September 16, 1969
Created by nepalarchives

निर्णय नं. ५०६ – गाली बेइज्जती

निर्णय नं.  ५०६     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री हेरम्बराज न्यायाधीश...

निर्णय नं.  ५०६     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री रङ्गनाथ उप्रेती

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री लोकराज जोशी

सम्वत् २०२० सालको फौ.फु.बे.नं. ३०

पुनरावेदक : गणेशराज गुरुङ प.२ नं.गोर्खा अपुङ केरुङ्गगाउँ

विरुद्ध

विपक्षी : विनोदप्रसाद धिताल का.ई पकनाजोल, नयाँ बजार

मुद्दा : गाली बेइज्जती

(१)   गाली बेइज्जती ऐन, २०१६ को दफा ३

१.    विन्तीपत्रमा भ्रष्टाचार समेतको दोष लगाई अरुको इज्जतमा धक्का पुर्‍याएमाबेइज्जत गरेको ठहरिने ।

            मुद्दामा मर्का पर्‍यो भनी दोहर्‍याउन कोशिस गर्ने निवेदकले बिन्तिपत्रमा लेखिएका बोलीहरूद्वारा आफ्नो दुःखको हद ठुलो देखाउने मनसाय गरेको भए पनि अर्काको इज्जतमा धक्का पुर्‍याउने नियतले यस्तो भ्रष्टाचार समेतको दोष लगाई लेखेकोमा गाली बेइज्जती ऐन, २०१६ को दफा ३ अनुसार बेइज्जती गरेको मानिने प्रष्ट छ ।  

 (प्रकरण नं. ७)

२.    एकै तकसिरमा दुई तर्फ सजाय हुने (जस्तोःन्यायाधीशले घुस खायो र अरुले खुवायो भन्ने) माएकातर्फ सजाय गरिसकेमा र अर्कोतर्फ सजाय गर्न पूर्व माफी मागेमामाफी मागे तर्फ केही गर्न नपर्ने र गरिसकेको सजाय बढी भए कम गराउन हुने ।

            न्यायाधीशहरूले भ्रष्टाचार गरेको भनी उक्त विन्तिपत्रमा लेखेको कलममा अदालतको अपहेलना सम्बन्धी मुद्दा दायर भएकोमा गणेशराजको क्षमायाचनाबाट अदालतको अपहेलना मुद्दामा केही गर्नु नपर्ने गरी आजैका मितिमा यसै बेञ्चबाट किनारा भएकोले सोही तकसिरमा सम्मिलित भएको भनी वादीलाई भनेकोमा छुट्टै सजाय गर्दा खाने भनेमा एकतर्फ र खुवाउने भनेमा एकतर्फ भई २ कुराको अपहेलनाबाट सजाय लाग्ने भएकोमा त्यही तकसिरको १ तर्फ सजाय नलाग्ने भएपछि अर्कोतर्फ सजायमा फरक गर्नु परेको छ । यस्तो क्षमायाचनाको कुरा फौज्दारी इलाका अदालतबाट फैसला गरेको मिति ०२० साल चैत्र २३ गते भन्दा पहिले गरेको थिएन । त्यस कुरामा ध्यान राख्न नपाई उपरोक्त ठहर गरी सुरु अदालतले तोकेको सजाय गर्न मुनासिव नपरी वादीलाई नचाइदो लान्छना लगाएकोमा गाली बेइज्जती ऐन, २०१६ को दफा ५ ले प्रतिवादीलाई रु.१००। एकसय जरिवाना हुन्छ ।

(प्रकरण नं. ७)

पुनरावेदक तर्फबाट :

विपक्षी तर्फबाट : 

उल्लेखित मुद्दा :

