September 29, 1970
Created by nepalarchives

निर्णय नं. ५६० – ज्यान

निर्णय नं. ५६०       ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री झपट सिं रावल सम्वत् २०२५ सालको फौ.फु नं....

निर्णय नं. ५६०       ने.का.प. २०२७

फुल बेञ्च

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री झपट सिं रावल

सम्वत् २०२५ सालको फौ.फु नं. ६८६

पुनरावेदक : श्री ५ को सरकार

विरुद्ध

विपक्षी  : जि.बाँके तप्पे कारकाडौं मौजे भदरिया बस्ने मनराज कहार समेत

मुद्दा : ज्यान

(१)  अरु प्रमाणको अभावमा मुख सावित भए पनि अपराध गरेको हो भनी ठहर गर्न नहुने ।

          मुखले मात्र पनि सावित भई कुनै मुद्दा चल्न नसक्ने हुनाले मुख सावित, अपराध गर्नु, यी दुवै कुरा भिन्न भिन्न हुन सक्छन् । मुख सावित हुँदैमा अपराध गरेको हो भनी ठहर गर्न अरु प्रमाण चाहिन्छ । यस मुद्दामा त्यस्तो कुनै प्रमाण नभएकोले यी अभियुक्तहरुले अपराध गरेको हो भनी ठहर्‍याउन मिल्दैन ।

(प्रकरण नं. २९)

पुनरावेदकतर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल

विपक्षी तर्फबाट :

उल्लेखित मुद्दा :

फैसला

          न्या.श्री हेरम्बराज

          १.   म बसेको ठाउँ तप्पे करकाडौं मौजे पिप्रहवामा गस्ती गर्दै आएका पुलिसले सोधपुछ गरी तिम्रो दाज्यू भडारियामा छैन पत्ता लगाउ भनेपछि दाज्यू नोकरी गरी बसेको जिमिदार कहाँ गई सोध्दा निजले थाहा छैन, पत्ता लाउँछु भने । आफ्नी सानी आमालाई सोध्दा दाज्यू रसुललाई भडरिया बस्ने मनराज कहार बरकत मनिहार, लंगड मनिहारले ज्यानै मारिदिए । लास जङ्गलमा कहाँ राखे थाहा छैन भन्नु भएकोले जाहेर गर्न आएको छु भन्ने हाफज दजिको दरखास्त ।

          २.   मनराज कहारको दाजु निहुरकी स्वास्नीसंग गुरुवा गाव बस्ने नागेस्वर र पिप्रहवा घर भई भडारिया कोठारमा नोकर भई बस्ने रसुल दर्जीको नराम्रो सम्बन्ध भई निजहरुको आपसमा रिसइवी परि मठरिया बस्ने जिमिदार मनिहार बर्कत मनिहारलाई हातमा लिई नागेश्वर कुर्मीले रसुल दर्जीको ज्यान हिनामिना पारि बेपत्ता पारेको भन्ने बुझिएको भन्ने हे.क. दुधनाथको प्रतिवेदन ।

          ३.   मनराज कहारको दाज्यूको छोरीसंग सोधपुछ गर्दा निजले आज राती मेरो काका मनराज कहार बर्कत मनिहार, लंगड मनिहार १ समेत ३ जना भई रसुललाई लट्काई सो लास मेरो दाज्यू कुदनवा भन्ने बाबु कहार र मनराज कहार समेत भई जङ्गलतिर गाडेका हुन् भन्ने निजबाट सुनी थाहा पाएकी हुँ । मनराज भाउजूसंग लागेको थियो । सो कहानिसंग रसुर र बर्कत पनि लागेको हुँदा रीसइवी पर्न गई मनराज र वर्कतले मारेको शंका लाग्छ भन्ने फहिमा मनिहारको कागज ।

          ४.   कोठारमा बस्ने वर्कत मनिहारले मेरो धुरमा आई रसुल दर्जी मरेछ मट्टि दिन हिंड भनेपछि कोठारदेखि अन्दाजी १०००। गज पूर्वमा रहेको बगैंचामा निजको साथ गयौं । आँपको रुखमा रसुल दर्जी लट्की रहेको देखें । निज बर्कत पेडमा चडी डोरी काटी भूईमा राखे । सो बखत त्यस काममा बर्कत मनिहार, जिमिदार मनिहार, लंगड मनिहार र मसमेत ४ जना थियौं । कसरी मर्‍यो भनी बर्कतसंग सोध्दा हामी ३ जना मिली आज राती अन्दाजी २ बजे राती मारेका हौं भन्यो । निजहरुले हिंड् गाड्न जाउँ भनेकाले म समेत भई किरण नालामा गाडी दिएको हो भन्नेसमेत मनराज कहारले प्रहरीमा गरेको कागज ।

