निर्णय नं. ५३६ – जबरजस्ती करणी
निर्णय नं. ५३६ ने.का.प. २०२७ फुल बेञ्च का.मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको...
निर्णय नं. ५३६ ने.का.प. २०२७
फुल बेञ्च
का.मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०२५ सालको फौज्दारी फु.नं. ३४
पुनरावेदक : श्री ५ को सरकार
विरुद्ध
विपक्षी : जिल्ला बाँके तप्पे रजहट मौजे सोनवर्सा बस्ने जिमिदार कुर्मी
मुद्दा : जबरजस्ती करणी
(१) कस्तोमा करणी गरेकै प्रमाणित हुने ?–करणी भएको भनेको समयमा करणीको अभियुक्तले आफु अन्यत्र रहेको प्रमाणीत गर्न नसकेमा–निजलाई झुठ्ठा करणी गरेको दोष लगाउनु पर्ने कारणको अभाव भएमा–करणी गरेको साविती कागज प्रहरीले लेखाउँदा मौकैमा बिरोध नदर्शाइ सहीछाप गरेमा र जबरजस्ती सावित गराएको भन्ने निजको भनाई नभएमा–आफुले करणी गरेको अदालतमा इन्कार गरे तापनि निजले करणी गरेकै प्रमाणित हुने ।
प्रतिवादी जिमिदार कुर्मीले पहिले प्रहरीमा ठाडो कागज गर्दा खुशी राजीबाट करणी गरेको हुँ भनी करणी गरेको कुरा स्वीकारै गरेको र पछि अदालतमा बयान गर्दा मैले करणी गरेकै होइन भनी इन्कार गरेको समेत रहेछ । म कहिले पनि भैंसी चराउन जाँदैनथें । वारदात भएको भनेको २०२१ साल भाद्र ६ गते बिहान अं.१० बजे मेरो घरदेखि अं.१ मिल टाढा कलंहश भन्ने गाउँमा मुन्सि खाँको घरमा उनीको भाइ भाइमा झगडा भएकोले मिलाई दिन पञ्चायत गर्न गएको थिएँ भन्ने निज प्रतिवादीले अदालतको बयानमा जिकिर लिएकोमा मुन्सी खाँले बयान गर्दा सो दिन जिमिदार कुर्मी कहाँ थियो मलाई थाहा छैन । मसंग भेटघाट भएन भनेको र निज प्रतिवादीकै साक्षी कलहंश गाउँको अम्बास खाँ, महबुर खाँ, बदलु खाँ महवुर खाँ रजनवा गाउँको मुसैली भन्ने गयाप्रसाद कुर्मी सोनवर्सा गाउँको छोटेलाल लुहार समेतले सो भाद्र ३ गते जिमिदार कुर्मी कहाँ थियो थाहा छैन भन्ने बकेको समेत हुँदा कलहंश गाउँ मन्सी खाँको घरमा गएको भन्ने प्रतिवादी जिमिदार कुर्मीको उपरोक्त जिकिर प्रमाणीत हुन आएन । ०२१।५।८ गते सोनवा गडरीनलाई जाँच गराउँदा निजको कुमारी छेदरेपचर भएको भन्नेसमेत लेडी डाक्टरले र गुप्ताङ्गमा केही कडा चिज पसाएको हो तर करणीबाट हो अथवा अरु कुनै कारणबाट हो किटानसाथ लेख्न सम्भव छैन भन्ने डाक्टरहरुको बोर्डले लेखी दिएको पाइन्छ । करणी बाहेक अन्य केही कडा चिज पसाएको हो कि भन्नलाई त्यसकुराको परिबन्द पुग्ने सबूद आएको छैन । केही कडा चिज पसाई आफ्नो नारी जीवनमा कलंक लाग्ने गरी सोनवाले प्रतिवादीउपर झुठ्ठा करणी दोष लगाउनु पर्नेसम्मको विश्वासलायक कारण पनि मिसिलमा केही पाईदैन । जहाँसम्म प्रहरीमा गरेको कागजको प्रश्न छ, त्यसको हकमा आफु इन्कार रहेको व्यक्तिको प्रहरीले साविती कागज लेखाएको भए मौकैमा सहिछाप नगरी बिरोध गर्नुपर्नेमा पहिले कागज नसुनाई सहीछाप गरी सकेपछि सुनाएकोले आफ्नो भएको व्यहोरा अदालतमा बयान गर्दा भनौंला भन्ने विचारले पछि बिरोध गरिंन भन्ने प्रतिवादीले अदालतमा गरेको बयानमा लेखाएको छ । प्रहरीले कुनै जबरजस्ती गरेको भन्ने भनाई नभएकाले पहिला कागजै नसुनी त्यस किसिमले सहीछाप गरेको भन्नेसमेत कुरा प्रतितको देखिंदैन । निज प्रतिवादी जिमिदार कुर्मीले थुनाबाट छुटकारा गरिपाउँ भनी ०२१।५।२९ गते जेल अफीस मार्फत दिएको निवेदनपत्रमा प्रहरीमा भएको कागजउपर कुनै बिरोध देखाउन पनि नसकेको समेत हुँदा प्र.जिमिदार कुर्मीले सोनवा गडरीनको करणी गरेकै प्रमाणित हुन्छ ।
(प्रकरण नं. १५)
(२) करणी गरेको छिपाउन नसक्ने अवस्था परी पछि जबरजस्ती करणी गरेको भनेकी भए तापनि–करणी गर्दा करणी गराएर बस्ने स्वास्नी मानिसले हल्ला नगरी करणी गर्नेले भने जस्तै कसैलाई पनि सो कुरा प्रकट नगर्नाका साथै निज स्वास्नी मानिसको अन्य अङ्गमा घाखत नभएमा–जबरजस्ती करणी भए गरेको नदेखिने ।
