निर्णय नं. ६२३ – उत्प्रेषणको आदेश जारी गरीपाउँ
निर्णय नं. ६२३ ने.का.प. २०२८ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२६ सालको रिट नम्बर ६६६ आदेश भएको मिति...
निर्णय नं. ६२३ ने.का.प. २०२८
डिभिजन बेञ्च
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०२६ सालको रिट नम्बर ६६६
आदेश भएको मिति : २०२८।३।९।४ मा
निवेदक : ल.पु.ई. बुंगमती गा.पं.वार्ड नं.४ अन्तर्गत सत टोल बस्ने नन्दलाल महर्जनको वा. ल.पु.पूर्ण चण्डी दला टोल बस्ने हरिशेखर श्रेष्ट
विरूद्ध
विपक्षी : ल.पु.भूमिप्रशासन कार्यालयका प्रशासक श्री ढुण्डीराज उपाध्यायसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरीपाउँ
(१) एकपक्षले ऋण भने पनि अर्कोपक्षले राजिनामाको लिखत पेश गरेमा–भूमि प्रशासकलाई ऋण रकम निश्चित गर्ने अधिकार नहुने ।
उक्त भूमि प्रशासकको निर्णयमा जग्गा भोगबन्धकी दिएको हो, रजिष्ट्रेशन पास मैले गरी दिएको छैन, मसँग निस्सा प्रमाण केही छैन, निज साहुसँग उक्तबारेको कागजपत्र झिकाई उक्त जग्गा बारेको प्रमाण अड्डैबाट हेरी पाउँ भन्ने निवेदकको निवेदन तथा सनाखत बयान भन्नेसमेत लेखिएको देखिएबाट निवेदकले विपक्षीबाटै भोगबन्धकीको लिखत झिकाई ऋण निश्चित गरिपाउँ भन्ने दावी लिएकोमा घरायसी राजिनामा पेश भएको देखिएको भन्ने मिसिलमा पेश भएको कागजकोसम्म उल्लेख गरी राजिनामा हो होइन भन्ने कुनै ठहर गरेको नदेखिएकोले राजिनामाको लिखत विपक्षीबाट पेश भएकोले ऋण रकम निश्चित गर्न नमिल्ने भन्ने अभिप्राय प्रकट गरी खारेज गरेको देखिएकोले ऋण भन्ने एक पक्ष भई अर्कोपक्षबाट राजिनामाको लिखत पेश भएबाट यस्तामा ऋण रकम निश्चित गर्ने अधिकार पनि भूमि प्रशासकलाई नभएकोबाट भूमि प्रशासकले आफूलाई भएको अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठर्हछ । फायल नियमबमोजिम गरी बुझाइदिनु ।
(प्रकरण नं. ७)
निवेदकतर्फ :
विपक्षी तर्फबाट : का.मु.अतिरिक्त सरकारी अधिवक्ता श्री भरतप्रसाद
उल्लेखित मुद्दा :
आदेश
न्यायाधीश श्री धनेन्द्रबहादुर
१. निज न्हुछेलालसँग मैले रु.३४२। कर्जा लिई घर पाताल जग्गा भोगबन्धकी तमसुक लेखि दिएकोमा सो भोगबन्धकी तमसुक झिकी ऋण निश्चित गरिपाउँ भनी मैले ल.पु.भू.सु.का मा उजुर गरेको थिएँ । निज विपक्षले ४ थाना फार्छे तमसुकको नक्कल ४ थान फार्छे तमसुकको नक्कल दाखेल गरेकोले ऋण निश्चित गरिरहन नपर्ने भएकोले मुद्दा खारेज गर्ने भनी भूमि प्रशासन कार्यालय, ललितपुबाट ०२५।६।२८ गते मुद्दा खारेज गरी पर्चा दियो । मैले भोगबन्धकी लिएको छु, ऋण निश्चत गरिपाउँ भन्ने मेरो उजुर भएकोमा बन्धकी होइन फार्छे हो भनी विपक्षले फार्छेपत्र दाखेल गरेपछि वादी र प्रतिवादीको मुख मिलेन । यस्तो मुख नमिले पछि अ.बं.७८ नं.ले तुरून्तै वादी प्रतिवादीलाई उक्त लिखत सुनाई सद्दे कृर्ते छुट्याउन पर्ने, त्यसरी सद्दे हो वा कीर्ते के हो भनी कुराको छान विनै नगरी त्यस्तो कागजको भरले फार्छे भनी ऋण निश्चित गर्न नमिल्ने भन्न नहुने । भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको ऐन, ०२५ ले थपेको दफा ४५ (क) ले पनि सद्दे कीर्ते तहकिकात गर्नुपर्ने भू.प्र.कार्यालयलाई नै अधिकार दिएको र उपरोक्त दफा ४५ ले पनि आवश्यक छानविन गर्नु भन्ने लेखेको छ । त्यसरी छानविन गर्दा दफा ५२ ले विशेष अदालतलाई दिएको अधिकार अपनाउन पर्ने र दफा ६३ ले उक्त ऐनमा व्यवस्था नभए जति कारवाई गर्न प्रचलित ऐनबमोजिम गर्नुपर्ने, हुनाले उपरोक्त अ.बं.७८ नं.बमोजिम मुख नमिल्नासाथ लेखिएबमोजिम सद्दे कीर्ते छुट्याई तुरून्त कारवाई गर्नुपर्ने, तारेख गुजारी बसे अ.बं.१३८ नं.