          ५.  मनराज कहारको आगँनमा झै झगडा सुनी हेर्न जाँदा कुदन कहार, निरहु कहार, मनराज र भारततर्फको बलरामपुरतिर बस्ने रइत अलि मुसलमान र भारततर्फ बल्कट्टि बस्ने अजिज बहेना समेत झगडा कुटपिट गरी राखेका थिए । मैले छुट्याई कोठारमा ल्याउँदा पनि निज ५ जना आई रसुललाई समाती लगी मारी दिए । भोलिपल्ट लास लगी किरना नालमा लगी गाडी आयौं । हत्या हुने बखत रसुलको हातै मैले समातेको हुँदा थाहा पाएको हुँ । निहुँरको स्वास्नीसंग र निजको छोरीसंग मनराज नागेश्वर कुर्मी, रसल दर्जी र मसमेत फँसेका थियौं । त्यसै कारणबाट नागेश्वर कुर्मीसमेतले रसुललाई मार्ने सल्लाह दिएकोहुँदा मसमेत भई रसुललाई मारिदिएको हो भन्ने लंगड भन्ने अतिसेर मनिहारको कागज ।

          ६.   निहुर कहारकी स्वास्नी र छोरीको चालचलन ठिक थिएन । आमा छोरी दुवैसंग रसुल दर्जी, नागेश्वर कुर्मीसमेत फँसेको छ भन्ने गाउँमा हल्ला थियो र मैले थाहा पाएको हुँ । यो काण्ड हुनु भन्दा अगाडि रसुल नागेश्वरले २।३ पटक पक्री थप्पड लगाएको समेत देखेको थिएँ । अन्दाजी १ महिना अगाडि मनराजको घरमा रातको २।२१/२ बजेको समयमा रसुलले कहार्नीको छोरीलाई समात्यो भनी नागेश्वर कुर्मी, मनराज, निरहुँ, कुदन कहार, भारत कर्णेलगञ्ज बस्ने अजिज बेहना समेतले पक्री कोठारमा ल्याई म समेत सबैले लात मुक्का हिर्कायौं । त्यसपछि नागेश्वर र म घरमा फर्की आयौं । त्यसबखत रसुल मरेको थिएन । त्यसपछि मनराज निरहुँ, कुटन, अजीज समेत मिली मारी दिएछन् । भोलिपल्ट सबै कुरा मनराजको भाउज्यू छोरी भतिजीबाट थाहा पाई किरना मालतर्फ जाँदा निजहरुले मट्टि दिइसकेका रहेछन् । डराएर जाहेर नगरेको हुँ भन्ने वर्कत मनिहारको कागज ।

          ७.  रसुलसंग रु.५०। लिनु थियो । सो लिन कोठारमा गई बास बसेको थिएँ । आधा रातमा मनराजको घरमा हल्ला भएको सुनी बर्कत र म गयौं । मैले कुटपिट गरिन, भोलिपल्ट घर जान लाग्दा बर्कत मनिहारबाट कहारहरुले रसुललाई मारिनै दिएछन् भन्ने सुनें भन्नेसमेत नागेश्वर र कुटपिट भएको हल्ला सुनें । म हेर्न गइन । भोलिपल्ट विहान मनराजले रसुल बगैंचामा मरी पडिरहेको छ भन्यो भन्ने जिमिदार मनिहार र रसुलालाई को को भई मारे मलाई थाहा छैन भन्ने जिमिदार कुर्मी समेतको प्रहरीमा कागज ।

          ८.   रसुललाई को को भई कसरी कहाँ किन मारे हामीलाई थाहा छैन भन्नेसमेत पचनेल राम कुर्मी समेत जना ६९ को सरजमिन मुचुल्का ।

          ९.   बर्कद जिमिदार, लंगड, कुदन, निरहुँ, रहन अलि, अजिज बेहना, मनराज समेत ८ जना भई रसुललाई मारेको हुनु पर्छ । निजहरु उपर मुद्दा शका लाग्छ भन्ने पञ्च इतवारिसमेत २८३ जनाको सरजमिन मुचुल्का ।

