निर्णय नं. ६७६ – जग्गा खिचोला
निर्णय नं. ६७६ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत्...
निर्णय नं. ६७६ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी
सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्वर १६१
फैसला भएको मिति : २०२८।१२।१९।६
निवेदक : का.जि.डिल्लीबजार घर भई हाल विराटनगर बस्ने क.हरिविर खत्री क्षेत्री
विरुद्ध
विपक्षी : का.जि.कमलपोखरी बस्ने केशरबहादुर के.सी.
मुद्दा : जग्गा खिचोला
(१) ऐनबमोजिम गर्नु भन्ने एकछापे अगावै उजूर परिराखेको कलममा उक्त एकछापेको कुनै असर पर्न नसक्ने ।
तत्काल प्रचलित जग्गा मिच्नेको १३ नं.मा झगडा परी सरकारबाट थुनुवा भएको जग्गा मामला नफर्छी आफ्नो हक पुग्ने भए पनि अर्कालाई केही व्यहोराले पनि दिन र लिनेले पनि जानी जानी लिन दिन हुँदैन दिए लिए वात लाग्छ भन्ने व्यवस्था भएको प्रस्तुत मुद्दामा सोअनुसार झगडा परी सरकारबाट थुनुवा भएको जग्गा लिएदिएको भन्ने नभएको र १ छापे बमोजिम रोक्का भएको भन्ने हकमा देवलालको जग्गा रोक्का राख्ने सम्बन्धमा तत्कालीन श्री कम्याण्डर इन्चीफबाट ०४।४।१६ मा एकछापे भएकोमा ०४।४।१७ गते वादीले देवलालबाट बन्धकी लिखत गराई लिएको देखिन्छ, तापनि उक्त १ छापेमा देवलालको यो यो जग्गा रोक्का राख्नु भन्ने किटानी उल्लेख नभई केसरबहादुरको अर्को कारिन्दा मदनबहादुरले देवलालको जग्गा जमीन जायजेथा देखाई उजूर गर्न आएमा निजको हक ठहरेको जग्गा जमीन जायजेथा रोक्का गरी राखिदिनु भन्नेसम्म उल्लेख भएको वास्तवमा उक्त १ छापे बमोजिम २००४ साल आश्विनमा मात्र देवलालको यो यो जग्गा रोक्का राख्नु भनी मोरङ गोश्वाराबाट विराटनगर माललाई लेखिपठाई रोक्का राखेको र सो रोक्का राखेको तत्कालीन प्राइम मिनिष्टर श्री ३ महाराजबाट ०५।९।३०।५ मा मात्र सदर भएको समेत देखिन आएकोले मोरङ गोश्वाराले रोक्का राखेको र सो रोक्का राखेको श्री ३ महाराजबाट सदर भएको उपरोक्त मितिभन्दा अगावै ०४।४।१७ मा झगडा परेको जग्गा वादीले देवलालबाट बन्धकी लिखत गराई लिएदिएकोलाई रोक्का भइसकेपछि लिएदिएको भन्न मिलेन । हुकूमको युक्ति परेको उपरोक्त ०५।९।३०।५ को १ छापेमा उजूर परी रहेको देखिएको जग्गाको हकमा उजूर परिरहेबाट ऐनबमोजिम जो हुन्छ सोहीबमोजिम गर्ने गरी दिनु भन्ने हुकूम बक्सेको भन्ने बोली परेकोले सो अगावै पास गराइपाउँ भन्ने वादीको नालिस परिराखेको कलममा उक्त एकछापेले कुनै असर पुर्याएको अर्थ आउन पनि सक्दैन ।
(प्रकरण नं. १५)
(२) पछिको दर्ता दाखिल खारेजले पहिले नै बन्धकी लिखत गराई लिनेको बन्धकी हकमा असर पुर्याउन नसक्ने ।
