निर्णय नं. ५४४ – लिखित पास
निर्णय नं. ५४४ ने.का.प. २०२३ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह सम्वत् २०२५ सालको...
निर्णय नं. ५४४ ने.का.प. २०२३
फुल बेञ्च
न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह
सम्वत् २०२५ सालको दे.फु.नं. ८४
निवेदक : चिसापानी पालुङ कुइभिर बस्ने बहादुर सिंको मुद्दा सकार गर्ने भिमबहादुर तामाङ
विरुद्ध
विपक्षी : ऐ.पालुङ सोल्टु गाउँ बस्ने इन्द्रबहादुर बस्नेत
मुद्दा : लिखित पास
(१) एक कागज भनी अर्कै कागजमा झुक्याई सही गराएको भनी वारेसले बयान गरे पनि जुन कागज भनी सही गराएको हो, सो कागज छुट्टै छ भनी प्रस्तुत भएकोलाई जसको वारिस हो उसैले स्वीकार गरेमा–झुक्याई सही गराएको भन्न नहुने ।
उक्त लिखित सुनाउँदा वादीको दाजु भाइ नाता पर्ने गगनबहादुर बस्नेत क्षेत्रीसंग खर चोरी मुद्दा परेको ०२४ साल फाल्गुणमा निज गगनबहादुरको घरमा लगी सो मुद्दाको मिलापत्र भनी झुक्याई सही गराएको भन्ने प्रतिवादीको वा.शेरबहादुरले बयान गरेको रहेछ । गगनबहादुर बुझिएकोमा खर चोरी मुद्दामा भएको मिलापत्र छुट्टै छ भनी ०१४।१२।६।४ को अर्को छुट्टै घरायसी मिलापत्र कागज पेश गरेको । सो कागजलाई प्रतिवादीले स्वीकारै गरी बयान गरेको समेतबाट उपरोक्त उल्लेख भए बमोजिम मिलापत्र भनी झुक्याई सहीछाप गराएको रहेछ भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
(२) एक औंठाको ल्याप्चे सही मसी बाक्लो भई अस्पष्ट र अर्को औंठाको ल्याप्चे अर्कै औंठासंग भिड्न आउँछ भन्ने विशेषज्ञको राय भएमा–कीर्ते सहिछाप हो भन्ने सबूद पुग्न नआउने।
पछि पुनरावेदन समेतमा कीर्ते भनेको हकमा विशेषज्ञलाई जचाउँदा दायाँ औंठाको ल्याप्चे सही मसी बाक्लो भई अप्रष्ट र बायाँ औंठाको ल्याप्चे सही बहादुर सिंहको बायाँ औंठाको ल्याप्चेसंग भिड्छ भन्ने राय व्यक्त गरी लेखी दिएको समेतबाट कीर्ते हो भन्ने सबूद पुग्न पनि नआएको समेत हुँदा उक्त, राजीनामा लिखत सद्दे नै ठहराए तर्फ ०२३।८।५।१ को डिभिजन बेञ्चको रायसंग यो बेञ्च सहमत हुन्छ ।
(प्रकरण नं. १५)
(३) कस्तो राजीनामा लिखत रजिष्ट्रेशन पास हुन नसक्ने ?–दर्ता बमोजिमको कुनै जग्गा दर्तावालाबाट हक छुटाई राजीनामा लिदाँ दर्ता बमोजिमको तिरो उल्लेख नभएमा एकै कित्ता मध्येको राजीनामा गरेको केही जग्गा कित्ता फोर गरी राजीनामा लिए दिएको भन्ने जिकिर समर्थित नभएमा–उक्त राजीनामा लिखत रजिष्ट्रेशन पास हुन नसक्ने ।
