निर्णय नं. ६३३ – लेनदेन
निर्णय नं. ६३३ ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री राज ईश्वरी जङ्गबाहुर सिंह सम्वत २०२६ सालको...
निर्णय नं. ६३३ ने.का.प. २०२८
फुल बेञ्च
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री राज ईश्वरी जङ्गबाहुर सिंह
सम्वत २०२६ सालको देवानी फु.नम्बर ५७
फैसला भएको मिति : २०२८।२।७।६
निवेदक : का.जि. नैकाप वानेटार बस्ने सोमकुमारी खड्का क्षेत्री
बिरूद्ध
विपक्षी : ऐ ऐ नैकाप मध्यचागुटार बस्ने चिरंजिबी गौतम
मुद्दा : लेनदेन
(१) फैसलाबमोजिम घर जग्गा छाडी नदिएमा–कानूनबमोजिम नालेस गर्नु पर्नेमा–सो गरेको नदेखिएमा–उक्त घर जग्गा छाडी दिएको छैन भन्ने जिकिर पुग्न नसक्ने ।
प्रतिवादीको उपरोक्त जिकिरको सम्बन्धमा हेर्दा लिखत बदर मुद्दामा ०१७।१२।१७।५ मा फैसला भई यो मुद्दा परी सकेपछि निज प्रतिवादी सोमकुमारीले ११ सालदेखि १७ साल तकको बाली बिगो भराइपाउँ भनी उक्त मुद्दा फैसला भएको ०१७ सालसम्मको बालीको हकमा मात्र दावी लिई चिंरजिवीउपर ०१८।११।१५ मा नालेस गरेकोमा ०१५।१६।१७ साल बर्ष ३ सम्मको बाली बिगो रु.२२८। भरी पाउने ठहरी बाग्मती अञ्चल अदालतबाट ०२४।१०।११।५ मा फैसला भएको रहेछ । लिखत बदर मुद्दामा फैसला भएको ०१७।१२।१७।५ यता फैसलाबमोजिम आधा जग्गा साहुले आफूलाई छाडी नदिएको भए त्यसतर्फ पनि निज सोमकुमारीले कानूनबमोजिम नालेस गर्नुपर्ने गरेको नदेखिएकोले वादीले जग्गा छाडी दिएकै छैन भन्ने जिकिर मुनासिव देखिदैन ।
(प्रकरण नं. १५)
(२) तत्काल प्रचलित साहु आसामीको २२ नं. : अपुताली खाने सन्तान अरू नै छन् भन्ने सबूत पुर्याउन नसकेमा–निजले अपुताली खाएको प्रष्ट भई जसको अपुताली खाएको हो उसको साहु तिर्नपर्ने ।
छोरा कृष्णेको अंशबण्डा भई अपुताली परी मैले खाएको नहुँदा मैले ऋण तिर्नु नपर्ने भन्ने जिकिरका हकमा छोरा कृष्णे मेरो एकाघर सगोलको होइन, निजको अपुताली खाने सन्तान अरूनै छन् भन्न त्यस कुराको सबूत पुर्याउन नसकेकीले छोरा कृष्णेको अपुताली खाने प्रतिवादी सोमकुमारी नै भएकी प्रष्ट हुन्छ, तत्काल प्रचलित साहु आसामीको २२ नं. अनुसार अपुताली खाएपछि साहु तिर्दिन भन्न नपाउने हुँदा छोरा कृष्णेको ऋण प्रतिवादी सोमकुमारीले नै तिर्नुपर्ने देखिन्छ ।
(प्रकरण नं. १६)
(३) कुनै निर्णय प्रमाणको निम्ति प्रस्तुत गरेमा–उक्त निर्णय ठिक बेठिक भन्ने निर्णय दिन नमिल्ने ।
ऋणरकम निश्चितमा भूमिसम्बन्धी ऐनअन्तर्गत भूमिसुधार कार्यालयले गरेको निर्णय पुनरावेदन अथवा कुनै उजुरीको तहबाट ठिक बेठीक जाँचिन आएको नभई अदालतमा परिरहेको मुद्दाको प्रमाणको लागिसम्म आएको यस स्थितिमा उक्तनिर्णय प्रमाणमा लिन मिल्ने नमिल्ने सम्म कुरा अदालतबाट विचार हुनसक्ने हो, उक्त निर्णयको औचित्यमा हेरी मान्य हुने नहुनेसमेत कुराको अदालतले कुनै निर्णय गर्न कानूनले मिल्ने देखिंदैन ।
(प्रकरण नं. १७)
