May 3, 1970
Created by nepalarchives

निर्णय नं. ५३१ – चोरी

निर्णय नं. ५३१    ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२५ सालको फौज्दारी पुनरावेदन नम्बर ५४७ पुनरावेदक :...

निर्णय नं. ५३१    ने.का.प. २०२६

डिभिजन बेञ्च

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री प्रकाशबहादुर के.सी.

सम्वत् २०२५ सालको फौज्दारी पुनरावेदन नम्बर ५४७

पुनरावेदक : जि.बाजुरा कुप्राफैति हाल कं.कारागारमा थुनिएका शिवलाल भण्डारी समेत

विरुद्ध

विपक्षी : जि.अछाम पानसौ रिडीकोट घर भई अछाम बैल पाटा दोकान गरी बस्ने मिनबहादुर स्वाँरको जाहेरीले श्री ५ को सरकार

मुद्दा : चोरी

(१) मधेश गोश्वारा ऐन, २०१२ को दफा २२ खण्ड (ख) ६साहुमहाजनको भारी चोरीमा पक्राउ गरी बजार अड्डाले बुझाउन नल्याएको निजी सम्पत्ति चोरी मुद्दा प्रमुख जिल्ला अधिकारीले छिन्न नहुने ।

          मधेश गोश्वरा ऐनको दफा २२ खण्ड (क) ६ बमोजिम भंसार अड्डाले बुझाउन पठाएको पनि नदेखिएको । जाहेरवाला मिनबहादुरको निजी सम्पत्ति चोरी भएकोमा सरकारी मुद्दा सम्बन्धी ऐनबमोजिम सम्बन्धित जिल्ला अदालतबाट निरोपण हुनुपर्नेमा भंसार एरिया भित्र चोरी भएको देखिंदा यो मुद्दा यस अदालतबाट हेर्न साधारण अन्य चोरी नभइ साहूमहाजनको भारी चोरी हुँदा फिर्ता पठाएको छु भनी कन्चनपुर जिल्ला अदालतले श्री ५ को सरकार महाकाली अञ्चलाधीश कार्यालयमा फिर्ता पठाएकोमा उक्त कार्यालयबाट श्री प्रमुख जिल्ला अधिकारीले जि.पं.कार्यालय कन्चनपुर महेन्द्रनगरमा पठाई प्रमुुख जिल्ला अधिकारीले ०२५।३।३१।१ मा छिनेको कानूनअनुरुप भन्न नमिल्ने हुनाले उक्त कारवाई निर्णय बदर गरी दिएको छ ।

 (प्रकरण नं. १६)

पुनरावेदक तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया

उल्लेखित मुद्दा : x

फैसला

          माननीय न्यायाधीश श्री नयनबहादुर खत्री

          १.   भारत देहली टनकपुरबाट मालसामान खरीद गरी माघ १७ गते भारत टनकपुर बस्ने भोला सिंह खन्चरवाला जिम्मा सामान चलाई आएको महेन्द्र नगर भंसार एरिया भित्र महसुल तिरी माल छुट्याउन राखेको थियो । ०२४।१०।१७ गते राती २।।१ बजेको टायममा उक्त भंसार एरियाभित्रबाट मालसामान चोरी भएकोले खोजतलास गरी माल दिलाई चोरीमा कारवाई गरिपाउँ भन्ने समेत मालधनी मिनबहादुरको जाहेरी दरखास्त ।

          २.  चोरी भएको बुझीन आएको चोर्ने पत्ता नलागेको चोर दसिसाथ प्रमाणीत फेला परी पक्रिन आएका बखत ऐन सवाल बमोजिम कारवाई गरिने हुँदा कसै प्रति मुद्दा चलाउन प्रमाण नपुगको भन्ने समेत प्रहरी प्रतिवेदन ।

          ३.  प्रहरीका साथ चलान भई आएको पोका नं. ६ को कपडा मेरो घरबाट खानतलासी गरी बरामद भएको ठिक साँचो हो । मैले कहीं पनि चोरी नगरेको र महेन्द्र नगर बजारमा छिट चोर्न पठाएको प्रहरीले झुठ्ठा अन्जाम लगाएको हो भन्नेसमेत धनमल शाहीको बयान ।

