May 6, 1999
Created by nepalarchives

निर्णय नं. ६७६० – कुटपीट

निर्णय नं. ६७६० ने.का.प. २०५६ अङ्क ७   संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संम्वत २०५२ सालको फौ.पु.नं. …१११८...

निर्णय नं. ६७६० ने.का.प. २०५६ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री

संम्वत २०५२ सालको फौ.पु.नं. …१११८

फैसला मिति : २०५६।१।२३।५

 

मुद्दाः कुटपीट ।

 

पुनरावेदक

वादीः  जिल्ला महोत्तरी वगडा गाउं विकास समिति वडा नं. ९ वस्ने मौचा डोम

विरुद्ध

विपक्षी

प्रतिवादीः जिल्ला महोत्तरी वगडा गा.वि.स. वडा नं. ६ वस्ने मुर्ली यादव समेत

 

§  वादीका साक्षीले नै  बकपत्र गर्दा यी प्रतिवादीहरुले कुटपिट गरेको भनि किटानीसाथ भन्न नसक्नुका साथै निजले डेढ विगाहा टाढाबाट घटना सम्वन्धी जानकारी पाएको भन्ने कुरामा सत्यता छ, भनेर स्पष्टरुपमा भन्न सकिने पनि देखिएन । साथै गडासा जस्तो घातक हतियार प्रयोग भएको भन्ने कुरा घाजांच केश फारामबाट खुल्न आएको पनि देखिएन । यस्तो स्थितिमा शुरु महोत्तरी जिल्ला अदालतले गरेको इन्साफ उल्टी गरी प्रतिवादीहरुलाई सफाइ दिने गरेको पुनरावेदन अदातल, जनकपुरको इन्साफ मनासिब देखिंदा सदर हुने ।     

   (प्र.नं.११)

 

पुनरावेदक वादी तर्फबाटः

विपक्षी प्रतिवादी तर्फबाटः

अवलम्वित नजिरः

फैसला

      न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर  पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः

      २.    २०४८ साल फाल्गुण २३ गतेका दिन अंदाजी ७ वजेको वखतमा मेरी छोरी फुल कुमारी प्रतिवादीको दोकानमा जांदा वाद विवाद उठाइ छोरी घर आइपुग्नासाथ प्रतिवादीहरुका हातहातमा वडासा लाठ्ठी लिई लखेट्दै मेरो दरवाजामा आई मलाई देख्नासाथ प्रतिवादी मुरलीले वचन दिई अन्य प्रतिवादीहरुले लाठ्ठी गडासाको प्रहार गरी जथाभावी कुटपिट गरी टाउको काटी दिएकोले सजाय गरी घा खर्च समेत दिलाई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।

      ३.    वादी दावी वमोजिम वादविवाद भएको छैन । अनाहकमा मुद्दा दिएको हो फलाना फलाना आंग ज्युमा फलानो हात हतियारले कुटपिट गरी घा खत पारी दिएको भन्ने किटानी साथ भन्न सकेको छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

      ४.    वादीलाई प्रतिवादीहरुले केश फाराममा उल्लेख भएका घाउ चोटहरु पारी कुटपिट गरेको ठहर्छ मुरलीले वचन दिएको समेत ठहर्छ भन्ने समेत महोत्तरी जिल्ला अदालतको मिति २०४९।८।१५।२ को फैसला ।

      ५.    वादीका भनाइ साक्षीबाट समर्थित नहुनुका साथै एउटा मात्र साक्षीको वकपत्रलाई प्रमाणको निमित्त ग्राह्य हुने होइन । शुरु फैसला आत्मनिष्ठ भएकोले वदरभागी छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत समक्ष परेको पुनरावेदन पत्र ।

      ६.    घा जांच रिपोर्टबाट सवै प्रतिवादीहरुले गडासाले प्रहार गरेको भन्ने र वचन दिएतर्फ साक्षीको वकाइको प्रमाणित महत्वको दृष्टिकोण समेतबाट शुरुको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई उपस्थित भए वा गुजारेमा पेश गर्नु भनी मिति २०५०।१०।२५।२ को पुनरावेदन अदालत जनकपुरको आदेश ।

