निर्णय नं. ६७५ – जग्गा निखनाइ पाउँ
निर्णय नं. ६७५ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह सम्वत्...
निर्णय नं. ६७५ ने.का.प. २०२९
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह
सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्वर १०५
फैसला भएको मिति : ०२९।२।१०।३ मा
निवेदक : पूर्व १ नं.सि.का.ई.थुमलिस्ती मौगाति गाउँ बस्ने भक्तलाल नेवार
विरुद्ध
विपक्षी : ऐ.ऐ.बस्ने खड्गबहादुर नेवार
मुद्दा : जग्गा निखनाइ पाउँ
(१) चोरी भएको भन्ने एउटा हुलिया दर्खास्त दिँदैमा कायम हुन नसक्ने, राजीनामा लिखत चोरी भएको भए नालिस दिई अर्को राजीनामा गराइलिन पर्ने ।
राजीनामा भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोमा राजीनामा लिखत पेश दाखिल गर्न नसकी १७ साल चैत ४ गते चोरी भएको भनी ०१७।१२।७।२ मा हुलिया दर्खास्त दिएको प्रमाणमा आएको देखियो, चोरी भएको भन्ने कुरामा एउटा हुलिया दर्खास्तसम्म दिँदैमा चोरी भएको कायम हुन नसक्ने दर्ता आफ्नो नाममा भई नसकेको जग्गामा आफ्नो हक देखाउने मुख्य राजीनामा लिखत चोरी भएको भए चोरी भएको पक्का प्रमाण पुर्याई अर्को राजीनामा गराइपाउँ भनी तत्काल प्रचलित साहू आसामीको १ नं. बमोजिम नालिस दिई अर्को राजीनामा गराई लिन सक्नुपर्ने सोअनुसार भए गरेको देखिन आएन ।
(प्रकरण नं. १२)
(२) बन्धकी भन्ने दावी परेकोमा तिरो तिरेको रसिदको आधारले मात्र जग्गामा साहूको हक पुग्ने भन्न नमिल्ने ।
राजीनामा पेश हुन नसके पनि झगडा परेको जग्गाको धेरै बर्ष अघिदेखिको तिरो तिरेको रसिद मेरो पक्षबाटै पेश हुन आएको त्यसमा मेरो पक्ष खड्गबहादुरलाई नै रैती भनी निजकै हकभोगको जग्गा भन्ने जनाएको ऐनको म्यादभित्र उजूर गरी वादीले आफ्नो हक कायम गराउन नसकेको समेत हुनाले भोग तिरोको रसिदबाटै पनि मेरो पक्षको हक कायम हुने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले वहसमा जिकिर लिनुभएको हकमा बन्धकीमा साहूले भोग गरेको जग्गाको तिरोभरो साहूबाटै हुने भई सो नाताले तिरो तिरेको रसिदमा उपरोक्त उल्लेख भएबमोजिम जनिन सक्छ । बन्धकी भन्ने दावी परेकोमा तिरो तिरेको रसिदको आधारले मात्र जग्गामा साहूको हक पुग्ने भन्न मिल्दैन ।
(प्रकरण नं. १५)
फैसला
प्र.न्या. रत्नबहादुर बिष्ट
१. सोमती जिरेलनीले मेरो बज्यू सेतीकुमारीसँग रू.३२। लिई माटो ।३।१३।३ को खेत १९६२।१।२५।४ मा राजीनामा गरी लिएको बज्यूका शेषपछि मेरो बाबु मोतिलालले भोग चलन गरिआएको जि.जयबहादुर जिम्माको लगतमा ११ नं.माटो ।५ नं.१२ मा माटो ।।५ नं.१३ मा माटो ।३।८।६ समेत जम्मा माटो ।३।१८।६ राजीनामामा सीमाना नखुले पनि हालको सीमाना पूर्व तवेल तामाङको बारी पश्चिम मेरै वेगल दर्ताको खेत, उत्तर वाजे फौ.