          १०.  रसुलको लास गाडेको ठाउँ भनी मनराजले देखिएको ठाउँमा हेर्न जाँदा छालाको टुक्रा र केस निस्केको हो । अरु हड्डी र मासु अभियुक्तले देखिएको ठाउँमा प्राप्त नभएकाले कस्ले कहाँ लगी दवाए वा जलाए वा कुनै जनावरले खायो हामीलाई थाहा छैन । अभियुक्त मनराजले देखाएको ठाउँमा खनी निस्किएकोले निस्किएका अरु चिजहरु पनि निजले रसुलको भनेको हुँदा रसुलको होला भन्ने झमुले चमार समेतले गरी दिएको मुचुल्का ।

          ११.  वर्कत, मनराज, जिमदार मनिहार, लंगड, निरहु, रहन, कुदन, अजिज, र नागेश्वर समेतले कर्तव्य गरी रसुललाई मारी लास समेत दवाएकोले निजहरु ज्यान सम्बन्धीको ऐन नं. १ र १३ को देहायको ३ ले र मनराजको भाउजू र मनराजको भतिजी जिमिदार मनिहारको स्वास्नी समेत उपर ऐं ऐनमा २५ नं. ले मुद्दा चल्न सक्ने । जिमिदार कुर्मी र कुनु भन्ने लखनौवा जिमिदार समेत हल्ला भएको भोलिपल्ट कुरा गरी रहेको र लास दवाएको शंका लाग्छ भन्नेसमेत व्यहोराको दरखास्त र जिमिदार मनिहारको स्वास्नी फहिमा समेतको बयान भनेको समेतबाट उक्त अभियुक्तहरुले गाडेको ठाउँबाट लास अरु ठाउँमा लागी दवाएमा मद्दतगार समेत देखिएकोले निजहरु २ उपर ऐं ऐनको नं. १७ को दफा ३ र नं.२५ अन्तर्गत मुद्दा चलाउने भन्ने प्रहरी प्रतिवेदन ।

          १२.  मैले भने बमोजिम पुलिसको ठाडो कागजमा लेखिएको होइन, रसुल मेरो दिदीको छोरा पनि होइन, मलाई नसुनाई कागजमा ३,४ ठाउँमा पुलिसले ल्याप्चे सही गराएको हो भन्नेसमेतको फहिमा मनहारनीले अदालतमा गरेको बयान ।

          १३.  ठाडो कागजमा लेखिएबमोजिमको सारा कुरा मैले भनेको र भनेबमोजिम लेखिएको होइन । रसुल दर्जीलाई मैले चिनेको छैन र निजलाई मारे भन्ने कुरा पुलिसम पक्राउ गरी ल्याएपछि थाहा पाएको छु । निजलाई कर्तव्य गरी मारेको वा निज काल गतिले मरेको हो सो समेत मलाई थाहा छैन भन्नेसमेतको लंगड भन्ने अलिसेर मनिहारले अदालतमा गरेको बयान ।

          १४.  पुलिसमा गरेको कागज मैले भने बमोजिम लेखिएको ठीक छ भन्ने प्रधानपञ्च जिमिदार कुर्मीले अदालतमा गरेको बयान ।

          १५.  पुलिस कर्मचारीहरुले आफ्ना मनोमानिबाट लेखी मलाई पछि बाची नसुनाई जबरजस्ती मेरो ल्याप्चे सहीछाप गराउनु भएको हो । ०२० साल माघको ३।४ दिन बाँकी हुँदा भारतमा भएको मेरो बहिनी दासी कहार्नी विरामी भएकीले त्यहीं गई घरमा आएको २ दिन भयो । रसुलालाई मैले चिनेको छु । निजलाई मारे भन्ने कुरा पुलिसमा पक्राउ गरेपछि थाहाभयो । निजलाई कस्ले कैले के कारणबाट मारे थाहा छैन भन्नेसमेतको मनराज कहारले अदालतमा गरेको बयान ।

          १६.  मैले भने बमोजिमको व्यहोरा नलेखी नभनेको कुरा पुलिस कर्मचारीहरुले लेख्नु भएको हो । किन लेखाउनु भयो मलाई थाहा छैन । रसुल दर्जी भन्ने मानिसलाई मैले चिनेको छैन । मलाई पक्राउ गरेर ल्याएपछि निज रसुल मरे भन्ने सुनेको हुँ । निजलाई कस्ले मारे वा निज आफै हत्ते गरी मरे मलाई थाहा छैन भन्नेसमेतको प्रतिवादी वर्कत मनिहारले बाँके इलाका अदालतमा गरेको बयान ।

