May 5, 1970
Created by nepalarchives

निर्णय नं. ५३८ – अंश

निर्णय नं. ५३८      ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् २०२४ सालको दे.फु.नं. ७४...

निर्णय नं. ५३८      ने.का.प. २०२७

फुल बेञ्च

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री वाशुदेव शर्मा

सम्वत् २०२४ सालको दे.फु.नं. ७४

निवेदक   : का.ई. नक्साल भगवती बहाल बस्ने उमाकुमारी क्याल

विरुद्ध

विपक्षी    : वीरगञ्ज महाविरस्थान बस्ने सीताराम क्याल समेत

मुद्दा : अंश

(१)  तत्काल प्रचलित अंशबण्डाको १६ नं.प्रकाश नगरी राखेकी स्वास्नीले लोग्ने जिउँदो छँदै अंशमा दावी गर्न पाउने ।

          प्रकाश नगरी राखेकी स्वास्नीले भन्ने जिकिर लिएको हकमा तत्काल प्रचलित अंशबण्डाको १६ नं.मा प्रकाश नगरी राखेको जायजन्म भएकी स्वास्नीले लोग्ने मरेपछि अंशको हक गर्न आएकोमा सम्म अंश नपाउने व्यवस्था छ । वादीले लोग्ने सीताराम छँदै अंशमा हक गर्न आएकीले प्रकाश गरी राखेकी स्वास्नी नै भएको खण्डमा पनि छोरा छोरी जायजन्म समेत भइसकेको यस्तो अवस्थामा लोग्ने छँदै अंशमा हक गर्न आएकोमा निजले अंश पाउने कुरामा कानूनले कुनै असर पुग्न नसक्नेसमेत हुँदा त्यसतर्फ अरु विवेचना गरी रहनुपरेन ।

(प्रकरण नं. २१)

(२)  तत्काल प्रचलित अंशबण्डाको २८ नं. र हालको अंशबण्डाको १० नं.सौता भएकी स्वास्नीलाई प्रकाश नगरी राखेकी स्वास्नी भनी पन्छाउन खोजेको देखिएमाइज्जत आमद अनुसार खान लाउन दिई राखेको भन्न नमिल्ने ।

          तत्काल प्रचलित अंशबण्डाको २८ नं.मा सौता भएकी स्वास्नीलाई इज्जत आमद अनुसार खान लाउन दिएन वा निकाल्यो भने लोग्नेले अंश दिनु पर्छ भन्ने र हालको अंशबण्डाको १० नं.मा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन । इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । सौता भएकी स्वास्नी वादीलाई इज्जत आमद अनुसार खान लाउन दिइराखेको भन्न प्रतिवादीले नसकी प्रकाश नगरी राखेकी स्वास्नी भनी पन्छाउन खोजी राखेको निजकै प्रतिवादी लेखाईबाट देखिएकोले इज्जत आमदअनुसार खान लाउन दिइराखेको भन्न नमिल्ने ।

 (प्रकरण नं. २२)

(३)  लोग्नेको अंशमा स्वास्नीले दावी गरेको मुद्दा पर्दा पर्दैलोग्नेले आफूले पाउने भन्दा कम लिई अरु अंशियारहरुसंग अंशबण्डा गरेमा उक्त बण्डापत्रको औचित्यमा सोही अंश मुद्दाबाट विचार गर्न मिल्ने ।

          जुन लोग्ने सीतारामको अंश भागबाट आफ्नो अंश दिलाई पाउँ भन्ने वादीको दावी हो उनै लोग्ने सीतारामले ०१६ सालमा यो मुद्दा पारी सकेपछि आफुले पाउने भन्दा कम्ती लिई अरु अंशियारहरुसंग अंशबण्डा गरेको छ भने लोग्ने सीतारामको भागबाट अंश पाउने वादीको भागमा पनि कम्ति पर्न गई वादीको दावीमा असर पुग्न जाने समेत देखिएको र अंशमा नदेखाई दवाए छपाएकोमा कानूनले छुट्टै उजूर गर्नुपर्ने यो त्यस किसिमको कुरा पनि नभएकोले समेत ०१६ सालमा वादीको यो नालेस परीसके पछि २०२०।४।३१।५ मात्र वादीको मञ्जुरी बेगर खडा भए गरेको विवादास्पद उक्त बण्डाको औचित्यमा छुट्टै दावी बेगर यस मुद्दाबाट विचार गर्न नमिल्ने देखिन आउँदैन ।

 (प्रकरण नं. २३)

(४) स्वास्नीले लोग्नेको अंशमा दावी गरेको मुद्दा पर्दा पर्दैपाउन पर्ने भन्दा ज्यादै कम्ति लोग्नेले पाउने गरी बण्डा गरेमास्वास्नीलाई अंशमा ठग्ने नियतले बण्डा गरेको देखिने कारण उक्त बण्डापत्र शुद्ध रुपको भन्न नमिल्ने ।

          उक्त २०।४।३१।५ को बण्डापत्र जम्मा हेर्दा सम्पत्तिको मूल्याङ्कन प्रतिवादीहरुको बाबुको भागमा पर्ने यो यति भन्नेसमेत नखुलाई गोल मोल हचुवा किसिमले बण्डा गरी घर जग्गा समेतमा प्रतिवादी सीतारामको बण्डामा निज सरहकै अंश पाउने दाजु केसरदेवको भन्दा ज्यादै कम्ति पारी अस्वाभाविक किसिमले बण्डा गरेको देखिएकोले यो मुद्दा परीसकेपछि वादीलाई अंशमा ठग्ने नियत लिई त्यस्तो गरेको पुष्टि हुन आउने समेत हुँदा उक्त बण्डापत्र शुद्धरुपको भन्न नमिल्ने प्रष्ट छ ।

(प्रकरण नं. २३)

निवेदक तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट

विपक्षी तर्फबाट :   

उल्लेखित मुद्दा :

 

