल्लेख भएकै हुनाले ब्याजसमेत भरिपाउने भन्ने मा.न्या.श्री जयदेव भट्टको राय भई उक्त डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको मतैक्य हुन नसकी निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको रहेछ । डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूले आ–आफ्नो रायमा व्यक्त गर्नु भएको तर्कसमेतलाई ध्यानमा राखी ब्याज पाउने नपाउने के हो भन्ने विषयमा अहिले यस बेञ्चबाट निर्णय दिनुपर्ने हुन आएको छ ।
११. उक्त निर्णयको लागि हेर्दा रजिष्ट्रेशनका ५ नं. बमोजिम रजिष्ट्रेशन गराई खिन नसकेको यस्तो लिखतको सम्बन्धमा रजिष्ट्रेशनको ६ नं.मा थैली परेकोमा सो थैली र लिखतबमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाएजतिको कानूनबमोजिमको ब्याजसमेत साहूले कपालीसरह भराइलिन पाउँछ भन्ने प्रष्ट व्यवस्था भइराखेको पाइन्छ । यस्तै प्रश्न उठी फुल बेञ्चसमक्ष पेश हुन आएको दे.फु.नं. ८३ वादी डिल्लीराज भण्डारी प्र.नरबहादुरको लेनदेन मुद्दामा ०२८।२।१२।३ को फुल बेञ्चबाट निर्णय हुँदा यसै विषयको साविक मुलुकी ऐन रजिष्ट्रेशनको ७ नं.लाई ध्यानमा ल्याई ऐनले रजिष्ट्रेशन पास गर्नुपर्ने लिखतपास नभई कपालीसरह हुन आएकोमा साहूले भोग गर्न नपाएको जतिमा ऐनबमोजिमको ब्याज पाउने उपरोक्त रजिष्ट्रेशनको ७ नं.मा उल्लेख भएको कुरा दर्शाइराखेको समेत देखिन्छ ।
१२. लेनदेन व्यवहारको ६ नं.मा लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएको कुरालाई आधार लिई वादी दावीको लिखतमा जग्गा भोग गर्न नपाएकोमा ब्याज पनि दिने शर्त नभएकोले ब्याज नपाउने भन्ने मा.न्या.श्री चन्द्रप्रसादले आफ्नो राय व्यक्त गर्नुभएको हकमा रजिष्ट्रेशनको ६ नं.लाई अलग राखी उक्त लेनदेन व्यवहारको ६ नं.लाई मात्र ध्यानमा लिई हेर्ने हो भने पनि वादी दावीको लिखतमा ब्याजको कुरा उल्लेखै नभएको नभई सो जग्गा भोग गरुन्जेल साहूले ब्याज र आसामीले आयस्ता खोज्न पाइने छैन भन्ने उल्लेख गरी साहूले जग्गा भोग गरेकोमा सम्म ब्याज नपाउने शर्त राखेकोले साहूले जग्गा भोग गर्न नपाएकोमा ब्याज पाउने मनसाय राखी उक्त लिखत भए गरेको प्रष्ट हुन्छ । ब्याज नलेखिएको भन्न मिल्ने अवस्थाको लिखत नभएकाले यसमा उक्त लेनदेन व्यवहारको ६ नं.को प्रश्न उठाई ब्याज नपाउने भन्ने अर्थ गर्न मिल्दैन ।
१३. जहाँसम्म लेनदेन व्यवहारको २३ नं.को प्रश्न छ त्यसमा भोग गर्न नपाउने केही कुराले लेखिएको कुरा कच्चा ठहर्न गयो भने लिखत भए लिखतबमोजम हुन्छ लिखत नभए पनि सावाँ र ऐनबमोजिम ब्याजसमेतमा साहूले दावी गरी लिन पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा भोग गर्न नपाउने केही कुराले लेखिएको कुरा कच्चा ठहर्न गई साहूले भोग गर्न नपाएको भन्ने नभई लिखतै रजिष्ट्रेशन पास हुन नसकी कपाली हुन गएकोबाट लिखतमा लेखिएको घरजग्गा साहूले भोग गर्न नपाएको देखिन आएकोसमेत हुँदा उक्त लेनदेन व्यवहारको २३ नं.को विवेचना गरिरहनु प्रासंगिक छैन ।
१४. तसर्थ उपरोक्त उल्लिखित कारणहरूसमेतबाट ब्याजसमेत भराई दिने गरी ०२८।३।२२।३ को डि. बेञ्चमा मा.न्या.श्री जयदेव भट्टले व्यक्त गर्नुभएको राय मुनसिव ठहर्छ, मा.न्या. श्री जयदेव भट्टको उक्त राय फैसलाअनुसार लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या.सुरेन्द्रप्रसाद सिह
उपरोक्त ठहरमा मेरो सहमती छ ।
न्या.विश्वनाथ उपाध्यायको राय
