July 28, 1970
Created by nepalarchives

निर्णय नं. ५५५ – ज्यान

निर्णय नं. ५५५                 ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२६ सालको फौ.फु.नं. ३५ पुनरावेदक ...

निर्णय नं. ५५५                 ने.का.प. २०२७

फुल बेञ्च

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०२६ सालको फौ.फु.नं. ३५

पुनरावेदक  : पाल्पा जोगेपनि, बडहर बोट घर हाल पाल्पा केन्द्रिय कारागारमा थुनामा रहेका ज्ञानबहादुर कार्की समेत

विरुद्ध

विपक्षी : श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)   अरुले कुटेको स्वीकार गरेमासर्जमिनहरु कसैले कुटेको देखेको र कसैले सुनेको भनेमालासजाँच मुचुल्काबाट मर्नेको शरीरमा भए परेको देखिएको घाखत निलडाम अरु नै कुनै किसिमबाट भएको भन्ने सबूद पुर्‍याउन नसकेमाकुट्दा प्रयोगमा ल्याइएको भनेको पदार्थ फेला परेमा कुटेकोमा इन्कार गरे पनि कुटपिट गरेकै ठहरिने ।

            सर्वप्रथम मर्ने गुनेलाई प्रतिवादीहरुले कुटपिट गरे नगरेको के रहेछ भन्नेतर्फ हेर्दा प्रतिवादी साईलो भन्ने लालसिं कामी आफूले कुटेको होइन भनी इन्कार गरेको भए पनि ज्ञानबहादुरको घरमा गुनेलाई लगी भवी सर्केनीको रुपैयाँ चोरी गरेमा खारखेर गरी ज्ञानबहादुरले कुटेको भन्ने कुरा स्वीकारै गरेको देखिन आयो । मौका सरजमिनमा बुझिएका कसैले पनि प्रतिवादीहरुले कुटेको होइन भन्न नसकी नन्दबहादुर सार्कीले ०२३ साल पौष ८ गते गुनेलाई डोरीले खामोमा बाँधी ज्ञानबहादुरले कोर्राले र साइलो कामीले आफुले लगाएको जुत्ता समेतले कुटेको देखेको भनी किटानी साथ र अरु सरजमिनहरुले कुटपिट गरेको सुनेको समेत भनी शंका गरी लेखिदिएको पाइन्छ । लासजाँच मुचुल्काबाट मर्ने गुनेको अंग शरीरमा भए परेको देखिएको घाखत निलडामहरु अरु नै यो यस किसिमबाट भए परेको भन्ने सबूद पुर्‍याउन प्रतिवादीहरुले नसकेका र खामोमा बाँधी सिस्नाको मुठो समेतले कुटेको भन्ने भनाई भएकोमा मौका तहकिकात हुँदा बाँधेको भन्ने खामो नगिच सिस्नाको आँठो फ्याँकी राखेको पनि फेला परेको समेत उपरोक्त प्रमाणहरुबाट मर्ने गुनेलाई प्रतिवादी ज्ञानबहादुर कार्की, लालसिं कामीहरुले कुटपिट गरेकै सिद्ध हुन आउने हुँदा प्रतिवादीहरुले कुटपिट गरेकै ठहराएको सम्म माननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको राय मनासिव छ ।

(प्रकरण नं. १३)

(२)   ज्यान सम्बन्धीको ५ नं.ज्यान लिने इवीलाग मनसाय नभई अरु अपराध (चोरी) मा सावित गराउन साधारण कुटपिटसम्म गरेमापछि केही भई कुटाएर बस्ने व्यक्ति मरेको देखिएमाउक्त कुटपिटको घाखतको रुपबाट मर्ने जस्तो नदेखिएमात्यसैद्वारा मर्न गएमाभवितव्य ठहरिने ।

            उक्त ज्यान सम्बन्धीको ५ नं.मा ज्यान लिने इवीलाग वा मनसाय नभई कसैले आफुले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठर्हछ भन्ने उल्लेख भएको र प्रस्तुत मुद्दाको घटनालाई विचार गर्दा ज्यान लिने इवीलाग मनसाय नभई चोरीमा सावित गराउन साधारण कुटपिटसम्म भए गरेकोमा, पछि केही भई मरेको भन्ने देखिने र सो कुटपिटको घाखतको रुपबाट मर्ला जस्तो नदेखिएकोबाट त्यसैद्वारा मर्न गएको यस्तो घटना उक्त ज्यानसम्बन्धीको ५नं.अन्तर्गत नै पर्न आउने देखिएकोले उक्त ५ नं.अनुसार भवितव्य ठर्हछ ।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट : अधिवक्ता श्री लबदेव भट्ट