फैसला

          न्या.श्री रत्नबहादुर विष्ट

          १.   भू.पु.रक्षामन्त्री केशर सम्शेर ज.ब.रा.की श्रीमती जेठी साहज्यादीको नोकरी गरी बक्स र पेवाको पैसा लिई नोकरी छोडी बाहिर आई आमाको साथमा बसेकीमा केशवबाबु क्यालको र मेरो आमाको कुरा भई केशब बाबुको भाइ सीताराम क्यालसंग ०११ साल बैशाखमा मेरो विवाह भई ०११।५।२२ मा निज लोग्ने सीताराम क्याल र म समेत वीरगञ्ज घरमा गई बसी निजै लोग्नेबाट छोरा दयाराम क्याल १ छोरी लोकेन्द्र राजलक्ष्मीको जन्म भएको सौताको पक्षमा लागी लोग्ने समेतले कुटपिट गरी मेरो पेवा बक्स पैसा पनि निजै लोग्ने जेठाजु केशवबाबुले व्यापारमा लगाउन मागी लिएको नदिई मलाई निकाला गरेबाट नाबालक छोरा छोरी लिई काठमाडौं आमा कहाँ आई बसेकी छु । खान लाउन समेत नदिई निकाला गरेको हुँदा अंशबण्डाको २ नम्बर बमोजिम म नालिस गर्न आएको छु । ०१६।७।१२।१ देखि म मानो छुट्टी बसेकोले मेरो लोग्नेले पाउने अंश मध्येबाट तायदाती लिई उक्त ऐनबमोजिम अंशबण्डा गरिपाउँ भन्नेसमेत वादी ।

          २.   म काठमाडौंमा गएको अवस्था मेरो वादीसंग प्रेम भई निजकै आमाको डेरामा बसी निज उमाकुमारीसंग सहवास हुँदा १ छोरा र १ छोरी जन्मे र आजसम्म पनि निज आफ्नै आमासंग छन् । वीरगञ्ज घरमा आएकी र कुटपिट गरी दुःख दिएको छैन । वादी प्रकाश भएकी स्वास्नी नभई बाहिर राखेकी हुनाले ऐनले माना चामल भर्ने अवस्था पर्दैन । वादीलाई कपडा इत्यादी आर्थिक सहायता दिएकै हुँदा बाहिर राखेकी स्वास्नी हुँदा लोग्ने स्वास्नीका ४नं.ले निज वादीले अंशमा दावी गर्न नपाउने भन्नेसमेत सीतारामको प्रतिवादी ।

          ३.   वादी वीरगञ्ज घरमा आएकै छैन र मैले निजलाई चिनेकै छैन । निज वीरगञ्ज आएको भए राहदानी हुनुपर्ने । भाइ सीतारामको वादीसंग सहवास भएको भन्ने कुरा पनि मलाई थाहा नभएकोले के भएको हो निजै सीताराम जानुन, वादी व्यहोरा झुठ्ठा हो भन्नेसमेत केसरदेवको प्रतिउत्तर ।

          ४.   वादीलाई प्र.सितारामले स्वास्नी तुल्याई राखेको भनेर छोरा १ छोरी १ जन्मेकोमा सीताराम सावित भएको देखिएको । बाजेकै अंशबण्डा छुट्टिएको भन्न वादीले नसकेकीले रीतपूर्वकको अंश हालै छुट्याउन नमिल्ने । अंशबण्डाको २८ नं. ले खान लाउन दिनुपर्ने, वादीले माईत घरबाटै उजूर दिएको छोरा छोरी समेत देखिनाले सबै अंशियारको रीतपूर्वक अंश छुट्याई लिएपछि रीतपूर्वक बण्डा छुट्याई दिने, हाल प्र.सीतारामले दाखिल गरेको तायदातीबाट वादीतर्फका छोरा छोरी समेत ३ जना प्र.सीतारामतर्फ सौता छोरा छोरी समेत ४ जना जम्मा ७ भागको ३ भाग वादी पट्टि ४ भाग प्रतिवादी पट्टीकालाई जिवन निर्वाह निमित्त घरमा बसी भोग गर्न पाउने ठर्हछ भन्नेसमेत वी.इ.अदालतको ०१९।३।२८।५ को फैसला ।

          ५.  सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

          ६.   वादीका जिकिर बमोजिम दुःख दिई कुटपिट गरी घरबाट निकालेको सबूद गुज्रन नआएको प्र.सीताराम समेतका बाजे गजानन्दकै अंशबण्डा नछुट्टिएको भन्ने भई हाल अंशबण्डा छुट्टिन नसक्ने हुँदा प्र.सीता रामले दाखिल गरेको फाँटवारीअनुसार ७भागको ३भाग हिसावशान्ति लिई वादीले जीवन निर्वाह गर्ने ठहराएको शुरुको मनासिव छ भन्नेसमेत जिल्ला अदालत वीरगञ्जको २०२०।१२।१७।२ को फैसला ।

          ७.  सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

          ८.   प्रतिवादी सीताराम समेतको २०२०।४।३१।४ मा रौतहट माल अड्डामा पास भएको बण्डपत्र नक्कल रौतहट मालबाट आएको देखिनाले अ.ब. २०२ नं. स.अ.नियमावली बमोजिम प्र.सीतारामलाई छलफलको नोटिस पठाई झिकाई आएपछि पेश गर्नु भन्ने ०२२।६।७।५ को डिभिजन बेञ्चको आदेश ।

          ९.   वादीले अंश पाउँ भनी नालेस गरेको मिति ०१६।१२।११।५ फिरादपत्रबाट देखिएकाले सो मितिको अघिल्लो दिन अर्थात ०१६।१२।१०।४ मा मानु छुट्टिएको मिति कायम हुन्छ, सो दिनसम्मको ऐनबमोजिमको तायदाती लिई हाजिर हुनु भनी प्र.हरु मध्ये झिकाई तारेखमा रहेका सीतारामको वारेसलाई तारेख तोकी र प्र.केशव देवलाई ७ दिने म्याद पठाई आएपछि पेश गर्नु भन्ने ०२२।१०।११।२ को डिभिजन बेञ्चको आदेश ।

