निर्णय नं. ६५७ – लेनदेन
निर्णय नं. ६५७ ने.का.प. २०३९ सिंगल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज आदेश मिति : ०२८।१२।२५।६ निवेदक : डिकबहादुर कार्की क्षेत्री विरुद्ध विपक्ष : दलसेर...
निर्णय नं. ६५७ ने.का.प. २०३९
सिंगल बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
आदेश मिति : ०२८।१२।२५।६
निवेदक : डिकबहादुर कार्की क्षेत्री
विरुद्ध
विपक्ष : दलसेर राई
मुद्दा : लेनदेन
(१) कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ८ : समयको गणना गर्दा “देखि” भनेको दिन बाहेक गर्नुपर्ने ।
(प्रकरण नं. १)
आदेश
न्या. हेरम्वराज
१. दलसेर राईसँगको लेनदेन मुद्दामा भुलसुधार गरी थामिएको म्याद कायम गरी पाउँ भन्नेसमेत डिकबहादुर कार्की क्षेत्रीले चढाएको निवेदनपत्रमा प्रतिवेदन गर्नु भन्ने आदेशअनुसार भोजपुर जिल्ला अदालतले प्रस्तुत गरेको प्रतिवेदन ३२५ नम्बरमा दर्ता भई पेश हुन आएको पेश भयो । यसमा २०२८ साल आश्विन २६ गते हदम्याद नाघेको थामिपाउँ भनी ०२८ साल कार्तिक १० गते निवेदनपत्र चढाउँदा थामिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्सेको हुकूम प्रमांगी दाखिल भएकोमा आश्विन २६ गते गुज्रेको हदम्याद थामिपाउन ०२८ साल कार्तिक १० गते १५ दिन नाघी १६ दिन भएको हो होइन भन्ने प्रश्नमा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को ८ दफाले समयको गणना गर्दा “देखि” भनेको दिन बाहेक गणना गर्नुपर्ने हुनाले आश्विन २६ गते गणना हुन नसक्ने भई ३१ दिनको महिना परेको २०२८ साल आश्विनको आश्विन २६ गतेबाट कार्तिक १० गते दिन १५ पन्ध्र मात्र हुने हुनाले १५ दिनभित्र निवेदनपत्र परेको हुँदा बक्स भई आएका हुकूम प्रमांगीबमोजिम हदम्याद थामिदिन आदेश भएको जनाउ निवेदकलाई दिनु होला भनी यो आदेश सहितको प्रतिवेदन भोजपुर जिल्ला अदालतमा पठाई दिनु ।
इति सम्वत् २०२८ साल चैत्र २५ गते रोज ६ शुभम् ।