निर्णय नं. ६३२५ – वन्दीप्रत्यक्षीकरण
निर्णय नं. ६३२५ ने.का.प. २०५४ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधश श्री कृष्ण कुमार वर्मा २०५३ सालको रिट...
निर्णय नं. ६३२५ ने.का.प. २०५४ अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधश श्री कृष्ण कुमार वर्मा
२०५३ सालको रिट नं………………२४०१
फैसला मितिः ०५३।११।१५
मुद्दाः वन्दीप्रत्यक्षीकरण ।
पुनरावेदक
वादीः वर्दिया जिल्ला गुलरिया गा.वि.स. वडा नं. १ मा वस्ने वर्ष ७० की चाहना श्रेष्ठ समेत २
बिरुद्ध
विपक्षी
वादीः वांके जि.वागेश्वरी गा.वि.स.वडा नं. २ खजुरा वजार घर भै हाल वर्दिया जि.गुलरिया गा.वि.स. वडा नं. १ गुलरिया वजार मलंगा टोल शिमल चोकमा वन्धू ट्रेडस पसल गरी वस्ने इन्द्र कुमार श्रेष्ठ ।
§ लोग्ने स्वास्नीको ३ नं. वमोजिम लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद हुने नहुने विवादमा निर्णय गर्दाको अवस्थामा नावालक छोराछोरीको पालनपोषण कसले गर्ने भन्ने कुराको पनि निर्णय हुने उल्लेखित ऐनले नै प्रष्ट व्यवस्था गरेको छ । कानून वमोजिम अधिकार प्राप्त अदालतबाट निर्णय हुने विषय वस्तुमा निर्णय हुनु पुर्व नै रिट क्षेत्रबाट हस्तक्षेप गर्न मिल्ने अवस्था नदेखिने ।
(प्र.नं. ८)
निवेदक तर्फबाटः
विपक्षी तर्फबाटः
अवलम्वित नजिरः
आदेश
न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (२) वमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः
२. म सिता श्रेष्ठकी विपक्षी इन्द्र कुमार पति हुनुहुन्छ । निजले २०४२ साल तिर म सँग भेट भई म अविवाहित छु मैले विवाह गरेको छैन भनी म निवेदिकासँग प्रेम गरी २०४३ साल देखि दाम्पत्य जीवन शुरु गरी विपक्षीले निजको घर लग्नू भयो । हामीवाट २०४६ सालमा १ छोरी चाहना श्रेष्ठ र २०४८ सालमा छोरा उत्सव श्रेष्ठको जायजन्म भएको थियो । विपक्षी ति इन्द्रकुमारले २०४९ साल देखि कुटपीट गरी हेला गर्ने मार्ने धम्की समेत दिने कार्य गरेकोले वाध्य भई वर्दिया जिल्ला अदालतमा २०५३।८।६ मा सम्वन्ध विच्छेदको फिराद दायर गरेको छु । म संगै छोरा छोरी वसी निजहरुलाई पालन पोषण स्याहार संभार गरी आएकोमा म वर्दिया जिल्ला अदालतमा फिराद दर्ता गर्न जांदा म सँग गएका छोरा छोरीहरुलाई जवरजस्ती खोसी निज इन्द्र कुमार श्रेष्ठले लगी निज छोरा छोरीलाई कुटपिट गर्ने खान लगाउन नदिने पठन पाठनवाट वंचित गर्ने कार्य गरी निजकै घरमा राखि निज छोरा छोरीको नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११(१),१२(घ) मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३(१)(२) समेतवाट प्रत्याभूत हकमा र म निवेदिकाको समेत हक हनन् भएकोले निज छोरा छोरीलाई विपक्षीको गैरकानूनी थुना समेतवाट मुक्त गराइ यसै सम्मानीत अदालतमा उपस्थित गराई मेरो जिम्मा लगाई पाउँ । निवेदक छोरा छोरी म आमा सिता श्रेष्ठले पाल्न पाउने र निज छोरा छोरीले म आमासँग वस्ने पाउने लोग्ने स्वास्नीको महलको ३(१) (२) नं. ले कानूनी हक हो यस्तो हकवाट वंचित गरी म निवेदक समेतवाट छोरा छोरीलाई खोसी जवरजस्ती लाने कार्य गैरकानूनी छ ।
