May 15, 1970
Created by nepalarchives

निर्णय नं. ५३३ – भैंसी चोरी

निर्णय नं. ५३३     ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२३ सालको फौ.फु.नं....

निर्णय नं. ५३३     ने.का.प. २०२७

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर विष्ट

न्यायाधीश श्री रङ्गनाथ उप्रेती

सम्वत् २०२३ सालको फौ.फु.नं. ३९

पुनरावेदन : का.ई.लाजिम्पाट बस्ने कालु महर्जन समेत

विरुद्ध

विपक्षी : का.जि.कंकेश्वरी बस्ने भक्तिनारायण खड्गी समेत

मुद्दा : भैंसी चोरी

(१)  सबूद प्रमाणको अभावमा पोलिएको भरमा मात्र कसैलाई कसूरदार ठहराउन नमिल्ने ।

          यस्तो अवस्थामा सबूद प्रमाणको बिलकुलै अभावमा प्रहरीमा भएको कागजमा सम्म पोलावट गरेको भरले मात्र कसुर ठहराउन मिल्दैन ।

(प्रकरण नं. २१)

वादी पुनरावेदक तर्फबाट : x

प्रतिवादी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ

उल्लेखित मुद्दा  : x

फैसला

          न्या.श्री रत्नबहादुर

          १.   भैंसी १ कृष्णबहादुर खत्री, धनबहादुर सुवाल समेत भई विष्णुमती खोलै खोला ल्याउन लागेको बखत पुलिसले पक्रन लाग्दा धनबहादुर भागी बेपत्ता भएको, कृष्णबहादुर भैंसी समेत पक्राउ गरेमा चोरीमा सावित भएको भनी दाखिला गरेकोले पुलिस अफीसबाट कृष्णबहादुरको कागज हुँदा धनबहादुर समेत भई कालु महर्जन समेतको घरबाट भैंसी चोरी गरी कंकेश्वरी भक्तिनारायणको घरमा लान लागेको हुँ, मेरो साथी कृष्णबहादुर बानियाँ समेत छन, /७ ठाउँको भैंसी चोरी भक्तिनारायण कसाहीको घरमा लगी बिक्री गरेका छौं भनेबाट पोलेका मानिस समेत खोजतलास गर्दा काले ढकाल समेत पक्राउ भई आएकोले यसैसाथ पठाएको छु भन्नेसमेत सोह«खुट्टे ठानाको चलानी ।

          २.   ०१४ साल जेष्ठ २० गतेका राती हामी घरका जाहान सवै परिवार सुती निदाएको मौका पारी म सुत्ने घरको छिंडीमा बाँधीराखेको लाहुरे भैंसी मो.रु.७५०। परेको दुहुनु भैंसी चोरी लगेछन् । त्यस्तैमा पुलिसद्वारा पक्राउ भई आएका धनबहादुरले मेरो भैंसी चोरी गरेमा समेत सावित भएकाले भैंसी कहाँ छ दिलाई पाउँ भन्नेसमेत कालु महर्जनको पुलिसमा ठाडो कागज ।

          ३.   ठाउँ ठाउँको भंैंसी चोरी भक्तिनारायण कसाहीकहाँ लगी बिक्री गरेको भन्ने कृष्णबहादुर बानियाँ, कृष्णबहादुर कार्की, दिलबहादुर थापा क्षेत्री, ढकाल काले भन्ने वेदप्रसाद, नरबहादुर, रेल काले भन्ने धनबहादुर, पूर्ण भन्ने कृष्णबहादुर समेतको पुलिसमा साविती ठाडो कागज, गोरे खडुकाको इन्कारी ठाडो कागज ।

          ४.   चोरलाई सजाय गरी चोरीको बिगो जसबाट दिलाउन पर्छ दिलाई पाउँ भन्नेसमेत मालधनी कालु मर्हजन समेतको अदालतमा बयान ।

          ५. पुलिसले कुटपिट गरी सास्ती साशना गरेकोले सहीछाप गरेको मात्र हो, हामीले चोरी गरेको छैनौ भन्नेसमेत पूर्ण भन्ने कृष्णबहादुर १, नरबहादुर १ सुरे भन्ने दिलबहादुर, कृष्णबहादुर कार्की, ढकाल काले भन्ने रेल काले धनबहादुर थापा क्षेत्री, ग्वाली भन्ने कृष्णबहादुर समेतको अदालतमा इन्कारी बयान ।

