March 23, 1971
Created by nepalarchives

निर्णय नं. ६१८ – लेनदेन

निर्णय नं. ६१८            ने.का.प. २०२८ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री झपट सिं रावल सम्वत २०२६ सालको...

निर्णय नं. ६१८            ने.का.प. २०२८

फुल बेञ्च

प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री झपट सिं रावल

सम्वत २०२६ सालको देवानी फु.नं ५६

फैसला भएको मिति : २०२७।१२।१०।३

निवेदक      : का.जि.न्हृ्योखा टोल बस्ने कुलबहादुरको सकार गर्ने पूर्णबहादुर श्रेष्ठ

विरुद्ध

विपक्षी : ऐ पुरानो भन्सार दफदर बस्ने विमला प्रभा गुभाजुनी समेत

मुद्दा : लेनदेन

(१)   तत्काल प्रचलित अ.बं. ९९ नं.: पछि अर्को नालेस गर्न नपाउने किसिमले दावी खारेज भए गरेको नदेखिएमाअन्याय भए जति कलममा पछि एकैपटक नालेस दिएमा९९ नं.ले नालेस नलाग्ने भन्न नमिल्ने ।

            पहिलो प्रश्नको हकमा तत्काल प्रचलित अ.बं.९९ नं.मा फिरादपत्र दिंदा उही मानिसका नाउँमा एउटै नालेस दिए हुने अर्थात साँवा र व्याज जग्गा र बाली समेतमा नालेस दिनु परेको अन्याय भए जतिको कलममा एकै पटक नालेस दिनु पर्ने प्रष्ट व्यवस्था भएको र वादीले पहिले नालेस गरेको मुद्दामा मोटर र सो मोटर बनाउन भनी लगेको रूपैयाँ समेतमा एकै चोटी नालेस गर्नुपर्ने भनी का.दे.इ.अ.बाट ०१८।८।२१।४ मा खारेजी फैसला गरेकोमा वादीले पुनरावेदन नगरी चित्त बुझाई पुनः यो नालेस दर्ता गरेको देखिएकोले त्यसतर्फ अरू विवेचना गरिरहनु परेन । त्यसरी खारेज भएकोमा अर्को नालेस लाग्छ लाग्दैन भन्नेतर्फ वादीले पहिले नालेस गर्दा मोटरको हकमा छुट्टै नालेस दिई ऐनबमोजिम गरी माग्नेछु । रु.१३०० को हकमा निजबाट दिलाई भराइपाउँ भन्ने दावी लिएको र उक्त अ.बं.९९ नं.मा त्यस किसिमको वादी दिन नपाउने भनी खारेज गरेबाट अन्याय भएको कलम जतिमा एकै पटक दावी नलिएको उक्त नालेस अदालतले दर्ता नगरी उक्त अ.बं.९९ नं.ले लाग्न नसक्ने व्यहोरा जनाई मौकैमा दरपिठ गरी फिर्ता दिएको भए पक्षले दुबै कुरामा एकैपटक दावी लिई तत्काल अर्को नालेस दिनपाउने थियो । तर अदालतको गल्तिले सोअनुसार दरपिठ गरी फिर्ता नदिई सो नालेस दर्ता गरिदिएको र पछि खारेज गर्दा ऐनले दर्ता हुन नसक्ने नालेस अदालतकै भूल गल्तीले दर्ता भएको भन्ने कुरालाई स्वीकार गरी नालेस दर्ता गर्दा राखेको कोर्टफी वादीलाई नै फिर्ता दिने, ऐनले दर्ता नहुने नालेस दर्ता गरेमा हाकिमलाई रु.२५ जरीवाना गर्नेसमेत गरी दरपिठ किसिमकै खारेजी भए गरेको समेत देखियो । पछि अर्को नालेस गर्न नपाउने किसिमले दावी नै खारेज भए गरेको नदेखिएकोले मोटर र मोटर बनाउन भनी लगेको रूपैयाँसमेतमा एकैपटक दावी लिएको यो नालेस उक्त अ.बं.९९ नं.ले लाग्न सक्ने भन्न मिल्ने देखिदैन ।

(प्रकरण नं. ११)