दर्ता बमोजिमको कुनै जग्गा दर्तावालाबाट हक छुटाई राजीनामा लिँदा दर्ता बमोजिमकै तिरो उल्लेख भएको हुनु बेगर राजीनामा लिनेको नाममा नामसारी दाखेल दर्ता हुन नसक्ने त छंदैछ । किल्लामा पनि मैले उक्त तिरो रु.।८३ दर्ताको सम्पूर्ण जग्गाको ४ किल्ला खुलाई त्यसमध्ये यो यो ४ किल्ला भित्रको यो यो कित्ता भनी उल्लेख गरेको नभई राजीनामा लिएको भनेको ३ कित्तासम्मको फरक फरक ४ किल्ला उल्लेख गरेको र जग्गाको नाम पनि घरबारी नभनी अरु नै तिनै कित्ताको फरक फरक लेखिएको समेतबाट तिरो रु.।८३ दर्ताकै एकैकित्ता मध्येको जग्गा कित्ताफोर गरी राजीनामा लिए दिएको भन्ने जिकिर समर्थित हुन पनि नसकेको समेत हुनाले तिरो रु.।६३ दर्ता मध्येको भनी उल्लेख गरेको राजीनामाबाट तिरो रु.।८३ दर्तामध्येको जग्गा राजीनामा लिए दिएको कायम हुन सक्ने देखिंदैन । तसर्थ उपरोक्त उल्लेख भएबमोजिम जग्गा तिरो समेत प्रष्टरुपले दर्तामा मिल्न भिड्न नआएको उक्त ०१६।१०।१९।३ को राजीनामा लिखत रजिष्ट्रेशनको ऐनबमोजिम रीत नपुगेको ऐनले रजिष्ट्रेशन पास हुन नसक्ने हुँदा पास गराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट
विपक्षी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त
उल्लेखित मुद्दा :
फैसला
न्या.श्री नयनबहादुर
१. अन्यायको बहादुर सिंहले ०१६।१०।१९।३ मा रु.१७०१। लिई निजका नाउँको तिरो रु.।६३ मध्ये पूर्व ठूलो बाटो पश्चिम ठाडो खोल्सो उत्तर माने डाँडो दक्षिण कृष्णबहादुरको साँध यति ४ किल्ला भित्रको साउने पाखा बारी भन्ने हल ३ को कित्ता १, पूर्व बाटो पश्चिम पूर्णबहादुरको साथ उत्तर बाटो दक्षिण बाटो यति ४ किल्ला भित्रको मसुरे बारी हल १ को कित्ता १ पूर्व मिनबहादुरको साँध, पश्चिम गगनबहादुरको साँध, उत्तर पानी लिन जाने तेर्सो बाटो, दक्षिण गगनबहादुरको गोठमा जाने तेर्सो बाटो यति चार किल्ला भित्रको देवीथान पाखा बारी हल २ को कित्ता २ को कित्ता १ समेत ३ कित्ता माथि लेखिएको तिरो मध्ये रु.।५० को जग्गा राजीनामा गरी दिएको, सो राजीनामा रजिष्ट्रेन पास गरी दिएन पास गराई पाउँ भन्ने इन्द्रबहादुरको ०१७।५।१३ को फिरादपत्र ।
२. वादी दावीको लिखत गरी दिएको होइन, वादीको दाजु गगनबहादुरसंग खर चोरी मुद्दा परेको ०१४ सालमा मिलापत्र गर्ने भनी मिलापत्र गर्ने बिषयको कुरा सुनाई सही गराई लिएको थियो । राजीनामा कागजमा सही गराएको रहेछ । झुक्याएको नभए ८/९ सालमा बेग्लै भएको छोरा पूर्णबहादुरका नाउँमा दर्ता भएको देवि थान मुसुरे लेखिनु पर्ने थिएन भन्नेसमेत बहादुर सिंहको ०१८।७।१० को प्रतिवादी ।
३. ०८९ सालमा बेग्लै बसेको छु, दावीको देवी थान मुसुरे बारी ०९६ सालको घरदरमा मेरा नाउँमा दर्ता भई ३ भाइले भोग चलन गरेको छौं, बाबुको झुक्याई गराई लिएको लिखत बदर गरिपाउँ भन्नेसमेत पूर्णबहादुरको बयान ।