निजको मञ्जुरी बेगर जबरजस्ती करणी गरेको भए आफूउपर त्यस्तो जघन्य अपराध भई आफ्नो सतित्व नष्ट गराइएकी स्वास्नी मानिस गुप्ताङ्गको शारिरीक पीडा समेतबाट हतासमा परी रुनु कराउनु गर्दै तत्काल घर फर्कनु र बीचमा भेट भएका गोठालाहरुसंग पनि त्यो कुरा जरुर प्रकट गरेकी हुनुपर्ने थियो । तर निज सोनावाकै बयान अनुसार जिमिदार कुर्मीले कसैलाई नभन्नु भनेको कुरामै मानी बीचमा भेट भएका भैंसी चराउने अरु गोठाला कसैलाई त्यो कुरा नभनी दिनभर धैर्यसाथ भैंसी चराई साँझ मात्र भैंसी लिई घर फर्केकी भन्ने देखिएको र जबरजस्ती करणी गर्दा दगलफसल भई अन्य अंगमा पनि कुनै घा खत भए परेको हुनुपर्ने, नभएकाले जबरजस्ती करणी भए गरेको भन्न मिल्ने अवस्था देखिंदैन । साँझ घर फर्केपछि कपडामा रगत लागेको देखी आमाले सोधपुछ गर्दा करणी भएको कुरा छिपाउन नसक्ने अवस्था परी आफू निर्दोष बन्न निज सोनवाले मलाई जिमिदार कुर्मीले जबरजस्ती करणी गर्यो भन्नु स्वभाविक हुन सक्छ । वास्तवमा जबरजस्ती करणी भए गरेको प्रमाण पुग्न नआएकोले खुसी राजीबाट करणी भए गरेको पुष्टी हुन्छ ।
(प्रकरण नं. १६)
(३) कस्तोमा १४ वर्ष मुनिको भन्न नहुने ?–डाक्टरले गरेको उमेरको अनुमान र दरखास्त बयानमा लेखिएको उमेर फरक भएमा–प्रहरी प्रतिवेदनमा १४ वर्ष मुनिको नलेखिनाका साथै यति उमेर पुगेको भन्ने सबूदको अभावमा डाक्टरहरुको बोर्डले उमेर जाँच गर्न पछि आदेश हुँदा उमेर जाँच गर्नुपर्ने व्यक्ति म्यादमा हाजिर नभई उमेर जाँच गर्न नसकेमा निज १४ वर्ष मुनिकी भन्न नमिल्ने ।
सोनवाले आफ्नो ०२१।५।७।७ को दरखास्तमा ९ वर्ष ०२३।५।१२ को बयानमा ११ वर्षको लेखाएकी र डाक्टरद्वारा उमेर जाँच गराउँदा चौध पन्ध्र वर्षकी हुन सक्छ भने पी. वीर अस्पताल नेपालगञ्जको ०२३।५।१२ को पत्रमा लेखिएको समेत रहेछ । जबरजस्ती करणीको १ नं.मा चौध वर्ष मुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरा संग करणी गरे पनि जबरजस्ती करणी ठर्हछ भन्ने उल्लेख भएकोले करणी गर्दा निज सोनवाको उमेर १४ वर्ष मुनी माथिको के रहेछ भन्ने कुरा हेर्नु पर्ने हुन आयो । ०२३ सालमा डाक्टरले जाँच गर्दा १४, १५ वर्षकी भनी लेखिदिएको हिसाबबाटै पनि २०२१ सालमा १२, १३ वर्षकी हुने हुनाले निज सोनवाले उक्त दरखास्तमा ९ वर्ष बयानमा ११ वर्ष लेखाएकी झुठ्ठा सिद्ध भएकैछ । पि.वीर अस्पताल नेपालगञ्जको डाक्टरले ०१३ सालमा जाँच गर्दा १४, १५ बर्षकी भनी लेखी दिएको किटानी नभई अनुमानिकसम्म हो । उमेरको यकिन गरी १४ वर्ष मुनिकी भनी प्रहरी प्रतिवेदनमा उल्लेख गर्न सकेको छैन र यति वर्ष उमेर पुगेकी भन्ने भरपर्दो सबूद कुनै आउन सकेको पनि पाइदैन । ०२६।४।२८।३ को फुल बेञ्चबाट निज सोनवालाई म्याद दिई झिकाई निजको उमेर हाल कति वर्षको देखिन्छ, डाक्टरहरुको बोर्ड गठन गरी वीर अस्पतालबाट जाँच गराउने भन्ने आदेश भए बमोजिम निज सोनवाको नाउँमा म्याद जारी भएकोमा निज सोनवा म्यादमा हाजिरै हुन नआएकीले डाक्टरहरुको बोर्डबाट पुनःउमेर जाँचगराउने काम हुन नसकेकोसमेत हुँदा यस्तो सन्दिग्ध अवस्थामा निज सोनवा १४ वर्ष मुनिकी हो भन्न मिल्ने देखिंदैन ।
(प्रकरण नं. १७)
पुनरावेदक/वादी श्री ५ को सरकार तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया
विपक्षी तर्फबाट : बैतनिक अधिवक्ता श्री सुधानाथ पन्त
फैसला
का.मु.प्र.न्या. श्री रत्नबहादुर
१. २०२१ साल भाद्र ६ गते आफ्नो भैंसी चराउन मेरै गाउँदेखि पश्चिम झिगौरा गाउँदेखि उत्तर लगेकोमा जिमिदार कुर्मीले पनि आफ्नो भैंसी चराउन संगमा लिई गएका थिए, खुसी थारुले अरहरेको खेतमा भैंसी चर्न जान लाग्दा मैले आफ्नो भैंसीलाई हाँक्न भनी जाँदा सो दिनको अन्दाजी १२ बजेको टायममा जिमिदार कुर्मी पनि मेरो पछि गई मलाई पक्री सोही अरहरको खेतमा खसाली म नाबालखलाई जबरजस्ती करणी गर्न लाग्दा मैले मलाई जिमिदार कुर्मीले जबरजस्ती करणी गर्न लाग्यो भनी हल्ला गरेकी गाउँ सो ठाउँबाट टाढा भएकोले कसैले नसुनेको निजले करणी गर्दा मेरो भगमा घा रगतपक्ष हुन गएकोले निज जिमिदार कुर्मीलाई पक्री दाखेल गर्न ल्याएको छु । जबरजस्ती करणी गरेमा ऐनबमोजिम सजाय गरिपाउँ भन्ने सोनवा गडरिनको ०२१।५।७।७ को दरखास्त ।
