September 3, 1998
Created by nepalarchives

निर्णय नं. ६६५५ – निखनाई पाउं

निर्णय नं. ६६५५                  ने.का.प. २०५६             अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्‍ठ माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५३ सालको दे.पु.नं. …. ३०३९...

निर्णय नं. ६६५५                  ने.का.. २०५६             अङ्क १

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्‍ठ

माननीय न्यायाधीश श्री टोपबहादुर सिंह

सम्वत २०५३ सालको दे.पु.नं. …. ३०३९

सम्वत २०५४ सालको दे.पु.नं. …. ४६४५

फैसला मितिः २०५५।४।१८।२

मुद्दाः निखनाई पाउं ।

 

पुनरावेदक/प्रतिवादीः का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. २१ बस्ने राम शरण सिंह डंगोल

विरुद्ध

विपक्षी /वादीः का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. १३ बस्ने बशुमाया महर्जन

 

पुनरावेदक/प्रतिवादीः का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. १३ बस्ने बशुमाया महर्जन

विरुद्ध

विपक्षी /वादीः का.जि. काठमाण्डौ महानगरपालिका वडा नं. २१ बस्ने राम शरण सिंह डंगोल

 

§  वादीले पति न्हुच्छे महर्जनबाट मिति२०४२।६।२२ मा गरिलिएको घरसारको लिखतले कानूनी मान्यता ग्रहण गर्न नसकी विवादित घर जग्गा वादीको निर्विवाद हक भोगको भन्ने अवस्था देखिँदैन । मुलुकी  ऐन, लेनदेन व्यवहारको ११ नं. मा कसैले आफ्नो हक पुग्ने अचल बिक्री गरेकोमा यसै महलको १० नं. बमोजिम साक्षी बस्ने, मन्जूरी दिने बाहेक सो बिक्री भएको सम्पत्ति सन्धीसर्पन परेको निजको ऐन बमोजिम कुनै हकवालाले निखनी लिन चाहेमा पैँतिस दिनभित्र निखनी लिन पाउँछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा विवादित कि.नं. ७६१ को जग्गा वादीको नाममा दर्ता रहे भएको समेत नदेखिएको अवस्थामा सो जग्गामा बनेको घर नाताले कि.नं. ७६१ को जग्गा  र सो जग्गाको घर वादीको हकभोगको सम्पत्ति भन्ने देखिदैन कि.नं. ७६१ को सन्धीसर्पन पर्ने भई निखनी पाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको पुनरेदन अदालत पाटन समेतको फेसला मिलेको देखिँदा सदर हुने ।

(प्र.नं. ११)

पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री बच्चु सिंह खडका

विपक्षी वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री ईश्‍वरीप्रसाद भट्टराई

अवलम्वित नजिरः

फैसला

        न्या. गोविन्दबहादुर श्रेष्‍ठः न्याय प्रशासन ऐन, २०४८ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एंव ठहर यस प्रकार छः

        .     मेरो पति न्हुच्छे महर्जनले निज पतिकै नाउंमा मा.पो.का. काठमाण्डौमा दर्ता रहेको का.जि. सितापईला गा.वि.. वडा नं. () कि.नं. ७६१ को क्षेत्रफल ०१४० जग्गा न्हुच्छे महर्जनको मन्जूरीले मेरो दाईजो पेवाबाट आएको सम्पत्तिबाट घर निर्माण गर्न मन्जूरी भई मिति २०४२।६।२२ गतेका दिन मन्जूरीनामाको लिखत गरी लिई म फिरादीले आफैँले घर बनाई घरमा ग्राहक नं. २६११२६ को बिजुली बत्ती समेत मेरै नाममा जडान भएको र हालसम्म पनि सोही घरमा बसोबास गरी आएको अवस्थामा विपक्षी राम शरण डंगोल र पति बिचमा मिति ०४७।८।३ र.नं. २९१६ राजिनामाद्वारा रजिष्ट्रेशन पास गरी लिनु दिनु भएको रहेछ । २०४८।१।२५ मा नक्‍कल सारी हेर्दा थाहा भएकोले राजिनामा अनुसारको जग्गा निखनी निखनाई मेरो नाउंमा कायम गराई पाउं भनि मिति ०४८।२।२० गतेका दिन मा.पो.का. मा निवेदन समेत गरेको थिएं । मा.पो.का. समक्ष दिएको निवेदनमा मा.पो.का. काठमाण्डौबाट घर बनाउनु प्राप्‍त गरेको मन्जूरीनामाको कागजबाट प्रमाण बुझि निर्णय दिनु पर्ने हुंदा त्यसरी प्रमाण बुझी इन्साफ गर्ने कार्य कार्यालयको क्षेत्र भित्र नभएकोले ऐनका म्यादभित्र सम्बधि अदालतमा गई तेरो मेरोमा निर्णय गराई आएको बख तकारबाही गर्न सकिने भएकोले उपस्थित दुवै पक्षलाई तारेख छुटाई मिति २०४९।१०।२ गतेका दिन निर्णय गरेको हुंदा यो फिराद गर्न आएको छु । यसर्थ विपक्षी रामशरण डंगोल र पति न्हुच्छे महर्जनका बिचमा मिति २०४७।८।३ गते भएको राजिनामाको लिखत बमोजिमको जग्गा सोही राजिनामा उल्लेख भएको थैली मा.पो.का. काठमाण्डौमा ५०१६०। धरौटी रखेको छ सो समेत बुझ्न लगाई लेनदेन व्यवहारको ११ र १६ नं. बमोजिम उल्लेखित जग्गा निखनाई न्याय पाउं । उक्त जग्गा निखन्न नपाएमा मेरो हक हनन हुने र मलाई अतिनै सन्धी सर्पन पर्ने भएको हुंदा उक्त जग्गा निखनाई उक्त जग्गा म फिरादीकै नाममा कायम गराई भोग चलन समेत गर्न पाउं भन्ने समेत बशुमाया महर्जनको मिति २०४९।११।९ को फिराद पत्र ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                              