४. बण्डापत्र बेगर बाबु छोरा बेग्लै भएको भन्नै नहुने, छोराको नाउँमा दर्ता भएको छ भन्दैमा छोराको हकको रहेछ भन्ने मनासिव पर्दैन, पास गरी दिनुपर्ने गरी नदिएकोले पास गराई दिनुपर्ने ठर्हछ भन्ने चिसापानी इलाका अदालतको ०१७।११।३।३ को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परेकोमा जालसाजीतर्फ इन्द्र्रबहादुर समेत जो बुझ्नु पर्ने बुझी ३ महिना भित्र तहकिकात गरी त्यसमा पुनरावेदन परे सो साथ र नपरे यो पुनरावेदन तहकिकात गर्न पठाउनु भनी मिसिल इ.अ. चिसापानीमा पठाई दिनु भन्ने जि.अ. पाटनको ०१८।४।८।१ को आदेश ।
६. प्र. बीरबहादुर बाहेक अरु प्रतिवादीहरु र साक्षीहरुबाट समेत मिलापत्र भनी राजीनामा गराएको होइन । साहू इन्द्रबहादुर ऋणी बहादुर सिंहका बिज रु.१७०१। लिनु दिनु गरी सहीछाप भएको राजीनामा सद्दे हो भनी बयान बकपत्र गरेको गगनबहादुरबाट पेश हुन आएको १४ सालको मिलापत्र बहादुर सिंहलाई सुनाउँदा हो भनी सावित बयान गरेको छ । सो कागजमा छोरा शेरबहादुर साक्षी बसेको देखिए पछि मिलापत्र भनी ०१६।१०।१९ को मिति पारी जालसाजी राजीनामा गरायो भन्ने झुठ्ठै उजूर गरेको ठर्हछ भन्ने इ.अ. चिसापानीको ०१८।७।२८।४ को फैसला।
७. उक्त लिखत मैले गरी दिएको होइन जालसाजी कीर्ते खडा गरेको हो, इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी बहादुर सिंहको ०१८।८।२८ को पुनरावेदन ।
८. ल्याप्चे सहीछाप रेखा विशेषज्ञलाई जचाउँदा सहीछाप भिड्छ भन्नेसमेत राय व्यक्त गरेको र मिलापत्र भनी झुक्याई सहीछाप गराए भन्ने जिकिर भएकोमा मिलापत्रै गगनबहादुरबाट दाखेल हुन आएको सो मिलापत्र सुनाउँदा सद्दे हो भन्ने बयान गरेको समेतबाट मिलापत्र पनि तमसुकमा सही गराएको भन्ने संकै उठेन, लिखत साक्षी समेतले व्यवहार सद्दे हो भन्ने बयान गरेको समेतबाट व्यहार सद्दे नै रहेछ भन्ने देखिन आयो । मेरो नाउँमा दर्तै नभएको २ कित्ता जग्गा लेखाई लिएको भन्ने प्र.जिकिर भएको जग्गा कसका नाउँमा दर्ता छ भनी बुझ्दा बहादुर सिंहका नाउँमा दर्ता देखिन्छ भन्ने जबाफ आएकोले समेत इन्साफ शुरुको मनासिव छ भन्ने का.जि.अ. पैलाको ०१९।१२।१४।४ को फैसला ।
९. सो उपर चित्त बुझेन भन्ने बहादुर सिंहको निवेदन परेकोमा न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०१८ को दफा १६ बमोजिम जिल्ला अदालतबाट हद मुनी गरी छिनेको मुद्दा लगत मध्ये सयकडा ५ बाट इन्साफ जाँचको निस्सा दिएको छ । दुवैपक्ष राखी डिभिजन बेञ्चमा पेशगर्नु भन्नेसमेत श्री मा.भू.पु.प्र.न्या.ज्यूको ०२०।१।१८।४ को आदेश ।
१०. रजिष्ट्रेशन पास गरिपाउँ भनी वादीले दावी लिएको राजीनामा लिखत सद्दे कीर्तेमा देखाई बयान गराउँदा चोरी मुद्दाको मिलापत्र भनी ०१४ सालमा सहीछाप गराएको कागज हो भनी सहिछापलाई सकार गरेको सो चोरी मुद्दा परेको बिषयमा भएको मिलापत्र छुट्टै पेश हुन आई सुनाउँदा सोही कागज चोरी मुद्दा सम्बन्धीको मिलापत्र सद्दे हो भनी पछि बयान गरेकोबाट चोरी मुद्दा बिषयमा ०१४ सालमा भएको मिलापत्र छुट्टै र ०१६।१०।१९।