२. सोनवा गडरिन र म समेत संगसंगै आफ्नो आफ्नो भैंसी चराउन गएको पर्ति जमिनमा चराउँदै थियौं । अं.३ बजे एक्कासी सोनवा म नेर आई मेरो लिंग समाती तिमी त मेहरा रहेछौ भनी मेहरा भए चल्छ चल्दैन हेरिहाल भनी जबाफ दिएँ, निजले हुन्छ भनी भनेकीले शिर पश्चिम गोडा पूर्व गरी एकछिन करणी गरें । बिर्य भित्रै झर्यो । खुसिराजीबाटै करणी गरेको हुँ भन्नेसमेत प्र.जिमिदार कुर्मीले ०२१।५।८ मा प्रहरीमा गरेको ठाडो कागज ।
३. बुझिएसम्मका कागजातको आधारबाट जिमिदार कुर्मीले सोनवा गडरिनलाई जबरजस्ती करणी गरेको देखिन आएको हुँदा निज जिमिदार कुर्मीले करणी गरेमा निजउपर जबरजस्ती करणीको १, ३, १०, नं. मुद्दा चल्ने हुँदा प्रेषित गरिएको छ भन्ने अ.प.प्र. तथा प्रहरीको उजुरी प्रतिवेदन ।
४. पुलिसमा गरे भनेका कागज सुनें, देखें सो कागजमा लेखिएको व्यहोरा मैले भनेको र भने बमोजिम लेखिएको होइन सही भने मेरै हो, ०२१ साल भाद्र ७ गते नाम नजानेको पुलिस आई मलाई पक्राउ गरी डि.एस.पी. अफीस दाखिल गरेपछि मलाई थुनी राखी जाहेरवाली सोनवाको जबरजस्ती करणी गरेको हो होइन भनेर सोद्वा मैले करणी गरेको होइन भन्ने जबाफ दिएपछि नमालुम के व्यहोराको कागज लेखी सही गर भन्नु हुँदा पढी सुनाई दिनुस् भन्दा सहीछाप गर पछि सुनाई दिउँला भनेकोले ल्याप्चे सही लगाई दिएँ । पछि सुनाउँदा खुसीराजीले करणी गरेको हुँ जबरजस्ती गरेको होइन भन्नेसमेत व्यहोरा लेखी सही गरेपछि सुनाएकाले आफ्नो व्यहोरा अदालतमा बयान गर्दा भनौंला भन्ने विचार लिई बिरोध गरिन वास्तवमा जाहेरवालीको जबरजस्ती अथवा खुसीराजीसंग मैले करणी गरेको र ठाडो कागजमा सावित भई मैले लेखाएको होइन । म इन्कार भएको मानिसको साविती व्यहोरा लेखी सही किन गराउनु भयो । कारण मलाई थाहा छैन । मेरो विवाह भएको थियो । श्रीमती परलोक भएको २० वर्ष भयो । २१ साल भाद्र ६ गते का दिन विहान १० बजे मेरा घर देखि अं. १ मिल टाढा कलहंश भन्ने गाउँका मुन्सि खाँको भाइको घरमा झगडा हुँदा पञ्चायत गर्न आउनु भनी बोलाएबाट विहान १० बजे गई साँझ ७ बजे घर आएको हुँ, मैले निजको करणी गरेको होइन । मेराउपरको उजूर झुठ्ठा हो । जाहेरीवालीको धोतीमा के किसिमबाट रगत लागेको हो सो मलाई थाहा छैन भन्नेसमेत प्र.जिमिदार कुर्मीले बाँके इलाका अदालतमा गरेको बयान ।
५. इन्कार हुने व्यक्तिको पुलिसले साविती कुरा लेखी सहिछाप गराउन कुनै खण्ड कारण नदेखिएको, कारण भए भन्न लेख्नु सक्नु पर्ने र त्यस कुरामा उजूर बाजुर गरी उक्त कागज बातिल गराउनु पर्नेमा सो केही गर्न नसकेको मिसिलबाट सिर्फ थुनाबाट मुक्त गरिपाउँ भनी निवेदन दिएको देखिएको उक्त निवेदनमा पुलिसले साविती कुरा सही गराएको बदर गरिपाउँ भन्ने उल्लेखसम्म गरेको नदेखिएबाट पनि पुलिसले नभएको कुरा लेखी सावित कागज गराए होला भन्ने पत्यारलायक कुरा नदेखिएको यो बयानमा वारदात मितिमा कलहंश गाउँमा मुन्सी खाँको भाइ भाइ झगडा हुँदा पञ्चायत गर्न गएको भनी लेखेको मुन्सी खाँ बुझ्दा मसंग भेटघाट भएको छैन भनी बयान गरेबाट वारदात मितिमा मुन्सी खाँको घर गएँ भन्ने कुरा पनि झुठ्ठा बयान गरेको देखिने, ५ जना गवाहले केही थाहा छैन भनी सफाई दिन नसकेको र मौकामा सोनवाको डाक्टरी जाँचको साथै ०२२।३।२० को पी. वीर अस्पताल स्पष्टीकरणबाट पनि करणी भएकै देखिंदा बुझिएसम्मका प्रमाण परिबन्दबाट प्र.जिमिदार कुर्मीले पुलिस रीपोर्ट अनुसार नाबालख सोनवा गडरिनलाई जबरजस्ती करणीको १ नं.बमोजिम जबरजस्ती करणी गरेको ठर्हछ भन्नेसमेत ०२२।७।१२ बाँके जिल्ला अदालतको फैसला ।
६. सो इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी जिमिदार कुर्मीको पुनरावेदन ।