जं.को दर्ता पैरो लागेको साँध दक्षिण विष्णुहरिको खेत र दंवीरको बारी यतिभित्रको कुसमखेत ९० सालमा विपक्षीसँग बाबुले २५। लिई बन्धकमा दिएको थैली बुझी जग्गा छाडिदेउ भन्दा नबुझेबाट मालमा धरौट राखेकोमा राजीनामा भनी बुझ्न बेमञ्जुर गरेबाट १९।८।४ मा सि.पा.मालले गरेको पर्चाअनुसार नालिस गर्न आएको छु धरौट निजलाई बुझ्न लगाई खेतहरू निखन्न पाउँ भन्नेसमेत वादी ।
२. वादी दावीको किल्लाभित्रको कुसम खेत वादीको बाबु मोतिलाल नेवारसँग रू.७०। मा ९१।९।१३ गतेमा राजीनामा गरी लिई खेततर्फ माटो ।३।८।७ र वादीतर्फ छुट्टै ती.रु ।१८ समेत तालुक वर्खास हुँदा तहसीलदारमा तिरो बुझाई सो किल्लाभित्रको बारीमा घरसमेत बनाई बसेको छु । मेरो राजीनामामा समेत लेख धनमालहरू घर चोरीमा परेबाट १७ साल चैतमा पू.१ नं.जि.पुआमा हुलिया दरखास्त गरेको छु । एकै लिखत सीमानाभित्रको खेतबारी भएको र विजन दर्ता तालुकदार तहसील डोरमा समेत मोही जनाई रसीद दिएकोले कागज फेराइरहन परेन वादी दावीबमोजिम वन्धकीमा लिएको होइन भन्नेसमेत खड्गबहादुरको प्रतिउत्तर ।
३. वादीदावीको कुसम खेत रू.२५। मा भोगबन्धकी दिएको नदेखिनाले निखनाइपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने सिं.पा.इ.अ.को ०२१।३।१९ को फैसला ।
४. सिं.पा.इ.अ.को फैसलाउपर चित्त बुझेन भन्नेसमेत भक्तलालको पुनरावेदन ।
५. सोमतिबाट ६२ सालमा बज्यू सेतीकुमारीले लिई निजपछि मोतिलालको हक भई निज मोतिलालले ९० सालमा यो प्रतिवादी खड्गबहादुरलाई बन्धक दिएको भन्ने मुख्य वादीको दावी भएको सो जग्गा प्रतिवादीले राजीनामा लिएको भए दर्ता तिरोभरोसमेत जनिनु पर्ने यदि जग्गा राजीनामा गरी लिई विजनमा समेत दर्ता भएको भन्छ तापनि रसिदबाट पाखाको र खेतको छुट्टै लेखिएको देखिएको त्यसबाट पनि विजन जाँचमा दर्ता भएको भन्ने प्रतिवादीका कुरा साँचो देखिन नआउने र सो राजीनामा चोरी भएको भन्ने हकलाई पनि यही जग्गा बन्धकी निखनाइपाउँ भन्ने वादीले मालमा दर्खास्त दिँदा प्रतिवादी खड्गबहादुरले कागज गर्दा मोतिलालले गरिदिएको राजीनामा र सोमति ६२ सालमा सेतीलाई गरिदिएको राजीनामा समेत सौंपुवा गरिदिएको चोरीमा पर्यो भनी लेखेको सो जग्गा प्रतिवादीलाई राजीनामा गरिदिएको सौंपुवा कागज वादीबाट पेश हुन आएकोबाट समेत प्रतिवादीको कुरा सत्य देखिन नआउने वादी दावीको जग्गा १९९१ साल पुष १३ गते रू.७०। मा राजीनामा गरिलिएको राजीनामा चोरी भएकोमा नामसारी गर्ने चलन भएको दर्ता नामसारी गरेको छैन भन्नेसमेत प्रतिवादी जिकिर भएको का.मालबाट आएको जवाफबाट सो बखत रू.५०। भन्दा माथिको राजीनामा लिखतपास गर्ने व्यवस्था भएको पास भएको नदेखिएको अर्को राजीनामा गराइपाउँ भन्ने उजूरसमेत नपरेको हुँदा राजीनामाबाट लिएको भन्ने प्रतिवादीको लेखाई मनासिव देखिन नआएकोले राजीनामा लिएको ठहराएको इन्साफ शुरुको गल्ती ठहर्छ सो झगडा परेको कुसम खेत वादीको बाबु मोतिलालले प्रतिवादीलाई ९० सालमा भोगबन्धकी दिएको ठहर्छ भन्नेसमेत ०२४।७।१२।१ को बागमती अञ्चल अदालतको फैसला ।