३ मा भएको यो राजीनामा लिखत छुट्टै देखियो । २ थान कागजमा मिलापत्र भनी सहीछाप गराएको थियो भन्ने प्रतिवादीका भनाई नभएको रेखा विशेषज्ञलाई जचाँउदा एउटा नबुझिने र अर्को बुझिने सहिछाप मिल्छ भनी लेखी दिएको र दायाँ बुढी औंलाको सहिछाप नबुझिएको हकमा बाँया बुढी औलाको बुझिने गरी सहीछाप गराएको लिखत तत्कालिन कागजजाँचको २० (क) नं. ले प्रमाण लाग्न सक्ने पेट व्यहोरामा एउटा सहिछाप परेको र पुछारमा लागेको २ सहीछाप पुछार हरफ भन्दा केही माथि परेकोबाट शंका गर्न पनि लिफामा सहिछाप गराइलिएको पछि राजीनामा लिखत खडा गरेछन् भन्ने जिकिर नभएकोले सहीछाप गराउँदा असावधानीले बीचमा र केही माथि पुछारमा सहिछाप लाग्न जान सक्ने त्यतिकै कारणले सोही लिखत चोरी मुद्दामा मिलापत्र भनी सहीछाप गराएको जालसाजी लिखत खडा गरेको हो भन्ने प्रतिवादीको भनाई मिल्न आएन । लिखतमा लेखिएको मध्ये २ कित्ता जग्गा छोरा पूर्णबहादुरको नाउँमा दर्ता भएको निजकै अंश हकको हो भन्ने जिकिर अनुसार किर्तिपुर माल बुझिंदा जम्मा रु.।८३ पैसा प्रतिवादी बहादुर सिंहका नाउँमा ९६ सालको घरदरमा साविक पद्मसिंह गुरुङको हाल बहादुर सिंह र त्यसपछि २००६ सालमा पनि निजै बहादुर सिंह दर्ता कायम रहेको, छोरा पूर्णबहादुरका नाउँमा दर्ता नामसारी भएकै नदेखिएको र कानूनी रीतपूर्वक अंशबण्डा गरी लिनु दिनु गरेको सबूद पनि केही दिन नसकेको गुरुङ जातको पद्म सिंबाट प्रतिवादी बहादुर सिंह तमाङका नाउँमा दर्ता हुन आएको त्यस्तो आफ्ना हकको दर्ता जग्गा निज बहादुर सिंहले बिक्री गर्दा छोरा हकदार साक्षी नराखेको सदर हुँदैन भन्ने कानूनी बन्देज केही नभएकोले तत्कालिन अ.बं.३४ र १०७ नं.ले छोरा हकदार साक्षी नराखेको एउटा सहिछाप नबुझिएकोले लिखत सदर नहुने भन्नेतर्फ र ०१६ सालको राजीनामा गर्ने मानिस २० सालमा कान आँखा कम भएको बुढो देखियो भन्ने भनाई युक्तिसंगत मान्न भएन । रु.।८३ पैसा तिरो हुनेले ।६३ पैसा मध्ये रु.।५० पैसा तिरोको जग्गा राजीनामा गरी दिएको त्यसरी मध्ये जनाई राजीनामा गरी दिन लिन पाउने र लिखतमा लेखिए बमोजिम तिरोको सम्म राजीनामा कायम हुने भएकोले उपरोक्त सबूद प्रमाणहरुबाट जालसाजी भन्ने जिकिर पुग्न नसक्ने हुँदा लिखतपास हुने ठहराई चिसापानी अदालतले छिनेको सदर गरी का.जि.अ. पैलाबाट छिनेको इन्साफ मनासिव छ भन्ने डिभिजन बेञ्चको ०२३।५।१ को फैसला ।
११. सोउपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने बहादुर सिंहको मुद्दा सकार गर्ने भिमबहादुर तमाङको निवेदन परेमा न्यायिक समितिबाट यसमा ८१ वर्षको उमेर भएको बेहोसको बाबुलाई छोरा साक्षी नराखेको फेरि दायाँ बुढी औंलाको सहीछाप नबुझिने राजीनामाको जग्गा मुसुरे देवीथान बाबुका हकको नभएकोमा झुक्याई राजीनामा गराएको देखिएकोमा सद्दे लिखत ठहराई गरेको फैसला दोहर्याई पाउँ भन्ने मुख्य निवेदकको लेखाई भएको निवेदकको बाबु बहादुर सिंहले वादीलाई गरी दिए भनेको राजीनामा हेर्दा मो.