निर्णय नं. ५०२ – बाली लुटपिट
निर्णय नं. ५०२ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको फौ.फु.नं. २५...
निर्णय नं. ५०२ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत् २०२५ सालको फौ.फु.नं. २५
निवेदक : मोरङ प्र.वरियादी मौजे तेलकुडी बस्ने शिवधारी थारुको सकारगर्ने दानावती थरुनी
विरुद्ध
विपक्षी : ऐ प्र.सोनापुर मौजे हसन्दह गछ पथरिया बस्ने हिक्मतबहादुर थापा समेत
मुद्दा : बाली लुटपिट
(१) साविक अ.बं.१८१ हालको अ.बं.१३९ नं.को व्यवस्था कस्तोलाई नलाग्ने ?–प्रतिवादी जस्तै कारणी हुनसक्ने व्यक्ति बुझ्न सक्नेसम्म भएको साविक अ.बं.नं.१८१ साविक अ.बं.१३९ नं.को व्यवस्था वादी कायम हुनपर्ने अवस्थाको व्यक्तिलाई लागू नहुने ।
त्यसको हकमा वादी प्रतिवादीको पेटबोलीमा लेखिएको प्रतिवादी सरह कारणी हुन सक्ने मानिस बुझ्नेसम्म कुराको लागि भएको उक्त साविक अ.बं.१८१ हालको अ.बं.१३९ नं. को व्यवस्था वादी कायम हुनुपर्ने अवस्थाका मानिसको हकमा लागू हुन नसक्ने ।
(प्रकरण नं. १५)
(२) ऐन मुताविक उजूर दावी बेगर साविक १७२ नं. हालको १३३ नं. अनुसार कागज गराई हक बेहकको ठहर गर्न नहुने ।
ऐनबमोजिम उजूर दावी चाहिने कुरामा साविक अ.बं.१७२ हालको अ.बं.१३३ नं. बमोजिम कागज गराई हकबेहकको निर्णय लिन पनि नमिल्ने प्रष्टै छ ।
(प्रकरण नं. १५)
(३) लिखतपास हुनु पूर्वको हकमा पास नभएको लिखतबाट हक दावी पुग्न नसक्ने ।
पास हुनुभन्दा अगाडिको हकमा पास नभएको लिखतबाट जग्गामा साहूको हक दावी पुग्न नसक्ने समेत हुनाले प्रस्तुत मुद्दामा दावी भएको ०१४ सालको बालीको हकमा जग्गा हक बेहकको र मुख्यतः प्रतिवादी लेखाईबाट हिसाव उठेको जग्गा हक बेहक सम्बन्धी यस्तो कुरामा पहिले परिराखेकै मुद्दाबाट वादीको दावी गराई हक बेहकको निर्णय मिल्ने कानूनी व्यवीस्था नभएको ।
(प्रकरण नं. १५)
(४) प्रतिवादीले लुटपिट गरेको होईन भनी वादीको साक्षीले बकेमा–दावी बमोजिम वादीले सबूद प्रमाण प्रस्तुत गर्न नसकेमा–लुटपिट ठहराउन नहुने ।
यस मुद्दाबाट वादी दावीबमोजिम लुटपिट गरेको हो होईन भन्नेसम्म कुराको निर्णय दिनुपर्नेमा वादीकै साक्षी सतौना थारुले पनि प्रतिवादीले वाली लुटपिट गरी लगेको होइन भनी बकेको वादी दावीबमोजिम लुटपिट गरी लगेको हो भन्ने कुराको कुनै सबूद गुज्रन नआएको समेत हुँदा सबूद प्रमाणको अभावमा लुटपिट ठहराउन मिल्ने देखिन आएन ।
(प्रकरण नं. १६)
निवेदक वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
उल्लेखित मुद्दा : x
फैसला
मा.प्र.न्या. भगवतीप्रसाद सिंह