३. हामी छोरा छोरी आमा सिता श्रेष्ठसँग वसी आएकोमा हामीलाई आमावाट खोसी जवरजस्ती वावुले लैजाने कार्य गैरकानूनी हो र हामीकोसँग वस्ने पाउने भन्ने कुरा कानूनले निर्धिारण गरेको हो र आपसी मंजुरी भएकोमा हामी दुवै जनाका वस्न सक्छौ र हामी वस्ने भन्ने कुरा भन्दा पनि मुख्य कुरा हाम्रो भविष्यको कुरा हो । हामीलाई हेला गर्ने कुटपीट गर्ने खान लगाउन नदिने शिक्षावाट वंचित गर्ने स्वास्थ उपचार वंचित गरी आफ्नो जीवन वर्वाद गर्ने कार्य भएको छ ।
४. अतः माथी उल्लेखित तथ्य तथा कानूनका आधारमा विवपक्षी इन्द्रकुमारको कार्यले हामी निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१),१२(घ) द्धारा प्रत्याभूत संवैधानिक हक र लोग्ने स्वास्नीको महलको ३ नं. द्धारा प्रत्याभूत हक समेत हनन् गरी गैरकानूनी थनामा राखेकोले नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८ (२) वमोजिम वन्दीप्रत्यक्षीकरणको आदेशले गैरकानूनी थुनावाट मुक्त गरी यसै अदालतमा छोरा छोरीलाई उपस्थित गराई म निवेदीका आमाको जिम्मा लगाई पाउ भन्ने मुख्य रिट निवेदन जिकिर ।
५. यसमा के कसो भएको हो ? निवेदन माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरुवाट लिखितजवाफ मगाई प्राप्त भएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीश इजलासको आदेश ।
६. निवेदीकाको आरोप झुट्टा हो । छोरी चाहना २०४८।१०।७ देखि र छोरा उत्सव लाई मिति ०४९।९।२० देखि स्थानीय वागेश्वरी इङ्लिस वोर्डिग स्कुल गुलरियामा भर्ना गरी अध्यावधि सम्म सोही स्कूलमा आवासीय विद्यार्थीको रुपमा अध्ययनरत छन् । विपक्षीले म सँग सम्वन्ध विच्छेद मुद्दा समेत ०५३।८।६ मा दायर गरेको रहेछ । उक्त मुद्दामा मैले म्याद पाएको पनि छैन म्याद पाएपछि उचित प्रतिवाद गर्ने नै छु र सम्वन्ध विच्छेद हुने नहुने उचित प्रतिवाद गर्ने नै छु विपक्षीसँग मेरो सम्वन्ध विस्थापित नभै सकेको अवस्था छैन । अपितु लोग्ने स्वास्नीको सम्वन्ध कायम नैरहेको अवस्था छ । लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद हुनु भन्दा पुर्व लोग्ने स्वास्नीको ३(१)(२) क्रियाशिल हुन सक्दैन र प्रस्तुत विवादमा उक्त नम्वर आकृष्ट हुने पनि सक्दैन । कारण लोग्ने स्वास्नीको महलको ३(१)(२) लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद भएको अवस्थामा मात्र लागु हुनेृ तथ्य ऐनको प्रावधानले निर्देश गरी रहेको छ तसर्थ रिट निवेदन खारेज गरी पाउँ भन्ने इन्द्र कुमार श्रेष्ठको लिखित जवाफ ।
