निर्णय नं. ५०५ – अपहेलना
निर्णय नं. ५०५ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री...
निर्णय नं. ५०५ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री लोकराज जोशी
फौजदारी फुल नं. २१
निवेदक : सर्वोच्च अदालत
विरुद्ध
प्रतिवादी : प.२ नं.गोरखा स्यार्ताङअंपु बस्ने गणेशराज गुरुङ
मुद्दा : अपहेलना
(१) सर्वोच्च अदालत ऐन, २०२१ को दफा ६ को प्रतिबन्धात्मक वाक्यांश–अदालतको अपहेलना हुने अपशब्द उल्लेख गर्ने व्यक्तिले सो गरेवापत क्षमायाचना गरेमा–अदालतको अपहेलना सम्बन्धी कारवाई एकपटकलाई चलाउन नपर्ने ।
हार्नै नसक्ने मुद्दा हारी ठुलो चोट पुगी चित्त विकल भइरहेको अवस्थामा अरु कुरा सोच्नै नसकी त्यस किसिमको उजूरी जाहेरी श्री ५ का जुनाफमा गरेको हुँ अपहेलना गर्ने नियतले लेखेको नहुनाले म उपर कानूनी कारवाई नचलोस भनी क्षमायाचना गर्छु भन्नेसमेत प्रतिवादी गणेशराजले ०२५।५।२६।३ को लिखितजवाफ पेश गरेको, हाल प्रतिवादी गणेशराज तारेखमा रुजु नरहेको प्रस्तुत मुद्दा ०२६।५।१७।३ मा पेश भई आज निर्णय सुनाउन तारिख तोकिएको थियो । निज प्रतिवादी गणेशराजले उपरोक्त किसिमसँग क्षमायाचना गरेकोले सर्वोच्च अदालत ऐन, ०१९ को दफा ६ को प्रतिबन्धात्मक वाक्यांश अनुसार यो पटकलाई केही गर्नु पर्दैन ।
(प्रकरण नं. १)
आदेश
१. यसमा गणेशराज गुरुङसंगको जग्गा मुद्दा दोहर्याई पाउँ भनी दिएको तो.नं.११९ को निवेदनपत्रमा स.अ.का मा.न्या.हरू प्रति भ्रष्टाचारको लान्छना लगाई अपशब्द लेखी अदालतको अपहेलना गरेकोमा निवेदक गणेशराज प्रति कानूनी कारवाई गर्ने सम्बन्धमा ०२५।५।२२।६ को फु.बे.बाट भएको आदेशबमोजिम १५ दिनभित्र लिखितजवाफ लिई हाजिर हुनआउनु भनी निज गणेशराजलाई सूचना दिएकोमा हार्नै नसक्ने मुद्दा हारी ठुलो चोट पुगी चित्त विकल भइरहेको अवस्थामा अरु कुरा सोच्नै नसकी त्यस किसिमको उजूरी जाहेरी श्री ५ का जुनाफमा गरेको हुँ, अपहेलना गर्ने नियतले लेखेको नहुनाले म उपर कानूनी कारवाई नचलोस भनी क्षमायाचना गर्छु भन्नेसमेत प्र.गणेशराजले ०२५।५।२६।३ को लिखितजवाफ पेश गरेको हाल प्रतिवादी गणेशराज तारिखमा रुजु नरहेको प्रस्तुत मुद्दा ०२६।५।१७।३ मा पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको थियो । निज प्रतिवादी गणेशराजले उपरोक्त किसिमसँग क्षमायाचना गरेकोले सर्वोच्च अदालत ऐन, ०१९ को दफा ६ को प्रतिबन्धात्मक वाक्यांश अनुसार यो पटकलाई केही गर्नु पर्दैन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
इति सम्वत् ०२६ साल भाद्र ३१ गते रोज ३ शुभम् ।