July 31, 1970
Created by nepalarchives

निर्णय नं. ५५२ – बेइज्जती

निर्णय नं. ५५२           ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह सम्वत् २०२६ सालको फौ.फु.नं. ३०...

निर्णय नं. ५५२           ने.का.प. २०२७

फुल बेञ्च

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह

सम्वत् २०२६ सालको फौ.फु.नं. ३०

वादी :       ल.पु.ई. लगनखेल बस्ने हापु भन्ने चुर्णशम्शेरको सकार गर्ने शिलादेवी

विरुद्ध

प्रतिवादी : का.ई. भाटभटेनी घर भई कलकत्ता १२ नं.सरकस एभेन्यू बस्ने श्री ले.ज.एकराज शम्शेर ज.ब.रा

मुद्दा : बेइज्जती

(१)   आदेश बमोजिम गुज्रेको हदम्याद थामिने अवस्था नदेखिएमावादी कस्का छोरा हुन् भनी तहकिकात गर्न पठाउँदा अंश मुद्दापट्टि निजलाई अंश दिन नपर्ने सर्वोच्च अदालतबाट ठहराई फैसला गरेमानिज वादीलाई अंश मार्ने नियतले अर्काको छोरा भनी बेइज्जती गरेको भन्ने वादीको नालेस खारेज हुने ।

            उपरोक्त आदेश बमोजिम गुज्रेको हदम्याद थामिनसक्ने अवस्था देखिएन, पहिले शुरु र अपीलले खारेज गरेकोमा ०२६।३।१९।६ को डिभिजन बेञ्चबाट अंशमा मार्न अर्कोको छोरा भनी बेइज्जती गरे भन्ने दावी हुँदा वादी कस्का छोरा हुन ठहर तहकिकात गर्नुपर्ने, अरु बेइज्जती सरहको भनी खारेज गर्न नहुने भनी तहकिकात गर्न पठाएको हकमा अंश मुद्दापट्टि अंशमा वादीको दावी लाग्न नसक्ने हुँदा खारेज हुने ठहरी आजै यसबेञ्चबाट फैसला भएको समेत हुँदा ऐनको हदम्याद नाघी दर्ता भएको नालेस खारेज हुने ठर्हछ ।  

 (प्रकरण नं. ११)

वादीतर्फबाट :

विपक्षी तर्फबाट : अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

उल्लेखित मुद्दा :    

फैसला

            न्या.श्री इश्वरीजंगबहादुर सिंह

            १.     मेरी आमा गणेशमाया श्रेष्ठनी १२ वर्षको उमेर मै प.क.ज.धर्म शमशेर कहाँ बसी भैगोलिया भन्ने नाउँ राखेको पछि मजकुर धर्मसम्शेरका विर्यबाट मेरो आमाको गर्भ रही म जन्मेपछि छैटी न्वारान समेत गरी दिएको ज.नारायण सम्शेरद्वारा क्षेत्रीकी छोरी विवाह गरीदिएको बुबा धर्मसम्शेर स्वर्गे भएपछि वहाँको सम्पत्ति लिने धर्मपुत्र दाजु अन्यायका एकराज सम्शेरसंग अंश माग्दा नदिएकोले अंश भराई पाउँ भनी मैले देवानीमा नालिस गर्दा डोले जितलालको विर्यबाट गर्भ रही जन्मेकाले अंश दिन नपर्ने भन्ने प्रतिवादी दिनु भएछ । म खास धर्मशम्शेर कै छोरा हुँ । बुबा स्वर्गे भए तापनि वहाँको फोटो झिकी मेरो अनुहार समेत विचार भई म खुद धर्म शमशेरको छोरालाई पाप चिताई अंश मार्नका लागि ज्यापूको छोरा हो भनी प्रतिवादी दिएमा निज दाजुलाई ऐनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत चुर्णशम्शेरको ०९।४।१९।१ को फिरादपत्र ।

