February 8, 1996
Created by nepalarchives

निर्णय नं. ६०४४ – दर्ता बदर हक कायम

निर्णय नं. ६०४४    ने.का.प. २०५२ अङ्क ७   संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०४९ सालको दे.पु.नं. ६२२...

निर्णय नं. ६०४४    ने.का.प. २०५२ अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत् २०४९ सालको दे.पु.नं. ६२२

फैसला मिति   : २०५१।१०।२५।४

मुद्दा : दर्ता बदर हक कायम ।

 

पुनरावेदक: जि.सुर्खेत लाटी कोईली गा.वि.स. वा.नं. ६ बस्ने वर्ष ३७ को कालु थारु ।

विरुद्ध

विपक्षी    : ऐ. बस्ने मानकुमारी सिंह ।

 

    सरजमीन जस्तो मौखिक प्रमाण र त्रिखुर शर्तमा जोती आएको भन्ने आधारमा छुट दर्ता गर्न नमिल्ने ।

(प्रकरण नं. १५)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा

अवलम्बित नजिरःX

फैसला

न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतबाट भएको मिति २०४९।४।१९ को फैसला उपर पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ:

२.   साविक जिल्ला सुर्खेत लाटीकोईली गा.पं. वडा नं. ५ को कि.नं. ५७ को ज.वि. तत्कालिन १३ जग्गा फिरादीकै दर्ता श्रेस्ता भई मेरो भोग चलनमा रहेको ०२२ सालमा भु.सु. फाँटवारी समेत भरेको साविक विलेबन्दीमा म मानकुमारीको नाममा नापिएको उक्त जग्गा ०२९ सालको सर्भे नापी हुँदा कित्ताकाट समेत भई कि.नं. १०७ क्षेत्रफल १४ कायम हुन आएको जग्गा तत्काल मेरा नाममा दर्ता हुन आएको दर्ता गराउने क्रममा ०४२।११।१४ मा मालपोत कार्यालय सुर्खेतमा निवेदन गर्दा उक्त जग्गा अन्यायी कालु थारुको ०४०।१।२७ को निवेदन अनुसार विना मितिमा अन्यायी समेतका अरु ७ जनाले मिलोमतो गरी कालुले मेरो हो भने र अरु सरजमीनका मानिसले रुन्चे थारुको छोरा कालुको भनी बकी लेखाई जालसाजीपूर्ण तरीकाले सरजमीन गरी गराई सोही सरजमीनको आधारमा छुट दर्ता अन्यायी कालु थारुका नाममा दर्ता गरी दिने ०४०।३।१७ को मालपोत कार्यालय सुर्खेतबाट निर्णय भएकोले उक्त निर्णय तथा उक्त निर्णयले कालु थारुको नाममा दर्ता रेको जग्गा दर्ता बदर गरी हक कायम गरी पाउँ भन्ने मानकुमारी सिंहको फिरादपत्र ।

३.   वादी दावीको विवादित कि.नं. १०७ को ज.वि. १४ बाजे हिङलालले १९७० साल देखि आफ्नो आत्मवलले आवाद भोग गर्दै आएका र दर्ता गराउनु पर्छ भन्ने थारु जातीलाई बोध पनि नभएको त्यस्तै बाबु रुन्चेका दिनमा पनि भोगी आएको बाबुको परलोक भएको ०२९ सालको नापीले जग्गावालाको खोजी गर्दा पाका पुराना मानिसले मेरा बाबुको नाम लिई जग्गा रुन्चे थारुको हो, तर वेदर्ता हो भनी दिएकोले फिल्डबुकमा रुन्चे थारुको जग्गा हो भन्ने कुरा मौकामा जनाई लेखेछन । दर्ता भएनछ । छुटेको जग्गा दर्ता हुन्छ भन्ने सुनेकाले ०४० साल बैशाखमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालय सुर्खेतमा निवेदन दिई मालपोत कार्यालयबाट सरजमीन बुझ्ने काममा डोर खटि गई सोधपुछ गर्दा रुन्चे थारुको जोत भोग जग्गा हो भनी दिएकोले डोरले सोही व्यहोराको सरजमीन मुचुल्का गराई ल्याएको र फिल्डबुकमा रुन्चेको हो भन्ने आधारमा म छोरा कालु थारुका नाममा दर्ता गर्ने निर्णय भई दर्ता भएको हो सरजमीन हुँदाकै अवस्था फिरादीले थाहा पाई सकेकोले ज.प.को १७ नं. को म्याद नघाई परेको फिराद खारेज गरी पाउँ भन्ने कालु थारुको प्रतिउत्तरपत्र ।