          १०.  वादी उमाकुमारीलाई अंश दिन प्र.सीतारामले इन्कार गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिई राखेको भए आफ्नो प्रतिवेदकाउपर वादीले उजूर गरी अंश छुट्याईकन भिन्दै बस्ने प्रयास गर्नुपर्ने कारण नदेखिएको र घरमा अर्को सौता समेत भएकीले वादीलाई खान लाउन नदिई निकाला गर्न पनि सक्ने अवस्था देखिएको, यस्तो अवस्थामा लोग्ने स्वास्नीको ४ नं. ऐनले अंश छुट्याई लिन पाउने र यस किसिम बर्सौं अघिदेखि झगडा चली मनोमालिन्यतामा उत्पन्न भइसकेका स्त्री पुरुषलाई एकै ठाउँमा बस्नु पर्छ वा खान लाउनसम्म लिन दिनु पर्छ भनी दिँदा सो बमोजिम कायम हुने गर्ने असम्भव भई जीवन निर्वाहमा बाधा पर्ने समेत देखिएकोले अंशबण्डा गरी दिनु लिनु नै उचित देखिएको समेत हुँदा अंश दिनु नपर्ने भन्ने प्रतिवादीको जिकिर मनासिव देखिएन । ०२३।१०।११।२ को डिभिजन बेञ्चका आदेश बमोजिममा छुट्टिएको मिति प्रस्तुत नालेस परेको अघिल्लो दिन ०१६।१२।१०।४ लाई कायम गरी सो मितिभन्दा अघिल्लो दिनसम्मको चल अचल श्री सम्पत्तिको अंश छुट्याई दिनुपर्ने देखिन आएकोछ । ०२०।४।३१।५ मा रौतहट मालमा पास गरेको प्रतिवादीका भैयादहरुको अंशबण्डामा घटि बढी समेत पारी बण्डा गरेको मेरो पक्षलाई हानी पुर्‍याउन हो । सो बण्डापत्रमा लेखिएको सबै चिजमा योग्य गोप्य विचार गरी घटबढ गर्नुपर्ने गरी सो बण्डापत्रमा लेखिएको सम्पूर्ण चिजबाट यथोचित अंश गराई पाउनु पर्छ भनी वादी तर्फका वकिल विद्वानले बहस गर्नुभयो । सो बण्डापत्रमा लेखिएको औचित्यलाई विचार गरी घटबढ गर्ने कुरा प्रस्तुत वादी दावीमा नभएको नयाँ कुरा देखिएको त्यस्तो नयाँ काम कुरामा अर्कै कानूनबमोजिमको वादी उजूर हुनुपर्ने सो बेगर बहसको सिलसिलामा भनेको कुरालाई लिई सो बण्डापत्रमा थपघट गर्ने किसिमको नयाँ कारवाई उठाउन नमिल्ने भएको र दवाए छपाएको भए ऐनबमोजिम उजूर गरी लिन पाउने वादीको हक सुरक्षित नै हुँदा विद्वान वकिलको उक्त बहसमा यो बेञ्च सहमत हुन सकेन । अब वादीले के कति अंश पाउने हो भन्नेतर्फ प्रतिवादी सीतारामले ०२३।१।२९।४ मा यस सर्वोच्च अदालतमा दाखिल गरेको तायदातीमा अंशबण्डा गर्नुपर्ने अंशियार म र जेठी पत्नी १ निजतर्फ छोरा १ छोरी १ वादी १ वादीतर्फको छोरा १ छोरी १ समेत भनी ५ अंशियार देखाएकोमा वादीले अस्विकार गरेको नदेखिएको र वादीको छोरा नाबालक भई आमाको साथबाट छुटाउन मनासिव नपर्ने, आमाको साथमा रहने भएपछि निजको अंश जेथा पनि आमा जिम्मा नै रहे राखेमा नाबालकको हेर विचार पालन पोषण हुने भएकोले आफ्नु नाबालक छोराको अंश वादीले जिम्मा लिन पाउने देखिने समेत हुँदा उक्त तायदातीमा लेखिएको ने.रु.३०००। मोलिने तुल्सी बरवामा केशरदेवका नाउँमा दर्ता भएको जग्गा विगाहा २।।।=।२ र रु.११००। मोलिने मौजे जुमुनियाँमा केसरदेवका नाउँमा दर्ता भएको जग्गा ११९३।।२ रु.२०००। मोलिने मौजे जमुनियाको जिमिदारी हिस्सा ।।१ रु.७७८। को धनमाल समेत जम्मा रु.१६७८। को धनमाल मध्ये विवाह नभएका छोरा छोरीको अंशबण्डाको १७ नं.ले पर सार्नु पर्ने सयकडा ५ ले विवाह खर्च रु.८३८।९० का दरले ४ जनाको जम्मा रु.३३५१।६० पर सारी बाँकी रु.१३४२२।४० को जेथामा आफ्नु र आफ्नूपट्टि छोराको समेत अंश भाग दुई २ मा पर्ने रु.५३६८।९६ को जेथा जग्गा जिमिदारी र निजका छोरा १ छोरी १ को विवाह खर्च रु.१६७७।८० समेत जम्मा रु.७०४६।७६ सात हजार छयालीस रुपैयाँ छयत्तर पैसा अंश वादीले प्रतिवादी सिताराबाट पाउने र प्रतिवादीले अंश दिनुपर्ने समेत ठर्हछ भन्ने २०२३।१०।२७।५ को डिभिजन बेञ्चको फैसला ।