यसमा भोगबन्धकी लिखत म्यादभित्र रजिष्ट्रेशन पास भई भोगबन्धकी थैली कपाली भएको अवस्थामा साहूले सो थैलीका अतिरिक्त भोग गर्न नपाएजति भोगबन्धकी सम्पत्तिको दामासाहीले सो थैलीको ब्याज आसामीबाट भराई लिन पाउँछ वा पाउँदैन भन्ने प्रश्न नै मुख्य रुपमा निरोपण गर्नुपर्ने हुन आएको छ । यस सम्बन्धमा मिसिलका अध्ययन गर्दा दुई भिन्न भिन्न तर्कहरूका आधारमा दुई भिन्न भिन्न रायहरू व्यक्त भएको पाइन्छ । लिखतमा ब्याज भराउने कुरा उल्लेख भएको छैन भन्ने मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ६ नं.अनुसार ब्याज भराउन मिल्दैन भन्ने गण्डकी अञ्चल अदालतको फैसला र सोही अनुरुप माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधानले डिभिजन बेञ्चमा प्रकट गर्नुभएको देखिन्छ । त्यसको विपरित, मुलुकी ऐन, रजिष्ट्रेशनको महलको ६ नं.को आधारमा जिल्ला अदालतले ब्याज गराउने गरी गरेको फैसलालाई मनासिव ठहराई माननीय न्यायाधीश श्री जयदेव भट्टले राय व्यक्त गर्नुभएको देखिन्छ । भोगबन्धकी लिखत म्यादभित्र रजिष्ट्रेशन पास हुन नसकी थैली कपाली भएकोमा कानूनले नै साहूको ब्याज भरी पाउने हुनाले लिखतमा ब्याज भराउने कुरा नलेखिएता पनि कानून अनुसार साहूले ब्याजमा दावी गर्न पाउँछ भन्ने भन्ने तर्क यस सम्बन्धमा प्रस्तुत भएको छ । यसप्रकार उक्त दुई रायहरूमध्ये एउटाले लेनदेन व्यवहारको महलको ६ नं. लाई र अर्कोले रजिष्ट्रेशनको मलहको ६ नं.लाई आ–आफ्नो आधारमा बनाएको देखिन्छ ।
माथि उल्लिखित कानूनी व्यवस्थालाई हेर्दा लेनदेन व्यवहारको ६ नं.मा लिखतमा ब्याज नलेखाएकोमा ब्याज पाउँदैन भन्ने र रजिष्ट्रेशनको महलको ६ नं.मा भोग गर्न नपाएजतिको कानूनबमोजिमको ब्याजसमेत साहुले कपाली सरह भराई लिन पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यी कानूनी व्यवस्थाहरूको सन्दर्भमा उपयुक्त प्रश्नमा विचार गर्दा भोगबन्धकी लिखत म्यादभित्र रजिष्ट्रेशन पास हुन नसकेमा त्यसको परिणाम के हुन्छ भन्ने कुराको व्यवस्था रजिष्ट्रेशनको महलको ६ नं.ले नै गरेको र सोही कानूनी व्यवस्थाको आधारमा भोगबन्धकी ऋण कपाली ब्याज साहूले पाउने वा नपाउने कुराको सम्बन्धमा पनि रजिष्ट्रेशनको महलको ६ नं नै सरोकारको (Relevant) कानूनी व्यवस्था हुन आउँछ । लेनदेन व्यवहारको महलको उपयुक्त व्यवस्था यस्तो ऋणका सम्बन्धमा लागू हुन्छ वा हुँदैन भन्ने कुराका हकमा लिखतमा ब्याज नलेखिएकोमा भन्ने शब्दहरूबाट साधारणतः ब्याज लिनेदिने किसिमको व्यवहारको लागि मात्र सो व्यवस्था भएको भन्ने कुरा देखिन्छ । भोगबन्धकीको व्यवहार ब्याज लिनेदिने उद्देश्यले गरिने व्यवहार होइन । भोगबन्धकी कायम छउन्जेल साहूले ब्याज लिने र आसामीले साहूलाई ब्याज दिने प्रश्न नै उठ्दैन । वस्तुतः भोगबन्धकीको अवस्थालाई मात्र विचार गरी लेखिएको भोगबन्धकी लिखतमा ब्याजको कुरा उल्लेख गर्ने अवस्था नै रहँदैन । लिखतको प्रकृतिबाटै भोगबन्धकी लिखत मुख्यतः सम्पत्तिको भोगबन्धकी लिखत भएकोले ब्याज लिनेदिने किसिमको व्यवहारको लिखतका सम्बन्धमा रहेको लेनदेन व्यवहारको महलको ६ नं.को उक्त व्यवस्था भोगबन्धकी लिखतका सम्बन्धमा लागू हुन्छ भन्न मिल्दैन । भोगबन्धकी थैली कपाली भएमा साहूले थैलीको ब्याज पाउने वा नपाउने कुरा लेनदेन व्यवहारको महलको २३ नं.र रजिष्ट्रेशनको महल ६ नं. मा छुट्टै व्यवस्थित भएबाट पनि लेनदेन व्यवहारको लागि रहेको होइन भन्ने प्रष्ट हुन्छ ।