४.   जग्गाधनी दर्ता श्रेस्ताबाट समेत उक्त कि.नं.. १०७ को जग्गा वादीकै नाउँमा दर्ता थियो भन्ने कुराको सबुद प्रमाण वादी पक्षबाट पेश दाखेल हुन सकेको नदेखिएकोले विना सबुद प्रमाण प्रतिवादीका नाउँमा दर्ता भएको जग्गाको दर्ता बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने ०४३।९।२९ को सुर्खेत जिल्ला अदालतको फैसला ।

५.  वादी दावी बमोजिम दर्ता बदर हुनु पर्नेमा दर्ता बदर नहुने ठहरी भएको सुर्खेत जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी वादी दावी बमोजिम दर्ता बदर गरी हक कायम गरी पाउँ भन्ने मानकुमारीको भे.अं.अ. मा परेको पुनरावेदन ।

६.   फिल्डबुकमा स्वयम प्रतिवादीले नै त्रिखुरमा कमाएको व्यहोरा उल्लेख गरेको छँदाछँदै वादी दावी नपुग्ने गरी शुरुले गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी दिएको छ, जो जे बुझ्नु पर्ने बुझी पुनः ईन्साफ गर्न मिसिल शुरुमा पठाई दिने ठहर्छ भन्ने समेत ०४५।१०।९ को भेरी अञ्चल अदालतको फैसला ।

७.  शुरुको फैसला बदर गरी पुनः ईन्साफ गर्न मिसिल शुरुमा पठाउने गरी भेरी अञ्चल अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी शुरुको फैसला सदर गरी पाउँ भन्ने समेत प्र.कालु थारुले म.प.क्षे.अ.मा गरेको पुनरावेदनपत्र ।

८.   पुनः ईन्साफ गर्न शुरुमा पठाउने गरेको भे.अं.अ.को फैसला नमिली फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियम बमोजिम गरी पेश गर्नु भन्ने ०४६।४।१६ को म.प.क्षे.अ.को आदेश ।

९.   शुरु जि.अ. बाट भएको फैसला बदर गरी ईन्साफको लागि पुनः शुरु जिल्ला अदालतमा पठाउने ठहराएको भे.अं.अ. को फैसला त्रुटिपूर्ण देखिँदा बदर हुने ठहर्छ । अब जो जे बुझ्नु पर्छ त्यहीबाटै सबै बुझी कानुन बमोजिम निर्णय गर्नु भनी तारेख तोकी मिसिल भे.अं.अदालतमा पठाई दिनु भन्ने ०४६।११।२१ को म.प.क्षे.अ.को फैसला ।

१०.  यिनै वादी प्रतिवादी भएको फौ.पु.नं. १।८७ मा जालसाज ठहरी आज यसै इजलासबाट निर्णय भएकोले वादी दावीको कि.नं. १०७ को जग्गा विलेवन्दी भु.सु.को ७ नं. फारम समेतको श्रेस्ता, नापीको फिल्डबुक समेतबाट विवादित जग्गा वादी मानकुमारी सिंहको देखिँदा निजको कायम हुने ठहर्छ र प्रतिवादी कालु थारुको नाउँमा दर्ता समेत बदर हुने ठहर्छ । वादी दावी नपुग्ने गरी गरेको शुरु ईन्साफ उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत सुर्खेतको फैसला।