१. मैले निज हिकमतबहादुरबाट कं.रु.१५००। रुपैंया कर्जा लिई मेरा नाउँमा दर्ता भएको मौजे हसनदह गछ पथरि मौजाको भा.रु.५९।। पोतलाग्ने ज.विगाहा ११।।।३ निजलाई घरसारमा दृष्टिबन्धक लेखिदिएकोमा सो लिखत ऐनका म्यादभित्र मैले रजिष्ट्रेशन पास गरी नदिएबाट निजले मेरानाउँमा कं.रु.३५००। थैलीको लिखत खडा गरी विराटनगर अमिनिमा रजिष्ट्रेशन पास गरिपाउँ भन्ने मुद्दामा नालेस दिंदा मैले सो ३५००। लिएको होईन कं.रु.१५००। मात्र लिएको छु, त्यसमा सो १५००को लिखतलाई के के जालपरिपञ्च रची ३५०० को थैलीको लिखत खडा गरी मेरा नाउँमा नालेस दिएको हो भनी मैले प्रतिउत्तर दिंदा सो मुद्दा चलिरहेकै थियो र त्यस्तैमा वादी मानबहादुर गुरुङको घर चोरीसमेत मुद्दामा विराटनगर अमिनीबाट २०१४ साल कार्तिक २० गतेमा मो.वि.जेलमा पठाइदिएकोले सो जेलमै थुनिरहे को मौका अर्थात यही साल माघ १६ गतेको दिनमा निज अन्यायीवालाले सो माथि लेखिएको रजिष्ट्रेशनपास मुद्दा किनारा नभएको र जग्गा अड्डाबाट चलन चलाई नपाएको बीचबीचमै सो ज.बि.११।।।३ मध्ये ज.वि.११ मा भएको धानबाली फी बिगाहा १ को धान मन २० का दरले जग्मा विगाहा ११ को धान बाली जम्मा मन २२० मध्ये हरूवाको भाग गयाको धान मन ११० बाँकी मेरो भागको धान मन ११० जग्गा विगाहा ।।।३ कठ्ठामा भएको जम्मा तोरी मन ५ मध्ये आधी हरूवाको भाग तोरी मन २।। पर सारी मेरो भागको तोरी मन २।। समेत मेरो भागको धान तोरी अन्यायवालाहरूले आफ्ना गफमेलका २०।२५ मानिस ल्याई मेरो खमारबाट लुटपिट गरी लगेकोले बिगो भा.रु.१२६५ लगाई सजाय गरिपाउँ भन्नेसमेत शिवधारीको स.अ.पु.दौ.मा परेको निवेदनमा व्यहोरा साँचो भए ठाडै बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने ०१४।१२।१२।३ मा आदेश भएको ।
२. निवेदन जिकिरबमोजिम बिगो भराई सजाय गरिपाउँ भन्ने समेत वादीको बयान ।
३. वादी शिवधारीले मसँग ०१५।५।५।४ मा भा.रु.४५००। लिइ निजका नाउँ दर्ताको मौजे हसनदह गछ पथरिको ११।।.।।।३ जग्गा १४ सालका बालीदेखि लिखत गरिदिएको पास गरी नदिएकोले धनकुटा अदालतमा नालेस दिई एकतर्फि डिग्री भई ०१५।५।२२।१ मा छथुम मालबाट पास भई ०१४ सालका बाली देखि भोग चलन गरी जेठी छोरी रेणुकादेविलाई भा.रु.४५००। मा यही गए फल्गुण नैत्र महिनामा मो.वि. मालबाट रजिष्ट्रेशन पास गरिदिएको छु । ०१४ सालमा विगाहा १ मा ७ मनको दरले धान र सन मन ३ तोरी मन २ बुझाउने गरी ०१४।५।१५ गते वादीले नै ठेक्काको कागज गरिदिएको छ । उक्त जग्गा शिवधारीले भा.रु.३५००। लिई उक्त जग्गा दृष्टिबन्धक लेखी दियाको पास गरी नदियाबाट मैले नालेस गर्दा प्रतिउत्तर नपरी कारवाई भइरहेकोमा थप रु.१०००। लिई सो जग्गा राजीनामा गरिदिनु भनेकोले ४५००। मा राजीनामा गराई सो मुद्दा डिसमिस गराएको हुँ, नमालुम कति जग्गा हो जम्मा सन, धान तोरी मन ३३ बुझाउने गरी ठेक्का लिई वादीले आवाद गरी मलाई बुझाएको र अरु जग्गा आफ्नातर्फबाट आवाद गरी भोगेको हुँदा बाली लुटील्यायो भन्ने वादी भनाई झुठ्ठा हो भन्नेसमेत ०१७।१।९।५ को हिकमतबहादुरको बयान ।
४. मेरो नाउँ दर्ताको उक्त जग्गा शिवधारीलाई कं.रु.१०००। मा लिखत पास गरिदिएको किन शिवधारीले आफ्नो नाउँमा दर्ता गराएन थाहा छैन र उक्त जग्गा अहिलेसम्म मेरो नाउँमा दर्ता कायम छ, हिकमतबहादुरले ३ सालको पोत मलाई दिएकोबाट सोधेमा जग्गा मैले खाएको छु भने । किन खाए नभनेकाले जान्दिन भन्ने मिठन राजवंसिको ०१८।१।१२।२ को बयान।
