निर्णय नं. ६०९५ – अंश नामसारी
निर्णय नं. ६०९५ ने.का.प. २०५२ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०४९ सालको दे.पु.नं. ५५९...
निर्णय नं. ६०९५ ने.का.प. २०५२ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत् २०४९ सालको दे.पु.नं. ५५९
फैसला मिति : २०५२।४।१६।३
मुद्दा : अंश नामसारी ।
पुनरावेदक/प्रतिवादी : जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ३ खजहना बस्ने जानकीशरण तिवारी
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. मर्चवार वनगाई गा.वि.स. वडा नं. ५ बस्ने भुगुनाथ तिवारी
§ सगोलमा रहेका अंशियारले आर्जन गरेको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने।
(प्रकरण नं. १२)
पुनरावेदक तर्फबाट : x
विपक्षी तर्फबाट : x
अवलम्बित नजीर : x
फैसला
न्या.उदयराज उपाध्याय : पुनरावेदन अदालत बुटवल रुपन्देहीको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. रामगति तिवारीको छोरा म वादी र प्रतिवादी जानकीशरण छौं । हामी सगोलमा बसेका छौं । सगोलको सम्पत्ति भोग गरी आएका छौं, हाम्रो बीच ०४१।१२।२८ गते घरायसी मत भिन्नता भएकोले अंश माग गर्दा नदिएकोले सम्पूर्ण सम्पत्तिको दायदाती लिई २ भाग गरी १ भाग अंश छुट्याई दिलाई नामसारी गरी पाउँ भन्ने फिरादपत्र ।
३. हाम्रो पुर्खौली घरद्वार भारतमा हो म जानकी शरणको वनगाई मर्चवार टोल नेपालमा जन्म भएकोले जन्म सिद्ध नेपाली नागरिकता प्राप्त गरेको छु । बाबु रामगतीको ३ छोरा विश्वनाथ, भृगुनाथ, र म जानकी शरण छौं । जेठा दाजु विश्वनाथ र विपक्षीले भोग चलन गरी आएका छन्। विपक्षीको घरद्वार नेपाल वनगाई पर्चवारमा छैन भारत मै बसेका छन् । मेरो जन्म मंचवारमा भएको र कान्छा बाबुको सन्तान नभएकोले मलाई कान्छा बाबु र कान्छी आमाले पालन गरी आएको हो । उखडा जग्गा अपुतालीबाट २०१३ साल देखि भोग गरी आएको जिमिदार बुलबुल भन्ने रुद्रनाथ सुकुल उपर मेरो फिराद परी उक्त जग्गा मेरो कायम गरी सर्वोच्च अदालतबाट २०२२ सालमा फैसला भई मेरो निजी आर्जनको जग्गा बाहेक अरु कुनै पैतृक सम्पत्ति हैन मैले २०३४ साल देखि वनागाई मर्चवार गाउँ छाडी हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ३ खजहनामा बसी आएको छु । फिराद झुठा हो मबाट अंश पाउने होइनन् भन्ने प्रतिउत्तरपत्र ।
४. मुल पुरुष राम गतिका ३ छोरा जेठा विश्वनाथ, माहिलो वादी भृगुनाथ र कान्छा प्रतिवादी जानकी शरण हुन, विश्वनाथले भारत मै अंश लिई बसेकोले नेपालको सम्पत्तिबाट अंश दिनु पर्ने होइन प्रतिवादीको जिम्माको २ भागको १ भाग अंश पाउँ भन्ने नाता कायम तर्फ वादीको बयान ।
५. वादी प्रतिवादीको साक्षीको बकपत्र भएको र ०२२।३।८ को सर्वोच्च अदालतको फैसला सहितको मिसिल र यिनै वादी प्रतिवादी भएको लिखत दर्ता बदर मुद्दाको दायरी मिसिल संलग्न रहेको रहेछ ।
६. वादीलाई प्रतिवादीले अंशियार भनी स्वीकारै गरेको र अनुसूची नं.१ हेर्दा वादी प्रतिवादी सगोल कै देखिँदा तायदाती फाँटवारीमा उल्लेखित सम्पत्तिबाट २ भाग लगाई १ भाग अंश वादीले प्रतिवादीबाट छुट्याई लिन पाउने र सो सम्पत्ति नामसारी गराउन पाउने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको मिति ०४५।१२।२२ को फैसला ।
७. कान्छा बाबुको अपुतालीबाट पाएको निजी सम्पत्ति हो बण्डा गर्नु पर्नेमा अनुसूची १ मा नाम उल्लेख भएको आधारबाट इन्साफ गरियो सर्वोच्च अदालतबाट मैले जिती पाएको फैसला पेश छ । ३ भाइ अंशियार देखिँदा देखिँदै अ.बं. १३९ नं. बमोजिम दाजु विश्वनाथ त्रिपाठीलाई बुझ्नु पर्नेमा नबुझी फैसला भयो । त्रुटिपूर्ण फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जानकी शरण तिवारीको पुनरावेदन जिकिर ।