झगडा परेको जग्गा देवलालको नाउँबाट केसरबहादुरको नाउँमा ०८।१२।१५।५ मा दाखिल दर्ता गराएको भन्ने हकमा उक्त दाखिल खारेजको १ नं. फाराममा यो कारणले देवलालको नाउँबाट केसरबहादुरको नाममा दर्ता हुन आएको भन्ने कुनै व्यहोरा जनिएको छैन । सो कुरा पटवारीको रिपोर्ट समेतबाट पनि खुल्न सकेको पाइएन । हुकूमको युक्ति परेको उक्त ०५।९।३०।५ को एकछापेमा जग्गा केसरबहादुरका नाममा दर्ता दाखिल खारेज गरी बहाली दिने कुराको हकमा ऐनसवालको रीत पुगेपछि हुने भन्ने उल्लेख भएको आफ्नो नाममा दाखिल दर्ता हुने ऐनसवालको रीत पुगी दाखिल दर्ता भएको सबूद प्रतिवादी केसरबहादुरबाट कुनै आउन नसकेको समेत हुँदा पहिले रोक्का भई पछि हु.प्र.एकछापे बमोजिम केसरबहादुरका नाममा दर्ता हुन आएको भन्ने कुरालाई समर्थन नगर्ने पछिको उक्त दर्ता दाखिल खारेजले पहिले नै बन्धकी लिखत गराई लिने वादीको बन्धकी हकमा कुनै असर पुर्याउन सक्दैन ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट :
उल्लिखित मुद्दा :
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. देवलाल ढुङ्गाना जैशीले मलाई गरिदिएको सावाँ कं. रू. ८४१९ मा प्रवेली मौजे सोनापुरको ८४ नं. को रैती फिकिर चन्द भन्ने ७० सालको नम्वरीबाट निजै आसामीका नाउँमा दर्ता हुन आएको तपसीलबमोजिमको हक नम्बरको पोत कं.रू.४३।।३ लाग्ने जग्गा विगाहा ८।।४.१ निज आसामीले सो माथि लेखिएका रुपैयाँमा दृष्टि लेखिदिएको तमसुक पास गराइपाउँ भन्ने मेरो नालिस परी रा.का.दे.पै.बाट ०१३।६।३।३ मा भोगबन्धकी पास भएबमोजिम जग्गा चलन गर्न जाँदा चलन गर्न नदिएकोले चलन चलाइपाउँ भनी मो.वि.अ.त.मा दर्खास्त दिँदा ०१४ साल फागुन २० गते चलन चलाइदिएको हो साल १ को ठेक्का धान मन ४२ बुझाउने गरी नन्दराजले बर्ष ३ को निमित्त ठेक्काको कबुलियत गरी मबाट पट्टा पुर्जिसमेत लिई गएपछि यही श्रावण ३० गते नन्दराज आई अन्याय जना ३ समेतको हुल हुज्जत समेत गरी खेती गर्न दिएन भनी भन्न आउँदा आफूलेसमेत बुझ्दा खिचोलाका साथ हुल हुज्जतसमेत गरी अशान्तिसमेत गर्ने यकिन बुझेको मेरो भोगबन्धकी सदर भई अड्डाबाट चलन चलाइसकेको जग्गामा खिचोला गरे वापत सजाय गरी खिचोला मेटाई चलन चलाई पाउँ भन्नेसमेत वादी ।
२. वादीले खिचोला गर्यो भनी हामीहरू उपर दावी लिएको जग्गाहरू सबै शिक्षा मन्त्रालयका सेक्रेटरी श्री केशरबहादुरजीको भई वहाँको मञ्जुरीले वहाँहरूलाई साली–आना वटैदारले बाली बुझाउने गरी हामीहरूले कमाई आएको जग्गा हो झुट्टा दावीबाट अलगत फुर्सत गरी पाउँ भन्नेसमेतको हरिना थारुसमेतको प्रतिवादी ।
३. सेक्रेटरी केशरबहादुरको जग्गाहरू वटैयामा जोती आफ्नो जीवन निर्वाह गरी आएका मानिसले यी वादीका जग्गा खेती गर्न नदिई हटक गर्नुपर्ने आवश्यक केही नभएको वादीको फरेवी झुट्टा दावीबाट फुर्सत गराई पाउँ भन्नेसमेत फागु थारुको प्रतिवादी ।
