May 30, 1972
Created by nepalarchives

निर्णय नं. ६७४ – करणी

निर्णय नं. ६७४      ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत्...

निर्णय नं. ६७४      ने.का.प. २०२९

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान

सम्वत् २०२८ सालको फौ.फु.नं. २६

फैसला मिति : ०२९।२।१७।३

निवेदक   : प.३ नं.कास्की लाहाचोक बस्ने भीमबहादुर शाही ठकुरी

विरुद्ध

विपक्षी    : ऐ.माचोक बस्ने चन्द्रकुमारी ठकुर्नी

मुद्दा : करणी

(१)  मौकैमा उजूर नगरी आफ्नो छोरा होइन भन्ने गराउन नसकी चुप लागी बसेकोमा, साक्षीकोमात्र आधार लिई अन्य प्रमाणको अभावमा छोरा नठहराउनु न्यायसंगत नहुने ।

          खास गरी आफ्नो स्वास्नी अर्कोसँग पोईल गएकी कायम भई छोरा जातक यसको भन्ने ठेगाना लागी सकेको अवस्थामा आफू जमामर्द बन्न जारी खतमा सजाय नगराई त्यसै छाड्न सकिने कुरा हो । माईत गई बसेकी स्वास्नीले छोरो जातक जन्माएकी छ र सो छोरो आफ्नो होइन भन्ने मौकैमा त्यसको ठेगाना नलगाएपछि आफूलाई बाबु भनी अंशसमेतमा दावी गर्न आउने समेत बचाउको लागि सो छोरो जातकको ठेगाना लगाउन र आफ्नो गहना धनमाल समेतमा कानूनबमोजिम मौकैमा उजूर नगरी चुप लागि बस्न पर्ने अवस्था देखिन पनि आउँदैन । वादीका साक्षीहरूले प्रतिवादी भिमबहादुरकै छोरा जातक हो भनी बकपत्र गरेको ती साक्षीहरूले घुस खाई झुट्टा बकेको हुँदा सजाय गरी बकपत्र बदर गरीपाउँ भन्ने दावी लिई प्रतिवादीले छुट्टै नालिस दिएकोमा घुस खाई झुट्टा बकेको नठहरी फैसला भएको देखिन्छ । मेरो पक्षका ४६ जना साक्षीले भिमबहादुरको छोरो जातक होइन भनी बकेको छन् । त्यतिका साक्षीको बकाईलाई साँचो नमानी वादीका ४ जना साक्षीको बकाईको आधारमा मेरा पक्षकै छोरा जातक ठहराउन नमिल्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको अर्को बहस जिकिर हकमा मुख्य प्रतिवादीले मौकैमा कानूनबमोजिम उजूर गरी आफ्नो छोरा जातक होइन भन्ने कार्य गराउन नसकी छोरा ७ वर्षको हुँदासम्म चुप लागी बसेको कुरामा प्रतिवादीका ४६ जना साक्षीले भिमबहादुरको छोरो जातक होइन भनी बकेको भन्नेसम्म आधारमा अन्य प्रमाणको अभावमा प्रतिवादीको छोरा जातक नठहराउनु न्यायसंगत हुँदैन । वादीेले अंशमा नालिस गरी सकेपछि मात्र मेरो छोरा जातक होइन भिनाजु करवीरसँग पोइल गइसकेकी स्वास्नी हो भनी प्रतिवादीले जिकिर उठाउनुको खास कारण पछि चित्त नमिली माईत गई बसेकी स्वास्नी र निजबाट जन्मेको छोरो समेतलाई अंश नदिई पन्छाउने नियत गरेको, करणी धनमाल समेतमा मौकामा आफूले उजूर नगरेकोबाट प्रतित हुन्छ ।

(प्रकरण नं. ११)

 

पुनरावेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट :  

उल्लिखित मुद्दा :