ले निजको प्रमाण अमान्य ठहरिनेमा त्यस्तो अमान्य ठहरी कागजको भरले ऋण निश्चित गर्न पर्दैन भनी खारेज गर्नु भएको कानून विरूद्ध हुन आएको छ । लेखिएबमोजिम अ.बं.१३२ विरुद्ध कारवाई गरी मेरो धन अपहरण हुने कारवाई गर्न नहुनेमा गर्नुभयो । मैले फार्छे लिखत गरी दिएको छैन, मेरो भोगबन्धकीको जग्गा हो भनी मेरो मुख्य निवेदन जिकिर भएपछि भू.प्र.का.ले सक्कल तमसुक नै नराखी सद्दे कीर्ते नै नछुट्याइ फार्छे देखिएको भनी निर्णय गरेको हुनालेउपरोक्त अदालती बन्दोबस्तको ऐनको ७८ नं.१३२ नं.१३८ नं.र भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५,५०–५२,६३ विरूद्ध कारवाई गरी निर्णय गरेकोले संविधानको धारा ११, १५ ले प्रदत्त मौलिक हकमा समेत आघात पुग्न गएकोले अन्य उपचारको व्यवस्था नहुँदा संविधानको धारा ७१ को आधार लिई निवेदन गर्न आएको छु । उक्त धारा ७१ को प्रयोग गरी उत्प्रेषण वा जुन उपयुक्त आज्ञा वा आदेश जारी गरी भू.सु.का.ल.पु.को निर्णय बदर गरिपाउँ भन्नेसमेत वा हरीशेखर श्रेष्ठको निवेदन ।
२. लिखित जवाफ पठाउनु भनी विपक्षीलाई सूचना पठाई जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्नेसमेत २०२७।४।९।६ को डिभिजन बेञ्चको आदेश ।
३. भूमि प्रशासन कार्यालय ल.पु बाट ०२५।६।२८ मा विपक्षीका उजुर खारेज गरेको मनासिव हुँदा सो निर्णय सदर गरी पाउन समेत सम्माननीय बेञ्च समक्ष अनुरोध गर्दछु भन्नेसमेत वा.लक्ष्मणप्रसाद मास्केको लिखित जवाफ ।
४. ऋण रकम निश्चित गर्न नमिली मुद्दा खारेज गरिएको हो भन्नेसमेत भूमि प्रशासन, कार्यालय ललितपुरको लिखित जवाफ ।
५. तारेखमा रहेको निवेदकको वारेस हरिशंकरलाई र विपक्षीको वारेस लक्ष्मणप्रसादलाई रोहवरमा राखी विपक्षीतर्फको विद्वान का.मु. अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले गर्नुभएको बहससमेत सुनी हेर्दा प्रस्तुत विषयमा निवेदकका मागबमोजिम उत्प्रेषणको आदेश जारी गर्नुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
६. मैले फार्छे लिखित गरी दिएको छैन, मेरो भोगबन्धकीको जग्गा हो भनी मेरो मुख्य निवेदन जिकिर भएपछि फार्छे देखिएको भनी निर्णय गरेको हुनाले भू.प्र.का.ल.पु.को निर्णय बदर गरिपाउँ भन्नेसमेत उल्लेख गर्दै उत्प्रेषणको माग गरी निवेदक आएको देखिन्छ । फाइल साथ रहेको भूमि प्रशासन कार्यालय, ललितपुरको भूमि प्रशासकको ०२५।६।२८ को निर्णय नक्कलमा मिसिलमा पेश भएका १९९९ सालमा तमसुक हद मुनिको घरायसी राजिनामा भएको देखिएकोले ऋण भन्न नसकिने ऋण रकम निश्चित गर्न नमिल्ने हुनाले यो मुद्दा खारेज गरी दिने ठहर्छ भन्नेसमेत लेखिएको देखिन्छ ।
७. उक्त भूमि प्रशासकको निर्णयमा जग्गा भोगबन्धकी दिएको हो, रजिष्ट्रेशन पास मैले गरी दिएको छैन, मसँग निस्सा प्रमाण केही छैन निज साहुसँग उक्त बारेको कागजपत्र झिकाई उक्त जग्गा बारेको प्रमाण अड्डैबाट हेरी पाउँ भन्ने निवेदकको निवेदन तथा सनाखत बयान भन्नेसमेत लेखिएको देखिएबाट निवेदकले विपक्षीबाट भोगबन्धकीको लिखत झिकाई ऋण निश्चित गरिपाउँ भन्ने दावी लिएकोमा घरायसी राजिनामा पेश भएको देखिएको भन्ने मिसिलमा पेश भएको कागजको सम्म उल्लेख गरी राजिनामा हो होइन भन्ने कुनै ठहर गरेको नदेखिएकोले राजिनामाको लिखत विपक्षीबाट पेश भएकोले ऋण रकम निश्चित गर्न नमिल्ने भन्ने अभिप्राय प्रकट गरी खारेज गरेको देखिएकोले ऋण भन्ने एक पक्ष भई अर्को पक्षबाट राजिनामाको लिखत पेश भएबाट यस्तोमा ऋण रकम निश्चित गर्ने अधिकार पनि भूमि प्रशासकलाई नभएकोबाट भूमि प्रशासकले आफूलाई भएको अधिकार क्षेत्रभित्र रही निर्णय गरेको देखिएबाट प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियमबमोजिम गरी बुझाई दिनु ।
न्या.श्री विश्वनाथ
म सहमत छु ।
इति सम्वत् २०२८ साल आषाढ ९ गते रोज ४ शुभम् ।