          ६.   लेखिएका मानिस मैले चिनेको छैन । मैले राँगो भैंसी काटी मासु बिक्री गर्ने काम र खरीद बिक्री गर्ने काम समेत गरेको छैन । आफ्नो ठेक्काको काम गरी आएको फाइदाबाट खान लाउन पुग्नेभई सालभरको आम्दानी केही बचतसमेत हुने हैसियतको काम भएको स्त्री जाती चौपाया भैंसी ऐनसवाल धर्मले काटी मासु बेच्न पनि नहुने हुँदा झुठ्ठा पोल गरेमा निजहरुलाई नै सजाय गरिपाउँ भन्नेसमेत भक्तिनारायण खड्गीको अदालतमा इन्कारी बयान ।

          ७.  रेल काले भन्ने धनबहादुरले ३९ ठाउँमा अबाटोबाट चोरी गरेको ठहरेकाले बिगोको डेडो दण्ड मोहरु २४४४१।६२।२ दण्ड र कैद वर्ष १२, पूर्णे भन्ने कृष्णबहादुर खत्री के बिगोको डेडो रु.५९०७।२ दण्ड र कैद वर्ष १२, ग्वाली भन्ने कृष्णबहादुर बानियाँ के रु.६५६१। दण्ड र कैद वर्ष १२, सुरे भन्ने दिलबहादुर थापा क्षेत्री के रु.२५३२। दण्ड र कैद वर्ष ५।७।१५, कृष्णबहादुर कार्की क्षेत्री के रु.४४२४।२५ दण्ड र कैद वर्ष १२, नरबहादुर खड्का क्षेत्री के रु.५५५८। दण्ड र कैद वर्ष १२, ढकाल काले भन्ने वेदप्रसाद ढकालले रु.६२१३। दण्ड र कैद वर्ष १२ हुन्छ । गोरे खड्काले चोरी गरेको ठहर्दैन । प्र.भक्तीनारायणको हकमा जालसाजीबाट पोले पोलाएको भन्ने नालेस रा.का.फौ.अ.मा गरेको सो मुद्दा दायरै रहेको देखिंदा उक्त मुद्दा नछिनी यो मुद्दा हालै किनारा गर्न नमिलेकोले उक्त मुद्दा छिनिएको जनाउ आएपछि किनारा गर्ने गरी हाललाई मुल्तवी राखी दिने भन्नेसमेत ०१५।८।३०।२ को अतिरिक्त विशेष अदालतको ०१५।८।३०।२ को फैसला ।

          ८.   मैले कसूर नगरेको हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी नरबहादुर खड्का क्षेत्रीको पुनरावेदन ।

          ९.   जालसाजी मुद्दा ०१९।७।२९ मा छिनिएको देखिएकोले भक्तिनारायणको हकमा बाँकी रहेतर्फ किनारा गरीपठाउन का.जि.अ.मा पठाउने भन्ने डिभिजन बेञ्चको ०१९।८।१७ को आदेश ।

          १०.  प्रतिवादीहरुले भक्तिनारायणलाई बेचे भनेका साँचो भए जरुर कुनै पटकको भैंसी दसीको रुपमा बरामद हुनुपर्नेमा सो भएको नदेखिएको र मैले मासु बिक्री गर्ने काम गरेको छैन ठेक्का र साबुनको काम गरी आएको छु भनी भक्तिनारायणले बयान गरेकोमा बुझिएका निजका साक्षीहरुले पनि निजले ठेक्का र साबुनको काम गरी आएको छ भनी भक्तिनारायणलाई सफाई हुने गरी बकपत्र गरेको समेत देखिएको । मालधनीहरुले पनि भक्तिनारायणउपर बिगोमा दावी नगरेकोले समेत भक्तिनारायणले चोरीको भैंसी किनेको ठर्हदैन भन्ने समेत का.जि.अ.बैं. को ०२०।७।२२।६ को फैसला ।

          ११.  बाँकी बिगो मल्तवी रहेको बिगो कसबाट भरी पाउने हो फैसलामा उल्लेख नगरी भक्तिनारायणलाई सफाई दिइ भएको इन्साफउपर चित्त बुझेन भन्ने वादी कालु महर्जनको पुनरावेदन ।

