निर्णय नं. ५७७ – ज्यान
निर्णय नं. ५७७ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री झपट सिं रावल न्यायाधीश श्री वृषबहादुर थापा सम्वत् २०२५ सालको...
निर्णय नं. ५७७ ने.का.प. २०२७
फुल बेञ्च
प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री झपट सिं रावल
न्यायाधीश श्री वृषबहादुर थापा
सम्वत् २०२५ सालको फौ.फु.नं. ३२
आदेश भएको मिति : २०२७।९।१७।६
निवेदक : जि.पर्सा प्रगन्ना सिघमास मौजे बलुवा बस्ने जितन महतो थारु समेत
विरुद्ध
विपक्षी : जि.मोतिहारी सुगौली मौ.करमुवा गाउँ बस्ने फोदी राउत अहिर समेत
मुद्दा : ज्यान
(१) जाहेरी फैसलामा–साधक तहबाट उचित निकास दिनपर्ने बेञ्च (डि.वे.) ले उक्त मुद्दाको निर्णय दिनुपर्ने ।
तत्कालिन जिल्ला अदालत वर्तमान नारायणी अञ्चल अदालतले जाहेरी फैसला गरेकोमा साधक तहबाट सो सजायको उचित निकासा जो दिनुपर्दथ्यो सो मुद्दाको निर्णय दिने डिभिजन बेञ्चले दिनुपर्ने ।
(प्रकरण नं. २)
निवेदन तर्फबाट :
विपक्षी तर्फबाट :
उल्लेखित मुद्दा :
फैसला
प्र.न्या.श्री रत्नबहादुर विष्ट
१. सर्वोच्च अदालत डिभिजन बेञ्च ०२२।११।१४।६ को निर्णय दोहर्याई पाउँ भन्ने जितन महतो १ डोभा पंजियार १ समेतको निवेदन परेकोमा आफ्नो र साथमा गएका मानिस समेतको रक्षाको निमित्त बन्दुकको फायर गरी मानिस मरेकोमा पनि जन्मकैदको कडा सजाय भयो भन्ने जितन महतोका हकमा जगरनाथ सिंह र विक्रम सिंह समेतले हाम्रो पैनीको पानी बन्द गरी दिएकाले पानी मागी ल्याउन भनी गएको मैले टोटावाला बन्दुक लगेको थिएँ । पानी माग्दा बोला बोल भयो । पञ्चको रुपमा आएको राजदेव सिंहलाई मंगल सिंहले भाला रोपी मारे । जगरनाथ सिंह समेतले बन्दुकको फायर गरी हामीलाई घेरामा हाले र मार्छन भन्ने डरले मैले पनि २ फायर गरें । त्यसबाट पनि मानिस मरेको होला भन्नेसमेत निवेदक जितनको बयानबाट देखिएको, पानी माग्न जाँदा बन्दुक साथमा लिनै नपर्ने फेरि जगरनाथ समेततर्फबाट बन्दुकको फायर भएको भए निवेदकतर्फका मानिस मर्नु वा घाइते हुनुपर्ने सो भएको नदेखिएको, तनकी खाँलाई छर्रा लागेको थियो भन्ने लेखेको, निजले हाजिर भई घाजाँच गराएको नदेखिएको, निज फरार रहेको मिसिलबाट देखिन्छ । घेरामा परेकोमा घेराबाट छुट्न फायर गरेको हुँ भनेकोमा त्यस कुराको प्रमाण केही गुर्जान नसकेकोबाट समेत निवेदक जितनका बन्दुकको फायरबाट बङ्गाली सिंह, खुमारी सिंह र भिखारी धोवी मरेको देखिएको र डोमा पंजियारका हकमा जिल्ला अदालतले गरेको इन्साफउपर पुनरावेदन गर्न नसकी इन्साफमा चित्त बुझाई बसेको साधक तहबाट सर्वोच्च अदालतबाट निर्णय गरेपछि निवेदन परेको देखिएको जिल्ला अदालतको इन्साफउपर अपील नपरेको र अरु सफाईको सबूद केही पनि देखिन नआएकोले निजहरुका हकमा सर्वोच्च अदालतको निर्णय मिलेको देखिएकाले यसतर्फ दोहर्याई बक्सुन पर्छ भनी बिन्ति चढाउन मिलेन । प्रतिवादी मध्येका डोमा पंजियार, महेश पंजियार, शकर पंजियार समेत ३ लाई शुरुले सफाई दिएकोमा जिल्ला अदालतबाट वारदातमा गएको ठर्हछ निजहरुलाई तत्कालिन ज्यानसम्बन्धिको ऐन ३१ को देहाय दफा ३ ले ६ महिनादेखि ३ वर्षसम्म सरकारका तजविजबाट सजाय गर्ने भनी साधक जाहेर गरेको, सो इन्साफउपर महेश पंजियारको पुनरावेदन परेकोमा तारेख गुजारी डिसमिस भएको डिसमिस गराएवापत कैद वर्ष ३ को खण्डे सजायसम्म भएको, उक्त जिल्ला अदालतले जाहेर गरेको सजायमा सर्वोच्च अदालतले केही निर्णय तोकेको नदेखिएकाले त्यसतर्फ सम्म दोहर्याउने आदेश बक्सनु पर्ने भनी न्यायिक समितिबाट सिफारिस गरेको आधारमा दोहोर्याउने हुकुम प्रमांगी ०२५।९।१९।५ मा बक्स भई आई फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको देखियो ।
२. बक्स भई आएका उक्त हुकुम प्रमांगी बमोजिम यस मुद्दाको समुच्चै फैसला निर्णय दोहर्याई हेर्न नपरी प्रतिवादी डोमा पंजियार महेश पंजियार शंकर पंजियार समेत ३ जनालाई तत्कालिन ज्यानसम्बन्धीको ३१ नं.को देहाय दफा ३ बमोजिम ६ महिनादेखि ३ वर्षसम्म निकास भएबमोजिम सजाय गर्ने भनी तत्कालिन जिल्ला अदालत वर्तमान नारायणी अञ्चल अदालतले जाहेरी फैसला गरेकोमा साधक तहबाट सो सजायको उचित निकास जो दिनु पर्दथ्यो, सो मुद्दाको निर्णय दिने डिभिजन बेञ्चले दिनुपर्ने । सो दिईएको देखिएन । उक्त साधकको निकासामा तोकिनु पर्ने कुराको निकासा डिभिजन बेञ्चबाटै दिनु पर्ने हुँदा फुल बेञ्चको लगत काटी जो दिनुपर्ने उचित निकासा दिनु भनी अघि मुद्दा किनार गर्ने डिभिजन बेञ्चमा पेश गर्नु ।
इति सम्वत् २०२७ साल पौष १७ गते रोज ६ शुभम् ।