          ११.  सोउपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादी उमादेवीको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा प्रतिवादीको बाबु नभएको अवस्था सौता भएकी वादीले प्रतिवादीहरुउपर अंशमा नालेस गरेको देखिंदा तत्कालिन मुलुकी ऐन अंशबण्डाको २८ र लोग्ने स्वास्नीको ४ नं. ले अंश छुट्याई लिन पाउने र प्रतिवादी केशरदेव सितारामका बाबु र काकाहरुको अंश नभई सगोल रहेको अवस्था यो नालेस परेको देखिएकोले जम्मा श्री सम्पत्तिमा ३ बाबुको ३ भाग लगाई प्रतिवादीहरुको बाबु श्रीनिवासको भाग छुट्याई त्यसबाट प्रतिवादीहरु २ जनाको आधा आधा गरी प्रतिवादी सीतारामको भागबाट निज सीताराम र निज तर्फका छोरा स्वास्नीहरुको भाग बण्डा लाग्ने भन्ने देखियो । वादीले नालेस गर्दा अरु अंशीयारका नाउँमा नालेस नदिएको र प्रतिवादीले श्रीनिवास गौरीशंकर, भगवानप्रसाद, समेत ३ बाबुको ३ अंश गरी श्रीनिवासको भागबाट प्रतिवादी केसरदेव, सीतारामको २ भाग लगाएको ०२०।४।३१।५ को पास बण्डापत्र पेश गरेको र सो बण्डापत्रकै आधारमा प्रतिवादी सीतारामले तायदाती दिएको देखिंदा यस केशमा यस किसिमको व्यवहार कानून तथा न्यायिक दृष्टिले मान्य हुने नहुने के हो ? कस्तो कार्यविधि अपनाउनु पर्ने हो भन्ने कुराकै निर्णय दिनुपर्ने मुख्य बिषय हुन आएको छ । यस स्थितिमा विचार गर्दा उल्लेखित बण्डापत्र वादीको ०१६ सालमा अंशमा नालेस गरेपछि ०२० सालमा मात्र भएको र जम्मा सम्पत्तिको मूल्याङ्कन नगरी अरु मिल पसल स्टोर ब्रदर्स कारोबारहरु हचुवा किसिमबाट बण्डा गरेको र जग्गा जमिन जिमिदारी घरहरु बण्डा गरेकोमा पनि सीतारामले भागशान्ती पाएको नदेखिई घटि पारी लिएको देखियो । सो बण्डापत्रलाई वादीले पहिले टिका टिप्पणी गर्ने अवस्था नभएको पछिबाट मलाई अंशमा मार्ने कार्य मिलेमतो गरी आफूले घटी अंश लिएको भन्ने वादीको लेखाई भएकोले वादविवादको बिषय हुन आयो । जब वादविवाद उत्पन्न हुन्छ भने अदालतले कानून तथा न्यायिक दृष्टि लगाउनु पर्ने हुन आउँछ । सो बण्डापत्र साधारण अवस्थामा भएको भए त्यस किसिम हचुवा व्यवहार भएको भए पनि शंका लिने कुरा थिएन । अब उल्लेखित अवस्थामा भएको र वादीले मञ्जुरी नगरेकी देखिएपछि निशंका रहन र शुद्व अवस्था थियो भन्न भएन । जब त्यस्तो ससंंंकित अवस्था उत्पन्न हुन आउँछ भने त्यस्तो व्यवहार सिधै कसरी मान्ने भन्ने शंका गर्नु स्वभाविकै हुन आउँछ र जुन बण्डापत्रले अंश मुद्दालाई असर पारेको देखियो यस्तो व्यवहारलाई मान्यता दिने हो भने न्याय शुुुलभ नहुनुका साथै यस्तो केशमा वादीको नालेस पर्नासाथ वादीले पाउने अंश नपाउने गरी प्रतिवादीले कागज खडा गर्ने परम्परा बस्ने र स्वतन्त्र रुपले निर्णय दिने अदालतको अधिकारक्षेत्र निष्कृय हुन गई छिटो छरितोको बदला जालसाजी मुद्दाको बृद्वि हुन जाने हुनाले कानूनले प्रष्टतया मान्यता दिएको आधार नभएको यस्तो व्यवहारलाई त्यसै निष्कृय नै छाडी अंशका कुरामा कानूनले अपनाउनु पर्ने कार्यविधि अपनाई निर्णय दिनुपर्ने हुँदा प्रस्तुत मुद्दामा वादीले आफ्नो जेठाजु र लोग्नेका नाममा मात्र नालेस दिए तापनि वादीले पाउने अंशको निमित्त निजको लोग्नेको अंशको निरोपण गर्नालाई सगोलको अंश गर्नुपर्ने अंशियारहरु तत्कालित अ.बं.१७१, १७२, १८१ नं.ले बुझी खुलाउनु पर्ने देखिएको कुरालाई अंशबण्डाका महलको विभिन्न ऐन बमोजिम हक पुग्नेबाट सम्पत्ति ऋण धनको तायदाती लिई ३ बाबुको ३ बण्डा गरी श्रीनिवासको बण्डाबाट प्रतिवादी केसरदेवको र सीतारामको २ भाग लगाई सीतारामको भागबाट विवाह गर्न बाँकी छोरा छोरीको विवाह खर्च पर सारी निजतर्फ निज सीताराम र निजको सबै स्वास्नी छोराको अंशबण्डा गरी वादीतर्फको अंश छुट्याई दिनुपर्ने कानून तथा न्यायिक सिद्धान्त देखिंदा लेखिए बमोजिम नगरी प्रतिवादी सीतारामबाट मात्र तायदाती लिई बण्डा छुट्याउने गरेको स.अ.को निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा, श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त, मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेकोछ भन्ने मौसुफका प्रमुख स.राजदरबारबाट लेखी आएको ०२४।११।१६।४ को हुकुम प्रमांगी ।

          १२.  बक्स भइआएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमबमोजिम लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारको जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय श्री प्रधान न्यायाधीशज्यूबाट भएको ०२४।११।१६।४ को आदेश ।