५. मेरो दाइजोबाट जोडेको रु.४५००। बाली बाबु हिकमतबहादुरबाट जग्गा विगाहा ११।।।द्र।।।३ फाछ्र्या राजीनामा गरी ०१६।११।२८ मा मो.वि.मालबाट रजिष्ट्रेशन पास समेत गरी लिई सर्भे नापी हुँदा ०१८ सालका बालीदेखि मेरो नाउँमा नापी दर्ता भएको हुँदा ०१७ सालदेखि खाई भोगी आएको छु भन्नेसमेत रेणुकादेविको वा.भानुभक्तको ०१८।९।१२।३ को बयान ।
६. मिठन दर्ताको जग्गा वादीको नाउँमा दाखिल दर्ता नभई प्रतिवादीले दृष्टि लेखाई लिएको सनदले सदर नहुने पास गरीपाउँ भनी गरेको उजूरीमा पैरवी गर्न नसकी डिसमिस गराएकोले रु.३५००। थैली नै कायम हुन नसकी बदर भएको त्यस्तो बदर भएको थैली गमाई घरसारमा गराई लिएको रु.४५००। को राजीनामा लिखत बदर हुनेमा एकतर्फि डिग्री भएको भन्ने पनि अमालमा दर्ता गरी धनकुटा अदालतमा सरी पास हुने ठहरी फैसला भएको सोही आधारबाट भोग गरी आएको थाम्न नसकी रेणुकादेविलाई दिएको भन्ने तर्फ जागीरदार विर्तावारले झगडा हेर्ने बारे ०१६ सालको कानून पत्रिका बमोजिम हेर्न नपाउने भएको र अ.बं.४९ नं. बमोजिम धनकुटाको अमाल र इलाका अदालतले बेइलाकाको मुद्दा हेर्न नहुने हेरेको अ.बं.५९ नं. ले सदर नहुने र कबुलियत समेत बेरीतको भएबाट समेत वादी दावीबमोजिम हकै नपुग्ने जग्गामा प्रतिवादीहरूले दावी गरी बाली समेत लुटी खाएकै ठहर्छ भनेर धनकुटा इ.अ.को फैसला सदर नभई बदर हुन आएकोले उक्त फैसला बदरगर्न जाहेरगर्ने भन्ने ०१८।११।२५।५को मो.वि.इलाका अदालतको फैसला।
७. भोग दर्ता बेगर वादीको जग्गामा हक र बाली लुटेको ठहराई फैसला गरेकोमा चित्त बुझेन भन्नेसमेत हिकमतबहादुरको ०१९।२।३०।३ को र जग्गा बाली समेतमा उजूर गर्नुपर्ने बालीमा मात्र दावी गरेको उजूर खारेज गर्नुपर्ने इन्साफ गरेको हुँदा चित्त बुझेन भन्नेसमेत रेणुकादेवीको ०१९।५।७।५ को पुनरावेदन ।
८. वादीले दावी गरेको जग्गा वादीसँग खरिद गरी नालेस परी धनकुटा इ.अ.बाट ०१५।५।११ गते फैसला भइसकेको कुरो मुद्दा सकारगर्ने दानवतिले थाहा पाइसकेपछि उक्त पास गरि पाउँ भन्ने मुद्दामा इतलाय तामेलभएको थाहापाएको मितिले अ.बं.१३६नं. को ७ दफाको ३५ दिनभित्र इतलायनामा फैसला बदर गरिपाउँ भन्ने नालिस दिन सक्नु पर्ने सो म्यादमा नालेस दिएको देखिएन । नालिस बेगर इतलाय तामेल भएको र इ.अ.धनकुटाको फैसला बदर हुन्छ भन्न नहुने शिवधारीसँग लेनदेन कारोवार भए गरेमा वादी पनि सावित भएको प्रमाणमिसिलबाट देखिएको र प्र.हिकमतबहादुरले तिरोभरो गरेको देखिएको र वादी शिव धारीले मोहनलालसँग रु.१००० मा ०१०।११।२६ गते रजिष्ट्रेशन पास गरी लिएको सक्कल लिखत पनि प्र.हिकमतबहादुरसँग रहेको देखिएको इतलायनामा बदर गरी र जग्गामा हक बेहक गर्ने समेत ठहराई फैसला गरेको इ.अ. विराटनगरको बेमुनासिव इ.अ.विराटनगरको इन्साफ उल्टी र वादी खारेज हुने ठहर्छ भन्ने जिल्ला अ.धरानको ०२०।५।२३ को फैसला ।
