August 21, 1970
Created by nepalarchives

निर्णय नं. ५५७ – जग्गा बाली लुटपिट जालसाजी

निर्णय नं. ५५७                ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् २०२५ सालको फौज्दारी...

निर्णय नं. ५५७                ने.का.प. २०२७

फुल बेञ्च

प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री वाशुदेव शर्मा

सम्वत् २०२५ सालको फौज्दारी फुल नम्बर २८

निवेदक : पु.२ नं. भागा विता बस्ने खड्गबहादुर तामाङ्ग

विरुद्ध

विपक्षी : पू.२ नं. कालंसी बस्ने धामी भन्ने चन्द्रबहादुर तामाङ्ग समेत

मुद्दा : जग्गा बाली लुटपिट जालसाजी

(१)  प्रचलित अदालती बन्दोवस्तको १०४ नं.प्रस्तुत प्रमाण्को कागज (जस्तोः राजीनामा) को औचित्यमा मुख्य विचार गर्न परेमावादीले पेश गरेका प्रतिवादीलाई र प्रतिवादीले पेश गरेका वादीलाई उक्त कागज सक्कलै देखाई सुनाई सद्दे कीर्तेमा बयान गराई तहकिकात गर्नुपर्ने ।

          उक्त राजीनामाबाट पाएको भनी वादीले दावी गरेको जग्गामै तेरो मेरो भन्ने झैंझगडा परेको सो जग्गा वादीको हक पुग्ने हो होइन भन्ने कुराको निर्णयको लागि वादीले पेश गरेको उक्त राजीनामाको औचित्यमै मुख्य विचार गर्नुपर्ने र वादीका प्रमाणको कागज प्रतिवादीलाई, प्रतिवादीका प्रमाणको कागज वादीलाई सक्कलै देखाई सुनाई सद्देकीर्ते जे भन्छ बयान गराई तहकिकात गर्ने तत्काल प्रचलित अ.बं.१०४ नं.मा प्रष्ट व्यवस्था भएको समेत हुनाले उक्त राजीनामा प्रतिवादीहरुलई सुनाइरहनै नपर्ने भन्ने तर्कसंग सहमत हुन मिलेन ।

(प्रकरण नं. २५)

(२)  राजीनामा रसिदहरुको कुरा परस्पर नमिलेमाउक्त राजीनामा अनुसारकै जग्गाको रसिद भन्ने प्रमाणित नहुने ।

          टेकबहादुरले गरिदिएको भन्ने उक्त राजिनामाको ४ किल्ला भित्रको जग्गा वादीले भोग गरेको भन्ने कुरामा प्रतिवादी, वादीको मुख मिलेको मिसिलबाट देखिंदैन । उक्त राजीनामामा विर्तावार हरिवीर खत्री क्षेत्रीको भागको भन्ने लेखिएको रसिद भन्ने कुनै विर्तावार चित्रबहादुर खत्रीले र कुनै दामकाम गर्ने भनिएको कविराज कार्की लालसिं तामाङ्गहरुले गरी दिएको वादीबाट पेश भएको रहेछ । कविराजले गरी दिएको चाहीं रसिद एउटामा बिर्तावारले क. हरिवीर खत्रीको भागमा भन्ने र अरु दुईवटामा विर्तावार चित्रबहादुरको भाग बण्डाको भन्ने जनिएको, लालसिंले गरी दिएको चाहीं रसिद विर्तावार चित्रबहदुर भन्ने नै लेखिएकोबाट राजीनामा रसिदहरुकै कुरा परस्पर नमिलेकोले उक्त राजीनामा बमोजिमकै जग्गाको रसिद भन्ने प्रमाणित हुँदैन ।

 (प्रकरण नं. २५)

(३)  तत्कालिन प्रचलित घर बनाउनेको २१ नं. र घर बनाउनको १० नं.फ्नो जग्गामा अरुले घर बनाउँदा उपरोक्त २१ नं.को हदम्याद (साँध मिचि घर बनाएकोमा २ वर्ष, अर्काको जग्गाधनीले थाहा नपाई पक्कि घर बनेको थाहा पाएको १ वर्ष) भित्र उजूर नगरेमाउपरोक्त १० नं.बमोजिम नहुने ।

          तत्काल प्रचलित घर बनाउनेको २१ नं.मा साँध मिचि घर बनाएकोमा २ वर्ष भित्र, अर्काको जग्गाधनीले थाहा नपाई पक्कि घर बनेको थाहा पाएको १ वर्षभित्र नालेस नदिई नसुन्नु भन्ने व्यवस्था भएको, २०२७ सालमै वादीले घर बनाएको कुरामा उक्त ऐनको हदम्याद भित्र प्रतिवादीहरुको उजूर परेको नदेखिएकोले घर बनाउनको १० नं. ले अब प्रतिवादीहरुलाई कुनै मद्दत गर्न सक्दैन ।