वादी श्री ५ को सरकारतर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल

उल्लेखित मुद्दा :

फैसला

            न्या. श्री हेरम्बराज

            १.     ०२३ साल पौष ८ गतेका दिन पाल्पा जोगेपनि गम्बा बस्ने माइलो भन्ने सार्कीको स्वास्नी नाम नजानेकी सर्केनीले घरको नगद चोरी भएको गुने सार्कीलाई अभियोग लगाई वडा सदस्य ज्ञानबहादुर कार्कीको घरमा लगी निज ज्ञानबहादुरले र साइलो कामी, कान्छो सार्की समेत भई गुनेलाई नाम्लाले बाँधी खारखेर गर्दा निज गुनेले मैले चोरेको छैन भनी इन्कार गर्दा नकुटी सावित हुँदैन कुट्नु पर्छ भनी साइलो कामीले र कान्छो सार्कीले लात्तीले र ज्ञानबहादुरले घोडा पिट्ने छालाको कोर्राले कुटपिट गर्दा गुने बेहोस भएको कुरा म सेतीले थाहापाई पोइल गएकी आमा भएपनि छोराको मायाले गर्दा ज्ञानबहादुरको घरमा गइहेर्दा नाम्लाले बाँधी राखेको देखी के कति दण्ड तिर्नुपर्छ भनी सोधनी गरी रु.१५। दण्ड तिर भनेकोले रु.१५। ज्ञानबहादुरलाई दिई छोरो गुनेलाई डोर्‍याई घरमा ल्याई सोधपुछ गर्दा लेखिएबमोजिम कुटपिट भएको कुरा गुनेले भनेको र ऐ.१८ गते म सेतीले गुनेलाई बोकी म सालिकरामको घरमा ल्याई दिएकीले कुटपिटको चोट निको नभई उठ्न नसकी ०२३ साल पौष २२ गते मरेकोले दरखास्तगर्न आएका छौं । विपक्षीहरुलाई पक्राउ गरी ऐन बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको सालिकराम सार्की सेती सर्केनीको ०२३।९।२५।२ को एउटै दरखास्त ।

            २.    गुनेलाई सास्ती सासना दिई बाँधछाँद गरी ज्ञानबहादुर कार्की, कान्छो सार्की, साइला कामीले कुटपिट गरेका कारणबाट पौष २२ गते गुने मरेको हो भन्नेसमेत नन्दबहादुर सार्कीले किटानी साथ सरजमिन बकी दिएको । लासजाँच हुँदा कालो निलोडाम भए परेको देखिएको समेतबाट ज्यान सम्बन्धीको ९नं.ले ज्ञानबहादुर कार्की, साहिलो कामीकान्छो भन्ने खानबहादुर सार्कीलाई ज्यानसम्बन्धीका १३(३) बमोजिम जन्मकैदको सजाय हुने समेत माग गरिन्छ भन्नेसमेत २०२३।१०।१६ को पब्लीक प्रोसिक्यूटर र प्रहरीको प्रतिवेदन ।

            ३.    कुटपिट भएको भनेको दिन भन्दा अगावै ०२३ साल पौष ४ गते लुम्बिनी तप्पे सक्रौन मौजे पश्चिम अमवामा छोरा ददीरामको जिमिदारी भएकोले गएको ज्वरो आएकोले लुम्बिनी हेल्थ सेन्टरमा पुगी ऐ.पौष २९ गतेसम्म औषधी गराई बसेको हुनाले म समेत भई कुटपिट गरेको हैन भन्नेसमेत ज्ञानबहादुर कार्कीको इन्कारी बयान ।