(२)   तत्काल प्रचलित साहु आसामीको ३८ नं.: कुनै माल वा वस्तु (जस्तो मोटर) मरमत वा बनाई फिर्ता गर्ने शर्तमा सो मरमत गर्न रूपैयाँसमेत लिए दिएमाव्यापारसम्बन्धी लेनदेन कारोवार गरेको भन्न नमिल्ने कारण सो कुरामा ३८ नं.को हदम्याद नलाग्ने ।

            दोस्रो प्रश्नको हकमा प्रतिवादीले बनाउन भनी लिएको वादीको मोटर बनाई बिक्री गरिदिने वा त्यसबाट कुनै किसिमको मुनाफा उठाई दुबैले बाँडी खाने शर्तमा मोटर बनाउन लिए दिएको भन्ने कुरा भए व्यापारसम्बन्धी लेनदेन कारोवार गरेको भनी तत्काल प्रचलित साहु आसामीको ३८ नं.बमोजिम २ वर्षको हदम्याद लगाउन मिल्ने थियो । यसमा त्यस्तो नभई वादीको मोटर बनाई वादीलाई नै फिर्ता दिने गरी बनाउनेसम्म शर्तमा मोटर र सो मोटर बनाउन रूपैयाँसमेत लिए दिएको भन्ने भएको यस्तो कुरालाई व्यापारसम्बन्धी लेनदेन कारोवार गरेको भन्न नमिल्ने हुँदा उक्त साहु आसामीको ३८ नं.को हदम्याद लाग्ने प्रश्न आउँदैन ।

 (प्रकरण नं. १२)

निवेदक तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ

विपक्षी तर्फबाट      : बरिष्ट अधिवक्ता श्री देवनाथप्रसाद वर्मा

उल्लेखित मुद्दा :    

फैसला

     न्या.श्री नयनबहादुर

      १.     का.नगरपालिका नं.३३१ मा दर्ता भएको रू, ४००० मोल भएको चेभरलेट गाडी मरमत गरी बनाउनलाई विपक्षीले मबाट रु.१३०० बुझी लिई मोटर पनि बनाई नदिएको र ज्याला माल सामानलाई भनी दिएको मो रु.१३०० समेत नदिंदा सो मो रु.१३०० दिलाई पाउँ भनी मैले नालेस गर्दा मलाई मोटर बनाईदिएको ज्याला नदिई ठगी गरी लगे भनी मेरा नाउँमा का.फौं.मा नालेस गर्दा यो लेनदेनको मुद्दा मुलतबी रहेकोमा मैले ठगी गरेको नठहरी रा.का.फौं. बाट फैसला हुँदा सोउपर निज अन्यायको पुनरावेदन परी शुरूकै इन्साफ सदर गरी हदमुनी गरी ०१७।१०।१० मा फैसला भयो र लेनदेन मुद्दामा मोटरको र मोटर बनाउन लिएको रु.१३०० को समेत एकै पटक नालिस दिन पर्नेमा सो रूपैयाँमा मात्र नालिस लिएको भनी ०१८।८।२१ गते इ.अ.का.बाट फैसला भएकोले दुबै कलममा नालिस गर्न आएको छु । मोटर बनाउन दिएको समेत गरी जम्मा रु.५३०० विपक्षीबाट भराई दिलाइ पाउँ भन्नेसमेत वादीको ०१८।१०।६।६ को फिराद ।

      २.    ०१४।९।१३ मा वादी र डा.रत्नदासबाट दावीको मर्मत गर्न रु.१३०० लिएकोले ०१४।९।१३ मा मैले भरपाई गरिदिएको र मैले मर्मत गरी रंग रोगन समेत गर्दा रु.३२५१।५० खर्च भएको र रु.१३०० कटाउँदा रु.१९५१।५० लिन बाँकी भएको ०१५।३।२ गते आई बाँकी रूपैयाँ अहिले ल्याएको छैन भरे घरमा आउनोस् र दिनेछु भनी भक्तबहादुरका सामुन्ने डा.रत्नलालले हाँकी लगेकोमा उल्टो मोटर लुकाई दवाई बेपत्ता पारेमा छुट्टै उजुर गर्नेछु, लिएको बिगो रु.१३०० भराई पाउँ भनी मेरा नाउँमा नालिस दिएकोमा प्रतिउत्तर दिई १९५१।५० ठगी गरेकोमा फौज्दारीमा फिराद दिई सो रु.१३०० को मुद्दा मुलतबी रही निजले प्रतिउत्तर जोड्दा मैले मालै पाएको छैन माल लिए पनि जसको माल उसले लिएमा ठगीनै नठहर्ने भन्ने जिकिर देखिएबाट पनि मोटर निज वादीले लगेको रहेछ भन्ने देखिने नलगेको भए ०१५।२।१३ ले २० दिन अर्थात आषाढ २ गते नाघेपछि हर्जानासमेत उजुर गरी लिन सक्नुपर्ने र ३३१ नं.को वेयर लेटर मोटर मेरा नाउँमा का.न.पा.मा दर्ता छ भन्ने दावीलाई पनि ३३१ नं.को मोटर घरमबहादुर बंसका नाउँमा दर्ता भएको का.न.पा. बुझे यथार्थ हुनेछ । झुठ्ठा दावीबाट फुर्सत पाएँ भन्नेसमेत प्र.कुलबहादुरको प्रतिउत्तर ।