          १३.  अंश दिलाई पाउँ भनी वादीले ०१६।१२।११।५ मा नालेस गर्दाको बखत वादीको लोग्ने सीतारामले अरु अंशियारबाट ऐनबमोजिम अंश पाउन सक्ने हक पुगी सकेको देखिन आयो भन्ने सौता भएकी स्वास्नीलाई इज्जत आमद अनुसार खान लाउन दिएन वा निकाल्यो भने लोग्नेले अंश दिनु पर्छ । साविक अंशबण्डाको २८ नं.मा र इज्जत आमद अनुसार खान लाउन नदिए अंश दिनु पर्छ भन्ने हालको अंशबण्डाको १० नं.मा व्यवस्था भएको र सौता भएकी स्वास्नी वादीलाई लोग्ने प्रतिवादी सीतारामले इज्जत आमद अनुसार खान लाउन दिई राखेको भन्न नसकी प्रकाश नगरी राखेकी स्वास्नी भनी पन्छाउन खोजि राखेको निज सीताराम कै प्रतिवादी लेखाईबाट देखिएकाले यस्तो अवस्थामा उक्त ऐनबमोजिम अंश दिन कर लाग्ने देखिन्छ । वीरगञ्ज इ.अ.बाट प्रतिवादीहरुसंग तायदाती लिने आदेश गरी तायदाती मागेकोमा बाबु बाजेहरुकै अंश नछुट्टिएको हुनाले मेरो अंश हिस्सामा पर्ने अंश सम्पत्ति पुरा यतिकै हो भनी हाल लेखी दिन असमर्थ छु भन्नेसमेत प्रतिवादी सीतारामले ०१६।३।१४।५ मा दरखास्त दिई निजबाट तायदाती आउन नसके पछि तत्कालिन प्रचलित अ.बं.१७२ नं.बमोजिम कागज गराई सबै अंशियारहरुको नाउँ खुलाई लिई अंशियाहरु समेत अ.बं.१८१ नं.बमोजिम पेटबोलीबाट बुझी मानु छुट्टिएको मिति कायम गरी सबै अंशियारहरुबाट ऐनबमोजिम तायदाती फाँट लिई वादीको लोग्नेले पाउने अंश भाग कायम गरी त्यसबाट वादी र वादीको छोराले पाउने अंश भाग दिलाई दिनुपर्नेमा सो बमोजिम भए गरेको नदेखिएकोले हालको अ.बं.१३३ नं.बमोजिम दुवैपक्षको कागज गराई सबै अंशियारहरुको नाउँ खुलाई अ.बं.१३९ नं.बमोजिम पेट बोलीबाट ति सबै अंशियारहरुलाई बुझी ०२२।१०।११।२ को डिभिजन बेञ्चको आदेश बमोजिम कायम गरी राखेको मानु छुट्टिएको मिति ०१६।१२।१०।४ सम्मको चल अचल श्री सम्पत्ती ऋण धन समेतको सबै अंशियारहरुबाट अंशबण्डाको २०/२३ नं.बमोजिम गरी तायदाती फाँट लिई ऐनले लोग्ने कोर्ट फि समेत असूल गरी पेट बोलीबाट पछि बुझिएका समेत पक्षहरु सबैलाई यहाँ हाजिर हुन आउने तारेख तोकी पठाई दिनु भनी हाल तारेखमा रहेका पक्षहरुलाई पर्सा जिल्ला अदालतमा हाजिर हुन जाने तारेख दिई उक्त काम तामेल गरी पठाउन ४ महिनाको म्याद तोकी न्यायप्रशासन विविध व्यवस्था ऐन, ०१८ को दफा ११  (ख) बमोजिम मुद्दाको लगत यहाँ कायम राखी मिसिल पर्सा जिल्ला अदालतमा पठाई उक्त काम तामेल भई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०१५।५।१९।३ को फुल बेञ्चको आदेश ।

          १४.  बाबुहरु जेठा गौरीशंकर क्याल माहिला श्रीनिवास कान्छा भगवान क्याल जेठा माहिला बाबु मरिसकेका जेठाको छोरा गुलाब राय, दामोदार र बज्यै गिगिवाई, माहिला बाबुको छोरा केशरदेव र सीताराम, कान्छा जिवितै रहेको भन्नेसमेत प्रतिवादी सीताराम, केशरदेवहरुको वा. बटुकृष्णको ०२५।८।१९।४ को कागज ।

          १५.  ससुराहरु ३ भाइ जेठा गौरीशंकर, माहिला श्रीनिवास, कान्छा भगवान क्याल, भएकोमा जेठा ससुरा श्रीनिवास परलोक भइसक्नु भयो । बूढी सासु गिगिवाई जिवित हुनु हुन्छ । जेठा ससुराको २ छोरामा जेठो गुलाब राय, कान्छा दामोदर, मेरो सुसरा पट्टि जेठो केसर देव कान्छा मेरो लोग्ने सीताराम हुन । ससुरा ३ भाइ र बुढी सासु गिगिवाई समेत ४ अंशियारको अंश लाग्नेमा मेरो ससुरा पट्टि जेठाजु केशरदेव र मेरो लोग्ने सीताराम २ भाग लाग्ने लोग्नेको भागमा लोग्ने सीताराम १ निजको जेठी स्वास्नी १ र कान्छी स्वास्नीमा १ मेरोतर्फ नाबालक छोरा १ छोरी १ छन् सौतातर्फ छोरी १ मात्र भएको निजको विवाह भइसकेको छ भन्ने वादी उमादेविको ०२५।१९।५ को कागज ।

          १६.  अंश गर्ने श्रीसम्पत्ति मेरो जिम्मा केही नभएको भन्ने वादीबाट र अंश गर्नुपर्ने श्रीसम्पत्तिको फाँट खुलाई प्रतिवादी सिताराम, केसरदेव र पेटवोलीबाट झिकाइएका दामोदरप्रसाद क्याल, गुलाव राय क्याल, भगवानप्रसाद क्याल गिगिवाई क्याल समेतको वा. बटुकृष्णले तायदाती फाँट दाखिल गरेको ।

          १७.  प्रतिवादी सिताराम क्यालले पाउने अंश भाग मध्येबाट अंश पाउने अंशियार र विवाह खर्च छुट्याउन पर्ने हाल के कति जम्मा छन्, प्रतिवादीहरुले दिएको ०२६।१।१३ को तायदाती फाँटको तपसीलमा लेखिएको कुनै घर र श्रीपुर रानीघाटमा भएको भनेको श्री शंकर राईस मिलको मेसेनरी सामान पार्टपुर्जा समेतको मोल बिगो के कति हो उक्त तायदाती फाँटको तपसीलबाट कच्चामा लेखिएको कलम कलमको आसामीहरुसंग लिनु पर्ने जम्मा अंक कति हो सो र उक्त तायदाती फाँटको तपसील कच्चावारीमा कुनै जग्गाको कित्ता नम्बर बिगाहा अंक खाली रहेको सो समेत प्रतिवादीबाट खुलाउनु भन्ने ०२६।५।६।६ को फुल बेञ्चको आदेश ।

