July 30, 1998
Created by nepalarchives

निर्णय नं. ६६९५ – लिखत बदर

निर्णय नं. ६६९५                  ने.का.प. २०५६             अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री दीलीपकुमार पौडेल सम्वत् २०५२ सालको दे.पु. नं. ३३४९...

निर्णय नं. ६६९५                  ने.का.. २०५६             अङ्क ३

संयुक्त इजलास

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

माननीय न्यायाधीश श्री दीलीपकुमार पौडेल

सम्वत् २०५२ सालको दे.पु. नं. ३३४९

फैसला मितिः २०५५।४।१४।५

मुद्दाःलिखत वदर ।

पुनरावेदक/प्रतीवादीः जिल्ला कास्की ढिकुर पोखरी गा.वि.. वडा नं. ९ वस्ने वर्ष २५ को तुलसी प्रसाद भण्डारी ।

विरुद्ध

विपक्षी/वादीः ऐ.. वडा नं. ४ वस्ने वर्ष २१ को इन्द्र प्रसाद भण्डारी समेत जना ४ ।

§  नावालक आफै र आफ्ना एकाघरमा अंशियार दाजुहरु समेत भै संयुक्त रुपमा अदातलमा उपस्थित भै फिराद पत्र दिएको देखिन्छ । यसरी नावालक टंक प्रसाद आफ्ना एकाघरका दाजुहरु समेत भै संयुक्त रुपमा स्वयं अदालतमा उपस्थित भै एउटै फिराद पत्रमा दावी दिई फिराद पत्र दर्ता गराएको अवस्थामा अ.वं. ८३ नं. आकर्षित हुन सक्ने  नदेखिने ।

                        (प्र.नं. १४)

§  अंशवण्डाको १९ नं. मा गरेको कानूनी व्यवस्थाले घरको मुख्य वावुलाई मात्र सो अधिकार  प्रदान गरेको देखिन्छ । उक्त ऐनले अंशियार दाजु भाइलाई पैतृक सम्पत्ति आफूखुश गर्न  पाउने गरी अधिकार प्रदान गरेको पाइदैन । उक्त अंशवण्डाको १९ नं. घरको मूख्य वावु वाहेक अन्य अंशियार दाजुभाइएको हकमा आकर्षित हुन नसक्ने ।

        (प्र.नं. १५)

पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री यज्ञमूर्ति वञ्जाडे

प्रत्यर्थी तर्फबाटः X

अवलम्बित नजीरः X

फैसला

न्या. दिलिप कुमार पौडेलः पुनरावेदन अदालत, पोखराको मिति २०५२।३।३२ को फैसला उपर न्याय प्रसाशन, २०४८ को दफा ९() () बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट एबं ठहर यस प्रकार छ ।

.     हाम्रा पिता पशुपति भण्डारी २०४३ सालमा परलोक हुनु भएको र उहाँकी पत्नी तथा हाम्री महातारी वेद कुमारीका जेठा विपक्ष दुर्गा दत्त, माहिला इन्द्र प्रसाद, साहिला हरिदत्त, ठूलो कान्छो प्रेम सागर, कान्छो टंक प्रसाद समेत ६ अंशियार छौं महातारी लाटी सोझि र जिर्ण रोगी समेत भएकोले घरको गैर व्यवहार विपक्ष दाजु दुर्गादत्तले गर्दै आउनु भएको थियो  र छ हामी अंहियारा एकासगोलमा वसी आएको अवस्थामा विपक्षी जेठो दाजुले आफ्नी श्रीमती इन्द्रकलाका नाउँमा जग्गा जमिन लिने र वैंकमा रुपैया राख्ने घरको आयस्था लुकाउने गरेकोले छुट्टी वेगल बस्ने खलवल उठिरहेको थियो । त्यस्तैमा ढिकुर पोखरी गा.वि.. वडा नं. ९ को कि.नं. ८०५ को दाजु दुर्गादत्तको नाउँमा दा.खा. दर्ता भएको रोपनी १२३ को उत्तर तर्फको रोपनी ३२ को जग्गा विपक्षी दाजु दिने र तुलसी प्रसाद लिने गरी गरी कास्की मालपोत कार्यालयबाट मिति २०४९।१।२४ का हालको वकसपत्र पारीत गरेका रहेछन् । यो कुरा ०५० सालको वाली लगाउने कुरा हुँदा विपक्षी तुलसी प्रसादले यो जग्गा मैले लिएको छु भनेकोले मालपोत कार्यालयबाट नक्कल सारी हेर्दा एकीन भयो । हाम्रो पुर्ख्यौली सगोलको सम्पत्ति हामीहरुलाई केही पत्तै नदिई मन्जुरी समेत नलिई विपक्षीहरुले हालैको वक्स गरी दिएको उक्त जग्गा मध्ये ६ भागको ४ भाग दक्षिण पट्टिको रोपनी २० को हदसम्मको लिखत वदर गरी हामीले राखेको कोर्ट फि समेत दिलाई पाउँ भन्ने समेत इन्द्र प्रसाद भण्डारी समेत जना ४ को संयुक्त फिराद पत्र ।