      ३.    वादी दावीको मोटर र सो मोटर बनाउन मोरु.१३००। लिएमा प्रतिवादीले स्वीकार गरेको मोटर प्रतिवादीले ठगी गरी लिए भनी प्र.कुलबहादुरले वादी विमलाका उपर दिएको ठगी मुद्दामा मुद्दा नचल्ने ठहरी अन्तिम फैसला भएको देखियो । प्रतिवादी जिकिरबमोजिम वादीलाई दिइसकेको भए आफूले बनाउन जिम्मा दिएको मोटर फिर्ता दिंदा आफूले जिम्मा लिंदा गरिदिएको भरपाई फट्टा गरीलिनु वा सो नभए मोटर बुझी लिएको भरपाई गराई राख्नु पर्ने सो नभएपछि लिखत गरी जिम्मा लिएको मोटर सो लिखत महजुदै रहेकोले मोटर बुझाएको भन्न नमिल्ने हुँदा वादी दावी बमोजिमको बिगो पूर्णबहादुरबाट भरी पाउने ठहर्छ भन्नेसमेत का.जि.अ.को फैसला ।

      ४.    शुरूको इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

      ५.    अगाडी वादीले फिराद दिंदा मोटरको हकमा छुट्टै नालिस दिनेछु रु.१३००। भराई पाउँ भन्ने दावी लिएकोमा एकै चोटी नालिस नदिई यो फिरादको रूप हेरी मोटरमा अर्को नालिस दिने गरी गरेको फिराद खारेज गरी साविक अ.बं.९९ नं.बमोजिम ०१८।८।२१।४ मा फैसला गरेपछि यो मुद्दा दायर हुन आएको देखिएको दावी मध्येको रु.१३००। का हकमा का.दे.इ.अ.बाट खारेज फैसला भएउपर वादीले अपिल नगरी रहेकाले का.दे.इ.अ.को फैसला बमोजिम हुने र मोटरको मोल बिगो रु.४०००। का हकमा पनि वादीले अघि दायर गरेको लेनदेन मुद्दामा दावी नलिइ झुठ्ठा दावा गर्ने भन्ने लेखिएको साविक मुलुकी ऐन अ.बं.९९ नं.बमोजिम पछि वादी दिन समेत नपाउने हुँदा वादी दावी खारेज हुने र शुरूले गल्ती इन्साफ गरेको ठहर्छ भन्नेसमेत बाग्मती अञ्चल अदालतको फैसला ।