निवेदक तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्थ
विपक्षी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
उल्लेखित मुद्दा :
फैसला
प्र. न्या.श्री रत्नबहादुर
१. प्रतिवादी सोमकुमारीको छोरा कृष्णे खड्काले मसँग रु.१७२७। लिई ठानेटार खेत १०।१३।२।७ मिति ०१४।९।२० गते भोगबन्धकी प्राप्त दिएकोमा निज सोमकुमारीले उजुर गर्दा आधा सदर आधा बदर हुने ठहरी फैसला भएकोले आधा कपाली भएको रु.८६३।५० र जग्गा भोग गर्न नपाएको ०१७।८।१ गते यताको ब्याज समेत आसामी कृष्णे मरी अपुताली खाने सोमकुमारीबाट भराई पाउँ भन्ने वादी ।
२. वादीले मलाई आधा जग्गा दिएकै छैन, छोरा कृष्णेको कुनै अंश बण्डा भई अपुताली परी मैले खाएको समेत होइन, छोराले खाएको ऋण आमा बाबुले तिर्नुपर्छ भन्ने कुनै ऐन सवाल नभएकोले मैले तिर्नुपर्ने होइन भन्नेसमेत प्रतिवादी ।
३. लिखत बदर मुद्दा अन्तिम टुगो लागेपछि वादीले आधी जग्गा प्र.लाई छाडी नदिएको भए त्यसतर्फ जग्गा चलन चलाई पाउँ भन्ने कुराको प्रतिवादीको नालेस हुन पर्नेमा यो मुद्दामा प्रतिवादी फिराई सकेपछि मात्र ११ साल देखिको बाली वादीले खाएको हुनाले दिलाइ पाउँ भन्नेतर्फमात्र मुद्दा दिएको देखिएको हालको दर्ता बुझ्दा रोपनी १।। मात्र वादीका नाउँमा जग्गा जोत्नेको हैसियतमा दर्ता भएको देखिएपछि फैसलाबमोजिम बदर भएको आधा जग्गा यी वादीले दर्ता भोग चलनसमेत गरेको रहनेछ भन्न नमिल्ने कृष्णे वेगल बसेको र निजको अपुताली खाने स्वास्नी छोरा छन् भन्नेसमेत प्र.को इन्कार नभएको छोराको ऋण मर्नेकी आमा प्रतिवादीले अपुताली खाएपछि तिर्नु पर्नेनै देखिएकोले ०१७ साल चैत्र १७ गते देखि मात्र वादीले प्र.लाई आधी जग्गा छाडी दिएको भन्नु परी सो मितिदेखि दशौंद ब्याजसमेत वादीले पाउने ठर्हछ भन्ने का.दे.इ.अ.को ०२०।३।२५।३ को फैसला ।
४. सो ईन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
५. कृष्णे खड्का सोमकुमारीको सगोल मै निजले अपुताली खाएको भन्ने देखिएको फैसलाबमोजिम आधी जग्गा वादीले छाडी नदिएको भन्नेतर्फ प्रतिवादीले उजुर नगरेको समेतबाट शुरू इन्साफ मुनासिव ठहर्छ भन्ने बाग्मती अञ्चल अदालतले हदमुनी गरी छिनेको ०२४।८।२७।४ को फैसला ।
६. सो उपर चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भन्ने प्रतिवादी शोमकुमरीले चढाएकी निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए मिसिल झिकाई एक पटक इन्साफ जाँची निर्णय गरी दिनु भन्ने हुकुम बक्सेकोछ भनी मौसुफको विशेष जाहेरी विभागबाट लेखि आएको ०२४।१०।९।३ को हुकम प्रमांगी ।