          ४.  मैले आफ्नो रुपैयाँले कपडा किनेको हो । प्रहरीले मेरो घर तलास गरी गुमरा पोका नं. ४ को कपडा बरामद भएको हो भन्ने समेत टंकबहादुर शाहीको बयान ।

          ५.  मेरै गाउँको रनपतिले ज्यालामा मलाई कपडा लैजाउ भनी ज्याला वापत कपडा दिएको सोही कपडा मेरो घरबाट प्रहरीले वरामद गरेको हो भन्ने समेत जुठे सार्कीको बयान ।

          ६.  मैले धर्मे बामनको भारी बोकेवापत निज धर्मवामनबाट ज्यालावापत पोका नं ७ को कपडा पाउँ भन्ने समेत गजरुप सत्यालको बयान ।

          ७.  बलकामीको भारी बोकेवापत निजबाट ज्यालाको रुपमा पोका नं. १० को कपडा पाए सो पोकामा मैले किनेको धोती एकजोर एक सारी पनि छ भन्नेसमेत जोखे सार्कीको बयान ।

          ८.  पोका नं.१२ मेरो होइन । रनपतिको पसलबाट कपडा ल्याई प्रहरीले मेरो घरबाट फेला पारेको भनेको प्रहरीका हकदारसंग मेरो जग्गा बिषयको झगडा रिस इवी थियो भन्नेसमेत नरदिय सत्यालको बयान ।

          ९.  काठमाडौंबाट फर्की आउँदा जोखे सार्कीसंग रु. ४५। मा मबाट बरामद भएको कपडा हो सो कपडा चोरीको हो भन्ने मलाई थाहा भएन भन्नेसमेत विष्णुबहादुर राउतको बयान, पोका नं. २ मेरो होइन अरुले बोकी ल्याएकोमा निजहरु भागे पछि मलाई बोकाई ल्याएको भन्नेसमेत सिंह भण्डारीको बयान ।

          १०.  मेरो घर खर्चको लागि खिमानन्दको दोकानबाट मार्किन थान १ खरीद गरी लगेको, सो लिई प्रहरीले वरामत गरी मलाई पक्राउ गरी बयान गरेको मैले चोरी गरेको छैन भन्नेसमेत शिवराम भण्डारीको बयान ।

          ११.  मैले महेन्द्र नगरबाट किनेको कपडा प्रहरीका हवलदारले मेरो भनी लेखेको यो पोकामा के छ मलाई थाहा छैन भन्नेसमेत हरिनन्द पाण्डेको बयान ।

          १२.  मेरो आफंै रुपैयाँले धर्मे बामनबाट कपडा किनेको र प्रहरीले खोजतलास गरी कपडा बरामद गरेको हो भन्नेसमेत भैरबबहादुरको बयान ।

          १३.  अभियुक्तहरुले बाजुरा प्रहरी थानामा गरेको कागजमा उक्त चोरी गरेमा सावित भएको र यस कार्यालयमा पनि चोरी गरेमा सावितै रहेका सो बरामद भएको दसी मालसामान मिनबहादुरको चोरी भएको मालसामान मध्येकै हो भन्ने सावित भइसकेको हुँदा चोरी गरेकै देखिन आएकाले ११ जनाले नै उक्त रु.५६३७।४१ को मालसामान चोरी गरेको ठर्हछ भन्नेसमेत जि.पं.का. कञ्चनपुरका प्र.जि.अ.को ०२५।३।३१।१ को फैसला ।

          १४. उक्त इन्साफमा चित्त बुझेन भन्ने थुनाबाट प्रतिवादीले यसअदालतमा चढाएको पुनरावेदन ।

          १५. ०२५।३।२१ मा महाकाली अञ्चलाधीश कार्यालयबाट प्रस्तुत चोरी मुद्दा जिल्ला अदालतबाट हेर्नु पर्ने हुँदा मिसिल पठाई दिएको छु भन्ने कञ्चनपुर जिल्ला अदालतलाई लेखी पठाएको प्रस्तुत मुद्दा भन्सार एरिया भित्र चोरी भएको देखिंदा यस अदालतबाट हेर्न नमिल्ने भनी जिल्ला अदालतबाट जबाफ लेखी फिर्ता पठाएको देखिएबाट यस सम्बन्धको अधिकारक्षेत्रबारे छलफल गर्नको लागि सरकारी अधिवक्तालाई खटाई पठाई दिनु भनी महान्यायाधीवक्ताको कार्यालयलाई लेखी पठाई नियमबमोजिम पेश गर्नु भन्ने ०२६।४।२३।५ को डिभिजन बेञ्चको आदेश ।