सो जग्गा सेक्रेटरी केशरबहादुरको म्याद तामेल भएको म्यादमा हाजिर भई सो कुराको काफि हुने सबूदसमेत गुजारी मुद्दामा पैरवीसमेत गर्नुपर्ने सो भन्न नसकी म्याद नै गुजारी बसेकोले केशरबहादुरका जग्गा रहेछ की भनी त्यसतर्फ शंका लिन पनि मनासिव नपर्ने मे.वि.अ.त.बाट प्रमाणलाई मिसिल झिकी हेर्दा सो जग्गाको रुपैयाँ नबुझाएसम्म दृष्टि लेखिएको जग्गा भोगगर्न पाउने गरी फैसला भई वादीलाई चलनसमेत चलाई दिएको देखिएको हुनाले केशरबहादुरको जग्गा हो भन्ने प्रतिवादीको भनाई देखिँदा वादी दावीबमोजिमको जग्गा बिगाहा ८।।४।१ बुझीएसम्मका प्रमाण परिबन्धबाट प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्नेसमेत मो.वि.अमीनीको फैसला ।
४. रा.का.देवानीमा हाजिर रहेको से.केशरबहादुरको म्याद गुज्रन्छ भनी भन्न मनासिव नपरेकोसमेतबाट अमिनीले गरेको फैसला सदर मान्न नहुने हुँदा खारेज गरिदिने से.केशरबहादुरलाई बन्द सवाल पठाई बन्द सवाल तामेल भई आएपछि ऐनबमोजिम मुद्दा किनारा गर्नु भनी रिपोर्ट मिसिल मो.वि.इ.अ.मा पठाई दिने भन्नेसमेत मो.वि.जि.अ.को तोक आदेश ।
५. जम्मा १२ कित्ता जग्गा विगाहा ८।।४ समेत ०५ सालमा मेरो निवेदन परी काम गर्ने कारिन्दा देवलालका नाउँमा दर्ता गरेको भए बदर गरी दिनु भन्ने हु.प्र.बमोजिम १ छापेबाट मेरो नाउँमा दर्ता हुने रिपोर्ट तोक सदर भएबमोजिम उक्त जग्गाहरू मेरो नाउँमा दर्ता गरी आएको मेरो हक जग्गा हो वादीको भनाई झुट्टा हो सो जग्गाहरू वादीको हक होइन भन्नेसमेत सेक्रेटरी केशरबहादरको बयान ।
६. मुद्दा चाँडै छिनी पाउँ भन्नेसमेत क.हरिवीरको निवेदनपत्रमा धरान जिल्ला अदालत के यसमा व्यहोरा साँचो भए इलाका अदालतमा परेको मुद्दाको मिसिल झिकी हेरी ऐन सवालबमोजिम चाँडो गरी दिनु होला आदेश भएको जनाउ निवेदकलाई दिनु होला भन्ने पूर्वाञ्चल उच्च अदालतको आदेश ।
७. क.हरिवीरको अघि परेको मुद्दाको फैसलाको नक्क्लबाट ०२।११।२१ गते दृष्टिबन्धकीको शुरु कागज भई त्यसपछि ४।४।१७ गते भोगबन्धकी कागज भएको पास गरी पाउँ भनी नालिस गरेको अन्जाम गर्दा ०४।१०।१६ गते ६ महिना पुगी त्यस उप्रान्त ३५ दिनभित्र ऐनबमोजिम नालिस परी पास हुने फैसला भएको नक्कलबाट देखिएकोले ०४ साल माघ १६ गते उप्रान्तबाट लिखत पासको मुद्दा शुरु भएको देखिने र क.हरिवीरको शुरु कागज ०३ साल फागुण २१ गतेबाट गठन भएको हुकूम प्रमांगी ०५।९।३० गते भएको देखिएकोले हुकूम प्रमांगी हुँदा क.हरिवीरको तर्फको लेना बाँकीमा दृष्टि भोगबन्धकी देखिएको व्यहोरा जाहेर नभई सेक्रेटरी केशरबहादुरका बिन्तिपत्रबाट कारवाई भई हुकूमको १ छापे भएको क.हरिविरको शुरु लिखत भन्दापछि भएको देखिन आएको हुकूम प्रमांगीमा पनि दर्ता दाखिल गरी बहाली दिने कुराको हकमा ऐनसवालको रित पुगेपछि हुने हुनाले अहिलेलाई रोक्का भइरहेको जग्गाहरूमध्ये उजूरी देखिएको जति बाहेक गरी केशरबहादुरले चलन भोग गर्ने फुकुवा दिनु भन्ने बोली लेखिएकोले ०३।