          १८.  म सीताराम १, स्वास्नी निवा देवी १, छोरा पवनकुमार १, छोरी निर्मला १ र उमादेवीतर्फ निज १, छोरा १, छोरी १ समेत ५ अंशियारको छोरी निर्मलाको ०२४ सालमा विवाह भयो । अरु छोरा छोरीको विवाह गर्न बाँकी छ । मिल तथा पार्टपूर्जा समेतको गरी १०,०००। मोल पर्ने हो भन्ने र अरु घरको मोल समेत खुलाई प्रतिवादीहरुको वारेस कमलमान सन्त लालले दिएको ०२६।५।२५।४ को दरखास्त ।

          १९.  ०२६।१।१३ को तायदातीमा लेखिएको निम्न कलमहरुमा कित्ता नम्बर रैति नम्बर कुनै पनि र कुनै कलममा विगाहा अंक समेत खुलेको देखिएन । अघिल्लो फुल बेञ्चमा आदेश बमोजिमको कुराहरु प्रतिवादीबाट खुलाउन र सो जग्गाहरुको रसिद समेत ऐनबमोजिम दाखिल गराई लिई पेश गर्नु भन्ने ०२६।७।२२।६ को फुल बेञ्चको आदेश ।

          २०.  यसमा तारेखमा रहेकी निवेदक वादी उमाकुमारी रोहवरमा रही ०२७।१।११।६ मा पेश भई निजतर्फबाट विद्वान अधिवक्ता श्री लवदेव भट्टले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वादीले अंश पाउने नपाउने के हो ? पाउने भए के कति पाउने हो ? सो कुराको निर्णय दिनुपर्ने भएको छ ।

          २१.  वादी उमाकुमारी प्रतिवादी सीतारामको स्वास्नी हो होईन भन्नेतर्फ निजलाई स्वास्नी बनाई राखी निजबाट छोरा १, छोरी १ जायजन्म भएको समेत कुरा प्रतिवादी सीतारामले स्वीकारै गरेको । प्रकाश नगरी राखेकी स्वास्नी भन्ने जिकिर लिएको हकमा तत्काल प्रचलित अंशबण्डाको १६ नं.मा प्रकाश नगरी राखेको जायजन्म भएका स्वास्नीले लोग्ने मरेपछि अंशको हक गर्न आएकोमासम्म अंश नपाउने व्यवस्था छ । वादीले लोग्ने सीताराम छंदै अंशमा हक गर्न आएकीले प्रकाश नगरी राखेकी स्वास्नी नै भएको खण्डमा पनि छोरा छोरी जायजन्म समेत भइसकेको यस्तो अवस्थामा लोग्ने छंदै अंशमा हक गर्न आएकोमा निजले अंश पाउने कुरामा कानूनले कुनै असर पुग्न नसक्ने समेत हुँदा त्यसतर्फ अरु विवेचना गरी रहनु परेन ।

          २२.  लोग्ने छंदै वादीले अंश पाउने नपाउने के हो ? भन्ने हकमा तत्काल प्रचलित अंशबण्डाको २८ नं.मा सौता भएकी स्वास्नीलाई इज्जत आमद अनुसार खान लाउन दिएन वा निकाल्यो भने लोग्नेले अंश दिनु पर्छ भन्ने र हालको अंशबण्डाको १० नम्बरमा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । सौता भएकी स्वास्नी वादीलाई इज्जत आमद अनुसार खान लाउन दिइराखेको भन्न प्रतिवादीले नसकी प्रकाश नगरी राखेकी भनी पन्छाउन खोजिराखेको निजकै प्रतिवादी लेखाईबाट देखिएकोले इज्जत आमद अनुसार खान लाउन दिइराखेको भन्न नमिल्ने र निज प्रतिवादी सीतारामको बाबु परलोक भइसकेकोले अरु अंशियारबाट निजले कानूनबमोजिम अंश पाउने हक पुगी सकेको देखिएको समेत हुँदा उक्त अंशबण्डाको साविक २८ हालको १० नं.बमोजिम वादीलाई प्रतिवादी सीतारामले अंश दिन कर लाग्ने देखिन्छ ।