६. उक्त अञ्चल अदालतले हदमुनी गरी छिनेको इन्साफ जाँची पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा सयकडा ५ अन्तर्गत इन्साफ जाँच गरिदिने ०२४।१२।७।४ को स्टेडिंग कमिटीबाट निर्णय भएको ।
७. प्रस्तुत मुद्दामा हालको सीमाना पूर्व छिवेल तमाङको वारी, पश्चिम मेरै वेगल दर्ताको खेत, उत्तर बाजे फौजोगेको दर्ता पैरो लागेको साँध, दक्षिण विष्णुहरि नेवारको खेत यति चार किल्लाभित्रको कुसम भन्ने खेत बाबुले रू.२५। मा विपक्षीलाई ९० सालतिर भोगबन्धक दिई आएकोमा थैली मालमा धरौट राखेकोमा राजीनामा भनी थैली बुझ्न बेमञ्जुर गरेकोले बन्धकी थैली धरौट बुझ्न लगाई पाउँ भन्नेसमेत वादी भएकोमा विपक्षीको बाबु मोतिलालले १९९१।९।१३ गतेमा राजीनामा गरिदिएकाले सोहीबमोजिम आजसम्म भोगी आएका छौं । बन्धकीमा लिएको होइन भन्नेसमेत प्रतिवादीको प्रत्युत्तर देखियो । वादी दावीबमोजिमको जग्गा बन्धकीमा प्रतिवादी खड्गबहादुर नेवारले खाइआएको होकि भन्नलाई तत्काल प्रचलित सा.अ.को ३४ नं.अनुसार भोगबन्धकीमा दिएको भए सो भोगबन्धकी लिखतको दोहरी लिने व्यवस्था प्रष्ट किटी लेखिएको सो दोहरी वादीले छ भन्न र पेश दाखिल गर्न सक्नुपर्नेमा सो गर्न नसकेको देखिन आयो । यो वादीले जुन जग्गा निखनाइपाउँ भनेको छ, सो जग्गा नै भोगबन्धकी दिनुभन्दा अगाडि पनि वादीका बाबुको नाममा दर्ता पनि नदेखिएको र उक्त जग्गा प्रतिवादीले रैतान मोही जनाई ९४ सालदेखि नै तिरो गरी आजसम्म भोग गरी आएको देखिन्छ । भोगबन्धकीको जग्गा भए प्रतिवादीले आफ्नो नाउँमा रैतान जनाई तिरोभरो चलाई रसिद लिनुदिनु गरेपछि उसैबखत ऐनका म्यादभित्र वादीले सो कुराका उजूर गर्न सक्नुपर्नेमा सो पनि गर्न सकेको नदेखिएकोले वादीले भोगबन्धकी दिएको भए तिरोभरो आफ्ना नाउँबाट चलाई आफ्नु हक कायम गराएको हुनुपर्ने अथवा बन्धकी लिनेले नै तिरोभरो चलाई खान पाउने गरिदिएको भए सोही व्यहोराको लिखत प्रमाण हुनुपर्ने सो केही छ भन्न नसकेको र वादीकै लेखाइबाट पनि उक्त जग्गा प्रतिवादी तर्फबाट भोग गरी राखेको करिव ३५।३६ बर्ष भइसकेको देखिएको र रू.२५। मा त्यतिका जग्गा भोगबन्धकी दिएको भए उसैबखत ननिखनी प्रतिवादीलाई नै खान दिई राख्नुपर्ने अन्य मनासिव कारण पनि केही देखाउन नसकेको र प्रतिवादीले वादीका बाबु मोतिलालले गरिदिएको रू.७०। को राजीनामासहित अरु धनमाल चोरी भयो भनी ०१७।