फैसला

          न्या.वासुदेव शर्मा

          १.   विवाहिता लोग्ने अन्यायवाला भिमबहादुर शाहीबाट मलाई ०४ सालमा छोरा समेत जन्मेपछि निज लोग्नेले सौताहरूको चुक्लीबाट मलाई र छोरालाईसमेत अपहेलना गर्दै ल्याई खान लाउन घरमा बस्न समेत नदिएकोले निज खसमबाट अंश दिलाई पाउँ भनी मैले नालिस दिँदा निज खसमका सत्यमा रहेकी मलाई गहना पनि दिएको छैन ९९ साल मार्गदेखि भिनाजु करवीरसँग करणीमा विग्रेकी भनी झुट्टा करणीको दोष लगाई प्रतिवादी दिनु भएकोले नालिस दिन आएकी छु, १२ वर्षसम्म जारी धनमाल नालिस गर्न नसक्नु भएबाट पोइल गएकी भन्ने जिकिर झुट्टा देखिएको छ । त्यसो हुँदा करवीरसँगको झुट्टा करणीको दोष लगाई निजै भिमबहादुरको करणी वीजले जन्मेको छोरालाई पनि करवीरकै करणी वीजले जन्मेको हो भनी वगावाद गरी प्रतिवादी दिएमा ऐनबमोजिम सजाय गरी पाउँ भन्नेसमेत वादी चन्द्रकुमारी शाही ठकुरानीको ०११।४।२ को फिराद ।

          २.   प्रतिवादी भिमबहादुर शाही ठकुरीका नाउँमा जारी भएको १५ दिने इतलाय ०१२।४ मा तामेल भएको म्यादभित्र प्रतिवादी नफिराई ०१२।५।१९ गतेको अर्जिगरी सो मितिबाट गुजारी बसेको ।

          ३.   वादी चन्द्रकुमारीलाई करवीरसँग पोइल गई छोरा पाएको हुँदा मैले अंश दिनु नपर्ने भन्ने प्र.भिमबहादुरले अंश मुद्दामा प्रतिवादी दिनु भएकोमा यो नालिस परेपछि सो व्यहोराको प्रतिवादी दिई सबूद गुजारी सो कुरा कायम गराउन नसक्नु भएको र यदि पोईल गएकै भए जारी धनमालमा प्र.को उजूर पर्नुपर्ने परेको नदेखिएबाट पनि प्र.को जिकिर झुट्टा हो की भनी शंका गर्नुपर्ने पनि देखिएको बुझिएका साक्षीहरूले वादी चन्द्रकुमारी करवीरसँग पोइल गएको होइन थाहा छैन भनी बकेको निजहरूले झुट्टा बक्नु पर्ने कारण पनि नदेखिएकोले साक्षीको बकाईबाट पनि प्रतिवादीको लेख साँचो नदेखिने समेत प्रमाण परिवन्धबाट वादी चन्द्रकुमारी प्रतिवादी भिमबहादुर कै सत्यमा रहेको देखिंदा कारवीरसँग पोइल गई छोरो पाएको भन्ने प्रतिवादीले अंश मुद्दाको प्रतिवादीमा लेखेको झुट्टा ठहर्छ भन्नेसमेत ०१४।३।१८।२ को तत्कालिन पोखरा अदालतको फैसला।

          ४.   वादी चन्द्रकुमारीलाई ८७ सालमा विवाह गरी ल्याएको ८८ साल भाद्र महिनामा अंश मुद्दाका प्रतिवादीमा लेखिएबमोजिमको धनमाल गहना लगाई माइत गई बसेको घरमा आएको नै थिइन त्यस्तै अवस्था ९९ साल मार्ग महिनादेखि भिनाजु करवीरसँग करणी लिनु दिनु भई बसेको निजको जातक पनि भिनाजु करवीरकै भएको र निज चन्द्रकुमारीलाई पकडाउमा फेला नपरी उजूर गर्न बाँकी रहेको हो सो मेरो धनमाल खाई जारीमा बच्नाका लागि यो झुट्टा उजूर गरेको हुन चन्द्रकुमारी करवीरसँग विग्री जन्मिएको छोरा निजको ठहराई करणी लिनुदिनु गरेमा निजहरूलाई सजाय गरी झुट्टा नालिस दिएमा वादीलाई सजाय गरी झुट्टा वादी र गल्ती फैसला बदर गराई पाउँ भन्नेसमेत प्र.भिमबहादुर शाही ठकुरीको प्रतिवादी सरहको पुनरावेदन ।