      ६.    सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

      ७.    वादीले प्रतिवादीलाई मोटर मर्मत गर्न दिंदा ज्याला सामानलाई भनी दिएको रु.१३००। र फिर्ता नदिएको मोटरको रु.४०००। समेत भराई पाउँ भन्ने वादीको दावी अञ्चल अदालतले खारेज गरीदिएको उपर वादीको पुनरावेदन परी आएको हुँदा उजुरी खारेज हुने वा दावीबमोजिम भरी पाउने के हो भनी निर्णय गर्नुपर्ने विषय देखिन अएको छ । मोटर मर्मत गर्नालाई ज्याला र सामान वापत लिएको रु.१३००। भराई पाउँ मोटरको बारेमा पछि छुट्टै उजुर गर्नेछु भनी ०१५।१२।२१।६ मा वादीले नालेस दायर गरेकोमा मोटरको बिगोमा समेत एउटै फिराद गर्नुपर्ने नगरेकोले अ.बं.९९ नं.ऐनले खारेज हुन्छ भनी ०१८।८।२१ मा का.दे.इ.अ.बाट फैसला भएपछि सामान वापत लिएको रूपैयाँ र मोटरको मूल्यसमेत भराई पाउँ भनी प्रस्तुत मुद्दा ०१८।१०।६ मा दायर गरेकोमा सामान वापत लिएको रूपैंयाको उजुरी अघि खारेज भएको का.दे.इ.अ.का फैसलाबमोजिम हुने र मोटरको मोलका हकमा अ.बं.९९ नं.ले पछि वादी दिन नपाउने हुँदा यो उजुरी खारेज हुन्छ भनी अञ्चल अदालतले निर्णय गरेको र तत्काल प्रचलित मुलुकी ऐन अ.बं.को ९९ नं.ऐनमा फिरादपत्र दिंदा उही मानिसका नाउँमा एउटै नालेस दिए हुने अर्थात सो नालेस दिनु परेको मुद्दामा अन्याय भएको जति कलममा एकैपटक नालेस दिनुपर्छ । सोबमोजिम नगरी पहिले दिएका नालेसको रूप विचार गरीमात्र सो मुद्दाको रूपले अरू कुरामा पछि नालेस दिने नियत लिई यति कुरा मात्र यस नालेसबाट दिलाई भराई पाउँ भनी वादी दिन र सो वादीमा छुटेको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत पाउँदैन भन्ने उल्लेख भएको रहेछ । रु.१३००। भराई पाउँ भनी वादीले नालेस दिन जाँदा मोटरको बारेमा पछि अर्को नालेस दिने व्यहोराको वादीले दिन अ.बं.९९ नं.ऐनले पाइदैन नालेस लाग्दैन भनी पहिले नै अदालतले फिर्ता गरिदिएको भए दुवै कुरामा उसै बखत एउटै नालेस दिन पाउने अवस्था पथ्र्यो । अदालतले त्यसो नगरी उक्त नालेस दर्ता गरी कारवाई चलाई रहेको आखिर अदालतकै भूल गल्ती स्वीकार गरी तत्काल प्रचलित कोर्टफी सवलाबमोजिम वादीबाट आएको कोर्टफीसमेत फिर्ता दिने गरी खारेज गरेको सो विषयमा कुनै हालतमा पनि दावी नै नलाग्ने गरी खारेज गरेको नदेखिएकोले रु.१३००। को दावीतर्फ अघि खारेज भैसकेकोले पुनः नालेस नलाग्ने भन्न नमिल्नेमोटरको दावीतर्फमा पनि यो मुद्दाको रूपले अरू कुरामा पछि नालेस दिने नियत लिई भन्ने उक्त ९९ नं.मा उल्लेख भएको शब्दले नालेस दिन आउने व्यक्तिको नियत साफ भए नभएको पनि विचार गर्नुपर्नेतर्फ उक्त वादीको दावीमा त्यस्तो खराव नियत भएको कुनै आभास पाइदैंन । उसमा पनि उक्त ऐनको पछि वादी दिन पाउँदैन भन्ने शब्दले पहिलेको मुद्दा दायर छँंदै वा डिग्री गराई सकेपछि त्यसको रूप विचारबाट पछि नालेस दिन पाउँदैन भन्ने शब्द बुझउँछ । यसरी पहिले मुद्दा खारेज भैसकेको अवस्थामा दुवै विषयलाई जोडी एउटै फिराद गर्न पनि पाउँदैन भन्ने उक्त ऐनको मनसाय नदेखिएकोले उक्त ऐन लगाई अञ्चल अदालतले खारेज गरेको मिलेको देखिएन । साहु आसामीको ३८ नं.ऐनको म्याद २ वर्षभित्र दायर नभएकोले खारेज हुनपर्ने भन्ने प्रतिवादी पक्षका विद्वान वकिलको बहस जिकिरको हकमा कर्जा लेनदेन गरेको साहु आसामीको व्यवहार नभई मर्मत गर्न दिएको मोटर नदिएकोले मोटरको मोल र मर्मत गर्ने खर्च दिएको रूपैयाँ फिर्ता पाउँ भन्ने विषय देखिंदा साहु आसामीका महलको हदम्याद लाग्ने भन्न भएन । अब वादीका दावीको मोटर वादीले फिर्ता लगिसकेकोले बिगो तिर्नु नपर्ने भन्ने प्रतिवादीको जिकिरतर्फ मर्मत गर्न लगेको मोटर मर्मत गरी उचित समयमा फिर्ता गरी नदिंदा वादीले प्रतिवादीलाई पक्री माग्दा १३००। को माल किनी सकेको छु, दिन २० मा मोटर तयार गरिदिनेछु, तयार गरीन भने हर्जाना दिनेछु भनी ०१५।२।१३ मा भाकापत्र कागज गरिदिएको त्यसपछि फिर्ता दिएको भए माल फिर्ता दिंदा आफूले गरिदिएको भाकापत्र फिर्ता लिनु वा भरपाई गराई लिनै पर्ने सो गराएको नदेखिएकोले यस्तो लिखत भएको कुरामा फिर्ता लगिसकेको भन्ने मौखिक भनाई प्रतित लिन मिल्ने देखिदैन । त्यसकारण वादीका दावी बमोजिम बिगो भराई दिने गरेको का.जि.अ.को इन्साफ मुनासिव खारेज गरेको बा.अं.अ.को इन्साफ गल्ती ठहर्छ भन्नेसमेत०२५।३।२५।२ को डि.बे.को फैसला ।