१२।७।२ मा पुलिसथाना पूर्व १ नं.चौतारामा दर्खास्त दिएको झण्डै दुई बर्ष पछि वादीको भोगबन्धकी निखनाइपाउँ भन्ने उजूर परेको देखियो । उक्त जग्गा भोगबन्धकीमा दिएको भन्ने कुराको अन्य सबूद प्रमाण पनि वादीले गुजार्न सक्नुपर्नेमा सो नसकी खाली मुखकै भरमा बन्धकी दिएको भनी मान्यता दिन न्यायोचित नहुने हुँदा बागमती अञ्चल अदालतले बन्धकी ठहराई गरेको निर्णय मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको मिति ०१।३।१९।५ मा वादीको दावी पुग्न सक्दैन भनी गरेको इन्साफ मनासिव छ भन्ने ०२६।७।१४।५ को डिभिजन बेञ्चको फैसला ।
८. उक्त निर्णय दोहर्याइपाउँ भन्ने भक्तलाल नेवारको निवेदनमा न्यायिक समितिबाट यसमा राजीनामा भएको र चोरी भएको भए तत्कालीन साहू आसामीका ऐन १ नं. बमोजिम अर्को राजीनामा गराइपाउँ भनी उजूर गरी राजीनामा गराइलिनुपर्ने सो नभएको पाखातर्फ विजन जाँचमा दर्ता भइसकेकोले अर्को राजीनामा गराउन आवश्यक नपरी नगराएको भन्ने प्रतिवादीको लेखाई भएको हकमा वादीले बन्धकी निखनाइपाउँ भनी दावी गर्दा पाखा जग्गा बन्धकी दिएको भनी लेखेको भई खेत भोगबन्धकी दिएको भन्ने लेखेको र शुरु अदालतले खेत पाखा दुवै राजीनामा लिएको रैतान जनाई तिरो गरेको भन्ने ठहराएपछि त्यस कुराको खण्डन गर्ने अवस्था परेको र त्यसउपर वादीले दिएको पुनरावेदनमा समितिले बज्यै सेतीलाई गरिदिएको राजीनामामा पाखो जग्गा लेखिएकै छैन विपक्षीले आफ्नो दर्ताको पाखा जग्गा विजनमा दर्ता गर्दा भोगमा दिएको जग्गा किल्लाभित्र पारी पानी खेत खाने नियत गरेको भन्ने लेखेकोबाट वादीसँग बन्धकी लिएको खेत राजीनामा लिएको भन्ने पार्न आफ्नोे पाखा जग्गा वादीबाट राजीनामा लिएको भन्ने पारेको देखिन्छ, किनभने सोमतिको जग्गा सेतीले राजीनामा लिएको सो राजीनामा वादीबाट दाखिल भएको सो राजीनामामा पाखो जग्गा देखिँदैन । त्यसकारण आफ्नो पाखो जग्गा पनि वादीको बाबु मोतिलालबाट राजीनामा लिएको भनी रैतान मोही जनाई पाखोको रसिदले खेत खान खोजेको भन्ने प्रमाण पुर्याउन लेखाएका सम्म परिपञ्च जनाएको देखिँदा त्यस्तो रसिदलाई वादीको खेत राजीनामा लिएको र सो खेतको रैतानी मोही जनाई रसिद लिएको मान्न नमिल्ने बन्धकी खानेले पनि बन्धकी खाएको जग्गाको तिरोभरो गर्ने प्रचलित चलनचल्तीकै कुरा हो त्यस्तो भोग तिरोले राजीनामा लिएको भन्ने प्रमाण पुग्न नआउने हुँदा आफ्नो जग्गाको दर्ता तिरो तिरेका रसिदका भरले राजीनामा लिएको भन्न नमिल्ने उसमा पनि काठमाडौं मालबाट आई मिसिल सामेल रहेको १९८९।६।१२।३ को सनद दफा उत्तार हेर्दा नेपाल मधेशमा रू.५०। रुपैयाँदेखि मुनिको पहाडमा रू.