निर्णय नं. ५७४ – बकसपत्र पारित जालसाजी
निर्णय नं. ५७४ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री झपट सिं रावल न्यायाधीश श्री...
निर्णय नं. ५७४ ने.का.प. २०२७
फुल बेञ्च
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री झपट सिं रावल
न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
सम्वत् २०२६ सालको दे.फु.नं. ९९
फैसला भएको मिति : २०२७।९।८।३ मा
निवेदक : जि.बाँके तप्पे कारकादो मौजे राझा बस्ने दशरथ कुर्मी
विरुद्ध
विपक्षी : ऐ.ऐ.गिजरा बस्ने गौरीशंकर कुर्मी समेत
मुद्दा : बकसपत्र पारित जालसाजी
(१) तथ्य बारेमा दुई बेन्चको दुई मत भए पनि रुलिङ्ग बाझिएको नदेखिने ।
प्रस्तुत मुद्दामा इन्साफ हुने भन्ने ०२२।१०।३।१ मा डिभिजन बेञ्चले फैसला गरेकोमा यो मुद्दा आफ्ना इजलास समक्ष पेश हुन आएपछि न्यायिक दृष्टिले हेर्नै पर्ने हुनाले फैसला गर्दा उक्त मुद्दा खारेज गर्ने भनी ठहर गरेपछि अघिल्लो फैसलाले कुनै सिद्धान्त कायम गर्न नसकी तथ्यबारेमासम्म लिखतमा लागेको ल्याप्चे बुझिनेहुँदा इन्साफ गर्नहुने भन्ने कारवाइ कै रुपमा फैसला गरी पठाएकोमा पछि भएको तहकिकातले सहिछाप नबुझिने भनी खारेज गरेकोले तथ्यबारेमा दुईमत भयोभन्दैमा रुलिङ्ग बाझिएको देखिदैन ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा
विपक्षी तर्फबाट :
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री वाशुदेव
१. सानी आमा पारा कुर्मीनीले मलाई धर्मपुत्र पाली मेरो पैतृक सम्पत्ति समेत मिलाई बसेको र सेवा टहल चाकरी गरेवापत मौजे धर्मपुर समेतको जग्गा विगाहा १०।।।२,१८।८।१५ मा शेषपछिको बकसपत्र गरी दिएको र बकसपत्र पास हुन नपाउँदै ०१८।९।८ मा सानी आमा पारा परलोक हुनुभएकोले विपक्षीहरुसंग पास गरी देउ भन्दा गरी नदिएकोले पास गराई पाउँ भन्ने फिरादपत्र ।
२. पाराको वादी नाता सम्बन्ध केही पर्दैन हलो जोत्ने नोकर हो, पारा मरेपछि बकसपत्र खडा गरेको हुँदा पास गरी दिनामा हामी मञ्जुर छैनौ भन्ने गौरीशंकर कुर्मी समेको प्रतिउत्तर ।
३. २०१८ साल पौष ८ गते रातमा भाउजू पारा परलोक हुनुभएपछि भोलिपल्ट दिउँसो मरिसकेकी पाराको ल्याप्चे लगाई जालसाजबाट शेषपछि को बकसपत्र खडा गरेको हो भन्नेसमेत गौरीशंकरको वा.समेत काशीराम कुर्मीको बयान ।
४. मैले दाखेल गरेको ०१८।८।१५ को बकसपत्र सद्दे हो भन्ने दशरथ कुर्मीको बयान र पारा जिवित छंदै ०१८।८।१५ मा दशरथलाई बकसपत्र गरी दिएको हो । बकसपत्र लेखी दिनु होस भनेबमोजिम मैले लेखी पाराले सहिछाप लगाइन र साक्षीहरुले सही गरिसकेपछि मैले लगाएको हो मरी सकेपछि बकसपत्र गराएको होईन भन्ने हरीप्रसाद र पारा मरी सकेपछि शेषपछिको बकसपत्र खडा गरेको होइन भन्नेसमेत रामआधार समेतको बयान ।