७. फैसलाले बदर भएको आधी जग्गा आफूले भोग गर्न नपाएकी भए त्यसतर्फ प्रतिवादी सोमकुमारीले उजुर गर्नुपर्ने गरेको नदेखिएको र छोरा आसामी कृष्णे मेरो एकाघरको होइन, निजको अपुताली खाने अरूनै छन् भन्ने कुराको जिकिर लिन प्रतिवादी सोमकुमारीले नै नसकको समेत हुँदा बदर भएको आधी जग्गाको ऐनले कपाली हुने आधी थैली रु.८६३।५० र त्यसको लिखत बदर मुद्दामा का.जि.अ.बाट अन्तिम फैसला भएको मिति ०१७।१२।१७ देखिको ऐनबमोजिम सयकडा १० ले ठहर्ने व्याज समेत वादीले प्रतिवादीबाट भरी पाउने ठहराएको शुरु का.दे.इ.अ.को सदर गरी बाग्मती अञ्चल अदालतले ०२४।८।२७।४ मा छिनेका इन्साफ मुनासिवै छ भन्ने ०२५।४।२१।२ को डिभिजन बेञ्चको फैसला ।
८. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने सोमकुमारीको निवेदन पर्न आएकोमा न्यायिक समितिबाट यसमा प्रस्तुत मुद्दा शुरू अदालतबाट ०२०।३।२५।३ मा भएको ठहर फैसलाउपर सोमकुमारीको पुनरावेदन परी बाग्मती अञ्चल अदालतबाट कारवाई भइरहेको अवस्थामा त्यसै लिखतका कुरामा निवेदीका सोमकुमारीले भूमिसम्बन्धी ऐन अन्तर्गत भोगबन्धकी थैलीको ऋण निश्चत गरिपाउँ भनी दिएकी उजुरी मुद्दामा जि.भू.सु. कार्यालय काठमाडौंबाट मुल थैली रु.१७२७। मा आयस्ता कट्टा मट्टा गरी सावा रु.५५९।७६ कायम गरी अन्तिम निर्णय गरेको निवेदीकाले पेश गरेको ०२४।३।१३ को फैसला प्रतिलिपीबाट देखिएको सोही रु.१७२७ को भोगबन्धकी लिखत आधी बदर भएको नाताले जग्गा चिरञ्जीवीले भोग गरेकोमानी चिरञ्जीवीउपर सोमकुमारीले बाली बिगो पक्री उजुर गरेका मुद्दामा ०१५।१६।१७ सालको आयस्ता बाली बिगो रु.२२८। सोमकुमारीले भरी पाउने ठहरी बाग्मती अञ्चल अदालतबाट ०२४।१०।११।५ मा अन्तिम फैसला भइरहेको पनि प्रमाण मिसिलबाट देखिन आएको जि.भू.सु. कार्यालयबाट निर्णय भएको समेत विषय उपस्थित हुन आएपछि कसको अधिकार क्षेत्रको कस्तो हो र कस्को अधिकार क्षेत्रमान्य हुने हो प्रस्तुत मुद्दाबाटै निर्णय गरी नदिंदा दुबै क्षेत्रको निर्णय आ–आफ्ना ठाउँमा यथास्थित रही निर्णय कार्यान्वित हुन परस्पर विरोधाभास पर्न गइ कार्य सम्पन्न हुन नसकी पक्षहरू अलमलिन जाने हुन आउने यस्तो स्थितिमा विषय विषयको छुट्टाछुट्टै उजुर परेमा निर्णय हुने भनी अदालतमानै रहन नहुने वास्तविक कुरा प्रस्तुत मुद्दाबाटै निर्णय गरी दिंदा उचित पर्न जाने हुँदा अदालतबाट आफ्नो अधिकार क्षेत्र प्रयोग गरी अन्तिम भइसकेको कुरा र अदालतको विचारधीनमा रहेको कुरामा अदालतकै निर्णयमान्ने हुने हो वा जि.भू.सु. कार्यालय काठमाडौंबाट अदालतको निर्णय र अदालतको विचारधीनमा रहेको कुराको विचार गर्नु नपरी जि.भू.सु.कार्यालय काठमाडौंको निर्णय मान्य हुने के हो प्रस्तुत मुद्दाबाटै निर्णय गर्नुपर्ने नगरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिश गरेको जाहेर हुँदा श्री ५ महाराजाधिजाबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेकोछ भन्ने मौसुफका प्रमुखसचिवालय राजदरवारबाट लेखिआएको ०२६।५।३।३ को हुकम प्रमांगी ।
९. बक्स भइआएको हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीतपुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने तत्कालीन माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको ०२६।५।४।४ को आदेश ।