      ८.    सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०२५।३।२५।२ को निर्णय दोहोर्‍याई पाउँ भनी पूर्णबहादुर श्रेष्ठको निवेदन पर्न आएकोमा न्यायिक समितिबाट यसमा वादीले मोटर मर्मत गरी बनाउनलाई मोटर जिम्मा लिई मर्मत खर्च रु.१३००। लिएकोमा मोटर बनाई नदिएकोले मोटरमा छुट्टै नालेश गर्नेछु बनाउन लिएको रु.१३००। दिलाई भराई पाउँ भन्ने गरेको पहिलो नालेश खारेज गरी मोटरको मोल रु.४०००। बनाउन लिएको मर्मत खर्च रु.१३००। समेतमा एकैपटक नालेश गर्नु भनी रु.१३००। को मात्र नालेश लिएमा हाकिमलाई जरिवाना गरी १८।८।२१ मा शुरू अदालतबाट फैसला गरेपछि दुवै कुरामा दावी लिई ०१८।१०।३।६ मा प्रस्तुत मुद्दा दायर गरेको देखियो । प्रस्तुत मुद्दामा शुरू अदालतले इन्साफ गरी दावी बमोजिम बिगो भरी पाउनेगरेको र अञ्चल अदालतले अ.बं.९९ नं.ले अन्याय भएजति कुरामा एकै एटक नालेश गर्नुपर्नेमा पहिले रु.१३००। भराई पाउँ भनी गरेको नालेश शुरूले खारेज गरेउपर अपिल गर्न नसकेकोले मोटरको मोल रु.४०००। दावी गरी नालेश गरेको यो नालेश खारेज हुने ठर्हछ भनी खारेज गरेकोमा सर्वोच्च अदालतबाट पहिले रु.१३००। भराई पाउँ भनी नालिस दिन जाँदा मोटरको बारेमा पछि नालेस दिने व्यहोराको वादी दिन अ.बं.९९ नं.ले पाइंदैन र नालेस लाग्दैन भनी पहिलेनै अदालतले फिर्ता गरिदिएको भए दुवै कुरामा उसै बखत एउटै नालिस दिने अवस्था पथ्र्यो आखिर अदालतले भूल स्वीकार गरी खारेज गरेकोले रु.१३००। को दावीतर्फ अघि खारेज भई सकेकोले पुनः नालेस नलाग्ने भन्न मिल्दैन । यो साहु आसामीको व्यवहार नभई मोटरको मोल र मरमत गर्न खर्च दिएको विषय हुँदा साहु आसामीको महलको हदम्याद पनि नलाग्ने भनी निर्णय गरेको देखिंदा यस केशमा सर्वप्रथम अ.बं.९९ नं.को व्याख्या के हो र अदालतले निर्देश गरेबमोजिम नालेश गर्न सोबमोजिम गरेको नालेसलाई हदम्यादको सुविधा हुन सक्छ सक्दैन नालेस गर्ने हदम्याद कुन कायम गर्ने हो भन्ने कुराकै निर्णय दिनु पर्ने मूल प्रश्न उपस्थित हुन आएको छ । अदालतले जुन नालेस लिएमा हाकिमलाई जरीवाना गरी दुवै कुरामा एउटै नालेस गर्नु भनी निर्देश गरेको छ, त्यसरी जरीवाना गरी सच्याउने र सच्याउँदा कानूनी मान्यता हुन सक्ने कुनै कानूनको उल्लेख गरेको नदेखिंदा त्यसरी गरेको निर्णयले कानूनको वास्तविक व्याख्यामा फरक पर्ने अवस्था देखिन आउँदैन । तसर्थ त्यसरी गरेको निर्देश र सोबमोजिम गरेको नालेस कानूनी देखिंदैन । अब अदालती बन्दोबस्तको ९९ नं.को व्याख्यातर्फ हेर्दा सो ऐन अन्य अ.बं.को ९८,६३,११३ नं.