June 7, 1970
Created by nepalarchives

निर्णय नं. ६१७ – लेनदेन ठेक्का बाली

निर्णय नं ६१७       ने.का.प. २०२८ फुल बेञ्च न्यायाधीश श्री झपट सिंह रावल न्यायाधीश श्री विश्वनाथ उपाध्याय न्यायाधीश श्री त्रैलौक्यराज अर्याल सम्वत २०२६ सालको देवानी...

निर्णय नं ६१७       ने.का.प. २०२८

फुल बेञ्च

न्यायाधीश श्री झपट सिंह रावल

न्यायाधीश श्री विश्वनाथ उपाध्याय

न्यायाधीश श्री त्रैलौक्यराज अर्याल

सम्वत २०२६ सालको देवानी फु.नम्बर ७०

आदेश भएको मिति : २०२७।२।२५।३

निवेदक      : बिराटनगर गहेली बस्ने चन्द्रप्रसाद नेपाल

विरूद्ध

विपक्षी : जि.मारगं प्र.हर्षपुर मौजे केरून बस्ने जि.खड्गनारायण राजवंसी समेत

मुद्दा : लेनदेन ठेक्का बाली

(१)   सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३५: अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनपर्ने कुरा डिभिजन बेञ्चमै पेश हुनुपर्ने ।

            भा.रू २१०० को कलममा कोशी अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनु पर्ने हुन आएको र यस्तो अञ्चल अदालतको इन्साफ जाँची निर्णय दिने कुरा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३५ अनुसार डिभिजन बेञ्चमै पेश हुनुपर्ने हुनाले फूलबेञ्चको दर्ता लगत काटी डिभिजन बेञ्चको लगतमा दर्ता गरी बक्स भएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त रूल नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्न सम्बन्धित फाँटमा बुझाइदिनु ।

(प्रकरण नं. १)

निवेदक तर्फबाट :  

विपक्षी तर्फबाट      :   

उल्लेखित मुद्दा :    

आदेश

     न्या.श्री झपट सिं रावल समेत

      १.     यसमा वादी दावीमध्ये प्रतिवादी खडग नारायणले ०१२।३।११।७ मा कपाली तमसुक लेखी कर्जा लिएको भा.रु.२१०० को कलम निवेदनमा नपरेकोले ठाडै बुझी कारवाई गर्न नमिल्ने हुनाले सो भा.रू २१०० को हकमा कोशी अञ्चल अदालतबाट तहकिकात गरेको बदर हुन्छ भनी २०२६।१।२६।५ को डिभिजन बेञ्चबाट फैसला भएकोमा म्याद थामी नालेस लिई दिनु भन्ने प्रमांगी बकस गरिपाउँ भनी वादी चन्द्रप्रसादले चढाएको बिन्तिपत्र श्री ५ महाराजाधिराजको हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो हो र अदालतमा गरेको बयानमा लेखिएकोबाट कारवाई चलाई अञ्चल अदालतले फैसला गरिसकेको रहेछ भने अघि बिन्तिपत्रमा नलेखिएको भए पनि दुबै पक्षलाई झिकाई सोही मिसिलबाट सर्वोच्च अदालतले इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने हुकुमको प्रमांगी बक्स भई आएको रहेछ । डिभिजन बेञ्चले छिनेउपर फुल बेञ्चबाट दोहर्‍याई हेरी निर्णय गरी दिनु भन्ने हुकुम प्रमांगी बकस भएको नभईउपरोक्त उल्लेख भएबमोजिम डिभिजन बेञ्चले उक्त भा.रु.२१०० को कलम निवेदनमा नपरेकाले ठाडै बुझी कारवाई गर्न नमिल्ने भनी अञ्चल अदालतले तहकिकात गरेको बदर गर्ने गरेकोमा अघि बिन्तिपत्रमा नलेखिएको भएकोले दुबै पक्षलाई झिकाई यसै मिसिलबाट सर्वोच्च अदालतले इन्साफ जाँची कानूनबमोजिम गर्नु भन्ने हुकुम प्रमांगी बकस भएको समेतबाट उक्त भा.रू २१०० को कलममा कोशी अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनुपर्ने हुन आएको र यस्तो अञ्चल अदालतको इन्साफ जाँची निर्णय दिने कुरा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३५ अनुसार डिभिजन बेञ्चमै पेश हुनुपर्ने हुनाले फुलबेञ्चको दर्ता लगत काटी डिभिजन बेञ्चको लागतमा दर्ता गरी बकस भएका हुकुम प्रमांगीबमोजिम गर्नानिमित्त रूल नियमबमोजिम डिभिजन बेञ्चमा पेश गर्न सम्बन्धित फाँटमा बुझाई दिनु ।

 

 

इति सम्वत् २०२८ साल जेष्ठ २५ गते रोज ३ शुभम् ।