९. हक बेहक गर्ने मौका सुविधा समेत नदिई खारेजी फैसला गरेको हुँदा चित्त बुझेन भन्नेसमेत दानावती थरुनीको ०२१।२।१।५ को पुनरावेदन ।
१०. शिवधारीले विन्तिपत्र दिंदा र बयान गर्दा समेत जग्गा मेरो हक सदर कायम गरिपाउँ भन्ने दावी लिएको देखिएन । वादीले जुन कुरामा हक प्राप्त गर्न खोजेको छैन, त्यस कुरामा अदालतले इन्साफ दिनु अप्रासंगिक हुने हुनाले जग्गा तर्फ हक बेहक गरेको सुरुको इन्साफ र जग्गाको हक बेहकमा प्रभाव पर्ने हुँदा उल्लेख गरेको जतिमा जि.अ.धरानको फैसलासँग योबेञ्च सहमत हुन सक्दैन । जग्गामा हक बेहक गराउन गर्ने भए ऐनबमोजिम उजूर परेमा ठहरे बमोजिम हुने भनी सुनाई दिनु । वादीको दावी भएको बाली तर्फ मेरो बाली लुटपिट गरी लगे भन्ने लुटपिटको ऐनको म्याद भित्रैको यो उजूर हुनाले लुटपिट गरेको हो होईन भन्ने कुराको निर्णय दिनुपर्ने मा जि.अ. धरानले वादी नै खारेज गरेकोमा पनि यो बेञ्च सहमत भएन । बाली लिएमा प्रतिवादी सावितै भए पनि उजूर दावीबमोजिम लुटपिट गरी खाएमा साबित भए पनि उजूर दावीबमोजिम लुटपिट गरी खाएमा सावित भएको नभई मोहीयाबाट पाउने बाली लिएको हुन् मात्र भनेको, मोहीयाबाट बाली लिन नपाउने भए त्यो कुरा पनि जग्गा हक बेहककै अङ्ग हुँदा जग्गामा समेत दावी लिई बालीका झगडाको ऐनअन्तर्गतको उजूर गर्नुपर्ने सो पनि नदेखिएकोले खाएको बाली हक पुग्ने भई खाएको वा हक नपुग्ने बाली लिए खाएको के हो ? भन्न पनि यसबाट मिल्दैन र खुद वादीका दावीबमोजिम लुटपिट गरी खाएको हो होईन भन्नेसम्म निर्णय दिनुपर्ने हुन आयो । त्यसतर्फ वादीका लेखाई बमोजिम ०१४ साल माघ १६ गते २०।२५ जना हुल दल ल्याई वादीको खमारबाट लुटी लगेको हो भनी वादीकै साक्षी सतौना थारुले पनि बक्न नसकी लुटी लगेको र एकलौटि खाएको होईन आफ्नु भाग म समेतले बुझाई दिंदा लिए खाएको हो भनी बकेको र लुटपिट गरेको हो भन्ने अरु कुनै सबूद नभएकोले वादीका दावीबमोजिम प्रतिवादीले लुटपिट गरी बाली लगे खाएको ठहर्दैन भन्ने डि.बे.को ०२२।२।३२।२ को फैसला ।
११. सोउपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने दानावती थरुनीको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा यस केसमा प्रतिवादीले जग्गा बालीमा दावी गरेकोले तेरो मेरो हक बेहक पर्न आएको हुँदा जग्गामा हक बेहक गर्नुपर्ने प्रष्ट हुन आएको छ । यस्तो अवस्थामा ठोस ठहर निर्णय नदिई जग्गामा हक बेहक गराउनु पर्ने भए ऐनबमोजिमको उजूर परेमा ठहरे बमोजिम हुने भनी सुनाई दिनु भन्ने गरेको निर्णय पनि मिलेको देखिएन । अब जग्गाको हक बेहकको सिलसिलामा विचार गर्दा मुद्दाको रुपबाट बुझ्नु पर्ने देखिएको व्यक्ति साविक मुलुकी ऐन अ.बं.१८१ र हालको मुलुकी ऐन अ.बं.१३९ बमोजिम बुझ्न र साविक मुलुकी ऐन अ.बं.१७२ हालको मु.ऐन अ.बं.को १३३ नं. ले सोध्नु बुझ्नु पर्ने कुरा जहिलेसुकै पनि सोधी कागजगराउन हुने र दुवैपक्षले जग्गा हकदावी गरेको बिषयमा दिएको प्रमाणको लिखत कच्चा पक्का साँचो झुठ्ठो के हो भन्ने निर्णय दिनु कानूनी र न्यायिक कुरा हुँदा पासै भएको पनि किन नहोस, यदी त्यस किसिमका कागजलाई मञ्जुर गर्दैन भने पुरानो मुलुकी ऐन अ.