            ४.    ०२३ साल पौष ८ गते विहान बाली उठाउन भनी गएको त्यसै फर्की ज्ञानबहादुर कार्कीको घरमा बिहान ८ बजे पुग्दा भवी सर्केनीको घरमा रुपैयाँ चोरी गरेको भन्ने कुरामा गुने सार्कीलाई ज्ञानबहादुरको छोरा ददीरामको मकैको सुली खाँबामा बाँधी राखेको र ज्ञानबहादुर, पुड्के कामी, चुडामणी सार्की, ताराप्रसाद घिमिरे, खानबहादुर सार्की सो ठाउँमा रहेछन्, प्र.ज्ञानबहादुरको अगाडि घोडालाई पिट्ने कोर्रा राखी छाडेको थियो, म पुग्दा नन्दबहादुर सार्की पनि ददीरामको श्रीमतिलाई रुपैयाँ बुझाउन भनी आएको रहेछ, ज्ञानबहादुरले कारकेर गर्न लागेका थिए । गुनेले चोरेको छैन भनी भन्दा ज्ञानबहादुरले ३।४ लपेटा कुटे सावित नभएको हुनाले यसलाई सिस्नाले कुट्नु पर्छ काटी ल्याउ भनी भनेका थिए । म फर्की आएं, मैले कुटेको छैन, निज गुने के भई मरेको हो म जान्दीन भन्नेसमेत साइलो भन्ने लालसिं कामीको बयान ।

            ५.    खानबहादुर सार्की फिराद हुँदा निजको हकमा मुलतवि रहन र ज्ञानबहादुर र लालसिंको हकमा लासजाँच मुचुल्का डाक्टरको प्रतिवेदन सरजमिन भनाई समेतबाट ज्ञानबहादुर, लालसिंले कुटपिट गरी सो चोटबाट थला परी २१ दिनभित्र मरेको देखिएकोले निजहरुलाई ज्यानसम्बन्धीको १४ नं. ले ज्ञानबहादुर लालसिंलाई १० वर्षका दरले कैद गर्ने भन्ने ठहर गरी ज्यान सम्बन्धीको ६ नं.बमोजिम २ वर्ष कैद रु.५०० जरिवाना गर्ने राय समेत लगाई जाहेर गरेको पाल्पा जिल्ला अदालतका २०२५।३।१९।३ को फैसला ।

            ६.    मौका घाजाँच गराएको समेत छैन । अपराध ठहराएको इन्साफ चित्त बुझेन भन्नेसमेत प्रतिवादी ज्ञानबहादुर र लालसिंको एउटै पुनरावेदन ।

            ७.    ज्यान सम्बन्धीका ६ नं.बमोजिम सजाय गर्ने राय लगाई जाहेर गरेकोमा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारको पुनरावेदन ।

            ८.    कुटपिटको मौकामा घाजाँच गराएन भन्दैमा सफाई पाउँछ भन्न मनासिव नपरेकोले ज्ञान बहादुर, लालसिंको पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यानसम्बन्धीको ६नं.को दफा ४ बमोजिम जरिवाना गर्न १८८ नं.ऐनले जन्मकैद गर्नुपर्ने मुद्दामासम्म राय लगाउन पाउने । कैद वर्ष १० (दस) गर्ने गरेकोमा राय लगाउने व्यवस्था नदेखिनाले राय लगाएको लाग्दैन, इन्साफ शुरुको मनासिव भन्नेसमेत लुम्बिनी अञ्चल अदालतको २०२६।१।३।३ को फैसला ।

            ९.    कुटपिटको २० र २१ नं.बमोजिम जाँच गराउन समेत नसकेको कुरामा कसूर ठहराएको हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत ज्ञानबहादुर र साहिलो कामी भन्ने लासिं कामी समेतको एउटै पुनरावेदन ।