२५। रुपैयाँदेखि मुनिको कागज रजिष्ट्रेशन पास गर्न नपर्ने कुरा उल्लेख भएकोले सो माथिको कागज पास गराउन पर्ने भन्ने देखिएको प्रतिवादीले उल्लेख गरेको कागज रू.७०। को भन्ने देखिएकाले रजिष्ट्रेशन पास गराउनु पर्नेमा पास गराएको भन्ने लेखाई नभएको त्यसबाट पनि परिपञ्च मिलाएको लेखाई देखिन्छ । बन्धकी दोहरी नभएको भन्ने हकमा तत्कालीन साहू आसामीका ३४ नं.का ऐनले दोहरी नलिएकोमा जरिवानासम्म गरी उजूर सुन्ने व्यवस्था भएको देखिँदा दोहरी नलिए बन्धकी व्यवहार नै नठहर्ने भन्ने सो कानूनी तात्पर्य होइन ३५।३६ वर्षसम्म प्रतिवादीले भोग गरिरहेको र रू.२५। मा त्यतिका वर्षसम्म प्रतिवादीलाई खान दिइरहनु नपर्ने भन्ने सर्वोच्च अदालतले अर्को बुँदा लगाएको हकमा सो बुँदा उचित देखिँदैन । किनभने मानिसको व्यवहारिक र आर्थिक अवस्था यस्तै हुन्छ भनी किटान गर्न सकिने कुरा होइन । कुनै कारणवश निखनी रहन र निखन्न नसक्ने अवस्था पनि हुन सक्छ रू.२५। भन्दैमा सबैले भनेका बखत घरबाट झिक्न र अन्यत्र पाउन उब्जाउन सक्छ भन्न सकिँदैन । भोग प्रतिवादीको भन्ने बुँदाका हकमा त्यस्तो भोगबन्धकीको नाताले गरेको भोगलाई राजीनामाको तवरले धेरै वर्षसम्म भोग भइरहेको भन्ने अर्थ गर्न मिल्दैन । वादीको बाबु मोतिलालले गरिदिएको राजीनामामा १७।१२।७।२ मा चोरी भयो भनी दर्खास्त दिएको दुई वर्षपछि यो उजूर गरेको बाबुको नाममा दर्ता पनि नभएको भन्ने सर्वोच्च अदालतको अर्को बुँदाको हकमा प्रतिवादीले सिन्धुपाल्चोक मालमा १९।५।२६।३ मा कागज गर्दा वादीको बजै सेतीले सोमतिबाट गराई लिएको १९६२ सालको राजीनामा समेत मलाई सौंपुवा गरिदिएको सो दुवै राजीनामा एकै ठाउँमा नत्थी गरी राखेको दुवै कागज चोरी भयो पुलिसमा हुलाकद्वारा दर्खास्त दिएको छु भनी लेखाएको देखिएको पुलिसबाट आएको १७।१२।७ को दर्खास्तमा सोमति सौंपुवा राजीनामा चोरी भयो भन्ने लेखेको नभई मोतिलालले गरिदिएको १९६२ सालको राजीनामा वादीले सिन्धुपाल्चोक मालमा थैली धरौट राख्दा गरेको दरखास्तसाथ पेश भइरहेको सो राजीनामालाई प्रतिवादीले बिरोध दर्शाएको नदेखिएकोले त्यसबाट सोमतिको राजीनामा वादीसँग नभएको सम्झी सो राजीनामा आफूले सौंपुवा लिएको चोरी भयो भन्ने दर्खास्त बनाई हुलिया दिएको कल्पित र बनाबटी प्रमाण बनाएको र बनावटी पहिले देखिएको सबै कुरा सम्झन नसकी उक्त उल्लेख गरेको अनुसार परस्पर कागजको व्यहोरा लेखाइमा कुरा फरक पर्ने भएको भन्ने प्रष्टै देखिन आएको वादीको बाबुको नाममा दर्ता पनि नभएको भन्ने हकमा दर्ता दाखिल खारेज मौकामा नगराए हक जान्छ भन्ने कानूनी व्यवस्था नदेखिई जहिलेसुकै दाखिल दर्ता गराउन सक्ने कानूनी व्यवस्था भएकाले दर्ता गराउन नसकेको भन्ने दोष लगाउन नहुनेसमेत प्रमाण परिवन्धबाट वादीको बाबु मोतिलालले वादीलाई भोगबन्धकी दिएकै देखिएकोमा मोतिलालले रू.७०। मा राजीनामा गरी दिएको ठहर्छ भनी गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउने आदेश बक्सनुपर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइदिनु भन्ने हुकूम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२७।७।७।६ को हुकूम प्रमांगी ।
९. बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई निवेदकलाई दिन ७ सातको र विपक्षीलाई दिन १५ पन्ध्रको म्याद दिई झिकाई आएपछि फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभागमार्फत पठाइदिनु भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
१०. पूर्व १ नं.सिन्धुपाल्चोक जिल्लामा कुन सालदेखि रजिष्ट्रेशन खुलेको हो सो कुराको जवाफ र वादी दावीको झगडा परेको खेत ९८ या ९९ सालमा खडा भएको ३ महले मोठमा कसका नाममा के व्यहोरा जनी दर्ता भएको छ सो दर्ताको रीतपूर्वक उतारसमेत चाँडो पठाइदिनु भनी जग्गाको कित्ता नम्बर माटो मुरीसमेत खुलाई सिन्धुपाल्चोक माललाई लेखी पठाई सो आएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२८।१२।११।६ को फुल बेञ्चको आदेश ।
११. यसमा तारिखमा रहेका पक्षहरू रोहवरमा रही ०२९।२।३।३ मा पेश भई निवेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले र प्रतिवादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मधुप्रसाद शर्माले गर्नुभएको वहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा झगडा परेको खेत मेरो बाबुले रू.२५। मा विपक्षीलाई ९० सालमा भोगबन्धकी दिएको निखनाइपाउँ भन्ने वादीको दावी र वादीको बाबुसँग रू.७०। मा ९१।९।१३ गते राजीनामा गराई लिई हकभोग गरी आएको हुँदा निखन्न दिनु नपर्ने भन्ने प्रतिवादीको जिकिर भई बन्धकी या राजीनामा के हो भन्ने मुख्य विवाद उठेको रहेछ ।
१२. राजीनामा भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोमा राजीनामा लिखत पेश दाखिल गर्न नसकी १७ साल चैत ४ गते चोरी भएको भनी ०१७।१२।७।२ मा हुलिया दर्खास्त दिएको प्रमाणमा आएको देखियो, चोरी भएको भन्ने कुरामा एउटा हुलिया दर्खास्तसम्म दिँदैमा चोरी भएको कायम हुन नसक्ने दर्ता आफ्नो नाममा भई नसकेको जग्गामा आफ्नो हक देखाउने मुख्य राजीनामा लिखत चोरी भएको भए चोरी भएको पक्का प्रमाण पुर्याई अर्को राजीनामा गराइपाउँ भनी तत्काल प्रचलित साहू आसामीको १ नं. बमोजिम नालिस दिई अर्को राजीनामा गराई लिन सक्नुपर्ने सोअनुसार भए गरेको देखिन आएन ।