बं. १०४ हालको मुलुकी ऐन अ.बं. ७८ नं. ले वादीको प्रमाण्को कागज प्रतिवादीलाई र प्र.को प्रमाणको कागज वादीलाई सद्देकीर्तेमा सुनाउनुपर्ने प्रष्टेैभएकोले उल्लेखित किसिम बाट कारवाई हुँदा मूल भनिएको कागजनै नकरा ठहर्छ भने त्यस्तो कागजका आधारमा भएका अन्य काम कारवाई स्वयमेव बेकायम हुनजाने भएकाले त्यसता नकरा कागज राजीनामाको आधार लिई प्रतिवादी वा प्रतिवादीपक्षको व्यवहार राजीनामा पास फैसला श्रेस्ता दर्ताको आधार लिन नमिल्ने हुँदा पहिले कागजको तहकिकात गरी त्यस्का आधारमा जग्गाको हकबेहक र त्यसपछि लुटपिटको निर्णय गर्नुपर्ने देखिंदा सो केही नगरी लुटपिटको मात्र निर्णय दिएको स.अ.को निर्णय मिलेको देखिएन । दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ०२५।१।३।२ को हुकुम प्रमांगी ।
१२. बक्स भइआएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि यस्तो निर्णयको दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाईदिनु भन्ने माननीय श्री प्रधान न्यायाधीश ज्यूबाट भएको ०२५।१।१२।४ को आदेश ।
१३. यसमा तारिखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही ०२६।५।९।८ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान बरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले र प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा जग्गा हक बेहक तर्फ यस मुद्दाबाट निर्णय गर्न मिल्ने नमिल्ने के हो भन्ने प्रश्नउपर सर्वप्रथम विचार गर्नुपर्ने भएको छ ।
१४. तत्सम्बन्धमा वादी के कस्तो रहेछ भन्ने तर्फ हेर्दा वादीको उजूरी निवेदनपत्र र बयान समेतमा मेरो जग्गाको हरवाको भाग पर सारी मेरो भागको ०१४ सालको धान तोरी बाली ०१४।१०।१६ गते प्रतिवादीले लुटपिट गरी लगेकोले बिगो भराई ऐनबमोजिम सजाय गरिपाउँ भनी बाली लुटपिट सम्ममा वादीले उजूर दावी लिएको देखिन आयो । प्रतिवादीले बयान गर्दा वादीले जुन जग्गाको बाली लुटेको भनेको छ, सो जग्गा रु.४५००। मा ०१४।५।५।४ मा राजीनामा लिखत गरिदिएको रजिष्ट्रेशन पास गरी नदिएकोले पास गराई पाउँ भन्ने मेरो नालेस परी धनकुटा अदालतको फैसला बमोजिम ६ थुम मालबाट ०१५।२२।१ मा रजिष्ट्रेशन पास गराई लिई जग्गै मेरो हक भएको भनी जग्गा हक बेहक विवाद देखाएको समेत भए पनि जग्गा तर्फ वादीको दावी हुनु बेगर प्रतिवादी जिकिर सम्मबाट विबाद उठाएको कुरामा हक बेहकको निर्णय गर्न मिल्ने देखिँदैन । किनकी वादीले जे जति कुरामा दावी लिएको छ, त्यतीसम्म कुरामा अदालतबाट इन्साफ ठहर गर्नुपर्ने हुनाले जुनसुकै कुरामा पनि इन्साफ ठहरको लागि पहिले त वादी दावीकै आवश्यकता हुन आउँछ ।
