निर्णय नं. ६७५९ – लागू औषध
निर्णय नं. ६७५९ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत् २०५२ सालको फौ.पु.नं. .....
निर्णय नं. ६७५९ ने.का.प. २०५६ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
संवत् २०५२ सालको फौ.पु.नं. .. १४४७
संवत २०५३ सालको फौ.पु.नं. १५०६
फैसला मितिः २०५५।९।९।५
मुद्दाः लागू औषध ।
पुनरावेदक
प्रतिवादीः रुपन्देही जिल्ला कटैया गा.वि.स. वडा नं. १ घर भई हाल नख्खू कारागारमा थुनामा रहेको हर्क पुनमगर
विरुद्ध
विपक्षी
वादीः प्र.नि. थम पाण्डे समेतको जाहेरीले श्री ५ को सरकार
पुनरावेदक
वादी : प्र.नि. थम पाण्डे समेतको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी
प्रतिवादी : मोरङ जिल्ला दा.वै. गा.वि.स. वडा नं. १ वस्ने कृष्ण तिवारी समेत
§ जहांसम्म उल्लेखित लागू औषध आफूले सेवन गर्नको लागि खरिद गरि ल्याई साथमा लिई हिडेको हुं, विक्रि वितरणको लागि ल्याएको होइन भन्ने निजले जिकिर लिएको छ, सो सम्वन्धमा हेर्दा ८०० ग्राम लागू औषध प्रतिवादी हर्क पुनले आफैले सेवन गर्नको लागि मात्र खरिद गरि ल्याई वोकी हिडेका होलान् भन्ने अनुमान गर्नु विश्वासनीय र व्यवहारिक हुने देखिंदैन । यस सम्वन्धमा वादी श्री ५ को सरकार प्रतिवादी श्याम कुमार श्रेष्ठ समेत भएको लागू औषध मुद्दामा यस अदालतको संयुक्त इजलासवाट मिति २०४७।५।२०।४ मा (ने.का.प. २०४८ अंक ५ पृष्ठ संख्या २१२ नि.नं. ४२९४) कुनै व्यक्तिको साथवाट वरामद भएको लागू औषधको परिमाण पनि विचारणीय हुनेू भनि सिद्धान्त समेत प्रतिपादन भइरहेको देखिंदा उक्त सिद्धान्तवाट समेत वरामद भएको त्यति ठुलो परिमाणको लागू औषध हेरोइन प्रतिवादीले आफ्नो सेवनको लागि मात्र ल्याएको भन्ने कथन पत्यारलायक नदेखिंदा निज हर्क पुन मगरलाई अभियोग पत्र माग दावी अनुसारको कसुरदार ठहर्याई सजाय गरेको हद सम्म शुरुको इन्साफ सदर कायम गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै हुंदा सदर हुने।
(प्र.नं. ३१)
§ मुख्य अभियुक्त हर्क पुन मगरको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानमा यी प्रतिवादीहरुलाई समेत पोलेको देखिन्छ तापनि अदालत समक्ष वयान गर्दा आफूले ८०० ग्राम हिरोइन ल्याएको कुरा स्वीकार गरेको तर यी प्रतिवादीहरुलाई चिनेको छैन भनि लेखाई दिएको देखिएवाट यी प्रतिवादीहरु कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल कसुरदार हुन् भन्ने कुरालाई गढाउ हुने तथ्ययुक्त एवं स्वतन्त्र प्रमाणको अभावमा सहअभियुक्त हर्क पुन मगरले केवल प्रहरीमा गरेको पोल कै आधारमा मात्र निजहरुलाई मतियारको रुपमा कसुरदार ठहराई सजाय गर्न नमिल्ने हुंदा निज प्रतिवादी कृष्ण तिवारी र चन्द्र्रकान्त सिग्देलले सफाइ पाउने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. ३२)
पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री राजनारायण पाठक
विपक्षी वादी तर्फबाटः
अवलम्वित नजिरः ने.का.प. २०४८ अंश ५, पृष्ठ संख्या २१२ नि.नं. ४२९४
फैसला
न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत पाटनको मिति २०५२।८।१९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तरगत यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छः
