November 27, 1996
Created by nepalarchives

निर्णय नं. ६२४८ – अंश दपोट

निर्णय नं. ६२४८   ने.का.प. ०५३ अङ्क ८   संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्व्त २०५० सालको दे.पु.नं…….....

निर्णय नं. ६२४८   ने.का.प. ०५३ अङ्क ८

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्व्त २०५० सालको दे.पु.नं…….. १२२४

फैसला मितिः २०५३।८।१२।४

 

मुद्दाः अंश दपोट ।

 

पुनरावेदक

वादीः जि.महोत्तरी फूलकहा गा.वि.स. वडा नं. २ वस्ने सुरतिया देवी तेलीन ।

विरुद्ध

प्रत्यर्थी

प्रतिवादिः ऐ.ऐ. वडा नं. ३ वस्ने रामकली देवी तेलीन ।

      ऐ.ऐ. वस्ने राम नारायण साहु तेली ।

 

§  विवादित घरजग्गामा वादीले समेत वस्तू गाई गोरु वाख्रा वाधी भोगी आएको छ भन्ने वादीका साक्षी वृजलाल रायले वकपत्र गरिदिएको देखिन आयो । यस स्थीतिमा वादीको जानकारीमा आउन नदी प्रतिवादीले वण्डा गर्नुपर्ने  सम्पति दवाएको भन्न मिल्ने अवस्था देखिन आएन ।   

                     (प्र.नं. १२)

§  आफुले समेत प्रयोग गरेको सम्पति तायदाती मांग गर्दा वादीले तायदाती नदी प्रतिवादीले पेश गरेको तायदातीमा विरोधसम्म पनि नगरी दवाएको भनी फिराद दावी गर्नु उपयुक्त देखिन नआउने ।

 (प्र.नं. १२)

 

पुनरावेदक वादी तर्फबाटः

      विद्वान अधिवक्ता श्री पवन राम भटृराई ।

प्रत्यर्थी प्रतिवादी तर्फबाटः

अवलम्वित नजिरः

 

फैसला

      न्या. केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत जनकपुरको फैसला उपर वादी तर्फवाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछः

      २.    प्रतिवादीहरु उपर दिएको अंश मुद्दामा जि.म. फुलकाहा गा.वि.स. अन्तर्गत सर्वे नापी भएको दुलार ठाकुर सो उपर सडक सो पश्चिम, देवनारायण रायको इनार देखि दक्षिण राम दयाल सो पुर्व ०-०-१३ जग्गामा पुर्व मुखको माथि कोठा तल कोठा १ को दोमन्जला खपडाघर १, उत्तर मुखको माथि ३ तला भएको काठको दोमन्जला घर १ तथा ऐ वडा नं. १ गाउं व्लक भित्रको सर्वे नापी नभएको नथूनी सो उत्तर सडक सो उत्तर पुर्व रामनारायण साहु देखि दक्षिण १० धुर जग्गामा उत्तर मुखको खपडाघर १ समेत फांट वारीमा दवाई छपाई राखेकोले एकलौटी पांउ भन्ने समेत व्यहोराको फिरादपत्र ।

      ३.  वादी दावीको घर जग्गा हाम्रो नाउंमा दर्ता छैन । उक्त जग्गा घरहरु हाम्रो हक भोगको नभै (जुगल किशोर साहको हो) । हम्रो हक भोगको जग्गा नभएकोले हामीले फांटवारीमा देखाउनू पर्ने अवस्था छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

      ४. प्र. राम दयाल साहले ०४६।११।२४ मा तामेल भएको म्यादै गुजारी वसेको ।

      ५. जग्गा घरहरु वादी प्रतिवादीको छैन वाजे वावुको पाला देखि भोग चलन गरी आएको छु । ०४० सालमा खपरेल दोमहला घर वनाई वसी आएको छु भन्ने समेत व्यहोराको युगल किशोरको वयान ।

      ६. वादी दावी वमोजिम प्रतिवादीले दशोद गरेको ठहर्छ भन्ने समेत मिति ०४८।१०।८ को महोत्तरी जि.अ. को फैसला ।

      ७. पेटवोलीवाट वुझिएको जुगल किशोरको हक भोगमा घरजग्गा रहेकोमा छ भन्ने हामीहरुको साक्षीले भनेको छ । विपक्षीको साक्षीले त्यसतर्फ कूनै तथ्ययुक्त वकपत्र गरेको देखिदैन। जालसाजी मुद्दामा विपक्षी हारेको छ । गाउव्लोकको जग्गाको कूनै प्रमाण हुदैन । यस स्थितिमा युगल किशोरको जग्गा छैन भन्ने ठहर्‍याउने न्यायीक मनको अभाव छ । शूरु अदालतको फैसला त्रुटिपुर्ण हूंदा वदर गरी हक इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