५. बकसपत्रमा लागेको शिर पुछारको दायाँ वायाँ ल्याप्चे नबुझिने अप्रष्ट भन्ने विशेषज्ञले लेखी दिएकोले यस्तो सहिछापै नबुझिने कागज प्रमाण नलाग्ने हुँदा कागजजाँचको २० नं.र दण्ड स.का.५३ नं.ले खारेज हुन्छ भन्ने तत्कालिन बाँके इलाका अदालतको ०१९।११।१२ को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी दशरथ कुर्मीको पुनरावेदन परी इन्साफ बाँके ई.अ. को मनासिव छ भन्नेसमेत ०२०।१०।२९।२ को तत्कालिन नेपालगञ्ज जिल्ला अदालतको फैसला ।
७. सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेको र बकसपत्रमा लागेको सहिछाप पाराकै हो भन्ने कुरामा प्रतिवादीहरुको मुख मिलेकै र मरेका मानिसको सहिछाप गराएको भन्नेसमेत मुख नमिलेको कुरा जतिमा ऐनबमोजिम किनारा गर्नुपर्ने देखिंदा ई.अ.र जि.अ.को फैसला बदर हुन्छ । जो बुझ्नुपर्ने बुझी अञ्चलबाटै कानूनबमोजिम फैसला गरिदिनु भन्नेसमेत स.अ. डिभिजन बेञ्चको ०२२।१०।३।१ को फैसला ।
८. लिखतमा लागेको ल्याप्चे पाराकै हो भन्ने कुरामा प्रतिवादी सावितै रहेका देखिनाले त्यसतर्फ विचारै गर्न परेन । पारा मरी सकेपछि वा जिवित छँदै बकसपत्र गराएको के हो भन्नेतर्फ विचार गर्दा पारा मरी सकेपछि हरिहरप्रसाद समेतको बकसपत्र खडा गरी सहिछाप गराएको हो । ३०।४० जना मानिस जुटेका थिए भन्ने वादीको साक्षी बदलको र पासा मरिन भन्ने सुनी हेर्न जाँदा प्रतिवादी दशरथ समेत र अरु ४ जना मानिस समेत जम्मा थिए । लेखी राखेको कागजमा मरी सकेकी पाराको सहीछाप लगाएको हो भन्ने वादीकै साक्षी दुःखी अहिर समेतले बकेकोबाट जालसाजबाटै खडा गरेको हो कि भन्ने झल्का देखिन्छ तापनि अरु सबूद प्रमाणतर्फ हेर्दा प्र.ले मरेपछि खडा गरेको भन्नेसमेत लेखी यो बार खडा गरेको भन्न लेख्न नसकेको सक्कल लिखत सुनाउँदा पौष ८ गते मरी भोलिपल्ट दिउँसो ल्याप्चे सहिछाप लगाई जालसाज गरेको भनी लेखेको दर्ता जालसाजी मुद्दामा पौष ८ गते पारा मरेपछि ९ गते बाह्रबजेसम्म हरिप्रसादसमेत जम्मा भई मृतक पाराको घर मा बसेको राझा गाउँका धेरै मानिसले देखेको हो भन्ने बकेका र प्रतिवादी बयानको कुरा समेत नमिलेको जालसाजबाट खडा गरेको भए प्रतिवादीहरुले मौकैमा थाहापाएपछि रोक्नु सक्नुपर्ने र तुरुन्तै उजूर गर्नुपर्ने लिखत पास गराई पाउँ भन्ने नालेस परी सकेपछि मात्र पौष ८ गते मरी भोलिपल्ट ल्याप्चे लगाएको भनी बके–लेखे तापनि त्यतिका जना जुटेका ठाउँमा जालसाजबाट मरेपछि पाराको ल्याप्चे लगाई बकसपत्र खडा गरे भन्ने प्र.हरुको जिकिर पुग्नसक्दैन । ०१८।८।१५ को बकसपत्र सद्दे ठहर्ने हुँदा पास गरी दिनुपर्नेमा प्र.हरुले पास गरी नदिएको ठर्हछ भन्नेसमेत ०२५।९। ३०।२ को भेरी अञ्चल अदालतको फैसला ।
९. बकसपत्र जालसाजी नठहरे पछि गौरीशंकर समेतलाई कानूनबमोजिम नै सजाय हुनुपर्नेमा नगरेको भेरी अञ्चल अदालतको इन्साफमा चित्त बुझेन भन्ने वादी दशरथको पुनरावेदन ।