            १०.    गुने सार्कीका अंगमा निल डाम सहितका विभिन्न आकार प्रकारका घाउ चोट निल डाम लासजाँच प्रकृति मुचुल्काबाट देखिएको र सो घाउ चोट कुटपिटको वारदात भएपछि पर्न गएको कतैबाट पनि नदेखिएको, सिस्नोको आँठोले कुटपिट गरे भनेको खामोका २ हात नेरबाट सिस्नोको मुठ्ठा बरामद भएको र बुझिएका सरजमिन कसैले पनि ज्ञानबहादुर समेतको कर्तव्य होइन भनी बकी लेख्न नसकेको, त्यस्को विपरित सबैले निजसमेत उपर शंका गरेको सो वारदात भएका दिन पछि ज्ञानबहादुर र लालसिं खानबहादुर गाउँ घरमा नभई भागी गएको भन्ने अधिकांश सरजमिनले लेखिदिएको कसूर वारदात गरेको नभए भागी जानुपर्ने कारण केही नेदेखिएको, ज्ञानबहादुर रुपन्देहि तप्पे सक्रौन मौजे अथवा लेखी केही टाढा हेल्थ सेन्टरमा औषधी उपचार गराउँदै रहेको भन्ने कुरा भवी सर्किनी, नन्दबहादुर सार्की, लालसिं सार्की समेतको बकपत्रबाट म समर्थित हुन नआएकोले निज बारदत भई भए रहेको र कुटपिटको काममा सक्रिय भाग लिएको देखिएको सो कटुपिटको वारदातका दिनदेखि ऐनका म्यादभित्रै गुने मर्न गएको र अन्य कारणबाट निजको मृत्यु भएको कतैबाट समर्थित हुन नआएकोले समेत पं.स.को हैसियतले चोरी गर्ने भनिएका गुने सार्कीलाई खारखेर गर्ने उद्दृेश्यले पुनरावेदक ज्ञानबहादुर समेतले गुने चोरीमा सावित नभएको कारणबाट उठेको रीस थाम्न नसकी कोर्रा र सिस्नुले खामोमा बाँधी कुटेको चोट पिरबाट ऐनको म्यादभित्रै मर्न गएको देखिएकाले ज्यान सम्बन्धीका १४ नं.बमोजिम पुनरावेदक ज्ञानबहादुर समेतलाई कैद कर्ष १० गर्ने ठहराएको इन्साफ लुम्बिनी अञ्चल अदालतको मनासिव देखिंदा सफाई दिनेराय गर्नुहुने सहयोगी मा.न्यायाधीश राजा इश्वरीजंगबहादुर सिंहसंग रायसहमत हुन नसकेकोले स.अ.नियमावली, ०२१ नियम ३३ बमोजिम निर्णयकालागि फुल बेञ्चमा पेशगर्नु भन्ने मा.न्या.श्री रत्नबहादुर बिष्टको राय,

            ११.    मुख्य यो मर्ने गुने १४ वर्ष उमेरको मानिस रहेछ । दोश्रो कुटपिट भएको ठाउँमा अस्पताल र पुलिस थाना भएको तानसेन बजार ४।५ माइल टाढा रहेछ । मरणान्त हुने गरी कुटपिट गरी हिंड्नै नसकी बोकी लगेको भए कुटपिट महलको २० नं. अनुसार घाजाँच गराएको हुनुपथ्र्यो । पुलिस समक्ष पनि मेरो छोरालाई मर्ने बाँच्ने दोसाँधमा पारी दिए भनी दरखास्त दिएको हुनुपर्ने । सो पनि भएको देखिएन । मृत्यु भएपछि ३ दिनमा दरखास्त परी घाजाँच भएको देखिन्छ । १४ वर्षको नाबालकलाई सावित गर्ने सिस्नु लगाई चोरी गरेको भए सावित हुन पनि सक्ने, कोर्रा जुत्ता ठोक्न पर्ने देखिंदैन । जाहेरी दरखास्तमा मर्नेकी आमा सेती सर्केनीले छोरालाई ज्ञानबहादुरको घरबाट डोर्‍याएर ल्याए भन्ने र पछि अदालतमा बयान गर्दा बोकेर ल्याएं भन्ने लेखिएको देखिन्छ । ज्ञानबहादुरले घोडाको कोर्राले सकभर बल लगाएर पिटेको भन्ने नन्दबहादुरको व्यहोरा ज्ञानबहादुरलाई फँसाउने नियत देखिन्छ । ज्ञानबहादुर पञ्चायतको सदस्य ६५ वर्षको मानिसले जोरसंग कोर्रा ठोक्यो होला र त्यस्ता नाबालकलाई थला पार्‍यो होला भन्ने कदाचित पत्यारलायक देखिएन । फेरि सरजमिनमा कुटेकी देखें भन्ने नन्दबहादुरले सरजमिनमा ददीरामका आँगनमा कुटेको भन्ने र बयानमा ज्ञानबहादुरको घर आँगनमा ज्ञानबहादुरले कमसेकम २० कोर्रा हानी पिट्दा पिट्दा थाकेको भन्ने र बयानमा यति चोटको भन्ने सक्दिन भन्ने पृथकपृथक बयान भएका देखिएको र यो मर्ने गुनेसंग कुनै किसिमको रीस इवी थियो भन्ने मिसिलबाट देखिएन । तसर्थ, यो पञ्चायतको सदस्य ज्ञानबहादुरलाई फँसाउनको लागि परिपञ्च रची कुनै प्रकारबाट वा चोट लागी मरेको लासमा कुनै बनावटी घाखत लेखिएको भन्ने पूरा शंका देखिनाले कर्तव्य भई मरेको भन्न मिल्दैन । ज्यानसम्बन्धी १० नं. ले सजाय हुने ठहर गर्नुभएको सहयोगी मा.न्यायाधीशसंग मेरो रायसंग सहमत भएन भन्ने माननीय न्या.श्री राजा इश्वरीजंगबहादुर सिंहको राय भएको ०२६।९।१०।५ को डिभिजन बेञ्चको फैसला ।