११।२१ गते र ०४।४।१७ को लिखत समेतबाट सो जग्गामा भोगबन्धकीमा भोग चलन गर्न पाउने हक वादी क.हरिवीरको देखिन आएका हुकूम प्रमांगीबमोजिम गर्दा जित्नेले हार्ने, हार्नेले जित्ने पर्न जाने रहेछ वा केही कारणले दोहर्याई जाहेर गरीकन मात्र गर्नुपर्ने हाकिमका चित्तले मनासिव देखिएकोमा समेत जाहेर गरी तोक भएबमोजिम गर्नु भएको र अड्डाबाट देखिन आएबमोजिम गर्दा हुकूम प्रमांगीमा असर पर्न जाने भएकोले यस मुद्दामा बुझीए देखिएसम्मका मिसिल कागजबाट आफ्नो रायसमेत लेखी जाहेर गरेको छु भन्नेसमेत जि.अ.धरान मुकाम विराटनगरको जाहेरी फैसला ।
८. इन्साफ उल्टाई हक इन्साफ पाउँ भन्नेसमेत केशरबहादुरको पुनरावेदन ।
९. देवलाल ढुंगाना जैशीले मलाई कं.रू.८४१९। मा जग्गा बिगाहा ८।।४.१ दृष्टि लेखीदिएको पास गरी पाउँ भन्ने मेरो नालिस परी रा.का.दे.पहिला फाँटबाट ०१३।६।३।३ मा भोगबन्धकी पास गरी दिने गरी भएको फैसलाबमोजिम भोगबन्धकी पास भएबमोजिम जग्गा चलन गर्न जाँदा चलन नदिएकोले चलन चलाई पाउँ भनी दर्खास्त दिँदा मलाई चलन चलाई दिएको हो । नन्दराजले मसँग ०१५ सालदेखि १७ साल तक बर्ष ३ को निमित्त ठेक्काको कबुलियत गरी पट्टा पुर्जिसमेत लिई गई पछि यही श्रावण ३० गते आई अन्याय जना ३ समेतले खेती गर्न दिएन भनी भन्न आउँदा के भएको हो भनी आफूलेसमेत बुझ्दा खिचोलाका साथ हुल हुज्जत समेत गरी आशान्ति समेत गर्ने यकिन बुझेको खिचोला मेटाइ चलन चलाई पाउँ भन्नेसमेत वादी दावी भएकोमा प्रतिवादीले प्रतिवाद गर्दा वादीले खिचोला गर्यो भनी हामीहरू उपर लिएको जग्गाहरू सबै सेक्रेटरी केशरबहादादुरजीको भई वहाँँको मञ्जुरीले वहाँलाई सालीआना वटैयादारले बाली बुझाउने गरी हामीहरूले कमाई आएको जग्गा हो भन्नेसमेत उल्लेख गरेको देखिएकाले जग्गामा कसको हक पुग्छ र वादी दावीबमोजिम प्र.हरूले खिचोला गरेको हो होइन विचार गर्नु परेको छ । मिसिल सामेल रहेको ०४ साल श्रावण १६ गतेको कागजमा मेजर कप्तान केशरबहादुर खत्री क्षेत्री एम.ए.ले बिन्तिपत्र चढाई पठाएको रहेछ हाम्रा हजुरमा जाहेर भयो भन्ने र देवलाल ढुंगाना जैशीको जग्गा जम्मा जायजेथा देखाई उजूर गर्न आएमा निजको हक ठहरेको जग्गा जमीन जायजेथा रोक्का गरी राखी दिनु भन्नेसमेत र ०४ साल आश्विनमा मोरङ गोश्वाराबाट विराटनगर माललाई लेखेको पत्रमा देवलाल ढुगाना जैशीको नाउँमा दर्ता भई मेजर केशरबहादुरको चलनमा रहेको तपसीलको जग्गा रोक्का गरी राख्नु पर्ने भएकोले लिखतपास गर्न नपाउने गरी रोक्का राख्ने काम गर भन्नेसमेत लेखिएको पाइन्छ । यसबाट वादीको आसामी देवलालको जग्गामा निजको पास गराई पाउँ भन्ने नालिस पर्नु भन्दा अगावै नपाउने गरी रोक्का रहेको कुरामा कुनै शंका रहेन । प्रमाण निमित्त आएको वादी क.