March 5, 1996
Created by nepalarchives

निर्णय नं. ६११९ – निषेधाज्ञा

निर्णय नं. ६११९     ने.का.प. २०५२                        अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको दे.पु.नं. २०९०...

निर्णय नं. ६११९     ने.का.प. २०५२                        अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्वत् २०५१ सालको दे.पु.नं. २०९०

फैसला मिति  : २०५२।११।२२।३

मुद्दा : निषेधाज्ञा ।

पुनरावेदक/निवेदक : रामेछाप जिल्ला सालु गा.वि.स. घर भै हाल का.जि.का.न.पा. वडा नं. १० बानेश्वर बस्ने गणेशबहादुर श्रेष्ठ

विरुद्ध

विपक्षी : का.जि.का.न.पा. वडा नं. १० बानेश्वर बस्ने केशवप्रसाद श्रेष्ठ

ऐ ऐ बस्ने बद्री विक्रम थापा

ऐ ऐ बस्ने ध्रुव गुरुङ

ऐ ऐ बस्ने बि४ प्रसाद रार्इ

§  निषेधाज्ञा मुद्दाबाट हक स्थापना नहुनेले स्थापित हकमा पर्न सक्ने अवरोध सम्म निषेध गर्न सक्ने ।

(प्रकरण नं. ८)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद ढुङ्गाना

विपक्षी तर्फबाट : x

अवलम्बित नजीर : x

फैसला

     न्या.लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५१।२।४।४ को फैसला उपर न्याय प्रशासन ऐन, ०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :

      २.    मैले ०५०।१।१७ मा बानेश्वर बस्ने कान्छी भगवनबाट राजीनामा पारीत गरी लिएको साविक महादेव स्थान बानेश्वर कि.नं. ७७, ६७९, ७७८ को हालको नापीमा का.जि.का. न.पा. वडा नं. १० सिट नं. ११४६०८ कि.नं. २२६ को क्षे.फ. ३२ कायम भएको मेरो एकलौटी हकभोगको स्वआर्जनको जम्मा कठ्ठा ऐ कि.नं. ७१ को ६११३ कि.नं. ५३ को क्षे.फ. ३० को जग्गाको विषयमा काठमाडौं जिल्ला अदालतमा अंश जालसाजी र निर्णय बदर हक कायम मुद्दा परी उक्त तीनै कित्ता जग्गा का.जि.अ. को मिति ०४९।७।७ को आदेशले रोक्का रहेको अवस्थामा उल्लेखित मेरो कि.नं. २२६ को जग्गामा विपक्षीहरुको मिलेमतोबाट ईटा बालुवा थुपारी धान वाली समेत मासी मोटर बाटो निकाल्न लागेकोले विपक्षीहरुको उक्त कार्यबाट मेरो नागरिक अधिकार ऐन, २०१२ ले प्रत्याभूत गरेको अधिकारमा आघात पार्ने आशंका भएकोले अदालतको आदेशले रोक्का समेत रहेको जग्गामा बाटो खोल्ने समेतको काय नगर्नु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश सहित निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने व्यहोराको निवेदन ।

      ३.    निवेदन दावीको जग्गामा साविक देखिको बाटो थियो । सो कारणबाट समेत मनबाबा थापा, छत्रा राई, सरिता गुरुङ समेतले छुट्टा छुट्टै नक्सा पास गरी बाटो कायम गरी घर बनाई बसोवास गरी आएका छन् । बाटो भएकै कारणले नक्सा पास भएको हो । तसर्थ साविक बाटोलाई हडप्ने नियतले दिएको हुँदा निवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको केशवप्रसाद श्रेष्ठको लिखितजवाफ ।

      ४.    साविक का.जि. महादेव स्थान बानेश्वर गा.पं. वार्ड नं. ७ कि.नं. ७६७ हाल श्रीमती छत्रा राईको नाम दर्ताको कि.नं. ३०० को क्षे.फ.०३ र साविक कि.नं. ७६६ हाल कायम भएको कि.नं. २९९ को क्षे.फ. ०२ जग्गा श्रीमती मनबाबा थापाको नाममा दर्ता भै उक्त दुवै कित्ता जग्गामा विभिन्न मितिको का.न.पा. ले गरी दिएको नक्सा पास बमोजिम घर बनाई बसोवास गरी आएका छन् । सो जग्गा हाम्रो नाममा दर्ता कायम नभएकोले हामीलाई विपक्षी बनाउन मिल्दैन । त्यसमा पनि सो जग्गामा जाने साविक देखिको अं. ९, १० फिटको बाटो भएकोले सोही आधारबाट नक्सा पास भएको हो । दावी बमोजिम बाटो खोल्नु पर्ने अवस्था नभएको खोल्न समेत लागेको नहुँदा निवेदन खारेज गरी पाउँ भन्ने समेत लागेको नहुँदा निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी वुद्धिप्रसाद राई तथा बद्री विक्रम थापा जना दुईको संयुक्त लिखितजवाफ ।