          १२.  मौकैमा डि.एस.पी. अफीसमा साविती कागज गर्ने अभियुक्त सबैले चोरी गरेको भैसीं खरीद गर्ने भनी पोलेका भक्तिनारायण खड्गीले हर्षबहादुरले पोलाए पोलेको भनी जालसाजीमा झुठ्ठा उजूर गरे पनि सो नठहरी का.फौ.ई.अ. र का.जि.अ. समेतबाट फैसला भएको देखिएको र उक्त मौकैमा सावित हुने सबैले आफुउपर झुठ्ठा पोलिनु पर्ने कारण परिबन्ध पुर्‍याउन निज भक्तिनारायणले सकेको नदेखिएकोले भक्तिनारायणलाई राखी छलफल गर्नुपर्ने भएकोले अ.बं.२०२ नं. र नियमबमोजिम छलफलका निमित्त झिकाई पेश गर्नु भन्नेसमेत ०२१।७।१०।२ को डिभिजन बेञ्चको आदेश ।

          १३.  पुनरावेदन नरबहादुरको हकमा श्री ५ महाराजाधिराजको शुभ जन्मोत्सवमा बाँकी कैद माफी पाई छुटेको अ.बं.१९५ को म्याद भित्र हाजिर हुनुपर्ने नभएकोले निजको पुनरावेदन डिसमिस हुन्छ । भक्तिनारायणको हकमा मालधनी कालु महर्जन समेतले चोरीको माल भक्तिनारायणले लिएको छ भनी अद्यापि तक दावी जिकिर लिन नसकेको साविती चोरहरुको पुलिस कागजमा पोल बमोजिम चोरीको भैंसी भक्तिनारायणले किनेको हो भनी कागज गरी दिएका अदालतमा बयान हुँदा पूर्णे भन्ने कृष्णबहादुर समेतले भक्तिनारायणलाई चिनेको छैन, पुलिसले कुटपिट गरेबाट पोल्न लगाएको हो हामीले चोरीको माल बिक्री गरेको छैन भनी इन्कारी बयान भएको देखिन आयो, जुन व्यक्तिहरुको पोलावटबाट प्र.भक्तीनारायण चोरीको माल किन्नेमा पोलिएका छन ति पोल्ने व्यक्तिको अदालतमा बयान हुँदा चिने जानेको र पोलेको समेत छैन भनी किटानी साथ लेखी दिएको, रेल काले भन्ने धनबहादुर समेतले पुलिस कागजमा साविती  बयान हुँदा चोरीको माल भक्तिनारायण खड्गीलाई बिक्री गरेको भनी पोल गरेपछि मालधनी कालु महर्जन समेतको बयान हुँदा तथ्यपूर्ण कुराले कसुरदार हो भन्नु त परै रहोस, शंकासम्म पनि गर्न नसकेका मैले राँगो भैसी काटी मारी मासु बिक्री गरेको र राँगो भैसी खरीद गरी ल्याएको समेत छैन ठेक्काको साबुनको काम गरी आएको छु भनी भक्तिनारायण ईन्कार गरेको देखिएको, चोरी जस्तो मुद्दामा साक्षी सबूदको आवश्यकता हुन आउँछ । त्यसतर्फ बुझिएका प्र.का साक्षी र वादीका सबूद प्रमाणहरुबाट प्र.भक्तीनारायणले चोरीको भैंसी किनेको देखिन नआएको र अरु सबूद प्रमाण समेत विल्कुल नभएकोले त्यस्तो सबूद प्रमाणको अभावमा पुलिसमा भएको चोरहरु भनिएको व्यक्तिहरुको साविती कागजलाई अकाट्य प्रमाण सम्झी त्यसको भरबाट दोषी ठहराउन समेत नमिल्ने हुँदा चोरीको भैंसीहरु किनेको नठहराई काठमाडौं जिल्ला अदालत पैलाबाट छिनेको इन्साफ मनासिव ठर्हछ, सहयोगी न्यायाधीश श्री कालीप्रसादले चोरीको भैंसी किनेको ठहराई भक्तिनारायणलाई सजाय गर्ने गरी फैसला गर्नुभएको रायमा सहमत नहुँदा डिभिजन बेञ्चको लगत काटी सर्वोच्च अदालत नियमावली, २०११ को नियम ३३ बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री नयनबहादुर खत्रीको राय,