११.  पुनरावेदन अदालतले फैसला गर्दा हदम्याद नाघि फिराद परेको भनी लिएको जिकिरतर्फ कुनै कुरा बोलिएन । ०४०।२।१६ मा सरजमीन मुचुल्का हुँदा नै विवादित जग्गा मेरो नाममा दर्ता हुन लागेको कुरा थाहा थियो । मैले विवादित जग्गाको मोही हुँ भनी कतै व्यक्त गरेको नहुँदा पुनरावेदन अदालतले मोही हुँ भनी जिकिर लिएकोले प्रतिवादी विवन्धित छ भनी लिएको आधार त्रुटिपूर्ण छ । विवादित जग्गा मेरो बाजे हिङलाल थारुले १९७० साल देखि भोग गरी आएको, फिल्डबुकमा बाबु रुन्चे थारुको जग्गा हो भनी उल्लेख भएको र २०४० सालमा दर्ता गरी पाउँ भनी निवेदन दिई मालपोत कार्यालयबाट सबै कुरा बुझी मेरो नाममा दर्ता भएको हो । वादीको सो जग्गा भएको कुनै प्रमाण पेश गर्न सकेको छैन । प्रमाणको मूल्याङ्कन नगरी भएको पुनरावेदन अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ अ.बं. १८४(क) को विपरीत भएकोले दर्ता बदर हुने ठहर्‍याएको पुनरावेदन अदालत वीरेन्द्रनगरेको फैसला बदर गरी वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत वीरेन्द्रनगरको फैसला बदर गरी वादी दावी नपुग्ने ठहर्‍याएको शुरु सुर्खेत जिल्ला अदालतको फैसला सदर कायम गरी पाउँ भन्ने समेत प्रतिवादी कालु थारुको यस अदालतमा परेको पुनरावेदनपत्र ।

१२.  यसमा यसै लगाउको फौ.पु.नं. ४७२ मा आज यसै इजलासबाट विपक्षी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि सोही आधारमा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासबाट भएको मिति २०५१।५।८ को आदेश ।

१३.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदनमा पुनरावेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शिवराज अधिकारीले तथा प्रत्यर्थीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री शम्भु थापाले गर्नु भएको बहस समेत सुनियो ।

१४.  प्रस्तुत पुनरावेदनमा पुनरावेदन अदालत विरेन्द्रनगरको सुर्खेतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

१५.  यसमा प्रतिवादीको नाउँमा साविकमा जग्गा दर्ता रहेको भन्ने कुरा निजले मालपोतमा छुट दर्ता गरी पाउँ भनी दिएको निवेदनमा उल्लेख गरेको देखिँदैन । छुट दर्ता साविकमा दर्ता भई रहेको नयाँ नापीमा छुटन गएको अवस्थामा मालपोत ऐनको दफा ७(२) आर्कषण हुने नयाँ दर्ता कार्य प्रारम्भ छुट दर्ताबाट नहुने हुँदा पुनरावेदक तर्फबाट विद्वान अधिवक्ताको छुट दर्ता गर्न मिल्ने भन्ने बहस जिकिर तर्कसंगत देखिन आएन । मिति २०४०।३।१७ को मालपोत कार्यालयको निर्णयमा पनि साविक दर्ताको आधार नदेखाई सर्जमीनको भनाई फिल्डबुकमा त्रिखुर शर्तमा कमाएको भन्ने उल्लेखनलाई आधार बनाएको देखिन्छ सरजमीन जस्तो मौखिक प्रमाण र त्रिखुर शर्तमा जोती आएको भन्ने आधारमा छुट दर्ता गर्न मिल्ने देखिन आएन । वादीले पेश गरेको विलेवन्दीको प्रतिलिपिमा उल्लेखित साविक कि.नं. ७ मा मोही रुन्चे भनी लेखिएको ७ नं. फारममा पनि सोही विलेवन्दीमा उल्लेखित क्षेत्रफलको जग्गा उल्लेख भएको समेतका आधारमा प्रतिवादी कालु थारुले भोगसम्म गरेको तर जग्गाधनीको हैसियत रहेको नदेखिँदा वादी दावीको कि.नं. १०७ को जग्गा वादी मानकुमारी सिंहको देखिन आउँछ । तसर्थ उक्त जग्गा वादी मानकुमारी सिंहको हक कायम हुने र प्रतिवादी कालु थारुको नाउँमा भएको दर्ता बदर हुने ठहर्‍याएको पुनरावेदन अदालत वीरेन्द्रनगर सुर्खेतको इन्साफ मनासिब हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.नरेन्द्र बहादुर न्यौपाने

 

इतिसम्वत् २०५१ साल माघ २५ गते रोज ४ शुभम् ।