निर्णय नं. ४९७ – उखडा जग्गा
निर्णय नं. ४९७ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२५ सालको दे.फु.नं. ८९ पुनरावेदक...
निर्णय नं. ४९७ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
०२५ सालको दे.फु.नं. ८९
पुनरावेदक : जि. कपिलवस्तु तप्पा टोलिया मौजे पडसरा बस्ने लली कुर्मी
विरुद्ध
विपक्षी : ऐ ऐ मौजे अतरपरि बस्ने परघट गडेरिया
मुद्दा : उखडा जग्गा
(१) पुनरावेदन गर्न पाउने हक प्राप्त भएकोमा अड्डाको गल्ती सुस्तीले उक्त पुनरावेदनको म्याद पाउनमात्र बाँकी रहेको स्थितिमा सो म्याद पाउन पूर्व नै पुनरावेदन दर्ता भैसकेमा–उक्त पुनरावेदन कायम हुने र पछि अर्को पुनरावेदन दिन नपर्ने ।
उक्त ०२४।२।२२।२ को डिभिजन बेञ्चको निर्णयबाट वादीलाई पुनरावेदन गर्न पाउने हक प्राप्त भएकै र अड्डाको गल्ती सुस्तीले पुनरावेदनको म्याद पाउनसम्म बाँकी रहेको यस्तो अवस्थामा पुनरावेदन पर्न पाउने हक कायम भई रही पुनरावेदनको म्याद पाएपछि पुनरावेदन गर्न पाउने नै हुन्छ भने सो म्याद पाउन सो म्याद पाउनु भन्दा पहिले नै दर्ता गरिसकेको पुनरावेदनलाई कायम नहुने भन्न मिल्ने देखिँदैन किनकि त्यसो भन्दा पुनरावेदनको म्याद पाएपछि फेरि अर्को पुनरावेदन गर्नु परी पक्षलाई एउटै कुरामा दोहोरो दुःख हुन जाने हुन्छ । त्यसकारण वादीको दर्ता भइसकेको पुनरावेदन कायमै राखी उक्त पुनरावेदनबाट मुद्दाको औचित्यमा हेरी निर्णय दिन मिल्ने ठहराई २०२६।३।२७।६ को डिभिजन बेञ्चमा मा.न्या.श्री बब्बरप्रसाद सिंहले व्यक्त गर्नुभएको राय मनासिव छ ।
(प्रकरण नं. ६)
पुनरावेदक तर्फबाट : x
विपक्षी तर्फबाट : x
उल्लेखित मुद्दा : दशरथ बढाई वि. कपिलवस्तु उ.ट्रा.नं.३ को रि, फु.नं.१५ फु.बे.
फैसला
मा.न्या.श्री नयनबहादुर खत्री क्षेत्री
१. किसान परघट गडेरियाले विवरण फारम दिएको जग्गा बिगाहा ।।१।।।४ निज किसानलार्ई मैले उखडामा जोत्न दिएको छैन । झुठ्ठा फारम भरेको हो भन्ने लला कुर्मीको उजूरी सो जग्गा मैले उखडामा जोती आएको हो भन्ने परघट गडेरियाको बयान भएकोमा सो जमीन निज किसान परघट गडेरियाले जोती आएकाछन भनी पञ्चायतले गोश्वारालाई गरेको रिपोर्ट भनी किसान परघट गडेरियाले पेश गरेको रिर्पाट नक्कलबाट निजले उखडामा जोतेको देखिंदा जग्गा उखडाको कायम ठहर्छ भन्ने कपिलबस्तु उखडा ट्राईवुनल नं. २ बाट ०२२।१०।२५।२ मा फैसला भएको ।
२. उक्त उखडा ट्राईवुनलले हदमुनीको हुँदा पुनरावेदन नलाग्ने गरेको छ तापनि ०२४।७ को नेपाल राजपत्र बमोजिम ६० दिन भित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न पर्ने गुज्रेकोले थामी पाएका म्यादभित्र पुनरावेदन गर्न आएको छु । उखडामा कमाएको सबूद पेश गर्न नसकेको समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