.     विपक्षीको फिराद दावी कपोलकल्पीत एबं झुठा हो । कि.नं. ८०५ को रोपनी १२३ मध्ये कित्ता फोड गरी कि.नं. १८४८ को रोपनी ३२ को म तुलसी प्रसाद लिने र  वाँकी कि.नं. १८४९ को रोपनी ९१ को जग्गा दुर्गादत्तको नाममा कायम छ । तसर्थ लेनदेन व्यवहारको १० नं. तथा अंश वण्डाको १९ नं. को कानूनी व्यवस्था अनुसार आधा भन्दा बढी जग्गा कायमै भएको हुँदा लिखत वदर हुने अवस्था छैन । दाता दुर्गादत्त र निजहरुको आमा समेत गरी २ अंशियाराले लिखत गरी दिएका हुन । वादीहरुको हकभन्दा बढी जग्गा बाँकी नै छ । यस्तो अवस्थाको फिराद दानवक्सको १ नं. प्रतिकुल नै छ । वादी तथा प्रतिवादीहरु समेतका अंसियारहरुलाई आर्थिक सहयोग गरे वापत रिजगुण वापत आमा समेतलाई साक्षीमा राखी लिखत पास गरी लिएको हुँदा निजको हकदैया मेटिएको छैन ।  प्रस्तुत फिराद दानवक्सको १ नं., लेनदेन व्यवहारको १० नं. तथा अंशवण्डाको १९ नं. प्रतिकुल दायर हुन आएको हुँदा प्रस्तुत फिराद पत्र खारेज गरी पाउँ खारेज नभै इन्साफ हुने हो भने पारीत लिखत सदर कायम गरी वादी दावीबाट अलग लिखत सदर कायम गरी वादी दावीबाट अलग फुर्सद पाउँ भन्ने तुलसी प्रसाद भण्डारीको प्रतिउत्तर पत्र ।

.     प्रतिवादीहरु मध्येका दुर्गादत्त भण्डारीका नाउँमा मिति ०५०।२।१६ मा म्याद तामेल भै सो म्याद भित्र प्रतिउत्तर नदिई म्यादै गुजारी वसेको ।

.     कास्की जिल्ला अदालतको आदेश अनुसार मालपोत कार्यालयबाट दर्ता श्रेष्ताको प्रतिलिपी झिकाई आएको मिसिल सामेल रहेछ ।

.     अंशवण्डाको १९ नं. ले घर व्यवहार चलाउन घरको मुख्य भै काम गर्ने व्यक्तिको अचलमा आधा सम्ममा आफुखुश गर्न पाउने देखिएका र श्रेष्ताबाट पनि प्र.दुर्गादत्तको नाममा हक छाडी दिएको जग्गा भन्दा बढी नै जग्गा बाँकी रहेको देखिन्छ  भने प्रतिवादी दुर्गादत्त भण्डारी घरको मूख्य व्यवहार चलाउने व्यक्ति भएको तथ्यलाई वादीले नै स्वीकार गरेको देखिनाले समेत वादी दावी पुग्न सक्दैन भन्ने कास्की जिल्ला अदालतबाट मिति २०५०।८।७ मा भएको फैसला ।

.     अंशवण्डाको १९ नं. लगाई  वादीको दावी पुग्न नसक्ने भन्ने अंशवण्डाको १९ नं. तथा दान वक्सको १ नं. लेनदेन व्यवहारको १० नं. को प्रतिकुल गरी  जि.. बाट फैसला भएको छ । वुझ्नु पर्ने साक्षी बुझीएको छैन । तसर्थ शुरु जि..को फैसला उल्टाई वदर गरी वक्सपत्र लिखतबाट क्षे. रो. ० को हदसम्म लिखत वदर गरी दावी बमोजिम हक संरक्षण गराई पाउँ भन्ने इन्द्र प्रसाद भण्डारी समेत जना ४ को संयुक्त पुनरावेदन पत्र ।