          ५.  अंश मुद्दाको प्रतिवादीमा लेखिएबमोजिम ९९ सालदेखि भिनाजु नाताको मानिसँग करणीमा बिग्री छोरा जातक पाएको भन्ने र यस मुद्दाको प्रतिवादी इन्कार र चन्द्रकुमारी भिनाजुसँग बिग्री छोरा पाएको भन्ने सुनेको हो पक्रन जाँदा फेला नपरेका हुन् लोग्ने भिमबहादुरकै करणी विर्यको छोरा हो भन्ने कुरा झुट्टा हो जारीमा बच्न र विवाहिताबाट अंश लिन झुट्टा उजूर गरेको हो भनी प्र.भिमबहादुरका साक्षीहरूले गरेको बकपत्र साँचो भन्न ९९ सालदेखि अर्कासँग बिग्रेको भए जारी पक्राउमा फेला नपरेपनि जारीमा दावा उजूर गर्न रोकिनु पर्ने अवस्था करणी परेको देखिन नआएको जारी खत गरी भागेको मानिस १० बर्ष पछि पकडिएमा जारी खतमा सजाय गर्न नपाउने कुरा तत्काल प्रचलित दण्ड सजायको ९ नं.मा र यस महलमा लेखिएको कुरामा कुरा प्रकाश भएका मितिले १ वर्षभित्र उजूर नपरे नालिस लाग्न नसक्ने कुरा वर्तमान जारीको ७ नं.मा उल्लेख भएकोमा जारी धनमालमा पछि उजूर गर्ने छु भनी ०१४ साल पौष १२ गते दिएको प्रतिवादीमा उल्लेख गर्ने प्र.भिमबहादुरको आजसम्म पनि जारी धनमालतर्फ उजूर पर्न आएको यस मिसिलबाट नदेखिएको ०१० साल कार्तिक ९ गते आफ्ना उपर अंश मुद्दाको फिराद पर्न आएपछि मात्र ९९ सालदेखि भिनाजुसँग करणीमा बिग्रेको भनी र जारी धनमालमा बच्न मिलेमतोबाट उजूर गरेको भनी यस मुद्दाको प्रतिवादीमा प्र.भिमबहादुरले गरेको इन्कार र जारीमा बची अंश लिनलाई चन्द्रकुमारीले झुट्टा उजूर गरेकी हो निज भिनाजुसँग बिग्री छोरा पाएको भन्ने सुनेको भन्न प्रतिवादीका साक्षीको बकाई उपरोक्त कारणले पत्यार लाग्ने देखिएन । वादीका साक्षीले घुस खाई झुट्टा बके भन्ने उजूर झुट्टा ठहराए उपर प्र.भिमबहादुरले गरेको अपील डिसमिस गराए समेतबाट पोइल गएको भए जारी धनमालमा उजूर पर्नुपर्ने, पर्न नआएकाले चन्द्रकुमारीको अंशमा आएको मुद्दाको प्रतिवादीमा भिनाजुसँग बिग्री जातक पाएको भन्ने कुरा प्रतिवादीमा लेखेको झुट्टा ठहर्ने भई प्र.भिमबहादुरले बकवाद गरेको ठहराई हदमुनी गरी ०२३।८।२।५ को गण्डकी अञ्चल अदालतको फैसला ।

          ६.   गण्डकी अञ्चल अदालतले हदमुनी गरेको इन्साफ जाँची पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा व्यहोरा साँचो हुँदा एक पटक इन्साफ जाँच गरी ऐनबमोजिम गर्नु भनी हुकूम बक्सेको छ भन्नेसमेत श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग राजदरवारबाट ०२३।१२।११ मा लेखी आएको हुकूम प्रमांगी ।

          ७.  वादी चन्द्रकुमारी विवाहिता स्वास्नी हो भन्ने कुरामा र २००४ सालमा छोरो जन्मेको हो भन्ने अंश मुद्दाको प्रतिउत्तरमा र प्रस्तुत मुद्दाको प्रतिउत्तर सरहको पुनरावेदनमा समेत निज प्रतिवादी भिमबहादुरले लेखेको आफ्नै विवाहिता स्वास्नी चन्द्रकुमारी ८९ सालमै भिनाजु करवीरसँगै पोइल गएकी र निज कारवीरकै करणी विर्यबाट गर्भ रही चन्द्रकुमारीले छोरो पाएको भए सो कुरा थाहा पाएपछि उसै बखत नालिस उजूर गरी सो कुरा कायम गराउन सक्नुपर्ने नसकी यतिको बर्ष चुपलागि बसी २०१० साल कार्तिक ९ गतेमा चन्द्रकुमारीले आफ्नो र छोराकोसमेत अंश दिलाई पाउँ भनी नालिस गरी सकेपछि प्रतिउत्तरमासम्म त्यस्तो जिकिर लिएको पत्यार लायकको कुरा नदेखिएको र भिमबहादुरकै करणी विर्यबाट छोरो जन्मेको हो भनी न्वारान गरेको भन्ने वादीका साक्षी मनोहर्ष पाध्याले र भिमबहादुर कै छोरा हो भनी वादीका साक्षी खड्गबहादुर शाही पूर्णबहादुर शाही भिमबहादुर शाहीसमेतले बकपत्र गरेकोमा घुस खाई झुट्टा बके भन्ने निजै प्रतिवादीको नालिस परेको उजूर झुट्टा ठहरी शुरुबाट फैसला भएउपर निजै प्रतिवादी भिमबहादुरको पुनरावेदन परी ०२२ साल श्रावण ३२ गते रोज २ मा गण्डकी अञ्चल अदालत मुकाम पोखरा अञ्चलबाट डिसमिस फैसला भएको देखिएकोले प्रतिवादीको साक्षी धेरै जनाले बकेको भन्नेसम्म कारणबाट ०१३ सालमा मरी सकेको करवीरको करणी विर्यबाट छोरो जन्मेको हो भन्ने निवेदकको निवेदन जिकिर पुग्न सक्दैन इन्साफ शुरु कास्की जिल्ला अदालतको सदर गरेको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिव छ भन्नेसमेत मा.न्या.श्री मीनबहादुर थापा मा.न्या.श्री धनेन्द्रबहादुर सिंहको ०२५।४।२५।६ को डिभिजन बेञ्चको फैसला ।