रु.१७०१। कर्जा लिए वापत चानचुन साहू तिर्न र घर खर्च गर्न कर्जा लिया सो वापत मेरा नाउँमा दर्ता भएको तिरो रु.६३ मध्येका पूर्व ठूलो बाटो पश्चिम ठाडो खोल्सो, उत्तर माने डाँडा, दक्षिण कृष्णबहादुरको साँध यति ४ किल्ला भित्रको साउने पाखी भन्ने बारी हल ३ को मैले मकै बिउ पाथी २ जाने कित्ता पूर्व बाटो, पश्चिम पूर्णबहादुरको साँध, उत्तर बाटो, दक्षिण बाटो, ४ किल्ला भित्रको मसुरे भन्ने बारी हल १ को मेलो मकै बिज पाथी १ जाने कित्ता पूर्व भिमबहादुरको साँध, पश्चिम गगनबहादुरको साँध, उत्तर पानी लिन जाने तेर्सो बाटो, दक्षिण गगनबहादुरको गोठमा जाने तेर्सो बाटो यति ४ किल्ला भित्रको देविथान पाखा बारी हल २ को मेलो मकैको ब्यू पाथी २ जाने कित्ता १ को जग्गा तिरो रु.।५० तिरोको ३ कित्ता जग्गा राजीनामा गरी दियाँ भन्ने व्यहोरा बोलि परेको देखियो । मिसिल साथ कीर्तिपुर मालबाट आएको दर्ता उतार हेर्दा पथसिंह गुरुङको हाल बहादुर सिंह लामा घर १ को सेर्मा, सोफा बलक, बेठी घुमेगजी जसमा रु.।८३ भन्ने ९६ सालमा र बहादुर सिंह तामाङ भनी सोही बमोजिम जम्मा रु.।८३ २०२६ सालमा दर्ता भएको देखिएको यस दर्ता उतारबाट घर बारी १ कित्तासम्म दर्ता भएको देखिएको त्यस बाहेक अरु फटके जग्गा दर्ता भएको देखिंदैन । घरवारी दर्तासम्म हुने बहादुर सिंहले अरु फटके मसुरे, देविथान, साउने भन्ने पाखा जग्गा बिक्री विकाता गर्न र साहूले लिन पनि नहुने कानूनमा व्यवस्थित भइरहेको त्यसमा पनि तिरो रु.।६३ दर्ता नै नदेखिएको सो रु.।६३ मध्ये रु.।५० भन्ने व्यहोराको राजीनामालाई कानून मान्न पनि नहुनेमा पनि तत्कालिन रजिष्ट्रेशनको १९ नं. र हालको रजिष्ट्रेशनको १७ नं. का ऐनले जग्गाको बिक्री गर्नेलाई दिनेलाई हकको प्रमाण अर्थात जुन जग्गा बिक्री हुने हो सो जग्गा दिनेको हक पुगेको प्रमाण वा तिरो तिरेको रसिद बेगर रजिष्ट्रेशन पास गर्नु गराउनु हुँदैन भन्ने कानूनमा व्यवस्था भइरहेको सोबमोजिम बहादुर सिंहसंग उक्त उल्लेखित जग्गाको तिरो तिरेको रसिद हकको प्रमाण कुनै दिन लिन नसकेको साथै खुशीले जानि जानि राजीनामा लिखत गरी दिएको भए ऐनबमोजिम रीत पुर्याई दिनु र लिनु पर्ने सो भए गरेको नभएको खर चोरी मुद्दाको घरसारको मिलापत्रमा छोरालाई फटके साक्षी राखेको मोरु.