          १७.  पुलिसमा भएको कागज मैले भने बमोजिम लेखिएको होइन । भारत जिल्ला नालपाटा मौजे पर्सा भन्ने ठाउँमा मेरो ससुरालीमा सासु विरामी भएको खवर आई ०२० साल फाल्गुण २९ गते गई ०२१ साल बैशाख १० गते मात्र घरमा आएको हुँ भन्नेसमेतको प्रतिवादी नागेश्वर कुर्मीले अदालतमा गरेको बयान ।

          १८.  पुलिसको ठाडो कागजमा मैले भने बमोजिम लेखिएको होइन । ०२० साल फाल्गुण ४ गते भारत जिल्ला बहराइच, डाना रमेडिया, मौजे गुलरिया भन्ने ठाउँमा गहुँ काट्ने मजुरी गर्न गई ०२१ साल जेष्ठ ४, ५ गते घरमा आएको हुँ । रसुल दर्जी आफै मरेको वा अरुले मारेको हो मलाई थाहा छैन भन्नेसमेतको जिमिदार मानिहारको अदालतमा गरेको बयान ।

          १९.  ०२० साल चैत्र महिनादेखि नै आफ्नो घर लखनौमा औषधी गरी बसेकोले मैले कर्तव्य गरी मारेको होइन भन्ने कुन्नु शेषले अदालतमा गरेको बयान ।

          २०.  रसुललाई म चिन्दछु । हाल कहाँ छ थाहा छैन भन्ने निसार अहमदको बयान ।

          २१.  जुन व्यक्ति मारियो भनेको छ, सो रसुल दर्जीको लास गाडे भनेको ठाउँबाट पूर्ण लास निक्लेको नभई छालाका टुक्रा र रौं सम्म निस्केको देखिएको, वादी पक्षबाट जाँच गर्नेहरुले के कस्तो छाला हो भनी जाँच गराएको नदेखिएको र प्रकृति मुचुल्काबाट पनि उक्त निस्केको छाला रौंका टुक्रा रसुलकै हो भनी किटान गरी लेख्न भन्न नसकी बेगर हाड, छाला मात्रै रहनु असंभव छ । रौ बाँकी पनि रहन सक्छ भन्ने डाक्टरको राय भएको, लास गाडेको भए हड्डी अवश्य नै रहन पर्नेमा हड्डीहरुको नाम निसाना नै देखिंदैन र सो लास अन्यत्र लगे भन्ने यकिन हुन नआएको । जुन छालाहरुलाई रसुलको भनी रिपोर्ट दावी छ, सो छाला १।१।। महिनासम्म रहनै नसक्ने सडि गलि जाने देखिंदा यस अवस्थामा सो छाला रौं रसुलको रहेछ भन्न मिल्दैन । रसुलाई मारी गाडेको र छाला रौं निस्केको भनी पुलिसमा साविती भएको भरले मात्र प्रतिवादीहरुले रसुलको ज्यान कर्तव्य गरी मारेका ठहर्दैन भन्ने बाँके जिल्ला अदालतको ०२३।१०।१२।४ को फैसला ।

          २२.  रसुललाई कुटी मारी गाडेको हो भनी लंगड बर्कत मनिराज समेत साविती भई निजहरुले देखाएको ठाउँबाट छाला रौं समेत निस्केको हुँदा पुलिस रिपोर्ट बमोजिम अभियु्क्तहरुलाई सजाय हुनु पर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन ।

          २३.  १।११/२ महिनाभित्र हाड नरही छाला मात्र रहन समभंव छैन भन्ने डाक्टरको राय भएको र सो छाला पनि बुझिए सम्मको कुनै प्रमाणबाट रसुलकै हो भन्ने कुरा निश्चय हुन नआएकोले प्रहरी कार्यालयमा भएको साविती  कागज नै प्रमाण रसिद हुन आउने र मौका सरजमिनले पनि अभियुक्तहरु उपर तथ्यसाथ किटी पोल गर्न सकेको नभई केवल अनुमान गरी शंका गरेको र करिब १ सेर जति छाला र रौं बरामद हुन आएको भरमा कर्तव्यबाट मर्न गएको भनी ठहर गर्नु न्यायोचित नदेखिने हुँदा वारदात कायम हुनै नसक्ने भएकोले शुरु बाँके जि.अ.को इन्साफ मनासिव ठर्हछ भन्ने भेरी अं.अ.को ०२४।७।२६।१को फैसला ।