          ८.   सो उपर चित्त बुझेन दोहर्‍याइपाउँ भन्ने प्रतिवादी भीमबहादुरको निवेदन परेकोमा व्यहोरा साँचो हो र अब फुल बेञ्चबाट मुद्दा हेरी छिनिँदा हारे पनि फेरि दोहर्‍याइपाउँ भनी विन्ति गर्ने छैन भनी कागज गर्छन भने गराई डिभिजन बेञ्चबाट फैसला भएको मुद्दामा मिसिल झिकी एकपटक फुल बेञ्चबाट दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने हुकूम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको ०२८।४।१८।३ को हुकूम प्रमांगी ।

          ९.   बक्स भई आएका हुकूम प्रमंगीबमोजिम गर्न निमित्त दिन ७ को म्याद दिई झिकाई आएपछि उक्त प्रमांगीमा लेखिएबमोजिम निवेदकले श्री रजिष्ट्रारको समक्ष शर्त बन्देजको कागज गर्छन् भने सो कागज गराई फुल बेञ्चको लगतमा दर्ता गरी मिसिल र विपक्षीलाई दिन १५ पन्ध्रको म्याद दिई झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने सम्माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको ०२८।४।२५।२ को आदेश ।

          १०.  यसमा तारिखमा रहेका पक्षहरू रोहवरमा रही ०२९।२।१०।३ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको वहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादी चन्द्रकुमारीको गर्भबाट जन्मेको छोरो जातक प्रतिवादी भीमबहादुरको हो होइन भन्ने कुरा मुख्य रुपले विचार गर्नुपर्ने हुन आएको छ । ८८ सालमै गहनासमेत लगाई माइत गएकी लिन पठाउँदासमेत नआई ९९ साल मार्ग महिनादेखि भिनाजु करवीरसँग करणीमा विग्री लोग्नेस्वास्नी भई बसेका निजै करवीरका करणी वीर्यबाट छोरो जातक जन्माएकी हो मेरो छोरा जातक होइन भन्ने प्रतिवादीको मुख्य जिकिर भएको हकमा जुन छोरो जातक मेरो होइन भन्ने प्रतिवादीको जिकिर भई विवाद उठिराखेको छ सो छोरा जातका २००४ सालमा जन्मेको हो भन्ने कुरा प्रतिवादीले स्वीकार गरिराखेको पाइन्छ । यदि आफ्नो करणी वीर्यबाट जन्मेको छोरो जातक नभए सो छोरो जातक जसको हो उसको कायम गराउन जारी खत र स्वास्नीले माइत जाँदा लगाई गएकी भनेको गहना धनमाल फिर्ता गराउनसमेत प्रतिवादीले मौकैमै उजूर गर्न सक्नुपर्ने नसकी २०१० सालमा वादीले अंशमा नालिस गरेपछि प्रतिवादी दिँदामात्र मेरो छोरा होइन भन्नेसमेत जिकिर उठाएको देखियो । तत्काल प्रचलित जारीको १० नं.मा जारीखतको सजाय नगराई त्यसै छोड्ने मानिस जमामर्द ठहर्नेसमेत उल्लेख भएकोले मेरो पक्षले जारीखत समेतमा उजूर नगरेको सो उजूर नगर्दैमा मेरो पक्षकै छोरो जातक ठहर्न नसक्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले हाल वहसमा जिकिर लिनुभएको हकमा आफू जमामर्द बन्न उजूर नगरेको भन्नेसमेत प्रतिवादीमा उल्लेख गर्न नसकी म आफै पक्राउ गर्न जाँदासमेत लुकिछिपी हिँडेबाट फेला नपरिरहेको भन्नेसमेत उल्लेख गरेकाले आफू जमामर्द बन्न उजूर नगरेको भन्ने विद्वान अधिवक्ताको वहस जिकिर प्रतिवादीकै लेखाइबाट समर्थित हुन सकेको छैन ।