          १४. अपीलाट कालु महर्जनको रु.७५०। पर्ने भैंसी चोरी मो.रु.४२ नं.मा भक्तिनारायणले बिक्री गरेको हुँ भनी रेल काले भन्ने धनबहादुर भन्ने कृष्णबहादुर समेत जना ७ को मौकैमा कागज हुँदा पुलिसमा सावित भई पोल गरेकोमा हर्षबहादुरसंग रिसईवि हुँदा निजले पोल्न लगाएको हो, मैले चोरीको भैंसी नकिनेको हुँदा जालसाज गरेमा सजाय गरिपाउँ भनी हर्षबहादुर पोल गर्ने व्यक्तिउपर समेत जालसाजी मुद्दा दिएकोमा पुलिसद्वारा पक्राउ भई पहरामा रहेका प्रतिवादीहरुलाई निज हर्षबहादुरले बाहिरबाट त्यसरी सिकाई पोलाउन सक्ने सम्भव देखिंदैैन । जालसाजीबाट वादीलाई चोरीको भैंसी बिक्री गरेको भनी पोल्न लगाएको ठहर्दैन भनी का.ई. अदालतबाट र का.जि.अ.पै.बाट समेत फैसला भएकोमा भक्तिनारायणको अपील पर्दा आजै यसबेञ्चबाट अपील लाग्न नसक्ने ठहराई फैसला भएको जुन व्यक्तिहरुद्वारा चोरीको माल किनेको हो उनै व्यक्तिका नाउँमा चोरीको माल किनेको छैन, जालसाज गरेको भनी दिएको जालसाज मुद्दामा पनि जालसाजी नठहराई फैसला भएपछि चोरीको माल किनेको भन्ने सिद्ध हुन आउँछ । कालु महर्जन समेतका व्यक्तिहरुको सयकडौं भंैसीहरु चोरी लगी सो चोरीको माल आफूसंग राखेको र अन्यत्र लगेका समेत नभई सबै मालहरु प्र.भक्तीनारायणकहाँ सस्तो मोलमा बिक्री गरेमा सबै अभियुक्तहरुको मुख मिली पुलिसमा साविती कागज भएकोमा अदालतमा आई ईन्कार भए पनि जहाँसुकै भए पनि अधिकारप्राप्त अधिकारीका समक्ष त्यस्तो साविती  कागज गरेकोमा सो कागज निजहरुले आफ्नो राजीखुसीबाट गरेको होइन भन्ने कुराको सबूद प्रमाण दाखेल गर्न नसकेको चोरी गरेमा ग्वाली भन्ने कृष्णबहादुर बानियाँ क्षेत्री समेतलाई कैद वर्ष १२ समेत गर्ने गरी अतिरिक्त विशेष अदालतबाट फैसला भएकोमा अपील उजूर गर्न नसकी चित्त बुझाई बसेको देखिएकोले इच्छाबेगर भएको कागज भए जरुर सफाईको कोशिषतर्फ उजूर गर्न सक्नु पर्ने जाहाँ सकेनन्, पुलिसमा भएको कागज आफ्नो इच्छानुसार गरेको हो भन्ने सिद्ध हुन आउँछ र यस्तो दिएको बयानलाई पछिबाट इजलासमा आई इन्कारी दिए तापनि पुलिसकहाँ दिएको बयान झुठ्ठो भन्न सकिन्न । भक्तिनारायणका बयानबाट मैले भैंसी राँगो काटी मारी मासु बिक्री गरेको र खरीद गरेको समेत छैन । ठेक्काको साबुनको काम गरी आएको छु भनी सफाईको प्रतिवादी दिए पनि निजले साबुनको ठेक्काको मात्र काम गरी आएको भन्ने निजको साक्षीको भनाईसम्म मात्र हो । सो ठेक्काको काम यस ठाउँमा गरेको छ भन्न लेख्न सकेको देखिंदैन । ठेक्काको काम गर्ने व्यक्तिले भैंसी बेच्न सकिदैन भन्न नसकिने, निजले नै चोरीको भैंसीहरु सस्तो मोलमा लियो भन्ने उपरोक्त चोरी गर्ने व्यक्तिहरुको बयानबाट देखिएको छ । प्र.भक्तीनारायणका साक्षीहरुको १५ सालमा बकपत्र हुँदा भैंसी खरीद गर्ने काम गरेको छैन भन्नेसम्म बकपत्र भएको, २०१५ सालमा चोरीको खरीद बिक्री गर्ने काम नगरेको भए पनि त्यसभन्दा अघि निजले चोरीको भैंसी खरीद बिक्री गर्ने गरेको छैन भन्ने निजको साक्षीको बकपत्र नभएकोले ०१५ साल अघि चोरीको भैंसीहरु किन्ने गरेको रहेछ भन्ने चोरहरुको पोलबाट र निजको साक्षीको बकपत्र समेतबाट देखिन आउँछ । अरु अपील गर्नेको हकमा विचार गर्नु नपरी अपील गर्ने कालु महर्जनको हकमा निजको रु.७५०। को भैंसी चोरी रु.४२। भक्तिनारायणले बिक्री गरेको हुँ भनी चोरहरु सावित भएको देखिएकोले चोरीको भैंसी जानी जानी भक्तिनारायणले किनी निजी फाइदा उठाएको देखिएकोले चोरीको २४ नं. ले बिगो जरिवाना हुने र बाँकी बिगो प्र.भक्तीनारायणबाट भरी पाउने भन्ने अपील जिकिर पुग्न नसक्ने चोरी गरेको माल किनेको ठहर्दैन भनी का.जि.पैं. ले गरेको इन्साफ गल्ती ठर्हछ । सहयोगी माननीय न्यायाधीश श्री नयनबहादुर ज्यूले प्र.भक्तीनारायणले चोरीको भैंसी किनेको नठहराई सफाई दिनुभएको राय फैसलासंग मेरा सहमत नहुँदा डिभिजन बेञ्चको लगत काटी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ बमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्यायको राय भएको ०२३।३।२२।४ को फैसला ।

