निर्णय नं. ६१३५ – कुटपिट
निर्णय नं.६१३५ २०५३, ने.का.प. संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको फौ.पु.नं. …..८६५ फैसला मितिः–...
निर्णय नं.६१३५ २०५३, ने.का.प.
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०५१ सालको फौ.पु.नं. …..८६५
फैसला मितिः– २०५२।११।१४।२
मुद्दा: कुटपिट ।
पुनरावेदक/वादीः– जिल्ला कपिलवस्तु, तौलिहवा हाल कपिलवस्तु नगरपालिका वडा नं. ५ लुम्बिनी रोड बस्ने विजयकुमार गुप्त ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः– जिल्ला कपिलवस्तु, तौलिहवा हाल कपिलवस्तु नगरपालिका वडा नं. ३ लुम्बिनी रोड बस्ने छेदी भन्ने जुवेर हल्वाई मु.।
ऐ.ऐ. बस्ने आलम हल्वाई मु. ।
ऐ.ऐ. बस्ने मुन्नु भन्ने आजम हल्वाई मु. ।
घा जांच केश फारामले घा चोट पटक के कति कस्तो प्रकारको लागेको छ भन्ने सम्म देखाउने हुन्छ । सो केश फारामबाट प्रतिवादीहरुले नै कुटपिट गरेको भन्ने पुष्टयाई हुन सक्ने अवस्था नहुने ।
(प्र.नं.१३)
केवल फिराद लेखको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराउन न्यायोचित नहुने । (प्र.नं.१४)
पुनरावेदक वादी तर्फबाटः– ×
प्रत्यर्थी प्रतिवादी तर्फबाटः– ×
अवलम्वीत नजीरः– ×
फैसला
न्या. उदयराज उपाध्यायः– पुनरावेदन अदालत बुटवलको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दपा ९(१)(ग) बमोजिम यस अदालतको अधिकार क्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः–
२. २०४७ साल आषाढ ७ गते वृहस्पति वारको दिन ७.३० बजेको समयमा भन्द्र हलुवाईको दाई विपक्षी प्रतिवादी छेदी हलवाई मु.र. आलम हलुवाई मु.ले मेरो घरको अगाडि आई मसंग गैरकानूनी अपमानित तरिकाले कुटपिट गरेकोले मिति २०४७।३।८ गतेमा घा चोट जांच गरी पाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तौलिहवामा दरखास्त दिई प्रहरीद्वारा पृथ्वी विर अस्पताल तौलिहवामा घाउ जाँच भएकोले विपक्षी प्रतिवादीहरुलाई कुटपिटको ६, ७, ८, ११, १९ नं. समेत बमोजिम सजाय गरी घा खर्च समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. वादीको फिराद दाबी अनुसार कुटपिट समेतको कुने वारदात कसुर भए गरेको हैन वादीको सम्पुर्ण फिराद लेख दावी झुठा हो हाम्रो सुर्तिको पसल रहेको विपक्षी वादीले २०४७ साल वैशाख महिनामा म छेदी भन्ने महमद कुवेरसंग रु.५००।– उधारो लगेको सो रुपैया २०४४ साल जेष्ठ महिनामा विपक्षी संग माग्दा विवाद गरी रिषईवी लिई सोही कारणले विभिन्न झुठा गैर कानूनी मुद्दा दिएका हुन् । मिति २०४७।३।८ गते अन्दाजी ७ बजेको समयमा विपक्षी विजय कुमार दिसा गर्न गएको बखत बर्षातको समय हुँदा चिप्ली लडेको सोही चोटलाई देखाई जाल प्रपंचयुक्त कुराहरु उल्लेख गरी झुठा मुद्दा दिएका हुन्, फिराद दाबीबाट फुर्सद गरी पाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. आदेशानुसार वादीको साक्षीको नाउँमा समाव्हान् जारी गरी पठाउँदा वादीले आफ्नो साक्षी उपस्थित गराउन नसकेको ।
५. २०४७।३।८ गते बिहान ७ बजेको समयमा वादी दिसा गर्न जाँदा हिलोमा चिप्ली चोट पटक निजलाई लागेको मैले दखेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी हरि राम गुप्ता समेतको बकपत्र ।
६. २०४७।३।८ गतेमा भएको घाउ जांच केश फाराम मिसिल सामेल भएको ।
७. घाउँ जांच केश फाराम हेर्दा वादीका शरीरमा घा चोट लागेको देखिन आएकोले कुटपिट गरेको होईन भन्ने प्रतिउत्तर जिकिर सत्य सांचो देखिन नआएको र प्रमाण समेत पेश दाखिल गर्न नसकेको हुँदा वादीलाई घा जाँच केश फाराममा लेखिए बमोजिम घाउ चोट पारी प्रतिवादीहरुले कुटपिट गरेको ठहर्छ भन्ने शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला ।
८. प्रत्यर्थी प्रतिवादीले जुन किसिमको कुटपिट गरेका हुन् सो कानून बमोजिम सजाय गर्नु पर्ने कानूनी बाध्यात्मक व्यवस्था भएकोमा सो अनुसार सजाय नगरी केवल हुल भै कुटपिट गरेकाले हुल तर्फ मात्र जनही रु.११०।– का दरले जम्मा ३३०।– मात्र जरिवाना गर्ने गरी कम सजाय हुने गरी भएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला कानूनी त्रुटिपूर्ण भएकोलेशुरु इन्साफ बदर गरी फिराद दाबी बमोजिम प्रत्यर्थी प्रतिवादीहरुलाई सजाय गरी पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक वादी विजय कुमार गुप्तको तत्कालिन लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।