            २.    वादी हाम्रो घरमा जन्मेको र न्वारान छैटी यहाँ भए गरेको समेत कौनै कुरा हैन । जात भातै फरक पर्ने गरी अंश मुद्दाको प्रतिवादीमा लेखेको भनेकालाई बुबा मुमा छन्जेल कुराकानी केही नभएकोमा बुबाज्यू स्वर्गे भईबक्सेको यतिका वर्षपछि अब बुबाको छोरो भनी अर्कोको श्रीसम्पत्ति लुट्न खोज्ने वादीको अंशमा फिराद परेपछि भएको व्यहोरा प्रतिउत्तर दिएको हुँ । जन्माउने आमा समेत मरी सकेपछि अब बुबाको छोरा भनी जो भन्न आउँछ उसलाई अंश दिइरहनु कसरी निर्वाह होला, अनाहकमा दुःख दिएमा वादीलाई नै सजाय होस् भन्नेसमेत ले.ज.एकराज शमशेरको ०९।१०।२६।१ को प्रतिवादी ।

            ३.    निवेदनमा बेइज्जती गरेमा ३५ दिन भित्र नालेस दिनुपर्ने भन्ने र तोकमा व्यहोरा साँचो हो र पहिलापटक ७८ दिन भित्रको हो भने ऐनबमोजिम ७ दिनभित्र हाजिर भए रु.१। जरिवाना गरी म्याद थामी ऐन सावल बमोजिम गर्नु भन्ने भएको । सो दिन हिसाब गर्दा ८१ दिनका दिन दर्ता भएकोमा पनि बिरामी भई नालिस दिने म्याद गुज्रेको भन्ने निवेदनमा व्यहोरा साँचो भए थामी दिनु भन्ने तोक भएको निवेदन बमोजिम बिरामी भई नालिस दिन नपाएको व्यहोरा नालिस दर्ता गर्ने मौकैमा बुझी साँचो देखिए मात्र नालिस दर्ता हनु सक्नेमा व्यहोरा बुझ्दै नबुझी नालिस दर्ता गरेको गल्ती देखिएको । अंशमुद्दाको मिसिलबाट वादी तारेखमा हाजिर भई पटक पटकको तारेखमा सहीछाप गरेको तारेख भरपाईहरुबाट देखिएको विरामी भई म्याद भित्र नालिस दिन नपाएको भन्ने व्यहोरा झुठ्ठा देखिन आएको । आफुले चित्त बुझाई बेइज्जतीतर्फ नालिस नदिई चुप लागी बसी देवानीबाट अंश मुद्दा खारेज गरी फैसला भइसकेपछि अंश मुद्दामा प्रमाण पुग्ला भन्ने विचार लिइ पछिबाट व्यहोरा ढाँटी निवेदन दिँदा पनि बेइज्जतीमा ३५ दिनभित्र नालेस दिनुपर्ने भन्नेसमेत ऐन विरुद्ध लेखिदिएको समेत बुँदा प्रमाणबाट म्याद नाघी सके पछिको उजूर देखिंदा दण्डसजायको ३५ नं.ले खारेज हुने ठर्हछ भन्ने रा.का.फौ.अ.को ०१०।१०।९।६को फैसला ।

            ४.    खारेज हुन नसक्नेमा खारेज गरी दिएकोले चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

            ५.    गाली बेइज्जती गरेमा सोही महलको म्यादभित्र उजूर गर्नुपर्ने सो गरेको नदेखिएको र उजूर गर्ने म्याद थमाउँदा पनि ७८ दिन भित्रको भए थामिदिनु भन्ने आदेश हिसाब गर्दा ८१ दिन भएकाले बढी म्याद अड्डैबाट थमाई इन्साफ गर्न बाधा परेकोले इन्साफ शुरुको मनासिव छ भन्ने अपील पहिला फाँटको ०१२।२।९।२ को फैसला ।