(प्रकरण नं. २५)

निवेदक वादीतर्फबाट : अधिवक्ता श्री नन्दीकेशर

विपक्षी तफबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

उल्लेखित मुद्दा :

फैसला

          न्या. श्री वाशुदेव

          १.   टेकबहादुर तामाङको हक तिरो भरोको जग्गा मध्ये बिर्तावार क.प. हरिविर मार्फत तिरो रु.३।५० बुझाई निजले भोगी आएको सिंगराज घामि तामाङका घर्को सुर ठाडो पूर्व, विर्ता र ताराबहादुरको साँध दक्षिण पश्चिम ऐ.को साँध, भण्डारी गाउँ जाने त्यर्सो बाटोदेखी उत्तर यति ४ किल्ला भित्रको मकै बिज माथि ।२ कित्ता १ र बृर्षबहादुरको घर वारीमा साँधदेखि पूर्व, बलभद्रको साँधदेखि पश्चिम, ताराबहादुरको साँधदेखी दक्षिण, मुगंजाने तेर्सो बाटोदेखि उत्तर यति ४ किल्ला भित्रको मकै बिज पाथी । कित्ता १ समेत रु.९९। मा २००० साल आश्रिण ५ गते दाता टेकबहादुरले राजीनामा गरी दिई मैले भोगी आएकोमा प्रतिवादीहरुले खिचोला गरी बाली र मेरो घर भित्रको धनमालसमेत लुटपिट गरी अन्याय गरेकाले बिगो रु.८७०।५० भराई जग्गाको दावी खिचोला मेटाई पाउँ भन्नेसमेत ०१५।४।३० को खड्गबहादुरको फिरादपत्र ।

          २.   वादीको दावी लिएको जग्गा १९७९ सालदेखि सिंगराज धामी तामाङ नाउँमा धुरि दर्ता भई सो जग्गामा धुरी समेत खडा गरी तिरो मो.रु.८।१८ र घ्यू माना ।।१ विर्तावारहरुलाई तिरो तिरी भोग गरी आएको हाम्रो हकको हो । २००७ सालमा मरी सकेको टेकबहादुर दाता देखाइ जालसाजी लिखतको प्रमाण देखाई नालेस दिएको मात्र हो । वलभद्र धर्तिको बारी साँधदेखि पश्चिम, भण्डारी गाउँ नजिक डिलदेखि पूर्व माने डाँडादेखि दक्षिण, हाम्रो घरमाथिको गोरेटो बाटोदेखि उत्तर यति ४ किल्ला भित्रको जग्गा टेकबहादुरको हक भोग तिरेको टेकबहादुर मरेपछि यो वादीले भोग तिरो गरी खाई आएको छ । मरी सकेका लिखत खडा गरी उनाउ जग्गाको रसिद नकरा प्रमाण देखाई झुठ्ठा लेखेको हो । सट्टापट्टा दिन्छु, घर बनाउनसम्म घडेरी देउ, सट्टापट्टाको कागज पनि लेखी दिन्छु भनेकाले घर घडेरीसम्म दिई घर बनाएको सो घर घडेरीको सट्टा लिखत आजसम्म गरी नदिएकोले त्यसमा घर बनाउनेका १० नं. ऐनबमोजिम हुने हुनाले लुट्दै नलुटेको बिगो कसरी झुठ्ठा नालेस दिएमा वादीलाई सजाय गरी हाम्रो जग्गाको दावी मेटाई पाउँ भन्नेसमेत ०१५।६।१६।५ को चन्द्रबहादुर समेतको प्रतिवादी ।

          ३.   टेकबहादुरले वादीलाई गरी दिएको भनेको रु.९९। को २०००।६।५ गतेको राजीनामा लिखतको सालको अंक सच्चिएको भन्ने कैफियत जनिएको त्यस्तो कागज कागजजाँचको १९ नं.ले प्रमाण लाग्न नसक्ने हुँदा त्यस्तो प्रमाण लाग्न नसक्ने कागजबाट जग्गा बालीमा वादीको हक भन्न नभएको वादीबाट पेश हुन आएको रसिद हेर्दा सो रसिदमा टेकबहादुरको खड्गबहादुर भन्ने लेखिएको नदेखिई बखान सिंको खड्गबहादुर भन्ने लेखेको देखिएपछि वादी साँचो कुरामा रहेको नदेखिएको र मुख्य लिखत वादीको कायम नहुँदा जग्गा दावीमा वादीको हक नपुग्ने ठर्हछ । जग्गा वादीको नठहरेपछि बाली र घरको धन माल लुटपिट गरेकोसमेत ठहर्दैन भन्ने तत्कालीन दोलखा अ.को ०१५।६।२३।५ को फैसला ।

          ४.   उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी खड्गबहादुरको पुनरावेदन ।