१०. बकसपत्रमा लागेको ल्याप्चे र सुधरा कुर्मीउपर दिएको घर मुद्दाको मिसिलमा लागेको पाराको सहिछापमा भिडाई विशेषज्ञबाट जाँच गराई मात्र इन्साफ गरी दिनुपर्नेमा सो नगरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत प्र.गौरी शंकरको पुनरावेदन ।
११. विशेषज्ञद्वारा जाँच गराउँदा बकसपत्रको सिरको वा जनिएको ल्याप्चेको फोटोमा मात्र रेखाहरु देखिन्छ, सो फोटोबाट अर्को प्रष्ट ल्याप्चे भएमा भिडाउन सकिने भनी ०२२।२।१८ मा रिपोर्ट दिएको देखिनाले समेत ठहरे माफिक ऐन बमोजिम किनारा गर्नुपर्ने देखिंदा खारेज गरेको मनासिव देखिएन । फैसला बदर हुन्छ । मुद्दामा जो बुझ्नु पर्ने बुझी ठहरे माफिक कानूनबमोजिम फैसला गरी दिनु भनी भेरी अञ्चल अदालतमा पठाउने भनी २०२२ साल माघ ३ गते सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भेरी अञ्चल अदालतमा पठाई कारवाई भई पास हुने ठहराई भेरी अञ्चल अदालतबाट फैसला भएको रहेछ । मुख्य ठहरे बमोजिम किनारा गर्नुपर्ने देखिंदा जो बुझ्नुपर्ने बुझी ठहरे माफिक कानूनबमोजिम फैसला गर्नु भन्ने आदेशानुसार अञचल अदालतको फैसला भएको र यस मुद्दामा कानूनले के कारवाई भएको रहेछ र के ठहर गर्नुपर्ने हुन आउँछ । त्यसतर्फ विचार गर्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१८।८।१५ को बकसपत्रमा लागेको पाराको भनेको शिर पुछारमा दुई दुईवटा ल्याप्चे छाप प्रष्ट हुन हैनन शंख चक्र के हो ? फोटो र सक्कल समेत भिडाई कम्तिमा २ जना विशेषज्ञको राय लिई नियमबमोजिम पेश गर्नु भन्ने ०२६।३।२९ का आदेशानुसार विशेषहरुद्वारा २०२६।९।२२।४ मा जाँच हुँदा सो लिखतको सिरको दोश्रो ल्याप्चेको बाहिरिए आकार सम्म छुट्टिन्छ । वहाँले प्यार्टन हो, तर सो ल्याप्चेको पुनः लिएको फोटो समेतबाट पनि भित्री रेखाहरु नबुझिने अप्रष्ट देखिन्छ भन्ने राय व्यक्त गरेको देखियो । अब कानूनतर्फ हेर्दा मुलुकी ऐन कागजजाँचको ५ नं.र ६ नं.अन्तर्गत रीत पुगी कागज भए गरेको यो लिखतमा देखिएन । किनकि भित्री रेखाहरु नबुझिने अप्रष्ट भएपछि सो ऐनबमोजिमको सहिछाप भएको र कानूनले मान्यता दिई इन्साफ गर्नुपर्ने भनी ठहर गर्न मिलेन । रजिष्ट्रेशनको २२ नं.ले पनि ऐनबमोजिम सहिछाप गराउन पर्छ भन्ने उल्लेख भएकोले सो सहिछाप विशेषज्ञहरुको रायबाट भित्री रेखा नबुझिने अप्रष्ट भनी दुईजना विशेषज्ञको राय भएको देखिएपछि कागजजाँचको ऐनबमोजिम रेखा शंक चक्र प्रष्ट देखिने गर्नुपर्ने यदि बुढी औंलाबाट प्रष्ट नभए कानूनबमोजिम अरु व्यवस्था अपनाउनु पर्ने सो कुनै नभएकोले त्यस्तो कानूनी मान्यता नभएको लिखतबाट इन्साफ गर्न नमिल्ने खारेज हुने ठहरिएको, तर ०२२।१०।