७. रामरताको बयान लेखाई बमोजिम सोनवाको पछाडि देबे्र पातामा र मलद्वार माथि कम्बर मुनी रगडिएको घाउ डाक्टरको प्रतिवेदनबाट देखा पर्दैन । जबरजस्ती करणी हुन नदिन सोनवाले आफ्नु शक्तिले भ्याएसम्म प्रयत्न गर्दा विफल भई आत्मसमर्पण गरेकी भए अभियुक्तको अंगमा कोपरेको चिथोरिएको चिन्ह हुनुपर्ने तर डाक्टरी जाँचबाट देखिंदैन । जबरजस्ती करणी भएकै हो भन्न सकिने अवस्था नदेखिंदा वारदात भए गरेको कुरामा प्रत्यक्ष वा अप्रत्यक्ष सबूद प्रमाणको अभावमा ठहर गर्न नमिल्ने, प्रहरी कार्यालयको साविती कागज अन्य प्रमाणबाट समर्थित नभएसम्म अकाट्य मान्न नहुने, वारदातको समय फरक फरक भई कुरा नमिलेको र फौज्दारी अभियोगमा अभियुक्तलाई लगाएको आरोप वादीबाट पूर्णरुपले साविती गरिनु पर्छ र प्रतिवादीले आफ्नो सफाइको प्रमाणमा कुनै कमजोरी भएकै आधारमा अपराधी ठहर गरेको मुनासीव भन्न नमिल्नेमा घटनात्मक साक्षी वा चस्मदिद गवाहबाट करणी मुद्दामा अपराध तथा अभियोग प्रमाणीत नभएसम्म अपर।ाधी हो भनी ठहर गर्न न्यायोचित नहुने समेतबाट शुरु जि.अ. ले गरेको इन्साफ गल्ती ठर्हछ भन्नेसमेत भेरी अञ्चल अदालतको ०२३।१२।२७।१ को फैसला ।
८. जिमिदार कुर्मीलाई सफाई दिएको इन्साफमा चित्त बुझेन भन्ने वादी श्री ५ सरकारको पुनरावेदन ।
९. सोनवा गडरीको जाहेरी निजको आमा रामरता गडरिनको बयान तथा सर्जमीनहरुको लेखाई र सोनवाको गुप्ताङ्ग जाँच गरी डाक्टरहरुले पटक पटक दिएको प्रतिवेदन समेतबाट करणी गरेको हुँ भनी अभियुक्त जिमिदार कुर्मीले प्रहरीमा गरेको कागजलाई समर्थीत हुन आएको देखिंदा अ.बं.२०२ नं. र स.अ. नियमावली बमोजिम प्रतिवादी जिमिदार कुर्मीलाई छलफलमा झिकाई आएपछि या अवधि पुगेपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२५।३।२५।२ को स.अ. डिभिजन बेञ्चको आदेश ।
१०. मुख्य गवाह गडरिनले दरखास्तमा उमेर ९ वर्ष लेखेको डाक्टरले जाँच गर्दा १४।१५ वर्षको भनी लेखी दिएबाट उमेर फरक परेकोले निजलाई उपस्थित गराई निर्णय गर्नुपर्ने देखिंदा निज सोनवालाई ७ दिनको समाव्हान पठाई हाजिर भएपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने ०२५।१०।२२।३ को डिभिजन बेञ्चको आदेश ।
११. जवरजस्ती करणीको १ नं को ऐनमा १४ वर्ष मुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरासंग करणी गरे पनि र १४ वर्ष नाघेकिको राजीखुसी विना बेमञ्जुरील करणी गरेको जबरजस्ती करणी ठहर्ने हुनाले तहकिकात तथा निर्णयमा राजीखुशीले करणी गरेको हुँ भनी लोग्ने मानिसले भनेपछि स्वास्नी मानिसको उमेर के रहेछ भनी खास तवरले यकीन गर्न आवश्यक हुन्छ । प्रहरी प्रतिवेदनमा र त्यसअघि गरेको सरजमिन अभियुक्त बयानमा समेत स्वास्नी मानिसको उमेरबारे केही नलेखिनु उचित भएन । यस मुद्दामा वादीतर्फबाट पेश भएका प्रमाणहरुमा सरजमिन मुचुल्का छ । त्यसमा सरजमिनहरुले वारदात भएको भनेको भोलिपल्ट र बेलुकी सुनेको र सोनवाको धोतीमा रगत लागेको देखें भन्नेसम्म लेखेको छ । यस बाहेक अभियुक्तको बयानबाट पनि वादीतर्फको प्रमाण लिन सकिने हुनाले जिमिदार कुर्मीले प्रहरीमा गरेको कागज एउटा त्यस्तो प्रमाण हो, जो अभियुक्तलाई गडाउ गर्नमा र वादीको दावीलाई पुष्टि गर्नमा समर्थन हुन्छ । सो कागजमा अभियुक्त जिमिदार कुर्मीले सोनवाको मञ्जुरीले करणी गरेको भनी लेखेकोले त्यही कागजमै अभियुक्तको विरुद्ध लाग्न सक्ने सबैभन्दा ठूलो प्रमाण यस मिसिलमा छ । रामरताको बयानमा जबरजस्ती करणी गर्दा छोरी सोनवाको मुख ढाकेको भनी लेखेको व्यहोरा सोनवाको दरखास्त र बयानमा समेत परेको देखिंदैन । जबरजस्ती गरेकोमा स्वास्नी मानिसको अंगमा र खास गरी लोग्ने मानिसको अंगमा कुनै चिन्ह दाग रहेको डाक्टरी जाँचबाट देखिएन । करणी पछि देखिन सक्ने कुनै कुराहरु ६ गतेको वारदात देखाएकोमा ८ गते भएको डाक्टरी जाँचमा जिमिदार कुर्मीको देखिंदैन । निजले गुप्ताङ्गका रौंहरु सफासंग खौरेको कुरा जाँचबाट देखिएको छ । उता स्वास्नी मानिसको ८ गते नै जाँच हुँदा भने कुमारी छेदरेपचर भएको भनी लेखेको देखिन्छ । यस्तो जाँचबाट यो करणीबाट हो या अरु कुनै कारणबाट हो भनी लेडी डाक्टरले लेखेको र बोर्ड गठन गरी राय बुझ्दा सोनवा गडरिनको गुप्ताङ्गमा जबरजस्ती केही कडा चिज पसाएको हो तर, करणीबाट हो अथवा अरु कारणले हो किटान साथ लेख्न सम्भव छैन भन्ने राय छ । यस्तोलाई जबरजस्ती गरेको भनी देखाउने अरु प्रमाणतर्फ विचार गरेमा सोनवाले बयान गर्दा मलाई जबरजस्ती समाई भूमिमा सुताई जबरजस्ती करणी गर्न थाल्यो । मलाई दर्द भई कराउँदा आपसमा कुनै मानिस नहुँदा कोही आउन नसकेकाले भन्ने लेखेको र करणी गरी सकेपछि अरु भैंसी चराउने गोठालाहरुलाई भेट भए तापनि