          ५.   वादीले दावी गरेको रसिदमा टेकबहादुर भन्ने लेखिएको नभई औरेको लेखिएको हुनालेसमेत इन्साफसुरुका मनासिवठर्हछ भन्नेसमेत ०१५।१२।२१।६को तत्कालिन अपील दोश्रा फाँटको फैसला ।

          ६.   राजीनामा रसिदहरु समेत प्रतिवादीलाई नसुनाई हचुवा इन्साफ गरेकोले चित्त बुझेन भन्नेसमेत वादी खड्गबहादुरको पुनरावेदन ।

          ७.   झगडा परेको जग्गामा भेला भई दावीको जग्गामा घर छ, छैन भए कस्तो किसिमको घर रहेछ सरजमिनबाट खुलाउनु पर्ने खुलाई चारैतर्फ देखिने गरी अ.बं.२१५ नं.को रीत पुर्‍याई घरका हकमा सरजमिन गरी नक्सा समेत गरी पठाई दिनु भनी इलाका अदालतलाई लेखी पठाई लेखिए बमोजिमको काम तामेल भई आएपछि दावीको जग्गा साविक कस्का नाममा दर्ता छ त्यसको निस्सा लिई आउनु भनी वादीले विर्तावार देखाएको हरिबहादुरलाई दिन ७ को म्याद दिई झिकाई पेश गर्नु भन्ने तत्कालिन म.उ.अ.सिं.बे.को ०१७।३।२५।६ आदेश ।

          ८.   अ.बं.१०४ नं.बमोजिम वादीले पेश गरेका कागजहरु प्रतिवादीहरुलाई र प्रतिवादीहरुले पेश गरेको कागज वादीलाई सुनाउनु पर्ने लुटपिट मुद्दा हुँदा वादी प्रतिवादीहरुले प्रमाणमा लेखेका साक्षीहरु पछि बुझ्नु पर्ने सो र प्रतिवादीका पेटबोलीबाट देखिएका विर्तावार भनिएको चित्रबहादुर, वेदबहादुर समेत बुझ्नु पर्ने सो केही नबुझी फैसला भएको देखिएकोले मुद्दाको अंग पुगेन । सद्दे कीर्तेतर्फ समेत जो बुझ्नु पर्ने प्रमाण बुझी किनारा गरी सद्दे कीर्तेतर्फ अपील गरेमा अपील तहबाट अपील नपरे अपील अवस्था दिने म्याद गुज्रेपछि सर्वोच्च अदालतमा परी रहेको यो अपील किनारा गर्न मिसिल पठाई दिनु भनी तारेखमा रहेका अपीलाटलाई समेत इलाका अदालतमा हाजिर हुन जाने तारेख तोकी मिसिल इलाका अदालत चरिकोटमा पठाइदिनु भन्ने सर्वोच्च अदालत डि.बे.को ०१९।८।२२।६ को आदेश ।

          ९.   वादीले पेश गरेको रु.९९। को राजीनामा र रसिदहरु समेत जालसाजी कीर्ते हो भन्नेसमेत प्रतिवादी चन्द्रबहादुरको र सद्दे हो भन्ने वादीको बयान ।

          १०.  प्रतिवादीले पेश गरेको ८ थान रसिद मध्ये ह.बलभद्रले तिरो बुझी लिई गरी दिएको ०१७।११।२६, ०१५।६।१।४ को रसिदको तिरो किल्ला भित्र झगडा परेको जग्गा नपरेकोले सद्दे नै होला, चित्रबहादुरले गरी दिएको ६ थान रसिद एउटै मिलान टाँंका मसी कागजातमा लेखिएको देखिएको, लेख्ने व्यक्तिको मिलेमतोबाट एकै दिन जम्मै रसिद लेखी चित्रबहादुरलाई झुक्याई सहीछाप गराई लिएको जालसाजी कीर्ते रसिद हो सद्दे होइन भन्नेसमेत वादी खड्गबहादुरको र वादीले कीर्ते जालसाज भनेको रसिदहरु सद्दे नै हो भन्ने प्र.चन्द्रबहादुरको बयान ।

          ११.   वादीको रु.९९।को राजीनामामा साक्षीबस्ने कविराज भन्ने मै हुँ, वादीबाट तिरोबुझी रसिद गरिदिएको मैले हो लगतबमोजिमको तिरोबुझेको हो जालसाज होइन भन्नेसमेत कविराजको बयान ।

          १२.  रु.९९। को राजीनामामा साक्षी बसेको हुँ । मैले वादीसंग मिली जालसाजी गरी लिखत खडा गरेको होइन भन्नेसमेत चन्द्रबहादुरको ०२०।४।२८।२ को बयान ।

          १३   म समेत भई जालसाज गरेको होइन । ०१०।५।२२ मा तिरो मैले बुझी वादीलाई रसिद गरी दिएको सद्दे साँचो हो भन्नेसमेत लालसिं तमाङको ०२०।४।२८।२ को बयान ।

