February 11, 1972
Created by nepalarchives

निर्णय नं. ६५५ – जालसाजी लिखत वदर

निर्णय नं. ६५५              ने.का.प. २०२९ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री झपटसिंह रावल न्यायाधीश सुरेन्द्रप्रसाद सिह सम्वत् २०२७ सालको फौ.फु.नं. ३४...

निर्णय नं. ६५५              ने.का.प. २०२९

फुल बेञ्च

प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री झपटसिंह रावल

न्यायाधीश सुरेन्द्रप्रसाद सिह

सम्वत् २०२७ सालको फौ.फु.नं. ३४

फैसला भएको मिति     : २०२८।१०।२८।६

निवेदक : भ.पु. इचानो टोल बस्ने बाल सागर मुलेपति

विरुद्ध

विपक्षी   : ऐ.बस्ने जगतबहादुर मरी मुद्दा सकार गर्ने हरिशरण मुलेपति

मुद्दा : जालसाजी लिखत वदर

(१) राजीनामा उपर विवाद उठी मुद्दा चलिरहेको बखत जग्गा धनी दर्ता प्रमाण पूर्जा तिरो रसिद लिएको उक्त कागजलाई नयाँ प्रमाण मान्न नमिल्ने ।

          निवेदक प्रतिवादी बुद्धिकुमारको नाममा हालको सर्भे नापीमा मात्र नयाँ दर्ता भएको नभई मुद्दा पर्नु अगावै ८० सालको नापीमा र ०९ सालमा खान्गी खारेज भई माल दर्ता हुँदा समेत बुद्धिकुमारकै नाम दर्ता भएको जग्गाको हालको सर्भे नापीमा पनि निज बुद्धिकुमारकै नाममा मात्र दर्ता हुन गई निजले जग्गा धनी दर्ता प्रमाण पूर्जा पाएको देखिएको र यो मुद्दामा त्यस्तो नभई साविकमा अर्कैका नाममा दर्ता भइराखेको जग्गा राजीनामा लिने भनेको बालसागरको नाममा नयाँ दर्ता गराएको भन्ने देखिनाले तथ्यमा फरक हुँदा उपरोक्त दे.फु.नं. ६५ को मुद्दामा ०२८।३।३२।६ को फुल बेञ्चबाट भएको फैसलाको नजीर यसमा लाग्न सक्ने देखिएन, खास गरी नयाँ प्रमाण भनेको मुद्दा पर्नु भन्दा अगाडिको पहिले अदालतमा पेश हुन नआएको ऐनले प्रमाण लाग्न सक्ने किसिमको कागजलाई मात्र मान्नु पर्ने मुद्दा परी तत्कालिन शुरु इलाका अदालत र जिल्ला अदालत २ तह फैसला भई प्रतिवादीले जितेको भए पनि जिल्ला अदालतको इन्साफ दोहरिने भई मुद्दा सर्वोच्च अदालतमा दायरै रहेको अवस्थामा जुन राजीनामा उपर विवाद उठी अदालतमा मुद्दा चलिराखेकोछ सोही राजीनामाको जग्गा अदालतमा मुद्दा चल्दाचल्दै प्रतिवादी बालसागरले सर्भेनापीमा आफ्नो नाममा दर्ता गराई लिएको मुद्दा परिसकेपछिको जग्गा धनी दर्ता प्रमाण पूर्जालाई नयाँ प्रमाण मान्न नमिल्ने र अर्को ०२८।३।६।१ को रसिदको हकमा पनि सोही जग्गा धनी दर्ता प्रमाण पूर्जाको आधारले २७ सालको तिरो बुझाएको रसिद देखिन आएको समेत हुँदा निवेदकले पेश गरेको उपरोक्त जग्गा धनी दर्ता प्रमाण पूर्जा र रसिदसमेत यो मुद्दाको लागि नयाँ प्रमाण मान्न मिल्ने अवस्थाको देखिएन ।

 (प्रकरण नं. २)

निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट

विपक्षी तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

    न्या. श्री सुरेन्द्रप्रसाद सिह

    १.   प्रस्तुत मुद्दामा ०२५।६।२९।२ को डिभिजन बेञ्चको इन्साफ दोहर्‍याई पाउँ भनी प्रतिवादी वालसागरले चढाएको निवेदन श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो हो र कुनै नयाँ प्रमाण रहेछ भने एक पटक फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने बिशेष जाहेरी विभाग राजदरवार मार्फत ०२७।३।१६।३ को हुकूम प्रमांगी बक्स भई आएको रहेछ नयाँ प्रमाण भए सो समेत लिई हाजिर हुनु भनी निवेदकलाई ७ दिनको तारेख तोकिएकोमा नयाँ प्रमाण भनी झगडा परेको जग्गा हालको सर्भे नापीमा आफ्नो नाममा दर्ता भई ०२३।११।२३ मा पाएको जग्गा धनी दर्ता प्रमाण पुर्जा र ०२७ सालको तिरो कोष तथा तहसील कार्यालयमा बुझाएको ०२८।३।६।१ को रसिद समेत निवेदक प्रतिवादीबाट पेश दाखिल हुन आएको पाइयो ।