      ५.    विपक्षीले दावी लिएको जग्गामा साविक देखिको बाटो छ । अघिदेखि नली आएको बाटो निकास रोक्न नहुँन घर बनाउनेको ३ नं. मा व्यवस्था गरेको छ । त्यसमा पनि निवेदकसँग मेरो कुनै सरोकार नै नभएकोले मेरो विरुद्ध उजुर गर्ने हक विपक्षीलाई नभएकोले निवेदन खारेज गरिपाउँ भन्ने समेतको विपक्षी धु्रव गुरुङको लिखितजवाफ ।

      ६.    निवेदकले उल्लेख गरेको जग्गाको बाटो प्रयोग गर्ने नक्सा पास गरी घर बनाउने मनबाबा थापा र छत्रा राईलाई निवेदकले विपक्षी बनाउन सकेको देखिदैन । नगरपालिकाबाट घर बनाउन नक्सा पास गरी बाटो देखाएकोलाई निवेदकले अन्यथा प्रमाणित गर्न सकेको पनि पाइँदैन । प्रत्यर्थीहरुले प्रस्तुत गरेको फोटोहरुबाट पनि बाटो विद्यमान दखिन आएकोले निवेदकको माग बमोजिम आशंकाको अवस्था विद्यमान नदेखिँदा निषेधाज्ञाको आदेश जारी गर्न मिलेन । निवेदकको निवेदन खारेज हुने ठहर्छ भन्ने समेत पु.वे.अ. पाटनको फैसला ।

      ७.    गैर जिम्मेवारीपूर्ण तरीकामा विपक्षीहरुले पेश गरेको फोटोलाई आधार मानी बाटो नभएको जग्गामा बाटो खोल्न अदालतले मान्यता दिन मिल्दैन । तसर्थ मेरो निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको २०५१।२।४ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो शुरु निवेदन माग दावी बमोजिम निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने समेत निवेदकले यस अदालतमा दिएको पुनरावेदनपत्र ।

      ८.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद ढुङ्गानाले निवेदन दावीको जग्गामा साविक देखिको बाटो पनि थिएन, सम्पत्ति दर्ता हुनेले बाटो दिन्छु भनेको पनि छैन यस्तो अवस्थामा अदालतको आदेशले रोक्का समेत रहेको जग्गामा विपक्षीहरुले जबरजस्ती बाटो खोल्न लागेको कार्य उपर निषेधाज्ञा जारी गर्नु पर्नेमा खारेज गरेको पु.वे.अ. पाटनका फैसला त्रुटिपूर्ण छ, बदर गरी शुरु माग दावी बमोजिम निषेधाज्ञाको आदेश जारी होस भनी आफ्नो बहस प्रस्तुत गर्नु भयो । यसमा निषेधाज्ञाको निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५१।२।४ को फैसला मिले नमिलेको के रहेछ भन्ने विषयमा निर्णय दिनु पर्ने देखियो । निर्णयतर्फ विचार गर्दा यसमा विवादित जग्गामा साविक देखि बाटो भए नभएको भन्ने कुरामा दुवै पक्ष बीच विवादित रहेको देखिन्छ । निषेधाज्ञा मुद्दाबाट हक स्थापना नहुनेले स्थापित हकमा पर्न सक्ने अवरोध सम्म निषेध गर्न सक्ने हुन्छ । प्रस्तुत मुद्दामा बाटोको लागि निवेदकको छोराबाट लिखत गराई सो समेतको आधारमा नक्सा पास समेत गराउने मनबाबा थापा र छत्र राई उपर यी निवेदकले उजुर गर्न सकेको समेत देखिएन । सो उपर कानुन बमोजिम उजुरी परेमा पछि ठहर हुने नै हुँदा प्रस्तुत निषेधाज्ञाको निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.अरविन्दनाथ आचार्य

 

इति सम्वत् २०५२ साल फाल्गुण २२ गते रोज ३ शुभम् ।