हरिवीर प्रतिवादी देवलाल भएको लिखतपास मुद्दामा वादीको फिराद ०५।१।८।३ मा परेको देखियो । उक्त उल्लेख गरिएबमोजिम जग्गा रोक्का भइसकेपछि मात्र क.हरिवीरको पास गराई पाउँ भन्ने नालिस परी एक तर्फीबाट ०१०।१०।१५ मा फैसला भएको देखियो । मिसिल सामेल रहेको ०८ सालको फाराम हेर्दा झगडा परेको जग्गा केशरबहादुरका नाउँमा दाखिल खारेज भएको देखिएकोले वादीको लिखतपास हुने ठहरी फैसला भए तपानि सो मिति भन्दा अगावै केशरबहादुरका नाउँमा जग्गा दर्ता भएको र सो दर्ता उपर ऋणी देवलालको उजूर परेको मिसिलबाट कतै देखिँदैन । यस अदालतका ०२५।२।२९ का आदेश बमोजिम ०२६।२।२४ मा देवलालले गरेको कागजमा हेर्दा केशरबहादुर, ल्हासाको वकिल भई गई रहेको अवस्था, वहाँको मौजाहरूको दाम खरीद गरिरहेको थिएँ मेरो नाउँमा जग्गाहरू खरीद गरिरहेको थिएँ पछि हुकूम प्रमांगी भई मेरा नाउँमा दर्ता रहेको जग्गाहरू रोक्का गरी केशरबहादुरका नाउँमा दर्ता गरी दिनु भन्ने हुकूम प्रमागी भई केशरबहादुरका नाउँमा दर्ता हुन गएको हो भन्नेसमेत उल्लेख भएकोबाट उक्त देवलालकै कागजबाट पनि निजको जग्गा भन्ने देखिन नआई केशरबहादुरको जग्गा भन्ने कुरा देखिन आएको छ । प्रस्तुत मुद्दाको प्रतिवादीहरूले प्रतिउत्तर दिँदा पनि वादीले खिचोला गर्यो भनी हामीहरूउपर दावी लिएको जग्गाहरू सबै सेक्रेटरी केशरबहादुरजीको भई वहाँहरू वटैदारले बाली बुझाउने गरी कमाई आएको जग्गा हो भनी प्रष्ट उल्लेख गरेको पनि देखियो । वादीले देवलाल उपर दिएको पास मुद्दा र चलन चलाई पाउँ भन्ने मुद्दामा केशरबहादुरलाई प्रतिवादी बनाएको र निजलाई बुझेको पनि देखिएन । अतः उपरोक्त लेखिएका कारण र प्रमाणको आधारमा वादी क.हरिवीरको आसामी देवलाल ढुंगानाको झगडा परेको जग्गामा हक नपुगी प्र.केशरबहादुुरको हक ठहर्ने र यस्तो जग्गामा खिचोला मेटाई पाउँ भन्ने वादीको दावी नपुग्ने ठहर्छ । वादीको थैलीको हकमा आसामीउपर ऐनबमोजिम वादीले उजूर गरी लिन पाउने नै हुँदा त्यसतर्फ प्रस्तुत मुद्दाबाट विचार गरिरहनु परेन भन्ने ०२६।६।२।५ को डिभिजन बेञ्चको फैसला ।
१०. सो इन्साफमा चित्त बुझेन दोहर्याइपाउँ भन्ने वादी क.हरिवीर खत्रीले चढाउनुभएको विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट फैसला भएको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु निवेदकलाई जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभाग राजदरवारबाट लेखिआएको ०२७।१२।१७।३ को हुकूम प्रमांगी ।
११. बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्नको निमित्त नियमबमोजिम लगतमा दर्ता गरी मिसिल झिकाई निवेदकलाई दिन ७ सातको र विपक्षीलाई दिन १५ पन्ध्रको म्याद दिई झिकाई आएपछि फुल बेञ्चमा पेश गर्नु भनी फाँटमा बुझाइदिनु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको ०२७।१२।२३।२ को आदेश ।
