निर्णय नं. ६६३ – लिखित गराइपाउँ
निर्णय नं. ६६३ ने.का.प. २०२९ फुल बेञ्च माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८...
निर्णय नं. ६६३ ने.का.प. २०२९
फुल बेञ्च
माननीय न्यायाधीश श्री झपटसिंह रावल
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्बर १०९
फैसला भएको मिति : २०२८।१०।२५।३
निवेदक : वैतडी ढिकमल्ला बस्ने जगन्नाथ मरी मु.स.गर्ने ऐ.बस्ने रघुबरदत्त जैशी
विरुद्ध
विपक्षी : ऐ.ऐ.कुंजेगडा बस्ने गौरिदत्त जैशी
मुद्दा : लिखित गराइपाउँ
(१) दैवी परेको पक्का प्रमाण वादीले पुर्याउन नसके दावी लाग्न नसक्ने ।
यसमा निवेदक प्रतिवादी जगन्नाथ मरी मु.स.गर्ने रघुवरदत्त जैशीको वारेस लोकमनि र विपक्षी वादी गौरीदत्तसमेत रोहवरमा रही २८।१०।१४ गते पेश भई निवेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री लवदेव भट्टको र विपक्षी वादी गौरीदत्तकोतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको बहस सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा २६।१०।१७।६ को डिभिजन बेञ्चको इन्साफ मिले नमिलेको के रहेछ भन्ने कुराको निर्णय दिनुपर्ने देखियो । १८ साल वैशाख १५।१६ गते के हो भा.रु. ३५४०। प्रतिवादी जगन्नाथले कर्जा लिई तमसुक गरिदिएको भन्ने वादीको लेख भएको सो तमसुकको लिखत साक्षी भनेको गोपालको बकपत्रमा दिनुपर्ने रुपैयाँको प्र.जगन्नाथको तमसुक गरिदिएको भन्ने उल्लेख गरेको देखिन्छ । वादीको साक्षी नरबहादुरको बकाइबाट वादीले नै भन्दा प्र.जगन्नाथले गरिदिएको तमसुक आगलागीमा जलेको भनी सुनेको भन्ने उल्लेख गरेको वादीले तमसुक राखेको इष्टकोट जलेको टुक्रा देखाएको भनी लिखत साक्षी गोपालले बकपत्र गरेको र वादीका लेखबाट सो जलेको इष्टकोटको टुक्रा नदेखाएको वादीले दिनको ५ बजे आगलागी भई तमसुक जलेको भनेको निज वादीकै साक्षी गोजेले दिनको १२ बजे आगलागी भई तमसुक जलेको भन्ने उल्लेख गरेको प्रहरीमा वादीको दरखास्त परी प्रहरी जाँच्न गएकोमा वादीको घरदेखि पूर्वपट्टि छुट्टै खामाहरूमा आगो लागेको निस्सा देखिएको भनी प्रहरीले प्रतिवेदन गरेको अरु सामान जलेको कुनै देखिएको भन्ने उक्त प्रहरी प्रतिवेदनमा उल्लेख नभएको समेत देखिन्छ । दैवी परी अर्को लिखत गरिपाउँ भनी दावी गर्न आउने वादीले लेनदेन व्यवहारको १ नं. बमोजिम अघि लिखत भएको र सो लिखत दैवी परी नोक्सान भएको भन्ने पक्का प्रमाण पुर्याई दावी गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार लिखत दैवी परेको दावीले पक्का प्रमाण पुर्याएको देखिएन लिलेले लिखत गरी दिनमा सावित भई प्रतिवादी दिएको भनिएको र गगनेले घरसारमै तमसुक गरी दिएको भनिएकाबाटै प्रतिवादी जगन्नाथले तमसुक गरी दिनुपर्छ भन्ने कुरामा पक्का प्रमाण मान्न नमिल्ने भएकाबाट समेत वादी दावीमध्ये प्र.