१३. ०२८।१२।११।६ का फुल बेञ्चका आदेशबमोजिम सिन्धुपाल्चोक जिल्लामा कुन सालदेखि रजिष्ट्रेशन खुलेको रहेछ भन्नेतर्फ बुझिएकोमा सिन्धुपाल्चोक मालले दिएको ०२८।१२।१८।६ को जवाफबाट यो मुद्दामा प्रतिवादीले राजीनामा लिएको भनेको मिति ९१।९।१३ भन्दा धेरै अगावैदेखि सो जिल्लामा रजिष्ट्रेशन पास खुलेको भन्ने कुरा प्रष्ट हुन आएको छ । मिसिलसाथ रहेको ८९।६।१२।३ को सनदको उतार हेर्दा सवाल सनदले पोता अड्डामा गई गरेमात्र सदर हुने बाहेक यस्तो भोगबन्धकी लिखत समेतको हकमा रू.१०। देखि मुनिकोमा रजिष्ट्रेशन पास नगराए पनि सदर हुने र रू.५०। भन्दा माथिको रजिष्ट्रेशन पास गराउनै पर्ने उक्त सनदले बाध्यता गराएको देखिन्छ । रू.७०। मा गराइलिएको भन्ने प्रतिवादी जिकिर भएको राजीनामा लिखत तत्काल प्रचलित उपरोक्त सनदबमोजिम रजिष्ट्रेशन पास भए गराएको प्रमाण प्रतिवादीले दिन सकेको पाइएन ।
१४. बन्धकी निखनाइपाउँ भनी वादीले पहिले सिन्धुपाल्चोक मालमा दर्खास्त गरेकोमा प्रतिवादीले कागज गर्दा सोमतिबाट वादीको बज्यूले पाएको राजीनामा समेत नत्थी गरी राखेको सोसमेत राजीनामा चोरीमा परेको भन्ने उल्लेख गरेको हुलिया दर्खास्त भनेको हेर्दा त्यसमा सोमतिबाट वादीको बज्यूले पाएको राजीनामा सौंपुवा लिएको सोसमेत चोरी भएको भन्ने उल्लेख नगरी वादीको ंबाबु मोतिलालले गरिदिएको राजीनामासम्म चोरी भएको भन्ने उल्लेख गरेको र सोमतिले गरिदिएको राजीनामा वादीबाटै पेश भएको समेत भई कुरा मिल्न नआएको राजीनामा गराई लिएको भए सोमतिको राजीनामा पनि सौंपुवा लिनुपर्ने नलिएको समेत हुनाले राजीनामा लिएको भन्ने प्रतिवादीको भनाई बनावट प्रतीत हुन्छ ।
१५. राजीनामा पेश हुन नसके पनि झगडा परेको जग्गाको धेरै बर्ष अघिदेखिको तिरो तिरेको रसिद मेरो पक्षबाटै पेश हुन आएको त्यसमा मेरो पक्ष खड्गबहादुरलाई नै रैती भनी निजकै हकभोगको जग्गा भन्ने जनाएको ऐनको म्यादभित्र उजूर गरी वादीले आफ्नो हक कायम गराउन नसकेको समेत हुनाले भोग तिरोको रसिदबाटै पनि मेरो पक्षको हक कायम हुने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले वहसमा जिकिर लिनुभएको हकमा बन्धकीमा साहूले भोग गरेको जग्गाको तिरोभरो साहूबाटै हुने भई सो नाताले तिरो तिरेको रसिदमा उपरोक्त उल्लेख भएबमोजिम जनिन सक्छ । बन्धकी भन्ने दावी परेकोमा तिरो तिरेको रसिदको आधारले मात्र जग्गामा साहूको हक पुग्ने भन्न मिल्दैन ।
१६. बन्धकी दिएको भए दोहरी पेश गर्न सक्नुपर्ने नसकेको भन्ने प्रतिवादीको अर्को जिकिरको हकमा तत्काल प्रचलित साहू आसामीको ३४ नं.