जिमिदार कुर्मीले कसैलाई नभन्नु भनेकोले नभनेको हुँ भन्ने लेखाएकीले जिमिदार कुर्मीले भने अनुसार यो कुरा सोनवाले प्रकट नगरेकी, करणी गरेको समय अन्दाजी ३ बजे एक छिन भनी जिमिदार कुर्मीले र १ बजे अन्दाजी १ घण्टा भनी सोनवाले बयान गरेकी त्यसटायम देखि अपराधबारे कुनै खलबल रुनु कराउनु केही नगरी शान्ती साथ भैंसी साथ लिई बेलुका घर फर्केकी भनी सोनवाको बयानमा यस्तो धैर्य देखाएकीबाट खुशीराजी देखिने, यस्तो अपराधमा माथि लेखिए बमोजिम उमेर पत्ता लगाउनु आवश्यक देखियो । मौकाको ०२१ साल भाद्र ७ गतेको दरखास्तमा सोनवाको उमेर वर्ष ९ लेखिएको ०२३ सालको बयानमा वर्ष ११ लेखिएको विरुद्ध निजको उमेर डाक्टरद्वारा गराउँदा १४।१५ वर्षकी हुन सक्छ भनी ०२३ साल भाद्र १२ गते लेखेको छ । माथि लेखिए बमोजिम स्वास्नी मानिसको धैर्यको समेत विचार गर्नु परेको छ । १४ वा १५ वर्षकी हुन सक्छ भनी ०२३ सालको जाँचमा लेखेपछि १ वर्षको मात्र फरक हुने गरी चिन्हहरु सोनवाको शरीरमा देखापरेको छ । तदनुसार ०२१ सालमा १२ वा १३ को अन्जाम राखिन्छ । निजको ०२३ सालको बयानमा वर्ष ११ भनेको र २१ सालमा वर्ष ९ भनेको झुठ्ठा देखिन्छ । घरमा आमाहरुले वेदनामा उपचार केही गरेको देखिदैन । केवल कपडामा रगत लागेको देखेर यो मुद्दा शुरु गराईएको छ । त्यो उमेरमा बाँके जिल्लाको स्वास्नी मानिसको भाद्र महिनामा कपडामा रगत लागेको रजश्वला भएर हुन सक्छ । त्यति अवस्थामा रहेकी त्यस्तो धैर्य राख्न सक्ने उच्छृङ्खल स्वास्नी मानिसको उमेर लेखाईबाट वर्ष १४ नपुगेको भन्ने अनुमान हुँदैन । १४ वर्ष उमेर नपुगेकी स्वास्नी मानिसको राजीखुसीले पनि करणी गर्न नहुने हो, प्रहरी प्रतिवेदनमा उमेरका कारणले हो वा अरु जबरजस्ती प्रकारले हो करणी गरी जबरजस्ती करणी भएको हो प्रष्ट खोलेको देखिएन । डाक्टरी जाँचबाट पनि अन्जाम हुँदा १ वर्ष मात्र फरक हुने गरी ०२१ सालमा १३ वा १४ वर्षकी भनी अभियुक्तले पुनरावेदनमा सोनवाको उमेर लेखे बमोजिम नै १४ वर्ष भनी देखिंदैन । तसर्थ उमेरको एकिन गरी प्रहरी प्रतिवेदन नपरेकोमा सो बमोजिम अपराधी हुने नभई सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची (क) मा नपर्ने देखिएकोले अभियुक्तलाई सजाय लाग्न सक्दैन, नियमबमोजिम मिसिल बुझाई दिनु भन्ने मा.न्या. श्री हेरम्बराज ज्यूको राय र,
१२. प्रतिवादी जिमिदार कुर्मीले प्रहरी समक्ष गरेको कागजमा सोनवाको खुसीराजीले करणी गरेको हुँ भनी लेखिएको छ तापनि अदालतमा आई बयान गर्दा इन्कार लिएको खुशीराजी भए यो उजुरी पर्ने अवस्था आउँदैन । जबरजस्ती भए जबरजस्तीको अभियोग लागी पक्राउ परेको अदालतमा इन्कार गर्न सक्ने व्यक्तिले खुशीराजीले करणी भएको भनी स्वेच्छाले भन्ने अवस्था पर्दैन । त्यसकारण त्यो साविती शंकास्पद हुँदा अभियोग लगाउने वादीले नै गराएको कागजलाई अकाट्य प्रमाण मान्न भएन र त्यसलाई समर्थन गर्न अन्य सबूद प्रमाण छ छैन भनी मिसिलको अवलोकन गर्दा करणी भयो भनेको ०२१।५।६ गतेको दिन भैंसी चराउन गएको छैन भन्ने जिमिदार कुर्मीको बयान जिकिर भएको । त्यसदिन निज भैंसी चराउन सोनवाको साथ गएकै थियो भन्ने भनाई कसैको नदेखिएको भैंसी चराउने गोठालाहरु पनि थिए भन्ने सोनवाको बयानबाट देखिएको साथ साथै भैंसी चराउन गएकाहरु पनि एकै ठाउँ नजिकै रहने सम्भव हो । करणी भएको बखत कुनै कारणले छुटीनगएको भए पनि अरु गोठाला नजिकै भई थाहा पाउँछन कि भनेर जबरजस्ती गर्न नसक्ने अवस्था पनि पर्छ, यदि टाढै भई थाहा नपाउने जानी अपराध गरेको भए पनि ति गोठाला भेट हुनासाथ सोनवाले तिनलाई भन्नु पर्ने, भनेको कारण कसैलाई नभन्नु भनी जिमिदार कुर्मीले भनेकोले भन्ने भनाई छ, जब आफ्नो इच्छा विरुद्ध कसैले केही गर्दा आफूलाई पिडा पुगेको छ भने आमालाई भन्न सकेझैं गोठालालाई भन्न सक्नै पथ्र्यो, त्यसो नभए पनि गोठालाले रगत समेत देखी सोधी बुझी थाहा पाउने र तिनले हो यो यस्तो देखे थाहा पाएका थियो भनी भन्नु पर्ने थियो । त्यस्तो देखिएन । ति सबूद पनि प्राप्त गराइएन र दिनभर अभियोगीका संग साथै रही बेलुका घर आएपछि मात्र आमालाई