जगन्नाथसँग रू.३५४०। को तमसुक गराइपाउँ भन्ने वादी गौरीदत्तको दावी पुग्न सक्दैन । निज जगन्नाथका तमसुक गराइदिने ठहराएको सम्म वैतडी जिल्ला अदालत र महाकाली अञ्चल अदालतको इन्साफ सदर गरेको २६।१०।१७।६ को डिभिजन बेञ्चको फैसलासँग यो बेञ्च सहमत हुन सकेन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु ।
(प्रकरण नं. १४)
फैसला
न्या.झपटसिंह रावल
१. जगन्नाथ जैशीले व्यापार गर्न भनी ०१८ साल वैशाख १५।१६ गते के हो निजले मबाट भा.रु. ३५४०। झिकी निज जगन्नाथ जैशीले मलाई तमसुक गरिदिएको लिलेभाट जैशीले पनि ०१८ साल आषाढ महिनामा भा.रु. ५१०। झिकी तमसुक गरी दिएको गगने जैशीले ०१९ साल जेष्ठ महिनामा भा.रु. ३५०। मबाट कर्जा झिकी तमसुक गरिदिएको थियो । यही ०२३ साल वैशाख २ गते भात खाई तमसुकहरू इष्टकोटको जेवमा राखी आसामी जगन्नाथको घरमा जाँदा निजको जाहानले घरमा छैन भनेकोले घरमा नभएको त्यहाँबाट गगने जैशीको घरमा जाँदा आज रुपैयाँ छैन केही दिनपछि दिउँला भनेको र लिले जैशीको घरमा जाँदा केही दिनपछि दिउँला भनेकाले फर्की अं.५ बजेको टायममा घरमा आई घर देखी केही फरकमा भएको फुसको छानाभित्र अगेनामा तमाखु खान आगो सल्काई तमाखु भएको इष्टकोट छानामाथि राखी दिसा लागेकोले दिसा गर्न गएको सो ठाउँमा ८।९ वर्षको छोरीमात्र भएको अकस्मात सो छानामा आगो सल्केर दैवी परी उक्त आसामीहरूका तमसुक थान ३ इष्टकोटसहित जली सो छानासमेत आगलागी भएको कुरा गाउँलेहरूलाई पनि थाहजानकै भएको उक्त कारणबाट दैवी परी तमसुक जलेकोले भोलिपल्टै गई अर्को तमसुक गरिदेउ भन्दा भोलिपर्सि गरिदिउँला भनेको फेरि जाँदा पनि अर्को तमसकु गरी नदिएकोले लेनदेन व्यवहारको ऐन १ बमोजिम वैशाख ७ गते दर्खास्त जि.पु.इ.आ.मा चढाएको अघि तमसुक हुँदाका अवस्थामा समेत तपसीलका मानिसका रोहवरमा भन्दा तमसुक गरिदिने होइन जे गर्ने गर भनी जगन्नाथले रू.१००। घटीको भए गर्नेछु भनी लिलेले समेत जवाफ दिएकोले र गगनेले यही वैशाख १२ गते तमसुक गरी दिएको अरु आसामी विपक्षीहरूले अर्को तमसुक गरी नदिएकोले अर्को तमसुक गराइपाउँ भन्नेसमेत ०२३।१।२४।६ को वादी ।