२. मिति २०५०।१०।८ गतेका दिन काठमाडौं ठमेलमासंग साथमा हिडिरहेका हर्कपुन, कृष्ण तिवारी र चन्द्रकान्त सिग्देलको शरिर तलासी गिर्दा हर्कपुन मगरको साथबाट लागू औषध खैरो हिरोइन ८०० (आठसय) ग्राम बरामद भएको हो भन्ने समेत व्यहोराको मौका वरामदी मुचुल्का ।
३. मिति २०५०।१०।८ गतेका दिन हर्कपुन मगर, कृष्ण तिवारी, चन्द्रकान्त सिग्देल समेत ३ (तीन) जना काठमाडौं ठमेलमा हिडिरहेको अवस्थामा निजहरुको शरिर तलासी गर्दा हर्क पुनमगरको साथवाट ८०० (आठसय) ग्राम लागू औषध हिरोइन बरामद भएको हुंदा मौका वरामदी मुचुल्का गराई मुचुल्का मानिसहरु र दशीसमेत आवश्यक कारवाहीको लागि दाखिला गरेका छौं भन्ने समेत व्यहोराको प्रहरी निरीक्षक थम पाण्डे समेतको प्रतिवेदन ।
४. कृष्ण तिवारी मेरो पुर्व परिचित साथी भएको हुदा निजले लागू औषध लिइ आउने फाइदा मलाई पनि दिनुपर्छ भनेको हुंदा मैले लागू औषध हिरोइन ८०० ग्राम भारत रक्सौल गै कैखान भन्ने मुसलमानसंग ने.रु.१,६०,०००। मा खरिद गरि काठमाडौं ल्याई कृष्ण तिवारीसंग भेटी हिरोइन खरिद गर्ने मानिस खोज भनि भन्दा निजले चन्द्रकान्त सिग्देललाई समेत साथमा लिई मिति २०५०।१०।८ गतेका दिन उक्त लागू औषध हिरोइन कृष्ण तिवारी, चन्द्रकान्त सिग्देल र म भै राज रेष्टुरामा वस्छु भनेको मनाङ्गेलार्ई हिरोइन विक्री गर्न भनी जान लागेको अवस्थामा प्रहरीले रेष्टुरामा नपुग्दै म समेतलाई पक्राउ गरि शरिर तलासी गर्दा मेरो साथवाट लागू औषध हिरोइन ८०० ग्राम वरामद भएको हो, उक्त लागू औषध हिरोइन २ लाख ५० हजारमा विक्री गर्ने कुरो भएको थियो । विक्री भै सकेपछि कृष्ण तिवारीलाई मैले २०००। दिन्छु भनेको थिए भन्ने समेत व्यहोराको प्र. हर्क पुनमगरले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान ।
५. मेरो र हर्क पुनमगरको सल्लाह अनुसार निज हर्क पुनमगरले लागू औषध हिरोइन भारत रक्सौलवाट ल्याई विक्री गर्ने भनी चन्द्रकान्त सिग्देल, हर्क पुनमगर र म समेत भै राज रेष्टुरामा जान भनी लगेको अवस्थामा प्रहरीले मलाई समेत पक्राउ गरी शरिर तलासी गर्दा हर्क पुनमगरको साथवाट ८०० ग्राम लागू औषध हिरोइन वरामद भएको हो उक्त लागू औषध हिरोइन विक्री भै सकेपछि निज हर्क पुनमगरले मलाई ने.रु.२०,००० (विस हजार) दिन्छु भनेको थिए । सोही वीस हजार रुपैया मध्येवाट १० हजार रुपैया मैले चन्द्रकान्त सिग्देललाई दिउला भनेको थिएं। निज चन्द्रकान्त सिग्देलले लागू औषध हिरोइन खरिद गर्ने मनाङगे भन्ने मानिस आएका वखत मेरो अफिसमा फोन गरि दिनु भन्ने कुरा निज चन्द्रकान्त सिग्देललाई भनेको थिएं भन्ने समेत व्यहोराको कृष्ण तिवारीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।