.     यसमा अंश वण्डाको १९ नं. को व्याख्या सम्बन्धमा शुरु फैसला विचारणिय हुँदा छलफलको निमित्त अ.. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ अनुरुप विपक्षी झिकाई आएपति वा अवधी नाघेपछि नियमानुसार पेश गर्नु भन्ने श्री पुनरावेदन अदालत पोखराबाट मिति २०५१।९।२४ मा भएको आदेश ।

.     लिखतमा साक्षी वसेकी आमा वेद कुमारी र लिखत गरी दिने दुर्गादत्त भण्डारीको अंश हकको सम्म लिखत सदर हुने हो । अरु छोराहरु इन्द्र प्रसाद, हरिदत्त, प्रेम सागर र टंक प्रसाद समेतको अशं हकको सम्पत्ति लिखत गरी दिएको वदर गरी दिनु पर्नेमा वादी दावी नपुग्ने ठहर्‍याएको शुरु कास्की जिल्ला अदालतको फैसला त्रुटिपुर्ण हुँदा उल्टी हुन्छ र वादी दावी बमोजिम ६ अंश मध्ये ४ अंश सम्मको लिखत वदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको मिति २०५२।३।३२ को फैसला ।

१०. वादी मध्येकी टंक प्रसाद भण्डारीको उमेर फिराद गर्दा १३ वर्षको रहेकोले अ.वं. ८३ नं. बमोजिम अड्डाको अनुमति लिई फिराद गर्नुपर्नेमा अनुमति लिएको नहुँदा फिराद खारेजभागी छ । विवादीत लिखत २०४९।१।२४ मा रजिस्ट्रेशन भएको हुँदा वादीहरुले २०५०।१।२२ मा थाहा पाएको भनि ऐ.२५ मा फिराद गरेको हुँदा उक्त फिराद लेनदेन व्यवहारको १० नं. विपरित छ । घरको मुख्य व्यवहार गर्नेले आमालाई साक्षी राखी बैंकको ऋण तिर्न जग्गा विक्रि गरेको सन्दर्भलाई वावुले मात्र विक्रि व्यवहार गर्न सक्छ, दाजुले सक्दैन भनी अर्थ गरिनु न्याय संगत हुँदैन मलाई हक हस्तान्तरण गरि दिने दुर्गादत्त भण्डारीका सगोलमा अंशियार भाईहरुले उक्त लिखत रजिष्ट्रेशन भएको मन्जूर नगरेकोमा निज लिखत रजिस्ट्रेशन गरी दिने व्यक्तिका अंश भागको हक सम्ममा  लिखत वदर हुनु पर्नेमा मैले लिएको लिखत वदर हुने होइन । तसर्थ कानूनको आधारमा नभएको फैसला वदर योग्य हुँदा वदर गरी शुरु इन्साफ मुनासिव ठहर्‍याई इन्साफ पाउँ भन्ने समेतको प्रतिवादीको पुनरावेदन जिकिर ।

