October 30, 1996
Created by nepalarchives

निर्णय नं. ६३३१ – सेवावाट अबकाश

निर्णय नं.– ६३३१              २०५४, ने.का.प.        अङ्क ३   संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा सम्वत्...

निर्णय नं. ६३३१              २०५४, ने.का.प.        अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा

सम्वत् २०५२ सालको दे.पु.नं……………….२७१५

फैसला मितिः ०५३।७।।१४।४

 

मुद्दाः- सेवावाट अबकाश  ।

 

पुनरावेदक

वादीः पशुपती विस्कुट इण्डट्रिज प्रा.लि.दुहवी सुनसरीको प्रबन्ध संचालक वशन्त कुमार चौधरी ।

विरुद्ध

विपक्षी

प्रतिवादीः जि.सुनसरी दुहवी वडा नं. ७ वस्ने राज कुमार वस्नेत ।

 

§  जुन कसुरमा अभियोग लगाइएको छ, सो कसुर नै गरेको देखिन्न भने त्यस्तो आरोपित कसुरमा अवकाश दिन नमिल्ने ।               

(प्र.नं.१३)

पुनरावेदक तर्फवाटः- विद्वान अधिवक्ता श्री उमेश प्रसाद गौतम ।

विपक्षी तर्फबाटः x

अवलम्वीत नजीरः– x

 

फैसला

            न्या.त्रिलोक प्रताप राणाः- पुनरावेदन अदालत, विराटनगरको इन्साफमा चित्त नवुझि यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ :-

            २. २०४९।१०।८ गते राती ८(४ को ड्युटी मेनगेटमा श्री राजकुमार वस्नेत भएको र निज ड्युटीमा आएको बेला कारखाना पछाडी प्रो.मैनेजर उद्दव प्रधान सरको क्वाटरमा रक्सी खाई गई भाडा मोल्ने मीना खवासलाई आंखा झिम्काई जिस्काएको र हात समातेकोले मीना कराउँदा उद्दव प्रसादले थाहा पाई किन यसो गरेको भन्दा गल्ती भयो सर भनी माफि माग्यो र हरि थापाले राजुलाई लिएर जानु भयो भनी जानकारीको लागि अनुरोध एवं ड्युटीमा आएको अवस्थामा पादक पदार्थ खाएर ड्युटी विपरीत कार्य गरेकाले आवश्यक कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको उद्दव प्रधान, प्रदिप भट्टराई, नवराज वास्तोला, हरि बहादुर थापा, केदार भट्टराई, ज्ञान बहादुर श्रेष्ठ समेतको पशुपती  विस्कुट इण्डष्ट्रिज प्रा.लि.मा पर्न आएको छुट्टा छुट्टै प्रतिवेदन ।

            ३. म यस कारखानाका प्रोडक्टशन मैनेजर उद्दव प्रधानको घरमा भाडा कुडा माझने समेत काम गर्ने हुँदा भाडा माझि रहेको अबस्थामा राजकुमारले मादक पदार्थ सेवन गरी म छेउमा आई मलाई आंखा झिम्काइ मेरो हात समाती हात पक्रेकाले मैले दीदि भनी कराउँदा निज उद्दव प्रधान बाहिर आई निजलाई हप्काई सम्झाई गरेपछि हरिथापाले बाहिर लिएर जानु भयो, आवश्यक कारवाही गरी पाउँ भन्ने समेत मीना खवासको मिति २०४९।१०।९ को निवेदन ।

            ४. मिति ०४९।१०।८ गते तपाईको रात्री ८(४ को ड्युटीमा मादक पदार्थ सेवन गरी तपाईले कारखाना कम्पाउण्ड भित्र एउटा अवोध केटीमाथी हातपात गर्ने प्रयास गर्नु भएको वुझीन आउँदा उक्त घटनावाट प्रोडक्सन मैनेजरको पारिवारीक प्रतिष्ठा तथा नीज मिना खवासको व्यक्तिगत इज्जतमा धक्का पुर्‍याएको देखिन आएको हुँदा तपाईलाई श्रम ऐन, २०४८ को परिच्छेद ८ आचरण र सजांय सम्बन्धी महलको दफाहरुमा व्यवस्था भए बमोजिम हदैसम्मको सजाय किन नगर्ने ? पत्र पाएको ७ दिन भित्र चित्त वुझ्दो स्पष्टिकरण पेश गर्नु हुन भन्ने मिति २०४९।१०।११ को पत्र ।