६. कृष्ण तिवारीलाई मैले करिव १ वर्षअगाडि देखिनै चिन्दछु निजले मेरो काम गर्ने वेदका कुर्चीहरु भएको दोकानमा आई एकजना मनाङ्गे जस्तो मानिस ल्याई यिनी मानिस आए भनी मलाई अफिसमा फोन गरि दिनु भनेका थिए मैले किन भन्दा निज कृष्ण तिवारीले हर्क पुनमगरले लागूऔषध हिरोइन विक्री भै सकेपछि २०,०००। दिन्छु भनेको छ मैले २० हजार मध्येवाट १० हजार तिमीलाई दिउला मनागे भन्ने मानिस हिरोइन खरिद गर्ने मानिस हुन भनी मलाई भने । मैलेपनि हुन्छ भनेको थिएं पछि एकपटक मनाङ्गे म संग भेट गर्न भनी आएका थिए । मैले कृष्णजीलाई फोन गर्ने पर्योभन्दा निजले पर्दैन कुरा मिलेको छैन भने । फेरि अर्थात मिति ०५०।१०।८ गतेका दिन मनाङ्गे भन्ने मानिस म कहां आई हिरोइन खरिद गर्ने मानिस ठमेल राज रेष्टुरामा वस्छु भनेको छ भन्ने भनेपछि हर्क पुनमगर, चन्द्रकान्त सिग्देल र म भै उक्त लागू औषध विक्री गर्न भनी जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरी मेरो समेत शरिर तलासी गर्दा हर्क पुनमगरको साथवाट ८०० ग्राम लागू औषध हिराइन वरामद भएको हो भन्ने समेत व्यहोराको चन्द्रकान्त सिग्देलले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।
७. हर्क पुनमगरको साथवाट वरामद भएको चिज लागू औषध हिरोइन हो भन्ने समेत व्यहोराको रोनाष्टको प्रतिवेदन ।
८. हर्क पुनमगरलाई लागू औषध हिरोइन सहित पक्राउ गरेको भन्ने कुरा सुनी थाहा पाएको हो अन्य कुरा थाहा छैन भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
९. हालसम्म संकलन भैआएको वरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, सर्जमिन मुचुल्का, प्रतिवादीहरुले गरेको वयान, रोनाष्टको प्रतिवेदन समेतवाट हर्क पुनमगर, कृष्ण तिवारी,चन्द्रकान्त सिग्देल समेतले लागूऔषध कारोवार गरेको देखिन आएकोले प्रतिवादी हर्क पुनमगर, कृष्ण तिवारीले लागू औषध नियन्त्रण ऐन, २०३३ को संशोधन सहितको दफा ४ को (ङ)(घ)(च) अनुसार र चन्द्रकान्त सिग्देलले ऐ. ऐनको दफाको (छ)(च) अनुसार कसुर गरेको सिद्ध हुन आएको हुंदा निजहरु हर्क पुनमगर कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल समेत उपर ऐ. ऐनको दफा १४ को खण्ड १ को (छ) को (३) अनुसार हदैसम्म सजाय हुने माग लिई संवन्धित कागजात मानिस हर्क पुनमगर, कृष्ण तिवारी, चन्द्रकान्त सिग्देल समेतलाई यसै अभियोग पत्र साथ प्रस्तुत गरिएको व्यहोरा सम्मानित अदालत समक्ष सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
१०. म आफु लागू औषध सेवन गर्दछु । मैले आफ्नै लागि भारत रक्सौलवाट सेवनको लागि खरिद गरी ल्याएको हुं । विक्री वितरणको लागि ल्याएको होइन सो लागू औषध हिरोइन म आफैले वोकी आफ्नो कोठामा जांदा प्रहरीहरु आई मलाई पक्राउ गरेका हुन । म कृष्ण तिवारी र चन्द्रकान्त सिग्देललाई चिन्दिन भन्ने समेत व्यहोराको प्र. हर्क पुनमगरले अदालतमा गरको वयान ।
११. म वाट लागू औषध, वरामद भएको होइन प्रहरीले मलाई कुटपीट गरि मेरो इच्छा विरुध्द सहिछाप गराएको हो । मैले अन्य प्रतिवादी हर्क पुनमगर कृष्ण तिवारीलाई चिन्दिन भन्ने समेत व्यहोराको प्र. चन्द्रकान्त सिग्देलले का.जि.अ. मा गरेको वयान ।
१२. म प्रतिवादीहरु कसैलाई पनि चिन्दिन म लागू औषध सेवन खरिद विक्री केहि गर्ने गर्दिन अन्य प्रतिवादीले के कसरी मलाई पोल गरी वयान गरे थाहा भएन । म यस किसिमको लागू औषधको कारोवार गर्ने व्यक्ति होइन । मलाई प्रहरीले कुटपिट गरि मेरो इच्छा विरुध्द वयान कागज लेखि सही गराएको हो । म यस किसिमको मानिस होइन भन्ने समेत व्यहोराको प्रतिवादी कृष्ण तिवारीले का.जि.अ.मा गरेको वयान ।