११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा हाम्रो समेत अंश हक लाग्ने सगोलको संपत्तिबाट हामी अंशियारलाई कुनै थाहा जानकारी  नै नदिई घरको जेठो दाजु दुर्गादत्तले ३२ जग्गा मिति २०४९।१।२४ मा तुलसी प्रसादका नाउँमा हालको वक्सपत्र गरि दिएको कुरा २०५० सालको वाली लगाउने वेलामा थाहा पाई नक्कल सारी लिएको मितिले म्यादभित्र उजूर गर्न आएको हुँदा उक्त जग्गाको ६ भागको ४ भाग दक्षिण पट्टिको २० को हदसम्मको लिखत वदर गरी कोर्ट फि समेत भराई पाउँ भन्ने वादी दावी तथा दावी झुठा हो जम्मा जग्गा मध्ये ३२ मा तुलसी प्रसादका नाममा र वाँकी दुर्गादत्तकै नाममा रहेको हुँदा लेनदेन व्यवहारको १० नं. तथा अंशवण्डाको १९ नं. को कानूनी व्यवस्था अुनसार आधाभन्दा बढी जग्गा वादीहरुकै पक्षमा कायम रहेको हुँदा आमा साक्षी वसी भएको लिखत वदर हुने होइन । फिराद खारेज हुनु पर्दछ भन्ने प्रतिउत्तर जिकिर भई उत्पन्न विवादमा पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थिति विद्वान अधिवक्ता यज्ञमुर्ति वन्जाडेले मेरो पक्षलाई लिखत गरिदिने व्यक्ति वादीहरुको जेठो दाजु भएको र वावु नरहेको अवस्थामा घरको मुख्य भै कामकाज गर्ने निज दाजु भएको कुरामा विपक्षी वादीहरु पनि सहमत छन् । यसरी घरको मुख्य भै कामकाज गर्ने व्यक्तिले घर संचालनार्थ संपूर्ण संपतिको आधा भन्दा कम जग्गामा अन्य अंशियाराको सहमति लिई रहनु नपर्ने व्यवस्था भएको र सगोलको आमा साक्षीमा रहि भएको लिखत वदर हुनु पर्ने होइन । वावु पशुपति भण्डारी परलोक भएपछि वादी दावीको संपत्ति जेठा छोरा दुर्गादत्त भण्डारीको  नाउँमा भै आएको र कृषि विकास वैंकमा धितो राखी दुर्गादत्तले ऋण लिएका पनि थिए । दुर्गादत्तले नै भोगवन्धकीमा पनि दिएका छन् । वावुको मृन्यु पश्चात घरको प्रमुख भै  काम गर्दै आएको यी दुर्गादत्तले सवैको सहमतिलिई आमा समेतलाई साक्षी राखी ऋण तिर्नको लागि वक्सपत्र भने पनि पैसा लिई वक्सपत्र पारित गरी दिएको जग्गा हो । प्रस्तुत  फिराद पत्र लेनदेन व्यवहारको १०, नं. को दहम्याद भित्र दिएको छैन । नावालकको हकमा अ.वं. ८३ नं. बमोजिम अनुमति लिइएको पनि छैन । घरको मुख्य भएको नाताले आफ्नो हक जति दिन पाउने हुँदा  जग्गा रोपनी १२३ मध्ये ३२ जग्गा सम्म दिएको आधा भन्दा बढी नै वाँकी भै वदर  हुन नपर्ने वादी दावी खारेज हुनु पर्ने भन्ने समेत गर्नु भएको वहस जिकिर समेत सुनी प्रस्तुत मुद्दामा निम्न प्रश्नको निरोपण हुन पर्ने देखिन्छ:

. प्रस्तुत मुद्दा हदम्याद भित्रको छ, छैन ?

. नावालकको हकमा मुद्दा दायर गर्ने अनुमति नलिई अ... ८३ नं. को त्रुटी गरी फिराद दायर भएको छ, छैन ?

. प्रस्तुत मुद्दामा अंश वण्डाको १९ नं. आकर्षित हुने हो, होइन ?

. वादी दावीको लिखत पारित गरी दिँदा यी वादीहरुको मन्जुरी लिन पर्ने हो, होइन ? सो लिखत वदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ?

१२.    पहिलो प्रश्न तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीका तर्फबाट विद्वान अधिवक्ताले प्रस्तुत फिराद पत्र लेनदेन व्यवहारको १० नं. को दावी लिई परेको हुँदा सोही ऐनको हदम्याद आकर्षित  हुने र सो लेनदेन व्यवहारको १० नं.ले रजिष्ट्रेशन भएको एक वर्षभित्र फिराद पत्र दायर गर्नुपर्छ सो म्याद नघाई दायर भएको छ भन्ने आफ्नो वहसको क्रममा जिकिर लिनु भएको छ । फिराद पत्र हेर्दा लेनदेन व्यवहारको १० नं. दानवक्सको १ नं. र ५ नं. को हदम्याद अन्तरगतको भनि दायर भएको देखिन्छ। फिराद पत्रमा दावी लिएको सम्पत्ती वक्सपत्र गरी हक छाडेको देखिन्छ । राजीनामा वा छोडपत्रको कागजातबाट हक हस्तान्तरण गरेको देखिदैन । वक्सपत्र दिएको लिखतको विषयलाई प्रस्तुत फिराद पत्रमा  दानवक्सको १ नं. र ५ नं. को आधार लिएको देखिएकोले प्रस्तुत विवादमा दान वक्स ऐनमा भएको हदम्याद नै आकर्षित हुने देखिन्छ । उक्त दान बक्सको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति  दान वा वक्स गरी दिनुहुन्छ । आफ्नो खुश गर्न पाउने वाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दानबस्क गरी दिनु हुदैन भन्ने र ५ नं. मा आफूले दान वक्स पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान वक्स दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन  भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । प्रस्तुत दावीको वक्सपत्रको लिखत ०४९।१।२४ मा पारीत भएको र प्रस्तुत मुद्दाको फिराद पत्र मिति २०५०।१।२५ मा दायर भएको देखिँदा प्रस्तुत मुद्दाको फिराद लिखत पारित भएको एक वर्ष २ दिन भित्र दायर भएको देखिँदा उक्त दान बक्सको ५ नं. को हदम्याद भित्रे दायर भएको देखिन्छ ।