३. पुनरावेदनको म्याद दिएको छ छैन दिएको छ भने तामेली म्याद र नदिएको भए जवाफ पठाई दिनुभनी लेखी पठाई आएपछि पेश गर्नुभन्ने ०२६।१।६। को डिभिजन बेञ्चको आदेश ।
४. कपिलबस्तु उखडा ट्राईबुनल नं.२ बाट वादी लला कुर्मीलाई दण्डसजायको १२ नं. १८ नं. ले रु.१ जरिवाना गरी निर्णय गरेको सो उपर पुनरावेदनको म्याद पाउनुपर्ने दिएन भनी निज लला कुर्मीले सर्वोच्च अदालतमा परमादेशको आदेश जारी गरिपाउँ भनी दिएको रिटको नं. १ निवेदनमा पुनरावेदन गर्न पाउने म्याद ठहराई ०२४।२।२२।२ मा परमादेशको आदेश जारी गर्न पर्ने ठहर्छ भनी डिभिजन बेञ्चबाट निर्णय भएअनुसार निज पुनरावेदक लला कुर्मीले पुनरावेदनको म्याद अहिलेसम्म पाएको श्रेस्ताबाट देखिँदैन भन्ने कपिलवस्तु जिल्ला अदालतबाट जवाफ आएको देखिएकोले प्रस्तुत पुनरावेदन उखडा सम्बन्धी ऐन, २०२१ को दफा ६(१) अनुसार दण्डसजाय नगरी फैसला गरेको र सो उपर ०२४।६।६ गतेको राजपत्र अनुसार पुनरावेदन दिएको भनी जिकिर लिएको देखिएकोले यस्तो पुनरावेदन सर्वोच्च अदालत फुल बेञ्चको ०२४।११।२३ को निर्णय अनुसार खारेज गर्नुपर्ने देखिएको प्रष्ट छ । यस्तो बिना कानूनी आधारको र बेरीतको पुनरावेदनलाई नै परमादेशको आदेशबमोजिम म्याद पाई सो अन्तर्गत दायर भएको पुनरावेदन सम्झी मान्यता दिई यो प्रस्तुत पुनरावेदनबाटै निर्णय दिनुपर्ने ठहर्छ भनी राय गर्नु हुने सहयोगी साथी मा.न्या.श्री बब्बरप्रसाद सिंहसँग राय सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ को उपनियम (क) अन्तर्गत निर्णयका लागि फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायधीश श्री रत्नबहादुर बिष्ट को राय, र
५. कपिलबस्तु उखडा ट्राईबुनल नं.२ ले पुनरावेदन नलाग्ने गरी किनारा गरे उपर पुनरावेदक लला कुर्मीले नं.१९१ को रिट दायर गरेमा दण्डसजायको ऐनलाई सजाय गरेको देखिंदा पुनरावेदन दिने म्याद पाउने ठहरी ०२४।२।२२।२ मा आदेश भएको उक्त आदेशबमोजिम लली कुर्मीका नाउँमा पुनरावेदनको म्याद दिएको छ छैन भनी सोधनी गर्दा म्याद पाएको देखिँदैन भन्ने कपिलवस्तु जि.अ.बाट पत्रोत्तर प्राप्त भएकोले पुनरावेदन म्याद पाई पुनरावेदकले गर्न पाउने अवस्था बाँकी छंदैछ । त्यस्तोमा उखडा सम्बन्धी (दोश्रो संशोधन) ऐन, २०२४ को दफा ४ ले संशोधन गरेको दफा ८(३) को प्रतिबन्धात्मक वाक्यांशले पुनरावेदन लाग्ने भयो भन्ने सम्झी प्रस्तुत पुनरावेदन गरेको रहेछ । तर उखडा सम्बन्धी ऐनले सजाय गरेको नभई दण्डसजायको ऐन लगाई सजाय गरेको