          २३.  अब वादीले आफ्नो अंश भागमा के कति पाउने हो भन्नेतर्फ पहिले शुरु वीरगञ्ज ई.अ.बाट तायदाती मागेकोमा बाबु बाजेहरुकै अंश नछुट्टिएको हुनाले मेरो अंश हिस्सामा पर्ने सम्पत्ति पुरा यत्तिकै हो भनी हाल लेखी दिन असमर्थ छु भनी प्रतिवादी सीतारामले ०१९।३।१४।५ मा दरखास्त दिएको र पछि पुनरावेदन तहबाट मुद्दा सर्वोच्च अदालतमा आइसकेपछि डिभिजन बेञ्चका आदेश बमोजिम तायदाती मागिएकोमा अरु अंशियारहरुसंग २०२०।४।३१।५ मा अंशबण्डा रजिष्ट्रेशन पास गरी मेरो भागमा परेको यत्ति हो भनी तायदाती दिएको र सोही तायदाती अनुसार प्रतिवादी सितारामको भागमा परेको सम्पत्तिको भाग लगाई वादीको बण्डा दिलाउने गरी ०२३।१०।२७।५ को डिभिजन बेञ्चबाट निर्णय भएको समेत रहेछ । लोग्ने सीतारामले मलाई अंशमा ठग्न आपसमा मिलेमतो गरी आफ्नो भागमा कम्ती लिई मुद्दा पर्दापर्दै बीचमा खडा भए गरेको उक्त २०२०।४।३१।५ को बण्डापत्र कायम हुन नसक्ने भन्ने वादीको मुख्य जिकिर भएको पाइयो । उक्त बण्डापत्रको औचित्यमा यस मुद्दाबाट बीचार गर्न मिल्ने नमिल्ने के हो ? भन्ने हकमा वादीको लोग्ने प्रतिवादी सीतारामको बाबुहरुकै अंश नभई सगालेमा रहेको अवस्थामा दायर गरेकी यो मुद्दाको फिरादपत्रमा लोग्ने सीतारामले पाउने अंश भाग मध्येबाट आफ्नो अंश दिलाई पाउँ भन्ने मुख्य दावी भएकोले वादीले आफ्नो अंश भागमा के कति पाउने हो भन्ने कुराको लागि जम्मा श्रीसंपत्ति वा पहिले बाबुहरुको अंश भाग छुट्याई त्यसबाट प्रतिवादी सीतारामको अंशमा जम्मा के कति पर्ने हो ? सो समेत यसै मुद्दाबाट निर्णय हुनुपर्ने कुरामा असर पुग्ने गरी यो मुद्दा पर्दा पर्दै बीचमा अरु अंशियारहरुसंग अंश गरी बण्डापत्र खडा गरिएको छ र त्यसमा वादीको मञ्जुरी छैन भन्ने त्यस्तो सशंकित बण्डापत्रलार्ई यो मुद्दामा कतिसम्म महत्त्व दिन सकिन्छ, त्यो त विचारणीय छँदैछ । खास गरी जुन लोग्ने सीतारामको अंश भागबाट आफ्नो अंश दिलाई पाउँ भन्ने वादीको दावी हो उनै लोग्ने सीतारामले ०१६ सालमा यो मुद्दा पारी सकेपछि आफुले पाउने भन्दा कम्ती लिई अरु अंशियारहरुसंग अंशबण्डा गरेको छ भन्ने लोग्ने सीतारामको भागबाट अंश पाउने वादीको भगमा पनि कम्ति पर्न गई वादीको दावीमा असर पुग्न जाने समेत देखिएको र अंशमा नदेखाई दवाए छपाएकोमा कानूनले छुट्टै उजूर गर्नुपर्ने, यो त्यस किसिमको कुरा पनि नभएकोले समेत ०१६ सालमा वादीको यो नालेस पारी सकेपछि २०२०।४।३१।५ मा मात्र वादीको मञ्जुरी बेगर खडा भए गरेको विवादस्पद उक्त बण्डाको औचित्यमा छुट्टै दावी गरेको यस मुद्दाबाट बिचार गर्न नमिल्ने देखिन आउँदैन । उक्त २०।४।३१।५ को बण्डापत्र हेर्दा जम्मा संम्पत्तिको मूल्याङ्गन प्रतिवादीहरुको बाबुको भागमा पर्ने यो यति भन्नेसमेत नखुलाई गोल मोल हचुवा किसिमले बण्डा गरी घर जग्गा समेतमा प्रतिवादी सीतारामको बण्डामा निज सरहकै अंश पाउने दाजु केशरदेवको भन्दा ज्यादै कम्ती पारी अस्वाभाविक किसिमले बण्डा गरेको देखिएकाले यो मुद्दा पारी सकेपछि वादीलाई अंशमा ठग्ने नियत लिई त्यस्तै गरेको पुष्टि हुन आउने समेत हुँदा उक्त बण्डापत्र शुद्वरुपको भन्न नमिल्ने प्रष्ट छ । यस्तो देखादेखी उक्त बण्डापत्रलाई कानून र न्यायको दृष्टिमा मान्यता दिन मिल्दैन ।

          २४. प्रतिवादी केशरदेव सीताराम बाहेक अर अंशियारहरु उपर वादीको उजूर नभएकोले दुवैपक्षको कागज गराई सबै अंशियारको नाम खुलाई झिकाई ०२२।१०।११।२ को डिभिजन बेञ्चको आदेश बमोजिम कायम गरी राखेको मानु छुट्टिएको मिति ०१६।१२।१०।४ सम्मको चल अचल श्री सम्पत्ति ऋण धन समेतको सबै अंशीयारहरुबाट अंशबण्डाको २०।२३ नं.बमोजिम तायदाती फाँट लिने समेत ०२५।५।१९।३ को फुल बेञ्चबाट आदेश भई पर्सा जिल्ला अदालत मार्फत दुवैपक्षको कागज गराई अरु अंशियारको नाम खुलाई तिनीहरुलाई पेटबोलीबाट झिकाई तायदाती लिएको समेत देखियो । वादीको लोग्ने सीतारामको अंश भागबाट अंश पाउने के कति जना रहेछन् भन्नेतर्फ प्रतिवादीहरुले तायदाती दिँदा प्रतिवादी सीतारामकी अर्की स्वास्नी गीतादेवीतर्फ छोरा १ समेत देखाएको तर वादीले चाँही गीतादेवीतर्फ छोरा भएको नदेखाएको समेत भए पनि प्रतिवादी सीतारामले पहिला डिभिजन बेञ्चमा तायदाती दिँदा पनि गीतादेवीतर्फ छोरा १ देखाएकोमा उस बखत वादीले कुनै बिरोध गर्न नसकेकिले प्र.सीताराम १ निजकी स्वास्नी गीतादेवी १ वादी उमाकुमारी १ गीतादेवी तर्फको छोरा १ वादी पट्टिको छोरा १ समेत ५ अंशियार भएको कायम हुन्छ ।