१७०१। लिई जग्गा राजीनामा गरी दिंदा लिंदा उमेर पुगेका छोराहरु पनि साक्षी राख्नु बस्नु पर्ने छोराहरुलाई थाहा जानक हुनुपर्ने । ८१ बर्षको बृद्ध बहादुरको कागज गराउँदा हकदार छोरा नराखेकोबाट पनि साँचो सोलत्रको व्यवहार रहेछ भन्न नमिल्ने, उसमा पनि कारणीको दायाँ हातको ल्याप्चे नबुझिने र लागेको ल्याप्चे पनि हुनुपर्ने ठाउँमा नभई अरु स्वभाविक किसिमसंग लागेको र नकेरेको ठाउँमा पनि ल्याप्चे लागेको भन्ने मिसिलबाट देखिएको साँचो र सत्य व्यवहार भए छोरा साक्षी हुन पर्ने ठिक ठिक ठाउँमा प्रष्ट रुपरेखाको ल्याप्चे सहिछाप र उल्लेखित कानूनबमोजिम प्रमाणका रसिद हुनुपर्ने फेरि लिखतमा भएको साक्षी बिरबहादुरको व्यवहार सत्य जस्तो लाग्दैन कारण मैले लिनु दिनु गरेको देखिनु सानु बाबुको भनाईबाट त्रिभुवन राजपथको बाटो सिकर कोतमा सही गरी दिएको हुँ भनी बयान गरेको साँचो व्यवहार भए दिनु लिनु गर्दा देख्ने साक्षी भनेको बिरबहादुरले त्यस किसिम बयान गर्नै नपर्ने समेतबाट प्रतिवादी जिकिर बमोजिम मिलापत्र भनी वा अरु कुनै कागज गराउँदा कुनै किसिमबाट बहादुर सिंहलाई झुक्याई राजीनामा लिखत गराई लिएको देखिएको समेत प्रमाण परिवन्दबाट उक्त राजीनामा सद्दे र रजिष्ट्रेशन पास हुने ठहराई गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिंदा दोहर्याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेका छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२५।१।१८।३ को हुकुम प्रमांगी ।
१२. बक्स भइआएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने श्री माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।१।१९।४ को आदेश ।
१३. पास गरिपाउँ भनेका धनी इन्द्रबहादुर बस्नेत क्षेत्री ऋणी बहादुर सिंह तामाङ भएको मोरु.१७०१। को मिति ०१६।१०।१९।३ को राजीनामा डिभिजन बेञ्चबाट किनारा भएपछि वादीले फिर्ता बुझी लगेका मिसिलबाट देखिएको र मकवानपुर मालमा दाखिल गरी ०२३।११।१९।६ मा पास भएको छ भनी वादी तर्फका विद्वान अधिवक्ता श्री सुधानाथ पन्थले बेञ्च समक्ष नक्कल देखाउनु भएकोले उपरोक्त मितिमा पास भएको भनेका सो सक्कलै राजीनामा मकवानपुर मालबाट झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने फुल बेञ्चको ०२६।२।२४।६ को आदेश ।
१४. यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२७।२।२३ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले र वादीतर्फबाट विद्वान अधिबक्ता श्री सुधानाथ पन्थले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादी दावीको ०१६।१०।१९।३ को राजीनामा लिखत सद्दे हो होईन रजिष्ट्रेशन पास हुन सक्ने नसक्ने के हो सो कुराको निर्णय दिनुपर्ने भएको छ ।
१५. उक्त लिखत सुनाउँदा वादीको दाजु भाइ नाता पर्ने गगनबहादुर बस्नेत क्षेत्रीसंग खर चोरी मुद्दा परेको ०१४ साल फाल्गुणमा निज गगनबहादुरको घरमा लगी सो मुद्दाको मिलापत्र भनी झुक्याई सही गराएको भन्ने प्रतिवादीको वा.शेरबहादुरले बयान गरेको रहेछ । गगनबहादुर बुझिएकोमा खर चोरी मुद्दामा भएको मिलापत्र छुट्टै छ भनी ०१४।१२।६।