भनेको भन्ने देखियो । घर आई भनी गोठालाहरुलाई थाहा भएको भनेपछि पनि उसै ठाउँमा घर भएको प्रतिवादीलाई सोधी बुझी एकिन नगरी भोलिपल्ट प्रहरी समक्ष उजूर गर्नु जबरजस्ती करणी भएकै भए धोतीमा लागेको रगतमा विर्य मिश्रित हुन सम्भव हुने त्यस्तो छ, छैन भनी जँचाउने प्रयास नगरी त्यो सबूद गुम हुनुले समेत करणी गरेको भन्न मौकाको सबूद अपर्याप्त देखिन्छ । डाक्टरी जाँचबाट सोनवाको गुप्ताङ्गमा भएका चिन्हहरु जबरजस्ती केही कडा चीज पसाएको हो तर करणीबाट हो अथवा अरु कारणले हो किटानसाथ लेख्न सम्भव छैन भन्ने देखिएको काम काजमा हिंड्दा कुनै किसिमको दर्घटना हुन गई वा अन्य कारणले अवस्थानुसार त्यस्तो रगत आउन सक्ने पनि हुनाले डक्टरी जाँचबाट यकिन हुन नसकेको जबरजस्ती करणीकै चिन्ह हो भन्न नमिल्ने प्रतिवादीले त्यस मौकामा अनेत्र छु भनेको सबूद नपुेकोले वारदात गरेको भनेको स्थानमा रही अपराध गरेको सिद्ध हुने भनी विद्वान अधिवक्ताले बहस गर्नु भयो । अपराध गरेको हो भन्ने शंकारहित सबूद पर्याप्त भएको भए मात्र अन्यत्र रहेको सबूद आएन भन्न मिल्ने थियो । तर यसमा उपरोक्त उल्लेख गरिए बमोजिम अपराध गरेको सबूद नभएकोले अन्यत्र रहेको सबूद पुर्याउन सकेन भन्ने कुराले मात्र अपराध कायम गर्नु न्याय सिद्धान्तको विपरीत हुन जान्छ । त्यसकारण उक्त बहसमा सहमत हुन मिलेन, डाक्टरी जाँच करणी गरे भनेका खवत १२।१३ वर्षकी देखिने सोनवाको उमेर घटाई ९ वर्षकी भनी लेखेबाट अमानवीय काम गरेछ भन्ने प्रति भानपार्ने आशयको बोध हुन्छ । त्यसो भए पनि जबरजस्ती करणी नभए त्यस्तो जाहेरी पर्नु इवी कारण के होला भनी शंका उठ्ने हकमा एकै गाउँमा रहेका यिनीहरुमा प्रतिवादीले भने जस्तै वा अरुले पनि कुनै किसिमको मनोमालिन्य भएकोले प्रतिवादीलाई फँसाउन प्रयास गर्नु पनि असम्भब हुँदैन, उसमा पनि झुठ्ठा उजूर गर्ने कारण नभएकैले कसूर कायम हुन नसक्ने समेत हुँदा प्रहरीमा गरेको कागजलाई समर्थन गर्ने अन्य प्रमाण केही नभएको यस्तोमा शंकाको भरले अपराध कायम गर्न मनासिव नपर्ने हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीलाई सफाई दिएको इन्साफ भेरी अञ्चल अदालतको मनासिव छ भन्ने माननीय न्यायाधीश लोकराज जोशीको राय भएको ०२५।१२।२७।४ को डिभिजन बेञ्चको फैसला ।
१३. जवरजस्ती करणी गरेको भनिएकी सोनवा गडरिनको उमेर पुनः जाँच गराउनु पर्ने देखिएकोले निजलाई ऐनबमोजिम म्याद दिई झिकाई निज सोनवाको उमेर हाल कति वर्षको देखिन्छ, डाक्टरहरुको बोर्ड गठन गरी राम्रोसंग जाँची खुलाई पठाई दिनु भनी वीर अस्पताल काठमाडौंलाई लेखी पठाई सो भई आएपछि पेश गर्नु भन्ने ०२६।४।२८।३ को फुल बेञ्चको आदेश ।
१४. यसमा ०२६।१२।२१ को पेशीको तारेखमा पेश हुन आएकोमा तारेखमा रहेको प्रतिवादी जिमिदार कुर्मीको पटक पटक नाम पुकार्न लगाउँदा उपस्थित नभएको भए पनि पेशीमा चढी सकेको मुद्दा किनारा गर्न नअड्कने हुनाले पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाले र प्रतिवादी जिमिदार कुर्मीतर्फबाट विद्वान बैतनिक अधिवक्ता श्री सुधानाथ पन्तले गर्नुभएको वहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी जिमिदार कुर्मीले सोनवा गडरिनको खुशीराजीले करणी गरेको देखिन्छ । १४ वर्ष मुनीको नदिएकोले अपराधी हुने नभई सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूचीमा नपर्ने हुँदा अभियुक्तलाई सजाय लाग्न सक्दैन भन्ने माननीय न्यायाधीश श्री हेरम्बराजको र शंकाको भरले अपराध कायम गर्न मनासिव नपर्ने हुँदा करणी गरेको नठहर्ने भन्ने माननीय न्यायाधीश श्री लोकराजको राय भई मुख्य करणी गरेको हो होईन भन्ने कुरामा ०२५।१२।२७।४ को डिभिजन बेञ्चमा माननीय न्यायाधीशहरुको मतैक्य हुन नसकेबाट निर्णयको लागि यसबेञ्चमा पेश हुन आएको रहेछ । उक्त डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको राय नमिलेको बिषय समेतलाई ध्यानमा राखी हेर्दा मुख्यतया निम्न प्रश्नहरुउपर यसबेञ्चबाट निर्णय दिनु पर्ने भएको छ ।
(१) प्रतिवादी जिमिदार कुर्मीले सोनवा गडरिनको करणी गरेको हो होईन ?
