July 31, 1970
Created by nepalarchives

निर्णय नं. ५५३ – अंश

निर्णय नं. ५५३           ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह सम्वत् २०२६ सालको दे.फु.नं. ७९...

निर्णय नं. ५५३           ने.का.प. २०२७

फुल बेञ्च

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह

सम्वत् २०२६ सालको दे.फु.नं. ७९

पुनरावेदक : लु.पु.लगनखेल बस्ने हाबु भन्ने चुर्ण शमशेरको सकार गर्ने शिलादेवी

विरुद्ध

पुनरावेदक : का.ई.भाटभटेनीको हाल कलकत्ता १२ नं. सरकस एभेन्यु बस्ने श्री ले.ज.एकराज शमशेर ज.ब.रा.

मुद्दा : अंश

(१) तत्काल प्रचलित अंशबण्डाको १६ नं.कुनै कारणले (जस्तैः सच्चोस्तना देखाउनको निम्ति) बाबुले आफूलाई प्रकाश नगरेको भन्ने उल्लेख गरी बाबुको मृत्यु पछि अंशमा हक गर्न आएमा अंश पाउन नसक्ने ।

          वादी आफैंले बाबुले प्रकाश गरी राख्नु भएको भन्न र त्यसको सबूद प्रमाण दिन नसकी आफ्नो सच्चोस्तना देखाउनका निमित्त प्रकाश गर्नुभएको थिएन भन्ने नालेसमा प्रष्ट उल्लेख गरी राखेको र प्रकाश नगरी राखेको छोराले बाबु मरेपछि मात्र अंशको हक गर्न आएमा उपरोक्त अंशबण्डाको १६ नं. ले अंश पाउन नसक्ने कानूनी व्यवस्था प्रष्ट हुँदा उपरोक्त कारणहरुबाट दावी लाग्न नसक्ने हुँदा उजूर खारेज गर्ने गरेको शुरुको सदर गरी अपील पहिलाले २०१२।३।७।३ मा छिनेको इन्साफ मनासिव छ ।

 (प्रकरण नं. १०)

वादी पुनरावेदकतर्फबाट :

विपक्षी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

उल्लेखित मुद्दा :

फैसला

          न्या.श्री इश्वरी जंगबहादुर सिंह

          १.   मेरो आमाको १२ वर्षको उमेरमा जंगिलाठ धर्म शमशेर कहाँ केटी राखेको उहाँको नाउँको नाम भैगोलिया भन्ने राखेको, उहाँको करणी बिर्यबाट मेरी आमाको गर्भ रही म जन्मेको भित्रैको पण्डित जोखेश्वरद्वारा मौसुफबाट मेरो छैठी न्वारान इत्यादि गर्न भएको, मेरो ६ वर्षको उमेरमा आमा र १४ बर्षको उमेरमा ८९ सालमा बुबाज्यू स्वर्गे हुनुभएको म दाजु एकराज शर्मा शमशेरसंग दरवार मै बसी रहेको २० वर्षको हुँदा निज दाजुले मलाई हेला नराम्रो गर्दै गएको दरवारमा टिक्न पनि मुश्कील भई ९५ साल बैशाखमा दरवार छाडी भागी यताउता घुमी रामनगर रामराजा कहाँ गई २ वर्ष बसेपछि श्री ज.नारायण शमशेर पाल्नु हुँदा उहाँले मलाई केटा केटीको अवस्थादेखि राम्रो चिने जानेकोले यो मेरो बैंसको रगत हो यसलाई म लैजान्छु भनी साथमा आफ्नो दरवार नेपाल जाउलाखेलमा ल्याइ कदरसाथ राखी मेरो ब्रतवन्ध र ले.क.चन्द्रबहादुरको नातिनीसंग विवाह गरी दिनुभएको, खास म स्वर्गीय धर्म शमशेरको छोरा हुँ । बाबुको सारा सम्पत्तिमा दावी गर्दै नालेस गर्न आएकी छु । राणाहरुका बिलासिनीतर्फबाट जन्मेको सन्तानलाई प्रख्यात गर्न प्राइमिनिस्टरले रोकावट गरी राखेकोले जन्माउनेले प्रख्यात गर्न समेत प्राइमिनीस्टरको डरले नसक्नु भएको व्यहोरा न्यायकर्ताहरुमा प्रष्ट जाहेर भएको र मेरो बुबाज्यूले मलाई आफ्नो छोरा हो भनी सारा नेपाली र राणा परिवारले समेत थाहा पाइसकेकका छन् तापनि आफ्नो सच्चोस्तना देखाउनाका निमित्त प्रचार गर्नुभएको थिएन तापनि उहाँको छिमेकी खाद्य मन्त्री सूर्यप्रसाद लगायत सारा छिमेकी बुझेमा पनि जाहेर हुने हुँदा जो बुझ्नु पर्छ बुझी अन्यायवाला एकराज शमशेरले मेरो बुबाज्यूको सारा सम्पत्ति धर्मपुत्र बनी एकलौटी खाएकोले निजबाट मैले पाउने के कति हो ऐनबमोजिम तायदाती लिई भराई दिलाई पाउँ भन्ने हापु भन्ने चुर्ण शमशेरको ०८।१।२०को फिरादपत्र ।