        .     विपक्षी फिरादीले निखनाई पाउं भनि दावीलिएको घर जग्गा निजको पतिको नाउंमा मा.पो.का. काठमाण्डौमा दर्ता रहेको भन्दा अघि विपक्षीको पतिले मिति ०४२।४।१ मा सानु महर्जनसंग चौध आना जग्गा हालै देखिको वक्सपत्र पारित गरी लिएको जग्गा हो विपक्षीहरु निखनीपाउं भनि दावी गरेको जग्गा विवादित साविक का.जि.सितापाइला गा.वि.स वडा नं. () को कि.नं. ७६१ को क्षेत्रफल ०१४० जग्गाको कुन अवस्थामा म प्रतिवादीको नाउमा पारित हुन आएको हो विपक्षीका पतिले कति रकम लिएका छन सो सम्बन्धमा यस मुद्दामा म प्रतिवादी रामशरण सिंह डंगोल वादी भै विपक्षी बशुमाया महर्जन समेत प्रतिवादी भएको ०४९।२।७।४ मा यसै का.जि.. मा दर्ता गरेको जालसाजी मुद्दामा सबै आफ्नो भएको व्यहोरा विस्तृत रुपले उल्लेख गरी विपक्षी वादी समेत विरुद्ध दायर गरेको जालसाजी मुद्दा यसै अदालतमा विचाराधिनमा भएको हुंदा सो मुद्दाबाटै खुल्ने नै हुदा उक्त जालसाजी मुद्दा यसै साथ संलग्न गरी हेरी विपक्षी वादी बशुमाया महर्जन र निजका पति न्हुच्छे बहादुर दुई जनाको मिलोमतोबाट म प्रतिवादीको घर जग्गामा परेको थैली नगद रु. ,५००००। भुस्याउने उद्देश्‍यले मिति २०४२।६।२२ को कथित मन्जूरनामा खडा गरी निखनी पाउ भन्ने झुठ्‍ठा फिराद दायर गरेको हुन् । विपक्षीका पतिसंग कि.नं ७६१ को जग्गा खरीद लिंदा घर जग्गा तीन कोठा मात्र लगाएको तर पुरा घर निर्माण नगरी सकेको अर्ध निर्माण मात्र भएको हुंदा मिति २०४७।८।३ मा र.नं. २९१६ बाट पारित गरी लिएको कि.नं. ७६१ भएको अधुरो घर ०४७ साल पौष देखि घर निर्माण गर्न शुरु गरी ०४८ साल वैशाख महिनामा लम्बाई ७० फुट चौडाई २८ फिटको पछि इटको जोडाई भएको ११ कोठा तयार गरेको छु । विपक्षी वादीका पतिले ०५० साल पौषसम्म निजले बिक्रि गरेको उक्त घर जग्गा खाली गरी दिने वचन दिएका थिए । तर पछि गएर ०४७ पौषमा हामीले घर निर्माण शुरु गर्न लाग्दा निर्माण सामाग्रीहरुको पनि रेखदेख गरि दिने तथा त्यस बेलामा विपक्षी र विपक्षीका पतिले डेरा नपाएको हुंदा केहि समयका लागि सो ठाउंमा बस्ने भनि विपक्षीका पतिले भनेको कारणले गर्दा मात्र विपक्षी र विपक्षीका पतिलाई सो घरमा बस्न दिएको हो । पछि ०४८ साल वैशाखमा घर तयार भएपछि सो घर जग्गा छोडी दिनु भनि विपक्षीका पतिलाई भन्दा विपक्षीका पति न्हुच्छे महर्जनले विपक्षीलाई उठाई मिति ०४८।२।२० मा उक्त मैले ०४७।८।३ मा राजिनामा गरी लिएको कि.नं. ७६१ को जग्गा मैले निर्माण गरेको घरलाई विपक्षीले आफ्नो पति संग ०४२।६।२२ मा मन्जूरी लिई विपक्षीले आफ्नो दाइजोकोबाट घर बनाएको भनि घरसारमा कथित मन्जूरीको लिखत खडा गरी सोही लिखतको आधारमा निखनाई पाउं भनी मा.पो. का. को मिति ०४९।१०।२ मा गरेको निर्णयको आधारमा विपक्षी वादिले निखनाई पाउं भनि दायर गरेको प्रस्तुत फिराद झुठा प्रमाण ऐन, २०३१ को दफा २६ को प्रतिकुल छ । विपक्षीका नाउंमा जडान गरेको भनिएको बिजुलीको आधारमा उक्त घर विपक्षीको हक स्थापित हुने होइन उक्त जग्गामा म निवेदकले नै बनाएको भन्ने कुरा सितापाईला गा.वि.. कार्यालयको सो घर म प्रतिवादीले नै तयार पारेको हुं भन्ने सम्बन्धी गा.वि.. कार्यालयले सो सबै जांचबुझ गरी सो कुरा प्रमाणित गरी दिएकै छ । विपक्षी वादीले सो घर तयार भएपछि सो घर जग्गा हत्याउनका निमित्त मा.पो.का. मा थैली झुक्याई घर निखन्न लागेको बहान बनाई जबरजस्ती सो घर कब्जा गर्न बाहिरका मानिसहरु लगि ५ वर्षका लागि कारारनामा गरी दिएको उक्त करारनामा न्हुच्छे महर्जनले आफ्नो घर भनि विपक्षी बशुमाया महर्जनले अन्तर साक्षी बसी रामप्रसाद रिमाल, नरेन्द्र राज पाठक र ज्ञानरथ कार्कीसग संझौता कागज फोटोकपी हाल उपलब्ध भएकोले यसैसाथ पेश गरेको छु ।