हुँदा फुल बेञ्चको निर्णय अनुसार उक्त ऐनको सुविधा पुनरावेदकलाई प्राप्त हुने भएन र उपरोक्त उल्लेख भएको आदेशबमोजिम म्याद पाउन बाँकी छंंदै दिएको पुनरावेदनबाट मिसिलको औचित्य तर्फ हेरी निर्णय गर्न मिल्ने नमिल्ने के हो भन्ने प्रश्न अपस्थित हुन आयो । पुनरावेदन दिन म्याद पाउने भएको व्यक्तिले त्यो म्याद नपाउने अर्थात हक कायम रहेकै अवस्थामा दायर गरिसकेका पुनरावेदनलाई म्याद पाएपछि मात्र दिन पर्ने भनी खारेज गर्नुपर्ने हो कि भन्ने तर्फ विचार गर्दा कुनै मुद्दामा फैसलाको नक्कल नदिएको दण्डसजाय बुझाउन नपरेको अवस्थामा आफूलाई चित्त नबुझेको कुरामा फैसला भएको थाहा पाएको मितिले पुनरावेदन गर्न आएछ भने थाहापाएको मितिलाई महत्व नदिई म्याद पाएपछि मात्र आउनु भनी फिर्ता गर्नु पर्ने अवस्था पर्ने त्यसो गर्न न्यायोचित नहुने म्याद पाउने व्यक्तिले म्याद नपाउदै दिएको पुनरावेदन दर्ता भइसके पछि पनि खारेज गर्नुपर्छ भन्ने कुनै ऐनमा स्पष्ट किटी नलेखिएको र अ.बं.१९७ नं. मा म्याद नपाएको फैसलाको नक्कल लिएको वा दण्डसजाय बुझाएको मितिले म्याद भित्र पुनरावेदन गर्न पाउने भनी लेखिएकोबाट अ.बं.१९७ नं. मा खास परिस्थितिमा म्याद नपाउँदैको अवस्थामा पनि पुनरावेदन लाग्न सक्तैन भन्ने व्यवस्था भएको देखिएको समेतबाट प्रस्तुत पुनरावेदनबाट मिसिलको औचित्यमा हेरी निर्णय गर्न मिल्ने नै देखिन्छ । अब मुद्दाको औचित्यतर्फ हेर्दा विवरण फारममा भरेको जग्गा प्रतिवादी परघट गडेरियालाई मैले कहिले पनि उखडामा जोत्न दिएको होईन भन्ने वादी र उखडामा जोती आएको भन्ने प्रतिवादीको भनाई भएकोमा उखडामा कमाएको भन्ने लिखित सबूदको अभावमा प्रतिवादीको झगडा परेको जग्गा उखडामा कमाएको छ छैन भए कहिलेदेखि के कति तिन गरी कमाई आएको भन्ने कुराको ऐनबमोजिम सर्जमिन बुझी मात्र यस मुद्दामा निर्णय गर्नुपर्ने देखिनाले दुवै थर राखी ऐनको रीत पुर्याई सर्जमिन गराई पठाउनु भनी आदेश गर्नुपर्ने ठहर्छ । तर माननीय सहयोगी न्यायाधीश ज्यूले पुनरावेदन नलाग्ने खारेज हुनुपर्ने भनी गर्नुभएको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावलीको नियम ३३(क) बमोजिम फुल बेञ्चमा पेश गर्नु र फुल बेञ्चबाट यो राय सदर भएमा दुवै पक्ष र सँधियार भलादमी पञ्च समेत राखी उपरोक्त लेखिएबमोजिम कानूनको रीत पुर्याई सर्जमिन गरी पाउनु भनी पुनरावेदकको वारिसलाई तारिख तोकी सम्बन्धित जि.अ.मा लेखी पठाई सो बमोजिम काम तामेल भईआए पछि नियमबमोजिम पेश गर्नु भन्ने मा.न्या.श्री बब्बरप्रसाद सिंहको राय भएको ०२६।३।२७।६ को डिभिजन बेञ्चको फैसला ।