२. मैले रुपैयाँ सापटी लिई तमसुक गरी दिएको र अर्को तमसुक गरिदेउ भनी भन्न आएको समेत कुनै कुरा साँचो होइन साँचै व्यवहार भए गाउँकै मानिस साक्षी भई तमसुक हुन पर्ने नभई वेगल गाउँका भएको फिरादी र भएकै गाउँका मानिस हुँदा मुखैले भने पनि हुने तमसुकै खल्तीमा हाली जान नपर्ने सो बाटै फिरादी झुट्टा देखिने ५ बजे घर पुगे भन्ने लेखेको घरमा पुगेपछि पाँचहजारको तमसुक छानामा त्यसरी राख्यो होला भन्ने अनप्रतित कुरा आगो लाग्ना साथ इष्टकोट समात्नुपर्ने साँचै भए केटाकेटी पनि पोलिनु पर्ने सो नभएको उखुको पोलिएको लाई छाना पोलिएको भनी जँचाएको तमसुक गरी दिएको भनेको मिति म घरमा नभई भारततर्फ रहेको पछिमात्र घर आएका घरै नभएको मानिसले कसरी रुपैयाँ लिई तमसुक गरे हुँला जाल गरी झुट्टा मुद्दा लगाएको अघि बिगो मुद्दा परी मिलापत्र भई इविवाला मानिस हुनाले झुट्टा वादी दिएमा वादीलाई नै सजाय गरिपाउँ भन्नेसमेत जगन्नाथको प्रतिवादी ।
३. फिरादीबाट मैले ०१८ साल आषाढ २ गते भा.रु. ५१०। झिकी सयकडा ८ ले शुतसमेत राखी बर्ष दिनभित्र बुझाउने गरी आफ्नो हस्ताक्षरले तमसुक लेखिदिएको हुँ । ०२३ साल वैशाख २ गते मेरो घरमा फिरादी आई रुपैयाँ लेउ भनेको पछि दिउँला भनेको छु ३ गते तमसुक आगलागीमा पर्यो अर्को तमसुक गरिदिन पर्यो भन्यो भोलि पर्सी गरिदिउँला भनी मैले भनेको गरी नदिएको होइन लिखत भएको मितिदेखि सयकडा ८ ले सुदसमेत बुझाउन मञ्जुर छ । झुट्टा दावीबाट फुर्सत पाउँ भन्नेसमेत लिले भाटको प्रतिवादी ।
४. वादीबाट पेश भएको गौरीदत्त धनी गगने जैशी ऋणी भएको भा.रु. ३५०। को वादीबाट पेश भएको तमसुक मुद्दामा प्रमाण निमित्त खडा गरेको हुन् जालसाजी हो भन्नेसमेत ०२३।९।१७।१ को प्रतिवादी जगन्नाथको बयान ।
५. गगने जैशीले खुसीराजीसँग गरिदिएको सकलै तमसुक हो जालसाजी भन्ने प्रतिवादी बयान झुट्टा हो भन्नेसमेत वादी गौरीदत्त जैशीको ०२३।९।१७ को बयान ।
६. आगलागीमा लिखत परेको छ भनी गगनेले अर्को लिखत गरिदिएको भनी प्रमाणसम्म दिएको लिखतलाई जालसाजीमा सुनाएको देखियो । जालसाजीतर्फ सुनाउने अवस्था नदेखिएकोले सो कारवाई रद्द गरिदिने भन्नेसमेत ०२४।२।२१।१ को आदेश ।
७. घर जले नजलेतर्फ जि.पु.इ.आ.बाट मौकैमा खटी जाँच गर्न गएका भानुभक्तका प्रतिवेदनमा पनि घर जलेकै भन्ने लेखाई भएको उही मितिमा घर जलेको भनी गगने जैशीले वादीलाई अर्को तमसुक गरिदिएको भन्ने मिसिलसाथ रहेको वादीबाट पेश भएकोबाट देखिएको र सोही मितिको अर्को लिखत गरिदिएन भनी वादीले दावी लिएको लिले भाटले तमसुक गरिदिने व्यहोराको प्रतिवादी दिई आखिर ०२४ साल श्रावण ३१ गतेको तारिख छाडी दावीमा लाचार भई बसेको यदि साँचो कुरा थिएन भने त्यस्तो किसिम गगनेले लिखत गरिदिनु र लिलेले साविती प्रतिवादी दिन पर्ने कारण थिएन । यदि कारण थियो भने सो कारण खुलाई प्रतिवादीले उजूर गरी बदर गराउन सक्नुपर्ने सो भएको नदेखिएको र वादीसँग प्रतिवादीले कर्जा लिएको र अर्को तमसुक प्र.जगन्नाथले गरिदिन पर्ने होइन भनी किटनी साक्षीबाट बकपत्र गराउन सक्नुपर्ने सो पनि प्रतिवादीतर्फ भएको नदेखिएको हुनालेसमेत अर्को लिखत गरिदिन पर्ने भन्ने प्र.जिकिर मनासिव मान्न नमिल्ने हुनाले वादीले प्रतिवादीहरूबाट अर्को लिखत गराइलिन पाउने ठहर्छ भन्ने वैतडी जिल्ला अदालतको ०२४।७।१२।१ को फैसला ।