९. हामीहरुले विपक्षी वादीलाई कुटपिट गरेकोभ न्ने कुरा झुठा हो । विपक्षी वादीको कुनै पनि साक्षी उपस्थित भै बकपत्र गराउन नसकी प्रमाण ऐन, २०३१ को दफा २५ ले दाबी प्रमाणित गराउने भार वादीको रहेकोमा उक्त दाबी प्रमाणित गराउन सकेको देखिदैन । विपक्षी दिसा गर्न गएको बखत चिप्लि लडेर घाउ चोट भएको कुरा हामीहरुले प्रतिवाद गरेको र सो कुरालाई हाम्रो साक्षीको बकपत्र समेतबाट समर्थन भएकोले यस्तोमा घा जांच फाराममा चोट लेखिएको भन्ने आधार लिई कुटपिट गरेको ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादी जिकिर अनुसार झुठा एवं गैर कानूनी दाबीबाट फुर्सद गरी पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी मोहम्मद जुवेर हलवाई मुसलमान समेतको तत्कालिन लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।
१०. वादीले आफ्नो साक्षी पुरैलाई अदालतमा ल्याई बकाई आफ्नो दावी पुष्टि गराउन नसकेको अवस्था भएकोले शुरु कपिलवस्तु जिल्ला अदालतको प्रतिवादीहरुले कुटपिट गरेको ठहर्याई गरेको इन्साफ नमिलेकोले बदर भई सो इन्साफ उल्टी हुन्छ । प्रतिवादीहरुले कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत बुटवलको २०५०।७।२५ को फैसला ।
११. कपिलवस्तु जिल्ला अदालतको फैसला तथा पुनरावेदन अदालत बुटवलको फैसला कानून तथा नजीरको विपरीत रहेकोले दुवै फैसला बेमुनासिव हुँदा बदर गरी उल्टाई वादी दाबीमा लेखिए बमोजिम सजाय गरी पाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन ।
१२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विचार गर्दा पुनरावेदन अदालत बुटवलको फैसला मिलेको छ, छैन भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१३. यसमा छेदी हल्वाई मुसलमानले मेरो घर अगाडि आई गरेको कुटपिटबाट शरीरको विभिन्न भागमा चोटपटक लागेकोले निजलाई कुटपिटको ६, ७, ८, ११, १८ नं. बमोजिम र छेदी मुसलमानले हातले हान्दा भाइ आलम हल्वाई मुसलमान र मुन्नु हलवाई मुसलमानले समेत हात हाली मद्दत गरेकाले निजहरुलाई दण्ड सजायको १ नं. र कुटपिटको १८ नं. समेत बमोजिम सजाय गरी पाउँ भन्ने वादी विजय कुमार गुप्तको फिराद दावी भएकोमा वादी दाबा झुठा हो, विपक्षी विजय कुमार वरसातको समय हुँदा चिप्लि लडेको चोट देखाई झुठा मुद्दा दिएकोले फिराद दाबीबाट फुर्सद गरी पाउँ भन्ने प्रतिवादीहरुले जिकर लिएको देखिन्छ । वादीले आफ्नो दाबी सबुद प्रमाणबाट प्रमाणित गराउन सक्नु पर्नेमा साक्षी समेत उपस्थित गराउन सकेको पाईदैन । प्रतिवादीहरुको प्रतिउत्तर जिकिर निजहरुको साक्षीको बकपत्रबाट पुष्टि गरेको देखिन आउँछ । वादी दावीलाई घा जाँच केश फारामले पुष्टि गरेको भन्ने पुनरावेदनमा जिकिर लिए तर्फ विचार गर्दा घा जाँच केश फारामले घा चोट पटक के कति कस्तो प्रकारको लागेको छ भन्ने सम्म देखाउने हुन्छ। सो केश फारामबाट प्रतिवादीहरुले नै कुटपिट गरेको भन्ने पुष्टयाई हुन सक्ने अवस्था हुँदेन । यस स्थितितमा पुनरावेदकको उक्त पुनरावेदन जिकिर स्वीकार योग्य देखिन आएन ।
१४. यस प्रकार केवल फिराद लेखको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई कुटपिट गरेको ठहराउन न्यायोचित नहुने र वादीले आफ्नो दाबीलाई सबुद प्रमाणबाट पुष्टि गर्न नसकेको हुनाले वादीलाई कुटपिट ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिवादीहरुलाई कसूरबाट सफाई दिने गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखियो। तसर्थ प्रतिवादीहरुलाई वादी दाबीबाट सफाई दिने गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ मनासिव ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या. केदारनाथ उपाध्याय
इति सम्बत् २०५२ साल फागुन १४ गते रोज २ शुभम् ……………………………………..।