१३. यसमा अभियुक्तहरुले वयान गर्दा अभियुक्त मध्ये हर्क पुनले ला.औ. म वाट वरामद भएको हो मैले आफ्नो लागि भारत रक्सौलवाट खरिद गरि ल्याएको हुं । आफ्नो सेवनको लागि ल्याएको हुं । अन्य अभियुक्तहरुलाई चिन्दिन भनी वयान गरेको र निजवाट वरामद भएको कुरा पुष्टि गरेको हुंदा हर्क पुनलाई पुर्पक्षको लागि अ.वं. ११८(२) नं. वमोजिम (ख) श्रेणीको सिधा खान पाउने गरी थुनामा पठाउनु ।
१४. अन्य दुई प्रतिवादी दुवै जनाले एक अर्कालाई चिन्दैनौ, हामीबाट वरामद भएको छैन अभियुक्त हर्क पुनलाई चिन्दैनौं । हामीलाई लागू औषध सवन्धी केहि पनि थाहा छैन भनि वयान गरेता पनी निजहरुले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा हर्क पुनसंग रहेको लागू औषधलाई मान्छे खोजी विक्री गर्ने कार्यमा सहयोग गरेको, विक्री गर्ने कार्य गर्न जांदा ठमेल तिर पक्राउ परेको र विक्री गरिसकेपछि हर्क पुनसंग रकम लिने कुरा तथ्य भएको कुरा उल्लेख गरि दुवै जनाले अधिकार प्राप्त अधिकारी समक्ष आफ्नो संलग्नता भएको स्वीकार गरेको वरामदी मुचुल्का हेर्दा हर्क पुनमगरलाई लागू औषध सहित पक्राउ हुंदा कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल पनि हर्क पुनसंगै भएको सर्जमिनका व्यक्तिहरुले दुवै जना प्र.हरुलाई कारवाही भएको सुनेको र प्र. हर्क पुनले अनुसन्धान अवस्थामा वयान गर्दा कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल समेतको पूर्ण सहयोग थियो भनी स्वीकार गरेको र तत्काल प्रमाणले गर्दा अभियुक्तहरु वेकसुर भनि हाल्न मनासिव नहुंदा पछि वुझ्दै जांदा ठहरे बमोजिम हुने गरि हाल निजहरु दुवै जना समेत तीनै जना अभियुक्तहरुलाई पुर्पक्षको लागि ख. श्रेणीको सिधा खान पाउने गरि थुनामा राख्न पठाउने भन्ने समेत व्यहोराको मिति ०५०।१२।१।२ को का.जि.अ.को आदेश ।
१५. वरामदी मुचुल्काका मानिसहरु, जाहेरवाला तथा सर्जमिनका मानिसहरुलाई समेत जिल्ला सरकारी वकिल कार्यालय मार्फत वुझी र प्रतिवादीका साक्षीहरु समेत वुझी पेश गर्नु भनी मिति २०५१।४।१६ को आदेश भए अनुसार पत्र लेखि पठाउंदा पनि उपस्थित नभएको रहेछ ।
१६. प्रतिवादी लागू औषध विक्री वितरणमा संलग्न थिएन । यस्तो कारोवारमा संलग्न हुने व्यक्ति होइन, निज एक स्नातक तहको एक विद्यार्थी हुन् भन्ने समेत व्यहोराको चन्द्रकान्त सिग्देलको साक्षी राम प्रसाद लम्सालको वकपत्र ।
१७. कृष्ण तिवारीसंग चिनजान भएको ८, ९ वर्ष जति भयो निज कृष्ण तिवारी त्यतिवेला देखिनै अध्ययन कलाकारिता र जागिरको कारणले व्यस्त हुने व्यक्ति हुंदा यस्तो लागू औषधको कारोवारमा लागेको थाहा छैन गरेको पनि छैनन् भन्ने समेत व्यहोराको प्र.कृष्ण तिवारीको साक्षी माधव तिवारीको वकपत्र ।
१८. कृष्ण तिवारीलाई राम्रोसंग चिन्दछु । किनभने हामी एउटै क्याम्पसमा पढेका हौं । उ यस्तो व्यक्ति होइन हालसम्म उहांले यस्तो लागू औषध गरेको भन्ने सुनेको छैन र देखेको पनि छैन भन्ने व्यहोराको कृष्ण तिवारीको साक्षी अच्यूत वावु तिवारीको वकपत्र ।
१९. जाहेरवाला, वरामदी मुचुल्का र सर्जमिनका मानिसहरुलाई अ.वं. ११५ बमोजिम झिकाई पेश गर्नु भन्ने व्यहोराको मिति २०५१।१०।२।२ को का.जि.अ.को आदेश ।