८. वैतडी जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्नेसमेत जगन्नाथ जैशीको पुनरावेदन ।
९. प्रतिवादीका साक्षीले निजै प्रतिवादीको कुरालाई समर्थन नगरेको र भा.रु. ३५४०। कर्जा लिएको होइन भन्नेसमेत किटानीसाथ बकी लेख्न नसकेको प्रजापतीको बकाईबाट यी वादी र प्रतिवादीहरूको बीच लेनदेन मुद्दा रहेछ भन्ने देखिने हुँदा प्रतिवादीले यो वादी रेस्पौण्डेन्ट मेरो जग्गा मुद्दाको झगडिया हुँदा लेनदेन गरेको प्रतीतलायक हुन नपर्ने भनी जिकिर लिएको मनासिव भन्न नमिल्ने र उसमा पनि १६ बर्ष अघि जग्गा मुद्दा परेको र त्यस्तो जग्गा मुद्दामा मिलापत्र समेत भएको देखिएकोले त्यस्तो मिलापत्र गरेको पक्ष विपक्षीको बीच लेनदेन व्यवहार हुँदैन भन्न नमिल्ने र जगन्नाथ जैशी लिले भाट र गगनेसँग अर्को तमसुक गराइपाउँ भन्ने वादीले जि.पु.इ.आ.मा दर्खास्त दिएमध्ये लिले भाटले भा.रु. ५१०। कर्जा लिएको भनी साविती प्रतिउत्तर फिराएको र तारेख छाडी पुनरावेदन नगरी बसेको, प्रतिवादी लिले भाटले म्यादै गुजारी बसे बाट वादीसँगको लेनदेनव्यवहारमा सावित भएकाले अर्को लिखत गरिदिन नपर्ने भनी प्रतिवादीको जिकिर मनासिव भन्न नमिल्ने हुँदा वादीले प्रतिवादीबाट भा.रु. ३५४०। को अर्को लिखत गराइलिन पाउने ठहर्छ भन्नेसमेत महाकाली अञ्चल अदालतको ०२६।३।३०।२ को फैसला ।
१०. साक्षी सर्जमिन बुझी इन्साफ पाई गरीव जनताको वास थामी पाउँ भन्नेसमेत रघुवरदत्त जैशीको पुनरावेदन ।
११. यसमा ०२६।८।३।३ का डिभिजन बेञ्चका आदेशानुसार बुझिएको अधिकांश सर्जमिनले वादीले अर्को लिखत गरिपाउँ भनी दावी गरेका लिखतका साक्षीहरू वादीको सहोदर बहिनी ज्वाईँ नाता पर्ने होइन र नरे भण्डारी गोपाल भण्डारी फिरादीको मित भाइ होइन भनी लेखिदिएको समेत हुँदा प्रतिवादी पुनरावेदकबाट भा.रु. ३५४०। को अर्को लिखत गराइदिन पाउने ठहराएको ०२६।३।३०।२ को महाकाली अञ्चल अदालतका इन्साफ मनासिव छ भन्ने ०२६।१०।१७।६ को डिभिजन बेञ्चको फैसला ।
१२. उक्त फैसला दोहर्याइपाउँ भनी जगन्नाथ मरी मु.स.गर्ने रघुवरदत्त जैशीको निवेदनमा अघि लिखत भएकै हो भन्ने कुराको पक्का कुनै लिखतको प्रमाण वादीबाट पेश हुन सकेको नदेखिएको सो दैवी परेको कुरालाई लिई प्रहरी कार्यालयमा दर्खास्त दिई सो कार्यालयको कं.