१२. मुद्दा दोहर्याइपाउँ भनी दिएको निवेदनपत्रमा फैसलाको नजीर उल्लेख गरिराखेको मुद्दाहरूको रेकर्ड मिसिल संलग्न गरी साथै राखी अर्को पेशीको तारिख तोकी नियमबमोजिम पेश गर्नु भन्ने ०२८।९।१३।३ को फुल बेञ्चको आदेश ।
१३. यसमा तारिखमा रहेका दुवै पक्षका वारिश रोहवरमा रही ०२८।१२।११।६ मा पेश भई निवेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा देवलाल ढुंगानाले मबाट रू.८४।९। कर्जा लिई जग्गा विगाहा ८।।४.१ बन्धकी लेखिदिएको तमसुक पास गराइपाउँ भन्ने मेरो नालिस परी भोगबन्धकी पास गरिदिने गरी रा.का.दे.पै.बाट भएका फैसलाबमोजिम पास भई जग्गा चलन गर्न नदिएमा अर्को नालिस परी रा.का.दे.पै.को ०१३।६।३।३ को फैसलाबमोजिम चलनसमेत पाएको उक्त जग्गामा खिचोला गरेकोले खिचोला मेटाइपाउँ भन्ने वादीको दावी र मेरो निवेदन परी कारिन्दा देवलालको नाममा दर्ता गरेको भए बदर गरिदिनु भन्ने हु.प्र.बमोजिम १ छापेबाट मेरो नाममा दर्ता हुने रिपोर्ट तोक सदर भई ०८ सालमा मेरो नाममा दर्ता भएको मेरो हकको जग्गा हो भन्नेसमेत प्रतिवादी केशरबहादुरको बयान जिकिर भई जग्गामा विवाद उठेको रहेछ ।
१४. मिसिलमा पेश भइराखेको कागज र प्रमाणको मिसिलहरू समेत अध्ययन गरी हेर्दा यता वादीपट्टि देवलालले गरिदिएको ०४।४।१७ को बन्धकी तमसुक पास गराइपाउँ भन्ने ०५।१।८।३ मा वादीको नालिस परी पास हुने ठहरी ०१०।१०।१५ मा रा.का.दे.पै.बाट फैसला भई पास भएको र जग्गा चलन गर्न दिएन चलन चलाइपाउँ भन्ने वादीको अर्को नालिस परी चलन चलाइदिने रा.का.दे.पै.बाट ०१३।६।३।३ मा फैसला भई चलन चलाइदिएको समेत र उता प्रतिवादी केशरबहादुर पट्टि मोरङमा मेरो जग्गाको काम गर्ने कारिन्दा देवलालसँग रु. ३०।४० हजार बाँकी देखिन आएको निज वेपत्ता भएका छन् । निजको घर खेत मोरङमा भएको जग्गा रोक्का राखिपाउँ भन्नेसमेत ल्हासामा वकिल भइरहेको बखत निज केशरबहादुरले बिन्ति चढाई पठाएको व्यहोरा जाहेर हुँदा देवलालको हक ठहरेको जग्गा जमीन जायजेथा रोक्का गरिदिनु भन्नेसमेत तत्कालिन श्री कमाण्डर इन्चीफबाट मोरङ गोश्वारालाई २००४।४।१६ मा एकछापे भई गई सोबमोजिम जग्गा रोक्का राख्न मोरङ गोश्वाराबाट विराटनगर माललाई २००४ साल आश्विनमा पत्र लेखिपठाएको र सो जग्गा रोक्का राखेको समेत व्यहोरा श्री ३ महाराजका हजुरमा जाहेर हुँदा देवलालको नाउँमा दर्ता भई मे.क.केशरबहादुरको नामबाट भोग गरी आएको भनेको जग्गा रोक्का राखेको सदरै छ भन्ने हुकूम बक्सेको छ भन्नेसमेत युक्ति पारी तत्कालीन श्री मिनिष्टर याण्ड कम्याण्डर इन्चीफबाट ०५।९।३०।५ मा मोरङ गोश्वाराका नाममा अर्को एकछापे भई गएको झगडा परेको जग्गा ०८।१२।१५।५ मा देवलालको नामबाट केशरबहादुरका नाममा दाखिल दर्ता भए गराएको समेत देखिन्छ ।