तसर्थ भोगबन्धकी लिखत म्यादभित्र पास हुन नसकेको रजिष्ट्रेशन महलको ६ नं. अनुसार थैली कपाली भएमा सोही नम्बरमा उल्लेख भएबमोजिम साहूले ब्याज पाउनुपर्ने देखिन्छ । तर लिखतले भोगबन्धकीको अवस्थालाई मात्र नहेरी थैली कपाली हुन गएको अवस्थामा साहू र आसामीको पारस्परिक अधिकार र दायित्व के हुने भन्ने कुराको पनि व्यवस्था गरेको छ र सो अनुसार आसामीउपर ऐनले तोकेको भन्दा कम दरले ब्याज बुझाउने अथवा थैलीसम्म फिर्ता गर्नुपर्ने दायित्व मात्र लगाएको देखिन्छ भन्ने रजिष्ट्रेशनको महलको ६ नं.अनुसारको ब्याज साहूलाई भराई दिनै पर्छ भन्न मिल्दैन । त्यस्तोमा साहू र आसामीले आफू खुशी गरेको करारको शर्त बन्देज नै लागू हुन्छ । कानूनअनुसार कुनै देवानी दायित्व पुरा गर्ने अभिभारा भएका व्यक्तिलाई सो दायित्व पुरा गर्न कर लगाउने अधिकार भएका व्यक्तिले दायित्वबाट मुक्त गर्दछ भने कानूनले दायित्व कायमै राखेको सम्झन मिल्दैन । भोगबन्धकी थैली कपाली भएको अवस्थामा साहूले थैलीसम्म फिर्ता पाउने गरी लिखत भएको छ र त्यसमा ब्याजको कुरा उल्लेख गरिएको छैन भने साहूले रजिष्ट्रेशनको महल ६ नं. बमोजिम ब्याज पाउने अधिकार परित्याग ९ध्बष्खभ० गरेको सम्झनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा रजिष्ट्रेशनको महलको ६ नं.अनुसार थैली कपाली भएको भनी पक्षहरूद्वारा गरिएको करारका शर्त बन्देजमा विचार नगरी ब्याजका सम्बन्धमा सोही नम्बरको प्रयोग गर्नु न्याय, कानून र विवेक अनुरुप हुँदैन ।
उपर्युक्त कुराहरूको सन्र्दभमा अब प्रस्तुत मुद्दाको विचार गर्दा प्रतिवादीले गरिदिएको २०२२।५।३० को भोगबन्धकी लिखत म्यादभित्र रजिष्ट्रेशन पास हुन नसकी कपाली भएकोले यस सम्बन्धमा रजिष्ट्रेशनको महलको ६ नं.र लिखतका शर्त बन्देजहरूमा विचार गर्नुपर्ने देखिन्छ । यस सिलसिलामा उक्त लिखतको अध्ययन गर्दा त्यसमा जग्गा कच्चा ठहरी साहूले भोग गर्न नपाएमा थैली भरी भराउ गरी लिन पाउने कुरासम्म उल्लेख भएको पाइन्छ । माथि उल्लेख भएबमोजिम यस मुद्दामा जग्गा कच्चा ठहरेबाट साहूले भोग गर्न नपाएको नभई म्यादभित्र लिखत रजिष्ट्रेशन पास नभएबाट थैली कपाली हुन गई साहूले जग्गा भोग गर्न नपाएकोले जग्गा कच्चा ठहरेको अवस्थामा लागू हुने उक्त शर्त यस मुद्दामा लागू हुने अवस्थामा देखिएन । जग्गा कच्चा ठहरी साहूले भोग गर्न नपाएको भएमात्र लेनदेन व्यवहारको २३ नं.अनुसार लिखतको शर्तबमोजिम साहूल थैली मात्र भराई लिन पाउने थियो । तर लिखतमा उल्लिखित उक्त शर्त यस मुद्दामा लागू हुने अवस्था नभएको रजिष्ट्रेशनको महलको ६ नं. अनुसार लिखत कपाली भएको अवस्थामा ऐनबमोजिमको ब्याजको आसामीले भर्न नपर्ने अरु कुनै शर्त लिखतमा नभएकोले उक्त ६ नं.को व्यवस्थाअनुसार प्रस्तुत मुद्दामा वादीले प्रतिवादीबाट आफ्नो थैलीको ऐनबमोजिम दरले ब्याज पाउन पर्ने देखिन्छ ।
तसर्थ उपरोक्त तर्कहरूका आधारमा वादीलाई प्रतिवादीबाट ब्याजसमेत भराई दिने गरी ०२८।३।२२।३ को डिभिजन बेञ्चका मा.न्या.श्री जयदेव भट्टले व्यक्त गर्नुभएको राय मुनसिव ठहर्छ ब्याजसमेत भराई दिने गरी सम्माननीय प्रधान न्यायाधीशज्यू समेतले ठहर गर्नुभएको निष्कर्षमा म सहमत भए पनि उहाँहरूले व्यक्त गर्नुभएको तर्क र मेरो तर्क भिन्नै भएकोले छुट्टै व्यक्त गरेको छु ।
इति सम्वत् २०२९ साल बैशाख २० गते रोज ३ शुभम् ।