          १५.  पहिले डिभिजन बेञ्चबाट भएको ०२२।१२।२५।५ को आदेश बमोजिम बुझिएकोमा उक्त मुद्दा यस अदालतको लगत कायम नभई बिगठित काठमाडौं विशेष अदालतबाटै मिति ०१९।३।७।५ मा दायरीको लगत काटी दिएको राय कितावबाट देखिएको भनी बागमती विशेष अदालतबाट ०२३।१।९।५ मा जबाफ दिएको देखिएकोले बिगठित काठमाडौं विशेष अदालतबाट राय किताबमा के व्यहोरा जनाई लगत काटिएको रहेछ, सो र काठमाडौं विशेष अदालत बिगठित भई बागमती विशेष अदालत खडा भएपछि ०२२।६।६ को गजेटमा प्रकाशित कानून तथा न्याय मन्त्रालयको सूचनाको बागमती विशेष अदालतलाई सौपिएको बाहेक बिगठित काठमाडौं विशेष अदालतमा दायर भएका अरु मुद्दा बागमती अदालतमै वा अरु अदालतमा सरीगएको समेत के हो यस बिषयमा के कस्तो आदेश भएको छ पहिलेको अतिरिक्त विशेष अदालतबाट केही व्यक्ति केही बिगोको हकमा सम्म ठहर फैसला गरी र केही व्यक्ति र केही बिगोको हकमा पछि फैसला गर्ने गरी बाँकी राखेकोमा त्यस्तो बाँकी कलम अब हालको बागमती विशेष अदालतबाट हेरी फैसला गर्न मिल्ने नमिल्ने के स्थिति छ, सो समेत राम्रोसंग हेरी बुझी उपरोक्त कुराहरुको यथार्थ जबाफ पठाइदिनु भनी बा. वि.अ.लाई लेखी पठाई जबाफ आएपछि पेश गर्नु भन्ने ०२३।४।३२।३ को बेञ्चको आदेश ।