४ को अर्को छुट्टै घरयासी मिलापत्र कागज पेश गरेको सो कागजलाई प्रतिवादीले स्वीकारै गरी बयान गरेको समेतबाट उपरोक्त उल्लेख भएबमोजिम मिलापत्र भनी झुक्याई सहीछाप गराएको रहेछ भन्न नमिल्ने र पछि पुनरावेदन समेतमा कीर्ते भनेको हकमा बिशेषज्ञलाई जचाउँदा दायाँ औंठाको ल्याप्चे सही मसी बाक्लो भई अप्रष्ट र बायाँ औंठाको ल्याप्चे सही बहादुर सिंहको बायाँ औंठाको ल्याप्चेसंग भिड्छ भन्ने राय व्यक्त गरी लेखी दिएको समेतबाट कीर्ते हो भन्ने सबूद पुग्न पनि नआएको समेत हुँदा उक्त राजीनामा लिखत सद्दे नै ठहरायतर्फ ०२३।८।५।१ डिभिजन बेञ्चको रायसंग यो बेञ्च सहमत हुन्छ ।
१६. अबः उक्त राजीनामा लिखत रजिष्ट्रेशन पास हुन सक्ने नसक्ने के हो भन्नेतर्फ हेर्दा उक्त राजीनामा लिखतमा मेरा नाउँमा दर्ता भएको तिरो रु.।६३ मध्येको पूर्व ठुलो बाटो, पश्चिम ठाडो खोलो, उत्तर माने डाँडो, दक्षिण कृष्णबहादुरको साँध यति ४ किल्ला भित्रको साउने पाखा भन्ने बारी हल ३ को मेलो मकै बिउ पाथी ।३ जाने कित्ता १ पूर्व बाटो, पश्चिम पूर्णबहादुरको साँध, उत्तर बाटो, दक्षिण बाटो यति ४ किल्ला भित्रको मुसुरे भन्ने बारी हल १ को मकै बिउ पाथि ।१ जाने कित्ता १ पूृर्व मिनबहादुरको साँध, पश्चिम गगनबहादुरको साँध, उत्तर पानी लिन जाने तेर्छो बाटो, दक्षिण गगन बहादुरको गोठमा जाने तेर्छो बाटो यति ४ किल्ला भित्रको देविथान पाखा बारी हल २ को मेलो मकै बिउ पाथि ।२ जाने कित्ता १ समेत जम्मा कित्ता ३ माथि लेखिएको तिरो मध्ये रु.।५० को जग्गा राजीनामा गरी दिएको भन्ने उल्लेख भएको पाइयो । किर्तिपुर मालबाट आएको दर्ता उतार हेर्दा १९९६ र २००६ दुबै सालको घरदरमा प्रतिवादी बहादुर सिंहको नाममा घर बारी १ के जम्मा तिरो रु.।८३ दर्ता भइराखेको देखिन्छ । उक्त राजीनामा लिखतमा उल्लेख भए बमोजिम छुट्टाछुट्टै कित्ताहरु जनाई तिरो रु.।६३ दर्ता भएको देखिन आएन । राजीनामामा तिरोसम्म फरक देखिन गए पनि प्रतिवादी बहादुर सिंहको नाउँको उक्त तिरो रु.।८३ दर्ता कै एकै कित्ता मध्येको जग्गा कित्ताफोर गरी राजीनामा लिए दिएको भन्ने वादी दर्फका विद्वान अधिवक्ताको बहस जिकिर भएको हकमा दर्ता बमोजिमको कुनै जग्गा दर्तावालाबाट हक छुट्याई राजीनामा लिंदा दर्ताबमोजिम कै तिरो उल्लेख भएको हुनु बेगर राजीनामा लिनेको नाममा नामसारी दाखेल दर्ता हुन नसक्ने त छंदैछ । किल्लामा पनि मेरो उक्त तिरो रु.।८३ दर्ताको सम्पूर्ण जग्गाको ४ किल्ला खुलाई त्यस मध्ये यो यो ४ किल्ला भित्रको यो यो कित्ता भनी उल्लेख गरेको नभई राजीनामा लिएको भनेको ३ कित्तासम्मको फरक फरक ४ किल्ला उल्लेख गरेको र जग्गाको नाम पनि घरबारी नभनी अरु नै तिनै कित्ताको फरक फरक लेखिएको समेतबाट तिरो रु.।८३ दर्ताकै एकै कित्ता मध्येका जग्गा कित्ताफोर गरी राजीनामा लिए दिएको भन्ने जिकिर समर्थित हुन पनि नसकेको समेत हुनाले तिरो रु.