            ६.    सो फैसला उपर पनि चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

            ७.    यो बेइज्जती मुद्दामा अंशमा मार्न अर्काको छोरो भनी बेइज्जती गरे भन्ने दावी हुँदा कस्को छोरा हुन ठहर तहकिकात गर्नुपर्नेमा अरु बेइज्जती सरहको भनी खारेज गर्ने गरेको शुरु र अपीलको फैसला बदर गरी दिने भन्ने ०१६।३।१९।६ को डिभिजन बेञ्चको फैसला ।

            ८.    अंश बेइज्जती र जालसाजी समेत मुद्दाहरु सर्वोच्च अदालतबाट हेरी पाउँ भनी वादीको मुद्दा सकार गर्ने शिलादेवीले चढाएकी निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए यस बिषयका मुद्दाहरु सर्वोच्च अदालतबाट झिकी हेरि ऐनको म्याद भित्र कारवाई किनारा गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका विशेष जाहेरी विभाग राजदरबारबाट लेखी आएको ०२४।५।२०।३ को हुकुम प्रमागी ।

            ९.    अंश मुद्दापट्टि अंशको तायदात फाँट लिने गरी डिभिजन बेञ्चबाट आदेश भएकोमा फुल बेञ्चबाट दोहर्‍याइ निर्णय गरिपाउँ भनी प्रतिवादी श्री ले.अ.एकराज शमशेरले चढाउनु भएको निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए फुल बेञ्चबाट रुल नियमबमोजिम गरी दोहर्‍याई निर्णय गरी दिनु भन्ने ०२६।१।५।५ को हुकुम प्रमांगी बक्स भई आएकोमा अंश मुद्दाको इन्साफ ठहर गर्न बाँकी नै रहेको डिभिजन बेञ्चको अधिकारक्षेत्र भित्रको मुद्दामा सम्पत्तिको तायदाती फाँट लिने गरी ऐनबमोजिम कारवाईको रुपमा सम्म गरेको डिभिजन बेञ्चको आदेश मनासिव बेमनासिव अहिले फुल बेञ्चबाट ठहर निर्णय गरी दिँदा पछि डिभिजन बेञ्चबाट इन्साफ ठहर गर्ने कुरामा पुरै असर पर्न जाने देखिएकोले पुनः एकपटक दोहर्‍याई जाहेर गरी पठाउने भन्नेसमेत ०२६।५।१८।३ को फुल बेञ्चबाट आदेश भई जाहेर भई गएको श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा छोरा हो होइन भन्ने बेइज्जती मुद्दा र अंश मुद्दाको मिसिल झिकाई फुल बेञ्चबाट हेरी कानूनबमोजिम गरी छिनी दिनु भन्ने हुकुम बक्सेको छ भनी ०२६।७।१२।३ मा हुकुम प्रमांगी बक्स भई आएको ।

            १०.    वादीको साक्षी ज.नारायण सम्शेर ज.ब.रा.सर्वोच्च अदालतबाट म्याद पठाउँदा र फौज्दारी बाट बन्दसबाल पठाउँदा हाजिर नभएको भन्नेसमेत वादीको मुद्दा सकार गर्ने शिलादेवी राणाले चढाएको ख.१७७७ को निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा अहिले नारायण सम्शेर काठमाडौंमै आइरहेको व्यहोरा साँचो भए निजलाई तुरुन्त बुझी मुद्दा पनि चाँडो किनारा गरी दिनु भन्ने ०२०।८।२४ मा हुकुम प्रमांगी बक्स भई आए बमोजिम इ.अ.का.फौ.बाट निज ज.नारायण सम्शेरको नाउँमा लु.पु.इ. जाउलाखेलको वतनमा जारी गरेको म्याद ०२०।९।१२।५ मा तामेल भएको सो म्यादमा पनि हाजिर नभई गुजारेको समेत रहेछ, मिसिलको अध्ययन गर्दा निज नबुझी नहुने मुख्य साक्षी देखिएकोले अ.ब.११५ नं.ऐनबमोजिम जो जे गर्नुपर्ने गरी झिकाई आएपछि बकपत्र गराउन नियमबमोजिम पेश गर्नु भन्ने ०२७।२।२३।६ को फुल बेञ्चको आदेश ।