६. यसमा पुनरावेदकको वारेस रोहवारमा रही २६।४।३।६ मा पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा उखडा ट्राईबुनल नं.२ ले हदमुनिको हुँदा पुनरावेदन नलाग्ने भनी ०२२।१०।२५।२ मा फैसला गरेकोमा उखडा सम्बन्धी (दोश्रो संशोधन) ऐन, ०२४ को ४ ले थप मुल ऐनको दफा ८ उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश अनुसार पुनरावेदन लाग्ने भएको भनी ०२४।९।२४।२ मा वादीले यो पुनरावेदन दर्ता गरेको रहेछ, उक्त प्रतिबन्धात्मक वाक्यांशको व्यवस्था सोही उखडा सम्बन्धी ऐनको दफा ६ को उपदफा (१) लगाई सजाय गरेको मुद्दा मामिला भए मात्र लागू हुनसक्ने व्याख्या भई निवेदक दशरथ बडही विपक्षी कपिलवस्तु उखडा ट्राईवुनल नं.३ को रि.फु.नं.१५ को उत्प्रेषणको केशमा ०२४।११।२३।४ को फुल बेञ्चबाट निर्णय भएको र प्रस्तुत मुद्दामा सजाय केही नगरी उखडा ट्राईबुनलले छिनेको देखिएकोले उक्त प्रतिबन्धात्मक वाक्यांशको सुविधा पाउन नसक्ने प्रष्टै छ । त्यस्तो भए पनि वादीको पहिले नै रिटको निवेदन परी निजले पुनरावेदन गर्न पाउने हुँदा पुनरावेदनको म्याद दिनु भनी परमादेशको आदेश जारी गर्ने ठहर भई ०२४।२।२२।२ को डिभिजन बेञ्चबाट निर्णय भइराखेको देखिएकोले यस तहबाट वादीको पुनरावेदन कायम हुने नहुने के हो भन्ने प्रश्न उठेको र यसै प्रश्नमा ०२६।३।२७।६ को डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिली यस बेञ्चमा पेश हुन आएको समेत हुँदा उक्त प्रश्नको निर्णयको लागि हेरेमा उक्त ०२४।२।२२।२ को डिभिजन बेञ्चको निर्णयबाट वादीलाई पुनरावेदन गर्न पाउने हक प्राप्त भएकै र अड्डाको गल्ती सुस्तीले पुनरावेदनको म्याद पाउनसम्म बाँकी रहेको यस्तो अवस्थामा पुनरावेदन गर्न पाउने हक कायम भई रही पुनरावेदनको म्याद पाएपछि पुनरावेदन गर्न पाउने नै हुन्छ भने सो म्याद पाउनु भन्दा पहिले नै दर्ता गरिसकेको पुनरावेदनलाई कायम नहुने भन्न नमिल्ने देखिँदैन । किनकी यसो भन्दा पुनरावदेनको म्याद पाएपछि फेरि अर्को पुनरावेदन पर्नु परी पक्षलाई एउटै कुरामा दोहोरो दुःख हुन जाने हुन्छ । त्यसकारण वादीको दर्ता भइसकेको पुनरावेदन कायमै राखी उक्त पुनरावेदनबाट मुद्दाको औचित्यमा हेरी निर्णय दिन मिल्ने ठहराई ०२६।३।२७।६ को डिभिजन बेञ्चमा मा.न्या.श्री बब्बरप्रसाद सिंहले व्यक्त गर्नुभएको राय मनासिव छ । उक्त फुल बेञ्चको दर्ता लगत काटी डिभिजन बेञ्चको लगतमा दर्ता गरी नियमबमोजिम पेश गर्नु । मिसिल सम्बन्धित फाँटमा बुझाई दिनु ।
मा.प्र.न्या.श्री भगवतीप्रसाद सिंह तथा मा.न्या.श्री धनेन्द्रबहादुर सिंह
उपरोक्त रायमा हामीहरूको सहमत छ ।
इति सम्वत् ०२६ साल श्रावण ७ गते रोज ६ शुभम् ।