१५. तत्काल प्रचलित जग्गा मिच्नेको १३ नं.मा झगडा परी सरकारबाट थुनुवा भएको जग्गा मामला नफर्छी आफ्नो हक पुग्ने भए पनि अर्कालाई केही व्यहोराले पनि दिन र लिनेले पनि जानी जानी लिन दिन हुँदैन दिए लिए वात लाग्छ भन्ने व्यवस्था भएको प्रस्तुत मुद्दामा सोअनुसार झगडा परी सरकारबाट थुनुवा भएको जग्गा लिएदिएको भन्ने नभएको र १ छापे बमोजिम रोक्का भएको भन्ने हकमा देवलालको जग्गा रोक्का राख्ने सम्बन्धमा तत्कालीन श्री कम्याण्डर इन्चीफबाट ०४।४।१६ मा एकछापे भएकोमा ०४।४।१७ गते वादीले देवलालबाट बन्धकी लिखत गराई लिएको देखिन्छ, तापनि उक्त १ छापेमा देवलालको यो यो जग्गा रोक्का राख्नु भन्ने किटानी उल्लेख नभई केसरबहादुरको अर्को कारिन्दा मदनबहादुरले देवलालको जग्गा जमीन जायजेथा देखाई उजूर गर्न आएमा निजको हक ठहरेको जग्गा जमीन जायजेथा रोक्का गरी राखिदिनु भन्नेसम्म उल्लेख भएको वास्तवमा उक्त १ छापे बमोजिम २००४ साल आश्विनमा मात्र देवलालको यो यो जग्गा रोक्का राख्नु भनी मोरङ गोश्वाराबाट विराटनगर माललाई लेखिपठाई रोक्का राखेको र सो रोक्का राखेको तत्कालीन प्राइम मिनिष्टर श्री ३ महाराजबाट ०५।९।३०।५ मा मात्र सदर भएको समेत देखिन आएकोले मोरङ गोश्वाराले रोक्का राखेको र सो रोक्का राखेको श्री ३ महाराजबाट सदर भएको उपरोक्त मितिभन्दा अगावै ०४।४।१७ मा झगडा परेको जग्गा वादीले देवलालबाट बन्धकी लिखत गराई लिएदिएकोलाई रोक्का भइसकेपछि लिएदिएको भन्न मिलेन । हुकूमको युक्ति परेको उपरोक्त ०५।९।३०।५ को १ छापेमा उजूर परी रहेको देखिएको जग्गाको हकमा उजूर परिरहेबाट ऐनबमोजिम जो हुन्छ सोहीबमोजिम गर्ने गरी दिनु भन्ने हुकूम बक्सेको भन्ने बोली परेकोले सो अगावै पास गराइपाउँ भन्ने वादीको नालिस परिराखेको कलममा उक्त एकछापेले कुनै असर पुर्याएको अर्थ आउन पनि सक्दैन ।
१६. झगडा परेको जग्गा देवलालको नाउँबाट केसरबहादुरको नाउँमा ०८।१२।१५।५ मा दाखिल दर्ता गराएको भन्ने हकमा उक्त दाखिल खारेजको १ नं. फाराममा यो कारणले देवलालको नाउँबाट केसरबहादुरको नाममा दर्ता हुन आएको भन्ने कुनै व्यहोरा जनिएको छैन । सो कुरा पटवारीको रिपोर्ट समेतबाट पनि खुल्न सकेको पाइएन । हुकूमको युक्ति परेको उक्त ०५।९।३०।५ को एकछापेमा जग्गा केसरबहादुरका नाममा दर्ता दाखिल खारेज गरी बहाली दिने कुराको हकमा ऐनसवालको रीत पुगेपछि हुने भन्ने उल्लेख भएको आफ्नो नाममा दाखिल दर्ता हुने ऐनसवालको रीत पुगी दाखिल दर्ता भएको सबूद प्रतिवादी केसरबहादुरबाट कुनै आउन नसकेको समेत हुँदा पहिले रोक्का भई पछि हु.प्र.एकछापे बमोजिम केसरबहादुरका नाममा दर्ता हुन आएको भन्ने कुरालाई समर्थन नगर्ने पछिको उक्त दर्ता दाखिल खारेजले पहिले नै बन्धकी लिखत गराई लिने वादीको बन्धकी हकमा कुनै असर पुर्याउन सक्दैन ।