          १४.  ०१४।११।२६को र ०२४।६।१को रसिद पूर्णबहादुरलाई मैले गरिदिएको हुँ । क. वेदबहादुरको बिर्ता हुँदा तिरो उठाउने काम ०११ सालदेखि मैले गरी आएकोले तिरो मैले उठाएको हो । झगडा परेको जग्गा बण्डा हुँदा ककसका नाउँमा परेको छ । बण्डापत्र नदेखेकोले म जान्दिन । लगत बमोजिम तिरो बुझी लिई गरी दिएको रसिद सद्दे हो । जालसाजी भन्ने खड्गबहादुरको उजूर झुठ्ठा हो भन्नेसमेत बलभद्र पाध्याको ०२७।५।२८।१ को बयान ।

          १५.  राजीनामाको हस्ताक्षर मेरो हो । २,३ साल कता हो वादीले जग्गा राजीनामा गरी लिने भएको छु । खेश्रा मस्यौदा पनि गराई ल्याएको छु । लेखी दिनुस भनेबाट मैले साफी लेखी दिएको हुँ । जग्गा बिक्री गर्ने मानिस रोहवरमा नभई सही गर्दिन भनी खेश्रा सरहका लिखत खडा गरी दिएको सम्म हुँ । सो कागजमा मितिमा साल के अंकसमेत भ्रान्ति गराई सच्चाई त्यही कागजलाई सक्कल गराएको रहेछ भन्नेसमेत ह.लालबहादुरको ०२०।५।३ को बयान ।

          १६.  झगडा परेको २ कित्ता जग्गा प्र.चन्द्रबहादुरको बाबुकै पालादेखि निज प्रतिवादीहरुको हक र भोगको हो । विर्तावार म र भैयाद अंशियार चित्रबहादुरको अंश हुँदा झगडा परेको २ कित्ता चित्रबहादुरको अंशमा परी निजै चित्रबहादुरलाई तिरो बुझाई प्रतिवादीतर्फबाट भोग भएको जग्गा हो भन्नेसमेत बेदबहादुरको वा.बलभद्रले गरेको ०२०।६।१६।४ को बयान ।

          १७.  जग्गा लुटपिटतर्फ अघि नै निर्णय गरी फैसला भई सकिएकोले सर्वोच्च अदालतका आदेश बमोजिम वादीबाट पेश भएको राजीनामाका रसिद प्रतिवादीलाई सुनाउँदा प्रतिवादीले र प्रतिवादीबाट पेश भएको रसिद वादीलाई सुनाउँदा वादीले समेत जालसाजी हुन् भनी दोहरै उजुरी बयान भएकोले त्यसतर्फ आदेशानुसार इन्साफ निर्णय गर्नुपर्ने भई विचार गर्दा राजीनामा लेख्ने लिखत साक्षी र साक्षी समेत बुझेमा आसामीका भनाइ अनुसार अन्जानमा लेखे साक्षी बसेका हो भन्ने लवजको बयान गरेका, झगडा परेको जग्गा विर्तावार चित्र बहादुरको अंश प्रतिवादीतर्फबाट भोग भएको भन्ने विर्तावार बेदबहादुरको वारेसद्वारा बयान भएको प्रतिवादीका हक भोगको जग्गा बीचको टेकबहादुरले राजीनामा दिएको सो राजीनामा सद्दे भए साल मितिको अंक भ्रान्ति पार्नु नपर्ने, सो राजीनामा २००० साल आश्विन ५ गतेको भन्ने कुरा देखियो । २००० साल आविश्न ५ गते मंगलबार रोज ३ भन्ने २००० सालको पात्रोबाट देखिन्छ । सद्दे सच्चा लिखत व्यवहार भए साल, मिति, अंक, गते, बार समेत फरक नपरी मिल्नु पर्ने, नमिली गते, बार फरक परेको देखिएकोले समेत वादीले पेश गरेको उक्त राजीनामा सद्दे नेखिई नकरा जलसाजी देखिने ठहर्ने र निजै वादीबाट पेश भएका रसिदको हकमा यही जग्गाको रसिद हुन् भन्ने रसिदमा किटानी लेखाई नदेखिएको, वादीको साविक घर बारी भुमेथान माथि भन्ने प्रतिवादीको लेखाई र नक्सा नं. ५० को घर नक्सा नं.६४ को माने डाँडा लाकुरीको रुखनेरको जग्गा समेत वादीको भई सो घर जग्गाहरुको तिरो वादीले तिर्नु पर्ने वादीको ३ ठाउँको घर जग्गाको तिरो तिर्ने कलमको तिरो तिरेको देखिएकोले अरु लेखिएका जग्गा तिरो तिरेका रसिदलाई झगडा परेको जग्गाको तिरो तिरेको भन्ने कुरा वादीले प्रमाण लगाएको रहेछ भन्ने कुरा प्रष्टै देखिन आएकोले वादीले पेश गरेको रसिद झगडा परेको जग्गाको नठहर्ने र प्रतिवादी वा पेश भएको रसिद वादीले जालसाजी भनी बयान गरे पनि वादीको घर जग्गाको तिरो तिरेको रसिद प्रमाण बेगर जालसाजी भन्न नमिल्ने हुनाले सद्दे सच्चा ठहर्ने भन्नेसमेत तत्कालिन इलाका अदालत चरिकोटको ०२०।७।१८।२ को फैसला ।