३ को सर्वोच्च अदालत डिभिजन बेञ्चले फोटामा मात्र रेखाहरु देखिन्छ, सो फोटोबाट अर्को प्रष्ट ल्याप्चे भएमा भिडाउन सकिने भनी १ विशेषज्ञको ०२२।२।१८ का प्रतिवेदनबाट ठहरे माफिक ऐनबमोजिम किनारा गर्न पर्ने देखिंदा खारेज गरेको मनासिव देखिएन भनी फैसला गरेको डिभिजन बेञ्चको फैसलासंग यो डिभिजन बेञ्च सहमत नभई रुलिङ्ग बाझिएकोले सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ को (ख) बमोजिम यो मुद्दा निर्णयका लागि सर्वोच्च अदालत फुल बेञ्चमा पेश गर्नु भन्ने ०२६।११।४।१ को डिभिजन बेञ्चको फैसला ।
१२. प्रस्तुत मुद्दामा ०२७।७।२५।३ मा पेश भई वादी दशरथ कुर्मीको वा.विशेश्वर कुर्मीलाई र प्रतिवादी गौरीशंकर कुर्मीको वा.गंगासागर कुर्मीलाई रोहरमा राखी वादी तर्फका विद्वान वरिष्ठ अधिवक्ता देवनाथप्रसाद वर्माले र प्रतिवादीतर्फका विद्वान अधिवक्ता सुधानाथले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीको पाराले गरिदिएकी भनेको ल्याप्चे सहीछाप नबुझिने भन्ने ०१८।८।१५ को शेषपछिको बकसपत्र तत्कालिन इलाका अदालत र जिल्ला अदालत समेतबाट खारेज भएकोमा पुनरावेदन परी पेश हुँदा पारा कुर्मीले सहीछाप लगाएकोमा मुख मिलेको । मरेपछि लगाएको हो भन्ने प्रतिवादीको इन्कारीमा मरेपछि लगाएको हो होइन भन्ने कुरामा निर्णय दिनुपर्ने र ल्याप्चेको फोटो लिई जाँच गराउँदा बकसपत्रको वा जनिएको ल्याप्चेको फोटोमा मात्र रेखाहरु देखिन्छन, सो फोटोबाट अर्को प्रष्ट ल्याप्चे भएमा भिडाउन सकिने भनी विशेषज्ञको रिपोर्ट दिएको देखिनाले समेत ठहरे माफिक किनारा गर्नुपर्ने देखिंदा खारेज गर्ने गरेको फैसल बदर हुन्छ । मुद्दाको जो बुझ्नु पर्ने बुझी ठहरे माफिक अञ्चल अदालतबाटै यो मुद्दा कानूनबमोजिम फैसला गरी दिनु भनी ०२२।१०।३।१ मा डिभिजन बेञ्चबाट फैसला भएको र भेरी अञ्चल अदालतबाट सो बकसपत्र पास गरी दिने ठहराई फैसला भएउपर प्रतिवादीको पुनरावेदन परी आएकोमा यसै अदालतमा आई डिभिजन बेञ्चका आदेश बमोजिम २ जना विशेषज्ञलाई जाँच गराउँदा लिखतको शिरको दोश्रो ल्याप्चेको बाहिरी आकारसम्म छुट्टिन्छ । वहाँले प्यार्टन हो, तर सो ल्याप्चेको पुनःलिएको फोटो समेतबाट पनि भित्री रेखाहरु नबुझिने अप्रष्ट देखिन्छन भन्ने राय व्यक्त गरेकोले कागजजाँचको ५ र ६ नं. अन्तर्गत रीत नपुगी कागज भए गरेको यो लिखतलाई मान्यता दिई इन्साफ ठहर गर्न मिलेन । खारेज हुने ठर्हछ । ०२२।१०।३ का डिभिजन बेञ्चका फैसलाले खारेज गरेको मनासिव भएन भनी गरेको फैसलासंग यो डिभिजन बेञ्च सहमत नभई रुलिङ्ग बाझिएकोले सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ को (ख) बमोजिम निर्णयको लागि फुल बेञ्चमा पेश गर्नु भन्ने ०२६।११।४।१ को डिभिजन बेञ्चको फैसला भई निर्णयको लागि यसबेञ्चमा पेश हुन आएको रहेछ । उक्त ०२६।११।४।१ को डिभिजन बेञ्चको तर्क अनुसार रुलिङ्ग बाझिएको हो होइन भन्ने प्रश्नउपरनै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ ।