        .     विपक्षी वादी निजको पति संग छ । सो झिकी बुझी उक्त सम्झौता विपक्षी र विपक्षीका पतिलाई समेत दिलाई अ.बं. ७८ नं.  मुताविक बयान गराई प्रमाणलगाई पाउं अतः कि.नं. ७६१ मा मैले निर्माण गरेको घरलाई विपक्षीले आफ्नो भनि दावी लिई निखनी पाउं भन्ने दावी निरर्थक छ । वादी दावी अ.बं. १८० नं. बमोजिम खरेज गरी पाउं भन्‍ने समेत व्यहोराको राम शरण सिंह डंगोलको प्रतिउत्तर जिकिर ।

        .     मिसिल संलग्न प्रमाण एवं मा.पो. का. बाट प्राप्‍त मिसिल समेतका प्रमाणको आधारमा जग्गा निखनाई पाउं भन्ने समेत फिराद दावी पुग्न सक्दैन । वादी दावी झुठा ठहर्छ भन्ने काठमाण्डौ जिल्ला अदालतको मिति २०५०।१२।९ को फैसला ।

        .     मन्जूरनामा जालसाजी नभई सद्दे र कानूनी भएकोले र साक्षी प्रमाण समेतबाट मेरो दाईजो पेवाबाट मैले बनाएको मेरो घर हुंदा संधिसर्पन पर्ने ऐन बमोजिमको म हकवाला भएकोले मैले लेनदेनको ११ र १६ नं. ले निखन्न पाउने हुंदा नपाउने भन्ने ठहर गरेको का.जि.. को मिति ०५०।१२।९ को फैसला त्रुटीपूर्ण भएको हुंदा बदर गरी फीराद दावी बमोजिम गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र जिकिर ।