          १८.  उक्त चरिकोट इ.अ.को इन्साफ चित्त बुझेन भन्नेसमेत वादी खड्गबहादुरको पुनरावेदन ।

          १९.  जग्गाको हक बेहक तर्फको कुरालाई सर्वोच्च अदालतमा दायर भइरहेको अपीलबाटै निर्णय हुने हुनाले पेश भएको लिखत जालसाजी ठहराई छिनेको इन्साफ शुरु पं. २ नं.चरिकोट इलाका अदालतको मनासिव छ भनी जालसाजीपट्टि हदमुनी गरी बागमती अञ्चल अदालतले गरेको ०२२।१२।१५।२ को फैसला ।

          २०.  लुटपिट जालसाजी कीर्ते मुद्दामा ०२२।१२।१५।२ मा बागमती अञ्चल अदालतबाट हदमुनी गरी छिनेको फैसला उपर न्याय प्रशासन ऐन, २०१८ को संशोधनका ८ को उपदफा २ को खण्ड (ग) अन्तर्गत जटिल कानूनी प्रश्न समावेश भएको मुद्दा हुँदा सर्वोच्च अदालतमा अपील गर्न पाउने अनुमति पाउँ भन्नेसमेत बिषयको खड्गबहादुरको सर्वोच्च अदालतमा निवेदन परी तत्कालीन माननीय का.मु.प्र.न्या.ज्यू समक्ष पेश हुँदा एउटै मिसिलमा २ अन्तिम फैसला गर्न अ.बं.१९२ नं. ले मिल्छ मिल्दैन भन्ने कानूनी प्रश्न उपस्थित हुन आएकोले अपील दिने अनुमति दिएको छ भन्नेसमेत २४।१।१७।४ मा आदेश भएको ।

          २१.  सद्दे लिखतलाई जालसाजी ठहराई मैले घर बनाई बसेको जग्गा समेत हराई दिएकोले इन्साफमा चित्त बुझेने भन्नेसमेत वादी खड्गबहादुरको पुनरावेदन ।

          २२.  वादीले पेश गरेको रु.९९। को राजीनामा गरी दिने टेकबहादुरको हक भोगको जग्गा राजीनामा लेखे साक्षी बसेको हौं भनी अन्तरसाक्षी समेतले भन्न नसकेको र लिखत साक्षी समेतले मैले खेश्रा सरह लेखी दिएको हुँ मिति सच्चाएको रहेछ भनी किटानी साथ बयान गरेको र यदि सद्दे व्यवहारबाट राजीनामा भए गरेको भए लिखतको मितिको अंकमा वेग्लै मसीले सच्चिनु नपर्ने, वादीले पेश गरेको उक्त राजीनामा कागज कतैबाट सद्दे नदेखिई जालसाजी ठहर्ने र वादीबाट पेश भएका रसिदहरु पनि झगडा परेका जग्गाको नठहर्ने र प्रतिवादीबाट पेश गरेको रसिदलाई सद्दे ठहराई शुरुले र बागमती अञ्चल अदालतले गरेको इन्साफ मनासिव छ । जग्गा बाली लुटपिटतर्फ पनि वादीले जुन जग्गाको बाली लुटे भनी दावी गरेको छ, सो जग्गा टेकबहादुरबाट रु.९९। मा राजिनमा गरी लिएको भनेको २००० साल आश्विन ५ गतेको सक्कल तमसुकको मितिमा बेग्लै मसीले २००० को अंक समुच्चै सच्याएको प्रष्ट देखिएको छ । त्यसरी मिति सच्चिएको सक्कल लिखतलाई तत्काल प्रचलित कागजजाँचको १९ नं. ले प्रमाण लाग्न नसक्ने कागजको भरबाट लेखिएको जग्गा बालीमा वादीमा हक पुग्छ भन्न नभएको, वादीका जग्गाको रकम कलम पनि प्रतिवादी चन्द्र बहादुरबाट भएको रसिद समेत मिसिलमा संलग्न भएको बिर्तावारले गरी दिएको रसिद प्रमाणबाट समेत देखिएको वादीबाट पेश भएका रसिदहरु हेर्दा टेकबहादुरको खड्गबहादुर भन्ने पनि लेखिएको नभई बखान सिंको खड्गबहादुर भन्ने लेखेको देखिएपछि यी वादी सद्दे साँचा कुरामा चलेका रहेछन भन्नै नहुने र मुख्य राजीनामा भनेको लिखतको अंक सच्चाइ सो लिखत कायम नहुँदा जग्गा दावीमा वादीको हकै नपुग्ने र घरको धनमाल लुटे भन्नेतर्फ जग्गै वादीको नठहरिएपछि सो घरमा वादीले कसरी धनमाल राखेका हुन् र प्रतिवादीले लुटी लगे हुन् भन्ने अनप्रतित कुरा देखिंदा जग्गामा खिचोला गरी बाली तथा घरको धनमाल समेत प्रतिवादीहरुले लगेको ठहर्दैन भनी शुरु तत्कालिन अपील दोश्रो फाँटले गरेको इन्साफ मनासिव छ भन्ने ०२४।१०।१४।१ को डिभिजन बेञ्चको फैसला ।