१३.    पुनरावेदक तर्फका विद्वान अधिवक्ताको वहस जिकिर अनुसार वक्सपत्र भन्ने व्यहोरामा उल्लेख भए पनि रकम लिएर नै वक्सपत्र पारीत गरी दिएको हुनाले लेनदेन व्यवहारको १० नं. को हदम्याद अकार्षित हुने भनी मानेको खण्डमा पनि उक्त लेनदेन व्यवहारको १० नं मा मन्जुर नहुनेले रजिष्ट्रेशन भएको मितिले १ वर्ष सम्म थाहा पाएको ३५ दिन भित्र उजूर गर्नु पर्ने कानूनी व्यवस्था गरेको पाइन्छ । उक्त कानूनी व्यवस्थाको सगोलको सम्पत्ति कसैलाई हक छाडी दिँदा उक्त अंशियारको मन्जुरी लिनु पर्ने नलिएमा अंशियाराहरुले आफ्नो हक जति वदर गराई माग्न सो लिखत पारीत भएको १ वर्ष सम्म थाहा पाएको ३५ दिन भित्र अर्थात रजिष्ट्रेशन भएको मितिले १ वर्ष भित्र जुन मितिमा थाहा पाएको हुन्छ सो मितिबाट ३५ दिन भित्र उजुर दिनु पर्ने हुन आउँछ । लिखत पारीत भएको मितिले १ वर्ष भित्रै फिराद दिनु पर्ने भन्ने उक्त ऐनको मनासाय होइन । विवादको लिखत ०४९।१।२४ मा पारीत भएको कुरामा विवाद छैन । सो लिखत भएको कुरा मिति २०५०।१।२२ मा नक्कल सारेर थाहा पाएको भन्ने प्रत्यर्थी वादीहरको कथन छ सो होइन । सो भन्दा अगावै थाहा पाएको भन्ने पुनरावेदक प्रतिवादीको कुनै जिकिर छैन । लिखत रजिष्ट्रेशन पारित भएको मिति ०४९।१।२४ बाट १ वर्ष भित्रै ०५०।१।२२ मा थाहा पाएको भन्ने  र सो थाहा पाएको भनेको मितिले ३५ दिन भित्रै अर्थात ०५०।१।२५ मा फिराद पत्र दिएको देखिनाले उक्त लेनदेन व्यवहारको १० नं. ले निर्दिष्ट गरेको हदम्याद भित्रै पनि प्रस्तुत मुद्दाको फिराद पत्र दायर भएको देखिन्छ । प्रस्तुत मुद्दाको फिराद पत्र लेनदने व्यवहारको १० नं. को हदम्याद भित्र दायर भएको छैन भन्ने पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ताको वहस जिकिरसंग सहमत हुन सकिएन ।

१४.    अव दोश्रो प्रश्न नावालक टंक प्रसादको हकमा अ.वं. ८३ नं. बमोजिम फिराद दायर गर्ने अनुमति नलिई दायर गरिएको छ  भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताले लिनु भएको वहस जिकिरको सन्दर्भमा विचार गर्दा नावालक तर्फबाट नालेस दिनु पर्ने भएमा निजको एकाघरको हकवाला नभए निजको रेखदेख संरक्षण गर्ने व्यक्तिले अदालतको अुनमति लिई नालेस दिन सक्ने अ.वं. ८३ नं. मा गरिएको कानूनी व्यवस्था ती नावालक आफै अदालतमा उपस्थिति नभै अरु एकाघरको हकवाला वा निजको रेखदेख संरक्षण गर्ने व्यक्तिले नालेस दिनु पर्ने अवस्थामा अ.वं. ८३ नं. बमोजिम अदालतको अनुमति लिएर नालेस दिनुपर्ने हुन आउँछ । त्यसरी मुद्दामा ४ जना फिरादीले संयूक्त रुपमा एउटै फिराद पत्र आफै उपस्थित भै दिएका छन् । ती ४ जना मध्ये एक जना टंक प्रसाद सो समयमा १६ वर्ष नपुगेको नावालक देखिन्छ । त्यसरी नावालक आफै र आफ्ना एकाघरका अंशियारा दाजुहर समेत भै संयुक्त रुपमा अदालतमा उपस्थित भै फिराद पत्र दिएको देखिन्छ । यसरी नावालक टंक प्रसाद आफ्ना एकाघरका दाजुहरु समेत भै संयुक्त रुपमा स्वयं अदालतमा उपस्थित भै एउटै फिराद पत्रमा दावी लिई फिराद पत्र दर्ता गराएको अवस्थामा अं.बं. ८३नं. आकर्षित हुन सक्ने देखिएन ।