      ८. अंशवण्डाको २७ नं. ले नदवाउने अरु अंशियारले वांडी खान पाउंछ भनी भएको व्यवस्था प्रतिकूल अन्य अंशियारहरु समेत भएको अवस्थामा दपोटमा फिराद गर्नेको एकलौटी ठहर गरेको शूरुको इन्साफ मिलेको नदेखिंदा छलफलमा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई आएपछि वा गूजारेपछि नियमानूसार पेश गर्नु भन्ने पुनरावेदन अदालत जनकपुरको मिति २०४९।३।१८।५ को आदेश ।

      ९. कसैका नाउंमा दर्ता श्रेस्ता नभएको जग्गा कसले पनि अंश मुद्दामा तायदाती दिन सक्ने र मिल्ने नै हूंदा प्रतिवादिले तायदाती नदिएकोले दपोट गर्यो भन्ने वादी दावी मिल्ने देखिएन । वादी अंशियार भएको कूरामा अंश मुद्दावाट प्रमाणित भएको हूंदा वादी दावीका जग्गा घर समेत संगोलको नै देखिएकोले वादीले समेत २ खण्डको १ खण्ड निजको लोग्नेले पाउने हूंदा सो  वाट तीन खण्डको एक खण्ड वादीले अंश स्वरुप पाउने ठहर्छ शूरुको इन्साफ केही उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति २०५०।३।२ को फैसला ।

      १०. फांटवारी दाखेल नगरी दवाए छिपाएको जग्गा गाउं व्लक भित्रको भएको हुनाले त्यस्ता जग्गाहरुको हकमा जग्गाधनी दर्ता प्रमाण पुर्जा नहुनु स्वभाविक हो । यस्ता जग्गाका हकमा गाउं सर्जमिन गराई फैसला गर्नु पर्नेमा सो नगरी फैसला भएको छ । दर्ता नै सम्पुर्ण कूरा होइन, भोगाधिकार पनि महत्वपुर्ण हुन्छ । तसर्थ पुनरावेदन अदालतको फैसला वदर गरी पाउं भन्ने समेत व्यहोराको वादी सुरतीया देवीको यस अदालतमा दायर भएको पुनरावेदन पत्र ।

      ११. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट रहनू भएका विद्वान अधिवक्ता श्री पवन राम भटृराईले फांटवारीमा गाउं ब्लकको दर्ता नभएको जग्गा समेत नदेखाई दपोट गरेको अवस्थामा प्रतिवादीहरुवाट अंश दपोट गरेको स्थिति छ । दर्ता नभएको भए तापनि विवादित जग्गा निजहरुले भोगी आएको स्पष्ट छ । तसर्थ पुनरावेदन अदालतवाट दपोट नठहर्‍याउने गरी भएको फैसला मिलेको छैन, हाल विपक्षी झिकाई इन्साफ होस् भन्ने समेत वहस गर्नु भयो ।

      १२.   विद्वान अधिवक्ताले गर्नु भएको वहस समेत सूनी निर्णय तर्फ विचार गर्दा खपरेनको घर समेतको जग्गा समेत दपोट गर्यो भन्ने वादी दावी देखिन्छ । तायदाती दूवै थरीसंग मांग गरिएको पाइयो । विवादित घरजग्गामा वादीले समेत वस्तू गाई गोरु वाख्रा वाधी भोगी आएको छ भन्ने वादीका साक्षी वृजलाल रायले वकपत्र गरिदिएको देखिन आयो । यस स्थीतिमा वादीको जानकारीमा आउन नदी प्रतिवादीले वण्डा गर्नु पर्ने  सम्पति दवाएको भन्न मिल्ने अवस्था देखिन आएन । आफुले समेत प्रयोग गरेको सम्पति तायदाती मांग गर्दा वादीले तायदाती नदी प्रतिवादीले पेश गरेको तायदातीमा विरोधसम्म पनि नगरी दवाएको भनी फिराद दावी गर्नु  उपयुक्त  देखिन  आउंदैन ।

विवादीत सम्पति जुगल किशोरको हो भन्ने प्रतिवादिले जिकिर लिए पनि सो कूराको प्रमाण गूजार्न सकेको पाइदैन । निजको हक नपुग्ने भन्ने शूरु महोत्तरी जिल्ला अदालतको ठहर उपर निज जुगल किशोरले पुनरावेदन गर्न सकेको नदेखिई संगोलको मान्नू पर्ने भई अंश मुद्दामा अंशियार कायम भए वमोजिम विवादित सम्पतिमा २ खण्डको १ खण्डमा ३ खण्डको १ खण्ड वादीले अंश पाउने दपोट तर्फ वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको मिति २०५०।३।२ को इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ ।  वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानूसार गरी वुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.उदयराज उपाध्याय

 

इति सम्व्त २०५३ साल मंसिर १२ गते रोज ४ शूभम् …. ।