          १६.  अतिरिक्त विशेष अदालतबाट ०१५।८।३०।२ मा फैसला गर्दा प्र.भक्तीनारायण खड्गीका हकमा जालसाजबाट पोले पोलाए भनी निजले रा.का.फौ.अ.मा दायर गरेको मुद्दा छिनिएको जनाउ आएपछि किनारा गर्ने गरी हाल मुल्तवी राखी दिने र भन्ने र बिगोको हकमा देहाय बमोजिम बिगो हालै भराई दिने बाँकी बिगोको हकमा भक्तिनारायणले दिएको जालसाजी मुद्दा नछिनी हालै किनारा गर्न नमिल्ने भएकाले पछि इन्साफ हुँदा भक्तिनारायणले भैंसी किने नकिनेको तहकिकात भएपछि ठेकान लाग्ने भन्नेसमेत फैसलामा उल्लेख गरी बाँकी राखी भक्तिनारायण बाहेक अरु प्रतिवादी र केही बिगोको हकमा सम्म ठहर फैसला गरेकोमा अपील परी मिसिल सर्वोच्च अदालतमा आउँदा भक्तिनारायणले उजूर गरेको जालसाजी मुद्दा ०१९।७।२९ गते छिनिएको प्रमाण मिसिलबाट देखिएको सो मुद्दामा अपील परेमा काठमाडौं जिल्ला अदालतमा पर्ने भएकाले यो चोरी मुद्दामा भक्तिनारायणका हकमा किनारा हुन बाँकी रहेतर्फ ऐन सवाल बमोजिम जो बुझ्नु पर्ने बुझी यो मुद्दा र अपील परे जालसाजी मुद्दा समेत छिनी किनारा गरी पठाउनु भनी का.जि.अ. मा पठाई दिने डिभिजन बेञ्चबाट ०१९।८।१७।१ मा आदेश भई मिसिल का.जि.अ.पै.मा गएको सो अदालतबाट डिभिजन बेञ्चको उक्त आदेशानुसार भक्तिनारायणको हकमा ०२०।७।२२।६ मा फैसला हुँदा अघि अतिरिक्त बिशेष अदालतले निजै भक्तिनारायणको हकमा तहिकात भएपछि ठेकान लाग्ने भनी किनारा गर्न बाँकी राखेको बिगोको हकमा समेत ठहर फैसला हुनुपर्ने सो भएको देखिएन । अतः अतिरिक्त विशेष अदालतले किनारा गर्न बाँकी राखेको कलममा तहकिकात फैसला गर्ने विशेष अदालतमा मिसिल पठाउन नभई अञ्चल अदालतमा मिसिल पठाउनु पर्ने भएको कुरा बागमती विशेष अदालतको ०२३।५।३।६ को जबाफबाट देखिएकोले भक्तिनारायणको हकमा अञ्चल अदालतबाटै फैसला भइसकेकोले फेरि त्यसै अदालतमा दोहर्‍याई फैसला गर्न पठाउनु नपर्ने कलम बाहेक अतिरिक्त विशेष अदालतबाट फैसलामा काम बाँकी राखेको बिगोको हकमा यो मुद्दालाई प्राथमिकता दिई झिकाउनु पर्ने मानिस झिकाई जो जे बुझ्नु पर्ने तदारुखसाथ बुझी चाँडो अंग पुर्‍याई अंग पुगेको १५ दिन भित्रै किनारा गरी अपील परे अपील साथ र नपरे अपीलाट कालु महर्जनको हकमा किनारा गर्न मिसिल सर्वोच्च अदालतमा पठाई दिनु भनी हाल तारेखमा रहेको भक्तिनारायणको वारेसलाई पछि झिकाउने गरी तारेख टुटाई र अपीलाट कालुलाई बागमती अञ्चल अदालतमा हाजिर हुन तारेख तोकी मिसिल बागमती अञ्चल अदालतमा पठाई सो बमोजिम भई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने ०२३।५।१०।६ को फुल बेञ्चको आदेश ।

          १७.  चोरी गरेको सावित हुनेहरुले चोरी गरेको भैंसी भक्तिनारायण खड्गीलाई बिक्री गरेका हुन भन्नु भएकोमा भक्तिनारायणले लिएको नठहरी सफाई पाई यसै अदालतबाट फैसला भएको देखिएको अतिरिक्त विशेष अदालतको फैसलाबाट चोरी गर्ने ठहरेकाहरुले नै चोरी गरेको बिगो तिर्नु पर्ने चोरी गरेको बिगो के कति भन्नेतर्फ वादीले दावी गरेको बिगो होइन घटि हो भन्ने प्रमाणबाट नदेखिएको बुझिएका साक्षी प्रमाणबाट वादीले दावी गरेका बिगोलाई समर्थित देखिएको समेत प्रमाणबाट वादी दावी बमोजिमको बिगो मध्ये अतिरिक्त विशेष अदालतको ०१५।८।३०।२ को फैसलाले भराउने गरेको बिगो बाहेक बिगो मालधनी वादीहरुले कसूर ठहरेका धनबहादुर भन्ने कृष्णबहादुर समेतका प्रतिवादीहरुबाट भरी पाउने ठर्हछ भन्नेसमेत बागमती अञ्चल अदालतको ०२५।५।४।२ को फैसला ।

          १८.  हामीहरुको बिगो चोरीको माल किन्ने भक्तिनारायणबाटै भरी पाउनु पर्ने समेत हुँदा सो इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी हिरालाल समेतको ०२५।९।१८।४ को पुनरावेदन ।