फैसला

     मा.न्या. श्री रत्नबहादुर

      १.     विपक्षी प्रतिवादी गणेशराज र चंफ सिं गुरुङको जग्गामा झगडा परी तहतहमा हारजित फैसला हुँदा परिणाम विपक्षीले हार्दा सो मुद्दा दोहराई पाउन निमित्त २०२० साल वैशाख १ गते विपक्षीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्तिपत्रमा सर्वोच्च अदालतका श्री माननीय प्रधान न्यायाधीशज्यू सहित अन्य न्यायाधीशज्यूहरूमा समेत लान्छना तथा नैतिक पतन भ्रष्टाचारको आरोप लगाई साथ साथै त्यसै विन्तीपत्रमा म उपर पनि अनेक तरहको आरोप लगाई गाली बेइज्जती शब्दहरू स्पष्टरुपले लेखी मलाई बेईज्जती गरी नैतिक पतन भ्रष्टाचार समेतको दोष लगाई लेखेको सो विन्तिपत्र सर्वोच्च अदालतमा दाखिल भई २०।४।२९ गतेमा नक्कल लिई हेर्दा मेरो ईज्जतमा धक्का पुर्‍याई मेरो बेइज्जती गर्ने मनसाय लिई यस्तो शब्दहरूको प्रयोग गर्दा मेरो इज्जतमा धक्का पुग्नाले जानिजानि लेखद्वारा मलाई बौकाहा जाली कीर्ते गर्ने गराउने भ्रष्टाचारी ईत्यादी दोषारोपण गरेकोले विपक्षी प्रतिवादीले मलाई लिखित रुपमा गाली र बेईजति गरेको कुरा निजले सहिछाप गरी श्री ५ महाराजाधिराजका हजुरमा चढाएको हुकुमको तोक लागी सर्वोच्च अदालतमा दाखिल भएको विन्तिपत्रका हरफहरूबाट स्पष्ट हुने भई लेखिएको अपराध गरेमा विपक्षी प्रतिवादीलाई गाली बेईजतिको ऐन, २०१६ को दफा ५ अनुसारको सजाय गरिपाउँ भन्नेसमेत बिनोदप्रसाद धितालको ०२०।५।१४।२ को फिराद ।

      २.    वादी दावीबमोजिम वादीको नैतिक पेशा औ चरित्र समेतमा होच्याउने तथा वादीको इज्जतमा धक्का पुर्‍याउने नियतले गरेको होईन कि भन्ने रुप पेश गरिएको प्रमाणिक निवेदनको नक्कलमा उल्लेखित अश्लिल शब्दहरूबाट सहसचिव जस्तो श्री ५ को सरकारको उच्च पदमा रहेका व्यक्तिलाई बेइज्जती भएन भन्न मुनासिव देखिएन । वादी दावीबमोजिम प्रतिवादी गणेशराजके गाली बेइज्जतीको ऐन, २०१६ को नं. ३ ऐ को स्पष्टिकारण (३) ले समेत ऐ ऐनको ५ नं. को देहाय (१) बमोजिम गाली बेइज्जती गरेको ठहर्छ । प्र.गणेशराज के गाली बेइज्जती ऐन, ०१६ को दफा ५ बमोजिम रु.१५००। जरिवाना र ६ महिना कैद हुन्छ भन्ने का.फौ.इ.अ.को २०२०।१२।२३ को फैसला ।

      ३.    प्रस्तुत मुद्दा मुलुकी ऐन भाग १ नं.९ अनुसार फौजदारी मुद्दा कुन अदालतमा कस्तो कस्तो अवस्थामा दायर हुन सक्छ भन्ने अ.बं.२९ को देहाय ३ ले प्रष्ट गरेको र बेइलाकाको मुद्दा हेरेमा अ.बं.३५ नं. बमोजिम हुने कुरा पनि छ, प्रतिवादी म पश्चिम २ नं. इलाकामा रहे बसेको र विनोदप्रसादले जुन बिन्तीपत्रबाट गाली बेइजती भयो भन्नु हुन्छ, सो विन्तीपत्र पश्चिम २ नं. गोरखा उत्तर मेचक हुलाकबाट रजिष्ट्ररी गरी पठाएको समेत हुँदा वेइलाकाको मुद्दा हेरी फैसला गरेको अ.बं.३५ नं. अन्तर्गत खारेज होस, मैले बन्द रजिष्टरी निवेदनपत्र आफु माथि भएको अन्यायको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा चढाएको हुँ । वादीको ईज्जतमा धक्का पुर्‍याउने नियतबाट गाली बेइज्जती गरी पर्चाबाजी वा कुनै किसिम गरी हिडेको छैन भन्नेसमेत गणेशराजले पछि म्याद थमाई दिएको ०२०।१०।१४ मा दर्ता भएको प्रतिवादी सरहको पुनरावेदन ।