१०. कृष्ण खड्काले वादी चिरञ्जीवीलाई ०१४।९।२० मा रजिष्ट्रेशन पास गरी दिएको थैली रु. १७२७ को भोगबन्धकी तमसुक हेर्नु पर्ने भएकोले सो तमसुक सक्कलै साथमा लिई आउनु भनी वादी चिरञ्जीवीको वारेसलाई सुनाई अर्को पेशीको तारेख तोकी नियमबमोजिम पेश गर्नु भन्ने ०२७।४।९।६ को फुल बेञ्चको आदेश ।
११. निवेदक सोमकुमारी खड्केनी विपक्षी चिरञ्जीवी गौतमको ऋण निश्चित मुद्दाको भूमिसुधार कार्यालय काठमाडौंबाट २४।३।१३ मा छिनीएको मिसिल झिकाई आएपछि पेश गर्नु भन्ने ०२७।५।२६।६ को फुल बेञ्चको आदेश ।
१२. यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२८।१।३१।६ मा पेश भइ निवेदक प्रतिवादी सोमकुमारी तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्थले र वादीतर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नु भएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीबमोजिम साँवा व्याज वादीले प्रतिवादीबाट भरी पाउने नपाउने के हो ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१३. छोरा कृष्णे खड्काले यो मुद्दाको वादी चिरञ्जीवीलाई थैली रु.१७२७। मा खेत मुरी १०।१३।२।७ मिति ०१४।९।२० गते पास गरी दिएको भोगबन्धकी लिखत बदर गरिपाउँ भन्नेसमेत सोमकुमारीको उजुर परी उक्त भोगबन्धकी लिखत आधा सदर आधा बदर हुने ठहरी तत्कालीन का.जि.अदालतबाट ०१७।१२।१७।५ मा फैसला भइ आधा थैली रु.८६३।५० कपाली हुन आएको भन्ने कुरामा विवाद नहुँदा त्यसतर्फ अरू विचार गरी रहनु परेन ।
१४. उक्त कपाली थैलीमा सावा व्याज आसामी कृष्णे मरी अपुताली खाने प्रतिवादी सोमकुमारी बाट भराई पाउँ भन्ने प्रस्तुत मुद्दामा वादीको दावी भएकोमा फैसलाबमोजिम आधी जग्गा वादीले छाडी दिएकै छैन, छोरा कृष्णेको अंशवण्डा भई अपुताली परी मैले खाएकी नहुँदा सो ऋण मैले तिर्नु पर्ने होइन भन्ने प्रतिवादीले मुख्य जिकिर लिएको पाइयो ।
१५. प्रतिवादीको उपरोक्त जिकिरको सम्बन्धमा हेर्दा लिखत बदर मुद्दामा ०१७।१२।१७।५ मा फैसला भइ यो मुद्दा परिसकेपछि निज प्रतिवादी सोमकुमारीले ११ सालदेखि ०१७ साल तकको बाली बिगो भराई पाउँ भनी उक्त मुद्दा फैसला भएको ०१७ सालसम्मको बालीको हकमा मात्र दावी लिई चिरञ्जीवीउपर ०१८।११।१५ मा नालिस गरेकोमा ०१५।१६।१७ साल वर्ष ३ सम्मको बाली बिगो रु.२२८। भरी पाउने ठहरी बाग्मती अञ्चल अदालतबाट ०२४।१०।११।५ मा फैसला भएको रहेछ । लिखत बदर मुद्दामा फैसला भएको ०१७।१२।१७।५ यता फैसलाबमोजिम आधा जग्गा साहुले आफूलाई छाडी नदिएको भए त्यसतर्फ पनि निज सोमकुमारीले कानूनबमोजिम नालिस गर्नुपर्ने गरेको नदेखिएकोले वादीले जग्गा छाडी दिएकै छैन भन्ने जिकिर मुनासिव देखिदैन ।