(२) यदि करणी गरेको हो भने खुशीराजी या जबरजस्ती के हो ?
१५. सर्वप्रथम पहिलो प्रश्नतर्फ हेरेमा प्रतिवादी जिमिदार कुर्मीले मैले प्रहरीमा ठाडो कागज गर्दा खुशीराजीबाट करणीको हुँ भनी करणी गरेको कुरा स्वीकारै गरेको र पछि अदालतमा बयान गर्दा मैले करणी गरेको होइन भनी इन्कार गरेका समेत रहेछ । म कहिले पनि भैंसी चराउन जाँदैनथे वारदात भएको भनेको ०२१ साल भाद्र ६ गते विहान अं. १० बजे मेरो घरदेखि अं. १ मिल टाढा कलहंश भन्ने गाउँमा मुन्सि खाँको घरमा उनीको भाइ भाइमा झगडा भएकोले मिलाई दिने पञ्चायत गर्न गएको थिएँ भन्ने निज प्रतिवादीले अदालतको बयानमा जिकिर लिएकोमा मुन्सि खाँले बयान गर्दा सो दिन जिमिदार कुर्मी कहाँ थियो मलाई थाहा छैन । मसंग भेटघाट भएन भनेको र निज प्रतिवादी कै साक्षी कलहंश गाउँको अब्बास खाँ, महवुर खाँ, बदलुखाँ, महवुर खाँ, रजनवा गाउँको मुसैली भन्ने गयाप्रसाद कुर्मी सोनवर्सा गाउँको छोटेलाल लुहार समेतले सो भाद्र ६ गते जिमिदार कुर्मी कहाँ थियो थाहा छैन भन्ने बेकेको समेत हुँदा कलहंस गाउँ मन्सी खाँको घरमा गएको भन्ने प्रतिवादी जिमिदार कुर्मीको उपरोक्त जिकिर प्रमाणित हुन आएन । ०२०।२१।५।८ गते सोनवा गडरीनलाई जाँच गराउँदा निजको कुमारी छेदरेपचर भएको भन्नेसमेत लेडी डाक्टरले र गुप्ताङ्गमा केही कडा चिज पसाएको हो तर करणीबाट हो अथवा अरु कुनै कारणबाट हो किटानसाथ लेख्न सम्भव छैन भन्ने डाक्टरहरुको बोर्डले लेखी दिएको पाइन्छ । करणी बाहेक अन्य केही कडा चिज पसाएको हो कि भन्नालाई त्यस कुराको परिबन्द पुग्ने सबूद आएको छैन । केही कडा चिज पसाई आफ्नो नारी जिवनमा कलंक लाग्ने गरी सोनवाले प्रतिवादीउपर झुठ्ठा करणी दोष लगाउनु पर्नेसम्मको विश्वासलायक कारण पनि मिसिलमा केही पाइदैन । जहाँसम्म प्रहरीमा गरेको कागजको प्रश्न छ त्यसको हकमा, आफू इन्कार रहेको व्यक्तिको प्रहरीले साविती कागज लेखाएको भए मौकैमा सहीछाप नगरी बिरोध गर्नुपर्नेमा पहिले कागज नसुनाई सहीछाप गरिसकेपछि सुनाएकोले आफ्नो भएको व्यहोरा बयान गर्दा भनौंला भन्ने विचारले पछि बिरोध गरिन भन्ने प्रतिवादीले अदालतमा गरेको बयानमा लेखाएको छ । प्रहरीले कुनै जबरजस्ती गरेको भन्ने भनाई नभएकोले पहिला कागजै नसुनी त्यस किसिमले सहीछाप गरेको भन्नेसमेत कुरा प्रतितको देखिंदैन । निज प्रतिवादी जिमिदार कुर्मीले थुनाबाट छुटकारा गरिपाउँ भनी ०२१।५।२९ गते जेल अफीस मार्फत दिएको निवेदनपत्रमा प्रहरीमा भएको कागजउपर कुनै बिरोध देखाउन पनि नसकेको समेत हुँदा प्र.जिमिदार कुर्मीले सोनवा गडरिनको करणी गरेकै प्रमाणीत हुन्छ ।
१६. अब दोश्रो प्रश्नको हकमा जिमिदार कुर्मीले जबरजस्ती करणी गर्न लाग्दा हल्ला गरेको कसैले नसुनेका र करणी गरी सकेपछि दिनभर भैंसी चराई साँझ घर फर्की आमालाई सबै कुरा भनेकी हुँ, करणी गरी सकेपछि अरु भैंसी चराउने गोठालाहरु भेट भएको भए तापनि करणी गरेको कुरा जिमिदार कुर्मीले कसैलाई नभन्नु भनेकोले नभनेकी हुँ भन्ने सोनवाले भेरी अञ्चल अदालतमा गरेको बयानमा लेखाएकी पाइन्छ । निजको मञ्जुरी बेगर जबरजस्ती करणी गरेको भए आफूउपर त्यस्तो जघन्य अपराध भई आफ्नो सतित्व नष्ट गराईएकी स्वास्नी मानिस गुप्ताङ्गको शारिरीक पीडा समेतबाट हतासमा परी रुनु कराउनु गर्दै तत्काल घर फर्कनु र बीचमा भेट भएका गोठालाहरुसंग पनि त्यो कुरा जरुर प्रकट गरेकी हुनुपर्ने थियो । तर निज सोनवाकै बयान अनुसार जिमिदार कुर्मीले