    २.  प्रस्तुत मुद्दा ०२८।१०।११।३ मा पेश भई निवेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले र विपक्षी वादी तर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मीले बहस गर्नुभएकोमा निवेदक तर्फबाट नयाँ प्रमाण भनी पेश गरेको उपरोक्त कागजहरू नयाँ प्रमाण मान्न मिल्ने नमिल्ने सम्बन्धमा विभिन्न तर्कहरू उठाउनु भएको र नयाँ प्रमाण भएमात्र बकस भएका हुकुम प्रमांगीबमोजिम मुद्दा दोहर्‍याई हेर्न मिल्नेसमेत हुनाले सर्वप्रथम त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आएको छ । झगडा परेको जग्गा हालको सर्भे नापीमा मेरो नाममा नापी दर्ता भई पाएको भनी निवेदकले पेश गरेको जुन जग्गा धनी दर्ता प्रमाण पुर्जा छ सो ०२३।११।२३ को देखिएको र यो मुद्दा ०११।९।२६।२ मै दर्ता भएकोले उक्त कागज यो मुद्दा परिसकेपछिको रहेछ भन्ने प्रष्ट छ । दे.फु.नं. ६५ वादी गोपाल सुवाल प्रतिवादी बुद्धिकुमार सुवालको जग्गा खिचोला मुद्दामा पनि नयाँ महत्त्वपूर्ण प्रमाण रहेछ भने फुल बेञ्चबाट दोहर्‍याई दिनु भन्ने हुकूम प्रमांगी बक्स भएकोमा मुद्दा परी सकेपछि सर्भे नापीमा बुद्धिकुमारको नाममा मात्र एकलौटी नापी दर्ता भई निजले पाएको जग्गाधनी दर्ता प्रमाण पुर्जासमेतलाई महत्त्वपूर्ण नयाँ प्रमाण मानी ०२८।३।३२।६ को फुल बेञ्चबाट मुद्दा दोहर्‍याई हेरी निर्णय भएको हुदाँ यो मुद्दामा पनि उपरोक्त जग्गा धनी दर्ता प्रमाण पुर्जालाई नयाँ प्रमाण मानी मुद्दा दोहरिनु पर्छ भन्ने निवेदकतर्फका विद्वान अधिवक्ताले बहसमा जोड दिनु भएको हकमा उपरोक्त दे.फु.नं. ६५ को निर्णय हेर्दा निवेदक प्रतिवादी बुद्धिकुमारको नाममा हालको सर्भे नापीमा मात्र नयाँ दर्ता भएको नभई मुद्दा पर्नु अगावै ८० सालको नापीमा र ०९ सालमा खान्गी खारेज भई माल दर्ता हुँदा समेत बुद्धिकुमारकै नाममा दर्ता भएको जग्गा हालको सर्भे नापीमा पनि निज बुद्धिकुमार कै नाममा मात्र दर्ता हुन गई निजले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएको देखिएको र यो मुद्दामा त्यस्तो नभई साविकमा अर्कैका नाममा दर्ता भइराखेको जग्गा राजीनामा लिने भनेको बालसागरको नाममा नयाँ दर्ता गराएको भन्ने देखिनाले तथ्यमा फरक हुँदा उपरोक्त दे.फु.नं. ६५ को मुद्दामा ०२८।३।३२।६ को फुल बेञ्चबाट भएको फैसलाको नजीर यसमा लाग्न सक्ने देखिएन खास गरी नयाँ प्रमाण भनेको मुद्दा पर्नु भन्दा अगाडिको पहिले अदालतमा पेश हुन नआएको ऐनले प्रमाण लाग्न सक्ने किसिमको कागजलाई मात्र मान्नु पर्ने, मुद्दा परी तत्कालीन शुरु इलाका अदालत र जिल्ला अदालत २ तह फैसला भई प्रतिवादीले जितेको भए पनि जिल्ला अदालतको इन्साफ दोहरिने भई मुद्दा सर्वोच्च अदालतमा दायरै रहेको अवस्थामा जुन राजीनामा उपर विवाद उठी अदालतमा मुद्दा चलिराखेकोछ सोही राजीनामाको जग्गा अदालतमा मुद्दा चल्दा चल्दै प्रतिवादी बालसागरले सर्भे नापीमा आफ्नो नाममा दर्ता गराई लिएको मुद्दा परिसकेपछिको जग्गा धनी दर्ता प्रमाण पुर्जालाई नयाँ प्रमाण मान्न नमिल्ने र अर्को ०२८।३।६।१ को रसिदको हकमा पनि सोही जग्गा धनी दर्ता प्रमाण पुर्जाको आधारको २७ सालको तिरो बुझाएको रसिद देखिन आएको समेत हुँदा निवेदकले पेश गरेको उपरोक्त जग्गा धनी दर्ता प्रमाण पुर्जा र रसिद समेत यो मुद्दाको लागि नयाँ प्रमाण मान्न मिल्ने अवस्थाको देखिएन ।

    ३.  यो मुद्दामा ऐनले प्रमाण लाग्न सक्ने किसिमको अरु कुनै नयाँ प्रमाण निवेदकबाट पेश दाखिल हुन सकेन तसर्थ बकस भएको हुकूम प्रमांगीबमोजिम यो मुद्दा दोहर्‍याई हेर्न नमिल्ने हुँदा तामेलीमा राख्न नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

प्र.न्या.श्री रत्नबहादुर बिष्ट र

न्या.श्री झपटसिंह रावल

 

इति सम्वत् २०२८ साल माघ २८ गते रोज ६ शुभम् ।