      ७.    वादीका साक्षीले वकपत्र गर्दा सो प्रतिवादी मुरली यादवले वचन दिएको तथा सम्पुर्ण प्रतिवादीहरुले कुटेको भनी किटानीसाथ भन्न नसकेको मुरली यादवले वचन दिएको भन्ने कुरा तथा कुटपिट गरेको कुरा निजले डेढ विगहा टाढाबाट सुनेको भन्ने कुरा नै पत्यार लायक र भरपर्दो नदेख्नुका साथै अन्य तथ्य प्रमाणबाट वादीले दावी प्रमाणित गर्न नसकेको दावीमा गडासा जस्तो घातक हतियार प्रयोग गरेको भन्ने उल्लेख भएपनि घा जांच फारामबाट त्यस्तो हतियार प्रयोग भइ घा खत भए परेको अवस्था नदेखिंदा सामान्य घा खत रहे भएको सो घाखत पनि यिनै प्रतिवादीहरुको चोट प्रहारबाट भएको परेको भन्ने नेदेखिंदा सवुद प्रमाणको अभावमा इन्कार रहने प्रतिवादीहरुले कुटपिट गरेका रहेछन भन्न नमिल्ने हुंदा पुनरावेदक प्रतिवादीहरुले कुटपिटको दावीबाट सफाइ पाउने ठहर्छ । शुरु इन्साफ उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला ।

      ८.    वादीको दावी व्यहोरा र साक्षीको वकाइमा कुनै अन्तर छैन । साक्षीले वादी दावीलाई पत्यारयुक्त तरिकाबाट पुष्टि हुने गरी मिति २०४८।११।२३ गते सांझको अंदाजी ७ वजेको समयमा वादीको घरसम्म आएर कुटपिट गरेको वकपत्र गरेकै छन । अन्ततः प्रतिवादीकै साक्षी गंगी यादवले ज.नं. १० मा एक ठाउ कटाएको भनेकै छन् । यसरी साक्षीको वकाइलाई घाखत फारामले पुष्टि गरेको अवस्थामा यस वकाइलाई भरपर्दो प्रमाण मान्नु पर्दथ्यो सो नमानेकोबाट उक्त फैसला गलत र प्रमाण विरुद्ध हुन गएको छ । प्रतिवादीले वारदात भएकै छैन म पुनरावेदकको आङ जिउमा लागेको घाखत झुठ्ठा हो भन्न सकेका छैनन त्यसैगरी यसै प्रकारबाट घा खत लाग्यो भन्न सकेका छैनन । वादी दावीमा धारिलो जोखिमी हतियारले कुटपिट गरे भन्ने दावी छ केश फाराममा टाउकोमा काटिएको घाउ देखाइएकै छ । साक्षीले वकपत्र गर्दा लाठ्ठी गडासा जस्तो घातक हतियार प्रयोग गरी प्रहार समेत गरी कुटपिट गरेको भनेकै छन भन्ने फैसलामा गडासा जस्तो घातक हतियार प्रयोग भएको देखा परेन भन्ने आधार लिएको प्रष्ट गल्ती भएको छ । उपरोक्त कारणहरुले गर्दा पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला तथ्य र प्रमाणको विरुद्ध भै गल्ती र अनुचित हुन गएकोले शुरु महोत्तरी जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर कायम राखी पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला वदर गरीपाउं भन्ने समेत व्यहोराको वादीको तर्फबाट प्रस्तुत पुनरावेदन पत्र ।