          १९.  यसमा तारेखमा रहेका पक्षहरु रोहवरमा रही ०२७।१।२२।३ मा पेश भई प्रतिवादी भक्तिनारायण कसाईकोतर्फबाट विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी भक्तिनारायणको हकम निजले चोरीको भैंसी लिएको ठहर्दैन भन्ने माननीय न्यायाधीश श्री नयनबहादुरको र ठर्हछ भन्ने माननीय न्यायाधीश श्री कालीप्रसादको राय भई ०२३।३।२२।४ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरुको मतैक्य हुन नसकेबाट निर्णयार्थ २०२३।५।१०।६ को फुल बेञ्चमा पेश भएकोमा अतिरिक्त विशेष अदालतबाट ०२०।७।२२।६ मा फैसला हुँदा किनारा गर्न बाँकी राखेको बिगोको हकमा जो जे बुझ्नु पर्ने बुझी किनारा गरी पुनरावेदन परे पुनरावेदन साथ नपरे पुनरावेदक कालु महर्जनको हकमा किनारा गर्न मिसिल पठाई दिनु भनी बागमती अञ्चल अदालतमा पठाई दिने भन्नेसमेत ०२३।५।१०।६ मा आदेश भई मिसिल बागमती अञ्चल अदालतमा गएको र सो अदालतबाट बिगोतर्फ भक्तिनारायणको कसूर नठहरेकोले निज बाहेक अरु प्रतिवादीबाट भराई दिने गरी ०२५।५।४।२ मा फैसला गरेउपर चित्त बुझेन भन्ने वादी हिरालाल श्रेष्ठ समेतको पुनरावेदन परी आएको समेत रहेछ । बागमती अञ्चल अदालतको ०२५।५।४।२ को फैसलाउपर पछि परेको वादी हिरालाल समेतको पुनरावेदनको हकमा साधारणतः अञ्चल अदालतउपरको पुनरावेदन डिभिजन बेञ्चले हेरी निर्णय गर्ने कानूनी व्यवस्था भए पनि उक्त पुनरावेदन जिकिरको बिगोतर्फ भक्तिनारायणको कसुर ठहरेमा निजबाट र निज कसुरदार नठहरेमा अरु अभियुक्तबाट भराई दिनुपर्ने समेत भई ०२३।३।२२।४ को डिभिजन बेञ्चको रायबाझी भई फुल बेञ्चको विचाराधीनमा आइराखेको भक्तिनारायणले कसुर गरेको हो होइन भन्ने कुरासंग पूर्णरुपले आश्रित एकैसाथ निर्णय हुनुपर्ने सम्बन्धित बिषय देखिएकोले यस्तोमा डिभिजन बेञ्चबाटै निर्णय हुनुपर्ने भन्न नमिल्ने समेत हुँदा प्रतिवादी भक्तिनारायणले चोरीको भैंसी लिएको हो होइन वादीहरुले बिगो कसबाट भरी पाउने हो सो कुराहरुको यसबेञ्चबाट निर्णय दिनुपर्ने भएको छ ।

          २०.  निज भक्तिनारायण खड्गीको हकमा निज दसीसाथ पक्राउ भएको समेत नभई हामीहरुले चोरी गरेको भैंसी निज भक्तिनारायणलाई बेचेको छौं भन्ने प्रहरीमा सावित हुने अभियुक्त कृष्ण थापा ढकाल, काले भन्ने वेदप्रसाद, नरबहादुर रेल काले भन्ने धनबहादुर पूर्ण भन्ने कृष्णबहादुर समेतले पोल गरेकोबाट निजउपर सो अभियोगमा कारवाई चलेको पाइयो । यस किसिमसंग कसुरमा पोल गरेकोमा आफूले पोल गरेको कुरा खम्बीर गराउने सबूद प्रमाण पुर्‍याउनु पर्ने कर्तव्य दायित्व पोल गर्ने अभियुक्तहरुकै हुनेमा पोल गर्ने अभियुक्त कृष्णबहादुर बानियाँ समेतले अदालतमा बयान गर्दा स्वयं आफूहरुले नै कसुरमा इन्कार रहेका समेत भई निज भक्तिनारायणले चोरीको भैंसी लिएकै भन्ने कुराको कुनै पनि सबूद प्रमाण दिन गुजार्न सकेको देखिन आएन ।

          २१.  भैंसी चोरी हुने मालधनी वादी कालु महर्जन समेतले अभियुक्त कृष्णबहादुर बानियाँ समेतको प्रहरीमा साविती कागज भइसकेपछि अदालतमा बयान गरेको यदि साविती कृष्णबहादुर समेतको भनाई अनुसार भक्तिनारायणले चोरीको भैंसी किनेकै भए निज वादीहरुले पनि त्यसको तथ्यपूर्ण जिकिर सहित निज भक्तिनारायण कसुरदार हो हाम्रो चोरी भएको भैंसीको बिगो निजबाटै भराई पाउँ भन्ने दावी लिन सक्नु पर्नेमा निज भक्तिनारायणको विरुद्धमा शंकासम्म पनि गर्नसकेको पाइएन । निज अभियुक्त भक्तिनारायणले बयान गर्दा मैले चोरीको भैसी किनेको होइन, भैंसी काटी मासु बिक्री गर्ने काम गरेको समेत छैन । ठेक्काको र साबुनको काम गरी आएको छु भनी कसुरमा इन्कार रहेको र निजको उपरोक्त इन्कारी जिकिर समर्थन हुने गरी निज भक्तिनारायणले कसुर गरेको होइन भनी निजको साक्षी हेमबहादुर खड्गी समेत १३ जनाले किटानसाथ बकी लेखी दिएको देखिन आयो । निज भक्तिनारायणले चोरीको भैंसी किन्ने गरेकै भए एउटा मात्र नभई धेरै भैंसीहरु पटक पटक चोरहरुबाट किन्दा मालधनी अथवा प्रहरी समेतको सुराकबाट एक न एक भैंसी दशीसाथ पक्राउ हुनसक्नु पर्ने सो नभएको र निजले कसूर गरेकै हो भन्ने कुराको अन्य सबूद प्रमाण कुनै गुज्रन पनि नआएकाले समेत यस्तो अवस्थामा सबूद प्रमाणको विलकुलै अभावमा प्रहरीमा भएको कागजमा सम्म पोलावट गरेको भरले मात्र कसूर ठहराउन मिल्दैन ।