१५. जहाँसम्म साविकको अ.बं.१८१ हालको अ.बं.१३९ नं. र साविकको अ.बं.१७२ हालको अ.बं.१३३ नं.को व्यवस्था अपनाई जग्गा हक बेहकतर्फ समेत यसै मुद्दाबाट तहकिकात गरी निर्णय दिनमिल्ने भन्ने तर्क उठाईएकोछ, त्यसको हकमा वादी प्रतिवादीको पेटबोलीमा लेखिएको प्रतिवादीसरह कारणी हुनसक्ने मानिस बुझ्नेसम्म कुराको लागि भएको उक्त साविक अ.बं.१८१ हालको अ.बं.१३९नं.को व्यवस्था वादी कायम हुनुपर्ने अवस्थाका मानिसको हकमा लागू हुन नसक्ने र ऐनबमोजिम उजूर दावी चाहिने कुरामा साविक अ.बं.१७२ हालको अ.बं.१३३ नं. बमोजिम कागज गराई हक बेहकको निर्णय दिन पनि नमिल्ने प्रष्टै छ । ०१४ सालको मेरो भागको बाली ०१४।१०।१६ गते लुटपिट गरी लगेको भन्ने दावीको प्रस्तुत उजूर ०१४ साल चैत्रमा परिसकेपछि ०१५।५।२२।१ मा मात्र रजिष्ट्रेशन पास भएको प्रतिवादी जिकिरको राजीनामा लिखत कायमै हुन आएको अवस्थामा पनि पास हुनुभन्दा अगाडिको हकमा पास नभएको लिखतबाट जग्गामा साहूको हक दावी पुग्न नसक्ने समेत हुनाले प्रस्तुत मुद्दामा दावी भएको ०१४ सालको बालीको हकमा जग्गा हक बेहकको निर्णय भएपछि मात्र टुंगो लाग्ने अवस्था देखिन नआउने र मुख्यतःप्र.लेखाईबाट विवादउठेको जग्गा हकबेहक सम्बन्धी यस्तो कुरामा पहिले परिराखेकै मुद्दाबाट वादीको दावी गराई हक बेहकको निर्णय दिन मिल्ने कानूनी व्यवस्था नभएको समेत हुँदा ०२२।२।३२।२ को डि.बे.ले जग्गा हक बेहक तर्फ यस मुद्दाबाट निर्णय दिन नमिल्ने ठहराएको बेमुनासिव भन्न भएन ।
१६. अब वादी दावीबमोजिम बाली लुटपिट गरे नगरेको के रहेछ भन्ने तर्फ बाली खाएमा प्रतिवादी सावित भए पनि केही जग्गा जम्मा ३३ मन बुझाउने गरी ठेक्कामा लिई वादीले आवाद गरी मलाई बुझाएको र अरु जग्गा आफ्नोतर्फबाट आवाद गरी भोगेको हुँ, बाली लुटी खाएको होइन भनी लुटपिट तर्फ इन्कार रहेको देखिन आयो । अरु किसिमबाट हक नपुग्ने बाली खाएको भए त्यसतर्फ सम्बन्धित कानूनबमोजिम उजूर गर्नुपर्ने समेत हुनाले यस मुद्दाबाट वादी दावीबमोजिम लुटपिट गरेको हो होईन भन्नेसम्म कुराको निर्णय दिनुपर्नेमा वादीकै साक्षी सतौना थारुले पनि प्रतिवादीले बाली लुटपिट गरी लगेको होइन भनी बकेको वादी दावीबमोजिम लुटपिट गरी लगेको हो भन्ने कुरोको कुनै सबूद गुज्रन नआएको समेत हुँदा सबूद प्रमाणको अभावमा लुटपिट ठहराउन मिल्ने देखिन आएन ।
१७. तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट जग्गा हक बेहक तर्फ यस मुद्दाबाट निर्णय गर्न नमिल्ने र लुटपिट तर्फ वादी दावी पुग्न नसक्ने समेत ठहराई ०२२।२।३२।२ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै ठहर्छ । निवेदक वादी शिवधारीको सकार गर्ने दानावती थरुनीकै ०२२।२।३२।२ को डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको दण्ड रु. २०२।४० को अ.बं.२०४ नं.सयकडा १० ले रु.२०।२४ बिस रुपैंया चौविस पैसा जरिवाना हुन्छ । वारेस हुँदा असूल गर्न का.मे.अ.त.मा लगत दिई नियम बमोजिम मिसिल बुझाई दिनु ।
मा.न्या.श्री धनेन्द्रबहादुर तथा मा.न्या.श्री नयनबहादुर
उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।
इति सम्वत् ०२६ भाद्र १३ गते रोज ६ शुभम् ।