          २.  वादीलाई जन्माउने आमा स्वर्गवासी श्री बुबाज्यू मुमाज्यू छँदा हाम्रो घरमा नोकरी गर्न आई बसेकी थिई । हाम्रो घरको डोले जीतलाल ज्यापुसंग पल्केकी रहिछ र पेट समेत बोकेको थाहा भएपछि सोधपुछ गर्दा कायल भएकोले निज डोले र यसकी आमालाई निकाली दिएपछि निज जितलालले आफ्नो घरमा लगेको थियो । निज जितलालले आफ्नो जेठी स्वास्नीसंग मिलाई राख्न नसकेपछि हाम्रो भान्जा दिदीज्यूलाई भनी वहाँकै घरमा नोकरी राख्न लगी उहाँ राखेपछि भान्जा दिदीज्यूको घरमा यो वादी जन्मेको हो । ८९ साल कार्तिकमा भान्जाज्यू पनि परलोक भएपछि उसबखत उहाँ अरु कोही नभई नाबालक भान्जा तारकजंग र उनको भाइ मात्र भएकोले दुवै भान्जा र उनको घरको नोकर यो वादी समेत मैले राखी पाली यो वादीलाई खान लाउन दिई महिनाको रु.३। तलब दिई खान सामाको काम गराइ राखेको हो । यो वादीले राधाकृष्ण भनी नाउँ लेखाई तलब खाएको थियो । पछि नोकरी छोडी गएको हो । वादीकी आमा हाम्रो घरमा काम गर्ने नोकरी गरेकी थिई भन्दैमा यत्रो परिपाट उठाउन खोज्ने यो वादी कस्तो अत्याचारी बदमास हो । इन्साफकर्ताबाट राम्रो बिचार भई पुरा सजाय हुनुपर्छ भन्नेसमेत ले.ज.एकराज सम्शेरको ०८।१२।१५।५ को प्रतिउत्तर ।

          ३.  प.क.ज.धर्म शमशेरले प्रकाश नगरी राखेकी मेरी आमाबाट जन्मेको छोरा हुँ भन्ने वादी लेखाई देखिएको बाबु भनेका धर्म शमशेर जिवित छँदै प्रकाश गरेको भन्ने वादी लेखाई नभई प्रकाश नगरी राखेको भन्ने वादीकै लेखाई हुँदा र बाबु भनेका धर्म शमशेर र आमा समेत मरी सकेको भन्ने देखाएकोले त्यस्तो प्रकाश नगरी राखेको छोरा स्वास्नीले बाबु छँदै अंशमा हक पुर्‍याई राखेको नभए लोग्ने स्वास्नीको ५ अंशबण्डाको १६ नं. ले बाबु मरेपछि अंशमा दावा नपुग्ने हुँदा अंश पाउँ भन्ने वादी दावी पुग्न नसकी खारेज हुने ठर्हछ भन्ने रा.का.दे.पै.को ०९।२।१७।६ को फैसला ।

          ४. म दरबारमा रहे बसेमा दाजैज्यू सावितै भएको भएपछि बाहिर फेरा राखी जन्मेको प्रकाश नगरेको भन्न नहुने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

          ५. श्री धर्म सम्शेरले प्रकाश नगरी राखेको आमाबाट जन्मेका हुँ भन्ने वादी लेखाई भएकोले इन्साफ रा.का.दे.पै.को मनासिव छ भन्ने अपील पहिलाको ०१२।३।७।३ को फैसला ।