बमोजिम रीत वेरीत छुट्याउने समेतका कार्यबिधि अपनाउनु पर्ने जातको होइन । किनभने सो ऐनमा अन्याय भएको कलम जतिमा एकै पटक नालेस दिनु पर्छ र सो वादीमा छुटेको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत पाउँदैन भन्ने लेखिएको छ । त्यस वाक्यांशहरूले पहिले अन्य कानूनबमोजिम रीत वेरीत हेरी रीत पुगेको देखिएपछि नालेस दर्ता गरी पछि वादी प्रतिवादीको रूप कागज प्रमाण समेतबाट अन्याय भएका कुरा केके हो र अन्याय भए जति कुरामा एकै पटक नालेस दिएको रहेछ रहेनछ भनी हेरी निर्णय दिनुपर्ने देखिन्छ । पहिले नालेस ल्याउँदैमा यति कुरा मिलेन यस किसिमको दावी गरी ल्याउनु भनी अन्याय भएको कुरा छुट्याई फिर्ता गर्ने लिने सो ऐनको वास्तविकता होइन भन्ने प्रष्ट छ । अन्यायको विषयतर्फ हेरेमा मोटर मरमत गर्ने खर्च रु.१३००। र मोटर जिम्मा लिएको मोटर बनाई नदिएको भनी वादी आफै लेख्दैछ र मोटर मरमत खर्च नै दिलाई भराई पाउँ भनी माग गरेपछि मोटर बनाउने प्रश्नै आउँदैन । जब मोटर बनाउने प्रश्न आउँदैन भने मोटर दावा गर्नु अनिवार्य थियो । सो नगरी मोटर मरमत खर्चमात्र दाव गरेकोले परस्पर मोटर मरमत गर्ने मोटर खर्च लिने दिने कुरामा परेको मनमुटाव समेत इत्यादि कारणले रु.१३००। तर्फको रूप विचार गरी मोटरतर्फको बिगोमा पछि दावा पुग्ने नपुग्ने के हुन आउँछ भनी बाटो हेरी नालेस दिने नियत गरी नालेस गरेको प्रष्ट हुन आएकोमा पनि नालेस भई मोटरतर्फ छुट्टै नालेस दिनेछु भनी लेखेकै देखियो । अ.बं.९९ नं.ले त्यस्तो अरू कुरामा पछि नालेस दिउँला भन्ने नालेस दायर रहन नसक्ने र त्यस्तो किसिमको मुद्दा पनि गर्न पाउने हक अधिकार नभएको कुरामा भूल स्वीकार गरी हाकीमलाई जरिवाना गरी अर्को नालेस गर्नु भनी सुनाउन र सो सुनाएको कानूनी भन्न मिल्दैन । अब उजुर गर्ने हदम्यादमा सर्वोच्च अदालतको फैसलामा साहु आसामीको महलका हदम्याद लाग्ने भन्न भएन भन्ने उल्लेख गरेतर्फ मोटर मर्मत गर्न दिनु मोटर मर्मत खर्च दिनु, यो सबै कर्जा लेनदेन गरेको साहु आसामीको व्यवहार नभएपनि व्यापारसम्बन्धी लेनदेन कारोवार भन्न पर्ने र त्यस्तोमा साहु आसामीको महल प्रयोग हुने र सो ऐनको ३८ नम्वरको परिभाषा अवस्था दुरूस्त मिल्न आउने सो ऐन अनुरूप दुई वर्षभित्र यो नालेस परेको नदेखिएकोले नालेस खारेज हुनु पर्नेमा इन्साफ गरी वादीका दावीबमोजिम दिलाउने भराउने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन दोहार्‍याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजाबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजाका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२६।१।१९।५ को हुकुम प्रमांगी ।