२०. विशेष सुराकवाट वुझिन आए अनुसार चन्द्रकान्त सिग्देल समेत तिनजना व्यक्तिहरुले लागू औषध खैरो हिरोइनको कारोवार गर्दछन् भन्ने वुझिन आए अनुसार खोज तलास गर्दै जांदा का.न.पा.वडा नं. २९ स्थित ठमेलवाट सामाखुसी जाने सडकमा निजहरुलाई पक्री खान तलासी गर्दा निजहरु मध्ये हर्क पुनमगरवाट प्लाष्टिकले वेरिएको ६ वटा पोका हेरोइन वरामद भएको हो सो वरामदी हेरोइन तौल गर्दा ८०० ग्राम भएकोले कानूनको रीत पुर्याई वरामदी मुचुल्का सहित तयार पारी २०५०।१०।८ गते कार्यालयमा दाखिल गरेको हो भन्ने समेत व्यहोराको प्रतिवेदक जाहेरवाला प्रकाश सिलवाल समेतको वकपत्र ।
२१. म मोटर साईकलको लाइसेन्सको लागि आवेदन फाराम लिन हनुमानढोकामा जांदा उक्त फारम प्राप्त गर्नको लागि खोज्दै हिडेको अवस्थामा त्यहांका प्रहरीहरुले यसै कागजमा सहि गरि देउ भनेका थिए र सो कागज नहेरिकनै सहि गरि दिएको हुं । सो कागज वरामदी मुचुल्का भनि पछि मात्र थाहा भयो । वरामदी मुचुल्कामा के लेखेको थियो के लेखेको थिएन त्यो पनि मैले हेरिन । वरामदमा भएका सामानहरु मेरो अगाडि खानतलासी गरि मेरो अगाडि वरामद भएको पनि होइन । प्र. चन्द्रकान्त सिग्देल, कृष्ण तिवारी सक्रिय वा निस्क्रिय रुपमा यस कार्यमा संलग्न भएका थिएन भन्ने समेत व्यहोराका वरामदी मुचुल्काका मानिस अच्युत तिवारी समेतले वकेको वकपत्र ।
२२. प्र.हर्क पुनले अभियोग माग दावी वमोजिम ८०० ग्राम व्राउन सुगर वितरण गर्न हिडेको अवस्थामा पक्राउ परि लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ)(ङ)(च) को कसुर गरेको ठहर्छ र निजलाई उक्त ऐनको दफा १४(१)(छ)(३) अनुसार अपराधको मात्रा अनुसार १५ वर्षकैद र ५ लाख रुपैया जरिवाना हुन्छ । प्र.कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल लागू औषध खरिद विक्री कार्यमा पूर्णतः संलग्न रहेको देखिन नआई मतियारसम्म देखिन आएकाले उक्त ऐनको दफा १७ बमोजिम निजहरुलाई जनही ७ वर्ष ६ महिना कैद र रु. २ लाख ५० हजार जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.वाट मिति ०५१।१२।२२ मा भएको फैसला ।
२३. आफुलाई सफाइ दिनुपर्नेमा नदिई अभियोग माग दावी नै नभएको कसुरमा सजाय गरेको शुरुका जि.अ.को फैसला त्रुटीपूर्ण हुंदा वदर गरी सफाइ पाउं भन्ने समेत व्यहोराको प्र.कृष्ण तिवारी र प्र.चन्द्रकान्त सिग्देलको तर्फवाट पृथकपृथक रुपमा परेको पुनरावेदन पत्र ।
२४. मलाई जिरह गर्ने, प्रतिरक्षा गर्ने मौका नदिई प्रँकृतिक न्यायको सिद्धान्तको उपहास गरि भएको शुरुको फैसला त्रुटिपूर्ण हुंदा वदर गरि सजायवाट मुक्त गरी पाउं भन्ने समेत व्यहोराको प्र.हर्क पुनमगरको पुनरावेदन पत्र ।
२५. प्र. मध्येका कृष्ण तिवारी र चन्द्रकात सिग्देल समेतलाई दावी वमोजिमको कसुरदार ठहर्याई सजाय गर्नुपर्नेमा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७ बमोजिमको मतियार सम्म ठहर्याई कम सजाय गरेको शुरुको इन्साफ मिलेको नहुंदा वदर गरि निजहरु दुवै जना समेतलाई अभियोग पत्रमा माग दावी लिए अनुसार कै कसुरमा सजाय हुनुपर्छ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारका तर्फवाट पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