          २४. मुलुकी ऐन ज्यान सम्बन्धिका महलको १३ नं. अनुसारको सजायको दावी भएको मुद्दालाई पुनरावेदन नलाग्ने भनी हदमुनीको गरी फैसला गरेको हुँदा उक्त भेरी अञ्चल अदालतबाट भएको फैसला उपर पुनरावेदन दिन पाउने गरी यसै कार्यालयका नाउँमा पुनरावेदन म्याद दिनु भन्ने आदेश गरिपाउँ भन्ने श्री ५ को सरकारको निवेदन ।

          २५. प्रस्तुत मुद्दामा हदमुनी गरी फैसला हुनु उल्लेखित ऐनको अनुरुप नभई मुद्दा हद माथिको देखिन आएकोले पुनरावेदनपत्र दिन पाउने अनुमित दिएको छ भन्ने माननीय प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहबाट भएको आदेश ।

          २६.  हफिज दर्जीको जाहेरीलाई समर्थन गरी नागेश्वर समेतले बयान गरेको र अभियुक्त मनराज प्रहरीमा सावितभई निजले देहायको ठाउँमा छाला रौं समेत फेलापारेको हुँदा सबै अभियुक्त हरुलाई कानूनबमोजिम नै सजाय दिलाई पाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन ।

          २७. शुरु बाँके जिल्ला अदालतले रसुल दर्जी कर्तव्य भई मरेको वारदात कायम हुन नसक्ने भनी निर्णय गरेको सदर गरी भेरी अञ्चल अदालतको छिनेको मनासिव छ । वारदात कायम गर्नु हुने सहयोगी माननीय न्यायाधीश राजा इश्वरी जंगबहादुरज्यूको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) अनुसार फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री रत्नबहादुरज्यूको राय ।

          २८.  मनराज कहारले आफ्नो भाउज्यू निहुरको स्वास्नीलाई स्वास्नी तुल्याई राखेकोमा रसुल नागेश्वर निजको भाउज्यूसंग सम्बन्ध राखेको बयानहरुबाट देखिएको र निज मनराजकै भनाईमा लागी निज मर्ने रसुल दर्जीलाई मार्ने षडयन्त्र रची मारे मराएको भन्ने जाहेरवाला हफिज दर्जी व्यहोरा समर्थित गरी लंगड भन्ने अलीसेर मनिहार मनराज कहार समेतले प्रहरीमा साविती बयान । फहिमा मनिहार्नी, बर्कत, नागेश्वर कुर्मी समेतको प्रहरीमा भएको बयानमा पूर्णतया विवरण खुलेको र निजहरुको बयान अनुसार लासको छाला र रौं समेत मनिराजले देखाएको ठाउँमा भेट्टिएको, सबै सरजमिनले रौं छाला देखी शंका गरेको हुँदा रौं छाला डाक्टरी जाँच नभए पनि यदि मानिसको नभए देख्ने सरजमिनले पनि अरु कुनै किसिमको रौं छाला भए सोही बयान गर्थे, सो गरेको नभई कर्तव्यको शंका गरेकोले प्रहरीमा सावित भएको कुरामा सरजमिनको शंका वारदातको कारणबाट कर्तव्य वारदात भएको पुरा तथ्य देखिन आएकोले प्रतिवादीहरुलाई अ.बं.२०२ नं.ले झिकाई छलफल गर्नुपर्ने राय ठहराउँछु । सहयोगी माननीय न्यायाधीश रत्नबहादुरज्यूको रायसंग सहमत हुन नसकेकोले फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश राजा इश्वरी जंगबहादुर सिंहज्यूको राय भएको ०२६।९।२० को डिभिजन बेञ्चको फैसला ।