            ५. राजकुमार वस्नेतलाई सोधिएको ०४९।१०।११ को स्पष्टीकरणमा निजले म आफ्नो ड्युटीमा २० मिनेट ढिलो हाजिर भएको र हरि बहादुर थापा ड्युटीमा वसी रहेका र दिसा गर्न भनी पछाडी गएको चारैतिर लोकेशन लिनुपर्‍यो भनी मैनेजर क्वार्टरसम्म पुगेको, टि.भि.बाट विश्वामिन टेलिफिल्म दिइरहेको रहेछ, भाडा माझि रहेकी मीना खवासलाई टेलिफिल्म आइरहेको संकेत गरी कुइनामा छोइ दिएकोमा दिदी भनी सम्बोधन गरेकीले मैनेजर आइ के भो भनी सोध्नू भयो सबै कुरा बताएं गल्ती भएकोमा माफपाउँ भनी अनुरोध गरेको हुँ नराम्रो नियत लिएको छैन भन्ने समेत व्यहोराको राजकुमार बस्नेतको मिति ०४९।१०।१८ को स्पष्टीकरण ।

            ६. २०४९।१०।८ मा मादक पदार्थ सेवन गरी मिना खवासलाई आंखा झिम्काई तान्नखोजी जोर जवरजस्ति गरी श्रम ऐन, २०४८ को दफा ५१(क) बमोजिम कसुर गर्नु भएको देखिंदा ०४८।१०।२२ गते देखि लागु हुनेगरी श्रम ऐन, २०४८ को दफा ५२ को उपदफा ४ बमोजिम सेवाबाट अवकाश दिईएको  छ भन्ने समेत व्यहोराको राज कुमार वस्नेतलाई अवकाश दिएको पशुपति विस्कुट इण्डष्ट्रिजको च.नं. ३९१ को मिति ०४९।१०।२२ को पत्र ।

            ७. म सुरक्षा गार्ड भएको नाताले प्रष्ट ब्यहोराको उल्लेख गरी स्पष्टिकरण्ँ दिएकोमा प्रोडक्सन मैनेजरको जानकारी पत्रलाई आधार बनाई कार्यविधी विपरीत गै सुनुवाईको कुनै मौका नदिई कानूनी त्रुटीगरी खराब आचरणको लान्छना  लगाई श्रम ऐन, २०४८ को दफा ५१(क) बमोजिम कसुर गरेको भनी अवकाश दिएकोले सो ऐनको परिभाषा भित्रको कुनै अपराध नै नगरेको हुँदा विपरीत अर्थ लगाई कानूनी आधार रहित व्यक्तिले दिएको अवकाश विलकुलै मिलेको छैन, मलाई अवकाश दिएको मिति ०४९।१०।२२ को अवकाश बदर गरी पुनः बहाल गर्ने निर्णय गरी कानून व्यवसायी फि र मुद्दामा लागेको खर्च समेत भराई पाउँ भन्ने समेत व्यहोराको राजकुमार वस्नेतको मिति ०४९।११।१५ को पुनरावेदन पत्र ।

            ८. पुनरावेदकलाई नोकरीबाट अवकाश दिने निर्णय गरेकोमा निजले गरेको भनिएको कार्य श्रम ऐन, २०४८ को दफा ५१(क) अन्तर्गत पर्न सक्ने नदेखिएकोले छलफलका लागि अ.वं. २०२ नं. बमोजिम बिपक्षी झिकाई पेश गर्नु भन्ने समेत ब्यहोराको पुनरावेदन अदालतबाट भएको मिति ०५०।६।२० को आदेश ।