कसैलाई नभन्नु भनेको कुरा नै मानी बीचमा भेट भएका भैंसी चराउने अरु गोठाला कसैलाई त्यो कुरा नभनी दिनभर धैर्यसाथ भैंसी चराई साँझ मात्र भैंसी लिई घर फर्केकी भन्ने देखिएको र जबरजस्ती करणी गर्दा दगलफसल भई अन्य अंगमा पनि कुनै घा खत भए परेको हुनुपर्ने, नभएकोले जबरजस्ती करणी भए गरेको भन्न मिल्ने अवस्था देखिंदैन । साँझ घर फर्केपछि कपडामा रगत लागेको देखी आमाले सोधपुछ गर्दा करणी भएको कुरा छिपाउन नसक्ने अवस्था परी आफु निर्देष बन्न निज सोनवाले मलाई जिमिदार कुर्मीले जबरजस्ती करणी गर्यो भन्नु स्वभाविक हुनसक्छ । वास्तवमा जबरजस्ती करणी भए गरेको प्रमाण पुग्न नआएकोले खुशीराजीबाट करणी भए गरेको पुष्टी हुन्छ ।
१७. सोनवाले आफ्नो उमेर ०२१।५।७।७ को दरखास्तमा ९ वर्ष, ०२३।५।१२ को बयानमा ११ वर्षको लेखाएकी र डाक्टरद्वारा उमेर जाँच गराउँदा चौध पन्ध्र वर्षकी हुन सक्छ भन्ने पि.वीर अस्पताल नेपालगञ्जको ०२३।५।१२ को पत्रमा लेखिएको समेत रहेछ । जबरजस्ती करणीको १ नं. मा चौध वर्ष मुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरासंग करणी गरे पनि जबरजस्ती करणी ठर्हछ भन्ने उल्लेख भएकोले करणी गर्दा निज सोनवाको उमेर १४ वर्ष मुनी–माथिको के रहेछ भन्ने कुरा हेर्नु पर्ने हुन आयो । ०२३ सालमा डाक्टरले जाँच गर्दा १४, १५ वर्षकी भनी लेखी दिएको हिसाबबाटै पनि ०२१ सालमा १२ या १३ वर्षकी हुने हुनाले निज सोनवाले उक्त दरखास्तमा ९ वर्ष बयानमा ११ वर्ष लेखिएकी झुठ्ठा सिद्ध भएकै छ । पी. वीर अस्पताल नेपालगञ्जको डाक्टरले ०२३ सालमा जाँच गर्दा १४, १५ वर्षकी भनी लेखिदिएको किटानी नभई अनुमानिकसम्म हो । उमेरको यकिन गरी १४ वर्ष मुनीकी भनी प्रहरी प्रतिवेदनमा उल्लेख गर्न सकेको छैन र यति वर्ष उमेर पुगेकी भन्ने भरपर्दो सबूद कुनै आउनसकेको पनि पाईदैन । ०२६।४।२८।३ को फुल बेञ्चबाट निज सोनवालाई म्याद दिई झिकाई निजको उमेर हाल कति वर्षको देखिन्छ, डाक्टरहरुको बोर्ड गठन गरी वीर अस्पतालबाट जाँच गराउने भन्ने आदेश भए बमोजिम निज सोनवाको नाउँमा म्याद जारी भएकोमा निज सोनवा म्यादमा हाजिरै हुन नआएकीले डाक्टरहरुको बोर्डबाट पुनः उमेर जाँच गराउने काम हुन नसकेको समेत हुँदा यस्तो सन्दिग्ध अवस्थामा निज सोनवा १४ वर्ष मुनिकी हो भन्न मिल्ने देखिदैन ।
१८. सरकारी मुद्दा सम्बन्धि ऐन, २०१७ को अनुसूची १ मा आफ्नी स्वास्नी बाहेक अरु स्वास्नी मानिसको जबरजस्ती करणी मुद्दा भन्नेसम्म उल्लेख भएको त्यसमा १८ वर्ष मुनीकी भन्ने बोली नपरेकोले उजुरी प्रतिवेदनमा उमेर यकिन गरेको नभए पनि जबरजस्ती करणी गर्यो भन्ने दावीको यो मुद्दा उक्त अनुसूची भित्रै परेकै देखिन्छ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूचीमा नपरेको भन्ने माननीय न्यायाधीश श्री हेरम्बराजको रायमा व्यक्त गरिएको मिलेको देखिएन । तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरुबाट प्रतिवादी जिमिदार कुर्मीले सोनवा गडरिनको खुशीराजीले करणी भए गरेको देखिएकोले अभियुक्तलाई सजाय लाग्न नसक्ने ठहराएकोसम्म २०२५।१२।२७।४ को डिभिजन बेञ्चमा माननीय न्यायाधीश श्री हेरम्बराजले व्यक्त गर्नुभएको राय मनासिव छ । वारदात नठहराएको सम्म भेरी अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
न्यायाधीश श्री वाशुदेव र न्यायाधीश श्री धनेन्द्रबहादुर
उपरोक्त ठहरमा हामीहरुको सहमत छ ।
इति सम्वत् २०२६ साल चैत्र २७ गते रोज ५ शुभम् ।