          २९.  यसमा वादी श्री ५ को सरकारको पुनरावेदनद्वारा पेश हुन आएको प्रस्तुत मुद्दामा विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको बहस समेत सुनी यो हफीज दर्जी मुसलमानको जाहेरीमा रसुल दर्जीको ज्यान मारेको छ भन्ने लेखेको र लास वेपत्ता भएको छ भन्ने हे.कं.ले जाहेर गरेको सिलसिलामा फहिमा मनिहारनिको कागज हुँदा मनराज र बर्कतले कर्तब्य गरी मारेकोमा शंका लाग्छ भनी मुचुल्का भएको र लासजाँच हुँदा माटोमा मिसिएको छाला टुक्रा टाक्री निस्केको र केश निस्केको ठिक छ । अरु हाड्डी र मासु अभियुक्तले देखाएको ठाउँमा प्राप्त नभएको, के कस्ले कहाँ लगी दवाएको वा जलाएका हुन् वा कुनै जनावरले खाएको हो हामीलाई थाहा छैन भन्ने मुचुल्का भएको नागेश्वर कुर्मी, जिमिदार मनिहारले अरुलाई वारदातमा देखाएको । तर, आफुले मारेकोमा इन्कार गरेको मनराज, वर्कत, वारदात गरेकोमा सावित भएकोले प्रहरी प्रतिवेदनद्वारा यो मुद्दा दायर भएको रहेछ । निज प्रतिवादीहरु अदालतमा आई इन्कारी बयान गरेका पुलिसमा गरेको सावितीलाई नामञ्जुरी गरेको देखिन्छ । ज्यान मारेको मात्र नभई दवाएको, गाडेको भन्ने पनि अपराध देखाएकाले गाडेको लास नै रसुललाई मारेको हो होइन भन्ने तर्क उपस्थित भएको छ । चिकित्सा विधिशास्त्र अनुसार मासु छाला भन्दा हाड पछि गल्ने हुनाले गाडेको ठाउँमा हाड नपाई छाला रौं मात्र पाएको कुराले नै यही मर्ने रसुलकै हो भनी भन्न मिल्ने देखिंदैन । कर्तव्य गरी मारेको देख्ने प्रमाण केही छैन र प्रहरीमा सावित भई निजले गाडेको भनी देखाएको ठाउँमा अनप्रतित भएकोले त्यस्तो सावितिबाट अपराध गरेको भन्न हुँदैन । मुखले मात्र पनि सावित भई कुनै मुद्दा चल्न नसक्ने हुनाले मुख सावित अपराध गर्नु यी दुई कुरा भिन्न हुन सक्छन् । मुख सावित हुँदैमा अपराध गरेको हो भनी ठहर गर्न अरु प्रमाण चाहिन्छ । यस मुद्दामा त्यस्तो कुनै प्रमाण नभएकोले यी अभियुक्तहरुले अपराध गरेको हो भनी ठहर्‍याउन मिल्दैन । ति फेला परेका रौं र छाला पनि रसुलकै हुन भन्ने चिन्न सक्ने साधन देखिंदैन । शंकाको भरलेमात्र उठानगरेको यस्तो मुद्दामा अभियुक्तहरुले सफाइपाउने ठहर्‍याएको तत्कालिन मा.न्यायाधीश रत्नबहादुरको रायमनासिव देखिन्छ ।

          ३०.  पुनरावेदन नलाग्ने भनी अञ्चल अदालतले फैसला लेखेकोलाई सर्वस्व सहित जन्मकैद गर्ने अभियोग लागेकोमा अ.बं.१८७ नं.बमोजिम साधक गर्ने र जाँच्ने दुई अड्डाको राय मिलेमा माथिल्लो अड्डामा जाहेर गर्नै पर्दैन । तर, संशोधित न्याय प्रशासन विविध व्यवस्था ऐन, २०१८ को दफा ८ (२) को खण्ड (ख) ले सर्वस्व सहित जन्मकैद हुने मुद्दामा अञ्चल अदालतबाट हदमुनी गर्न हुँदैन । पुनरावेदनको म्याद दिनु पर्छ । त्यस्तो सजाय भएकोमा मात्र पुनरावेदनको म्याद दिने नभई मुद्दाको प्रकृतिले त्यस्तो सजाय हुने मुद्दामा जिल्ला अदालतउपर अञ्चल अदालतमा र त्यसउपर यस सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्छ । यस्तो हुँदै हदमुनी गरी छिन्नु अञ्चल अदालतको गल्ती देखिन्छ । नियमबमोजिम मिसिल बुझाई दिनु ।

         

न्या.श्री झपट सिं र

न्या.नयनबहादुर

 

उक्त रायमा हामी सहमत छौं ।

 

इति सम्वत् २०२७ साल आश्विन १३ गते रोज ३ शुभम् ।