      ९.    यसमा कुटपिट वारदात मिति २०४८।११।२३ गते भएको देखिन्छ । मौकैमा पिटाइ खाने पिडितले जिल्ला प्रहरी कार्यालयमा घा जांचको निवेदन गरी २०४८।११।२७ गते जलेश्वर अस्पतालबाट घा जांच भएको र घा जांच प्रतिवेदनमा धार भएको हतियार प्रयोग भएको र घाउको प्रकृति कडा भनी जनिएको देखिन्छ । वादीको साक्षीको वकपत्रबाट कुटपिट भएको र मुरली यादवले वचन दिएको भन्ने लेखाइ दिएको समेतबाट कुटपिट वारदात भएको भन्ने पुष्टि भइरहेको देखिएकोमा शुरु महोत्तरी जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीहरुलाई सफाइ दिने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफल निमित्त विपक्षी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।

      १०.    नियम वमोजिम पेशी सुचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा शुरु र रेकर्ड मिसिल तथा पुनरावेदक वादीको पुनरावेदन जिकिर समेत अधययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत जनकपुरबाट भएको इन्साफ मिलेको छ छैन र पुनरावेदकको पुनरावेदन जिकिर वमोजिम गर्नुपर्ने हो होइन भन्ने कुरामा निर्णय दिनुपर्ने देखिन्छ।

      ११.    यसमा मेरो छोरी फुल कुमारी सामान लिन जांदा वांकी रुपैयाको सन्दर्भमा वाद विवाद उठाइ छोरी घर आएपछि प्रतिवादीहरु हातहातमा लाठ्ठी गडासा लिई मेरो दरवाजामा आई मलाई देख्नासाथ प्रतिवादी मुरली यादवले यसलाई कुट भनी वचन दिइ अन्य प्रतिवादीहरुले लाठ्ठी गडासाको चोट प्रहार गरी मेरो टाउको काटी घा खत पारी जथाभावी कुटपिट गरेकोले सजाय गरी पाउं भन्ने समेतको फिराद दावी र वादी दावी वमोजिम वादविवाद भएको छैन । फलाना आङज्युमा फलाना हात हतियारले कुटपिट गरी घा खत पारी दिएको भनी किटानी साथ भन्न सकेको छैन अनाहकमा मुद्दा दिएको हो भन्ने समेतको प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा वादीलाई प्रतिवादीहरुले कुटपिट गरेको ठहर्छ भनी शुरु महोत्तरी जिल्ला अदालतले फैसला गरेको र सो फैसला उल्टी गरी प्रतिवादीहरुलाई सफाइ दिने गरी पुनरावेदन अदालत जनकपुरबाट फैसला भए उपर वादीको तर्फबाट पुनरावेदन पर्न आएको देखिन्छ । वादीले आफ्नो फिराद दावीमा आफ्नो छोरी फुल कुमारीसंग वादविवाद भई छोरी घर आइसके पछि प्रतिवादीहरु आई मलाई कुटपिट गरेको भनी भनेता पनि निज फिरादीको साक्षीको वकपत्रमा छोरासंग वादविवाद भई कुटपिटको वारदात भएको भनी उल्लेख गरेको देखिइ फिरादी र निजको साक्षीको वीचमा नै तथ्य सम्वन्धमा एकरुपता  देखिन  आएन ।त्यस्तै वादीका साक्षीले नै बकपत्र गर्दा यी प्रतिवादीहरुले कुटपिट गरेको भनि किटानीसाथ भन्न नसक्नुका साथै निजले डेढ विगाहा टाढाबाट घटना सम्वन्धी जानकारी पाएको भन्ने कुरामा सत्यता छ, भनेर स्पष्ट रुपमा भन्न सकिने पनि देखिएन। साथै गडासा जस्तो घातक हतियार प्रयोग भएको भन्ने कुरा घा जांच केश फारामबाट खुल्न आएको पनि देखिएन । यस्तो स्थितिमा शुरु महोत्तरी जिल्ला अदालतले गरेको इन्साफ उल्टी गरी प्रतिवादीहरुलाई सफाइ दिने गरेको पुनरावेदन अदातल, जनकपुरको इन्साफ मनासिब देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको  पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गोपालप्रसाद खत्री

 

इति सम्वत २०५६ साल वैशाख २३ गते रोज ५ शुभम ।