२६. लागू औषध प्र.मध्येका हर्क पुनवाट जफत भएको भन्न सुनेको हुं । वरामदी मुचुल्का सहि गराउन ल्याउदा प्रहरीले कृष्ण तिवारीलाई ल्याएको थिएन । अरुलाई नचिनेको हुंदा ल्याए नल्याएको थाहा भएन भन्ने समेत व्यहोराको यस अदालतको ०५२।५।२ को आदेशानुसार अ.वं. ११५ नं. वमोजिम वुझिएका वरामदी मुचुल्काका व्यक्ति वडाध्यक्ष वर्षाराम भण्डारीले पुनरावेदन अदालत पाटनमा गरेको वकपत्र ।
२७. प्र.हर्क पुनमगरले अदालतमा गरेको वयानवाट समेत निजवाट वरामद भएको दसीको ८०० ग्राम लागूऔषधलाई स्वीकार गरेको र त्यति धेरै परिमाणको लागू औषध सेवनको लागि राखेको भन्ने भनाइ विश्वासनीय र व्यवहारिक समेत नदेखिएकोले निज प्र.हर्क पुन मगरलाई अभियोगपत्र दावी अनुसारको कसुरदार ठहराई सजाय गरेको हदसम्म शुरुको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । अन्य प्रतिवादीहरु कृष्ण तिवारी र चन्द्रकान्त सिग्देलको हकमा निजहरुले प्रहरी समक्षको वयानमा विक्रीवाट केहि फाइदा लिने कुरा स्वीकार गरेको भए पनि अदालतमा वयान गर्दा सो कुरालाई इन्कार गरेको देखिन्छ । निजहरुवाट लागूऔषध वरामद भएको वरामदी मुचुल्कावाट देखिदैन र निजहरु तीनै जना एकै पटक पक्राउ परेको भन्ने पनि देखिदैन । मुख्य अभियुक्त हर्क पुनमगरले प्रहरी समक्ष वयान गर्दा यी दुई अभियुक्त कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल उपर पोल गरेको भएता पनि अदालतमा वयान गर्दा निजहरुलाई चिनेको छैनभनि वयान गरेको देखिंदा प्रहरीमा गरेको पोल कै आधारमा मात्र कसुरदार ठहराउन मिल्ने नदेखिंदा निजहरुलाई मतियारको रुपमा मात्र कसुरदार ठहर्याई सजाय गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मिलेको नहुंदा सो हदसम्म शुरुको फैसला उल्टी भै प्र.कृष्ण तिवारी र चन्द्रकान्त सिग्देलले सफाइ पाउने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५२।८।१९।३ को फैसला ।
२८. सेवनको लागि त्यति धेरै लागू औषध राखेको भन्ने भनाइ विश्वासनीय नदेखिने भन्ने पुनरावेदन अदालतको निष्कर्षले मलाई ठुलो अन्याय परेको छ । वास्तवमा म लागू औषध सेवन गर्ने मानिस मात्र हुं । मैले लागू औषध कहिले कसैलाई वेचेको छैन । मैले ८०० ग्राम लागू औषध वेचेको भन्ने कथन झुठ्टा हो । मैले आफैंले सेवन गर्न एकै पटक ९० ग्राम लागू औषध खरिद गरी ल्याएको हुं, तर प्रहरीले भने जस्तो ८०० ग्राम हिरोइन खरिद गरेको होइन । प्रहरीको कुटाईको डरले मात्र अदालतमा पनि ८०० ग्राम नै वरामद भएको कुराको वयान गरेको हुं । वास्तवमा म वाट ७५ ग्राम मात्र लागू औषध वरामद भएको हो । तसर्थ लागूऔषधको सेवनमात्र गर्ने व्यक्तिलाई लागूऔषधको ओसारपसार र विक्री गरेको अभियोगमा कसुरदार ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला अन्याय एवं त्रुटिपूर्ण हुंदा वदर गरी आरोपित कसुरवाट सफाइ पाउं भन्ने समेत प्र.हर्क पुनमगरको पुनरावेदन पत्र ।