          १६.  यसमा प्रतिवादीहरुले थुनाबाट पठाएको पुनरावेदन जिकिर र निजहरुकातर्फबाट विद्वान अधिवक्ता श्री मुकुन्द रेग्मी र विपक्षी वादीतर्फका विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया समेतको बहस सुनी प्रस्तुत बिषयमा निर्णयतर्फ हेर्दा मधेश गोश्वारा ऐन, २०१२ को दफा २२ खण्ड (क) मा साहू माहाजनको भारी चोरीमा पक्राउ गरी बजार अड्डाबाट बुझाउन ल्याएको मुद्दा मात्र प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने हुँदा यो मुद्दा हेर्न नमिल्ने भनी प्रमुख जिल्ला अधिकारी जि.पं.कार्यालय कञ्चनपुरबाट जबाफ आएको र निज मिनबहादुर स्वाँरको ०२४ साल माघ १७ गते राती कपडा चोरी पुलिसमा कारवाई भइरहेकोसम्म एजेन्ट भनी निराज पन्तबाट भोलिपल्ट १८ गते ज्ञात हुन आएको यस भंसार एरीयाबाट चोरी भएको भए तापनि निज मालधनीकै जिम्मावारीमा माल रहेको र निज मिनबहादुरले स्थानीय जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन गरी कारवाई भएको त्यस कार्यालयको पत्रबाट देखिन्छ भनी श्री ५ को सरकार अर्थ मन्त्रालय भंसार विभाग कञ्चनपुर भंसार कार्यालय (महेन्द्रनगर) बाट ०२५।३।१४।५ मा श्री जि.पं.का. कञ्चनपुर र महेन्द्र नगरलाई जबाफ दिएको देखिएकोले मधेश गोश्वरा ऐन, २०१२ को दफा २२ खण्ड (क) ६ बमोजिम भंसार अड्डाले बुझाउन पठाएको पनि नदेखिएको, जाहेरवाला मीनबहादुरको निजी सम्पत्ति चोरी भएकोमा सरकारी मुद्दा सम्बन्धी ऐनबमोजिम सम्बन्धित जिल्ला अदालतबाट निरोपण हुनुपर्नेमा भंसार एरीया भित्र चोरी भएको देखिंदा यो मुद्दा यस अदालतबाट हेर्न साधारण अन्य चोरी नभई साहू माहाजनको भारी चोरी हुँदा फिर्ता पठाएको छु भनी कञ्चनपुर जिल्ला अदालतले श्री ५ को सरकार महाकाली अञ्चलाधीश कार्यालयमा फिर्ता पठाएकोमा उक्त कार्यालयबाट श्री प्रमुख जिल्ला अधिकारी जि.पं.कार्यालय कञ्चनपुर महेन्द्रनगरमा पठाई प्रमुख जिल्ला अधिकारीले ०२५।३।३१।१ मा छिनेको कानून अनुरुप भन्न नमिल्ने हुनाले उक्त कारवाई निर्णय बदर गरी दिएको छ । अ.बं. सरकारी मुद्दा सम्बन्धि ऐनबमोजिम सम्बन्धित जिल्ला अदालतबाट पुनः कारवाई निर्णय हुँदा धेरै समय लाग्ने र पक्षलाई लामो हैरानी हुने हुनाले एकतह छोट्याई यसै मिसिलबाट जे जो बुझ्नु पर्छ बुझी ठहरे बमोजिम कारवाई किनारा गर्नु भनी प्रस्तुत बिषयको मिसिल महाकाली अञ्चल अदालतमा पठाई दिनु ।

 

माननीय न्यायाधीश श्री प्रकाशबहादुर

 

म सहमत छु ।

 

इति सम्वत् २०२७ साल बैशाख २० गते रोज १ शुभम् ।