भानुभक्त भट्टको प्रतिवेदनसम्म परेको देखिन्छ तापनि लिखत दैवी पर्यो भनी परेको त्यस्तो दर्खास्तमा प्रहरी कार्यालयबाट बुझी त्यसरी प्रतिवेदन लिने उक्त कानूनमा व्यवस्था भएको नदेखिएकोले त्यसलाई पक्का प्रमाण मान्न नहुनेमा पनि सो प्रतिवेदनमा प्र.जगन्नाथको वादी दावीको तमसुक जलेको थियो भन्ने किटानी लिखत भई गौरदत्तको घरको पूर्वपट्टि घरदेखि फरकमा भएको काठको खम्बाहरू के हो जलेको र भू.प्रमानन्दसमेतलाई सोद्धा सो आगलागीमा गौरीदत्तको इष्टकोट र त्यसको खल्तीमा भएका तमसुक थान ३ समेत जले भनी गौरीदत्तले भन्दा सुनेका हौं भनी भनेका भन्नेसम्म लेखिएको देखिएबाट सो लेखाइलाई जगन्नाथका नामको तमसुक जलेको हो भन्ने पक्का प्रमाण मान्न नहुने वादीको लेखाई हेर्दा २३ साल वैशाख २ गतेका दिन १८ सालमा तमसुकमा लिखत बस्दा साक्षी हुने व्यक्ति त्यही बाटो आते जाते गर्न पुग्नु यो पनि एउटा रहस्यमय कुरा देखिन आउँछ साथै भा.रु. ३५४०। जस्तो रकम दिइने कुरामा अघि झगडियासमेत भएको व्यक्तिलाई केवल कपालीकै भरमा कर्जा दिने भन्नेकुरा पनि विश्वासप्रद नदेखिएको र १८ सालदेखि २३ सालसम्मको त्यस्तो लामो अवधिमा कुनै ब्याजसमेत नलिई त्यसै बसे भन्नेकुरा पनि अनप्रतित देखिन आउँछ । वापतमा व्यापार गर्न भनी लिएको भन्ने वादीको भनाई छ त्यसैबाट केकस्तो व्यापार गरेको हो सो खुलाउन सकेको देखिँदैन । लिलेभाटले वादीबाट कर्जा लिएमा सावित भई प्रतिवादी दिएको हकमा यदि साँचो कुरा भए त्यसरी साविती प्रतिवादी दिने व्यक्तिले आगलागी भयो भनेको भोलिपल्ट वैशाख ३ गते वादीले तमसुक गराई माग्न जाँदा तमसुक गरिदिनुपर्ने थियो । सो नगरी नालिस परेपछि मात्र वादीलाई प्रमाण पुग्ने किसिमबाट प्रतिवादी दिई तारिख छोडी बसेकोबाट र गगनेतर्फ वैशाख ३ गते तमसुक गरिदेउ भनी वादी जाँदा गरी नदिई १२ गते मात्र तमसुक भएको भन्ने देखिँदा ती व्यक्तिहरूले प्रतिवादी जगन्नाथको तमसुक गराउनलाई प्रपञ्च रचेका भन्ने देखिन आउँछ, सो कारणले माथि लेखिएका परिवन्धबाट निवेदकबाट अर्को तमसुक गराउन पर्ने भन्ने कुरा मिल्न आउने देखिँदैन, फेरि माथि लेखिएका लिलेले कर्जा लिएमा साविती भएको र गगनेले तमसुक गरी दिएकै भए पनि निजहरूको तमसुकको मिति अंक स्थान साक्षीसमेत फरक र निवेदकसँगको लेनदेनमा संयुक्त लेनदेन व्यवहार नभएको यस कलममा निजहरूको व्यवहार लेखाइको कुराबाट यसमा असर पर्न सक्नेसमेत नदेखिएको सर्वोच्च अदालतले आफ्नो निर्णयमा लिखतका साक्षीहरू वादीका नातादार भन्ने कुरा अधिकांश सर्जमिनबाट नदेखिएको भन्ने तर्क लिएतर्फ नाता नपर्ने नै भए पनि मुख्य कुरा माथि लेखिएबमोजिम ती लिखतमा परेका भनेको साक्षीहरूको बकपत्र व्यहोरा नै वादी लेखसँग मेल खान नआई बाझिएको हुँदा सो वकाइलाई प्रमाणमा लिन मिल्ने नदेखिएको समेत प्रमाण परिवन्धबाट वादीलाई तमसुक गरिदिनु पर्ने ठहराई गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहर्याउने आदेश बक्सनुपर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइदिनु भन्ने हुकूम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखिआएको ०२८।४।९।१ को हुकूम प्रमांगी ।