          २३.  सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादी खड्गबहादुरको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा जुन जग्गाको धनमाल तथा बाली लुट्यो भन्ने वादी दावी छ, सो जग्गामा बनेको घर हाम्रो हो र वादीको घर बास छैन होइन भन्ने प्रतिवादीको लिखत जिकिर नभई सट्टापट्टाको कागज लेखी दिन्छु भनेकोले घर घडेरी सम्म दिई बनाएको भन्ने कुरा प्रतिउतरपत्रमा किटानी साथ लेखिएको तर, सट्टापट्टाको सबूद प्रमाण केही नभएको सो लेखाईबाट उक्त घर जग्गा वादीकै भोग चलनमा रहेतर्फ प्रतिवादी सावित भएका देखिन आउने । ०१७।१२।१६।४ को सरजमिन मुचुल्काबाट सो जग्गा वादीले टेकबहादुरसंग २००० सालदेखि नै राजीनामा लिई ढुंगाको गाह्रो, फलेकको छानो चौडाई ९ हात र लम्बाई १७ हात भएको पक्का घर २००७ सालमै बनाइसकेको देखिनेमा घर बनेका ८ वर्षपछि र वादीको यो उजूर परेपछि पनि सो घर जग्गा उपर प्रतिवादीले उजूर गर्न नसकेको । जुन टेकबहादुरको राजीनामा लिखत जालसाजी भन्ने निर्णय भएको छ । सो लिखत जालसाज नै हो भन्ने टेकबहादुर वा निजको हक खाने कसैको बाधा बिरोध नभएको मात्र हैन खुदै प्रतिवादीले पनि निज टेकबहादुरको जग्गै छैन वादीले लिएकै होइन भन्न नसकी टेकबहादुर मरेपछि वादीले भोग गरेको जग्गा हाम्रो घर माथिको गोरेटो बाटोदेखि उत्तरमा छ भन्ने कुरा प्रतिउत्तरमै प्रष्ट उल्लेख गरेको देखिंदा स्वयं प्रतिवादीकै भनाईबाट पनि टेकबहादुरको नाउँमा जग्गा थियो र जग्गा वादीले भोग गरेकै रहेछ भन्ने कुरा स्वसिद्ध हुन आउने । त्यस्तो दुवै थर वादी प्रतिवादीको मुख एक भई वादीले टेकबहादुरको जमिन भोग गरेकै देखिन्छ र वादीले ८ वर्ष अघिदेखि घर बनाई बसेकोमा प्रतिवादीले तिरो गर्न पनि सक्दैन, सट्टापट्टाको कागज पनि आउँदैन भने सो जग्गा टेक बहादुरबाट लिएको होइन भन्न नमिल्ने । त्यस्तो उजूर बाजुर नपरेको घर बास जग्गा भएकोले प्रतिवादीले देखाएको निजका घर माथिको गोरेटो बाटोदेखि उत्तरको जग्गालाई टेकबहादुरको भन्न नमिल्ने । रसिदमा बर्खासीको खड्गबहादुर भन्ने जनिएको दाता टेक बहादुर भन्ने नदेखिएको भनी जुन तर्क उपस्थित भएको छ, त्यसमा पनि बखान सिंको छोरा टेकबहादुरको भनी वादी खड्गबहादुर पहिल्यैदेखि पुनरावेदन जिकिर लिएको देखिएको, बखानसिंका छोरा टेकबहादुर होइन वा बखानसिंबाट प्रतिवादीले हक छुट्याई लिएको हो भन्ने प्रमाण पुर्‍याउन कसैले नसकेको भएपछि झगडा परेको जग्गा अघि बखान सिंकै हकमा रहेछ भन्ने कुरा स्पष्ट हुन आउने, त्यस्तो बाबु दर्ताको जमिन टेक बहादुरले बिक्री गर्न स्वभाविकै देखिने र दर्ताबाट वादीको हक नदेखिने हो कि भन्नालाई विर्तावारबाट पेश हुन आएको विवरणपत्रमा जग्गाको नाम चौहदी नखुलेको त्यसमा वादीले मञ्जुर भई सहीछाप गरेको पनि देखिएको र आफूले भोग तिरो गरेको रसिद वादीले पेश गरेकोमा पनि प्रतिवादीका जिकिर बमोजिम सो रसिद कीर्ते जालसाज देखिन नआई सत्य व्यवहारको देखिएको, मुख्य ०७ सालदेखि वादीले घरबास गरी आएको कुरा प्रतिवादी नै सावित भइरहेको मिसिलबाट प्रष्ट देखिइरहेकोले यस्तो स्थितिमा टेकबहादुरको राजीनामा यी प्रतिवादीहरुलाई सुनाई रहनै पनि नपर्ने, देखिन आएको प्रमाण परिवन्द समेतबाट वादीको हक भोग तिरो भरोको घरबास जग्गालाई प्रतिवादीको दर्ता तिरोको ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको श्री राजप्रतिनिधि परिषदमा पेश हुँदा अध्यक्षबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२५।८।६।५ को हुकुम प्रमांगी ।