            १२.   उक्त प्रतिवादी अभियुक्तहरुको मर्ने गुने सार्कीलाई ज्यान मार्नाको मनसाय र ज्यान लिनु पर्नेसम्मको इवि भएको भन्ने प्रस्तुत मिसिलबाट देखि नै नआएको र ज्यान सम्बन्धीको १४ नं.बमोजिमको थाम्न नसक्ने रीस उत्पन्न भएको अवस्था र त्यस्तो अवस्थामा कुटपीट गरेको भन्ने नदेखिएको । चोरी गरेको कुरामा खारखेर गर्दा कुटपिट गरेको र ०२३।९।८ मा कुटपिट गरेकोमा ऐ.२२ गते गुने सार्की मरेको भन्ने देखिन आएबाट ज्यान सम्बन्धीको ५ नं.को अवस्था अन्तर्गत पर्न आउने भई ६ नं.अन्तर्गत सजाय हुन सक्ने यो मुद्दा देखिएकोले ज्यानसम्बन्धीको १४ नं.बमोजिम सजाय गर्न मिल्ने देखिंदैन । अतः वादी श्री ५ को सरकारतर्फका सरकारी विद्वान अधिवक्तालाई राखी छलफल गर्नुपर्ने भएकोले अ.बं. २०२ नं.र स.अ.नियमावली बमोजिम छलफलमा सरकारी अधिवक्ता उपस्थित गराउनु होला भनी महान्यायाधीवक्ताको कार्यालयलाई लेखी पठाई नियमबमोजिम पेसगर्नु भन्ने ०२७।२।२७।३ को फुल बेञ्चको आदेश ।