७. नियम वमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकको तर्फवाट उपस्थित विद्धान अधिवक्ता द्वय श्री हरिश्चन्द्र सुवेदी श्री वालकृष्ण नेउपानेले निवेदीकाले सम्वन्ध विच्छेदको मुद्दा दायर गर्नासाथ सम्वन्ध विच्छेद भएको मान्नु पर्ने हुँदा लोग्ने स्वास्नीको महलको ३(१)(२) अनुसार रिट निवेदिकाले छोरा छोरी पाल्न पाउने प्रष्ट कानूनी व्यवस्था हुँदा माग वमोजिमको आदेश जारी हुनुपर्छ भनी तथा विपक्षीतर्फका विद्धान अधिवक्ताद्वय श्री हरिहर दाहाल तथा श्री युवराज भण्डारीले लोग्ने स्वास्नीको महलको ३(१)(२) को कानूनी व्यवस्था कानून वमोजिम सम्वन्ध विच्छेद नभएसम्म क्रियाशिल हुन सक्तैन र हाल सम्वन्ध विच्छेद मुद्दा जिल्ला अदालतमा विचाराधीन रहीरहेको अवस्था हुँदा माग वमोजिमको आदेश जारी गर्न मिल्दैन रिट खारेज हुनुपर्छ भनी आफ्नो वहस जिकिर प्रस्तुत गर्नु भयो ।
८. विद्धान अधिवक्ताहरुले गर्नु भको वहस, जिकिर सुनि निर्णय तर्फ विचार गर्दा यसमा रिट निवेदन माग वमोजिमको आदेश जारी गर्न मिल्छ मिल्दैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखियो । यसमा नावालक छोरी चाहना श्रेष्ठ र छोरा उत्सव श्रेष्ठको हकमा आमा सिता श्रेष्ठको निवेदन परेको देखिन्छ । रिट निवेदनमा छोरा छोरीको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(ध) मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ३(१)(२) समेतवाट प्रत्याभत हकमा र म निवेदीका समेतको हक हनन् भएकोले निज छोरा छोरीलाई विपक्षीहरुको गैरकानूनी थुना समेतवाट वन्दीप्रत्यक्षीकरणको आदेशवाट मुक्त गराई यस सम्मानीत अदालतमा उपस्थित गराई लोग्ने इन्द्र कुमार श्रेष्ठवाट आफ्नो जिम्मा लगाई पाउ भन्ने जिकिर लिएको पाइन्छ । यस अदालतको आदेश वाट प्राप्त यिनै निवेदक सिता श्रेष्ठले इन्द्रकुमार श्रेष्ठ उपर लोग्ने स्वास्नीको १(२) वमोजिम सम्वन्ध विच्छेद गरी पाउँ भनी दिएको फिराद प्रतिलिपिवाट छोराछोरीको हकमा म फिरादीले नै पालनपोषण गरी पाउँ भनी दावी लिएको देखियो । प्रतिवादीले प्रतिउत्तरको प्रकरण ४ मा छोरा छोरीलाई विपक्षको जिम्मा दिने अवस्था नै छैन तसर्थ छोराछोरीलाई विपक्षले देखभाल गर्न पाउँ भन्ने दावी खारेज गरी पाउँ भनी इन्कार रही अधिकार प्राप्त अदालमा प्रतिउत्तर परेको देखियो । लोग्ने स्वास्नीको ३ नं. वमोजिम लोग्ने स्वास्नीको सम्वन्ध विच्छेद हुने नहुने विवादमा निर्णय गर्दाको अवस्थामा नावालक छोराछोरीको पालनपोषण कसले गर्ने भन्ने कुराको पनि निर्णय हुने हुँदा उल्लेखित ऐनले नै प्रष्ट व्यवस्था गरेको छ । कानून वमोजिम अधिकार प्राप्त अदालतवाट निर्णय हुने विषयवस्तुमा निर्णय हुनुपुर्व नै रिट क्षेत्रवाट हस्तक्षेप गर्न मिल्ने अवस्था भएन । वावु तथा लोग्ने इन्द्रकुमार श्रेष्ठले निवेदकहरुको संवैधानिक तथा कानूनी हकमा गैरकानूनी रुपमा हस्तक्षेप गरी थुनामा राखेको भन्न सकिने अवस्था नदेखिएको र अधिकार प्राप्त अदालतमा विचाराधीन विषयमा हस्तक्षेप गर्न मिल्ने अवस्था समेत नहुँदा वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम वमोजिम गरी वुझाई दिनु ।
उक्त रायमा म मसहमत छु ।
न्या. कृष्ण कुमार वर्मा
इति सम्वत् ०५३ साल फाल्गून १५ गते रोज ४ शुभम् ।