          ६. सो इन्साफमा चित्त बुझेन प्राइमिनिष्टरको इजाजत बेगर राणाको रोलमा नल्याउने भए तापनि सो रोलको प्रमोशनमा प्रख्यात नगरेतापनि छोरा हो भनी आफ्नै दरबारमा राखी न्वारान पास्नी समेत बुबा धर्मबाटै भएकोले प्रख्यात भएकै भन्नु पर्ने हुँदा मैले पाउने अंश भराई पाउँ भन्नेसमेत वादीको सकार गर्ने सिलादेवीको पुनरावेदन ।

          ७. वादीको आमा स्वर्गवासी प.क.ज.धर्म शमशेर ज.ब.रा. कहाँ बसेकी भन्ने कुरा प्रतिवादीले पनि स्वीकार गरी डोले जितलालसंग करणीमा बिग्री गर्भ रहेकोले निकाली दिएपछि जितलालको आफ्नो घरमा लगेको सौतासंग नमिल्दा भान्जा दिदीज्यूका घरमा ल्याई राखी वादी उहीं जन्मेको भन्नेसमेत प्रतिवादीको जिकिर भएकोमा सो कुराको सबूद नपुगेको र कसूर गरी निकालिएको भनेकी मानिसले प्रतिवादीकै लेखाई अनुसार पनि प्रतिवादीकै नातेदारको घरमा रही छोरा जन्माई वादी बयस्क हुँदा सम्म प्रतिवादी कै घरमा रहे बसेको देखिएको, ज.नारायण शमशेरको विवाह गराई क्षेत्री जातकि कन्यासंग वादीको विवाह भएको भन्ने कुरा ज.नारायण सम्शेरको तहवीलको हाकिम खरीदार लिलाधर बैद्य ज.म.सूर्यबहादुर शिलादेवीको माइती दिव्यबहादुर, कृष्णबहादुर समेतको बकपत्रबाट देखिएकोले वादीलाई डोले जितलाल ज्यापूको छोरा ठहराउन नमिल्ने, त्यस्तो व्यक्ति वादी धेरै समय सम्म प्रतिवादीकै घरमा रहे बसेकोले प्रकाश नहुने अवस्था समेत नहुँदा शुरु र अपीलले वादी खारेज गरेको मिलेको देखिएन । अ.बं.२०२ नम्बर बमोजिम छलफलमा प्रतिवादीलाई झिकाई पेश गर्नु भन्ने ०२५।१।६।५ को डिभिजन बेञ्चको आदेश ।

          ८.  बुझिएसम्मका मिसिल प्रमाणबाट वादी चुर्ण शमशेर मरी मुद्दा सकार गर्ने निजकी श्रीमती शिलादेवी राणालाई प्रतिवादी ले.ज.एकराज शमशेर ज.ब.रा ले अंशबण्डा दिनुपर्ने देखिन आएको हुँदा ९५ साल बैशाखमा हो गते वारको याद भएन, घर छोडी अन्त बसेको भन्ने वादी लेखाई भएको, गते खुलेको नहुँदा ९५ साल बैशाख १ गते मानु छुट्टिएको मिति कायम गर्नु मनासिव हुँदा उक्त मितिमा मानु छुट्टिएको मिति कायम ठर्हछ । सो मिति तकको अंशबण्डा गर्नुपर्ने श्री सम्पत्तिको तायदाती लिई हाजिर हुनु भनी वादी प्रतिवादी दुवै थरलाई तारेखतोकी नियमबमोजिम पेश गर्नु भनी ०२५।७।१५।५ को डिभिजन बेञ्चको आदेश ।

          ९. अंशको तायदाती फाँट लिने गरी डिभिजन बेञ्चबाट आदेश भएकोमा फुल बेञ्चबाट दोहर्‍याई निर्णय गरिपाउँ भनी प्रतिवादी श्री ले.अ.एकराज सम्शेरले चढाउनु भएको निवदेनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए फुल बेञ्चबाट रुल नियमबमोजिम गरी दोहर्‍याई निर्णय गरी दिनु भन्ने ०२६।१।५।५ को हुकुम प्रमांगी बक्स भई आएकोमा अंश मुद्दाको इन्साफ ठहर गर्न बाँकी नै रहेको डिभिजन बेञ्चको अधिकारक्षेत्रको भित्रको मुद्दामा सम्पत्तिको तायदाती फाँट लिने गरी ऐनबमोजिम कारवाईको रुपमा सम्म गरेको डिभिजन बेञ्चको आदेश मनासिव बेमनासिव भनी अहिले फुल बेञ्चबाट ठहर निर्णय गरी दिंदा पछि डिभिजन बेञ्चबाट इन्साफ ठहर गर्ने कुरामा पुरै असर पर्न जाने देखिएकोले पुनः एकपटक दोहर्‍याइ जाहेर गरी पठाउने भन्नेसमेत ०२६।५।१०।६ को फुल बेञ्चबाट आदेश भई जाहेर भई गएको श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा छोरा हो होइन भन्ने बेइज्जती मुद्दा र अंश मुद्दाको मिसिल झिकाई फुल बेञ्चबाट हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने हुकुम बक्सेको छ भनी ०२६।७।१२।३ का हुकुम प्रमांगी बक्स भई आएको ।