          २४.  बक्स भई आएका हुकुम बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेशगर्नु र त्यस्को निर्णय भएपछि त्यस्तो निर्णयको २प्रतिलिपी जाहेर गर्न श्री ५महाराजाधिराजका प्र.सचिवालयमा जनरल विभाग मार्फत पठाइदिनु भन्ने तत्कालीन मा.श्री प्र.न्या.ज्यूबाट भएको ०२५।।१०।२को आदेश ।

          २५. यसमा तारेखमा उपस्थित पक्षहरु रोहवरमा रही ०२७।४।३०।६ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री नन्दीकेशरले र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दाको मिसिल कागजहरु अध्ययन गरियो । झगडा परेको टेकबहादुरले आफूलाई गरीदिएको भनी वादीले प्रमाणमा पेश गरेको २०००।६।५।२ को राजीनामा प्रतिवादीहरुलाई सुनाइरहन नपर्ने भन्ने तर्क उठाइएको हकमा उक्त राजीनामाबाट पाएको भनी वादीले दावी गरेको जग्गामै तेरो मेरो भन्ने भई झगडा परेको सो जग्गा वादीको हक पुग्ने हो होइन भन्ने कुराको निर्णयको लागि वादीले पेश गरेको उक्त राजीनामाको औचित्यमै मुख्य विचार गर्नुपर्ने र वादीका प्रमाणका कागज प्रतिवादीलाई प्रतिवादीका प्रमाणका कागज वादीलाई सक्कलै देखाई सुनाई सद्धे कीर्ते जे भन्छ बयान गराई तहकिकात गर्ने तत्काल प्रचलित अ.बं.१०४नं.मा प्रष्ट व्यवस्था भएको समेत हुनाले उक्त राजीनामा प्रतिवादीहरु लाई सुनाई रहनै नपर्ने तर्कसंग सहमत हुन मिलेन । जालसाजीबाट खडा गरेको भन्ने प्रतिवादी चन्द्रबहादुरको बयान जिकिर भइराखेको उक्त राजीनामा सक्कल हेर्दा मिति हरफमा सालको अंक पुरै बेग्लै मसिले सच्याई २००० गराई छेउको सुन्नामा बाक्लो मसीको थोप्ला समेत पारी भ्रान्ती बनाएको समेत देखिन आयो । सालको अंक २००० कायम मानेमा सो २००० साल आश्विन ५ गतेमा रोज २ नपर्ने भई रोजको अंक नमिलेको भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताले बहस जिकिर लिनु भएको सो रोजको अंक नमिलेको भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनु भएको सो रोजको अंश नमिलेको भन्ने कुरा वादी तर्फका विद्वान अधिवक्ताले पनि स्वीकार गर्नुभयो । लेखक साक्षी ह.लालबहादुरको सहीछाप नभएको र निज बुझिएकोमा ०२।३ साल कता हो एकदिन यो वादीले जग्गा राजीनामा लिने भएको छ, खेश्रा मसौदा पनि गराई ल्याएको छु लेखी दिनुहोस् भनी भनेर मैले साफी गरी दिएँ । जग्गा बिक्री गर्ने मानिस रोहवरमा नभई जग्गा नचिनी मैले कसरी सहीछाप गर्नु भनी सहीछाप नगरेको हुँ । मिति अंक समेत भ्रान्ती गराई सच्चाई त्यै कागजलाई सक्कल गराएको रहेछ भन्ने बयान गरेको पाइन्छ । दुवैथर वादी प्रतिवादीको मुख एक भई वादीले टेकबहादुरको जमिन भोग गरेकै देखिने भन्ने तर्क उठाइएको हकमा टेकबहादुरले गरीदिएको भन्ने उक्त राजीनामाको ४ किल्ला भित्रकै जग्गा वादीले भोग गरेको भन्ने कुरामा प्रतिवादी वादीको मुखमिलेको मिसिलबाट देखिंदैन । उक्त राजीनामामा विर्तावार हरिवीर खत्री क्षेत्रीको भागको भन्ने लेखिएको रसिद भने कुनै विर्तावार चित्रबहादुर खत्रीले र कुनै दामकाम गर्ने भनिएको कविराज कार्की, लालसिं तामाङहरुले गरी दिएको वादीबाट पेश भएको रहेछ । कविराजले गरी दिएको चाहि रसिद एउटामा विर्ताबारले क.