      ९.    बक्स भई आएका हु.प्र. बमोजिम गर्नानिमित्त नियमको रीतपुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेशगर्नु र त्यसको अन्तिमनिर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभागमार्फत पठाइदिनु भनी फाँटमा बुझाई दिन हुकुम प्रमांगी सहित निवेदनसमेत यसैसाथ छ भन्ने तत्कालीन माननीय श्री प्रधान न्यायाधीशज्यूको ०२६।१।२५।४ को आदेश ।

      १०.    यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२७।१२।३।३ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री राम गोपाल श्रेष्ठले र वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्माले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा मेरो मोटर विपक्षीलाई बनाउन दिएको सो मोटर बनाउनालाई भनी मसँग रु.१३००। लिई मोटर बनाई नदिइ मोटर र थैलीसमेत फिस ल्याइने नियत गरेकोले मोटरको हकमा छुट्टै नालेस दिई ऐन बमोजिम गरी माग्नेछु । रु.१३००। को हकमा निजबाट दिलाई भराई पाउँ भनी वादीले पहिले नालेस गरेको मुद्दामा तत्काल प्रचलित अ.बं.९९ नं.बमोजिम मोटर र सो मोटर बनाउन भनी लगेको भनेको रूपैयासमेत नदिई अन्याय परे जति कुरामा एकै पटक नालेस गर्नु पर्नेमा अर्को नालेस दिने गरी यो फिराद दर्ता भएको देखिनाले खारेज हुने भनी का.दे.इ.अ.बाट ०१८।८।२१।४ मा खारेजी फैसला भएपछि मोटर र सो मोटर बनाउन भनी लगेको रूपैया समेतमा दावी लिई पुनः यो नालेस दर्ता गरेको रहेछ । सर्वप्रथम यो नालिस दर्ता हुने नहुने के हो भन्ने सम्बन्धमा उठेका तर्कहरूको समाधानका लागि खास गरी निम्न प्रश्नहरूउपर विचार गर्नुपर्ने भएकोछ :

(१)    पहिले परेको मुद्दा तत्काल प्रचलित अ.बं.९९ नं.लगाई खारेज गरेकोमा पछि अर्को नालेस लाग्छ लाग्दैन ?

(२)   मोटर र मोटर बनाउन भनी लगेको रूपैयासमेत भराई पाउँ भन्ने दावीमा तत्काल प्रचलित साहु आसामीको ३८ नं.को हदम्याद लाग्ने हो होइन ?

      ११.    पहिलो प्रश्नको हकमा तत्काल प्रचलित अ.बं.९९ नं.मा फिरादपत्र दिंदा उही मानिसका नाममा एउटै नालेस दिए हुने अर्थात साँवा र व्याज जग्गा र बालीसमेतमा नालेस दिनु परेको अन्याय भए जतिको कलममा एकै पटक नालेस दिनुपर्ने प्रष्ट व्यवस्था भएको र वादीले पहिले नालेस गरेको मुद्दामा मोटर र सो मोटर बनाउन भनी लगेको रूपैंया समेतमा एकै चोटी नालेस गर्नुपर्ने भनी का.दे.इ.अ.बाट ०१८।८।२१।४ मा खारेजी फैसला गरेकोमा वादीले पुनरावेदन नगरी चित्त बुझाई पुनः यो नालेस दर्ता गरेको देखिएकोले त्यसतर्फ अरू विवेचना गरी रहनुपरेन । त्यसरी खारेज भएकोमा अर्को नालेस लाग्छ लाग्दैन भन्नेतर्फ वादीले पहिले नालेस गर्दा मोटरको हकमा छुट्टै नालेस दिई ऐनबमोजिम गरी माग्नेछु रु.१३००। को हकमा निजबाट दिलाई भराई पाउँ भन्ने दावी लिएको र उक्त अ.बं.९९ नं.मा त्यस किसिमको वादी दिन नपाउने भनी खारेज गरेबाट अन्याय भएको कलम जतिमा एकैपटक दावी नलिएको उक्त नालेस अदालतले दर्ता नगरी उक्त अ.बं.९९ नं.ले माग्न नसक्ने व्यहोरा जनाई मौकैमा दरपीठ गरी फिर्ता दिएको भए पक्षले दुवै कुरामा एकैपटक दावी लिई तत्काल अर्को नालेस दिन पाउने थियो । तर, अदालतको गल्तीले सो अनुसार दरपिठ गरी फिर्ता नदिई सो नालेस दर्ता गरिदिएको र पछि खारेज गर्दा ऐनले दर्ता हुन नसक्ने नालेस अदालतकै भूल गल्तीले दर्ता भएको भन्ने कुरालाई स्वीकार गरी नालेस दर्ता गर्दा राखेको कोर्टफी वादीलाई नै फिर्ता दिने ऐनले दर्ता नहुने नालेस दर्ता गरेमा हाकिमलाई रु.।२५ जरीवाना गर्ने समेत गरी दरपीठ किसिमकै खारेजी भए गरेको समेत देखियो । पछि अर्को नालेस गर्न नपाउने किसिमले दावीनै खारेज भए गरेको नदेखिएकोले मोटर र मोटर बनाउन भनी लगेको रूपैयाँ समेतमा एकै पटक दावी लिएको वादीको यो नालेस उक्त अ.बं.९९ नं.ले लाग्न नसक्ने भन्न मिल्ने देखिदैन ।