      ४.    निज गणेशराजले श्री ५ महाराजाधिराजका हजुरमा जाहेर गरेको विन्तिपत्रमा सेक्रेटरी विनोदप्रसादले रुपैंया लिई नापी खेश्री समेत कीर्ते नकरा बनाई भ्रष्टाचार गरी श्री माननीय प्रधान न्यायाधीश तथा माननीय न्यायाधीशहरूलाई हात लिई भन्ने इत्यादी सदाचार व्यक्तित्व नै पतन हुने जस्तो किसिमको बोलीहरू प्रयोग गरी विन्तिपत्रमा लेखिएको देखिन आएको र त्यसबाहेक मिसिल सामेल रहेका अरु निवेदनपत्रहरूमा पनि त्यस्तै बेईज्जती हुने किसिमको आवाज सूचक बोलीहरू लेखिएको देखिन आएकोले बेईज्जती गर्ना कै नियतले लेखेको भन्ने मिसिलबाट प्रष्ट देखिन आउँछ । पश्चिम २ नं. गोर्खा जिल्लामा लेखी जाहेर गरेको निवेदनपत्र र प्रतिवादी पनि गोर्खा जिल्लाकै हुँदा काठमाडौ फौज्दारी इलाका अदालतमा नालेसै लाग्न नसक्ने भन्ने जिकिरका हकमा सो बेईज्जती हुने शब्दहरू लेखिएका निवेदन जहाँसुकै लेखेको भए पनि लेखिएको ठाउँमै प्रकाश गरेको नभई खाम बन्द गरी हुलाकद्वारा चलान गरेको बन्दी खाम भित्रको कागजमा लेखिएको कुराहरू काठमाडौ जिल्लामै प्रकाशमा आएकोले काठमाडौ जिल्ला बेइज्जतीको वारदात होईन भन्न नमिल्ने हुँदा यस तर्फ पनि प्रतिवादी जिकिर फजुल देखिन आएको समेत हुँदा गाली बेइज्जती ठहराई छिनेको इन्साफ मनासिवै छ, इलाका अदालतमा न्यायाधीशले सजाय ताकी निर्णय गरेकोले त्यसतर्फ यस अदालतबाट कुनै अर्को तजबिज गरिरहनु कानूनले नमिल्ने भएकोले केही गर्नु नपर्ने भन्नेसमेत बागमती अञ्चल अदालतको ०२२।२।२१।५ को फैसला ।

      ५.    ऐनले बेइज्जती नै नमानिनेमा बेइज्जतीको नालेस दायर हुनै नसक्ने कुरामा बेईलाकामा मुद्दा दायर गरी थिचो मिचोमा पारेको समेत हुनाले ईन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।

      ६.    निवेदनको नक्कलमा उल्लेखित अश्लिल शब्दबाट वादीलाई बेईज्जती भएको भन्ने ठहराई सुरुका फौ.ई.अ.ले प्रतिवादीलाई गाली बेइज्जती ऐन, ०१६ को दफा ५ अनुसार रु.१५००। जरिवाना र कैद महिना ।६ गर्ने गरेको सो सदरै गरी बागमती अञ्चल अदालतबाट ०२२।२।२१।५ मा फैसला गरेको देखियो । अपीलाट प्रतिवादीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको ०२०।१।१।१ को निवेदनपत्रमा लेखिएको व्यहोराको विचारबाट उक्त सजाय दिएको मिलेको नदेखिएको विपक्षीलाई समेत राखी छलफल गर्नु परेकोले अ.बं.२०२ नं. बमोजिम झिकाई पेश गर्नु भन्ने फुल बेञ्चको ०२३।२।४।३ को आदेश ।