        .     यसमा मिति २०४७।८।३ मा न्हुच्छे महर्जनले गरी दिएको लिखतमा घरको कुरा उल्लेख भएको नदेखिएको उक्त जग्गामा घर रहे भएकोमा र वादी पुनरावेदकको बसोबास भएकोमा विवाद नभएको आफूले बनाएको घर भनि सो नाताले निखन्न दावी लिएको देखिएको त्यस्तो दावी लेनदेन व्यवहारको ११ नं. बमोजिम लिन नपाउने भन्न मिल्ने नदेखिएको साथै वादीले आफ्नो भनि उल्लेख गरेको घरलाई प्रतिवादीले फिराद लिई दावी गर्न पनि नसकेको अवस्थामा घर समेत प्रतिवादीले ठहराई दावी नपुग्ने गरेको शुरुको निर्णय फरक पर्ने सक्ने देखिएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको आदेश ।

        .     यसमा सितापाईला १() कि.नं. ७६१को जग्गामा घर रहेको कुरा ०४३।१०।५ र ०४६ सालको भोगबन्धकी लिखत समेतबाट देखिएपछि ०४७।८।३ मा राजिनामा गर्दा घरको सम्बन्धमा उल्लेख नभएको अवस्थामा घर समेत बिक्री भएको अर्थ लगाई प्रतिवादीले निर्माण पुरा गरेको भन्ने काठमाण्डौ जिल्ला अदालतको फैसलामा उल्लेख भएको वाक्यांशसम्म दावी भन्दा बाहिर गई अभिव्यक्त भएको हुंदा सो वाक्यांशसम्म फैसलामा बढी लेखिन गएको हुंदा सो हदससम्म सो फैसला मिलेको देखिएन । अन्य  कुरामा ०४२।६।२२ को घरसारको लिखतले कानूनी स्वरुप ग्रहण गर्न नसक्ने भएकोले त्यसको आधारमा सो घर पुनरावेदक को हो भन्न मिलेन । पुनरावेदकको जब सो घरमा निर्विवाद हक स्थापित हुंदैन । त्यसैको नाताले लेनदेन व्यवहारको ११ नं. मा भएको व्यवस्था आकर्षित हुन सक्दैन । त्यसैले सो जग्गा निखनाई पाउन सक्ने अवस्था नहुंदा निखनाई दिन नपाउने गरी भएको शुरु फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला।

        .     यसमा विपक्षी वादीको दावीमा कि.नं. ७६१को जग्गा ०४२।६।२२ को मन्जूरीनामाको लिखत गरी घर बनाएको भन्ने विपक्षीको फिरादमा उल्लेख भएको र मेरो प्रतिउत्तर जिकिरमा कि.नं. ७६१को जग्गा खरीद गरी लिंदा घर जग्गा तीन कोठामात्र बनेको घरको अन्य भागको केवल गाह्रो मात्र लगाएको तर घर पुरा निर्माण गरी नसेकको अर्धनिर्माण मात्र  भएको हुंदा मिति ०४७।८।३ मा पारित गरी लिएको अवस्थामा घर उल्लेख नभएको हो । कि.नं. ७६१ को अधुरो घर २०४७ साल पौष देखि म प्रतिवादीले निर्माण गरी ०४८ वैशाखमा घर पुरा गरेको हुँ भन्ने प्रतिउत्तर जिकिर भएकोमा प्रमाण बुझी निर्णय गर्नु पर्नेमा शुरु काठमाण्डौ जिल्ला अदालतको ठहर खण्डमा घर समेत बिक्रि भएको अर्थ गरेको मिलेन भनि पुनरावेदन अदालत पाटनबाट भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको प्रतिकूल हुंदा घर समेत बिक्री भएको अर्थ गरेको नमिलेको भनी भएको ठहर खण्डको उक्त वाक्यांशको हदसम्म पुनरावेदन अदालत पाटनको फैसला बदर गरी शुरु काठमाण्डौ जिल्ला अदालतको फैसला सदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

        १०.    यसमा विवादित घर मैले दाइजो पेवाको रकमबाटट निर्माण गर्न पतिले मन्जूरिनामा दिएकै कारणबाट घर मेरो नाउंमा निर्माण गरेको हुं । मेरो दाइजो पेवाबाट विवादित घर निर्माण भएको खुलाई मन्जूरीनामा दिने व्यक्ती स्वयंले चुनौती दिन नसकेको अवस्थामा मैले प्राप्त गरेको मन्जूरीनामालाई कानूनी स्वरुपको नभएको भन्ने कदापी मिल्दैन । जग्गाधनीबाट केवल जग्गाको मात्र हक हस्तान्तरण भएको र घर मेरो दाइजो पेवाको रकमबाटट निर्मत मेरै हक भोगको भएको हुंदा मेरो घरले ‌ओगटेको र सो घरलाई प्रत्यक्ष रुपले सन्धी सर्पन गर्ने जग्गालाई मैले निखन्न नपाउने विवादित घरमा मेरो हक स्थापित नभएको भनि गरिएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण हुंदा बदर गरी विवादित जग्गा मुलुकी ऐन लेनदेन व्यवहारको ११ र १६ नं. बमोजिम म पुनरावेदिकाले निखन्न पाउने गरी इन्साफ दिलाई पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