            १३.   यसमा ०२७।४।९।६ मा पेश भई पुनरावेदक प्रतिवादीहरुतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले र वादी श्री ५ को सरकारतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा जाहेरवाली सेतीको छोरा गुने सार्की प्रतिवादीहरुको कुटपिटको चोट पिरबाट मरेको हो होइन भन्ने कुरामा ०२६।९।१०।५ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको राय नमिलेकोबाट यसबेञ्चमा पेश हुन आएको रहेछ । सर्वप्रथम मर्ने गुनेलाई प्रतिवादीहरुले कुटपिट गरे नगरेको के रहेछ भन्नेतर्फ हेर्दा प्रतिवादी साइलो भन्ने लालसिं कामी आफुले कुटेको होइन भनी इन्कार गरेको भए पनि ज्ञानबहादुरको घरमा गुनेलाई लगी भवी सर्केनीको रुपैयाँ चोरी गरेमा खारखेर गरी ज्ञानबहादुरले कुटेको भन्ने कुरा स्वीकारै गरेको देखिन आयो । मौका सरजमिनमा बुझिएका कसैले पनि प्रतिवादीहरुले कुटेको होइन भन्न नसकी नन्दबहादुर सार्कीले ०२३ साल पौष ८ गते गुनेलाई डोरीले खामोमा बाँधी ज्ञानबहादुरले कोर्राले र साइलो कामीले आफूले लगाएको जुत्ता समेतले कुटेको देखेको भनी किटानीसाथ र अरु सरजमिनहरुले कुटपिट गरेको सुनेको समेत भनी शंका गरी लेखी दिएको पाइन्छ । लासजाँच मुचुल्काबाट मर्ने गुनेको अंग शरिरमा भए परेको देखिएको घाखत निलडामहरु अरु नै यो यस किसिमबाट भए परेको भन्ने सबूद पुर्‍याउन प्रतिवादीहरुले नसकेका र खामोमा बाँधी सिस्नाको मुठो समेतले कुटेको भन्ने भनाई भएकोमा मौका तहकिकात हुँदा बाँधेको भन्ने खामो नगिच सिस्नाको आँठो फ्याँकी राखेको पनि फेला परेको समेत उपरोक्त प्रमाणहरुबाट मर्ने गुनेलाई प्रतिवादी ज्ञानबहादुर कार्की, लालसिं कामीहरुले कुटपिट गरेकै सिद्ध हुन आउने हुँदा प्रतिवादीले कुटपिट गरेकै ठहराएको सम्म माननीय न्यायाधीश श्री रत्नबहादुर विष्टको राय मनासिव छ । मर्ने गुने सार्की सोही कुटपिटको चोट पिर निको नभई २१ दिनभित्र मरेको भन्ने देखिएको भएपछि मारौं भन्ने नियतले नै कुटेको भन्ने नभई चोरी गर्‍यो भन्ने कुरामा सावित गराउनेसम्म नियतले कुटपिट गरेको देखिन आएको र सेती समेतले पहिले दिएको जाहेरीमा सो कुटपिटको चोट पिरले उठ्न नसकी थला परेको भन्ने नभई छोरा गुनेलाई डोराई घरमा ल्याएकी भन्ने लेखेकीबाट आफै हिंडी घरमा आएको भन्ने कुरा पुष्टी हुन आउने समेत हुनाले ज्यान सम्बन्धीको ९ नं.लाग्न सक्ने अवस्था नभएको र उसैमौकामा कुनै कुरामा थाम्न नसकिने रीस उत्पन्न भई कुटपिट भए गरेको भन्ने नभएको यस्तोमा ज्यान सम्बन्धी १४ नं.अनुसार सजाय गर्न नमिल्ने समेत हुँदा उक्त ज्यान सम्बन्धीको १४ नं.लगाई प्रतिवादीहरुलाई कैद वर्ष १० का दरले गर्ने गरेको रायसंग यो बेञ्च सहमत भएन । उक्त ज्यान सम्बन्धीको ५ नं.मा ज्यान लिने इवी लाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठर्हछ भन्ने उल्लेख भएको र प्रस्तुत मुद्दाको घटनालाई विचार गर्दा ज्यान लिने इवि लाग मनसाय नभई चोरीमा सावित गराउन साधारण कुटपिटसम्म भए गरेकोमा पछि केही भई मरेको भन्ने देखिने र सो कुटपिटको घाखतको रुपबाट मर्ला जस्तो नदेखिएकोबाट त्यसैद्वारा मर्नगएको यस्तोघटना उक्त ज्यानसम्बन्धीको ५नं. अन्तर्गत नै पर्नआउने देखिएकोले उक्त५नं.अनुसार भवितव्य ठर्हछ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी देहायका मानिस के ज्यान सम्बन्धीको ६ नं. २ दफा बमोजिम कैद वर्ष २। का दरले हुन्छ । उक्त कैद वर्ष २ का दरले कायम गरी पाल्पा जिल्ला अदालतको ०२५।३।१९।३ को फैसलाले कैद वर्ष १० को दरले र लुम्बिनी अञ्चल अदालतको ०२६।१।३।३ को फैसलाले कैद वर्ष १। का दरले गर्ने गरेको लगत काटी दिनु भनी पाल्पा जिल्ला अदालतमा लेखी पठाउन का.श्रे.अ. तमा लगत दिनु । प्र.ज्ञानबहादुर कार्की ०२३।१२।२५।६ देखि र प्र.लालसिं कामी ०२४।२।२८।१ देखि पुर्पक्ष निमित्त थुनामा रहेको सोमितिबाट उक्त वर्ष २। कादरले लाग्ने ठहरेको कैद कट्टि भइसकेको देखिनाले तुरुन्त थुनाबाट छाडी दिनु भनी पाल्पा केन्द्रीय कारागारलाई लेखी पठाई दिनु……१

ज्ञानबहादुर कार्कीक्षेत्री १ लाल सिं कामी १

देहायका मासिसको, इन्साफ केही उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु ……….२

तत्कालिन पाल्पा जिल्ला अदालतका न्या. विष्णुमान सिंह राजभण्डारी १ लुम्बिनी अञ्चल अदालतका न्या. चन्द्रप्रसाद प्रधान 

नियमबमोजिम मिसिल बुझाई दिनु ……………………….३

 

न्या.श्री बब्बरप्रसाद र

न्या.श्री नयनबहादुर

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल श्रावण १३ गते रोज ६ शुभम् ।