मा बन्धकीको दोहरी लिनेदिने व्यवस्था नभएको होइन तर दोहरी नभएकोमा बन्धकी नै कायम हुन नसक्ने नभई १९७० साल माघ १० गतेदेखिको पछिकोमा तमसुकमा लेखिएको विगोको सयकडा ५ साहूलाई जरिवाना गरी सो कागजबाट नालिस उजूर सुनी इन्साफ गरिदिनुपर्ने उक्त ऐनमा उल्लेख भएको पाइन्छ । झगडा परेको जग्गा वादीको बज्यू सेतीकुमारीले सोमतिसँग राजीनामा लिई पछि वादीको बाबुको हक हुन आएको भन्नेकुरा प्रतिवादीले स्वीकारै गरेको र वादीको बाबुबाट आफूले राजीनामा लिएको भन्ने प्रतिवादीको भनाई भए पनि राजीनामा लिनुदिनु गरेको प्रमाण पुग्न नआएकोले यस स्थितिमा वन्धकीको दोहरी वादीबाट पेश दाखिल हुन नसके पनि झगडा परेको जग्गा प्रतिवादीको भोग तिरोमा हुनुको कारण भोगबन्धकी नै रहेछ भनी मान्नुपर्ने हुन आएको छ ।
१७. तसर्थ उपरोक्त उल्लिखित तर्कहरूको आधारमा वादी दावीबमोजिम भोगबन्धकी ठहराई वादीले प्रतिवादीलाई बन्धकी थैली रू.२५। तिरी जग्गा निखन्न पाउने समेत गरी बागमती अञ्चल अदालतले ०२४।७।१२।१ मा छिनेको इन्साफ मनासिव ठहर्छ राजीनामा कायम गरी ०२६।७।१४।५ को डि.बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरु तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी खड्गबहादुर नेवार के बागमती अञ्चल अदालतको ०२४।७।१२।१ को फैसलाले गर्ने गरेको जरिवाना रू.।६३ डिभिजन बेञ्चको ०२६।७।१४।५ को फैसलाले नलाग्ने गरेकोमा सोअनुसार गर्नु पर्दैन वा.अं.अ.को फैसलाबमोजिम लगत कायमै राख्नु भनी कानूनबमोजिम लगत दिनु ……………………….१
वादी भक्तलाल नेवारके शुरु सिं.पा.जि.अ.को ०२१।३।१९ को फैसलाले गर्ने गरेको दण्ड रू.५। बागमती अञ्चल अदालतको ०२४।७।१२।१ को फैसलाले नलाग्ने गरेको लगत कायमै राख्नु डिभिजन बेञ्चको ०२६।७।१४।५ को डिभिजन बेञ्चको फैसलाले बागमती अञ्चल अदालतको फैसलाबमोजिम गर्नु नपर्ने गरिदिएको लगत काटिदिनु भनी ऐ………………………२
वादी भक्तलाल नेवारले सिन्धुपाल्चोक मालमा ०१९।२।३१ मा राखेको धरौट रू.२५। निजलाई नै फिर्ता दिने गरेको ०२६।७।१४।५ को डिभिजन बेञ्चको फैसलाबमोजिमको लगत काटिदिनु वा.अं.अ.को ०२४।७।१२ को फैसलाले सो रू.२५। बन्धकी साहू प्रतिवादीलाई बुझाई जग्गा निखनाई दिन सिं.पा.मालमा पठाउन गरेको कायमै राख्नु भनी ऐ……………………..३
डिभिजन बेञ्चको ०२६।७।१४।५ को फैसलाले तत्कालिन वा.अं.अ.का.न्या.वृषबहादुरको इन्साफ उल्टी रेकर्ड राख्ने गरेको लगत काटिदिनु भनी सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु ..४
निवेदक वादी भक्तलाल नेवार के निजले मुद्दा दोहर्याउँदा ०२७।८।१७।४ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रू.।१० प्रतिवादी खड्गबहादुर नेवारबाट भराइपाउँ भनी कोर्टफी ऐन, २०२७ को संशोधित दफा १५ (११) बमोजिम ३ वर्षभित्र दरखास्त दिएमा दस्तुर केही नलिई भराइदिनु भनी कानूनबमोजिम लगत दिनु ……………………५
नियमबमोजिम मिसिल बुझाइदिनु …………………..६
न्या.वासुदेव शर्मा,
न्या.सुरेन्द्रप्रसाद सिह
उपरोक्त रायमा हामीहरूको सहमती छ ।
इति सम्वत् २०२९ साल जेष्ठ १० गते रोज ३ शुभम् ।