१७. वादी दावीको जग्गा फकिरचंबाट देवलालले २००१।३।१५ मा पास गराई लिएको २०००।४।३०।२ को राजीनामा लिखत हेर्दा त्यसमा केशरबहादुरको कुनै उल्लेख नभएकोले त्यसबाट जग्गामा देवलालकै हक कायम भएको प्रष्ट हुन्छ । त्यस्तो आफ्नो हक भएको जग्गा देवलालले वादीलाई बन्धकी लेखी दिन नपाउने कुनै कारण देखिन नआएको समेत हुँदा वादीको बन्धकी हक कायम नहुने भन्न कानूनले मिल्ने देखिँदैन ।
१८. हाल देवलालले ०२६।२।२४।६ मा कागज गर्दा झगडा परेको जग्गा केशरबहादुरकै मौजाको आयस्ताले किनेको निजकै हकको हो भन्ने लेखेको छ तापनि माथि उल्लेख भएबमोजिम भएकाले पहिलेको वादीको न्हेडिक नतिरी केशरबहादुरले पछिको दर्तासमेतको नाताबाट जग्गा चलन गर्न पाउने अवस्था आउँदैन बन्धकी थैली नतिरेसम्म झगडा परेको जग्गामा वादीकै बन्धकी हक कायम हुन्छ । तसर्थ उपरोक्त उल्लेख भएबमोजिम कारणहरूसमेतबाट वादीको बन्धकी हकको जग्गामा प्रतिवादी केशरबहादुरले दावी खिचोला गरेको ठहर्छ वादी दावी नपुग्नेसमेत गरी ०२६।६।२।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्नु ।
तपसील
वादी क.हरिवीर खत्री के ०२६।६।२।५ को डिभिजन बेञ्चको फैसलाले रू.५२।५३ जरिवाना लाग्ने गरी त्यसमा धरान जि.अ.को फैसलाले लिने गरेको सलामी रू.१। कटाई बाँकी रू.५१।५३ असूल गर्ने गरेको नलाग्ने हुँदा सोअनुसार गर्नु पर्दैन उक्त रू.५१।५३ सर्वोच्च अदालतमा ०२८।३।७।२ मा तिरे बुझाएको कानूनको रितपुर्याई फिर्तादिनु भनी कानूनबमोजि लगत दिनु …………………….१
प्रतिवादी केशरबहादुर खत्री के धरान जि.अ.को ०१८।१२।३ को फैसलाले गर्ने गरेको जरिवाना रू.१। डिभिजन बेञ्चको ०२६।६।२।५ को फैसलाले नलाग्ने गरेकोमा लाग्नेनै हुँदा सो अनुसार गर्नु पर्दैन धरान जि.अ.को फैसलाबमोजिम लगत कायमै राख्नु भनी ऐ………………२
तत्कालिन जि.अ.धरानका न्या.त्रैलोक्यराजको ०२६।६।२।५ को डिभिजन बेञ्चको फैसलाले उल्टीको रेकर्ड राख्ने गरेको लगत काटी दिनु भनी सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु ……………………..३
प्रतिवादी क.हरिवीर खत्री कै निजले मुद्दा दोहर्याउँदा दाखिल गरेको कोर्ट फी रू.१०।४० प्रतिवादी केशरबहादुर खत्रीबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को संशोधित दफा १५(११) बमोजिम ३ वर्षभित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी कानूनबमोजिम लगत दिनु ………………..४
नियमबमोजिम मिसिल बुझाई दिनु ……………………५
न्या. चन्द्रप्रसाद प्रधान
न्या. ब्रम्हदत्त तिवारी
उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२८ साल चैत्र १८ गते रोज ६ शुभम् ।