      १२.   दोश्रो प्रश्नको हकमा प्रतिवादीले बनाउन भनी लिएको वादीको मोटर बनाई बिक्री गरी दिने वा त्यसबाट कुनै किसिमको मुनाफा उठाई दुवैले बाँडी खाने शर्तमा मोटर बनाउन लिए दिएको भन्ने कुरा भए व्यापारसम्बन्धी लेनदेन कारोवार गरेको भनी तत्काल प्रचलित साहु आसामीको ३८ नं.बमोजिम २ वर्षको हदम्याद लगाउन मिल्ने थियो । यसमा त्यस्तो नभई वादीको मोटर बनाई वादीलाई नै फिर्ता दिने गरी बनाउनेसम्म शर्तमा मोटर र सो मोटर बनाउन रूपैंयासमेत लिए दिएको भन्ने भएको यस्तो कुरालाई व्यापारसम्बन्धी लेनदेन कारोवार गरेको भन्न नमिल्ने हुँदा उक्त साहुआसामीको ३८ नं.को हदम्याद लाग्ने प्रश्नै आउँदैन ।

      १३.   अतः उपरोक्त प्रश्नहरूको माथि नै समाधान भइसकेको र वादीको मोटर र सो मोटर बनाउँदा भनी रु.१३००। लिई ०१४।९।१३।६ मा भरापाई लिखत गरी दिएकोलाई प्रतिवादीले स्वीकार गरी राखेको समेत हुँदा यस्तो लिखत भैराखेको कुरामा वादीले लिखतैबमोजिम गराई पाउँ भनी नालेस गरेको देखिन्छ । इन्साफको हकमा वादीको मोटर वादीले फिर्ता लगिसकेको भन्ने प्रतिवादीको जिकिर भए पनि मोटर र सो मोटर बनाउन भनी लिएको रु.१३००। को ०१४।९।१३।६ को भरापाई रु.१३००। को माल किनी सकेको छु । दिन २० मा सो मोटर तयार गरी दिनेछु, तयार गरिन भने हर्जाना दिनेछु भनी साल नपरेको मिति जेष्ठ १३ गते रोज २ को भाकापत्र समेत आफ्नो लिखत भइराखेको कुरामा सो मोटर बनाई फिर्ता दिइसकेको भए अघिको लिखत फट्टा वा अर्को भरपाई गराई लिएको हुनपर्ने त्यस्तो कुनै लिखत सबुद प्रतिवादीले प्रमाण दिन नसकेकाले सो अभावमा प्रतिवादीको मौखिक जिकिर कायम मान्न नमिल्ने समेत हुँदा वादी दावीबमोजिम रु.५३००। वादीलाई प्रतिवादीबाट भराई दिन गरेको शुरू का.जि.अ.को सदर गरी ०२५।३।२५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिव ठहर्छ । कोर्टफी राखेको हुँदा मुद्दा दोहोर्‍याएमा प्रतिवादीलाई अरू सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।

 

प्र.न्या.श्री रत्नबहादुर र

न्या.श्री झपट सिं

 

 

इति सम्वत् २०२७ साल चैत्र १० गते रोज ३ शुभम् ।