          २२.  तसर्थ उपरोक्त उल्लेख भए बमोजिम प्रमाणहरु समेतबाट अभियुक्त भक्तिनारायणको कसूर ठहर्नु पर्ने भन्नेसमेत वादी कालु महर्जनको र हाम्रो चोरी भएको भैंसीको बिगो निज भक्तिनारायणबाटै भरी पाउनु पर्ने भन्नेसमेत वादी हिरालाल श्रेष्ठ समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । निज भक्तिनारायणको कसूर ठहर्दैन भनी ०२३।३।२२।४ को डिभिजन बेञ्चमा माननीय न्यायाधीश श्री नयनबहादुरले व्यक्त गर्नुभएको रायसंग यो बेञ्च सहमत हुन्छ । बिगोतर्फ निज भक्तिनारायणको कसूर नठहरेकाले अरु कसूर ठहरेका अभियुक्तहरुबाट भराई दिने गरी बागमती अञ्चल अदालतले ०२५।५।४।२ मा छिनेको इन्साफ मनासिव समेत ठर्हछ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

पुनरावेदक कालुमहर्जनके पुनरावेदन गरेवापत ०२३।३।२२।४को डि.बे.को फैसलामा न्या.श्री नयनबहादुर खत्रीको रायव्यक्त गरिएबमोजिम लाग्नेगरेको जरिवाना रु.१। एक रुजूहुँदा असूल गरी का.श्रे.अ.त.मा लगत दिनु………….१

०२१।९।१८।४ को पुनरावेदनका पुनरावेदक वादी देहायका मानिस के पुनरावेदन गरेमा सो वापत निजहरुलाई पहिले सजाय भएको नहुँदा अ.बं.२०३ नं.बमोजिम रु.१। का दरले जनही जरिवाना हुन्छ देहायबमोजिम ऐऐ …….२

का.जि.धर्मस्थली बस्ने हिरालाल श्रेष्ठ के रुजु हुँदा असुल गरी लगत दिने रु. १। ऐ जितपुर फेदी बस्ने चन्द्रशेखर घिमिरे के वा. हुँदा असूल गर्ने ऐ १। ऐ भंगाल बस्ने चुनबहादुर क्षेत्री १। ऐ बस्ने सहदेव क्षेत्री के ऐ १। ऐ लाजिम्पाट बस्ने कालु महर्जन के रुजु हुँदा असुल गरी ऐ १। ऐ मनमैजु बस्ने साहिला सुवाल के वा. हुँदा असूल गर्ने ऐ १। ऐ जितपुर बस्ने एव नाथ दुलाल के ऐ १। ऐ हिलेडोल बस्ने शंख नारायण मर्हजन के रु.१। ऐ धर्मस्थली बस्ने कृष्ण तिमिल्सिना के ऐ १। ऐ किसिन्डोल बस्ने टिकाप्रसाद अर्जेल के ऐ १। ऐ काभ्रे बस्ने दण्डपाणि जैसिके ऐ १। ऐ धर्मस्थली जिल्ला सिलाफल बस्ने भास्कर तिमिल्सिना के ऐ १। ऐ वाँसबारी धर्मपुर बस्ने गोरेमहर्जन के ऐ १।

नियमबमोजिम मिसिल बुझाई दिनु …………………….३

 

न्या. श्री रङ्गनाथ उप्रेती

 

उपरोक्त ठहरमा मेरो सहमत छ ।

 

इति सम्वत् २०२७ साल जेष्ठ २ गते रोज ६ शुभम् ।