१५.   प्रस्तुत मुद्दामा अंशवण्डाको १९ नं. आकर्षित हुने हो होइन ? भन्ने तेश्रो प्रश्नतर्फ विचार गर्दा पिता पुर्खाको पालाको संपत्तिमा चलमा सवै र अचलमा आधासम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा र विधुवा वुहारीको मन्जुरी नभए पनी आफुखुश गर्न पाउने भन्ने अंशवण्डाको १९ नं. मा गरेको कानूनी व्यवस्थाले घरको मुख्य बावुलाई मात्र सो अधिकार प्रदान गरेको देखिन्छ । उक्त ऐनले अंशियार दाजु भाइलाई पैतृक सम्पत्ति आफूखुश गर्न पाउने गरी अधिकार प्रदान गरेको पाइदैन । उक्त अंशवण्डाको १९ नं. घरको मुख्य वावु वाहेक अन्य अंशियारा दाजुभाईको हकमा आकर्षित हुन सक्दैन । वावुको मूत्यु पश्चात धितो राख्ने कर्जा लिने आदि कारोवार घरको जेठोवाठो दाजुको हैसियतले प्रतिवादी दुर्गादत्तले गरी आएको भए पनि अंशवण्डाको १९ नं. को प्रयोजनको लागि वावुले पैतृक सम्पत्ति आधीसम्म व्यवहार चलाउन आफूखुश गर्न पाउने छुट  भित्र यी प्रतिवादी दुर्गादत्त पर्न आउने देखिदैन ।

१६.    अव वादी दावाको लिखतको सम्पत्ति वकसपत्र दिँदा यी वादीहरुको मन्जुरी लिनु पर्ने हो, होइन ? सो सम्पत्ति दावी बमोजिम वदर हुने हो, होइन र पुनरावेदन अदालत पोखराले ६ भागको ४ भाग वदर हुने ठहर्याएको मिलेको छ, छैन भन्ने तर्फ विचार गर्दा वादी दावीको लिखत पैतृक सम्पत्ति हो भन्ने वादी दावीको लिखत पैतृक सम्पत्ति हो भन्ने कुरामा विवाद छैन । सो वकसपत्रको लिखत गरी दिँदा यी वादीहरुको मन्जुरी लिएको वा साक्षी राखेको देखिदैन । दानबक्सको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वक्स गरी दिन हुन्छ । आफूखुस गर्न पाउने वाहेक अरुमा अंशियार हक पुग्नेको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वक्स गरी दिन हुँदैन भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । उक्त कानूनी व्यवस्थाबाट प्रतिवादी दुर्गादत्तले पुनरावेदक प्रतिवादी तुलसी प्रसाद भण्डारीलाई वक्सपत्र पारीत गरी दिएको लिखतमा यी वादीहरुलाई साक्षी राखेको वा निजहरुको मन्जूरी  लिएको नदेखिएको अवस्था छ। यस्तो स्थितिमा यी मन्जुर नहुने वादीहरुको विवादित पैतृक सम्पत्तिमा अंश हक लाग्ने नै हुँदा जम्मा ६ जना अंशियारमा लिखत गर्ने र सो लिखतमा साक्षी बस्ने आमाको वाहेक गरी अरु चार जान प्रत्यर्थी वादीहरुको अंश हक जति ६ भागको चार भाग लिखत वदर हुने ठहर्‍याई गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै हुँदा मनासिव ठहर्छ  । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. इन्द्रराज पाण्डे

 

इति संवत् २०५५ साल श्रावण १४ गते रोज ५ शुभम् ……….