१३. बक्स भई आएका हुकूम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई विपक्षीलाई दिन १५ पन्ध्र र निवेदकलाई दिन ७ को म्याद दिई झिकाई फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यसतो निर्णयको २ प्रतिलिपि नं.७ न्या.स.०२१।४।१३।३ का हुकूम प्रमांगीबमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभागमार्फत पठाइदिनु भनी फाँटमा बुझाइदिनु नं.२९ को हुकूम प्रमांगी र स.अ.तो.नं.८२ को निवेदनसमेतका कागजातसमेत यसैसाथ छ भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको ०२८।४।२४।२ को आदेश ।
१४. यसमा निवेदक प्रतिवादी जगन्नाथ मरी मु.स.गर्ने रघुवरदत्त जैशीको वारेस लोकमनि र विपक्षी वादी गौरीदत्तसमेत रोहवरमा रही २८।१०।१४ गते पेश भई निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री लवदेव भट्टको र विपक्षी वादी गौरीदत्तको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको वहस सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा २६।१०।१७।६ को डिभिजन बेञ्चको इन्साफ मिले नमिलेको के रहेछ भन्ने कुराको निर्णय दिनुपर्ने देखियो । १८ साल वैशाख १५।१६ गते के हो भा.रु. ३५४०। प्रतिवादी जगन्नाथले कर्जा लिई तमसुक गरिदिएको भन्ने वादीको लेख भएको सो तमसुकको लिखत साक्षी भनेको गोपालको बकपत्रमा दिनुपर्ने रुपैयाँको प्र.जगन्नाथको तमसुक गरिदिएको भन्ने उल्लेख गरेको देखिन्छ । वादीको साक्षी नरबहादुरका बकाईबाट वादीले नै भन्दा प्र.जगन्नाथले गरिदिएको तमसुक आगलागीमा जलेको भनी सुनेको भन्ने उल्लेख गरेको वादीले तमसुक राखेको इष्टकोट जलेको टुक्रा देखाएको भनी लिखत साक्षी गोपालले बकपत्र गरेको र वादीका लेखबाट सो जलेको इष्टकोटको टुक्रा नदेखाएको वादीले दिनको ५ बजे आगलागी भई तमसुक जलेको भनेको निज वादीकै साक्षी गोजेले दिनको १२ बजे आगलागी भई तमसुक जलेको भन्ने उल्लेख गरेको प्रहरीमा वादीको दर्खास्त परी प्रहरी जाँच्न गएकोमा वादीको घरदेखि पूर्वपट्टि छुट्टै खामाहरूमा आगो लागेको निस्सा देखिएको भनी प्रहरीले प्रतिवेदन गरेको अरु सामान जलेको कुनै देखिएको भन्ने उक्त प्रहरीप्रतिवेदनमा उल्लेख नभएकोसमेत देखिन्छ । दैवी परी अर्को लिखत गरिपाउँ भनी दावी गर्न आउने वादीले लेनदेन व्यहोराको १ नं. बमोजिम