६३ दर्ता मध्येको भनी उल्लेख गरेको राजीनामाबाट तिरो रु.।८३ दर्ता मध्येको जग्गा राजीनामा लिए दिएको कायम हुन सक्ने देखिंदैन । तसर्थ उपरोक्त उल्लेख भए बमोजिम जग्गा तिरो समेत प्रष्टरुपले दर्तामा मिल्न भिड्न नआएको उक्त ०१६।१०।१९।३ को राजीनामा लिखत रजिष्ट्रेशनको ऐनबमोजिम रीत नपुगेको ऐनले रजिष्ट्रेशन पास हुन नसक्ने हुँदा पास गराईपाउँ भन्ने वादी दावी पुग्न सक्दैन । पास हुने ठहराएतर्फ ०२३।८।५।१ को डिभिजन बेञ्चसंग यो बेञ्चको राय सहमत भएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
वादी इन्द्रबहादुर बस्नेत क्षेत्रीको ऐनले पास हुन नसक्ने लिखत पास गरिपाउँ भनी दावी गरेमा तत्काल प्रचलित साहू आसामीको ५४ नं.बमोजिम रु.५। पाँच जरिवाना हुन्छ । रुजु हुँदा असूल गरी का.क्षे.अ.त.मा लगत दिनु…१
प्रतिवादी देहायका मानिसको लिखत पास गरिपाउँ भन्नेतर्फ चिसापानी इलाका अदालतको ०१७।११।३।३ को फैसलाले गर्ने गरेको देहाय बमोजिमको दण्ड नलाग्ने हुँदा असूल भइसकेको कानूनको रीत पुर्याई फिर्ता दिनु भनी हालको मकवानपुर जिल्ला अदालतमा लेखी पठाउनु ऐ…………………..२
बहादुर सिंह तामाङको के रु. ५। पूर्णबहादुर ऐ. के रु. ५।
देहायका मानिस के का.जि.अ. पैलाको ०१९।१२।१४।४ को फैसलाले गर्ने गरेको मध्ये देहाय बमोजिम नलाग्ने हुँदा असूल भइसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ. ऐ…………………………३
प्र.बहादुर सिंह तामाङ के रु.२१।७७ मध्ये पास गरिपाउँ भन्नेतर्फ शुरु दण्ड रु.५। को दर दसौंद रु.।५० प्र. पूर्णबहादुर तामाङ के ऐ ऐ. रु.।५०
प्रतिवादीबहादुर ंिसंह तामाङको सकार गर्ने भिमबहादुर तामाङको के मुद्दा दोहर्याउँदा ०२५।२।१३।१ मा सर्वोच्च अदालतमा दाखेल गरेको कोर्ट फी रु.१। वादी इन्द्रबहादुरबाट भराई पाउँ भनी कोर्ट फी ऐन, ०१७ को दफा १५ (११) बमोजिम ३ बर्ष भित्र दरखास्त दिएमा दस्तुर केही नलीई भराई दिनु भनी ऐ……………………………..४
बहादुर सिंहले इन्द्रबहादुरलाई गरी दिएको थैली रु.१७०१ को ०१६।११।१९।६ को राजीनामा लिखत डिभिजन बेञ्चको फैसला र जनाउ बमोजिम मकवानपुर मालबाट ०२३।११।१९।६ मा रजिष्ट्रेशन पास भइसकेको देखिएकोले यो फैसलाबाट उक्त लिखत पास हुन नसक्ने ठहरेको व्यहोरा अड्डामा रहेको पास लिखतमा जनाई लगत काटि दिनु भनी मकवानपुर माललाई लेखी पठाई दिनु………………….५
देहायका मानिसको इन्साफ केही उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सुचना दिनु…………६
तत्कालिन चिसापानी इ.अ.का न्यायाधीश जनकमान श्रेष्ठ १ का.जि.अ.पै.का न्यायाधीश सर्वज्ञराज पण्डितज्यू १
नियमबमोजिम मिसिल बुझाई दिनु……………………….७
न्या.श्री रत्नबहादुर र
न्या.श्री इश्वरी जंगबहादुर सिंह
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२७ साल जेष्ठ २९ गते रोज ५ शुभम् ।