            ९. स्पष्टीकरण माग गर्दा जुन कसुर प्रस्तावित गरिएको छ सोही कसुरको दफा ५२ ले वर्गिकरण गरे अनुसारको सजांय निर्धारण गर्नु पर्छ । स्पष्टिकरण माग गर्दा र सेवाबाट हटाउँदा समेत प्रस्तावित गरिएको कसुर श्रम ऐन, २०४८ को दफा ५१ को खण्ड (क) अन्तर्गत पर्ने देखिदैन । यसरी खण्ड (क) अन्तगरत नपर्ने कसुरमा सेवावाट अवकाश दिएको कानून सम्मत छ भनी मन्न मिलेन । तसर्थः पुनराबेदक राज कुमार वस्नेतलाई श्रम ऐन, २०४८ को दफा ५१(क) बमोजिम कसुर गरेको, गरिएको भनिएको कार्य सो दफा अन्तर्गत परेको नदेखिएकोले पशुपति विस्कुट इण्डष्ट्रिज प्रा. लि. को मिति २०४९।१०।२२ को अवकाश  बदर गरी दिइएको छ । पुनरावेदकलाई पुनः बहाली गरी काममा लगाउनु भनी लेखि पठाई दिने समेत ठहर्छ । अन्य पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पुनरावेदन अदालत, विराटनगरको फैसला ।

            १०. प्रत्यर्थी यस प्रतिष्ठानको सुरक्षा गार्ड पदका कर्मचारी हुन् । ड्युटीमा आउँदा मादक पदार्थ सेवन गरेको कुरा स्वहस्ताको स्पष्टिकरणको जवाफमा उल्लेख छ, मिना खवासले हार गुहार मागेको र प्राप्त गरेको कारणबाट मात्र अनुचित अक्षम्य र जघन्य अपराधको घटना हुनबाट रोकिएको हो, प्रत्यर्थीको कार्यबाट प्रतिष्ठान भित्रको बातावरणमा नै खलल् पर्न आएकोले बाध्यताबस सेवामुक्त गरिएको हो । निजको कार्य माथि श्रम ऐन, २०४८ को दफा ५१(क) आकर्षित हुने स्पष्टै छ । कानून बमोजिम गरिएको कारवाही कानून सम्मत छ, तसर्थः पुनरावेदन अदालत बिराटनगरको त्रुटिपूर्ण फैसला उल्टी गरी इन्साफ पाउँ भन्ने समेत ब्यहोराको पुनरावेदन पत्र ।

            ११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री उमेश प्रसाद गौतमले प्रत्यर्थी प्रतिवादी प्रतिष्ठानको सुरक्षा गार्ड पदमा कार्यरत कर्मचारी हो, निज आफ्नो ड्युटीमा आधा घण्टा ढिला गरी मादक पदार्थ सेवन गरी आएको कुरा स्वीकार गरेका छन् । अनैतिक काम गरेकोले नै श्रम ऐन, २०४८ बमोजिम कारवाही गरिएको, हो, प्रतिष्ठानको प्रतिष्ठामा नै असर पर्ने खालको कार्य गरेको कारण श्रम ऐन, २०४८ को दफा ५१ (क) बमोजिम संजाय गरिएको हो, पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण छ, सो फैसला बदर गरी सेवाट अबकाश दिने गरी भएको शुरु निर्णय सदर गरी पाउँ भनी गर्नु भएको बहस समेत सुनियो ।

१२.   यसमा श्रम ऐन, २०४८ को दफा ५१(क) को कसुरमा सोहि ऐनको दफा ५२(४) बमोजिम सेवावाट राजकुमार वस्नेतलाई अबकाश दिएको पाइन्छ ।

१३. सम्बन्धित मिसिल हेर्दा राज कुमार वस्नेतबाट गरिएको भनिएको कसुर  उक्त  ऐनको  दफा ५१(क) भित्र पर्ने देखिन्न । जुन कसुरमा अभियोग लगाइएको छ, सो कसुर नै गरेको देखिन्न भने त्यस्तो आरोपित कसुरमा अवकाश दिन मिल्ने नदेखिंदा पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन अदालत बिराटनगरको इन्साफ मुनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.कृष्ण कुमार बर्मा

 

इति संवत २०५३ साल कार्तिक १४ गते रोज ४ शुभम्