१३. कस्तो अवस्थालाई रुलिङ्ग बाझिएको मानिने हो भन्ने सम्बन्धमा दे.फु.नं.२९० वादी अपीलाट जंगध्वजको र प्र.वखतबहादुरको ०२२।६।१।६ मा फुल बेञ्चबाट फैसला भएको मुद्दामा हेर्दा हदम्याद भित्रको उजूर नहुँदा खारेज हुने भनी शुरु र अपीलबाट फैसला भएकोमा ऐनबमोजिम इन्साफ गर्नु भनी का.जि.अ.पै.मा पठाइदिनु भनी ०१९।१०।२९।२ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएबमेजिम का.जि.अ.पै.मा मिसिल गएपछि इन्साफको तहले खारेज हुने देखियो भनी फैसला भएकोमा पुनरावेदन परेपछि वादी दावी खारेज गर्ने गरेको शुरु र अपीलको इन्साफ मनासिव छ । ०१९।१०।२९।६ को डिभिजन बेञ्चको फैसलासंग राय सहमत नभएकोले फुल बेञ्चमा पेश गर्नु भन्ने ०२१।११।२०।४ मा डिभिजन बेञ्चको फैसला भएको त्यसमा खारेज हुने भन्ने शुरु र अपीलले फैसला गरेकोमा ऐनबमोजिम इन्साफ गर्न का.जि.अ.मा पठाई दिने भन्नेसम्म कारवाईकै रुपमा उक्त ०१९।१०।२९।२ को डिभिजन बेञ्चबाट फैसला भएको देखिन्छ । कुनै कानूनी सिद्धान्त कायम गरी निर्णय दिएको नदेखिएकोबाट त्यस्तो कुरालाई ०१९।१०।२९।६ को र ०२१।११।२०।४ को फैसलाको रुलिङ्ग नमिली बाझिएको भन्न मिल्ने देखिएन भन्ने लेखिएको रहेछ । कुनै एक डिभिजन बेञ्चबाट भएको अन्तिम निर्णयबाट एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको छ र त्यस्तै मुद्दामा कुनै अर्को डिभिजन बेञ्चबाट अर्कै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ्ग नमिली बाझिएको हुनुपर्छ भन्ने सिद्धान्त प्रतिपादित भई फुल बेञ्चबाट निर्णय भइराखेको पाइन्छ ।
१४. प्रस्तुत मुद्दामा इन्साफ हुने भन्ने ०२२।१०।३।१ मा डिभिजन बेञ्चले फैसला गरेकोमा यो मुद्दा आफ्ना इजलास समक्ष पेश हुन आएपछि न्यायिक दृष्टिले हेर्नैपर्ने हुनाले फैसला गर्दा उक्त मुद्दा खारेज गर्ने भनी ठहर गरेपछि अघिल्लो फैसलाले कुनै सिद्धान्त कायम गर्न नसकी तथ्य बारेमा सम्म लिखतमा लागेको ल्याप्चे बुझिने इन्साफ गर्नहुने भन्ने कारवाईकै रुपमा फैसला गरी पठाएकोमा पछि भएको तहकिकातले सहीछाप नबुझिने भनी खारेज गरेकोले तथ्य बारेमा दुईमत भयो भन्दैमा रुलिङ्ग बाझिएको देखिंदैन ।
१५. तसर्थउपरोक्त कारणहरुबाट उक्त ०२२।१०।३।१ को र ०२६।११।४।१ को दुई डिभिजन बेञ्चको फैसलामा रुलिङ्ग बाझिएको नै नदेखिएको हुँदा यसबेञ्चबाट अरु कुरा विचार गरी रहनु परेन । नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।
न्या.श्री हेरम्बराज,
न्या.श्री रङ्गनाथ,
न्या.श्री झपट सिं र
न्या.श्री चन्द्रप्रसाद
उक्त रायमा सहमत छौं ।
इति सम्वत् २०२७ साल मार्ग ९ गते रोज ३ शुभम् ।