२९. प्र. कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल हर्क पुनमगरसंग पक्राउ गरेको भन्ने तथ्य वरामदी मुचुल्का समेतवाट पुष्टी भैरहेको छ । जसलाई अदालतले अन्यथा प्रमाणित नभएसम्म शंकाको दृष्टिले हेर्न नहुने अनुमान गर्नुपर्ने भनि वाध्यात्मक प्रावधान प्रमाण ऐन, २०३१ को दफा ६(ङ) ले स्पष्ट निर्देशन गरेकै देखिंदा पुनरावेदन अदालतले प्रतिवादीहरुलाई सफाइ दिंदा लिएका आधारहरु खण्डनीय एवं वदरभागी छन । तिनै जना प्रतिवादीहरु दशी साथ एकैसाथ पक्राउ पर्नु, अधिकार प्राप्त अधिकारी समक्ष तथ्ययुक्त साविती वयान गर्नुवाट निजहरुको सलग्नता पुष्टी भैसकेको अवस्थामा अदालतमा भएको इन्कारी वयानको आधारमा मात्र दोषमुक्त गर्न मिल्ने देखिदैन । तसर्थ उपरोक्त आधार प्रमाण समेतवाट प्र. चन्द्रकान्त सिग्देल र प्र.कृष्ण तिवारीलाई सफाइ दिएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी माग दावी वमोजिम नै प्रतिवादीहरुलाई सजाय गरी पाउं भन्ने समेत २०५३।१२।१ को वादी श्री ५ को सरकारको तर्फवाट परेको पुनरावेदनपत्र ।
३०. नियम बमोजिम दैनिक मुद्दा पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा २०५०।१०।८ मा हर्क पुनमगर, प्रतिवादी चन्द्रकान्त र कृष्ण तिवारीको साथमा लागू औषध व्राउन सुगर ८०० ग्राम वोकी ठमेलको सडकमा हिडिरहेको अवस्थामा प्रहरीद्वारा पक्राउ परेकोले प्र. मध्येका हर्क पुनमगर र कृष्ण तिवारीले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ) (ङ) र (च) बमोजिम तथा प्र. चन्द्रकान्त सिग्देललाई ऐ. ऐनको दफा १४ को खण्ड १ (छ) को (३) अनुसार सजाय गरि पाउं भन्ने मुख्य अभियोगपत्र माग दावी तथा मैले आफैले सेवन गर्नको लागि लागू औषध खरिद गरि ल्याएको हो। विक्री वितरणको लागि ल्याएको होइन भन्ने प्र. हर्क पुनमगर र म वाट लागूऔषध वरामद भएको होइन र अन्य प्रतिवादीहरुलाई चिनेको छैन भन्ने समेत प्र. मध्येका कृष्ण तिवारी एवं चन्द्रकान्त सिग्देलको अदालत समक्ष वयान भएको देखिएको प्रस्तुत मुद्दामा पुनरावेदक (वादी) तर्पmका विद्वान सरकारी अधिवक्ता श्री राजनारायण पाठकले प्र. मध्येका चन्द्रकान्त र कृष्ण तिवारीको हकमा शुरु काठमाडौं जिल्ला अदालतले निजहरुलाई मुख्य कसुरदार हर्क पुनमगरको मतियार ठहराई सजाय गरेकोमा सो फैसला उल्टाई निजहरुलाई सफाइ दिएको पुनरावेदन अदालत पाटनको फैसला मिलेको छैन । किनभने ८०० ग्राम लागू औषध हिरोइन वरामद हुंदा यी प्रतिवादीहरु चन्द्रकान्त र कृष्ण तिवारी पनि प्र. हर्क पुनमगरका साथमा रहेको कुरा वरामदी मुचुल्काका मानिसहरुले अदालतमा वकपत्र गर्दा समेत खुलाई दिएका छन् । साथै प्र.हर्क पुनमगरले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानलाई मान्यता दिई कसुरदार ठहर गरेको छ तर प्र. मध्येका कृष्ण तिवारी र चन्द्रकान्तको सोही किसिमको वयानलाई वेवास्ता गरी पुनरावेदन अदालतले निजहरुलाई सफाइ दिएको निर्णय त्रुटीपूर्ण हुंदा वदर गरी अभियोगपत्र माग दावी वमोजिम सजाय हुनुपर्छ भनि गर्नुभएको वहस जिकिर समेत सुनी पुनरावेदन अदालत पाटनले प्र.मध्येका हर्क पुनलाई वादी दावी वमोजिम कसुरदार ठहर्याएको र प्र. मध्येका कृष्ण तिवारी र चन्द्रकान्त सिग्देललाई आरोपित कसुरवाट सफाइ दिने गरि भएको फैसला मिले नमिलेको के रहेछ ? र वादी श्री ५ को सरकारको र प्र. मध्येको हर्क पुनमगरको पुनरावेदन जिकिरहरु पुग्न सक्ने हो होइन ? भन्ने सन्दर्भमा निर्णय दिनुपर्ने देखिन आयो ।