          २५. तसर्थ प्रतिवादीहरुबाट आएको ०२६।१।१३।६ को दायदाती र ०२६।५।२५।४ को दरखास्त समेतमा खुलाएको जम्मा मोल बिगो रु.२,७२,८५०। को श्रीसम्पत्ति र कलम कलमको जम्मा भा.रु.३०,१४२। को भा.रु.१०० को ने.रु.१३५ ले हुने ने.रु.४०,६९२।३७ को आसामी समेत जम्मा रु.३,१३,५४२।३७ मा पहिले बज्यै गिगिवाई १ बाबुहरुमा जेठो गौरीशंकर १ माईला श्रीनिवास १ कान्छा भगवान दास १ समेत ४ जनाको ४ बण्डा गरी प्रतिवादीहरुको बाबु श्रीनिवासको भागमा पर्न आउने रु.७८,३८५।५९ मा प्रतिवादीहरु २ भाइको बराबर २ भाग लगाई प्रतिवादी सितारामको भागमा पर्न आउने रु.३९,१९२।७९ मध्ये निज सीतारामको विवाह नभएका वादीपट्टि छोरा १ छोरी १ अर्कि स्वास्नी गीतादेवी पट्टि छोरा १ समेत ३ जनाको अंशबण्डाको १७ नं.बमोजिम सयकडा ५ ले हुने रु.१,९५९।६४ का दरले छुट्याउनु पर्ने विवाह खर्च रु.५,८७८।९२ छुट्याई बाँकी रु.३३,३१३।८७ मा प्रतिवादी सिताराम १ निजकी स्वास्नी गीतादेवी १ वादी उमाकुमारी १ गीतादेवी पट्टिको छोरा १ वादी पट्टिको छोरा १ समेत ५ अंशियारको ५ भाग लगाई १ भागमा पर्न आउने रु.६,६६२।७७ छ हजार छसय वयसठि रुपैयाँ सतहत्तर पैसाको श्री सम्पत्ति आसामी समेत वादीले अंश पाउने ठर्हछ । २०२०।४।३१।४ को बण्डापत्रलाई कायम राखी त्यस कै आधारमा वादीले रु.२६८४।४८ को अंश भाग पाउने ठहराएको ०२३।१०।२७।५ को डिभिजन बेञ्चसंग यो सहमत भएन । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी सीताराम क्यालके बक्स भएको हु.प्र.र ०२५।७।१२।२ को आदेशसमेत बमोजिम वादीसंग पहिले कोर्टफि नलिइएकोले वादीले अंशपाउने ठहरेको मोल बिगो रु.६,६६२।७७ को कोर्टफि ऐन, २०१७ को दफा ६(क) बमोजिम हिसाबले वादीलाई लाग्ने कोर्ट फि रु.२८६।५२ सोही ऐनको दफा १५ (३)अनुसार निजप्रतिवादी सीताराम बाट दण्डजरीवाना सरह असूल गरी लिने र त्यसरी लिँदा नपुग हुन आए नपुग जति वादीबाट असूल गरी लिने समेत गरी लगत कसि असुलउपर गर्नु भनी प.जि.अ.लाई लेखीपठाउन बेरुजुहुँदा का.श्रे.अ.त.मा लगत दिनु…….१

वादी उमाकुमारी क्यालके अंश छुट्याई बण्डा गरिपाउँ भनी दण्डसजायको ४६ नं.को म्याद भित्र दरखास्त दिएमा प्रतिवादीहरुले दिएको ०२६।१।१३।६ को तायदातीमा कुनै जग्गाको कित्ता नं. रैति नं. बिगो अंक समेत नखुलेको कानूनबमोजिम जो जे गर्नुपर्ने गरी खुलाई उक्त तायदाती र प्रतिवादी पक्षकै ०२६।५।२१।४ को दरखास्त समेतमा खुलाएको श्री सम्पत्ति आसामी समेतको जम्मा रु.३१,,५४२।३७ मा कानूनबमोजिम गरी नरम गरम रोख पोख मिलाई माथि ठहर खण्डमा लेखिए बमोजिम पहिले बज्यै गिगिवाई र बाबुहरु गौरीशंकर, श्रीनिवास, भगवान दास समेत ४ जनाको ४ भाग लगाई प्रतिवादीहरुको बाबु श्रीनिवासको भागमा पर्न आउने रु.७८,३८५।५९ मा प्रतिवादीहरु २ भाइको बराबर २ भाग लगाई प्रतिवादी सीतारामको भागमा पर्न आउने रु.३९,१९२।७९ मध्ये विवाह नभएका छोरा १ छोरी २ समेतको ऐनबमोजिम रु.१,९५९।६४ दरले रु.५,८७८।९२ विवाह खर्च पर सारी बाँकी रु.३३,३१३।८७ मा प्रतिवादी सीताराम १ निजकी स्वास्नी गीतादेवी १ वादी १ वादीपट्टिको छोरा १ वादी गीतादेवीपट्टि छोरा १ समेतको भाग ५ लगाई कानूनबमोजिम बण्डापत्र खडा गरी बण्डा छुट्याई वादीको अंश भागमा पर्न आउने रु.६,६६२।७७ र वादीको नाबालक छोरा १ को अंश भागमा पर्न आउने रु.६,६६२।७७ समेत रु.१२,३२५।५४ र वाद पट्टि विवाह नभएकी छोरा १ छोरी १ को रु.१,९५९।६४ दरले विवाह खर्च रु.३,९१९।२८ समेतको श्री सम्पत्ति आसामी समेत १ प्रति बण्डापत्र साथै वादीको जिम्मा लगाई दिनु वादीको भागमा पर्ने रु.६,६६२।७७ को अंश छुट्याई दिएपछि कोर्ट फि ऐनबमोजिम सयकडा २।। ले लाग्ने दस्तुर समेत असुल गरी लिनु भनी पर्सा जि.अ.लाई लेखी पठाउने ऐ.ऐ……………….२

प्रतिवादी सीताराम क्यालके कोर्टफी लाग्ने भएकोले डि.बे.को ०२३।१०।२०।५ को फैसलाबमोजिम गर्नेगरेको जरिवाना रु.२६८।४५ नलाग्ने हुँदा असूल भइसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ.ऐ……..३

वादी उमाकुमारी क्यालके जि.अ.वीरगञ्जको०२०।१२।१७।२ को फैसलाबमोजिम गरेको जरिवाना रु.१। नलाग्ने हुँदा ०२६।३।११।४ मा का.दे.त.मा बुझाएको कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु……..४

नियमबमोजिम मिसिल बुझाई दिनु……………………….५

 

न्यायाधीश श्री वाशुदेव शर्मा र

न्यायाधीश श्री नयनबहादुर

 

उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।

 

इति सम्वत् २०२७ साल बैशाख २२ गते रोज ३ शुभम् ।