हरिवीर खत्रीको भागमा भन्ने र अरु दुइवटामा विर्तावार चित्र बहादुरको भाग बण्डाको भन्ने जनिएको लालसिंले गरी दिएको चाही रसिदमा विर्ताबार चित्रबहादुर भन्ने नै लेखिएकोबाट राजीनामा रसिदहरुकै कुरा परस्पर नमिलेकोले उक्त राजीनामा बमोजिमकै जग्गाको रसिद भन्ने प्रमाणीत हुँदैन । उता प्रतिवादीहरुपट्टि विर्तावार चित्रबहादुरले र श्री क.वेदबहादुरको भागको भनी ह.बलभद्र पाध्याले पूर्णबहादुरबाट तिरो बुझी गरी दिएको साल सालको रसिद पेश भएको र विर्तावार चित्रबहादुरले गरी दिएको चाहिं रसिदमा खुलाएको जग्गाको ४ किल्ला नक्सामा भिडाई हेर्दा झगडा परेको नं.७७ को कित्तामा दुरुस्त मिले भिडेको देखिन्छ । तसर्थ, उपरोक्त कारणहरु समेतबाट वादीले पेश गरेको राजीनामा सद्दे मान्न मिलेन । जालसाजी ठहराइएको इन्साफ डिभिजन बेञ्चको मनासिव छ । जग्गाको हकमा जुन राजीनामा लिखतको आधारमा वादीले आफ्नो हक भएको भनी दावी गरेको हो सो राजीनामा नै जालसाजी ठहर्न आएको भए पनि झगडा परेको नं. ७८ को कित्ता मध्ये न.नं. ५० खड्गबहादुरको घरवारी ०७ सालमा बनेको भन्ने नक्सामा जनिएको र घर बनाउन सम्म घडेरी देउ सट्टापट्टाको कागज लेखी दिन्छु भनेकाले घर घडेरीसम्म दिई घर बनाएको सट्टापट्टाको लिखत आजसम्म गरी नदिएको भन्नेसमेत प्रतिउत्तरपत्रमा उल्लेख गरी आफूले जग्गा दिई वादीलाई घर बनाउन दिएको भन्ने कुरा प्रतिवादीले स्वीकारै गरेको समेत देखिन आयो । सट्टापट्टाको लिखत आजसम्म गरी नदिएकोले घर बनाउनेको १० नं.बमोजिम हुने भन्ने प्रतिवादी जिकिर भए पनि तत्काल प्रचलित घर बनाउनेको २१ नं.मा साँध मिची घर बनाएकोमा २ वर्षभित्र अर्काको जग्गाधनीले थाहा नपाई पक्कि घर बनेको थाहा पाएको १ वर्षभित्र नालेस नदिए नसुन्नु भन्ने व्यवस्था भएको ०७ सालमै वादीले घर बनाएको कुरामा उक्त ऐनको हदम्याद भित्र प्रतिवादीहरुको उजूर परेको नदेखिएकोले घर बनाउनेको १० नं. ले अब प्रतिवादीहरुलाई कुनै मद्दत गर्न सक्दैन । यस स्थितिमा उपरोक्त घरमा वादीको हक नलाग्ने भन्न नमिल्ने समेत हुँदा सो घर र तत्काल प्रचलित घर बनाउनेको १ नं.मा व्यवस्था भए सरह सो घरको बलेनी भित्रको औ दलान भएपट्टि आँगनको लागि १० हात जग्गा सम्ममा वादीको हक कायम हुन्छ । अरु जग्गा र बाली धनमाल लुटपिट समेतमा वादीको दावी पुग्न नसक्ने ठहराई ०२४।१०।१४।१ को डिभिजन बेञ्चले छिनेकोसंग मेरो राय सहमत हुन्छ । डिभिजन बेञ्चको इन्साफमा केही परिवर्तन भएकोले इन्साफ दोहर्‍याएमा निवेदक वादी खड्गबहादुर तामाङलाई केही गर्नु पर्दैन । नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

प्र.न्या.श्री रत्नबहादुर विष्ट र

न्या.श्री नयनबहादुर

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल भाद्र ५ गते रोज ६ शुभम् ।