            ११.    यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२७।४।६।३ मा पेश भई प्रतिवादी श्री ले.ज.एकराज शमशेरतर्फबाट विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा ऐनको हदम्याद नाघेपछि दर्ता भएको वादीको नालेस खारेज हुनुपर्ने भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताको प्रारम्भिक बहस जिकिर उपर नै सर्वप्रथम विचार गर्नु परेको छ, म धर्म शमशेरको छोरालाई ज्यापुको छोरा गराई अंश मुद्दापट्टि ज.एकराज सम्शेरले दिएको उत्तरको नक्कल २००८ साल चैत्र १६ गते दिएबाट थाहा भएको ३५ दिन भित्र नालिस दिनुपर्नेमा बिरामी भई गुज्रेकाले थामी पाउँ भनी वादी चुर्ण शमशेरले चढाएको निवेदनपत्रमा व्यहोरा साँचो हो र पैला पटक ७८ दिन भित्रको हो भने ऐनबमोजिम ७ दिन भित्र हाजिर भए रु.१। जरिवाना गरी म्याद थामी दिनु भन्ने तत्कालिन माननीय श्री प्र.न्या.बाट ०९।४।६।२ मा आदेश भई ०९।४।१९।१ मा प्रस्तुत नालेस दर्ता गरेको रहेछ, बेइज्जतीमा नालेस गर्ने हदम्यादको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन गाली बेइज्जतीको ८ नं.मा गरे भनेको २ महिनाभित्र नालिस दिनुपर्ने व्यवस्था भएको पाइयो, वादीकै लेखाई अनुसार वादीले प्रतिउत्तरको नक्कल लिएको भनेको ०८ साल चैत्र १६ गतेको मितिले हदम्याद शुरु हुने मानेको खण्डमा पनि सो मितिले ऐनको हद १ महिना अर्थात ०९ साल बैशाख १५ गते सम्ममा नालेस दिनुपर्ने हुँदा हदम्याद गुज्रेको मिति सोही ०९ साल बैशाख १५ गते नै कायम मान्नु पर्ने भयो । हदम्याद गुज्रेको थामी पाउँ भनी वादीले दिएको निवेदनपत्रमा उपरोक्त उल्लेख भए बमोजिम पहिलापटक ७८ दिन भित्रको हो भने थामी दिनु भन्ने आदेश भएकोले गुज्रेको मिति ०९ साल बैशाख १५ गतेबाट ७८ दिनभित्र निवेदन परे नपरेको के रहेछ भनी हेर्दा उक्त निवेदनपत्रको पिठमा ०९।४।२।५ लेखिएको सो मितितक गणना गर्दा ७८ दिन नाघी सकेपछि अर्थात ८१ दिनमा मात्र उक्त निवेदनपत्र परेको देखिन आएकोले उपरोक्त आदेश बमोजिम गुज्रेको हदम्याद थामिन सक्ने अवस्था देखिएन । पहिले शुरु र अपीलले खारेज गरेकोमा ०१६।३।१९।६ को डि.बे.बाट अंशमा मार्न अर्कोको छोरा भनी बेइज्जती गरे भन्ने दावी हुँदा कसका छोरा हुन ठहर तहकिकात गर्नु अरु बेइज्जती सरहको भनी खारेज गर्न नहुने भनी तहकिकात गर्न पठाएको हकमा अंश मुद्दापट्टि अंशमा वादीको दावी लाग्न नसक्ने हुँदा खारेज हुने ठहरी आजै यसबेञ्चबाट फैसला भएको समेत हुँदा ऐनको हदम्याद नाघी दर्ता भएको नालेस खारेज हुने ठर्हछ । मुद्दै खारेज हुने ठहरेकाले कसैलाई केही गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

न्या.श्री हेरम्बराज र

न्या.श्री धनेन्द्रबहादुर

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल श्रावण १६ गते रोज ६ शुभम् ।