          ११. खास गरी आफ्नो स्वास्नी अर्कोसँग पोईल गएकी कायम भई छोरा जातक यसको भन्ने ठेगाना लागी सकेको अवस्थामा आफू जमामर्द बन्न जारी खतमा सजाय नगराई त्यसै छाड्न सकिने कुरा हो । माईत गई बसेकी स्वास्नीले छोरो जातक जन्माएकी छ र सो छोरो आफ्नो होइन भन्ने मौकैमा त्यसको ठेगाना नलगाएपछि आफूलाई बाबु भनी अंंशसमेतमा दावी गर्न आउने समेत बचाउको लागि सो छोरो जातकको ठेगाना लगाउन र आफ्नो गहना धनमाल समेतमा कानूनबमोजिम मौकैमा उजूर नगरी चुप लागि बस्न पर्ने अवस्था देखिन पनि आउँदैन । वादीका साक्षीहरूले प्रतिवादी भिमबहादुरकै छोरा जातक हो भनी बकपत्र गरेको ती साक्षीहरूले घुस खाई झुट्टा बकेको हुँदा सजाय गरी बकपत्र बदर गरीपाउँ भन्ने दावी लिई प्रतिवादीले छुट्टै नालिस दिएकोमा घुस खाई झुट्टा बकेको नठहरी फैसला भएको देखिन्छ । मेरो पक्षका ४६ जना साक्षीले भिमबहादुरको छोरो जातक होइन भनी बकेको छन् । त्यतिका साक्षीको बकाईलाई साँचो नमानी वादीका ४ जना साक्षीको बकाईको आधारमा मेरा पक्षकै छोरा जातक ठहराउन नमिल्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको अर्को बहस जिकिर हकमा मुख्य प्रतिवादीले मौकैमा कानूनबमोजिम उजूर गरी आफ्नो छोरा जातक होइन भन्ने कार्य गराउन नसकी छोरा ७ वर्षको हुँदासम्म चुप लागी बसेको कुरामा प्रतिवादीका ४६ जना साक्षीले भिमबहादुरको छोरो जातक होइन भनी बकेको भन्नेसम्म आधारमा अन्य प्रमाणको अभावमा प्रतिवादीको छोरा जातक नठहराउनु न्यायसंगत हुँदैन । वादीेले अंशमा नालिस गरी सकेपछि मात्र मेरो छोरा जातक होइन भिनाजु करवीरसँग पोइल गइसकेकी स्वास्नी हो भनी प्रतिवादीले जिकिर उठाउनुको खास कारण पछि चित्त नमिली माईत गई बसेकी स्वास्नी र निजबाट जन्मेको छोरो समेतलाई अंश नदिई पन्छाउने नियत गरेको, करणी धनमाल समेतमा मौकामा आफूले उजूर नगरेकोबाट प्रतित हुन्छ ।

          १२.  तसर्थ उपरोक्त उल्लिखित प्रमाण र तर्कहरू समेतको आधारमा मेरो करणी वीर्यबाट जन्मेको छोरा होइन भन्नेसमेत प्रतिवादीको जिकिर पुग्न सक्दैन । छोरा प्रतिवादीकै कायम गरी वादीलाई करणी वगवाद गरेको समेत ठहराई शुरु कास्की जिल्ला अदालत तथा गण्डकी अञ्चल अदालतले गरेको इन्साफ सदर गरी ०२५।४।२५।६ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ, निवेदक प्रतिवादी भीमबहादुर शाही ठकुरी के मुद्दा दोहर्‍याएमा डिभिजनबञ्चले गरेको जरिवाना रू.१। को अ.बं.२४ नं.सयकडा १० ले रू.।१० दश पैसा जरिवाना हुन्छ वारिस हुँदा असूल गर्न कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

प्र.न्या. रत्नबहादुर बिष्ट,

न्या. चन्द्रप्रसाद प्रधान

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् २०२९ साल जेठ १७ गते रोज ३ शुभम् ।