१६. छोरा कृष्णेको अंशवण्डा मै अपुताली परी मैले खाएकी नहुँदा मैले ऋण तिर्नु नपर्ने भन्ने जिकिरको हकमा छोरा कृष्णे मेरो एकाघर सगोलको होइन निजको अपुताली खाने सन्तान अरुनै छन् भन्न त्यस कुराको सबूद पुर्याउन नसकेकीले छोरा कृष्णको अपुताली खाने प्रतिवादी सोमकुमारी नै भएको प्रष्ट हुन्छ, तत्काल प्रचलित साहु आसामीको २२ नं.अनुसार अपुताली खाएपछि साहु तिर्दिन भन्न नपाउने हुँदा छोरा कृष्णेको ऋण प्रतिवादी सोमकुमारीले नै तिर्नुपर्ने देखिन्छ ।
१७. यो मुद्दा परी शुरु तहबाट वादीले सावा व्याज भरी पाउने फैसला भइ पुनरावेदन तहमा बाग्मती अञ्चल अदालतमा मुद्दा चल्दा चल्दैको अवस्था उक्त ०१४।९।२० को भोगबन्धकी लिखतबमोजिम थैलीको ऋण रकम निश्चित गरिपाउँ भनी प्रतिवादी सोमकुमारीले ०२३।१।१६ मा भूमिसुधार कार्यालय काठमाडौंमा उजुरी निवेदन दिई कारवाई चली जिल्ला अदालतबाट कपालीतर्फको सावाँ व्याज भराउने गरेको समेत पुरै थैलीमा आयस्ता खाएको कट्टा गरी रु.५०९।७६ बाँकी रहेको कायम गरी उक्त भूमिसुधार कार्यालयबाट ०२४।३।१३ मा निर्णय गरेको मिसिल प्रमाणमा आएको देखिन्छ । यसरी भूमिसुधार कार्यालयबाट निर्णय भएको समेत देखिन आएपछि अदालतको निर्णय मान्य हुने हो वा भूमिसुधार कार्यालयको निर्णय मान्य हुने के हो ? प्रस्तुत मुद्दाबाटै निर्णय हुनुपर्ने भन्ने तर्क उठाइएको हकमा प्रचलित मुलुकी ऐनको व्यवस्थाबमोजिम अदालतमा दायर भएको यो मुद्दाबाट वादीको जे जति दावा छ सो दावासम्मको कुरामा अदालतले कानूनबमोजिम न्यायिक निर्णय दिनुपर्ने हुन आउँछ । ऋण रकम निश्चितमा भूमिसम्बन्धी ऐन अन्तर्गत भूमिसुधार कार्यालयले गरेको निर्णय पुनरावेदन अथवा कुनै उजूरीको तहबाट ठीक बेठीक जाँचीन आएको नभई अदालतमा परीरहेको मुद्दाको प्रमाणको लागि सम्म आएको यस स्थितिमा उक्त निर्णय प्रमाणमा लिन मिल्ने नमिल्नेसम्म कुरा अदालतबाट विचार हुन सक्ने हो, उक्त निर्णयको औचित्यमा हेरी मान्य हुने नहुने समेत कुराको अदालतले कुनै निर्णय गर्ने कानूनले मिल्ने देखिदैन पहिले नै अदालतमा परी रहेको यस मुद्दामा वादी दावाको कुरामा कानूनबमोजिम न्यायीक निर्णय गर्न पाउने अदालतको अधिकारलाई भूमिसुधार कार्यालयको उक्त निर्णयले कुनै असर पुर्याउन नसक्ने समेत हुँदा उपरोक्त तर्कमा अरु विवेचना गरी रहनु परेन ।
१८. तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट वादी दावाबमोजिम सावा रु.८६३।५० र लिखत बदर मुद्दामा का.जि.अ.बाट अन्तिम फैसला भएको मिति ०१७।१२।२७ देखिको ऐनबमोजिम सयकडा १० ले ठहर्ने व्याज समेत वादीले प्रतिवादीबाट भरी पाउने ठहराएको शुरुका दे.ई.अ.तथा बाग्मती अञ्चल अदालतको सदर गरी ०२५।४।२१।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिव ठहर्छ, कोर्टफी राखेकोले इन्साफ दोहर्याएमा निवेदक प्रतिवादी सोमकुमारीलाई अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्या.श्री धनेन्द्रबहादुर र
न्या.श्री राजा इश्वरी जङ्गबहादुर सिंह
उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।
इति सम्वत् २०२८ साल जेष्ठ ७ गते रोज ६ शुभम् ।