३१. अव निर्णय तर्फ विचार गर्दा प्र. मध्येका पुनरावेदक हर्कपुन मगर आरोपित कसुरमा अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत सावित रहेको देखिन्छ । निजको साथवाट ८०० ग्राम लागू औषध हिरोइन वरामद भएको नभई ७५ ग्राम मात्र वरामद भएको भन्ने पुनरावेदनमा जिकिर लिएको भएतापनि उक्त ८०० ग्राम परिणामको लागू औषध वरामद भएको वरामदी मुचुल्काको व्यहोरालाई निजले खण्डन गर्न सकेको नदेखिनुका साथै अदालतमा वयान गर्दा समेत ८०० ग्राम लागू औषध आफ्नो साथवाट वरामद भएको तथ्यलाई निजले स्वीकार गरेकै देखिन आउंछ । जहांसम्म उल्लेखित लागू औषध आफुले सेवन गर्नको लागि खरिद गरि ल्याई साथमा लिई हिडेको हुं विक्री वितरणको लागि ल्याएको होइन भन्ने निजले जिकिर लिएको छ, सो सम्वन्धमा हेर्दा ८०० ग्राम लागू औषध प्रतिवादी हर्क पुनले आफैले सेवन गर्नको लागि मात्र खरिद गरि ल्याई वोकी हिडेका होलान् भन्ने अनुमान गर्नु विश्वासनीय र व्यवहारिक हुने देखिदैन । यस सम्वन्धमा वादी श्री ५ को सरकार प्रतिवादी श्याम कुमार श्रेष्ठ समेत भएको लागू औषध मुद्दामा यस अदालतको संयुक्त इजलासवाट मिति ०४७।५।२०।४ मा (ने.का.प.२०४८ अंक ५ पृष्ठ संख्या २१२ नि.नं..४२९४) ूकुनै व्यक्तिको साथवाट वरामद भएको लागूऔषधको परिमाण पनि विचारणीय हुनेू भनि सिद्धान्त समेत प्रतिपादन भइरहेको देखिंदा उक्त सिद्धान्तवाट समेत वरामद भएको त्यति ठुलो परिमाणको लागू औषध हेरोइन प्रतिवादीले आफ्नो सेवनको लागि मात्र ल्याएको भन्ने कथन पत्यारलायक नदेखिंदा निज हर्क पुनमगरलाई अभियोगपत्र माग दावी अनुसारको कसुरदार ठहर्याई सजाय गरेको हदसम्म शुरुको इन्साफ सदर कायम गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै हुंदा सदर हुने ठहर्छ ।
प्रतिवादी हर्क पुनमगरको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
३२. अव प्रतिवादी मध्येका कृष्ण तिवारी र चन्द्रकान्त सिग्देललाई आरोपित कसुरवाट सफाइ दिइएको पुनरावेदन अदालत पाटनको निर्णय मिले नमिले तर्फ विचार गर्दा निजहरुले अधिकार प्राप्त अधिकारी समक्षको वयानमा लागू औषधको विक्रीवाट केहि फाइदा लिने कुरा स्वीकार गरेको देखिए पनि निजहरुले अदालतमा वयान गर्दा सो कुरालाई इन्कार गरेको देखिन्छ। निजहरुवाट लागू औषध वरामद भएको वरामदी मुचुल्कावाट समेत देखिन आउदैन । मुख्य अभियुक्त हर्क पुनमगरको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानमा यी प्रतिवादीहरुलाई समेत पोलेको देखिन्छ तापनि अदालत समक्ष वयान गर्दा आफुले ८०० ग्राम हिरोइन ल्याएको कुरा स्वीकार गरेको तर यी प्रतिवादीहरुलाई चिनेको छैन भनी लेखाई दिएको देखिएबाट यि प्रतिवादीहरु कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल कसुरदार हुन् भन्ने कुरालाई गढाउ हुने तथ्ययुक्त एवं स्वतन्त्र प्रमाणको अभावमा सह अभियुक्त हर्क पुनमगरले केवल प्रहरीमा गरेको पोल कै आधारमा मात्र निजहरुलाई मतियारको रुपमा कसुरदार ठहराई सजाय गर्न नमिल्ने हुंदा निज प्रतिवादी कृष्ण तिवारी र चन्द्रकान्त सिग्देलले सफाइ पाउने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रतिलिपि दुवै पुनरावेदकहरुलाई दिई मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति संवत २०५५ साल पौष ९ गते रोज ५ शुभम् … ।