      ७.    यसमा तारिखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही ०२६।५।१७।३ मा पेश भई वादीतर्फबाट विद्वान अधिवक्ता श्री कुसुम श्रेष्ठले गर्नुभएको बहस सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । चम्फसिं समेतसंगको जग्गा मुद्दा दोहर्‍याई पाउँ भनी गणेशराज गुरुङले श्री ५ महाराजाधिराजका हजुरमा २०।४।२७।१ मा चढाएको तो.नं.११९ को निवेदनपत्रमा लेखिएको बोलीले मेरो बेइज्जत भयो भनी तत्कालिन सहसचिव विनोदप्रसाद धितालको फिरादपत्र परी यो बेइज्जती मुद्दा दायर भएको रहेछ । उक्त विन्तिपत्र सर्वोच्च अदालतमा आई हु.प्र.बमोजिम कारवाई चलाई माग्न निज गणेशराज हाजिर भई जग्गा मुद्दा दोहरी रहेको देखिन्छ । भ्रष्टाचार सम्बन्धी बात लाग्ने सद्आचरणमा धक्का लाग्ने कुराहरू लेखी विन्तिपत्र चढाएको भए पनि सो विन्तिपत्रको मुख्य उद्देश्य जग्गा मुद्दा दोहर्‍याउने देखियो । त्यस विन्तिपत्रमा परेको बोलीहरूले बेइज्जती भएको भनी वादीले फिरादपत्रमा लेखेकोमा त्यस्तो अश्लिल शब्दहरूबाट वादीलाई बेइज्जती भएन भन्न मुनासिव देखिएन भन्ने सुरु फैसलामा बोली परेकोबाट सुरु फौज्दारी इलाका अदालतका तत्कालिन न्यायाधीशको समझमा ती बोलीहरूलाई अश्लिल ठानेको देखिन्छ । मुद्दामा मर्का पर्‍यो भनी दोहर्‍याउन कोशिस गर्ने निवेदकले विन्तिपत्रमा लेखिएका बोलीहरूद्वारा आफ्नो दुःखको हद ठुलो देखाउने मनसाय गरेको भए पनि अर्काको इज्जतमा धक्का पुर्‍याउने नियतले यस्तो भ्रष्टाचार समेतको दोष लगाई लेखेकोमा गाली बेइज्जती ऐन, २०१६ को दफा ३ अनुसार बेइज्जती गरेको मानिने प्रष्ट छ । न्यायाधीशहरूले भ्रष्टाचार गरेको भनी उक्त विन्तिपत्रमा लेखेको कलममा अदालतको अपहेलना सम्बन्धी मुद्दा दायर भएकोमा गणेशराजको क्षमायाचनाबाट अदालतको अपहेलना मुद्दामा केही गर्नु नपर्ने गरी आजैका मितिमा यसै बेञ्चबाट किनारा भएकोले सोही तकसिरमा सम्मिलित भएको भनी वादीलाई भनेकोमा छुट्टै सजाय गर्दा खाने भनेमा एकतर्फ र खुवाउने भनेमा एकतर्फ भई २ कुराको अपहेलनाबाट सजाय लाग्ने भएकोमा त्यही तकसिरको १ तर्फ सजाय नलाग्ने भएपछि अर्कोतर्फ सजायमा फरक गर्नु परेको छ । यस्तो क्षमायाचनाको कुरा फौजदारी इलाका अदालतबाट फैसला गरेको मिति ०२० साल चैत्र २३ गते भन्दा पहिले गरेको थिएन । त्यस कुरामा ध्यान राख्न नपाई उपरोक्त ठहर गरी सुरु अदालतले ताकेको सजाय गर्न मुनासिव नपरी वादीलाई नचाइदो लान्छना लगाएकोमा गाली बेइज्जती ऐन, ०१६ को दफा ५ ले प्रतिवादीलाई रु.१००। एकसय जरिवाना हुन्छ । निज प्रतिवादी गणेशराज सुरु फैसलाले गर्ने गरेको सजाय वापतमा २०।१२।३० मा थुनामा परेको भनेको २१।४।१३ गते छुटेको देखिएकोले जम्मा महिना १३।१४ कैदमा बसी दण्डसजायको ५३ नं. बमोजिम महिना १ को रु.३० का दरले उक्त जरिवाना हुने कैद गरी कट्टा गरिसकेको देखिंदा केही गर्नु पर्दैन । निज प्र.गणेशराजलाई का.फौ.इ.अ.को ०२०।१२।२३।१ को फैसालाले गर्ने गरेको कैद महिना ६ छ, जरिवाना रु.१५०० । पन्ध्रसय र बागमती अञ्चल अदालतको २२।२।२१।५ को फैसलाले गर्ने गरेको जरिवाना रु.१५०। एकसय पचास कैद दिन ।।१८ अठार नलाग्ने हुँदा यो कलम र वादी विनोदप्रसादकै सुरु का.फौ.ई.अ.को २०।१२।२३। का फैसलाले असूल भएको रकमको आधा क्षतिपूर्तिका हकमा भराइपाउँ भनी म्याद भित्र मागको दरखास्त दावी पर्न आएमा भराई दिने गरी लगतमा संशोधन गर्न बागमती अञ्चल अदालतमा २२।२।२१।५ को फैसाला बमोजिम लगत दिएको कलम समेतको कानूनबमोजिम लगत काटी दिनु भनी का.श्रे.अ.त.मा लगत दिई नियम बुझाई दिनु ।

 

मा.प्र.न्या.श्री भगवतीप्रसाद, मा.न्या.श्री लोकराज, मा.न्या.श्री रङ्गनाथ उप्रेती र मा.न्या. श्री हेरम्बराज राज

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् ०२६ साल भाद्र ३१ गते रोज ३ शुभम् ।