८. वादीले बिक्री गरी बाँकी रहेको सम्पत्तिमा सम्म २ भागको १ भाग अर्थात आधा अंश विपक्षी प्रतिवादीले पाउने ठहर गरिएकोमा पुनरावेदन गर्नु परेन । विपक्षी प्रतिवादी जानकी शरणले राधेश्याम शुक्लालाई बिक्री गरेको कि.नं. ३०९, ३१०, को जग्गामा लिखत बदर गरी पाउँ भनी मुद्दा गरेकोमा लिखत बदर मुद्दा खारेज गरी सो बिक्री गरेको सम्पत्तिमा मलाई अंश दिलाई नदिने गरेको शुरु इन्साफ कानुन संगत भएन बिक्री गरेको सम्पत्तिमा समेत कानुन बमोजिम आधा अंश दिलाई पाउँ भन्ने वादी भृगुनाथ तिवारीको पुनरावेदन जिकिर ।
९. यसमा कि.नं. ३०९ र ३१० को जग्गा आधा पुनरावेदक वादी भृगुनाथ तिवारीलाई दिनु पर्नेमा सो नदिएकोले सो हदसम्म शुरु जिल्ला अदाल रुपन्देहीको फैसला नमिलेकोले केही उल्टी हुने र अंश पाउने ठहर गरेको हदसम्म शुरुको इन्साफ मुनासिब ठहर्छ । पुनरावेदक प्रतिवादी जानकी शरण तिवारीको पुनरावेदन जिकिर नपुग्ने भन्ने समेत व्यहोराको मिति २०४८।१०।२८।२ को पुनरावेदन अदालत बुटवल रुपन्देहीको फैसला ।
१०. अंशियार नै नदेखाई दावा गर्न सक्ने व्यक्तिका वारेसले ०४२।४।२० मा बयान गर्दा विश्वनाथले हिस्सा लिई भारततर्फ गई बसेको भन्ने बयान आधार लिई एक अंशियारलाई नै छाडी अंश बण्डा हुने ठहर्याई पु.बे.अ. बुटवलले गरेको फैसला न्यायोचित भएन । नेपालको सम्पत्ति नेपाल कै कानुनले र भारतको सम्पत्ति भारत कै कानुनले बण्डा हुने भनी मिति २०२३ सालको दे.पु.नं. ७३ को निवेदक ईन्द्रप्रताप नारायण सिंह विरुद्ध राजमाता वसन्ती भएको अंश मुद्दामा सर्वोच्च अदालतबाट सिद्धान्त समेत प्रतिपादित भएको छ । त्यसै अनुरुप विश्वनाथले नेपालको कानुन अंश हक पाउनु पर्ने यसरी बुझ्दै बुझी हचुवाको आधारमा अंश जस्तो संवेदनशील मुद्दाको इन्साफ गर्दा ख्याल गरिनु पर्ने यस मुद्दाबाट अ.बं. ८६ नं. ले असर गरी अन्य मुद्दाहरुको श्रृजना समेत हुन जाने प्रष्ट देखिँदा देखिँदै यस्तो इन्साफ गरेको न्याय संगत भएन त्यस कारण अ.बं. १८४, १८५ र १९२ नं. प्रमाण ऐन, ०३१ को दफा ५४ ले समेत फैसला बदर भागी छ बदर गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी आज इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजातहरुको अध्ययन गरी इन्साफ तर्फ विचार गर्दा पुनरावेदन अदालत बुटवल रुपन्देहीको फैसला मिले नमिलेको के हो ? सो को निर्णय दिनु पर्ने हुन आयो ।
१२. यसमा वादीले वारेस मार्फत गरेको बयान र प्रतिवादीको लेखबाट समेत रामगतिका ३ छोरा विश्वनाथ, भृगुनाथ र जानकीशरण देखिए विश्वनाथ तिवारीले आफ्नो अंश हिस्सा लिई भारत जिल्ला थाना तरकलुवा मौजा खैवाहामा बसोवास गरेका छन् भनी वादी प्रतिवादी तर्फबाट ०४२।५।२७ मा कागज गरेको र मिसिल सामेल रहेको भृगुनाथले भरेको अनुसूची १ नं. को मोहीको लगतमा जानकी शरणलाई सगोलको भाइ भन्ने व्यहोरा उल्लेख गरेको समेत देखिन्छ । भारतमा रहे भनेका विश्वनाथलाई अ.बं. १३९ नं. अनुसार बुझ्न नमिली निजको कानुनको परिधिभित्र रही माग दावी भएमा कानुन बमोजिम हुने नै हुँदा त्यसतर्फ अरु विचार गरी रहन परेन, वादी प्रतिवादीको बीच रीतपूर्वक अंश भएको मिसिल प्रमाणबाट देखिन नआएको र सगोलमा रहेका अंशियारले आर्जन गरेको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने हुनाले शुरु रुपन्देही जिल्ला अदालतको केही उल्टी गरी फिराद दावी बमोजिम वादीले दुई भागको १ भाग अंश पाउने ठहर्याएको पु.बे.अ. बुटवलको इन्साफ मुनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन, धरौटी पुनरावेदकलाई फैसलाको जनाउ दिई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.इन्द्रराज पाण्डे
इति सम्वत् २०५२ साल श्रावण १६ गते रोज ३ शुभम् ।