        ११.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्काले प्रतिवादीले ०४७।८।३ मा कि.नं. ७६१ को जग्गा खरिद गरी लिंदा घर पुरा निर्माण भई नसकि अधुरो रुपमा हुंदा राजिनामामा उल्लेख नगरेको, उक्त घर प्रतिवादीले निर्माण गरेको हुंदा राजिनामामा घर उल्लेख नभएको आधारमा घर समेत बिक्रि भएको भन्‍ने शुरु जिल्ला अदालतको फैसला बदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण हुंदा बदर गरी घर समेत बिक्रि भएको भन्ने अर्थ लाई प्रतिवादीले निर्माण पुरा गरेको भन्ने शुरु फैसला सो हदसम्म बदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला बदर गरिनु पर्छ भनि गर्नु भएको बहस र पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ईश्‍वरीप्रसाद भट्टराईले विवादित घर वादीले आफ्नो दाइजो पेवाको रकमबाट निर्माण गरेको, राजिनामामा घर उल्लेख नभएको,घरले चर्चेको जग्गा वादीलाई थाहा जानकारी नै नदिई वादीको पतिले हस्तान्तरण गर्नु भएको, घर वादीको भएपछि घर बाहिर निस्कदा अर्कैको जग्गा पर्ने भइ सन्धीसर्पन पर्ने हुंदा वादीले निखनी लिन पाउनेमा निखनी लिन नपाउने ठहर्‍याएको शुरु र पुनरावेदन अदालत समेतको फैसला त्रुटीपूर्ण हुंदा बदर गरीनु पर्छ भनि गर्नु भएको बहस समेत सुनी विवादित घर समेत बिक्रि भएको अर्थ लगाई प्रतिवादीले निर्माण गरेको भन्ने हदसम्म शुरु काठमाण्डौ जिल्ला अदालतको फैसला मिलेको देखिएन भनि निखनाई दिन नपाउने गरी भएको फैसला सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ भनि विचार गर्दा यसमा विवादित कि.नं. ७६१ को जग्गा वादीकापति न्हुच्छे  महर्जनको हकभोगको भएको र निजले २०४७।८।३ मा प्रतिवादी राम शरण डंगोललाई राजिनामा पारित गरि दिएको देखिन्छ । उक्त कि.नं. ७६१ मा बनेको घर वादीको निजी आर्जनबाट बनाएको भई आफ्नो हक भोगको भएको र ०४७।८।३ को राजिनामामा घर नपरेको हुंदा घरले चर्चे बाहेकको सन्धीसर्पन पर्ने जग्गा आफूले निखनी लिन पाउनु पर्छ भन्ने फिराद दावी देखिन्छ । तर वादीको पति न्हुच्छे महर्जनले प्रतिवादी राम शरण डंगोललाई गरि दिएको ०४७।८।३ को राजिनामा लिखत बदर गरी पाउं भन्ने वादीको दावी देखिदैन । तसर्थ वादीले पति न्हुच्छे महर्जनबाट मिति२०४२।६।२२ मा गरिलिएको घरसारको लिखतले कानूनी मान्यता ग्रहण गर्न नसकी विवादित घर जग्गा वादीको निर्विवाद हक भोगको भन्ने अवस्था देखिँदैन । मुलुकी  ऐन, लेनदेन व्यवहारको ११ नं. मा कसैले आफ्नो हक पुग्ने अचल बिक्री गरेकोमा यसै महलको १० नं. बमोजिम साक्षी बस्ने, मन्जूरी दिने बाहेक सो बिक्री भएको सम्पत्ति सन्धीसर्पन परेको निजको ऐन बमोजिम कुनै हकवालाले निखनी लिन चाहेमा पैँतिस दिनभित्र निखनी लिन पाउँछ भन्ने कानूनी व्यवस्था रहेको पाइन्छ । प्रस्तुत मुद्दामा विवादित कि.नं. ७६१ को जग्गा वादीको नाममा दर्ता भएको समेत नदेखिएको अवस्थामा सो जग्गामा बनेको घरको नाताले कि.नं. ७६१ को जग्गा सन्धीसर्पन पर्ने भई निखनी पाऊँ भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटन समेतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ ।        वादी प्रतिवादी दुवै थरको  पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. टोपबहादुर सिंह

 

इति संवत् २०५५ साल श्रावण १८ गते रोज २ शुभम्…………..