          १०.  यसमा तारेखमा रहेका पक्ष रोहवरमा रही ०२७।४।६।३ मा पेश भई प्रतिवादी श्री ले.ज.एकराज शेम्शेरतर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा बाबु भनेको श्री प.क.ज.धर्म शमशेर मरी सकेका भन्ने र बाबु जिवित छँदा प्रकाश नगरी राखेको भन्ने वादी लेखाई हुनाले तत्काल प्रचलित लोग्ने स्वास्नीको ५, अंशबण्डाको १६ नं.बमोजिम अंश पाउँ भन्ने दावा नलाग्ने हुँदा खारेज हुने ठर्हछ भन्ने शुरु रा.का.दे.पै.र सोही सदर गरी अपील पहिलाबाट फैसला भएको, यस प्रश्न उपर नै सर्वप्रथम विचार गर्नुपर्ने भएको छ । वादीको नालेस हेर्दा राणाहरुका विलासीनीतर्फबाट जन्मेका सन्तानलाई प्रख्यात गर्न प्राइमिनिष्टरले रोकावट गरी राखेकोले जन्माउनेले प्रख्यात गर्न समेत प्राइमिनिष्टरको डरले नसक्ने भएको भन्ने र मेरो बुबाज्यूले आफ्नो छोरा हो भन्ने सारा नेपाली र राणा परिवारले समेत थाहा पाइसकेका छन् तापनि, फ्नो सच्चोस्तना देखाउनका निमित्त प्रचार गर्नुभएको थिएन भन्नेसमेत उल्लेख गरेको देखिन आयो । तत्काल प्रचलित मुलुकी ऐन लोग्ने स्वास्नीको ५ नं.मा प्रकाश नगरी बाहिर राखेका स्वास्नीलाई लोग्नेले तँलाई भयो भनी दिए जति पाउँछे, बढता पाउँदैन, अंशमा दैया पनि लाग्दैन भन्ने र अंशबण्डाको १६ नं.मा प्रकाश नगरी राखेका जायजन्म भएका स्वास्नीले वा उसबाट जन्मेको छोराले अथवा आमा छोरा दुवै लोग्ने र जन्माउने बाबु छँदै अंशमा हक पुर्‍याई राखेको रहेछ वा उजूर परी हक पुग्ने ठहर्‍यो भने पनि ऐनबमोजिम अंशको हक पाउँछ । लोग्ने र जन्माउने बाबु मरेपछि मात्र अंशको हक गर्न आएको भए अंश पाउँदैन भन्ने व्यवस्था भएको पाइन्छ । वादी आफैंले बाबुले प्रकाश गरी राख्नु भएको भन्न र त्यसको सबूद प्रमाण दिन नसकी आफ्नो सच्चोस्तना देखाउनका निमित्त प्रकाश गर्नुभएको थिएन भन्ने नालेसमा प्रष्ट उल्लेख गरी राखेको र प्रकाश नगरी राखेको छोरा बाबु मरे पछि मात्र अंशको हक गर्न आएमा उपरोक्त अंशबण्डाको १६ नं.ले अंश पाउन नसक्ने कानूनी व्यवस्था प्रष्ट हँदा उपरोक्त कारणहरुबाट वादीको दावी लाग्न नसक्ने हुँदा उजूर खारेज गर्ने गरेको शुरुको सदर गरी अपील पहिलाले २०१२।३।७।३ मा छिनेको इन्साफ मनासिव छन् । कोर्टफी रहेकाले पुनरावेदन गरेवापत अरु सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

न्या.श्री हेरम्बराज र

न्या.श्री धनेन्द्रबहादुर सिंह

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल श्रावण १६ गते रोज ६ शुभम ।