अघि लिखत भएको र सो लिखत दैवी परी नोक्सान भएको भन्ने पक्का प्रमाण पुर्याई दावी गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार लिखत दैवी परेको वादीले पक्का प्रमाण पुर्याएको देखिएन लिलेले लिखत गरी दिनमा सावित भई प्रतिवादी दिएको भनिएको र गगनेले घरसारमै तमसुक गरिदिएको भनिएकाबाटै प्रतिवादी जगन्नाथले तमसुक गरिदिनुपर्छ भन्ने कुरामा पक्का प्रमाण मान्न नमिल्ने भएकोबाट समेत वादी दावीमध्ये प्र.जगन्नाथसँग रू.३५४०। को तमसुक गराइपाउँ भन्ने वादी गौरीदत्तको दावी पुग्न सक्दैन निज जगन्नाथका तमसुक गराइदिने ठहराएकोसम्म वैतडी जिल्ला अदालत र महाकाली अञ्चल अदालतको इन्साफ सदर गरेको २६।१०।१७।६ को डिभिजन बेञ्चको फैसलासँग यो बेञ्च सहमत हुन सकेन तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।
तपसील
प्रतिवादी जगन्नाथ पाध्या मरी मु.स.गर्ने रघुबरदत्त जैशी के देहायको कलममा देहायबमोजिम गर्नु भनी वैतडी जिल्ला अदालतमा लेखी पठाउन कानूनबमोजिम लगत दिने ……………………१
वैतडी जि.अ.को २४।७।१२।१ को फैसलाले वादीबाट सुरुमा रहेको कोर्टफी रू.२०। प्रतिवादीहरू जना २ बाट बराबरका दरले भराइदिने गरेकोमा माथि इन्साफ खण्डमा लेखिएबमोजिम निवेदक प्रतिवादी जगन्नाथबाट भराइदिने गरेको कोर्टफी हाल नलाग्ने भएकोले सो जगन्नाथबाट भराइदिने गरेको कोर्टफीको लगत काटिदिने …………………२
वैतडी जि.अ.उपर पुनरावेदन गर्दा शुरु फैसलाले लाग्ने गरेको कोर्टफी रू.२०। वैतडी जि.अ.मा २४।१०।५ मा प्र.जगन्नाथले धरौट दाखिल गरेको हाल नलाग्ने हुँदा सो रू.२०। नेपाल कोर्टफी ऐन, २०१७ को दफा १७ (२) को म्याद ३ वर्षभित्र फिर्ता लिन आए कानूनको रीत पुर्याई निज प्र.जगन्नाथको मु.स.गर्ने रघुबरदत्तलाई फिर्ता दिने …………….३
महाकाली अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.३। सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१।५० र मुद्दा दोहर्याएमा राखेको कोर्टफी रू.१। समेत जम्मा कोर्टफी रू.५।५० वादीबाट प्र.ले भरिपाउने हुँदा नेपाल कोर्टफी ऐन, २०१७ संशोधन सहितका दफा १५ बमोजिम ३ वर्षभित्र भराइपाउँ भनी वादीको जायजात देखाई प्रतिवादीको दर्खास्त परे कानूनको रीतपुर्याई वादी गौरीदत्तबाट प्र.जगन्नाथ मरी मु.स.गर्ने रघुबर दत्तलाई दस्तुर केही नलिई भराइदिने.४
इन्साफ उल्टी भएमा शुरु जि.अ.वैतडीको का.मु.जि.न्या.पशुपतिनाथ खरेल र महाकाली अञ्चल अदालतको अ.न्या.त्रिलोकप्रताप राणाको रेकर्ड राख्न स.अ.जनरल विभागमा लेखिपठाइदिने …………..५
उपरोक्त रायमा हामीहरूको सहमती छ ।
न्या.सुरेन्द्र,
न्या.विश्वनाथ
इति सम्वत् २०२८ साल माघ २५ गते रोज ३ शुभम् ।